Wednesday, December 26, 2012

अभि सर, समय र चेतना



उहाँको अराजक स्वभाव म आफैले पनि भोगेको हुँ । करिव ३ वर्षअघि । मेरो किताव लेखनको सन्दर्भ थियो । उहाँसँग अन्तर्वाता लिंदैगर्दा विचारको घम्साघम्सी भयो । उहाँ बाड्गिएर हिँड्नुभो । उहाँलाई मैले बैचारिक तवरबाट ‘एप्रोच’ गर्ने सन्दर्भमा केही त्रुटि भएको थियो । यतिखेर मलाई महसुस हुन्छ ।

र, हामी दुवै ठुस्किएर बाटो ततायौँ । शिव दाइ र ठाकुर बेलबासे त्यसको साक्षी थिए । बातावरण खल्लो जस्तो, अहमपूर्ण र अराजक बन्यो । म आफ्नो सोचमा अडिग थिएँ । उहाँ झन् बढि । घर फर्किएपछि भने झनन्न भयो ‘यो के भयो ?’ । दुईचार दिनपछि मात्रै मोबाइल एसएमएसले हाम्रो सम्बन्धलाई झन् दह्रो बनायो । मैले अत्यन्तै श्रद्धा गर्ने उहाँको असीम माया ममाथि झनै बढ्यो । युवाहरुलाई सधै उर्जा दिने यी विद्वान्को एसएमएस पाएँ–‘युव, आइ एम अल्वेज ईम्प्रेष्ट वाई योर इनोभेटिभ इनर्जी । आइ लभ यू युव ।’ यो पढेर म धेरै भावुक भएँ ।
उहाँ दुई पटक कार्यक्रमको बीचैमा मञ्चबाट उठेर हिंडेको देखेको छु । धेरै कार्यक्रममा प्रमुख अतिथिको जिम्मा नलिएको थाहा पाएको छु । धेरैको किताबमा भूमिका लेख्न ठाडै अस्वीकार गरेको बुझेको छु । उहाँले आफ्नो लेखनीको अस्तित्व र परिधिलाई धेरै खतराबाट पटकपटक जोगाएको पाएको छु । उहाँ आफ्नो सत्व र निजत्व जोगाएर लेख्ने विचारक ।
युवा चेतना र उर्जालाई सधैं संगतमा राख्ने अभि सर किन अराजक देखिनु हुन्छ ? किन उहाँ पदको लोलुपताको मुसा दौडमा लाग्नु भएन ? किन संगीतनाट्य एकेडमीमा जानु भएन ? किन भाषा एकेडेमीमा जानु भएन ? साहित्य, विचार र जीवनका बारेमा अनेकौ उत्सुकता लिएर म कात्तिक १८ गते उहाँको मन्डिखाटार स्थित घर पुगें । गरिमाका सम्पादक अविनाश दाइसँगको सल्लाह अनुसार ।
करिव अढाई वर्षपछि भेट भयो । अरु नै रोचक कुराहरु भए । मैले डेनमार्कका कुरा सुनाएँ । कोपनहेगनको ओपन एयर म्युजियममा पटकपटक बसेको स्मरण गर्नु भयो । उहाँले यताको कुरा भन्नु भयो । रङ्गमञ्चको । अन्तर्राष्टिय नाट्य प्रतिष्ठानको सदस्यता नेपालले यस वर्षदेखि गुमाएछ । वार्षिक सदस्यता शुल्क तिर्न नसकेर । उहाँ आफु अध्यक्ष पदमा रहँदा जेनतेन चलाउनु भयो । ‘उतैबाट टिकट काटिदिन्थे । सेमिनारमा कार्यपत्र प्रस्तुत गर्थें । कार्यपत्रका लागि पाएको पैसोले वार्षिक सदस्यता शुल्क तिरिदिन्थें ।’ उहाँले छोडेपछि संस्थाको अस्तित्व नै मेटियो । नेपाली रङ्गमञ्चमा बलिया संस्थाहरु नभएको एउटा नाटककार र समीक्षकको रुपमा चिन्ता व्यक्त गर्नु भयो । शिव दाइ र मैले टाउको हल्लायौं । ‘सरकारले त गरेन । नाट्यसंगीत एकेडेमीको विजोग छ । मैले मान्ने दाजु (अम्बर गुरुङ)को पनि त्यहाँ विजोग नै भयो । तर बाहिर पनि दुईजना सिर्जनशील रङ्गकर्मीहरु एकै ठाउँमा बसेर काम गर्न नसक्ने भए ।’ म आफैलाई सरम लाग्यो । यी नितान्त निजत्व मिसिएका गफगाफ थिए । विन्दु भाउजु (कथाकार विन्दु सुवेदी)ले हार्दिकता सहित चिया र फलफुल खुवाउनु भयो । आत्मिय कुरा भए । लुनाले केही तस्विरहरु खिचिन् । अन्तर्वातातिरको बाटोमा हिड्नै सकिएन । मनै लागेन । त्यसका लागि अर्को दिन भेट्नु पर्ने भयो । बीचमा उहाँ बेलबारी साहित्य महोत्सवमा जानु भयो ।
र आज कात्तिक २८ गते साँझ हामी ठमेलको हिमालयन जाभाको पहिलो तल्लामा अन्तर्वाताकै लागि भनेर बसेका छौं । कवि पुष्प आचार्य अघि नै त्यहाँ पुगिसकेका रहेछन् । अभि सर सधै बस्ने ठाउँमा गयौं । उहाँको निस्चित कुर्सी छ । बस्नु भयो । हामी पनि बस्यौं । अभिसरले भन्नु भयो–‘युव र मेरो गफगाफ छ । एकछिन हामी अर्कोतिर बस्छौं ।’ शिवदाइ र पुष्पलाई छोडेर हामी अर्को टेबलमा आयौँ । वेटरलाई थाहा छ ।
सधैँ झैँ अभिसरको प्रिय ‘हिमालयन हाउस ब्लेन्ड’ कफी आयो । ठूलो कपमा भरी । अब २ घण्टाको बर्तालापलाई यो ठिक्क हुनेछ । उहाँ सधै यही पिउनु हुन्छ । धेरै पटक जाँदा चाल पाएँ । मन पर्‍यो । कफी ठिक्क भुटेको । ताजा । मात्रा मिलेको । पोर्सन अलिक धेरै । चिनी बेगरको । गजबको स्वादिलो । कफीगफको लागि यो नै उपयक्त छ । कफीगफ नारायण वाग्ले र फलानो राजेश के.सी. आइपुगे । इसारामा कुरा भयो । उहाँहरु केही पर बस्नु भयो । हाम्रो गफ जारी रह्यो । तर, कुनै पनि बेला अबरोध हुने कुरामा शंका थिएन ।
यी सेलिब्रेटी प्राध्यापक अभिनारायणसँग जाभामा बस्ताका अनगिन्ति इन्टब्र्सन स्वाभाविक हो । विश्वविद्यालयमा ३७ वर्ष अंग्रेजी साहित्य पढाउँदाका विद्यार्थीको फैलावट सबैठाउँमा पुगेको छ । उहाँका विद्यार्थीका छोराछोरी पनि उहाँका फ्यान नै हुनेभए । ‘कतिका त नातिनातिना भैसके । तिनले पनि मलाई गुरु झैं गर्छन् ।’ उहाँका नाटक र रचनाका, उहाँका वाचन कलाका, उहाँका हास्यव्यङग्य मिश्रित प्रवचनका फ्यान मिसिदा उहाँ आफैँ भेउ पाउनुहुन्न । को विद्यार्थी को अविद्यार्थी † एकपटक भिजे विजयकुमारसँगको अन्तर्वातामा अभिसरले भन्नु भएको थियो । युवाहरु देख्दा उहाँलाई सबै आफ्नै विद्यार्थी जस्तो लाग्छ रे । गुरुकुलको डाडोमा एकजना दर्शकले उहाँलाई नमस्कार गरेछन् । सायद अभिसरले सोच्नु भयो, कोही लेखक पत्रकार हो । मेरै विद्यार्थी हो । भन्नु भएछ–‘लेख्दैछौ ?’ ती महानुभाव छेउमा आएर मलाई भने–‘सरले मलाई चिन्नु भएन । लेख्दैछौ ? भनेर सोध्नुभो । ‘कहिलेकाहीँ’ भनिदिएँ ।’
मानिसहरुको आउने जानेक्रम चलिहरको छ । अभिसरको हात हावामा फरफराउँदो छ । हामी भित्री वार्तामा छौं ।
उही अराजकताको कुरा । ‘म मेरो साहित्य अराजक होस् भन्ने चाहन्छु । म स्वतन्त्र भएर लेख्न चाहन्छु । कुनै राजनीतिक वादको रङ्गले मेरो साहित्यलाई पोत्न चाहन्न ।’ बीपीले त्यस किसिमको साहित्यलाई अराजक साहित्य भन्नुभएको छ । दोस्तोएभ्स्कीले पनि त्यही भनेका छन् । ‘तर फरक विचार भए पनि अन्तरक्रिया हुने ठाउँमा बस्नु पर्छ । यसले नयाँ विचारको आविष्कार गर्छ ।’
सर कहिले र कहाँ जन्मिनु भएको भन्ने शास्त्रीय गनथनमा म लागिन । वि.सं. २००२ साल असार ३ गते, तेह्रथुमको सावला उहाँको जन्म । त्यो अनेक रुपमा प्रकाशित छ । मलाई उहाँ जन्मिएको र हुर्किएको परिवेशको बारेमा जान्न मन थियो । अभिसर गालाको छाला चाउरिने डरको अर्धचेतनामै रहेर फिसिक्क हाँस्दै सुरिलो स्वरमा प्रस्तुत हुनु भयो । बंगालीमा ।
महाभारो तेरो कथा
ओमृत समान
काशीराम दाश कहें
सुन पुन्नवान् ।

आमाले पढ्ने गरेको काँशीरामको बंगाली अनुवाद महाभारतको अंश हो यो । ‘देवनागरी भन्दा पहिला बंगाली जानँे । त्यसपछि देवनागरी र संस्कृत पनि आमाले नै सिकाउनु भयो ।’ अभिसरका अनुसार उहाँकी आमा रमा बंगाली र संस्कृतका श्लोक सालिन र सुरिलो भाकामा गाउनु हुन्थ्यो । त्यसको छाप उहाँमा पर्‍यो । उहाँ पनि उत्तिकै मिठो स्वरमा गाउनु हुन्छ । अझ धर्मराजदेखि नारायण गोपालसम्मका स्वरको नक्कल गजबले गर्नुहन्छ । त्यो कुरा तल आउला ।
परिवेशकै कुरा भन्दै हुनुहन्छ । कुरा राजनीतिक छ । राणा कालीन समयमा अलिक पर पहाडतिर प्रशासन पुग्न गाह्रो थियो । याङ्ला, ताप्लेजुङ, दार्जेलिङमा । त्यसैले राणाहरुले आफ्ना मान्छे खटाउँथे । अभिसरका बुबा भाष्कर पनि राणाहरुका लोकल सरकारका करिन्दा हुनुहन्थ्यो । ‘मेरीआमा र बुबाको राजनीतिक विवाह थियो ।’ विवाहित भाष्कर सुवेदीले दोस्रो विवाह गर्नुको कारण थियो त्यस इलाकामा आफ्नो राजनीतिक पक्कड बनाउनु । उप्रेती परिवार त्यस ईलाकामा सम्पन्न र हर्ताकर्ता थिए । त्यस थरलाई हातमा लिन भाष्करले ११ वर्षकी रमा उप्रेतीसँग विवाह गर्नु भयो । ‘तर आमाले घरमै बसेर भए पनि पढ्ने इच्छा देखाउनु भएछ र तिवारी थरका मानिसले उहाँलाई नेपाली, बंगाली र संस्कृत सिकाए ।’ आमाले पाएको त्यो शिक्षाले नै अभिसरको प्रारम्भिक शिक्षालाई सिञ्चित गऱ्यो । रामायण, महाभारत र गिताका श्लोकहरु आमाको सुरिलो स्वरबाट अभिसरले सुन्न पाउनु भयो । ‘लिम्बुहरुको बस्तीको बिचमा थियो हाम्रो घर’ त्यसैले उनीहरुका संस्कार, हावापानी, जुनघाम र धाराको प्रभाव पर्‍यो । उनीहरुको संस्कारमा आउने मिथको प्रभाव पर्‍यो । ‘यसरी म संस्कृत मुलक र लिम्बु परिवेशको प्रभाव जीवनभरि बोकेर हिड्दो छु ।’ अभिसर थप्नुहुन्छ– ‘अहिलेसम्म तिनै कुराको मिश्रणले मेरो चेतना बनेको छ जस्तो लाग्छ ।’ अंग्रेज र गान्धीका कुरा पनि अभिसरले आमाबाटै सुन्नु भयो । तिथिमितिको एक्किन नभएकोले आमाले त्यतिखेर पनि अंग्रेजहरु भारतमै छन् भन्ने ठान्नु हुन्थ्यो रे । र, अभिसरलाई अंग्रेजी पढ् भन्नु हुन्थ्यो रे । आमाको बारेमा कुरा गर्दा अभिसर ज्यादै प्रफुल्लित र आनन्दित देखिनु हुन्छ । चार महिनाको हँुदा बुबा वित्नुभयो । आमा ९ वर्षअघि मात्रै ८६ वर्षको उमेरमा वित्नु भयो । उहाँको जीवन आमाको प्रेरणा र शिक्षाले सिञ्चित देखिन्छ । उहाँका लागि आमा सर्वश्व ।

अभि सरको स्मृतिबाट इतिहास धारा प्रवाह आइरहेछ । सातसालको क्रान्तिको लहारसँगै हुर्किएको एउटा बालकमा कसरी राजनीतिक लहरले प्रभावित गर्‍यो होला । कथा रोचक छ । अभिसर गाउनु भयो ।

जाग्यो अब सुतेको जाती
तेह्रथुमको पर्वतै उचाली
मुटु खाने गिद्ध आयो एसियामा उड्दै...

