Wednesday, July 17, 2013

हराएको विरालो


सुसन घरपालुवा जनावरलाई धेरै माया गर्छ । विरालो उसको सबैभन्दा पन पर्ने घरपालुवा जनावर हो । उनी भन्छन्–‘विरालो मेरो मिल्ने साथी हो । विरालोसँग खेल्न रमाइलो हुन्छ ।’
पुरानो साथी माउ विरालोले उनलाई केही नभनी १ वर्षअघि घर छोडेपछि उनी धेरै दुःखी भए । माऊ विरालोले धेरै वच्चा पायो । तर, सबैलाई राख्न नसकिने । उनको बाबा उज्वलले पनि एउटा विरालो मात्रै पाल्न सकिन्छ भनेपछि उनले सबै विरालालाई उत्तिकै माया गरेनन् । त्यसैले नयाँ बच्चाहरुले घर छोड्दै हिंडे । तर, माउ विरालो उनको मिल्ने साथी बन्यो । गाउँघरमा भनाइ छ, १२ वर्षको भएपछि विरालो जंगल पस्छ । अचानक विरालो हरायो । सुसन भन्छन्– ‘बुढो भइसकेको थियो, कतै गएर मर्यो होला ।’
एकदिन विहान सुसन कोठामा बसेर होमवर्क गरिरहेका थिए । बाहिर बरण्डामा म्याउम्याउ आवाज आयो । विरालो कराएको सुनेर उनी एक पटक झस्किए । बुढो विरालो नै फर्केर आएछ भन्ने उनलाई लाग्यो । हैन रहेछ । नयाँ विरालो पो रहेछ । दुःखी सुसनको अनुहारमा अचानक खुशी छायो । विरालो दुब्लो पातलो थियो । खान नपाएर आएको जस्तो देखिन्थ्यो । सुसनले कुँडेमा राखेको दुध खान दिए । एकैछिनमा विरालो उनको खुट्टामा लुटुपुटु गर्न थाल्यो । स्कुल जाने बेलामा आफुसँगै भात खुवाए । उनलाई त्यसदिन स्कुल जाने मन भएन । विरालोलाई सँगै लिएर जान नमिल्ने । छोडेर जाँदा भाग्ला भन्ने डर । तर, विरालो कै कारणले स्कुल जान्न भन्न पनि उनलाई असजिलो लाग्यो । उनकी मम्मी गीताले भन्नुभयो । धेरै विरालोसँग टाँस्सिएर नबस् छिटो स्कुल जा ।
अल्छी गर्दै सुसन स्कुल गए तर उनलाई पढाईमा मनै थिएन । पहिलो कक्षा अंग्रेजीको थियो । सरले अंग्रजीको ‘ओ’ लेख्दा उनलाई विरालाका आँखा जस्ता लाग्थे । ‘क्यु’ लेख्दा त्यही विरालोको पुच्छर । दोस्रो कक्षा नेपालीको थियो जतिखेर उनले आफ्नो कापीमा ठुलो विरालो बनाए । छैटौ कक्षासम्ममा उनको कापीमा माऊ विरालोका ३ वटा बच्चा पनि जन्मिसकेका थिए । त्यसदिन अन्तिम कक्षा भएन । सुसनलाई अरु के चाहियो ? उनी कुद्धै घर आए । ओरिपरि हेरे । उनले विरालो देखेनन् । मम्मीलाई सोधे । भन्नुभयो–‘खै कहाँ मर्यो तेरो साँढे ।’ त्यसरी माया गरेर खान दिँदा पनि नबसेकोमा उनलाई विरालोले झुक्याए जस्तो लाग्यो । स्कुल जाँदा त्यसलाई डोकोले छोपेर गएको भए पनि हुन्थ्यो जस्तो लाग्यो । ‘तर छोपेको विरालो धेरै कराउने थियो र मम्मीले उघारी दिनु हुन्थ्यो ।’
