Tuesday, May 6, 2014

यस्तै भयो

माउसुली, मेटाफिजिक्सजस्ता कथा ‘समकालीन साहित्य’मा पढेपछि मलाई कुमार नगरकोटीको लेखनले आकर्षित गरेको हो । त्यो भन्दा बढी उहाँसँग घनिष्टताको कुनै बहाना थिएन । उहाँसँग त्यस्तरी भेटिएन पनि । नोबेल एकेडेमीको एउटा साहित्यिक कार्यक्रममा कवि मित्र राजकुमार बानियाँले अचानक हामीबीच परिचय गराउँदा खुुसी भएँ । फेरि फेरि भेट्ने सङ्केतसहित हामी छुट्टियौँ । राजकुमार बानियाँ कविबाट भूतपूर्व कवि भइसक्दासम्म मिस्टर नगरकोटीसँग भेट हुुने मेसो मिलेन । चिनजानको एक दशक लामो समयमा केहीपटक उहाँसँग फोनमा कुरा भयो होला । र, फेरि भेट्ने सङ्केतहरू छाडियो तर भेट भएन । एक वर्षअघि एउटा कार्यक्रममा जम्काभेट हुँदा उहाँले व्यङ्ग्यवाण छाड्नुभयो, ‘यो देश दौडाहा कति हो ? काठमाडाँैबाहिर मात्रै नाटक गर्ने ? हामीलाई चाहिँ नदेखाउने ?’
डेनमार्कबाट फर्किएपछि मैले काठमाडौँमा केही नाटक मञ्चन त गरेँ तर नगरकोटीलाई देखाउने मौका मिलेनछ ।
त्यस्तै भयो । भूतपूर्व कवि मित्र राजकुमार बानियाँ बलिया समीक्षकमा स्थापित भए । उता नगरकोटीका कथा छाप्ने अविनाश दाइ अर्कै पत्रिकाका सम्पादक भएर धेरैका नयाँ रचना पहिलो पटक छाप्ने मेसोमा आउनुभयो । नाटकमाथि नै विद्यावारिधिसम्म पुग्नुभयो । कुमार नगरकोटी आफैँ पनि फिभर नगरकोटीदेखि फोसिल नगरकोटीसम्म रूपान्तरित भइसकेको स्थिति थियो । यता शिल्पीचाहिँ नाटकघर निर्माणका लागि ठूलै सङ्घर्षमा ओर्लियो । नाम जुराइयो, गोठाले नाटकघर । यस नाटकघरको उद्घाटनका लागि नाटक गर्नु थियो । कुन नाटक मञ्चन गर्ने भन्ने थियो तर पहिल्यै मञ्चन गरिएका नाटकभन्दा पनि नयाँ नाटक मञ्चन गर्ने इच्छा थियो । दिमागलाई एक चक्कर घुमाएपछि विचारको सुई नगरकोटीमा आएर रोकियो । ‘डिसिजन ह्वील’ खेलेजस्तो ।
भेट्ने चाहना हुँदाहँुदै पनि भेट्ने मेसो नमिलेको नगरकोटीसँगको गुपचुप सम्बन्ध अब नाटक लेखनबाट नजिक पुग्ने ठम्याएँ । ममा विश्वास थियो– नगरकोटीले मेरो अनुरोधलाई स्वीकार्नु हुनेछ । भयो त्यस्तै । फोन गरेँ । कफीगफ भयो । मैले अनुुरोध गरेँ र आफूले अपेक्षा गरेको नाटकको रूपरङ्ग सुुनाएँ । आफूले भने जसरी नैै लेखिनुपर्छ भन्ने पूर्वाग्रह ममा थिएन । स्थापित एक फिक्सन डिजाइनरलाई मैले त्यस्तो पूर्वाग्रह राख्नु नाटक लेखिने सम्भावना कम गर्नु थियो । फेरि मलाई उहाँको लेख्ने शैली मन परेरै आग्रह गरेको थिएँ । ‘अन्तिम निर्णय तपाईंको । केवल मलाई एउटा नाटक चाहियो । फरक । चलिरहेको शैलीभन्दा भिन्न । खासमा तपाईंको आफ्नो शैलीको ।’