गोकुल जोशी, धर्मराज थापा आदिका गीत अभिसरले उहाँहरुकै स्वर निकालेर गाउनु भयो । हिमालयन जाभाका प्यासेन्जर उत्सुक भएर हामीतिर हेरे । एउटा रोमान्टिक मुडमा हामी यात्रा गरिहेका छौं । म दङ्ग छु । यो हिन्दी फिल्मका हिरो हिरोइनका लागि गाउँले सबैले नाचिदिए जस्तो भयो ।
जे होस्, त्यस्ता गीति कविताले उहाँलाई प्रभाव पार्‍यो । भन्नुहुन्छ–‘रुख, चौर, जुन देख्दा यसबाट केही बनाउन पाए हुन्थ्यो जस्तो लाग्न थाल्यो । यही भैरहेको कुरामा केही नयाँ खोज्न मन लाग्यो ।’ एकदिन अभिसरले कोक्रामा रोइरहेको बच्चा देख्नु भयो । कविता फुर्‍यो ‘नानी रोयो’ । स्कुलमा, कार्यक्रमहरूमा उहाँ सानैदेखि गाउनु हुन्थ्यो । मानिसहरुलाई थाहा थियो । बल्लभमणि दाहालले उहाँको कविता लिनु भयो । बनारसबाट छापिने ‘नौलो पाइलो’मा २०१३ सालमा ‘नानी रोयो’ छापियो । उहाँका दाइहरु कम्युनिष्ट पार्टीमा थिए । यसको प्रभाव अभिसरमा पनि पर्‍यो । धर्मराज शैलीमा अभिसरले धनी–गरिवका गीत लेखेर मञ्चमा गाउन थाल्नु भयो । अभिसर उनका गीतका कुरा सम्झिदै भाका हाल्नु हुन्छ । ‘तेजमान लिम्बुको ग्रामोफेनमा धर्मराज थापले गीत रेकर्ड गराए ।’
क्रान्तिकारी हे वीर के.आइ सिंह
कहाँ गयौ झ्याल खान तोडेर
म्याङ्गलुङको सिंहबाहिनी स्कुलमा अभिसरको औपचारिक शिक्षा सुरु भयो । धर्म प्रचारका लागि मद्रासतिरबाट तामिलहरु शिक्षकको रुपमा आए । तिनले ७, ८, ९ र १० मा अंग्रेजी पढाए । यही बेला अभिसरमा क्रिश्चियानिटी र यसका कथाको ज्ञान भयो । तिनले नयाँ नयाँ किताब लिएर आए । पहाडमा हुदा भैंसी र काठमाडौ छिरेपछि साँढेको प्रसंग अभिसरको चेतनामा दरिलो विम्ब भएर आउँछ । हो यही बेला अभिसरले भैंसीमा चढेर दोस्तोएभ्स्कीका कथा पढ्नु भयो । एकदिन पाडोले पिताम्बर लिम्बु फुदाङ्गेको बाली खाइदिएछ । र, फुदाङ्गेले अभिसरको कान मोलेछन् । भन्नुहुन्छ–‘अस्तिसम्म पनि भेट हुँदा फुदाङ्गे लजाउँथे, यी नानीको कान मोलेको थिएँ अहिले त ठूला मान्छे भएछन् भनेर ।’ पत्रकार शेखर खरेलले अभिसर माथि बनाएको डकुमेन्ट्री ‘काठमाडौ ओडिसी’मा देखिन्छ । अभिसर निकै ठूला अण्डकोश भएको साँढेको पछि लाग्दै भैंसी, चेतना र हिप्पीका कथा बर्णन गर्नुहुन्छ ।
कफी जति चिसो हुँदैछ स्वाद झन मीठो हुँदैछ । त्यो मुडले गर्दा पनि हो । अरे, हाउस ब्लेन्ड । इन्टब्र्सन छ । सरको हाते फोन बेलाबेला बजिरहन्छ । भोली सुफी संगीतको सेमिनारमा हैदरावाद जानु छ । एकपटक इटहरीबाट कवि सुमन पोखरेलले फोन गरे ।
प्रसंग ।
‘बालकवयदेखि नै कवि तुलसी दिवसको प्रेरणा र प्रभाव ममा निक्कै थियो । उहाँले मलाई सधैं उकालोतिर उक्लिन प्रेरित गर्नु भयो ।’ स्कुलपढ्दा देखिनै कवितामा अभिसरको पक्कड भयो । राजनीतिको उर्वर चेतनाले उहाँमा विचारको बेग ल्यायो । १५ सालमा बीपीको भाषण सुन्न दाइको पछि लागेर उहाँ धनकुटा आउनु भयो । एसएलसी सकेर उच्चशिक्षाका लागि विराटनगर र धरान आएपछि राजनीतिक अभियानमै हिड्नु भयो । उहाँका दाइ दिल्लीमा अर्थशास्त्र पढ् भनेर कर गर्नुहुन्थ्यो । अभिसरलाई अंग्रेजीको मोह । आफ्नै मोहले जित्यो । त्यतिबेला धरानमा आनन्देव भट्ट अंग्रेजी पढाउने । उहाँ बामपन्थी विचारक । उता अर्का बाम इन्द्र दाइ (बसन्त थापाका बुबा)सँग संगत । विराटनगरमा मनमोहन अधिकारीका पिता रामचन्द्र अधिकारीसँगको उठबस । त्यतिखेर युवा जागरणले अभिसरलाई विद्रोहतर्फ बढायो । २१ सालको कुरा हो । धरानमा कार्यक्रम गर्दागर्दै सरकारले गोली पड्कायो । ‘रातभरी हिंडेर विहान विरकुस पुगियो । त्यहाँबाट रेल चढेर नक्सलबाढी पुगियो ।’ त्यहाँ कांग्रेसका निर्वासित नेता भरतबाबु प्रसाईले शरण दिए । साथमा साथी चन्द्र श्रेष्ठ थिए । यो विचलनले फेरि अभिसरलाई पढाइतर्फ फर्कायो ।
कफी लगभग पीँधमा पुग्न लाग्यो । मैले सन्दर्भहरुमा फड्को मार्नु छ । खासमा मेरो आजको साँच्चैको चासो भनेको अभिसरको भाषाशिल्प र चेतना माथि हो । उहाँले संगीत, चित्रकला, नाटक, रङ्गमञ्च र कवितामा बराबर आफ्नो चेतनाले समालोचनाका स्तम्भ खडा गर्नु भएको छ । इतिहासलाई निजत्व मिसाएर पुर्नलेखन गर्ने र वर्तमानको व्याख्या गर्ने । मानिसका समयका रेखा जोडेर कलाको समसामयिक व्याख्या गर्ने । ती सबै सुन्दर निबन्ध बने । रचना बने ।

जब मैले उहाँका हाइकु पढें । कविता पढें । ‘कार्पेट टाँगिएको आकाश’ पढेँ । (यसभित्रको ‘घर’ निबन्धमाथिको राजनीतिक चेत राखेर झलक सुवेदीले कान्तिपुरमा सुन्दर लेख लेखे ।) निबन्ध र टुँडिखेल पढेँ । उत्तरवर्ती कालखण्डका निबन्ध पढेँ । कति निबन्धमा म आफैँ विम्बका रुपमा प्रयोग भएँ । मेरो उच्च नासिका त्यहाँ आयो । नाटकहरु पढेँ । खेलेँ । खेलाएँ । उहाँको भाषाशिल्प मेरो चेतना र साहित्य समजको एउटा जोल्ठिएको अंग भएर आयो । यसले मलाई रोमाञ्चक तरिकाले पिरोल्यो ।
मेरो त्यो एउटा लेख पढिसकेपछि एकदिन अचानक जस्तै सुनील पोखरेलले मलाई भन्नु भयो–‘तिम्रो र मेरो लेखाईमा पनि अभिसरको प्रभाव आउन थाले जस्तो भयो मलाई ।’ ‘हो र सर †’–मैले भने । प्रसंग थियो नाटक ‘अग्निको कथा’को एकसयएक प्रदर्शन सकिएपछिको मेरो अनुभव लेख । उहाँले फेरि दृष्टिमा नियमित स्तम्भ थाल्नु भएको थियो ।
मैले त्यो लेखको शिर्षक ‘अग्निको कथा, भुन्चे झाँगड र खरानी’ राखेको थिएँ । तर सम्पादक महोदयले परिवर्तन गरेर ‘अग्निको कथा एकसय एक’ बनाइ दिएछन् । लेखभित्रको भाषा र विम्बको प्रयोगमा पनि प्रभाव रहेछ सायद । संगतले, नियमित पठनले कहिलेकाही त्यो प्रभाव आयो होला । तर, उहाँको जस्तो लेख्नु त बढो कठिन छ । अहिले पनि लाग्छ ‘त्यस्तैगरि लेख्न पाए’ । उहाँले निजात्मक विम्बले समयलाई जोडेर राजनीति र समाजलाई देखाउनु हुन्छ । खगेन्द्र संग्रौलाले आफ्नो स्तम्भ लेखनको बृत्तान्तमा लेखेको छन्– कहीलेकाही उनी राजनीतिक अन्यौललाई निक्र्यौल गर्न नसक्दा अभिसरको लेखबाट एउटा दृष्टि पाउँछन् रे । राजनीति र साहित्य उहाँमा डोकाको चोया खप्टिए जसरी आउँछन् । कहिले क्रम मिलाएर । कहिले क्रम भङ्ग भएर । भन्नु हुन्छ– ‘यही कफी हाउस यहाँ खुल्यो । हामी यहाँ बसेका छौं । गगन भाइले युरोपको यो परम्परा यहाँ ल्यायो । हामी आयौं । यो त्यतिमात्रै भएन अब । यसले वरिपरिको राजनीति, समाज र परिवेशलाई पनि तान्छ । हाम्रो जीवन मिसिन्छ ।’ यसरी नै साहित्य सापेक्ष हुन्छ । समय र परिवेशसँग बस्तुता सापेक्ष भएर आउँछ । त्यही भएर उहाँको लेखमा सन्दर्भको फड्को र क्रमभङ्गले पनि एउटा क्रम बनाउँछ । कसैले उहाँको लेख बुझिएन भन्छ भने त्यसमा पनि अर्थ देख्छु म । जस्तो उहाँको तीन शब्दे शीर्षक राख्ने चलन । पछि बाढि नै आयो तीन शब्दे शीर्षकको । र, हामी साथीहरु ‘जोक’ बनाउन थाल्यौँ । अभि सरको तालु, खुइलिएको डाँडो र राजनीति । पिनास, पिसाव र काठमाडौ । भीड, आलु र जीवन । यसरी जे शब्द राखे पनि सुन्दर शीर्षकजस्तो लाग्ने । तर उहाँको लेख र शिर्षकमा विम्बहरुलाई जोड्ने रचनात्मक रेसा हुन्छ शीर्षकमा । जुन कुरा नदेख्नेले देख्दैन । र, हामी साथीहरुले बनाएको ‘प्यारोडि’ शिर्षक जस्तो व्याख्या गर्छ ।
अर्को कुरा यिनको रचनामा देखिने वाक्य निर्माण र एउटै शब्दको अनेकार्थ लाग्नेगरिको प्रयोग । कहिलेकाही अशुद्ध जस्तो लाग्ने, घुमाउरो जस्तो लाग्ने तर बहुआयामिक र कहिलेकाही हास्यव्यङ्ग्य मिसिएको वाक्य निर्माण समालोचक डा. गोविन्द भट्टराईले भने जस्तै साँच्चै उत्तरवर्ती चेतनाका छन् । अभिसरका निबन्ध कृति ‘उत्तरवर्ती कालखण्डका निबन्ध’ पढ्दा पत्तो लाग्छ । लामो भुमिकामा डा. भट्टराईले अघिसरको भाषा शक्तिको उच्च मुल्याङ्कन गरेका छन् । अथवा त्यसपछि अखवारमा छापिएका निवन्ध पढ्दा पनि देखिन्छ । उहाँको एउटा निवन्ध छापियो कान्तिपुर दैनिकमा ‘उनको भन्दा मेरो लिङ्ग कमजोर छ’ । मेरा लागि यो विशुद्ध राजनीतिक लेख थियो । एकजना भारतीय कलाकार नेपाल आउँदाको कार्यक्रममा धेरैले हिन्दीमा भाषण गरे । तर, अभिसरले अंग्रेजीमा बोल्नु भयो । हिन्दीका लिङ्ग बाचक शब्दमा आफू कमजोर रहेको सन्दर्भलाई जोडेर लिङ्ग बलियो हुनेहरुको राजनीतिक दृष्टिको लेख थियो त्यो । पूर्ण कमेडी ।
मैले उहाँको नाटक ‘अग्निको कथा’का केही वाक्य झिकेर प्रश्न राखें । ज्ञानले पूर्णिमालाई भन्छ–‘तिमीले पानी जस्तो जम्नु हुदैन, पानी जस्तै बग्नु पर्छ ।’ अभिसरले भन्नु भयो–प्रकृतिमा पनि त्यो द्वैध चरित्र छ । यसलाई विम्ब बनाएर जीवनलाई बुझाउन खोजिएको हो । पानी कहिले जम्छ कहिले पग्लन्छ भन्दा के नयाँ भयो र ? वाक्यलाई फुटाउने हो र नयाँ तरिकाले भन्ने हो । उहाँका अनुसार कुराहरु सधैं एकै किसिमले भनिरहँदा अर्थहरु हराउँछन् । मान्छेले वास्ता गर्दैनन् । अंग्रेजीमा यसलाई ब्उजभतष्अ भनिन्छ । साहित्यमा यसलाइ भत्काउनु पर्छ । त्यसैले साहित्य हरेक अवस्थामा खतरा हो र यसलाई मोल्नु पर्छ ।
मेरो अर्को वाक्य हो पूर्णिमाले उसकी संगीनीलाई भन्ने सम्बाद–‘तिमीलाई त के थाहा मलाई के थाहा ?’ सामान्य अवस्थामा हामी यसो भन्छौं–‘मलाई त थाहा छैन तिमीलाई के थाहा ।’ झट्ट हेर्दा अशुद्ध जस्तो देखिने अघिल्लो वाक्यले नयाँ अर्थ दिन्छ । पूर्णिमा आफ्नी संगीनीलाई आदरभाव राखेर बोल्दैछे । आफू पनि थाहा भएको र नभएको स्थितिमा छे । अभिसर वाक्यहरुको यसरी नै विनिर्माण गर्नुहुन्छ । भन्नुहुन्छ– ‘म अखवारमा पनि अखवारी भाषा लेख्दिन । विघटनको भाषा लेख्छु । सम्पादकहरुले मलाई त्यो छुट दिएका छन् । नारायण वाग्ले, युवराज घिमिरे, सजग राना, सुधीर शर्मा, शेखर खरेलहरुले मलाई त्यो स्पेश दिए ।’

उमेरको रमाइलो प्याराडक्स । अभिसरले किशोर वयमा आफूभन्दा धेरै पाकाहरुसंग संगत गनुभयो । सिद्धिचरण, सम, विजय मल्ल, अम्बर गुरुङ, शशी शाह आदि । यतिखेर उहाँ युवाहरुको साथमा हुनुहुन्छ । शिव दाइ भन्नु हुन्छ –‘हाम्रा विद्यार्थीहरु पनि उहाँका विद्यार्थीका रुपमा देखिए । तिनका सपना र उत्साह उहाँको खारिएको परिपक्क विचारमा मिसिएर नयाँ गति पायो ।’ अभिसरका लागि लेखन एउटा अत्यन्तै सिन्सियर कर्म भएर आयो । बृहत अध्ययन, कडा मेहनत र उच्च चेतना ।