अचम्म भयो । सुसन टिभी हेरेर बसेका थिए । फेरि साँझ उनले म्याउम्याउ आवाज सुने । बरण्डामा उनले विरालो देखे । अब उनलाई पक्का भयो विरालो उनकै घरमा बस्ने भयो । उनले विरालोलाई धेरै मायाले राखे । आफुले खाने कुरा उसलाई पनि बाँढेर खुवाए । यो पनि छोरी विरालो रहेछ । केही महिनामा त विरालोले ३ वटा बच्चा पायो । सुसनलाई अचम्म लाग्यो । उसले कापीमा बनाएको ३ वटा बच्चा त साँच्चैको भयो । सुसनलाई विरालाका साना बच्चा असाध्यै मन पर्ने । हरेक दिन स्कुल जानु अघि उनी बच्चा खेलाउँथे । साँझ आउँदा त विरालोले अर्कै ठाउँमा बच्चा सारिसकेको हुने । सुसनलाई हरेक दिन बच्चा नहेरी नहुने । विरालोले सुरक्षाको लागि ठाउँ सारी रहने । विरालो घरभरीमा गोप्यगोप्य ठाउँ खोजीखोजी बच्चा साथ्र्यो । सुसनलाई कहिलेकाहीँ बच्चा खोज्न सास्ती हुन्थ्यो । यो खेल चलिरहेको थियो । सुसन र उनका बुबा आमाले पनि सुत्केरी विरालोलाई राम्रै खान्की दिइरहेका थिए । एकदिन सुसनको घरमा साँझ भातको साटो रोटी खाने कुरा भएछ । सबैले दुध रोटी खाए । सुसनले विरालोलाई पनि दुध रोटी दिए । भोली पल्ट विरालो घरमा देखिएन । सबैमा खैलाबैला भयो । सुसन दुःखी भए । संका के गरियो भने ३ वटा बच्चालाई दुध खुवाउने विरालो दुध रोटी खाएर सन्तुष्ट भएन । अघाएन । खाना खोज्न कतै गयो । कसैले विष हालिदियो वा त्यस्तै दुर्घटनामा पर्यो । आखिर विरालो फर्केर आएन । सुसनलाई विरालो हराएको चिन्ता एकातिर थियो भने अर्कोतिर ३ वटा बच्चालाई कसरी बचाउने भन्ने । उसले दुधदानी किनेर ल्यायो र गाईको दुध खुवाउन खोज्यो । तर, भर्खर एक हप्ताका ती बच्चा (छाउराछाउरी)ले दुधदानीबाट दुध खान सकेनन् । तिन्लाई मिल्ने दुधदानी पाइएन । सुसन चिन्ताले रुँदै बच्चाका मुख ‘आँ’ गराएर दुध खुवाउँथे । उनका बाबाले पनि उनलाई सघाए । जतिगरे पनि सुसनले ३ वटै वच्चालाई बचाउन सकेनन् । सुसनका बाबा उज्वलका अनुसार सुसन धेरै रोए । २ दिनसम्म खासै खाना खान मानेनन् । कसैकसैले सुसनलाई विरालाको ‘काजक्रिया’ गरे भनेर जिस्क्याए । सुसन झन् धेरै रोए ।
अहिले सुसन सरस्वती ईङलिस स्कुल बेलेपुर, मोरङमा कक्षा ९मा अध्ययन गर्दैछन् । आफ्नो घरमा विरालो नभए पनि काहीँ देखेभने उनी बोकी हाल्छन् । कसैले विरालोलाई खेदाएको कुटेको देखे भने रिसाउँछन् । अहिले उनलाई लाग्छ त्यसदिन विरालोलाई रोटीको साटो भात दिएको भए त्यसरी हराउँदैन थियो कि ।

