Monday, June 16, 2014

अपराध कबुल

निजी इन्धन–साधन प्रयोग गर्नु नपरोस् भन्ने मेरो ठूलै संकल्प थियो । यस विषयमा निकै दृढ थिएँ । आफ्नै मोटरसाइकल वा गाडी होस् भन्ने चाहना त किन नहुनु नि । कहिलेकाही मलाई सोखिन जीवनले बढो आकर्षित गर्छ । तर, काठमाडौको सवारी जाम र प्रदुषणको कारणले निजी इन्धन साधन प्रति वितृष्णा भएको हो । काठमाडौमा यो समस्या अचाक्ली नै छ । अहिले पनि धुवाँ र धुलोका कारणले रुघाले थलिएको छु म । काठमाडौबासीलाई यहाँको प्रदुषणले निक्कै नै हानी पुर्‍याएको हुनुपर्छ । यसको डाटा को सँग छ मलाई थाहा छैन ।
तर, समस्या थाहा हुँदाहुँदै बाटामा दिशा गरे जस्तो, घरबाट निस्किएका फोहर नजिकैको खोलामा फाले जस्तो, अफिसमा काम गर्ने समयमा लुसुक्क व्यक्तिगत काममा भागे जस्तो, सार्वजनिक यातायात भित्र चुरोट पिए जस्तो वा बाटोमा महिलाहरुलाई जिस्क्याए जस्तै बराबरको आत्मग्लानी लिएर मैले आफ्नै दृढ संकल्पलाई तोडेँ । मोटरसाइकल किने ।
यसका लागि मेरा आफ्नै तर्क छन् । काठमाडौमा सार्वजनिक साधनको समस्या अर्को ठूलो प्रदुषण हो । साथीभाइले भने ‘हेर्, सार्वजनिक गाडी भन्दा मोटर साइकलमा धेरै चाँडो हुन्छ । जहाँ पनि चाँडै पुगिन्छ । गाडीका बीचबाट छिराउन पनि हुने । पेटीबाट गुडाउन पनि हुने । राती अबेर घर फर्कंदा पनि समस्या नहुने ।’ अब अर्को बद्मासी गरिने भइयो । यस्तो लाग्यो, मोटर साइकल चढेपछि ट्राफिकका सबै नियम उल्लंघन गरिने भइयो । देखा जाएगा । सहकारी संस्थाबाट लोन लिएर भट्भटे किनियो । उता बैंकमा रिणको व्याज बढ्दो छ, यता राजधानीमा प्रदुषण छुट्दो छ ।
देखा जाएगा । माथिका कुरा त बल गरेरै मिचियो । अर्को महान काम गरियो । घुस खुवाएर लाइसेन्स बनाइयो । सरकारी दस्तुर रहेछ जम्मा सात सय रुपैयाँ । त्यस बाहेक पनि एउटा ड्राइभिङ सेन्टरलाई १६ सय रुपैयाँ भेटी झैँ चढाइयो । बक्काइदा रसिद हातमा थमायो उसले सरकारी दस्तुर झैं गरेर । दिने मै हुा † उसको के दोष । सबैले तर्साए ‘अचेल त जताततै सिसि क्यामेरा राखेको हुन्छ, गाडेका भाटामा छिसिक्क छोयो कि लाइसेन्स चट ।’ आफूलाई आजै लाइसेन्स निकालेर भट्टभटेको धुँवाले वायु प्रदुषण प्रतियोगितामा भाग लिनु छ । त्यसैले फेरि अर्को पटक कथित चेतनशील र असल नागरिक बन्ने चाहनालाई तिलाञ्जलि दिँदै ‘नेङ्माङ ड्राइभिङ सेन्टर’ मार्फत झापाको विर्तामोड पुगियो ‘देखावटी लिखित परिक्षा’ दिन । परिक्षामा छिर्नु अघि ‘नेङ्माङ ड्राइभिङ सेन्टर’का गुरुले महानवाणी झै गरि भने–‘प्रश्न पत्रमा २० वटा प्रश्न हुन्छन् । दशवटामा टिक लगाउने १० वटा छुने हैन ।’ मानौ यसो नगरे ठूलै प्रलय हुन्छ । उनले ह्वीप जारि गरे । परिक्षामा बसियो । ट्राफिक प्रहरीले परिक्षा कोठा भित्र अनेकौ लिला गरे । परिक्षाका नियमहरु सुनाए । परिक्षा रद्द हुन सक्नेसम्मका डर देखाए । आफू भने परिक्षा उत्तिर्ण हुने कुरामा सय प्रतिशत ढुक्क, नेङ्गमाङ गुरुको जो निगाह ममा थियो । प्रश्न पत्र हातमा आयो । २० वटै प्रश्नको उत्तर मिलाइने रहेछ । तर, गुरुको निर्देशन जो थियो । १० वटा प्रश्नको उत्तर दिइयो । १० मिनेटमा परिक्षा खत्तम । दङ्ग पर्दै त्यतै ससुरालीमा बसियो । घर पर्‍यो मोरङमा । भोलीपल्ट ‘प्रयोगात्मक परिक्षा’ उर्फ ट्रायल दिन आउनु छ ।
आइयो । लाइनमा बसियो । अघिनै नेङ्वाङ गुरुको ह्वीप जारि थियो– ‘मोटरसाइकल नलडाउनु, खुट्टा नटेक्नु । दशैं अगाडि लाइसेन्स पक्का ।’ ए गाँठ्ठे, कत्तिले त ६ वटै भाटा लडाए । खुट्टा नटेक्ने हैन कि ‘ट्रायलमा खुट्टा टेक्नै पर्ने नियम छ’ जस्तो देखियो । त्यसो हुादा पनि सबै परिक्षार्थी दङ्ग देखिए । उनीहरुले पनि मैले झैँ भेटी चडाएर त आएका होलान् । फेरि छेउमा उभ्भिएका परिक्षा कर्ताहरुले ट्रायलतिर हेर्ने भए पो † परिक्षार्थी बोलाउँदै उनीहरु खातामा टिक मार्क लाउन व्यस्त थिए ।
आफ्नो पालो आयो । ३ वटा भाटा कटाइयो । ३ वटा लडाइयो । अरुको देखेर ठूलै काम गरे जस्तो भयो । तर केहीले त गज्जबले ६ वटै भाटा नलडाई कटाएको देखियो । त्यतिखेर चाहिं छातीमा चसक्क भयो । त्यो चसक्काइलाई पनि छोपछाप पारियो । तीन दिनपछि बक्काइदा २ पुस्ते नामथर अंकित लाइसेन्स हात लाग्यो । शंकर प्रसाद घिमिरेको छोरा युवराज घिमिरे, इन्द्रपुर गाविस वाड नं. ७ का नाममा दुई पांग्रे सवारी चालक अनुमति पत्र हात लाग्यो । एउटा भटभटेको मालिक हुन र यसलाई चलाउन यति धेरै तिकडम गरियो । अनि यो देश नै चलाउन बसेकाले कति तिकडम गर्दा हुन् ।
एकादेशमा एकजना राजाले भनेको सानैमा पढिएको थियो–‘घुस लिन्या र दिन्या दुवै देशका सत्रु हुन् ।’ निष्ठा बेगरको ज्ञानको के पो अर्थ । अपराध कबुल †  

Wednesday, June 11, 2014

लोन्लीनेसभित्र प्रेम–सङ्गीत

हो, त्यस्तै नै भयो । झन्डै अभिनेता ज्याक निकल्सनकै जस्तो यिनको जीवन पनि । यी दुवै प्रतिभालाई आफ्ना दिदीहरुले हुर्काए । ती दिदीहरु महान् हुन् जसले आमाको भूमिका निर्वाह गरेर ज्याक र द्धारिकाहरु बनाए । दिदीको काखमा द्धारिका निदाए र समीपमा खेलेर हुर्किए ।
‘म नहुँदा थाहा हुन्छ तिमीहरुलाई ।’ कहिलेकाही आमाका मुखबाट निस्किएको खवरादरी द्धारिका दाइको स्मृतिमा सुचना पाटीजस्तो तुन्दु्रङ्ग झुन्डिएको छ ।
सोधेँ–‘दाई आमासँगको सामिप्यको के कुरा याद छ ?’