उहाँको लेखनमा निजान्तमकता अर्को ठुलो विशेषता हो । निबन्धमा मात्रै हैन । कविता र नाटकमा पनि उस्तरिनै देखिएको छ । नाटक आरुका फुलका सपनाको पालेदाइ, मायादेवीको सपनाकी मायादेवी, युमाको नाफेती आदि चरित्रहरु उहाँको संगत र सेरोफेरोबाट आएका सजिव पात्रहरु हुन् । उहाँ भन्नुहुन्छ–‘लेखनमा निजत्व आओस् भन्ने मेरो चाहना हो । अचेल यूरोपतिर पनि यसरी लेखिन थालेको छ ।’ मलाई उहाँका उत्तरवर्ती सोचले यसरी पनि छुन्छन् । जबजब कफीको कपको पींध निख्रिसकेको थियो, भन्नु भयो–‘अब हामी यो सेमी पारसीतिरको रङ्गमञ्चमा लाग्नु हुदैन । अलिक सजिलो तरिकाले नाटक मञ्चन गर्ने योजना बनाऔं ।’ यही कुरा कोपेनहागेनबाट नेपालसम्मको उडानभरि रातभर सोच्दै ‘भारत वर्षे नेपाल खण्डे’ झर्दैथिएँ । नेपाली रङ्गमञ्चलाई चाहिएको यो उत्तरवर्ती सोच फ्याट्ट अभिसरले भन्नु भयो । सुफी सेमिनारबाट फर्केपछि भेट्ने योजना सहित हामीले आआफ्ना घरतर्फ लाग्नका लागि हाउस ब्लेण्ड बार्ता बिट मार्‍यौं । फेरि पुरानै ठाउँमा फर्किएर शिव दाइ र पुष्पसँग विदा भएँ ।




Friday, March 16, 2012

बाबुलाल झाँगडको नोबेल यात्रा



‘मण्डी मल्ला’ । यी दुई शब्द भने सानैदेखि मुखमा झुण्डिएका थिए । प्राय झाँगड साथीहरुलाई देख्दा हामी केही इतरहरु ‘मण्डी मल्ला’ भन्दै जिस्क्याउँथ्यौँ । उनीहरु ट्वां परेर हेर्थे । सम्पतलाल मेरो नजिकको साथी थियो । ‘चामल छैन’–अर्थ थाहा भएपछि नरमाइलो लाग्यो । जिस्क्याउन छोड्यौं । निक्कै वर्षसम्म तिनका यी दुई शब्द मात्रै बुझेँ मैले । म मात्रै हैन साथीहरु जीवन, कुमार, अनिल, भरत कोही पनि झाँगड भाषा बुझ्दैन थिए । मेरा काका कृष्ण र छत्र काफ्ले भने फाट्टफुट्ट बोल्थे । गाउँका कमेडी माष्टर यी युवाहरु उक्त समुदायमा धक खोलेर घुलमिल हुन्थे । काका मुटु समस्याले केही वर्ष अघि वित्नु भो । छत्र गाउँकै प्रा.वि.मा प्रअ छन् । केही वर्ष अघि बनेको उक्त स्कुलमा अधिकांश विद्यार्थी झाँगड समुदायका छन् । त्यहाँ जेनतेन पढ्छन् र पढ्नै छोड्छन् ।
ठाडो लमतन्न सुतेको कर्जुना गाउँको दक्षिणतिर थारु र उत्तरतिर झाँगडहरुको बस्ती छ । बीचमा छन् बाहुन क्षेत्री र बसाई सरेर आएका केही लिम्बुहरु । यो गाउँको करिव ६० वर्षे इतिहासमा अहिले पनि एउटा मात्रै झाँगडको घर गाउँको बीचमा छ । मान्छे मान्छेबीच घुलमिल हुन कति गाह्रो । यसलाई भत्काउन कुनै त्यस्तो गतिविधि पनि भएन । त्यही गाउँका अमिलाल झाँंगड माओवादी समानुपातिकबाट संविधानसभा सदस्य भएर आए । तर, न अमिलालको घरमा चर्पी बन्यो न त उनीहरुलाई हेर्ने हाम्रो दृष्टी फेरियो । थाहा छैन संविधान सभा भवनमा अमिलाल कहाँनेर बस्छन् ।
करिव दुई दशकअघि हाम्रो गाउँमा विद्युत आयो तर विद्युतका खम्बा गाड्ने काम झाँगड वस्तीको मुखमा लगेर रोकियो । तिनका टोलमा बत्ती पुग्न अझै झण्डै १० वर्ष लाग्यो । तर सबैको घरमा बत्ती बलेन । मासिक सुल्क तिर्ने हिम्मत तिनमा थिएन । गाउँका बीचका घरमा कायापलट भए । इँटाका नयाँ किसिमका घर बने । पहिले गाउँमा एउटा मोटरसाइकल आउँदा हामी धुवाँ सुँघ्दै पछि कुद्थ्यौं । धुवाँ मिठो बास्ना जस्तो हुन्थ्यो । अहिले लगभग घरैपिच्छे मोटरसाइकल भएछन् । त्यही धुवाँ गनाएर नाक थुन्नु पर्ने भयो ।
अत्यन्तै मेहेनति र इमान्दार झाँगडहरु विस्तारै गाउँबाट विस्थापित हुँदैछन् । टोल निक्कै पातलिएछ । गाउँलाई यसको पत्तो छैन । लाग्छ त्यो अर्कै छुट्टै भूगोल हो । हरेक वर्ष दशैंको पुर्व सन्ध्यामा धुमधाम मनाउने उनीहरुको महान् चाड धरमकरम धरमकरम पनि झिनो हुँदै गएछ । तल्तिरका केही राई युवाहरु झाँगड युवतीहरुसँग नाच्न पाउने लोभले आउँछन् । (तिनीहरु ज्यादै सुन्दर हुन्छन् ।) एक हप्तासम्म चल्ने यो नाच र पर्वमा अरु कोही मिसिदैनन् । लोडसेडिङ छ । पहिलेपहिले लाल्टिन बालेर नाच्थे † पल्लो गाउँका साना राजाहरुले अलिअलि सहयोग गर्थे रे । अहिले सानाराजाहरुको पनि दिन गयो । धरमकरममा लाल्टिन पनि बल्दैन ।
यसपटकको धरमकरम हेर्न म त्यहाँ पुगेको थिएँ भाइ मात्रिकासंग । सत्येले बजाएको ढोलकको ताल र युवायुवतीहरुको नाचको चालदेखेर नाचाँै लाग्यो । नाचें । मात्रिका लजाएर नाचेन । म नाचेको देखेर सबै केटाकेटी खित्का छोडेर हाँस्न थाले । भिडको छेऊमा लौरो समाएर एक जना बृद्ध टुक्रुक्क बसेका रहेछन् । चिने जस्तो लाग्यो । छेऊमा गएँ । बाबुलाल दाइ पो रहेछन् † तिनको स्वर कर्णप्रिय थियो । सधैं धरमकरममा उनैले गायनको नेतृत्व गर्थे । नाच्न पनि सिपालु थिए उनी । केही पटक देखेको थिएँ मैले । पुराना दिन सम्झिएँ । रात पर्दै गएपनि तिनको स्वर सून्यतालाई चिर्दै हाम्रो घरसम्म आइपुग्थ्यो । हामी अर्ध निन्द्रामा सुन्थ्यौं । त्यहाँ जाने मोह हुन्थ्यो तर सक्दैन थियौं । मध्यरातसम्म गाउँथे उनी र अरुहरु ।
‘लौ कान्छा पो आएछ, बस् बस्’–बढो मायाले तिनले भने–‘कहिले आको ? हाम्लाई माया त मारेको रैनछ ।’ आज बाबुलाल दाइ नाच्दै छैनन्, गाउँदै छैनन् । ‘तपाईलाई ठिक छ ?’ मैले सोधेँ । ‘कहाँ ठिक हुनु नि †’ देखाउँदै भने ‘यो दाइने खुट्टो चल्दैन । चिमोटेको पनि थाहा पाउँदैन ।’–तीन छोराका बाऊ बाबुलालको दु:खको कथामा निक्कै उपकथा थप्पिइसकेका रहेछन् । ‘मन्डी मल्ला, डाग्डरको कुरो त छोड् ।’ मेरो आग्रहमा तिनले लौरो टेक्दै नाचिरहेका युवायुवतीहरुको माझमा आएर सुरिलो भाकामा गीत गाए । स्वर निक्कै माथि तानेर गाए । सरीरमा जिरिङ्ग काँडा उम्रियो । मोवाइलमा रेकर्ड गरें र तिनको यादमा रिङ्ग टोन बनाएँ ।
चिसो साँझमा पनि पसिनाले निथ्रुक्क भिजेछु । घर फर्कियौं । राती अबेरसम्म बाबुलाल दाइ मनमा खेलिरहे । उनले माटो काटेर हाम्रो खेत मिलाएको, आंगन र ग्वाली पुरेको, ती सबै पुराना दिनहरु मस्तिष्कमा फिल्मको रिलजस्तो चलिरह्यो । तिनले गाउँमा सायदै कसैको खेत मिलाउन, आगन र ग्वाली पुर्न बाँकी राखे । बिचरा यिनले सधैं सस्तोमा काम गरिदिए । कहिल्यै पनि उनले मागेको ठेक्का रकम घटाउनु परेन । हामीले सोचेभन्दा दुई पैसा कम नै भन्थे उनी । त्यसैले सबैले उनैलाई काम लाउँथे । उनलाई पैसाको अभाव सधैं भयो । २, ३ तिर कामको एड्भान्स लिन्थे र समस्यामा पर्थे । दिनभरि माटो काट्थे र साँझ सलकपुर वा जोगीचौर गएर टिल्ल भएर आउँथे । एकदिन उसरी नै साँझ खाएर आएछन् । र, खोल्सामा परे छन् । देखें । समाएर घरसम्म पुऱ्याएँ । र, उनकी श्रीमतीमन अगाडि सम्झाएँ । ‘दाइले यसरी धेरै रक्सी पिउनु ठिक भएन । भाउजुले सम्झाउनु पऱ्यो नि । दिनै पिच्छे पिएपछि पैसा, मण्डी कहाँबाट आउँछ त ?’ सोझी भाउजु हँसिली देखिइन् । दाइ केही बोलेनन् । मेरो अर्ति पालन गर्ने संकेत पाएँ । एकछिन पछि त दाइले झोलाबाट कालो रंगको जानेमाने बोतल निकाले । पिँढीमा बसेर दाइभाउजु सँगै लाउन पो थाले ‘दारु’ । म मज्जाले हाँसे । हाँसोमा लाज मिसिएको थियो । बुढाबुढी यति खुशी देखिन्थे, मानौ उनीहरु साँझलाई एउटा उत्सवको रुपमा मनाउँदैछन् । प्वाल परेको छानोबाट जुनको उज्यालो पिडीसम्म आएको थियो । लाग्थ्यो जुन पनि उनीहरुसँगै दारु उत्सवमा छ । आफ्नै अर्ति सम्झिएर काउकुति लागेर आयो । आगनमा तरकारी पाकाइ रहेकी तिनकी कलिली बुहारी मुसुमुसु हास्दै थिइन् । दाइले इसारा गर्दै भने–‘लाउँछस् अलिकति ?’ घर पुगेर सिधै भान्सामा गएँ र एक फ्वाँक ज्वानो फुक्याएँ ।  
सलकपुर छेऊमा बस्नेतको पोखरी खन्दाखन्दै उनको खुट्टो बिग्रिएछ । र, अहिले थला परेर बसेका रहेछन् । बस्नेतले भनेछ, निको भएपछि खन्न आउनु । गाउँमा चन्दाका अनेक बहाना आइरहन्छन् । यस पटक कसैले बास्ता गरेनछन् । बाबुलाल दाइले कान्छो छोरो बिरामी पर्दा एकपटक घरघरमा गएर चन्दा मागेका रहेछन् । फेरि माग्न जान उनलाई अफ्ठेरो लागेछ । जेठा र माइला छोरा पनि मजदुरी गरेर खान्छन् । कान्छो इण्डियातिर छ रे † उनीहरुले पनि उपचारको लागि चासो देखाएनछन् ।
छत्र काफ्लेले साथ दिए । घरघरमा गएर पैसा उठायौं । सुरुमै न्यौपाने माइलाले ५० रुपैया दिए । र एक लेक्चर पिलाए–‘यो जात यस्तै हो, जति गरेपनि नहुने ।’ लौ जातलाई दोष ? रिस उठ्यो, तिनको अज्ञानी बचनलाई तिलाञ्जली दिंदै सहयोगी भावनाको प्रसंसा गऱ्यौँ । अरुले पनि भुतभुताउँदै १०, २० दिए । कठिनले ९ सय रुपैयाँ जम्मा भयो । माइलो छोरोले ५ सय दियो । बाँकी पुरताल मेरो गोजीबाट । विराटनगर स्थित नोबेल अस्पताल लिएर गएँ । पुर्जीको लाइन लामो रहेछ । दाइलाई लाईनमा राखेर म अर्को काम भ्याउन बाहिर निस्किएँ । फर्केर आउँदा पुर्जी हात पारिसकेका रहेछन् । हेर्छु । पुर्जीमा लेखिएको छ–‘बाबुलाल उराम, वर्ष ५ ।’ हाँस् उठ्यो । युवतीले ‘कति वर्ष ?’ भनेर सोधिछन् । बाबुलाल दाइले ५ सालको भनेछन् । पुर्जी काउण्टरमा गएर ती खिरिली युवतीलाई भने–‘यो उमेरको मान्छे ५ वर्षको हुन्छ ? सँच्याइ दिनुस् ।’ ५ सालमा जन्मिएको मान्छे अहिले ६३ वर्षको हुन्छ । उनी उल्टै झर्किइन् ‘यी मधिसेहरु त्यस्तै हुन्छन्’ । आम्मै † तपाई चाहिं के नि ? त्यसमाथि मधिसे हैन मधेसी भन्नु पर्ने । आफू नबुझ्ने अनि सिंगै समुदायदाई दोष दिने ? लाइन लामो थियो । प्रोपोगाण्डै होला जस्तो लाग्यो र अर्ति बन्द गरें । तिनले पुर्जीमा नयाँ स्टिकर टाँसिन् । हिंडे ।
हामी नशा तथा हड्डी विशेषज्ञ कहाँ पुग्यौँ अनि एक्स–रे रुम र फिजियोथेरापिष्ट कहाँ । सबै ठाउँमा मलाई प्रश्न गर्थे–‘उनी तपाईको को ?’ प्रश्नको औचित्य के थियो मलाई थाहा छैन, भनेँ–‘मेरा गाउँले दाइ’ । ती डाक्टरबाबुले मेरो अनुहारमा नहेरी, मसँग कुरै नगरी खुरुखुरु औसधी लेखि दिए । कोठा नम्बर १४ । विशेषज्ञ जो परे । एक्स–रे रुममा बसेकी महिलाले बाबुलाल दाइलाई छुन मानिनन् । ढोकामा विरामी मात्रै भनेर लेखिएको थियो तर, तिनले विरामीलाई समाएर एक्स–रे बेडमा राख्न मलाइ नै लगाइन् । चर्चरी बाजें । भुत्तभुताउँदै उनी निस्किइन् ।
पालो आयो, फिजियोथेरापिष्टको । उनले पनि मलाई उसरी नै प्रश्न गरे । हरेकपटक डाक्टरले यसरी प्रश्न गर्दा लाग्थ्यो, बिरामी ठूलै संकटमा छन् । ‘गाउँले दाइ’–यान्त्रिक उत्तर दिएँ । डा थेरापिष्ट अनिल गुप्ताले बाबुलाल दाइलाई भने–‘एता आएर बस ।’ म रिसले काम्न थालिसकेको थिएँ । फेरि उनले सोधे, ड्रिङ्स् गर्न थालको कहिलेदेखि नि ? मैले भने ‘१०, ११ वर्षदेखि होला’ । थेरापिष्ट झर्किए ‘चुप लाग्नुस् । मैले तपाईलाई सोधेको कि बिरामीलाई ?’ म पनि आगो भएँ । ‘विरामीलाई तपाईले गर्ने व्यवहार यही हो ? मलाई ‘तपाई’ अनि यी बुढालाई चाहिँ ‘तिमी’ ? मैलो लुगा लाएको देखेर हेपेको ? अनि यी निरक्षरलाई ड्रिङ्स् भनेको चाहिं के था नि ? थोडा यिनले मिति टिपेर पिउन सुरु गरे ?’ थेरापिष्टले गल्ती स्वीकारेनन् । बरु नजानिदो पाराले व्यायामसालमा जाने लाइनमा बाबुलाल दाइको पुर्जी सबैभन्दा तल राखिदिए । ‘थुइक्क बुद्धि’ । डाक्टरको व्यवहारले दिग्दार बनायो । शिथिल भएर कुरुवा बेन्चमा बसेँ । पल्लो छेऊमा बसेका अर्का डाक्टर मेरै पक्षमा छन् जस्तो लागेको थियो । एकछिनमा ती जुँगे डाक्टर बाहिर आएर मलाई कोट्याए–‘तपाईको नम्बर पाउँ न’ । ‘९८०३०४–०७–’ । लाग्यो उनी मलाई सहयोग गर्दैछन् । ‘नाम ?’ त्यो पनि भनिदिएँ । उनको नाम सोधाइमा सकारात्मक भाव थिएन । सोधेँ ‘किन सोध्नु भएको ?’ गौरबका साथ तिनले डकारे–‘अघि भित्र बादविबाद भएको थियो नि, त्यसैले ।’ बुझिन–‘अनि के भो त ?’ उनका हिसाबले बहादुरी झल्कने रहस्य खोले । अस्पतालको प्रशासनले मसँग कुरा गर्ने छ । भोली अस्पतालमा तोडफोड वा आन्दोलनको घटना भए मेरो नाम पनि संकाको घेरामा पर्ने छ । मैले पनि उनको नाम र मोवाइल नम्बर सगौरव बाबुलाल दाइको एक्स रेको खाममा लेख्न लगाएँ–‘डा. भिम सरकार’ । सुरुमा त तिनले आनाकानी गरे । पछि नलेखी धर ? निक्कैबेर कुरेपछि बाबुलाल दाइको पालो आयो । तिनको निहितार्थमा मैले पनि व्यायाम सिकेँ । भरे, घरमा गएर फेरि उनलाई सिकाउनु थियो ।
पुर्जी सित्तैमा बनाइदिएर ऐक्स रे र अन्य परिक्षणमा पैसो कुम्ल्याउने नोबेल अस्पतालको बाबुलाल दाइसंगको यात्रा बढो स्मरणीय रह्यो । त्यसप्रतिको मोह पनि भंग भयो । १५ दिन पछि फेरि त्यहाँ जानु पर्ने थियो । बाबुलाल दाइले त्यहाँ नटेक्ने बाचा गरे । म यता राजधानीको भिंडमा भास्सिएँ । एक चरणको औषधी खाएपछि बाबुलाल दाइ अलिअलि हिड्न सक्ने भएका थिए रे † विसेक भएको देखेर उनलाई उदारो दिने किराना पसले, चामल पैचो दिने बाहुन र माटो काट्न एड्भान्स् दिनेहरुको अनुहारमा चमक देखियो होला । क्रमश २५०, २ किलो चामल र ५ सय एड्भान्स् अहिलको बेलामा धेरै पैसो होइन । तर, बाबुलाल दाइका लागि ठूलो पहाड जस्तो भो । त्यस टोलका घरघरका कथा यस्तै छन् । उनी त एक विम्ब भए । छुट्ने बेलामा उनी भन्दै थिए– ‘आङ्ना दु:ख मञ्जा’ ।
आउने धरमकरममा यी दाइ नाच्न सक्छन् कि सक्दैनन् । नाच्दै गाउन सक्छन् कि सक्दैनन् । डाक्टरले रक्सी नपिउनु भनेका थिए । तिनले पक्कै छोडेका छैनन् । चिन्तामा छु ।