Tuesday, July 2, 2013

सांस्कृतिक चेतना र नेपालको राजनीति


संकटमा परेको पंक्षी गिद्धको संरक्षणमा सिराहाका एकजना शिक्षक लागि परेका रहेछन् । गिद्धको बासस्थान र आहारा संकटमा छ । त्यसका लागि उनले एउटा उपाय निकालेछन् । मरेका गाईगोरु बटुलेर गिद्धलाई खुवाउने । अभियानमा केही राजनीतिक कार्यकर्ताले रोक लगाए । ती कार्यकर्ताहरुको राष्ट्रियतासँग जोडिएको तर्क बढो ‘बलियो’ थियो । अमेरिकाको राष्ट्रिय पक्षि गिद्ध हो । नेपालको राष्ट्रिय जनावर गाई अमेरिकाको राष्ट्रिय पंक्षी गिद्धलाई खुवाउने ? यो राष्ट्रघाती काम हो । यो खबर सुनेर म स्तब्ध भएँ । हामी युवाहरुको राजनीतिक चेतना कहाँ छ ? राजनीतिक प्रशिक्षण चलाउने हाम्रा नेताहरु आफ्ना कार्यकर्ताहरुलाई के सिकाउँछन् ? यस्ता धेरै राजनीतिक अन्धविश्वास र अज्ञानता जोडिएर हामी यो बेथिति भोग्दैछौँ । रंगकर्म गर्ने म उकुसमुकुस भएर यो लेख लेख्दैछु । गिद्ध, अमेरिका, गाई र राष्टियताको आइरोनी नेपाली राजनीतिक चेतनाको मुटु हो भन्ने मलाई लाग्छ । धेरै हप्तादेखि यो आइरोनी सजिलो र अफ्ठ्यारो अर्थमा म गम्दो छु । एक त तिनलाई अमेरिकाको राष्ट्रिय पंक्षीमा भ्रम छ । तिनले राष्ट्रियतालाई जसरी यो घटनासँग जोडे तिनको बुझाई तहलाई मैले विश्लेषण गर्न नसकेर यहीँ छोडेँ ।

केही दिनअघि बैद्य माओवादीले मजदुरहरुको पक्षमा गरेको भनिएको कथित आन्दोलनका क्रममा एउटा आपत्तिजनक नारा फुके–“आन्दोलन जारी राख्छौं । चाहे देशका सबै कलकारखाना बन्द गर्नु परोस् ।” मिडियाले यसलाई मच्चिएर फुके मानौ यो सुन्दर राजनीतिक मन्त्र हो । तर यो समाचारले म अत्यन्तै दुखी भएँ । मलाई लाग्यो, एउटा सामान्य अबुझ नागरिकले पनि भन्न नहुने कुरा उनीहरुले गरे । माओवादी युद्धमा विध्वंस भएका संरचनाहरु जत्तिकै आपत्तिजनक स्थिति हो यो देशका लागि । हाम्रा पार्टीहरुले गरेको ठुलाखाले राजनीतिक गल्तीहरुमा कहिल्यै कसैले विचार र पुर्नमूल्याङ्कन गर्यो ? मलाई संका छ । सायद त्यसैले हामी पटकपटक असफल भयौं । देशमा चल्तापुर्जा रहेको राजनीतिक पार्टीले देशका विषयमा कसरी सोच्छ र उसको राजनीतिक चेतना कहाँ छ ? त्यो बुझ्ने बलियो आधार हो । भनेपछि, एउटा राजनीतिक अहमका लागि उनीहरु पुरै देशलाई ठप्प पार्न सक्छन् । सबैलाई सखाप पार्न सक्छन् । अदालती कानुनले यसलाई कसरी परिभाषित गर्छ ? के यो अपराध हैन ?

मैले केही दिनअघि यसै पत्रिकामा एकजना मानिएका नेता प्रदीप ज्ञवालीको धार्मीक तथा सामाजिक अन्धविश्वासबाट निम्तिएका केही क्रुर र अमानवीय घटनाहरु माथिको चिन्ता–लेख पढें । केही समयदेखि म शिल्पीमार्फत निरन्तर महिलाहिंसा र अन्यखाले सामाजिक अन्धविश्वासको विरुद्धमा नाटक तयार पारेर देश व्यापी मञ्चनमा हिंडेको र ती घटनाहरुको नजिक बसेर दर्शकहरुसँग बहस गरिरहेको हुनाले उहाँले लेखेका कुराहरु अझै धेरै मेरो चाखको विषय बने ।