यसपटक म नाटकको शैलीमा बढी जोड दिइरहेको थिएँ । के लेखेको भन्दा पनि कसरी लेखिएको र के देखाउने भन्दा पनि कसरी देखाउने भन्नेमा । संसारका कुनै पनि विषय वा अविषय दर्शकका लागि चासोको विषय बन्न सक्छ, यदि लेख्ने वा मञ्चन गर्ने तरिका कलात्मक÷सम्प्रेषणीय भयो भने भन्ने मलाई लाग्छ ।
निकै पटक ठाउँ परिवर्तन गर्दै कफीगफमा हामी बस्यौँ । केही टुक्राटुुक्री उहाँबाट सुन्दै थिएँ । अचानक एक दिन वानेश्वरको एउटा कफीपसलमा समीक्षक उर्फ पत्रकार बानियाँजीलाई साक्षी राखेर नाटक–संवाद गर्दैगर्दा नगरकोटीले भन्नुभयो, ‘यसपटकलाई ‘मोक्षान्तः काठमान्डु फिभर’को एउटा कथालाई नाटक बनाए कसो होला ? अर्को पटकलाई चाहिँ नाटक लेख्छु ।’ म झसङ्ग भएँ । लगभग धेरै साथीभाइलाई थाहा भइसकेको थियो, ‘शिल्पीको नयाँ नाटक कुमार नगरकोटीकृत ।’ बम्पम्पमपम । लौ फसाद ! मैले सम्हालिँदै नम्र निवेदन गरँे— तपार्इंले सुुनाएका नाटकका टुक्राटुक्रीहरू मलाई मन परे । यसपटकलाई त मलाई नयाँं नाटक नै चाहिन्छ । कथाको कुरा पछि गरौँला ।
स्कुल पढाउने नगरकोटीको स्कुल जान बन्दभो ! उहाँ अचानक कलात्मक अक्षरले भरिएको नाटकको पाण्डुलिपिसहित शिल्पी परिसरमा हाजिर हुनुुभयो । हामी शिल्पीहरू खुुसीले दङ्ग प¥यौँ । ‘अभिमञ्च’ मा उही पारम्परिक शैलीमा हामी शिल्पीहरूले गोलो घेरामा बसेर ‘कोमा’को पाण्डुलिपि पाठ ग¥यौँ । नाटक पढ्दा नै आनन्द आयो । मैले खोजेको जस्तै फरक । क्रेजी ।
मलाई पछिल्लो पटक लागेको, केही शोधकर्ता साथीहरू आउँदा र कहीँ कतै नाटकको छलफल हँुदा, नाटकको पाठका आधारमा गरिने व्याख्या एकाङ्की, पूर्णाङ्की वा एकल अभिनय वा यस्तै कुराहरूले उद्वेलित बनाइरहन्थ्यो । अरे बाबा, ती सूत्रहरूले नाटक वा रङ्गमञ्चलाई निर्धारण गर्ने त हैन नि । नाटकलाई म एकाङ्की वा पूर्णाङ्कीको भ्रमबाट मुक्त गर्न चाहन्थेँ । भनौँ न, एकछिनलाई भ्रममा पार्न चाहन्थेँ । ‘कोमा’मा मैले त्यो पाएँ । आदरणीय व्याख्याताहरू, भनिदिनूस्— यो एकाङ्की वा पूर्णाङ्की नाटक हो ः डी । अथवा यो कस्तो खाले नाटक हो ? कि अनाटक हो ः पी ।