Tuesday, March 6, 2012

पूर्वको हनिमुन र राजनीतिक चटारो



फागुनको अन्तिम साता पनि फिक्कल निक्कै चिसो थियो । इलाम यात्राका लागि निस्किएका धेरै मायालु जोडीहरु विहान अबेरसम्म अनुहार देखाउने मुडमा थिएनन् होला । सिरक जिन्दावाद् । मौसम थियो नै त्यस्तै । वरिपरि चिया वगानका बीचमा एउटा काठैकाठले बनेको सुन्दर र कलात्मक घर, न्यानो कोठा, चिसो मौसम । सम्झनुस्, गणेश रसिकको फिक्कलको घर जस्तो । त्यही सुन्दर घरमा बस्ने सौभाग्य मिल्यो । उसरी नै अबेरसम्म सिरकमा गुटुमुटु हुन पाइयो । राजधानीमा जस्तो सौचालयसँगै पत्रपत्रिका पढ्ने वा रेडियोको समाचार सुन्ने कुनै चासो थिएन त्यहाँ । स्वच्छ हावा, एकान्त पन, चिया वगान र हरिया रुखहरुले पहाडमा निर्माण गरेको यौनिक सौन्दर्यको आँखा चिम्लिएर रसास्वादन गर्ने अवसर थियो त्यो । यो कस्तो सौन्दर्य भने चिसो मौसममा न्यानो वातावरण भित्र बसेर आफू वरिपरि भएका सुन्दर वस्तुलाई मनमनै सम्झिएर भोग गर्ने समय थियो त्यो ।

अचनाक फिक्कल एफएमको मोडुलेसनमा रेडियो ‘लाउड स्पिकर’मा घन्कियो । नघन्कियोस् पनि किन, घरपति रसिक बा नै त हुन् फिक्कल एफएमका नाइके । ‘कन्याम छ निवासी मित्र होमनाथ अधिकारीको आज जन्म दिन भएकाले उसलाई जन्मदिनको लाखौँलाख शुभकामना दिन चाहन्छु’–उद्घोषिका सुष्मा श्रेष्ठ बोल्दै थिइन् –‘साथै उसले चालेका हर पाइलाहरुले सफलताको शिखर चुम्न सकुन्, इलामेली कान्छी कमला खवास ।’ आच्चै, ती खवास चेलीले कस्तो गौरवसहित आफूलाई इलामेली कान्छी भन्न मन पराएकी π मेरो सााघुरो मनले त्यस्तो सोची हाल्यो । आफू त मोरङको भित्री गाउँमा तिनै खवासहरुसँग हिलोमा माछा मार्दै हुर्किएको । होलीमा रंग खेल्दै बढेको । खवास गाउँको बीचमा हुर्किएको यो ज्यानलाई खवासहरु तराईमा मात्रै हुन्छन् भन्ने भ्रम छँदैरहेछ । ‘इलामेली कान्छी कमला खवास’ सुनेपछि झसंग भएँ । भूगोलमाथिको हाम्रो भ्रम कहिलेसम्म रहिरहला हँ ? आफ्नै अज्ञानतालाई सचेत गराएँ ।

फिक्कलमा दुई दिन दुई रात ‘हनीमुन टाइम’ थियो मेरालागि । कारण लूना साथमै थिइन् । विवाह भएको दुई वर्ष भैसक्दा पनि काठमाडौको भोजन युद्धबाट कहिल्यै उम्किन सकिएन । ‘घुम्न जाउँ’ भन्ने सबै गुनासाहरुको एक मुस्ट समाधान थियो यो । (आज ५ वर्ष पुगेछ , विवाह भएको । चटारो त उस्तै छ)

मेरो मुख्य उद्देश्य फिक्कलका रङ्गकर्मी साथीहरुलाई भेट्नु र उनीहरुका बारेमा टिपोट गर्नु थियो । यसरी नै पुर्वाञ्चल फस्र्याउँदै हिँडेको थिएँ । धनकुटाका कुनाकाप्चा चहारेर, धरान, विराटनगर, दमक, विर्तामोडतिरको काम फत्तेगरेपछि म पाँचथरतिर उकालिँदै थिएँ । पूर्वको बन्दले म पिरोल्लिएको थिएँ । रनाहा छुट्थ्यो । जता गयो त्यतै थुनिनु पर्ने । बन्द र लोड सेडिङ नेपालकै ठूलो रोग बनेको छ अहिले । त्यसमाथि पूर्वका उद्योगधन्दा, कलकारखानाका अगाडि ‘बन्द’ लेखिएका फ्लेक्स् छुण्डिएका देख्दा बिरक्ति बाहेक केही रहेन ज्यानमा । तर स्वाधिनता र आत्मसम्मान भन्ने ‘जिनिस’ अचम्मको हुँदो रहेछ । मधेसीहरुको नाममा बन्द भोग्दाभोग्दा हैरान भएका सर्वसाधारण नागरिकहरु त थारुहट बन्दमा रत्तिभर नआत्तिएका । मूल्य अकासिएको छ, कमाइधमाई छैन, हिडडुल, औषधि उपचारका लागि साधन छैन, त्यही पनि थारुहट आन्दोलनमा आपत्ति नहुनुको रहस्य रहेछ समानान्तर शक्तिको उदयको खुशी । सम्म तराई सोलोडोलो मधेस हो भनिरहेको एउटा समूहको विचारका विरुद्ध अर्को विचार जन्मियो थारुहट । त्यही भएर अन्य जातथरका नागरिकहरुलाई सन्तोष लागेको रहेछ । एउटा अतिवादका विरुद्ध बोल्न सक्ने अर्को अतिवाद जन्मियो । तर, यस्ता समानान्तर शक्तिहरु त हरेक दिन बढ्दैछन् । सर्वसाधारण नागरिकहरुले अनेकौ दु:खका बीचमा फेरेको भ्रमको स्वासले कतिदिनसम्म काम गर्ने हो ‘लिम्बुवान प्रान्त’ लेखिएका अक्षर र मान्छेका मनले उत्तर दिएकै छन् । अनि अझै यी सबै कुराको उत्तर काठमाडौले दिनु पर्ने स्थिति छ जसलाई कुम्भकर्णको निन्द्रा सरेको छ । तिनको उत्तर नदिँदा पनि काठमाडौको रौँ पनि हल्लिएको छैन ।

अर्को बसाई थियो इलाम बजार । उपल्लो किरातको बन्दले ४ दिन त्यहीँ थेच्चारिनु पर्यो । त्यति सुन्दर ठाउँमा पुगेर एउटा सुन्दर संस्मरण बनाउँला भन्ने थियो । चोक बजारमा गाडी पाइन्छ कि भन्दै हरेक दिन कुर्न आउँदा धेरै समय खर्चिनु पर्यो । मेरै गाउँको खवास थरकै भाइ जीतबहादुर त्यहाँ प्रहरी रहेछन् । उनले मलाई पाँचधरसम्म पुर्याउने अनेक जुक्ति गरे, उपाय भएन । बन्दको चकमन्नतामालाई तोड्दै चोक बजारमा दुई जना गाइने दाइ आइपुगे । इलाम चौक बजारको अर्को रमाइलो परेवाहरुको हुल पनि रहेछ । पुरै बजार ढाक्ने गरि परेवाहरु उढ्दा रहेछन् र चौकमा चारो खान आउँदा रहेछन् । एउटा सुन्दर दृश्य कैद गर्न भ्याएँ, सयौं परेवाहरु बत्तिको तारमा लहरै परेट खेले जस्तै गरेर बस्ता रहेछन् ।

तिर्सुलीको किनारमा बालुवा चाल्नेहरु
सोलुमा भारी बोकी बालुवा चपाउनेह बालुवा
अझैनि लोकतन्त्र आको छैन है
जनताले भनेझैं भाको छैन है ।

चालीस नजिक उमेरका कलम गन्धर्व र दलबहादुर गन्दर्व झापाबाट इलामा आएका रहेछन् । सानैदेखि सारङ्गी रेट्न थालेका यी एक जोडी कलाकारले सुनाएका सबै गीत समाजिक थिए । ‘आफूले देखे भोगेको कुरा आइहाल्छ नि गीत बुन्दा’ कमल ले भने ‘त्यस्तै दु:खी मानिसहरुसँगको संगत गरेर पनि बुन्छौं हामी गीत ।’ माओवादी साथीहरुसँग संगत गरेपनि उनीहरुले बनाएको गीत यस्तो रहेछ ।

अरुण तरेर नाना तम्बोर तरेर
आयौं हामी विरताको गाथा कोरेर
कति साथी सहिद भए तम्बोर तिरैमा
कति साथी अपाङ्ग छन् लडे भिरैमा

यिनका कारुणिक स्वर, सारङ्गीले बुनेको आरोहअवरोह युक्त लय र मान्छेका कथा बुनिएका शब्दहरु संचारमाध्यममा बज्न पाए भारतीय सस्ता हिन्दीगीतको दरिलो बिकल्प हुन्थे होला जस्तो लाग्यो । सयौं मान्छेलाई आकर्षित गरेर इलाम चौक बजारमा रुमाल थापेका यी दुई गाइने साथीहरुको जीविकोपार्जनको बाटो पनि एफएम रेडियो बन्न सक्थे कि π रुमालमा १० रुपैयाको नोट राख्नु बाहेक म अरु के नै गर्न सक्थें र ।

पत्रकार मित्र दीपक अधिकारीको घर पनि फिदिम नै रहेछ । छोटो विदमा घर आएका दीपक उपल्लो किराँतको बन्दले थुनिएका रहेछन् । लाग्यो, यो राम्रो अवसर हो । दीपक भएकै बेलामा फिदिप पुग्न सकियो भने त उनले पाँचथर घुमाउँछन् । फोनमा उनीसँग त्यही कुरा भयो । बन्द खुल्ने कुनै छाँटकाँट नभएपछि चौथो दिन मोटरसाइकलमै भए पनि जाने निर्णय गरियो । फिदिमका रङ्गकर्मी साथी माधव कल्पितले दुईवटा मोटरसाइलक पढाइ दिए र हामी श्रीमान्श्रीमती उपल्लो किराँतका सैन्य जत्थासँग डराउँदै उकालो चढ्यौं । हरिया पहाडमा गुराँस फूलेका, तिनका बीचबाट घुमाउरो चिल्ला सडकमा उक्लिँदा त सबै दु:ख भुलिँदो रहेछ । बसमा भन्दा मोटरसाइकलमा यात्रा काइदाको हुँदो रहेछ । माथि डाँडामा बिसाउँदै तल इलाम हेर्दै, गुराँसका फूल खाँदै हामी पूर्वको सुन्दर पहाडसँग रत्तिएका थियौं । नेपालटारमा मझौला चिज उद्योग रहेछ सरकारले खोलेको । चिज धमाधम बन्दै थियो । बन्दका बेलमा पनि हामीले गौरव गर्ने कुरा त्यही थियो । कमसेकम नेपालमा पनि केही त बन्दो रहेछ । ताजा नौनी घिऊको उरुङ चाङ देखेर क्वाप्प खान मन लाग्यो । चिज चाहिं निक्कै खाइयो ।

राँके पुरेपछि हुस्सुले ड्याम्म छोप्यो । मध्यदिनमा पनि अति चिसो । तातो केही खाउँ भनेर हामी होटरतिर छिर्यौं । होटलभित्र अरु मानिसहरु पनि रहेछन् । फिदिममा भर्खरै लिम्बुवानहरुको सम्मेलन भएको रहेछ । होटलभित्र राजनीतिक गफ चल्दै थियो । एक जना दाजु बुरुक्क उफ्रिए–‘मैले त भन्देको छु, अब तिनीहरुको उँभोबाट छ इन्छ नघटाई हुँदैन । अबको आन्दोलन भनेकै यही हो ।’ साँच्चै भनेको मेरो मुटुको धड्कन साविकको भन्दा दोब्बर भयो । मान्छेको उँभोबाट ६ इन्च घटाउँदा त टाउको त च्वाट्टै जाने भो त हौ । साथीहरुलाई छिटो खाएर बाटो लाग्ने इसारा गरें र निस्कियौं पनि । होटलभित्र अर्को पनि रमाइलो विवाद चल्दै थियो । लिम्बुवान सम्मेलनमा व्लास्ट दैनिकका पत्रकार भवानी बराललाई बोलाइएको रहेछ । एकजना दाइ कड्किँदै थिए–‘हैन हाम्रो जातीमा चाहिं पढेलेखेका, विद्वान्, पत्रकारहरु छैनन् । हामीले अझै क्षेत्री बाहुन नै खोज्नु पर्छ ?’