प्रदीप दाइ हामीले मानेका नेता हुनु हुन्छ । उहाँले उठाएका बँुदाहरु निक्कै महत्वपुर्ण लागे । तर मेरो ठुलो चिन्ता के हो भने, आफ्नो पक्षमा समाचार नलेखिएकोमा एउटा पत्रकारलाई ज्यानमार्ने हिसाबले कुटपिट गर्ने (खिलनाथ पर्शुराम घटना)राजनीतिक कार्यकर्ता बोक्सी भनेर कुनै महिलालाई जलाउने पुरुषभन्दा कति फरक छ ? तिनका नेता प्रदीप दाइले बोक्सीका आरोपमा मारिएका वा कुटिएका महिलाहरुको पक्षमा लेख्नु र सांस्कृतिक चेतनामाथि प्रश्न उठाउनु मेरो लागि हास्यास्पद हो । मैले त्यतिखेर आफैसँग धेरै प्रश्न गरे, कुनचाहिं बढि अन्धविश्वास हो ? यतिखेर तिनै पर्शुरामलाई अपराधको कठघराबाट मुक्त गराउन उहाँका कार्यकर्ता चन्दा उठाउँदैछन् रे । राजनीतिक पार्टी र तिनका नेताहरुले आफुसँगै कुम्लोमा बोकेर नसकिने अन्धविश्वासले थिचिएर अरुको अन्धविश्वासको आलोचना के अर्थ छ ? तिनै राजनीतिक अन्धविश्वासको संरक्षणमा धेरै अपराधहरु समाजमा घटिरहेका छन् । हुनत आफ्नै घर भित्रको अन्धविश्वास स्वीकार गर्न लाज हुँदो हो । तर, लगभग देशका सबै मार्ग गुडी सक्दा लाग्यो, राजमार्गहरुमा सडक कर उठाउन किन बढेमाका पाखुरा भएका युवाहरु बस्छन् ? गाडीका ड्राइभर र सहयोगीलाई थर्काउँदै ‘चरी’लाई चिनेको छस् भन्छन् । कसले पालेका हुन तिनलाई ? अहिले अधिकांश मेनपावर कम्पनीहरुमा पार्टीका कार्यकर्ताहरुको संरक्षण छ । गुण्डा पाल्ने राजनीतिक दल बढी अन्धविश्वासी कि ती बोक्सी र धामीझांक्री मान्ने गाउँलेहरु ? देशभरी घुमेर र धेरै युवाहरुसँग भेटेर म आफैसँग प्रश्न गर्ने गर्छु, अनेक राजनीतिक आस्थामा हिंडेका हामी युवाहरुको राजनीतिक सोचमा कसरी आमुल परिवर्तन ल्याउन सकिन्छ ? सबैभन्दा डरलाग्दो कुरा एउटाले अर्कोको अस्तित्व स्विकार्दैन । आज नेपाली राजनीतिले सिकाएको ठुलो संस्कार यही हो । अब हामी कुन संस्कारको कुरा गर्दैछौं ?

सांस्कृतिक र सामाजिक रुपमान्तरणका लागि राजनीतिक चेतको महान् प्रभाव रहन्छ । उसैगरी राजनीतिक संस्कारका लागि सांस्कृतिक चेतको उत्तिकै आवश्यकता छ । अतएव मेरो निरिह आत्मा नेपालका राजनीतिक पार्टी, तिनका नेता र कार्यकर्ताहरुका राजनीतिक चेतनालाई बुझेर सनैसनै एक्लै विक्षिप्त हाँसो हाँस्छ । मलाई लाग्छ नेपालका नेताहरु ठुलो राजनीतिक अन्धविश्वास र अज्ञानतामा काम गर्छन् । यसको कारण छ, तिनीहरु राम्रा किताब पढ्दैनन् । राम्रा गीत सुन्दैनन् । राम्रा नाटक र चलचित्र हेर्दैनन् । ग्यालरी वा पुस्तक पसल जाँदैनन् । स्वस्थ खाना खाँदैनन् । व्यायाम गर्दैनन् । यी सबै तत्वको अभावमा तिनका राजनीतिक र साँस्कृतिक अन्धविश्वास विद्यमान् छ । त्यसैले फिनिक्स चराको मिथ चिनबाट आएको हो भन्ने लाग्छ नेपालका कम्युनिष्ट नेताहरुलाई । जबकी यो ग्रिक मिथ हो । राजनीतिमा कस्तो हँुदो रहेछ भने एउटा नेताले बोकेको अन्धविश्वास सारा कार्यकर्तामा सम्प्रेषण हुने । कला र साहित्यमा अन्धविश्वास त्यसरी अडिदैन, बरु भत्किदै जान्छ ।