भन्नुभयो–‘आमाले बोकेको जस्तो मात्रै थाहा छ ।’
‘के कुरा सम्झनुहन्छ, आमाको बारेमा ।’
‘पटुका । आमाको पटुकामा बसेको जस्तो लाग्छ ।’ आमा बुद्धिलक्ष्मी र बुबा रेशमलाल । त्यसपछि बुबा पनि ६, ७ महिनाको अन्तरालमा बित्नु भयो । द्धारिका दाइ सपाट अनुहारमा अचानक समयलाई हाम फालेर बोल्नु भयो–‘मेरा दुई दाजु, दुई दिदी । सबै बित्नु भो । अहिले म एक्लो ।’ एक्लो त्यसमानेमा मात्रै । हैन भने कथाकार जलेश्वरी श्रेष्ठसँगको करिव ५ दशक लामो दाम्पत्य जीवन परिपक्व भएर फक्रिएको छ । तीन छोरीका पिता । छोरीहरु निभा, नित्या र निष्ठा । लाग्छ ती खुशीका मुहान् हुन् । दुई छोरीको विवाह भयो । तर ती सबै उहाँकै वरिपरि खेलिरहेका छन् ।
त्यसो त उहाँका कविता र फूलजस्तै कोमल व्यक्तित्वले मोहिनीमयी फ्यानहरु घरीघरी मोबाइलमा भाइब्रेट हुन्छन् । त्यो भाइब्रेसनले उहाँको ७२ वर्षे जोवनमा नयाँ उमङ्ग ल्याउँछ र रोमाञ्चक तहमा उहाँ झस्कनु हुन्छ । हरे, प्रविधि † प्रेमको कुरो निस्किहाल्यो । अविनाश दाइ त्यहीँ हुनुहुन्छ । मलाई इसारा गर्नु भयो । ‘यो चाहिँ नछोड्नुस्’ । सन्दर्भ मिले बहकिउँला भाउजुलाई साक्षी राखेर तर अहिले कुरा लोन्लीनेसको । यति भएर पनि उहाँको जीवनमा ‘लोन्लीनेस’को ठूलो स्पेस छ ।

फूल फूलाउँछु आफू भरि
र कसैसित नसोधी झरेर सिद्धिन्छु

वाह † कस्तो चोटिलो कविता । अझ उहाकँो अर्को कविता ‘मेरो यात्रा अशोक–बाटिकामा’ पढेपछि त म विम्बहरुले झ्याम्म हानिन्छु । विल्कुलै अलग स्वादका भेट्छु म उहाँका कविता । लोर्काका कविताबाट शुरु भएको छ उहाँको एउटा कविता ।
ध्ययम अगततभच
ऋगत mथ कजबमयध ाचयm mभ
ाचभभ mभ ाचयm तजभ तयचmभलत
इा कभभष्लन mथकभाि
ध्ष्तजयगत ाचगष्त
नेपालमा यसरी कविता लेख्ने चलन उहाँबाटै शुरु भयो होला शायद । ‘थाहा छैन । तर मलाई सजिलो लाग्छ यसरी लेख्दा ।’ नयाँ स्वाद र प्रस्तुति । लोन्लीनेस ।
ससम्मान कवि/प्रेमी द्धारिका श्रेष्ठभित्र दङ्ग परेर विराजमान त्यो लोन्लीनेस के, कसरी, कहाँबाट आयो ? सुन्दै गएपछि थाहा लाग्छ यो लोन्लीनेस एक्लो छैन, रित्तो हैन, जसरी विज्ञानमा ‘शून्य’ भनेको केही नहुुनु होइन, जति पनि अटाउनु हो । सुन्दा दर्शनजस्तो लाग्ने तर बढो सहज छ ।
‘मलाई लोन्लीनेसले नै कवि बनायो ।’
कविता, प्रेमका र अन्तरङ्ग अनुभुतिका लागि निर्मित उहाँको लोन्लीसेस विशुद्ध ममताले बनेको छ । बोलाइ र हाँसोबाट थाहा लाग्छ कति कोमल हुनुहुन्छ उहाँ । ‘आमाबाको समीप्य र ममता छुटेपछि ममा यो ‘लोन्लीनेस’ शुरु भयो । अरु साथीहरु बाआमासँग कुरा गरेको देखेर कल्पना गर्थे, म कसरी कुरा गर्थेँ हुँला ? काकाका छोरा मथुरा दाइ (मथुरा स्रेष्ठ)लाई देख्दा पनि त्यस्तै लाग्थ्यो । उहाँ बाउछोरा कुरा गर्दा म कल्पनामा हराउँथे ।’
मेरो बाबु डडेर जाँदा
यहाँका दाउरा–पात सिध्याएनन्
पानी र माटो छुँदै छुएनन्
मेरो बाबुलाई थाहा थियो
यहाँका घरहरुमा मैले बस्नुपर्छ ...