फिदिम बजारको मुखैमा हामीलाई ठूलो सिंगारिएको ‘लिम्बुवान प्रान्त’ गेटले स्वागत गर्यो । मेरो ध्याउन्न मित्र दीपकतिरै थियो । फिदिम बजार पुगेपछि फोन गर्छु त दीपक त लिम्बुवान पार्टीको गाडी चढेर झापातिर पो लागेछ । साथी भेट्ने एउटा उत्साह खत्रक्क भयो । ‘म तिमीलाई फिदिम घुमाउँला’ भनेको साथी त कुलेलम । न्यास्रोपन एकै छिनमा मेटियो । अन्य धेरै साथीहरु अग्रजहरु आइपुग्नु भयो । रङ्गकर्मी माधव कल्पितले धेरै सहयोग गर्नु भयो । कवि धर्मेन्द्रविक्रम नेङ्वाङ पनि त्यही पो रहेछन् । ‘लौ है साथी मेरो त आज गाउँमा ५ ठाउँका कार्यक्रमको प्रमुख अतिथि बन्नु छ लागेँ’…–उनी पुरापुर ब्यस्त रहेछन् पार्टीको काममा । अर्का कलाकार साथी मित्र लिङ्देन पनि हिजोआज लिम्बुवान आन्दोलनमा व्यस्त रहेछन् । झापाका रङ्गकर्मी नरेशजंग पनि फिदिममै रहेर लिम्बुवान आन्दोलनका लागि नाटक गर्दै हिंड्दा हरेछन् । एक साँझ रङ्गकर्मी, लेखक, पत्रकार साथीहरुसँग जमघट भयो । त्यही साँझ फिदिम बजारमा उपल्लो किराँतको राँके जुलुस पनि निस्कियो । मित्र लिङ्देनले म आवद्ध नाट््य समूह शिल्पीको ‘मेधेश तराई’ नाटक अभियानको बारेमा सुनेका रहेछन् । उनले मलाई अनुरोध गरे–‘यदि लिम्बुवान राज्यका पक्षमा नाटक गरिदिने हो भने हामी तपाईहरुलाई सहयोग गर्छौं ।’ लिम्बुवान परिषद्ले नौ वटा जिल्लालाई लिम्बुवान प्रान्त घोषणा गरेको रहेछ । मैले भने–‘त्यसरी त हामीले नाटक गर्न मिल्दैन तर संघीयताका कुरा उढाएर हामी नाटक गर्न सक्छौं ।’ यतिखेर शिल्पी त्यसैको तयारीमा छ । बैशाख ५ गतेदेखि शिल्पी ‘अँध्यारोविरुद्ध’ शिर्षकमा नाटक र कविता लिएर पूर्वाञ्चल भ्रमणमा छ ।

अनेकौं अस्तव्यस्तताका बाबजुत पनि नेत्र ओझा, गणेश हुमागाईं, मित्र दिङ्देन, माधव कल्पित, नरेशजंग, धर्मेन्द्रविक्रम आदिले समय दिनु भयो । पाँचधरको रङ्गमञ्चका बारेमा मैले धेरै कुरा संकलन गर्ने मौका पाएँ । लामोसमय बस्न पाइएन । पाँचथर बन्दको हल्ला थियो । त्यसैले दुई दिनमै हामीले बाटो तपायौं ।
तल पूर्वपश्चिम राजमार्ग पुरै तनावग्रस्त थियो । राजमार्गको बलियो साधन भनेको रिक्सा नै हो यतिखेर । घण्टैसम्म रिक्सामा चढेर काम चलाउँछन् मानिसहरु अहिले । अनेकौं दु:ख गरेर काठमाडौ आइपुगियो । काठमाडौ त उस्तै बा π जिल्लाका दु:ख र विजोगको कुनै चासो छैन काठमाडौलाई । काठमडौ अझै पनि मेलम्चीको झमेला, ट्राफिक जाम र बाटुवाटार धर्नामै अल्मल्ली रहेको छ । काठमाडौलाई एउटै कुराको चिन्ता रहेछ, त्यो हो ‘खसीको मासुको मुल्य बृद्धि’ ।


       

Monday, March 5, 2012

माला, नेता र चरित्र




एक पटक डेनमार्कको नेपाल एम्बेसीमा लोकतन्त्र दिवसको सन्दर्भमा भेला थियो । एक जना मित्र दौरा सुरुवाल र नेपाली टोपीमा आए । उनका अघिपछि अरु मानिसहरु थिए । अत्यन्तै प्रसन्न मुद्रामा झुल्किएका ती साथीसँ आउनु भएका अरु सदस्यहरु हुनु हुदो रहेछ उनैकै आमाबा र श्रीमती ।
युरोपियन मुलुकका लागि विद्यार्थी भिजा लाग्नु ठुलो कुरा भैगो । त्यसमा पनि श्रीमान्श्रीमती नै जानु त झन् खुसीको कुरा भो । त्यहीँ बस्दाबस्दै सन्तान जन्माउनु त उत्पातै महान् काम रहेछ । अर्को महान काम रहेछ ‘टुरिष्ट भिजा’मा आमाबा वा अरु आफन्तलाई निम्त्याउनु । हो तिनै ढाका टोपे साथीले आफ्ना आमाबालाई सबैसँग गौरबका साथ चिनाए । मसँग पनि परिचय भयो । तिनैलाई सोधेँ–‘नेपाल जाने प्लान छ ?’ उनले दङ्ग पर्दै भने–‘देशको स्थिति यस्तो छ । अझै ४, ५ वर्ष गइँदैन होला । फेरि बाआमा पनि यतै आइहाल्नु भो, जाने कामै पो परेन ।’ देशको स्थिति सुध्रिएपछि मात्रै फिर्ने चाहना अरु धेरै साथीहरुले देखाउनु भयो । महोदयको टाउकोमा ढाका टोपी टलक्क टल्कीरहेको थियो  ।
मलाई भने करिव २५ महिना मुलुक बाहिर रहँदा कहिल्यै पनि मुलुकको वेथितिको बारेमा आलोचना गर्ने साहस भएन । लाग्थ्यो माटो छोडेर आएका बेला माटोमा बसेकाहरुको आलोचना गर्नु एक किसिमले गलत हो । त्यसैले मनमा अनेकौ गुम्फनहरु भए पनि लेख्ने साहस गरिन । साथीहरुसँग भेट हुँदा देशका बारेमा कुरा हुन्थे । नेताहरुलाई मर्ने गरी गाली गर्नु र टन्न रक्सी पिउनु हाम्रो रुटिङ जस्तै भएको थियो । सारमा सार त मिलाउनै पऱ्यो । हो पनि, लोकतन्त्र स्थापनापछि पनि देश ०४६ सालको प्रजातन्त्रपछिको परिस्थिति भन्दा नाजुक हुँदै जाला जस्तो लाग्दो रहेछ बाहिरबाट हेर्दा । केही ‘सुपर अप्टिमिष्टिक’ लेखक समालोचकहरुले अब देशले फड्को मार्छ भनेर अति विकसित नेपालको लोभ देखाएको पनि बक्वास लाग्यो । नेताहरुलाई चरम उत्सर्कमा पुगेर गाली गरेको पनि बक्वासै लाग्यो । मेरो वास्तविक बैचारिक रुप के हो त मैले आफैभित्र द्वन्द्व चलाएँ ।
‘कतिपय अवस्थामा हैन जनतानै उस्ता जस्तो तर्क पनि गरियो । भनियो–‘हामी जनतानै उस्ता, यी नेताहरुलाई चुनेर पढाउने को त ? हामी नै हैन ? जनता नै गलत भएपछि नेता कसरी सही हुन्छन् ?’ यी आवेशमा निस्किएका विचारहरु हुन् । ‘यी काम नलाग्ने नेताहरुलाई छान्ने तैँ होस्’ भनेर सबै सर्वसाधारणलाई आरोपित गर्नुको पनि केही तुक छैन जस्तो लाग्छ । तर, नेता बाहेक अर्को पक्ष पनि यो ‘कठोर समय’ निम्त्याउनेमा भागेदार छ जस्तो लाग्छ । यति लामो समयसम्म पनि संबिधान नलेखिनु, राज्य थितिमा नचल्नु वा देशको शैक्षिक तथा भौतिक विकाश नहुनुमा नेता बाहेक अर्को जिम्मेवार पक्ष जनता नै हो जस्तो मलाई पनि लाग्छ । तर, आम जनतालाई एउटै घानमा राखेर हेर्न मिल्दैन । बौद्धिक जमात, सरकारी कर्मचारी वा राजनीतिक दलका भातृ संगठन यसका भागेदार छन् भन्ने लाग्छ मलाई ।
मुख्य रुपमा राजनीतिक दलका भातृ संगठन, विद्यार्थी नेताहरु र ती बुद्धिजिवी जो पार्टीमा आवद्ध छन् तिनबाट नेताहरुलाई कहिल्यै नैतिक दवाव परेन । नेताहरु तिनका छेउमा पुग्दा तिनले नेताहरुको सधैँ तारिफ नै गरे । दुरदर्शिता र गहिरो चेत नभएका जुलुसबाट जन्मिएका धेरै नेताहरुलाई नागरिक भनाउँदो हाम्रो जमातले सधैँ भ्रममा राखेर उनीहरुको प्रसंसा मात्रै गरिरह्यो । सबै भन्दा पीडादायी कुरा त नेताहरु सार्वजनिक कार्यक्रममा जाँदा, राजधानी बाहिर जाँदा तिनलाई तिनका कार्यकर्ता र जनताहरुले गर्ने सत्कार र स्वागतको अद्धितिय संस्कारले विगाऱ्यो ।
भर्खरै पत्रपत्रिकाहरुमा खुब चर्चामा आएको नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाको तस्विर हेर्नुस् । उनलाई सम्मानका साथ १० किलोको माला पह्यिाइएको छ । के अहिलेको राजनीतिक अवस्थामा ती नेता त्यसरी देखिन लायक छन् ? यो संयोग मात्रै हो, यो लेखको उदाहरणमा सुशील कोइराला परे । पटकपटक संविधान सभा विचलन गरेर देशमा बेतिथिको सासन चलाइरहेका बेलामा प्रचण्ड, बाबुराम, देउवा, माधव नेपाल, झलनाथहरुले उसरी नै २५ किलोको माला लाएर गजक्क परेको तस्विरहरु संचारमा आएका छन् । तिनलाई संविधान नलेखिएको र देशलाई यो अफ्ठ्यारो अवस्थामा पुऱ्याइएको पुरस्कार स्वरुप तिनका भातृ संगठन, कार्यकर्ता, कर्मचारीहरु वा बुद्धिजिवीहरुले ती २५ किलोका माला पहिऱ्याइ दिएका हुन् कि ? यतिखेर नेताहरुलाई माला पहिऱ्याएर सम्मान र स्वागत गर्ने परम्परा आफैमा ‘आइरोनिक’ छ मेरा लागि । एकातिर क्याफे, चिया पसल, रेष्टुरेन्ट, अफिस वा जाँडघरहरुमा बसेर नेताहरुलाई सराप्ने र भोली पल्ट तिनलाई नै १० किलो र २५ किलोको माला पहिऱ्याएर स्वागत गर्ने । उता मेरा मित्र देशको स्थिति फेरिएपछि ४, ५ वर्षपछि ऐतै फिर्ने मनस्थितिमा छन् । कोही त नेपालको संस्कृति र परिवेशको निकै याद आउने र आफ्नो संस्कृतिको जगेर्नामा लाग्ने जस्तो स्वाङ पनि गर्छन् । आफै भित्र यस्तो द्वैध चरित्र बोकेर हिँड्दा नागरिकका रुपमा हामी आफैलाई पनि अफ्ठेरो महसुस हुन्छ कि हुन्न होला ?
गतल अर्थ नलागोस् । देश बाहिर जानु नयाँ जीवनको खोजी र मानवीय सभ्यताको नियमित क्रम पनि हो । मानिस संसारको कुनै पनि कुनामा गएर बसेहुन्छ । विश्व एउटा गाउं जस्तो भएको छ यतिखेर । तर, कुरो आडम्बरको हो । स्वास्नीले मकाइ दिएको मिठो खाना खाएर जिब्रो पड्काउने र अर्काले बनाइ दिएको ठाउंमा बसेर मस्ती गर्ने हाम्रो मौलिक पहिचान हो । हामीले आफै पकाएर खान कहिले सिकौंला ? आफैले राम्रो बनाएर कहिले बसौंला ?
एका देशको कथा †