मञ्चनको चुनौती मञ्चमै थियो । भव्य सेट र तामझाम अनि पारसी रङ्गमञ्चबाट मुक्त भएर कसरी नाटक मञ्चन गर्न सक्छु होला त भन्ने डर पनि थियो । तर, मुख्य कुरा म आफूलाई सहजता महसुस हुनुप¥यो । मैले अरूको चिन्ता गरिनँ । नगरकोटीको कथा भन्ने शैली नाटकमा पनि नयाँ ढङ्गले आएकाले कलाकारहरू त्यसमा नाटकको अभ्याससँगै समाहित हुन्छन् भन्ने मलाई विश्वास थियो । उहाँको पाठलाई दृश्यमा रूपान्तरण गर्ने सन्दर्भमा चरित्रको नयाँ भङ्गीमा निर्माणमा मेरो विशेष चासो रह्यो । भेषभूषा निर्माणमा ‘...देलार्ते’ का चरित्रहरूबाट केही प्रभाव छाडिएको हो तर चरित्रहरूले प्रयोग गर्ने सामग्रीहरूमा कलाकारहरू आफैँले यथार्थलाई भत्काएर आफ्नो कल्पनाशीलताले अतिरञ्जित गरेका हुन् । मञ्च पनि त्यसरी नै निर्माण भएको हो ।
यो नाटक निर्माणको निकै सहज र सिर्जनशील पक्ष भनेको मञ्चनमा नाटककारको प्रत्यक्ष संलग्नता हो । नगरकोटीले लेखेका हरेक शब्द मञ्चनका लागि अर्थपूर्ण रहे । मैले धेरै टेक्स्ट हटाउन चाहिनँ । त्यो आवश्यक नै महसुस भएन । थप्नुपर्ने ठाउँमा उहाँ निकै सहज भइदिनुभयो । म भन्थेँ— कुमार सर, यहाँ नयाँ पाठ चाहियो । उहाँ भन्नुहुन्थ्यो, ‘कस्तो ?’ मैले मेरो डिमान्डलाई उद्धृत गर्दै अन्तिममा भन्ने गर्थें— तर अन्तिम निर्णय तपाईंको । नो बाउन्ड्री प्लिज । यसरी नै एउटा नयाँ गीत र केही नयाँ पाठ उहाँले पछि थपिदिनुभयो । उहाँको यो सरलताले हामीलाई प्रस्तुति तयार गर्न निकै सहज बनायो ।
नाटक मञ्चनमा लेखकको यो हदसम्मको सहजताले नेपाली नाटक लेखन र मञ्चनमा स्वाभाविकता सिर्जना गर्छ भन्ने मलाई लाग्छ । नाटककारले आफ्नो टेक्स्टलाई मञ्चनको पक्षबाट कति परिमार्जन गर्न चाहन्छ र निर्देशकमाथि विश्वास गर्छ ? यस्तो सहकार्यले नयाँ नाटक लेखन र मञ्चनमा सहजता ल्याउँछ भन्ने लाग्छ मलाई । फूलमान बलले ‘म्हेन्दोमाया’ लेख्दा होस् या कुमार नगरकोटीले ‘कोमा’ लेख्दा मलाई यसरी काम गर्ने प्रक्रियाले लोभ्यायो । यी दुवै नाटककारसँग यसरी नै कम्तीमा अरू एक–एकवटा नाटकमा काम गर्ने इच्छा छ । अन्य केही लेखकहरूसँग पनि यही आग्रह छ ।
अन्त्यमा, नाटकको पाठमा विश्वास छ । कलाकारहरूले आआफ्नो पक्षबाट निकै मिहिनेत गरेका छन् । एक महिनासम्म नियमित मञ्चित यो नाटक फेरि पनि हामी मञ्चन गर्ने छौँ । निर्देशकका रूपमा अपुग उच्चतम शिल्पका लागि क्षमा चाहन्छु । यही नाटकलाई फेरि मञ्चन गर्दा केही सुधार आउला भन्ने आशा छ । अन्य नाटकमा पनि प्रयास जारी रहनेछ ।
देशमा संविधान चाँडै लेखियोस् । धन्यवाद !

(भूमिकाबाट)