दौड्दा–दौड्दै मलाई पाएकी मेरी आमाले
मलाई केही सिकाउन भ्याइनन् ।
कतिकति सम्म
आमाको ममता मैले हाँसेर बिर्सें
म जन्मेँ
शिशु वयमा घर छोडेर उहाँ काठमाडौ आउनु भयो कान्छा बासँग । तर जन्मथलोको प्रेमले सताइरह्यो । बन्दिपुरमा करिव ७२ वर्ष अघि जन्मिएका यी कविका साथी थिए माछापुच्छ्रे, धौलागिरी र अन्नुपुर्ण । ती सृङ्खलालाई उहाँ धुमधुम्ती हेर्नु हुन्थ्यो र तिनले पनि हेर्थे । मानौ तिनीहरु पनि बाआमाको मृत्यु सोकमा छन् । अचानक बन्दीपुरको गुरुङ्ग नाच र चुट्काले उहाँको ध्यान भङ्ग गर्थे । त्यही वातावरणले आफूलाई प्रकृतिप्रेमी बनाएको उहाँको ठहर छ । ‘मलाई हिमाल मन पर्छ । उचाइ र सृङ्खला मन पर्छ ।’ कवि द्धारिका श्रेष्ठ आफ्नो समयमा कविताको त्यही उचाईमा पुगे । सम्पन्नता र सफलता जीवनलाई उसरी नै चुम्यो । फेरि पनि एकान्त मन पराए । एक्लो महसुस गर्न मन पराए ।
‘म जस्तो मान्छे जसले लोन्लीसेस महसुस गर्छ, जे कुरामा पनि सरेन्डर गरिहाल्ने रहेछ । प्रेममा पनि मेरो त्यस्तै भयो ।’ ए, एकछिन है ।
‘दाई ती कुरा पनि आए हुन्थ्यो नि ।’ अविनाश दाइ फूल जस्तै भएर बोल्नु भयो । साच्चै अचम्मै लाग्यो मलाई । प्रेमका कुरामा द्धारिका दाइ सुकोमल बालक झैँ नरम र सफा देखिनु भयो । यी बुढाप्रति मेरो पो प्रेम बढ्यो । अत्यन्तै मिजासिला । अति समिपमा बसेर कुरा गर्ने । मेरो पहिलो अन्तरंग हो उहाँसँग । म निकै पुलकित भएर लेख्दैछु । तर, यो साँचो हो । उहाँ द्धारिका नै हो । पहिलो दिनको भेट हामी द्धारिका दाइको चितवन जंगल लज, काठमाडौ कार्यालय नागपोखरीमा छौँ । गरिमाका सम्पादक अविनाश दाइ र म तोकिएको समयभन्दा १० मिनेट ढिलो पुग्छौँ । द्धारिका दाइलाई मैले केही पटक नाटक हेर्न निम्तो गरेको हुँ । थोरै पटक उहाँ आउनु भयो लुसुक्कै । लुसुक्कै जानु भयो । मैले उहाँलाई यसरी नै चिने । चर्चामा आउन नचाहने, सार्वजनिक कार्यक्रमहरुमा धेरै नदेखिने । उहाँको कविताको प्रशंशक मैले जति ठाउँमा उहाँको बारेमा सुने राम्रै मात्र सुने । त्यसबाहेक ममा उहाँको इमेज चितवन जंगल लजका मालिक र गम्भिरतका प्रतिकका रुपमा मात्रै थियो । द्धारिका दाइको अर्को सिङ्गो पाटो यसरी खुल्यो । भिडकाबिचमा एकान्तप्रेमी यी कोमल कवि/प्रेमी ।
‘कविता सम्वेदनशील छ र म पनि । त्यसैले मेरो र कविताको कुरा मिल्यो । कवितामा आवरण राखेर अमूर्त रुपमा मनका कुरा बोल्न सक्छु ।’ उहाँलाई लाग्छ धेरै कुरा सिधै भन्दा बिग्रन्छन् । सामाजिक जीवन खल्बलिन्छ त्यसैले त कविता चाहियो । उहाँलाई लागेका सिधै भन्न नपाएका जीवनका गुह्य कुरा कवितामा भेटिन्छन् ।
‘दाइ, कविताहरुका कुरा पनि ?’–ठट्टा गरेँ ।