Sunday, February 26, 2012

साकिराको गाउँबाट



‘युनाइटेड स्टेट’लाई म जब अमेरिका भनेर सम्बोधन गर्थेँ ऊ रिसले आगो हुन्थ्यो । यूनाइटेड स्टेटको कट्टर विरोधि ऊ भन्थ्यो–‘डु यु नो हाउ मेनी कन्ट्रिज् आर् इन अमेरिका ?’ त्यो बानीलाई भत्काउन धेरै महिना लाग्यो । एकदिन मज्जाले अन्ताक्षरी खेल्यौँ । उसले एसियाभित्रका देश र राजधानीको नाम भन्ने, मैले अमेरिकाभित्रका । गुगल सर्च जिन्दावाद् । दुवैको सामान्यज्ञानलाई फराकिलो पार्ने बढो गज्जबको कसरत थियो त्यो । अब मित्रता झनै बढ्यो । हामी दाजुभाइ जस्ता भयौँ । कत्तिले त ‘गे’ भनेर ठट्टा पनि गर्थे, कोपनहेगन जो थियो । त्यसो त ४ महिना एउटै कोठामा बसेका थियौँ हामी ।
आरोन स्यान्चेस । ३७ वर्षे कोलम्बियन । कमेडिया स्कुल डेनमार्कमा रङ्गमञ्च अध्ययन गर्दाको मेरो सहपाठी हो ऊ । भेट्दा ३५ वर्षको थियो । दुई वर्षे पाठ्यक्रम सकेपछि गतवर्ष अगष्ट २७ र २९ मा क्रमश हामी आ–आफ्नो मुलुक फर्कियौँ । यो ४ महिनामा हामीबीच सम्बाद हुन पाएको छैन । सहयात्रा र अन्तरंग बसाइमा उसको जीवन कथा र आनीबानीले मेरो मस्तिष्कमा ठूलो ठाउँ ओगटेको छ । फर्कने बेलामा ऊ त्यति खुशी थिएन । हाम्रो भन्दा ठूलो द्वन्द्वमा परेको उसको देशमा ऊ अहिले के गर्दै होला ? त्यतिखेर उसले सुनाएको कथाले मलाई झस्काइ रहन्छ ।
धेरै वर्षसम्म त्यस देशका युवाहरुको ज्यान चिठ्ठामा अडियो । आखिर उस्को पनि पालो आयो । निरासा र डरको गह्रुङ्गो बोझले थिचिएको सरीरलाई कापीरहेका खुट्टाले उचाल्दै उसले अन्तिम पाइला चाल्यो । अनि आँखा चिम्लिएर आकासतिर हेर्दै भन्यो–‘मलाई थाहा छ जिजस्, तिम्रो नाम पुकारेका धेरै युवाहरुले आखिर सेतो बल हात पारे । तर पनि आशाको त्यान्त्रो तिमीसँगै गाँसियो ।’ उसको आनाकानी देखेर कठोर स्वरको सैनिक कड्कियो–‘छिटो तान्’ ।
‘हे ईश्वर † मेरा लागि रातो बल ।’ उसको दाइको हातमा सेतै बल पऱ्यो । पारामेलेटरी भयो । फार्ससँग लड्दालड्दै मऱ्यो । दाइलाई सम्झदै टोक्रीमा हात छिरायो ।
‘जिससले मेरो मात्रै स्वर सुनोस् ? म विश्वास गर्दिन ।’ करिव १० वर्षअघि धर्म परिवर्तन गरेर अर्ध–हिन्दु भएको उसले आइरोनिक खित्कामा भन्यो–‘जिजसले सुन्यो र म अहिले यहाँ छु ।’ अर्थात उसले रातो बल हात पाऱ्यो । मैले उसको सेन्टिमेन्टलाई तोड्दै भनेँ–‘वन्ली मङ्की ह्याज रेड वल्स् इन नेपाल ।’
‘हुहाहा..अर्थात तँ मलाई बादर बनाउन चाहन्छस् ।’ अस्लिल जोकका लागि स्पेनिस केटाहरुलाई कसैले सक्दैन । भलाद्मी भनाउँदो भेलामा पनि गोठाले सम्वाद जमी हाल्छ । अनि केटीका सवालमा नि † मानौ उनीहरु ‘डर्टी पिक्चर’का नायक नै हुन् । केराको अर्थ हामीकहाँ जसरी लाग्दो रहेछ उनीहरु कहाँ पनि उही रहेछ । ‘बानाना’ सायद यो अन्तर्राष्ट्रिय बिम्ब हो । तर ऊ चिकिता बानानाको विरुद्धमा भने हात धोएरै लागेको छ । प्रसंग अस्लिल अर्थहरुको भए पनि म यहाँ चिकितालाई त्यसरी परिभाषित गरिरहेको छैन । न त मैले उसलाई यसको जानकारी गराएँ । बच्चाबेलामा ‘चिकित्सक’ उच्चारण गरेजस्तो भो मलाई ।
मलाई थाहा थिएन । ‘चिकिता’ अमेरिकन ब्राण्ड रहेछ । यस ब्राण्डको केरा डेनमार्कमा र यूरोपभरि नै निकै प्रसिद्ध छ । ‘नन अर्गानिक’ यो केरा ‘अर्गानिक’को ट्याग लाएर बजारमा आउँदो रहेछ । तर, यसलाई उसले तिरस्कार गर्नुका अन्य धेरै कारण छन् । त्यो अन्तर्राष्ट्रिय कम्पनीले केरा उत्पादनका लागि कोलम्बियाका धेरै किसानको जग्गा हडपेको रहेछ । यसको कार्यनीति ‘फेयर ट्रेड’को विरुद्धमा भै गो । कोलम्बियाका पारामिलेटरीहरुलाई आर्थिक सहयोग दिँदै आएको यो कम्पिनीले कति पटक त पानी जहाज र ट्रकहरुमा केराभित्र हतियार लुकाएर कोलम्बियामा सप्लाइ गरेको रहेछ । ‘वाफ् रे’ । उसको कुरा सुनेपछि मैले बाचा गरेँ–‘नो चिकिता प्लिज’ । नेपाल आइनपुग्दै त्यही अमेरिका मोन्सान्टो मिसनमा नेपाल छिर्न लागेको हल्ला सुने । आरोनलाई सम्झिएँ–‘प्रिय साथी चिकिताको अर्को रुप नेपाल पस्न खोज्दैछ । म यहा तेरै रुप धारण गरेर उम्भिएको छु । नो मोन्सान्टो प्लिज ।’ यिनले किसानका स्थानीय बिऊ र जमिनमाथि एकाधिकार जमाउछन् र व्यापारमा एकाधिकार जमाउछन् । सुरुमा राम्रै उत्पादन बजारमा ल्याउँछन् । चल्न थालेपछि रद्दीमाल बेच्छन् ।
शक्तिशाली देशहरुले कमजोरहरुलाई थिचेको एउटा पीडा हो कोलम्बिया । खासमा आफ्नै कलहले । स्पेनिसहरुले त कोलम्बियाको आदिवासी संस्कृति र भाषा नै लोप बनाइ दिए । त्यसैले आदिवासी आरोनको बोली फुट्दा स्पेनिस भाषा उच्चारित भयो । कुनै पनि समुदायको अस्तित्व र पहिचानमाथि शक्तिको प्रहारको यो अत्यन्तै पीडादायी परिणाम हो । परबाट बुझ्दाको कोलम्बिया यतिखेर मेरालागि मिथ्या जस्तो भयो । नेपाली मिडियाले कोलम्बियाको फेसन र साकिरा बाहेक अरु लेखेको कहिल्यै देखिन । यतिखेर साकिरा र ‘फेसन सो’का अर्धनग्न तस्विर नेपाली पत्रपत्रिकामा देख्दा हाँसो लाग्छ । ‘हाम्रो चेतना’ । कोपनहेगनमै हुँदा नेपाली पत्रिकामा पढेपछि मैले आरोनलाई भनेको थिएँ–‘साकिरा त गरिव बालबालिकाहरुलाई पढाउन पो लागिछ त ।’ नेपाली मिडियाले ठूलो स्पेस दियो । साकिराको प्रोपोगाण्डामा ऊ रिसले चुर भयो र अस्लियतको विस्तार लगायो ।
खासमा तीनवटा पक्षबाट कोलम्बियाको समाज ध्वस्त भयो । सरकारी सैनिक, पारामिलेटरी र आन्दोलनरत संगठन । कोलम्बियाको सवालमा पारामिलेटरी सरकारले अनौपचारिक र गैरकानूनी रुपमा बनाएको हतियारधारीहरुको संगठन हो । यो फार्सलाई सिध्याउन प्रयोग हुन्छ । फार्स (FARC-Revolutionary Armed Forces of Colombia)कम्युनिजममा आस्था भएको सशस्त्र भूमिगत संगठन हो जो २ पुस्तादेखि ससस्त्र आन्दोलनमा छ । यतिखेर यसको आयु ५० वर्षको भयो । त्यही पारामेलेटरीले गाउँका जवान युवाहरुलाई उठाएर लग्थ्यो र फार्सका बिरुद्ध ढाल बनाउथ्यो । यसरी नै सखाप भएका थिए आरोनको गाउँका धेरै युवा । फार्सले पनि लग्यो र सरकारी सेनाले पनि । उसका सखाहरु, उसको दाजु । मैले मेरो देशको द्धन्द्ध कथा पनि उसलाई सुनाएँ । राजनीतिक दुस्कर्म र नरहत्याका कथा दुबै देशका उस्तै थिए । यो कारणले भावनात्मक रुपमा पनि हामीलाई झन नजिक बनायो । तर, नेपालको द्वन्द्व समाधान संसारका लागि सफलताको कथा जस्तो हुँदो रहेछ । भूमिगत संगठन मूल राजनीतिमा आएर यसरी शान्ति स्थापना हुनु कोलम्बिया जस्तो देशका लागि ठूलो उदाहरण हो । त्यसैले पनि आरोनसँग म जहाँ पुग्थेँ नेपालका कुरा महत्वपूर्ण रुपमा उठ्थ्यो ।
शान्ति स्थापनाका लागि काम गर्ने एउटा संस्थाले जर्मनीको ह्याम्बर्गका लागि उसलाई निम्तो पठायो । उसले मतिर प्रश्न फ्याक्यो–‘कोलम्बियाको विषयमा मैले एउटा नाटक तयार गर्नु पर्ने भयो । मलाई सहयोग गर्छस् ?’ मेरो लागि त्यो एउटा अबसर थियो । हुन्छ भनेँ ।
हामी स्कुलमा त्यतिखेर मास्कको अध्ययन गर्दै थियौँ । ‘त्यही शैलीलाई प्रयोग गरौं’ दुवैको कुरो मिल्यो । कथा उसैले छान्यो । उसको गाउँ छेऊका माझीमझेनीको कथा । नाम राख्यौँ ‘रेम्बो इन दि डस्क’ । रोमान्टिक प्रेम आयो सुरुमा माझीमझेनीको । सन्तान जन्मियो । त्यो सबै देखाउन माइम र म्युजिक प्रयोग गऱ्यौँ । सम्बाद रहीत । गाउँमा माझीले छोरोलाई आकाशको तारा देखाउँदै कथा सुनाउँछ । ‘आकाशमा बग्दै गरेको तारालाई हेरेर कुनै कुरा माग्यो भने पुरा हुन्छ रे ।’ हाम्रोमा जस्तै लोक विश्वास रहेछ त्यतिपर पनि । कथा रेकर्डेड बजायौँ । भूमिगत लडाकु र सरकारका बन्दुकको प्रभावले माझी परिवार गाउँबाट विस्तापित भयो । नजिकैको सानो सहरमा उनीहरु बस्न थाले । एकदिन बालकले झ्यालबाट देख्यो, नजिकै तारा खस्दै गरेको । आँगनमा निस्किएर खस्दै गरेको तारासँग ऊ केही माग्न चाहन्थ्यो । अचानक ‘चम्किलो तारा’ उसको छातीमा ठोकियो र ऊ मऱ्यो । त्यो खस्दै गरेको तारा थिएनछ । बन्दुकबाट निस्किएको गोली पो रहेछ । ‘हरे † उसले बन्दुकको गोलीमा आएको आगोको झिल्कोलाई तारा ठान्यो’ । आरोनले कथा सुनाउदा नै मलाई राम्रो लागेको थियो । हामीले नाटकमा एक्रोव्याटिक पनि मिसायौँ र द्वन्द्व र तनावलाई बढी दृश्यात्मक बनायौँ । ह्याम्बर्गका दर्शकले नाटक धेरै मन पराए । त्यहीँ हामीले बर्लिनका लागि निम्तो पायौँ । दुबै ठाउँमा नाटकपछि दर्शकसँग लामो छलफल भयो । जब दर्शकहरुले नेपालबाट आएको भन्ने थाहा पाउँथे, अचानक म केन्द्र बन्थेँ । ‘नेपालबाट †’ म अचानक देशको प्रतिनिधित्व गर्दै हुन्थेँ । त्यतिखेर ममा अनेकौ जिम्मेवारी बोध हुन्थ्यो । न मलाई राज्यले पठाएको, न म त्यसमेसोमा त्यहाँ पुगेको । तर, आफूसँग देश सिंगै झुण्डिएको हँुदो रहेछ । नौलो चेत भयो ।