लगभग एक वर्षअघि नाटकयात्राको क्रममा दाङ पुगेको बेलामा अचानक बन्द भेटियो । सर्बोच्च अदातलले कंग्रेस नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर्याएपछि विरोधमा नेविसंघका कार्यकर्ता सडकमा ओर्लिएका रहेछन् । हामी लज्जित भएर रोकियौं । उनीहरुसँग कुरा गर्ने मन पनि भएन । तिनको राजनीतिक अज्ञानतालाई कसरी चिर्ने ? खुमबहादुर गिरफ्तार हँुदै गर्दा टिभीलाई भन्दै थिए, सर्बोच्च अदालतका दुई विद्धान्हरुले मेरो विषयमा गलत निर्णय गर्नु भयो । गतल निर्णय गर्नेहरुलाई उनले किन विद्धान् भन्नु ? विद्धान् मानिनैसकेपछि निर्णयको पनि पालना गर्नु । एउटा नेताले आफु सरकारमा बस्ता एउटा नियम बनाउँछ र उसैले बाहिर निस्किएपछि भत्काउँछ । ऊ आफैलाई भ्रम छ, उसको राजनीतिक विचार र आास्था के हो ?

हो धार्मीक र संस्कारगत अन्धविश्वासले हामीकहां वर्षौदेखि अन्याय र अत्याचार हावी छ । तर त्यसको सबैभन्दा ठुलो संरक्षण राजनीतिले गरेको छ । अशिक्षित राजनीतिक कार्यकर्ता र नेताहरुको कुरा छोडौं तर तिनै जान्ने कहलिएका र आधुनिक विचार बोल्छौं लेख्छौँ भन्ने नेताहरु प्रति मेरो दुखेसो हो । समाजमा समस्या छ, त्यसको बृत्तान्तको के कुरा भो । (बाबुराम भट्टराई प्रधानमन्त्री रहँदा गरिवको घरको खाना खाइदिए जस्तो । अचेल भट्टराई उसरी नै नेपालीका दुख बुझ्न गरिवका घरमा जान्छन् कि जान्नन् । उफ् † यो राजनीतिक अन्धविश्वास ।) त्यसको विरुद्धमा हामीले कतिकाम गर्यौं यतिखेर त्यो महत्वपुर्ण हो । कामै नगरी हामी दार्शनिक रोधन गर्छौ भने त्यसको नकारात्मक प्रभाव मात्रै पर्छ । जसरी भट्टराईले गरिवको हैसियत बुझ्न खोज्दा आलोचना भोगे ।

एउटा पार्टीले आफ्ना कार्यकर्ताहरुको राजनीतिक वा सांस्कृतिक प्रशिक्षण कसरी गर्छ भन्ने कुरा गहन छ । त्यसले पनि निर्धारण गर्छ त्यस समाजको सामाजिक अन्धविश्वास । ती प्रशिक्षणहरुमा पक्कै अनगिन्ति त्रुटिहरु भएका छन् । उसले जनजाती, क्षेत्रीबाहुन, दलित, हिन्दु, बौद्धमागी, मुस्लिम आदिलाई हेर्ने दृष्टिकोण संकिर्ण छ । संघीयताको नाममा गरिएको स्कुलिङ गलत छ । फेरि पनि नेपाली राजनीतिले आफ्ना कार्यकर्ताहरुलाई अरुको अस्तित्व नस्विकार्ने खालको स्कुलिङ किन दिइरहेछ ?