‘त्यो पनि छन् । मेरो संग्रह भित्र र नयाँ कवितामा पनि ।’ द्धारिका दाइ थप्नुहुन्छ–‘विम्ब र मिथकलाई लिएर अभिव्यक्त गर्न मन लाग्छ । कुरा त त्यहीँ हुन्छ । पाठकको लागि हिन्ट पनि छोडेको छु ।’
मैले माथि स्मृतिको कुरा गरेको थिएँ नि । फेरि यहाँ फर्कियो । बन्दीपुरलाई सम्झँदा एउटा गजबको बास्ना नाकसम्म आउँछ उहाँको । उहाँका बा–काकाहरु लुगाको व्यापर गुर्नु हुन्थ्यो । मैले सोधेँ–‘नयाँ लुगाको केही किस्सा सम्झनुहुन्छ ?’ भन्नु भयो–‘नयाँ कपडाको एक तमासको गन्ध अझै सम्झन्छु ।’ सुख, दु:खका स्मृतिहरु जोडिएर कवि द्धारिका श्रेष्ठका कविताहरु इमेजमय छन् । केही अमूर्त छन् । उहाँकी जेठी छोरीको पनि धारणा यही छ । ‘बाका कविता एब्स्ट्याक छन् । मन पर्छ, पढ्छु ।’
बीसको दशकका सशक्त कवि द्धारिका दाइका अमलेख कविताले नेपाली साहित्यमा एउटा मानक स्थापना गर्‍यो । कृष्णभक्त श्रेष्ठ, मोहान कोइराला, रत्न समसेर थापा, भूपि सेरचन, भुवन कोइराला (ढुङ्गाना), पुरुषोत्तम बस्नेत जस्ता सशक्त हस्ताक्षरहरु मिलेर पञ्चायतका विरुद्ध रचनात्मक धावा बोले । गोरखा पत्र संस्थान र एकेडेमी जस्ता संस्थाको विरुद्धमा लागे । र, स्वतन्त्र कलमको अस्तित्वका खातिर लडे । सिउँडी पत्रिका निकाले । छाप्ने पैसा द्धारिका दाइको जिम्मामा । उहाँ भन्नु हुन्छ–‘हामीले ठूलो काम गऱ्यौ भन्न खोजेको हैन तर समाजमा भएको क्रान्तिबाट लेखकहरु कसरी प्रभावित भए भन्ने उदाहरण हो यो ।’ मैले अर्को दिन सोधेँ–‘अनि लेखकले समाज परिवर्तन गर्छ भन्ने लाग्छ तपाईलाई ?’ लेखनमा राजनीति आउनु पर्छ भन्ने बारेमा उहाँको धारणा पनि एकै मुस्ट लिन खोजेँ । ‘गर्छ नि । गोर्कीको मदरले संसार हल्लायो । अन्य धेरै पुस्तकले समाजलाई परिवर्तन गर्न मद्दत गरेका छन् । एउटा राम्रो लेख, कविता वा उपन्यासले समाजलाई प्रस्तुत गर्छ ।’ उहाँ भन्नुहुन्छ–‘तर, मेरो स्वभाव त्यो होइन । उहाँहरुलाई म आदर गर्छु र आफूचाहिँ विशुद्ध कलाका लागि लेख्छु ।’ आर्ट फर आर्ट सेक ।
‘लेखनमा कसरी आउनु भयो त दाइ ?’ मैले फेरि स्मृति तिर फर्काएँ । धेरै कुरा खोतलिए । काठमाडौ आएपछि जुद्धोदय पब्लिक हाइस्कुलमा ४ कक्षामा भर्ना हुनु भयो उहाँ । ‘मथुरा दाइका साथी लेखक कमलराज रेग्मी तथा ज्ञानहरी गुरुबाट प्रेरणा पाएँ ।’ त्यसपछि साहित्यिक किताबहरु पढ्ने बानी बस्यो । त्यतिखेर रत्न पुस्तक भण्डार मात्रै थियो । ‘अलिअलि फुटवल खेल्थेँ । नत्र अरु कुरामा रुची थिएन । स्कुल सकेपछि झन् साहित्यिक किताबतिरै ध्यान गयो ।’ उहाँले सुरुका दिनमा प्रेमचन्दका उपन्यास धेरै पढ्नु भयो रे । राहुल सांकृत्यायन, एसपाल, अज्ञेय, नागार्जुन, निर्मल वर्मा, मायादेवी बर्मा, धर्मवीर भारती । लोर्का, शात्र्र, कामु उहाँको सुचिमा थपिए । अंग्रेजी साहित्यको विद्यार्थी भएपछि त पाठ्यक्रमले नै उहाँलाई पश्चिमको साहित्य पढायो । उहाँले सन् १९६१ मा अंग्रेजी साहित्यमा एमए गर्नु भयो । त्रिचन्द क्याम्पसमै भेट भए मोहनहिमांशु थापा र कृष्णभक्त श्रेष्ठ । त्यहाँ अनेक साहित्यिक कार्यक्रम र कवि गोष्ठीहरु हुन्थे । एकपटक हरिवंशराय वच्चन आएको उहाँ सम्झनु हुन्छ । ‘उनले आफ्नो चर्चित काव्य मधुशाला बाचन गरे ।’ द्धारिका दाइले भन्नु भयो–‘त्यसैबाट प्रभाववित भएर मैले ‘सितको थोपा’ कविता लेखेको थिएँ ।’ उहाँले कथा पनि थुप्रै लेख्नु भएछ । तर प्रकाशित गर्नु भएन । ‘कविता नै मेरो माध्यम हो जस्तो लाग्यो ।’ पछि सबैभन्दा नजिक भए कृष्णभक्त, मोहन कोइराला र भूपि । कविहरुको बलियो झुण्ड नै बन्यो । र, नेपाली कवितामा एउटा मानक पनि ।
चिसो निक्कै छ । त्यसो भए द्धारिका दाइको मेरी ‘चिसो सूर्या’ कविता पढौँ ? द्धारिका दाइले भन्नु भयो–‘लौ जौँ क्याफेतिर । प्रेमका कुरा उतै गरौँला ।’ उहाँ मज्जाले मुस्कुराउनु भयो । चिसो कम महसुस भयो । क्याफेभित्र जो छौँ । ‘इमागो डेई’ । अमेरिकन युवतीले चलाएको नागपोखरी स्थित यो क्याफे अचेल खुब चल्छ रे । युवतीले चलाएको क्याफेमै किन ? द्धारिका दाइको जीवनमा युवती संयोग हो । उहाँलाई मन पर्ने अर्को रेष्टुरेन्ट नक्साल छेऊको ‘ओञ्जला’ हो । यो पनि युवती कै नाम हो । त्यसो त उहाँको ब्राण्ड पनि ‘डिम्पल’ ह्वीस्की । स्कटिस । भन्नु भयो–‘हैन म एकान्त कुनाको ‘बकेनावारी’ पनि खुब जान्थेँ ।’ लोन्लीनेस । ए, एकान्त मन पर्ने भएर । हामी हाँस्यौँ । ‘हो नि, यहाँ पनि सुरुमा धेरै मानिस आउँदैन थिए । र, म आएँ । अहिले सबै आउन थाले ।’ त्यसै भएर त भनेको सून्य भनेको केही नहुनु हैन सबै अटाउनु हो । द्धारिका दाइ त्यस्तै हो । ‘उहाँको जीवनमा को को अटाए ?’ मोवाइल फेरि बज्छ । सायद भाउजुको फोन । उहाँको कलिलो मुस्कान । बढो निर्दोष रुपमा भन्नुहुन्छ–‘आदर्श विरोधी हुँ म । आदर्श पुरुष रामचन्द्र भन्छन् तर त्यो विचार नै पाखण्डीपन हो ।’ उहाँको विचारमा मान्छे सजग हुनु पर्छ, लेखनमा पनि व्यवहारमा पनि ।
विरोधाभास उहाँको जीवनको अर्को पाटो हो । कविमन र व्यवसायी जीवन । यी मनकारी कवि द्धारिका दाइ भने आफू बाटो विराएर यस क्षेत्रमा आएको ठान्नु हुन्छ । ‘मेरो चाहना शिक्षक बन्ने थियो । अनि टन्न लेख्ने पनि । पैसा कमाउने हुँदै हैन ।’ म सोच्छु–‘धन्न यी कविले बाटो बिराएछन् नत्र नेपाली साहित्यले अहिले उनबाट ‘खाइपाइ’ आइहरको कुरो गुम्ने थियो कि † ए साँची मैले सुनेको अर्को पनि कुरा, कोही पनि लेखक, कवि वा आयोजक उहाँसम्म पुग्दा खाली हात फर्कदैनन् रे † त्यसैले त मनकारी कवि द्धारिका श्रेष्ठ ।