कोपनहेगनबाट नेपालजति दुरिमा छ झण्डै उत्तिमा नै रहेछ कोलम्बिया पनि । पृथ्वीको वल्लो र पल्लो छेऊबाट योजना बनाएर बीचमा भेट्न गएजस्तो भो आरोन र मेरो भेट । हाम्रो मित्रताको अर्को रोचक प्रसंग थियो त्यो । कहिलेकाही पिएको सुरमा हातले रेखा कोर्दै ‘माइम’ ग्लोवमा हामी हाम्रो भेटलाई नाटकीय ढङ्गले अभिव्यक्त गथ्र्यौं । स्वाट्ट । ग्लोब बनि गो । उसले औलाले ग्लोबको पल्लो छेऊमा देखाउँदै भन्छ–ठूला देश भारत र चिनकोबीचमा अवस्थित सानो र सुन्दरदेश नेपाल । म ग्लोवको ओल्लो छेऊ देखाऊदै भन्छु– सानादेश इक्वादोर र पानामाको बिचमा अवस्थित बढेमाको देश कोलम्बिया । कस्तो अचम्म, उसको देश र मेरो देशको अवस्थिति बिल्कुलै विपरित । उसले क्लिसे प्रश्न गर्छ –‘इजन्ट इट अ पार्ट अफ इण्डिया ?’ म भन्छु–‘तिमीहरुको राष्ट्रपति ओवामा हैन ?’ यसैलाई आधार बनाएर हामीले अर्को नाटक बनायौँ ‘सेन्ट्रल ट्रेन स्टेसन’ । सपना बोकेर हिंडेका दुई जिवात् कोपनहेन ‘सेन्ट्रल ट्रन स्टेसन’मा आ–आफ्ना देशका नागरिक भेट्ने आशमा हरेक दिन पुग्छन् । कसैले सहयोग गर्दैनन् । तिनको परिचय त्यहीँ हुन्छ । ती दुई मनुवाको भोगाइ र अनुभूति कथावाचन शैलीमा देखाउँछौँ ।
–‘वाह, केटाले केटालाई किस गरिरहेको छ †’
–‘प्रेत्येक कुकुरको जात अर्को भन्दा फरक छ र तिनीहरु मान्छे भन्दा धेरै छन्’
हाम्रो अनुभव र उच्चारण सुपरडुपर कमेडी भो कोपेनहाउनका दर्शकलाई । नाटकमा आरोनले मलाई सोध्छ–ह्वाट डु यु नो अवाउट कोलम्बिया ?
चाक हल्लाउदै म भन्छु, साकिरा साकिरा । मैले उस्लाई नभेट्दासम्म कोलम्बियाको बारेमा जानेको भनेको गार्विलय गार्सिया मार्खेज पनि हो । मैले हन्ड्रेड इयर्स अफ सोलिच्युट पढेको थिए । मेरी एकजना प्यारी साथीले जन्मदिनमा दिएको उपहार । एउटी बहिनीले किताब पच पारिन् । कालान्तरमा किताब दिने साथीसंग पनि सम्बन्ध विग्रियो । मार्खेजमात्रै सम्झनामा रहे र यसरी आरोनलाई देख्दा स्मृतिका पत्र उम्किए । कताकता नरमाइलो लाग्यो । ‘सायद तपाईले कुरो बुझ्नु भएन ।’ कोलम्बियासंग मेरो त्यस्तो गहिरो प्रेमको सम्बन्ध पहिल्यै थियो । आरोनले भन्यो–‘सरी फर यु’ ।
त्यसपछि मैले बनाएको दरवारहत्याकाण्ड सम्बन्धी नाटक ‘वगलभ ज्ञकत द्दण्ण्ज्ञ’मा उसले युवराजको भुमिका निर्वाह गऱ्यो । उसले बनाएको नाटक ‘लिटिल ख्वानिकतो’मा मैले ख्वानितोको बाऊको भूमिका गरेँ जो जागिरको लोभमा पर्दा सैनिकहरुको कब्जामा पुग्छ । पछि भूमिगत गुरिल्ला भएको बाहानमा क्याम्पभित्रै मारिन्छ । आरोनले मेरो दाइको भूमिका निर्वाह गऱ्यो । यो नाटकमा काम गर्दा हामीबीचको सम्बन्ध झन् प्रगाढ भएको थियो । संयोग पनि अनेक हुन्छन् । मैले नेपालमा आरोहणभन्ने नाट्य समूहसंग केही वर्ष काम गरे । त्यहा पुगेर आरोन नामको साथी भेटियो । फेरि बालकृष्ण समको नियमित आकस्मिकता सम्झिए ।
स्कुल सुरु भएको करिव २ हप्ता ढिलो आएको ऊ र म मात्रै यूरोप बाहिरका विद्यार्थी थियौँ । दुई हप्तापछि मात्रै मैले आफ्नै वर्णको साथी भेटेँ । नत्र पिठाजस्ता साथीहरुको बीचमा म कागजस्तो थिएँ । हाम्रो वर्ण मिले पनि कोपनहेगनमा हामीले पाएको व्यवहार र भोगाइ निक्कै भिन्न थियो । कोलम्बियनहरुले युरोपमा खेप्ने सास्ती देख्दा हामी नेपालीहरु त्यति हेपिएका रहेनछौ जस्तो लाग्यो । युरोप: कम्तीमा डेनमार्क, जर्मनी र स्वीडेनमा मैले देखेको । कोलम्बियन भन्ने वित्तिक्कै लागुपदार्थ दुव्र्यसनी वा व्यापारी भन्ने छाप रहेछ । (भलै नेपालले पनि डेनमार्कमा यो छवि बनाउन सुरु गरेको छ । कोपनहेगनको क्रिस्तेनिया जाँदा थाहा लाग्छ ।) उसको पीडा र आक्रोस म बुझ्थें । मेरो रेसिडेन्ट पर्मिट कार्ड बनाउन १५ मिनेट लाग्यो । उसको ४ घण्टा । कुनै पनि सरकारी प्रकृयामा जाँदा जब उसको श्यामस्वेत अनुहार बोल्थ्यो, परिचय खुल्थ्यो र ऊ बिशेष निरिक्षणमा हुन्थ्यो । ‘त्यो एकदम दिग्दार लाग्दो क्षण हुन्थ्यो ।’ दैनिक जीवनमा ठूलो रेसिज्म । मानवअधिकार र प्रजातन्त्रका ठूला कुरा गर्ने त्यो देशमा यो कुरीकुरी लाग्ने कुरा थियो । अर्को आपत्तिजनक कुरा मैले वर्क पर्मिट पाए तर उसले पाएन । त्यसै त गनगने उ, डेनमार्कको झन् गहिरो आलोचक बन्यो । सुरुमा भिजा दिन आनाकानी गरेकोले ऊ स्कुलमा २ हप्ता ढिलो भयो । पछि वर्क पर्मिट पनि पाएन ।
 हामी दुवै त्यहाँ त्यसदेशका कारणले पुगेका थिएनौ । डेनमार्क पुग्नु संयोग थियो । म नर्बे, स्वीडेन, जर्मनी वा जापान पनि पुग्न सक्थें । ऊ पनि त्यस्तै हो । हामीले देश छानेकै थिएनौ । धेरै मानिसहरु सोध्ने गर्थे–‘डेनमार्क नै किन आएको ?’ ‘तँ मर् । तेरो देशमा के छ त्यस्तो जसले लोभ्याओस् ? हामी आएको नितान्त स्कुलको कारणले हो ।’ वाक्क भएपछि हामीले बनाएको ‘फिक्स’ उत्तर थियो त्यो । तर हामी एक आपसमा मात्रै आक्रोस साटासाट गथ्र्यौँ । त्यसो त डेनमार्कका सुन्दर कुरा धेरै छन् । प्रदुषण रहित वातावरण, सिष्टमको उपयोग, हिउँमा लडिबुडी, क्रिस्तेनिया भित्रको विन्दास घुमाई, साइकिलिङ, वियरको ओभरडोज, आरोनसँग कोपनहेगनमा गरेका विन्दास उपद्रोहरुको सुचि लामो छ ।
लक्ष्मण गाम्नागेको व्यङ्ग्य कविता जस्तो भयो हाम्रो खान्की । ‘विन्स् एण्ड राइस’ एण्ड ‘राइस एण्ड विन्स्’ । ऊ बहुत मिठो बनाउँथ्यो । हाम्रो खाना अरु साथीको बीचमा निक्कै फेमस थियो । गरिवको खानाको रुपमा परिचित भएपनि साथीहरुले मुख फोर्न सकेनन् । हाम्रो मित्रता एउटा उदाहरण जस्तो बन्यो त्यहाँ । त्यसैले पनि रेसिज्म कम भो । क्लासमा यसमानेमा पनि हामी छुट्टै थियौँ, कक्षाका अभ्यासहरुमा हाम्रा कामहरु पृथक हुन्थे । रमाइलो कुरा, २ वर्षमा हामीले जम्मा ६–६ वटा नाटकहरु बनायौ । हाम्रा मात्रै नाटकमा सामाजिक मुद्धा हुन्थे । अरुका सबै सुपर मनोरञ्जन । उडन्ते कथा तर प्रस्तुति सुन्दर हुन्थे । त्यसैले हेर्न मज्जा आउने । आरोन र मेरो मस्तिस्कमा चाहिँ सामाजिक समस्या घोडामा ढोकिएको टापजस्तो भएर बसेको थियो । कक्षाका अभ्यासहरुमा पनि तिनै कुरा आउँथ्यो ।
ऊ धेरै राम्रो कलाकार । कक्षा कोठामै १३ जना मध्ये ऊ उत्कृष्ट थियो । होचो कदको ऊ अलिक सुस्त खालको थियो । हरेक कुरा समय लगाएर गर्नु पर्ने । कक्षाका अभ्यासहरुमा सबैभन्दा अन्तिममा जान्थ्यो ऊ तर राम्रो गथ्र्यो । त्यसो त कहीँ निस्कनु पर्दा उसका लागि तयारीका निम्ति कम्तिमा १ घण्टा दिनु पथ्र्यो । संगै जानुपर्ने ठाउँमा हामी समयमा कहिल्यै पुगेनौ । उसैको कारणले ढिलो हुने । उसको गनगने स्वभावले पनि हामीबीच बेलाबेला समस्या ल्याउँथ्यो । डेनिसहरु प्रति पनि उस्को रोस बढ्दै गएको थियो । हामी दुई वर्ष त्यहाँ बस्दा हरेकवर्ष करिव ६ महिना हिउँ पऱ्यो । दिन पनि ज्यादै अध्यारो र चिसो भयो । मजस्तै गर्मी ठाउबाट आएको उसको गनगन मौसममा थियो र उसमा खै कसरी हो डेनिसहरु चिसा र असहयोगी हुन्छन् भन्ने छाप पऱ्यो । उसको विचारमा मेरो पनि सहमती खोज्थ्यो । कहिलेकाहीँ त सार्वजनिक ठाउँहरुमा पनि उसको र मेरो विचार उही हो भन्ने पार्न खोज्थ्यो तर म डेनिसहरु प्रतिको उसको अतिसयोक्तिपूर्ण हेराइमा कहिल्यौ सहमत भइन ।
कपाल लामो भएको ऊ चुल्ठो बाद्थ्यो । संयोग भनौँ, मैले भेटेका अरु केही चुल्ठे मानिसहरु झै ऊ पनि महिलाहरु प्रति आशक्ति राख्थ्यो । चुल्ठेहरुको समान चरित्र हुने त हैन होला । तर उसलाई भेटेपछि यो अन्धविश्वास जन्मियो ममा । ३५ वर्षे जीवनमा ९ वटा ‘गर्लफ्रेण्ड’ फेरिसकेको ऊ पुराना ‘गर्लफ्रेण्ड’को सौन्दर्यको तारिफ गथ्र्यो र चरित्रको आलोचना । म सोझाको कुरो नगरौँ । म मात्रै एउटा ‘भिक्टिम’ थिएँ उसको कुरा सुन्ने । मैले भेटेका सबै चुल्ठे साथीको स्वभाव यस्तै पाएको छु । उसले स्कुलको पहिलो वर्षमै कक्षाकै साथीसँग सम्बन्ध गाँस्यो । ऊ त्यतिखेर अत्यन्तै खुशी थियो । केटाहरुको जस्तो पुष्ट र दह्रो शरीर भएकी ती स्वीडिस सहपाठीको प्रसंसा अचानक गर्न थाल्यो ऊ । सुरुका दिनमा त्यही केटीको सरीरको आलोचना गथ्र्यौँ हामी, अब परेनकी फसाद । सम्बन्ध ६ महिना टिकेन र सुरु भयो फेरि आलोचना महात्म्य । ‘हे चुल्ठे महोदय’ । त्यसपछि ऊ धेरै महिना त्यही कारणले दु:खी भयो । एक्स गल्र्डफ्रेण्डहरुको भूतले उसलाई घेरेको थियो । तिनका कुरा नगरी बस्नै नसक्ने तर तिनीहरुसँग टिक्न पनि नसक्ने । दोस्रो वर्षको पढाइ सकिएपछि ऊ स्वीडेनको राजधानी स्टकहोम पुगेको थियो, समर थिएटरमा काम गर्न । उसले त्यही अर्की ‘गर्लफ्रेण्ड’ पाएछ । केही महिनाको सम्बन्धपछि आरोनको घर फर्किने दिन आयो । उसकी ‘गर्लफ्रेण्ड’ले आफू पनि कोलम्बियानै जाने वाचा गरिछन् । तर, पछि आउनेगरी । ऊ खुशी र दु:खको दोसाँधमा ऊभिएर मभन्दा दुई दिन अघि कोलम्बिया उड्यो । जानेबेलामा भन्दै थियो–‘अब घरजम गर्ने कोसिस गर्छु । मिले ‘तिर्से’लाई लिएर नेपाल घुम्न आउँछु ।’

जीवन उसरी नै चलिरहेछ





     कन्टेक्टर भाइको ढ्यापढ्याप आवाजले चालकलाई अझै अर्को गाडीलाई उछिन्न प्रेरित गऱ्यो । गाडीको तिब्र गतिले यात्रुहरु असन्तुलित भयौं । हामी धनकुटाबाट सिंधुवातर्फ उकालिंदै थियौ । गाडीको गियर सहित चालक र कन्टेक्टरको कुराकानी पनि बढ्दो थियो । घरिघरि आफूसंगै टाँसिएर बसेकी मोटी दिदीसँग लालुपाते गफ चुट्दै मस्तराम थिए गुरुजी । म एउटै कुराको प्रतिक्षामा थिएँ, अपरिचित परुष त्यस्तरी जिस्कँदा ती महिलाको प्रतिक्रिया खत्रै हुने हो कि π ला अब चालकले दह्रै मुक्का खाने भए । तर त्यस्तो केही भएन । 

गन्तव्य स्थानमा सकुशल पुगियो भने पहाडी बाटोमा गाडी चलाउनेहरु देउतै हुन् कि जस्तो पनि लाग्छ । विन्दास गाडी हांकिरहेका ती अधबैंसे चालक ठूलो घुम्तीमा स्टेरिङ घुमाउंदै चिन्ता सहितको जिज्ञासा बोले–“हिजो हामीले पुरयाएकी सुत्केरी बाँचिन् कि बाँचिनन् होला π तिनी बाँचेदेखि मेरो दु:ख त खेर जाँदैनथ्यो π” अचानक उट्पट्याङ गफबाट गम्भिरतातिर मोडिएका गुरुजीको कुराप्रति मेरो चाख झन बढ्यो । “सिंधुवाबाट झगडामा काटिएका मान्छे ल्याउनु पर्छ कि त बेथा लागेकी महिला । दुवैथरीलाई बचाउन उत्तिकै जोखिम हुन्छ । कति त बाटैमा चिप्लिन्छन्”–‘मोनोलग’ शैलीमा गुरुजी बोले । धनकुटादेखि उँभो लागेपछि गम्भिर विरामीले उपचार पाउन हम्मे छ । एम्बुलेन्स पाउन पनि गाह्रो । आपत्कालीन् क्षणमा धनकुटाबाटै एम्बुलेन्स जाने रहेछन् । गाडीको गती अझै बढाउँदै उनले भने……–“धनकुटाको एम्बुलेन्स सिंधुवा आइपुग्दा त विरामीलाई म धरान पुऱ्याई सक्छु ।” मेरो नजिकै बसेका ती चालकका गफ गर्ने साथीले मतिर मुन्टो बटारेर विश्वास दिलाउंदै भने– “गाउंलेको लागि एम्बुलेन्स उहांकै माइक्रो हो । दिनभरि यात्रु बोक्यो रातभरि विरामी ।” पहाडी इलाकामा तिनको माइक्रोले एम्बुलेन्सको काम गर्दोरहेछ । गुरुजीको ‘मोनोलग’ चलिरहको थियो–“हिजो त मैले सिंधुवादेखि धरान डेढ घण्टामै पुऱ्याइ दिएँ । यस्तो तुफान हाँकेछु कि गाडी सिधै धरान अस्पतालमा छिरेपछि मात्रै रोकियो ।” यस्ता समस्याहरुका विषयमा गुरुजी निकै सचेत झैं देखिए । अरुको दु:खसुखमा आफ्नो गाडीको काम आओस् भन्ने उनको धारणा थियो । “मैले पुऱ्याएकाहरु धेरै त बाँचेका छन् तर अस्ति एउटीलाई भने मरेर अस्पताल पुऱ्याएँ । हात छिराउने बित्तिकै गइछ ।” हिलेभन्दा माथि जोरपाटीमा माइक्रो बस रोकियो । गुरुजीको गनथन पुरा सुन्न नपाई म ओर्लिनु पऱ्यो । मलाई ताम्लिङ पुग्नु थियो । बस विसौनीबाट करिव ३ घण्टा हिंडाई मच्चिने भयो । एकछिनसम्म त्यही कुराले मनलाई ओगटिरह्यो–“हात छिराउने बित्तिकै गइछ ।” बच्चा जन्माउन नसकेर बितेकी एउटी महिलाको कथा थियो त्यो । मेडिकल साइन्सको यो उत्तरवर्ती खण्डमा पनि नेपालको आदिम प्रसुति पीडा उही छ । म पीडाले पिरोलिन्छु ।
हिंडाई मच्चियो । बाटोमा जंगल फडानीको प्रत्यक्ष दृश्य देख्न पाइयो । काठ ठेकेटारहरु तराईबाट पहाडका जंगलमा पसेका रहेछन् । पहाडका किसानहरुको खेतमा भएका रुखहरु जम्मै ठेक्कामा किन्दै उठाउँदै रहेछन् । हिलेदेखि माथि लागेपछि धनकुटाका भित्री गाउँहरु चुलाचुली, ताम्खवाका धेरै जंगलमा ठेकेदारहरुको प्रवेश भेटियो । बढेका रुख किसानले बेच्नु स्वभाविक थियो । आयस्रोतको राम्रो बाटो पनि हो त्यो । तर त्यहाँ वृक्षारोपणको कुनै छनक थिएन । ती रुखहरु काटिएका ठाउँमा किसानहरु खेती गर्ने योजनामा थिए, अनुमान गर्न गाह्रो थिएन । धनकुटाका डाँडा उजाड हुँदै थिए । वातावरण संरक्षण र वृक्षारोपण सम्बन्धी जनचेतनाका लागि सरकार, एनजिओ र आइएनजिओले प्रसस्त लगानी गरेका छन् । तिनले छापेका भित्ते क्यालेण्डर सम्झिदै ती खुइले डाँडैडाँडा हिँडिरहेँ । 