रह्यो, सांस्कृतिक चेतनाको कुरा । सरकारी स्कुलहरुमा पढाइ स्थिति विजोग छ । भौतिक पुर्वाधारहरु छैनन् । सौचालयहरु छैनन् । डेक्स ब्रेन्च छैनन् । आधुनिक विचार भएका शिक्षक छैनन् । गगन थापाहरु वर्षौंदेखि स्कुलमा गएर राजनीतिक भाषण गर्छन् र अचानक ‘हामीलाई प्रवेश निशेध अनिवार्य छ’ भनेर चर्चा बटुल्छन् । यतिखेर मलाई लाग्छ, विद्यालयमा म गुरु घिमिरे, मदन संग्रौला, विनोद ढकाल  वा हर्कमान तामाङका वाहियात भाषण सुनेर हुर्कियौं । आज पनि यो क्रम निरन्तर छ ।

मौसमी चर्चा राजनीति र चलचित्रका मिल्दाजुल्दा पक्ष हुन तर सामाजिक र सांस्कृतिक रुपमान्तरणका लागि निरन्तरनिरन्तर अभियान महत्वपुर्ण कुरा हो । परिवर्तन सानासाना कणहरु जोडिएर हुने हो । रुवावासी गरेर केही नहुने रहेछ । यस्ता अन्धविश्वासलाई चिर्न लेखक कलाकारहरुले महत्वपुर्ण भुमिका खेल्छन् भन्ने त तपाईहरुलाई महसुस भएको हुनु पर्छ । खासगरी एमाले र माओवादीलाई । तपाईहरुले त बेलाबखत आन्दोलनमा कलालाई प्रयोग गर्नु भएकै हो । कंग्रेस र अन्य पार्टी त यसमा सुन्य छन् भन्ने मलाई लाग्छ । बुझिएका भनिएका पार्टी वा नेताहरुले पनि सरकारी सांस्कृतिक निकायलाई किन बलियो बनाउन सक्नु भएन । किन राजनीतिक नियुक्तिहरुमा तपाईहरुले काम नलाग्ने मानिसहरुलाई थपनाको रुपमा राख्नु भयो ? प्रदीप दाइ संस्कृतिमन्त्री हुँदा लक्ष्मण रायमाझी जस्ता व्यक्ति सांस्कृतिक संस्थानको महाप्रवन्धक बनाइए । अहिले पनि कुनै अर्का रायमाझी छन् । किन र कसरी यस्ता असक्षम र अदक्ष व्यक्तिहरु त्यहाँ पुर्याइन्छन् ? यो त एउटा उदाहरण हो । स्थिति सबै ठाउँमा यस्तै छ, जहाँ राजनीतिक नियुक्ति छ । अहिलेका संस्कृति मन्त्रीको भाषण सुन्ने कुनै बुझेको मान्छे त्यही रुन थाल्छ । राजनीतिमा आन्दोलनले फड्को मारेझै त्यसभित्रको चेतनाले पनि फड्को मार्न सके सामाजिक र सांस्कृतिक कुसंस्कारहरुमा राजनीतिक संरक्षण हँदैन थियो होला । यसले समाज रुपमान्तरणमा सहज बातावरण सिर्जना गर्ने थियो ।

धेरै नेताहरुले पछिल्लो पटक लेखेका महान् लेखहरु प्रति मेरो खेद छ । आफ्नो काममा असफल भएकाहरु वा बदमासी गरेर दण्ड भोग्नु पर्नेहरु पनि महान् लेखद्धारा आचमन गर्दैछन् । अहिले देशलाई साँच्चै काम चाहिएको छ । ती महान् विचारहरु व्यवहारमा टिक्छन् कि टिक्दैनन् त राजनीतिक लेख लेख्ने सबै नेताहरुले आाआफ्ना क्षेत्रमा अजमाएर हेरे कति जाति हुन्थ्यो ? म व्यक्तिगत रुपमा असफल नेताहरुका महान् लेख र समीक्षाहरुबाट आजित भैसकेको छु । अरु पाठकहरुलाई कस्तो लाग्छ कुन्नी ?