म यतिखेर बाजेहरुको कर्म थलो हेर्न निस्किएको । अचानक आफ्ना पुर्खाको थलो हेर्ने मन भयो र साईंला काकाको पछि लागें । उहां त्यहीं कतै एउटा नि.मा.वि.को प्र.अ. हुनु हुन्छ । त्यस विषयमापछि बुझ्ने नै छु । 
लिम्बुवानहरुले बसीखान नदिएपछि ९ सालमै मेरा हजुरबाले ताम्खवा छोडेका रहेछन् । अहिले समाजमा बाहुनको हविगत अर्कै भएको छ । तिनका अज्ञानताले आफैलाई संकटमा पारे । र, हामी बेकसुर सन्तती न्यायको निसाफमा भौतारिन बाध्य छौं । सबै घटनालाई राजनीति करण गरियो र भारतमा जस्तै धार्मीक र जातीय द्धन्द्धमा होमियो भने त्यहां नाकको लम्बाईको अर्थ होला ? ती निरीह सबै पहाडी जीवनका अनुहार म त एउटै देख्छु । 
मेरा बुबाको जन्म पनि तराईमै भएको रहेछ । आज हाम्रो परिवार तराईमा सबेको ५६ वर्ष भएछ । त्यही पनि केही मानिसहरु हामीलाई “सार पहाडीया” भनेर गाली गर्छन् । विश्वेश्वरप्रसाद कोइरालाले राजा, राष्ट्रियता र प्रजातन्त्र किताबमा लेखेको सम्झन्छु–“हामी ५० औं वर्षदेखि मधेसमा बसेको नागरिकले चाहिँ मधेसी राजनीतिको नेतृत्व गर्न नपाउने, भारतबाट १० वर्षअघि आएर नेपालको अंगिकृत नागरिकता पाउने मानिस चाहिं मधेसको आधिकारिक राजनैतिक व्यक्तित्व हुने π” भर्खरै सरकारले कुन कुन जाती मधेसी हुन् भनेर आफ्नो धारणा सार्वजनिक गरेछ । फेरि पनि हामी मधेसीमा परेनछौं । राज्यको नयाँ संरचना र संघियताको कुरा उठिरहेको बेला संयोगबस म मेरा बाजेहरुको थलो, घुम्न निस्किएको थिएँ । जताततै लिम्बुवान राज्य जिन्दावाद् नारा पढ्दै म निरिह बाहुन पुर्खाको थलोमा घुम्दो थिएँ ।
परेवादिन गाविसमा पर्ने त्यो गाउंको जीवन अझैपनि बिकट नै रहेछ । गाउंका महिला किसानहरु ३ घण्टा हिंडेर आलुबेच्न बजारतिर लाग्दै थिए । खानेपानीको समस्या छ । विजुलीका तार छन् विद्युत छैन । बालबालिका पढ्ने राम्रो विद्यालय छैन । उपचार गर्न राम्रो स्वास्थ्य चौकी छैन । त्यही पनि केही परिवर्तन भैहाल्ला कि भन्ने आशमा छन् जनता । “आच्चै तपाई गोविन्द मास्टरका नाती हौ π” मैले यत्तिका उमेर हुंदासम्म थाहा नलागेको कुरा मेरा बा गाउंका सारा केटाकेटी, युवाहरु बटुलेर अक्षर चिनाउनु हुंदो रहेछ । वि.सं. १९९३ मा जन्मिएका स्थानीय वीरबहादुर लिम्बु भन्छन्–“सातसालमा गोविन्द मास्टरसंगै प्रजातन्त्रका खातिर म पनि कुदेको । राणाहरुलाई फाल्न कम्ता दु:ख गरियो ? अझै उस्ताको उस्तै छ ।” वीरबहादुर धेरै अघिदेखि राजनीतिमा चासो राख्दा रहेछन् । “सानो देश छ कति लुछाचुडी गर्नु हौ । मिलेर बस्नु पर्ने”–मुख खुम्च्याउंदै भने–“पार्टीहरुको पनि कहिल्यै बुद्धि आएन ।” तर ताम्खवामा उनमा जस्तै देश र राजनीतिको चासो सबैलाई छैन । त्यहाँका धेरै घरमा दिउँसो मान्छे भेटिंदैनन् । विहान सखारै गोठ झर्दारहेछन् । दिनभरि उतै काम गऱ्यो, साझ परेपछि घर फर्यो । वर्षौंदेखि धेरै मानिसहरुको जीवन यसरी नै चलिरहेको छ । पुर्खौली थालो हेर्न गएको म, हाम्रा धेरै घिमिरे दाजुभाइको दिनचर्या उस्तै रहेछ त्यहां । तिनको जीवन तन्नम छ । दु:ख र अज्ञानताको बोझले तिनीहरु यसरी टाक्सिएका छन्, जीवन यापनबाहेक तिनका जीवनको अर्को लक्ष्य छैन । तिनीहरु यही जीवनका मनु हुन ? यतिसायोक्ति लाग्ने त्यो यथार्थमा मैले केही रंगरोगन गरेको छैन । 

प्राय वडामा एउटा विद्यालय भेटियो तर भौतिक पूर्वाधार खत्तम छ । कक्षा कोठाभित्र पनि धुलो उढ्छ । विद्यार्थी बस्ने बेन्च छैनन् । मैले नजिकबाट नियाल्न पाएको मेरा काका बासुदेव घिमिरे सम्लग्न विद्यालय । ८ कक्षासम्मको उक्त विद्यालयमा जम्मा ६ जना शिक्षकले पढाएर भ्याउनु परेको छ । त्यसमाथि शिक्षक विदामा बस्छन् । उक्त विद्यालयको कथा यस्तो छ । महाकाली नि.मा.वि.का प्रधानाध्यापक बासुदेव घिमिरेले एकपटक विद्यालयमा धेरै धुलो भयो भनेर डांडाबाट ल्याएको पानी स्कुल परिसरमा छम्किएछन् । “हाम्रा केटाकेटीलाई पढाउन छाडेर यी मास्टरहरुले समय खेर फाले । उल्टै खानेपानी पनि पोखेर सके”– भनेर झम्टिएछन् । विद्यालयका सबै शिक्षकको ठहर छ, अविभावकलाई कुरा बुझाउनै गाह्रो । अनावश्यक कुरामा पनि सातो लिन्छन् । छोराछोरीको पढाइमा चाहिं चासो छैन । अविभावकसंग सम्बन्ध नबिग्रियोस् भनेर कक्षा छोडीछोडी प्रअ घिमिरे १ घण्टा पर घर भएका तेजबहादुर लिम्बुको विहेमा पुगेर बाटोमा आउंदै थिए । २ कक्षामा पढ्ने केशव लिम्बु घरतिर दगुर्दै गरेको देखेर सोधे……–“हैन स्कुल छुट्टी गरे कि क्या हो सरहरुले ?” न्याउरो मुख लाएर केशवले भन्यो–“विहान भात खाको थिन अनि षडानन्द सरसंग छुट्टी मागेर हिंडेको ।” शिक्षकहरुका अनुसार विद्यार्थीहरु यसरी बीचैमा हिड्नु सामान्य हो । प्रअ त हिंडे अरुको त के कुरा । अनि शिक्षकहरु नि π भोली पल्ट ११ बजे विद्यालयतिर लम्किदै गरेका शिक्षक षडानन्द दाहाल बाटामा भेट भए । लजालु हांसो सहित भने–“गाउंमा खसी काट्न थालेको उतै ढिलो भयो ।” स्थानीय राधा अधिकारी हाँस्दै भनिन्–“यी सरको ताल सधैं यस्तै हो । जहिल्यै एउटा बहाना बनाउंछन् ।” त्यहांका विद्यालयका कक्षाहरुमा समयको कुनै पावन्दी वा नियन्त्रण छैन । शिक्षक र विद्यार्थी कक्षाकोठामा नियमित भेट हुनु ठूलै संयोग रहेछ । 

पुरै गाविसमा घरहरु पातला छन् । म बसेको गाउं बाँस बिसौनामा जम्मा १५ धुरी घर रहेछन् । हरेक धुरि परिवारका आफ्नै कथाव्यथा छन् । म बास बसेको घर अधिकारीको हो । घर मुली रमेश अधिकारी(४०) पैसा कमाउने सपना बोकेर कतार र साउदीअरबमा जम्मा ६ वर्ष बसेका रहेछन् । पाउनुसम्मको दु:ख पाएर पुर्रपुरोलाई दोष दिंदै घर फर्किए रमेश दाइ । विदेशमा उनले गरेको दु:ख सुन्ने जोकोही मान्छेका मन रुन्छ । उनी पनि रोएका छन् तर फेरि पनि उनी विदेश जाने योजनामा दलालको पछि कुदिरहेका छन्, भन्छन्–“भाग्य छ भने त राम्रै कमाई हुन सक्छ ।” भाउजु पर सरेकी रहिछन् । कलिला केटाकेटीले अगेनामा सांझको आगो जोरेका छन् । चिसो छ बल्दैन । कोठाभरि धुवां छ । पुषको त्यो चिसोमा ती केटाकेटीले कसरी व्यवाहार गर्दा हुन् ? अधिकारी दाइ अझै पैसाको सपना देख्दैछन् । सिन्को भांच्दैनन् । ताक परे एक ट्वाक लाएर आउंछन् । ती भाउजुले धन्न व्यवहार धानेकी छन् । जेठो छोरो आशाको त्यान्त्रो बनेको छ । जीन्दगी दु:ख छ । सिकसिक लागेर आउंछ । भन्नु नहुने कुरो मनमा आयो ।  

अलिक पर खड्काको घर छ । ४५ उमेरका गंगबहादुर खड्का गाउंभरीका पशुहरु बटुलेर हिंड्दै ४ दिन लाएर झापाको दमक बजार पुग्दा रहेछन् । श्रीमती हिरादेवीले भनिन्–“आइतबार विहानै हिंड्नु भो, अब बुधवार दिउंसोसम्ममा पुग्नु हुन्छ ।” गंगबहादुरको जीन्दगी वर्षौंदेखि यसरी नै चलेको छ । “अहिले त जेठो दाजु पनि बासंगै जान थालेको छ”–एक घण्टा परको डेरीमा दुध पुऱ्याएर आएकी कान्छी छोरी(१३)ले भनिन्– “आमा स्कुल जान ढिलो भैसको, खै त भात” । 

गाउं छोड्ने बेलामा एकजना ७७ वर्षीय बृद्धासंग भेट भयो । “घिमिरेका नाती आएका छन् भन्ने सुनेको थिएं । हेर्ने मन थियो । आउनै सकिन ।” उनले आर्शिवाद दिंदै भनिन्–“लौ नानी आफ्ना बाजेको थलो हेर्न आउनु भएछ । खुशी लाग्यो । सबैले मान्ने हुनु, बढा हाकिम हुनु ।” तिनै हजुरआमाको बढा हाकिम हुने आशिर्वाद् बोकेर ओरालो झरें । बाटामा गुरासका फूल बोकेर उभिएका कलिला नानीहरु भेटिए । तिनका कलिला मुस्कानले मन प्रसन्न बनायो । सोचें–“तिनको भविष्यको जिम्मा कुन सासक, कुन व्यवस्था वा कुन अविभावकको चंगुलमा फसेको छ कुन्नी ?” मन भारी लिएर बाटो लागें । त्यही पनि जीवनमा अनेक सपना छन् । मनमा चामत्कारिक कल्पनाले कुस्ती खेल्छ ‘एक निमेसमा त्यो ठाउं विकाशले झलमल भएको दृश्य मष्तिस्कमा आउंछ । तर, त्यो सब मिथ्या हो । मन न हो । मन मिथ्या हो । नयां ठहर गर्छु । यथार्थ त त्यही जीवन हो । 

तल धनकुटा बजारमा लेखक कविहरु भेटिए । रमेशचन्द्र अधिकारी, राजेश राई, भेषराज कट्टेल, प्रकाश घिमिरे, किरणचन्द्र कार्की, सुमित्रा थुलुङ, भिषा काफ्ले, मणि कुमार श्रेष्ठ,मुकुन्द प्रयास, सन्तवीर लामा सन्देश विहानी आदि कविहरु कविता भट्याउंदै रहेछन् । प्रतिभा प्रक्षिप्तले प्रेमरस भरिएको गजल सुनाईन् ।
दुवै थुंगा आश गर्छन् चुम्बन कसलाई दिउँ
मेरो एउटै अंगालोको बन्धन कसलाई दिउँ

मेरा पुर्खाको जीवन यति पर आएर सम्झंदा मिथक जस्तो भएर उसरी नै चलिरहेछ । म पनि अर्कै जीवन उसरी नै चलाइ रहेछु ।
२०६४ पुस