‘अनि के सोचेर लेखकहरुलाई चितवन जंगल लजमा डाक्न थाल्नु भयो ?’ उहाँले समग्रतामा उत्तर दिनु भयो– ‘मैले केही पनि काम नामका लागि गरिन । राम्रो काम गरेपछि नाम त त्यसै आइहाल्ला । त्यसबाट हुने अनेक सकारात्मक प्रभाव होलान ।’ २०४३ साल देखि सुरुभएको ‘चितवन जंगल लज’ कार्यक्रम हालसम्म निरन्तर छ । हरेक वर्ष २० देखि २५ थान कवि/लेखक/कलाकारहरुलाई त्यहा लगिन्छ । रचना पाठ र अनुभवहरु साटासाट हुन्छन् । हात्ती सवार गराइन्छ । दुई रातको जंगलबास पछि फिर्ता पठाइन्छ । सबै भरणबृत्ति यिनै मनकारी द्धारिका दाइका खातामा । स्मरण रहोस्, उता ‘इमागो डेइ’मा पनि विल बढ्दो छ । म्येनु खुल्ला छ । अविनाश दाइलाई ‘चिज’ नामै गनाउने रहेछ ।

रोमाञ्चित हुँदै उहाँले पहिलो कार्यक्रम सम्झनु भयो । सहभागीहरु डा. ईश्वर बराल, केशवराज पिंडाली, जनकलाल शर्मा, मदनमणि दीक्षित, कृष्णचन्द्र सिंह प्रधान, नगेन्द्रराज शर्मा, तुलसी दिवस, दयाराम श्रेष्ठ, नगेन्द्रराज शर्मा, कृष्णभक्त श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, डा. रामदयाल राकेश, कुन्दन शर्मा, अविनाश श्रेष्ठ आदि । उक्त भेलामा सबैले राणाकालीन समाज, राजनीति र साहित्यका विविध प्रकारका पात्रहरुलाई सुनाएका थिए । ‘अन्त्यन्तै रोचक थियो त्यो भेला तर त्यतिखेर स्वरको अभिलेख राख्ने कसैलाई होस् आएन ।’ उहाँ थकथकाउनु भयो–‘महत्वपूर्ण कुरा गुम्यो ।’ दुई दिन दुई रात लेखकहरु एक आपसमा घुलमिल भएर बस्नु एक अर्कालाई नजिकबाट चिन्ने राम्रो अवसर हो । ‘दाई यसरी बस्दा कसैमाथिको भ्रम भत्किएको केही अनुभव छ ?’–मैले सोधेँ । ‘मानिसको स्वभावै हो नि । साँझ रमाइलो गर्दा, पिउँदा उहाँहरुको व्यक्तित्व झन खुलेर आउँछ । मेरै पनि हुन्छ ।’ दाइ खुल्नु भयो–‘ईश्वर बराल उहाँको लेखनले वा स्वभावले घमण्डी जस्तो लाग्थ्यो मलाई । तर समिपमा बसेपछि थाहा भयो, उहाँ त साह्रै मिजासिलो हुनु हुँदो रहेछ ।’ त्यसपछि सयौ लेखक त्यहाँ पुगे । पिएपछि कतिका बोली र स्वभावमा उभार आए । कसैकसैका ठूलै झगडा भए । ती सबै क्षणहरुलाई यी भद्र कविले उत्तिकै रोमाञ्चक बनाएर साँचेका छन् । कवि सिद्धिचरण श्रेष्ठ र गायक नारायण गोपाललाई भने उक्त अभियानमा लान नपाएकोमा पनि उहाँ थकथकाउनु भयो । ‘सरकारले अब जंगलभित्रका लज बन्द गर्दैछ । त्यसैले यसपटक अन्तिम हुनेछ कार्यक्रम ।’ लेखकहरुका निम्ति तपाईको लगाव किन यतिधेरै ? ‘ईच्छा हो हामी दुवैको अर्थात मेरो र जलेश्वरीको । अझै लेखकका लागि केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको छ ।’ गफगर्दा गर्दै पुसको साँझ अघिनै वितेछ । रात पो परेछ । चिसो छ । अर्कोदिन भेट्ने बाचाका साथ हामी विदावारी भयौँ । अविनाश दाइ मलाई खवरदारी गर्दै हुनुहुन्थ्यो–विस्तारी विस्तारी मोटरसाइकल ।
अर्को दिन फोटोको लागि पनि र छुटेका प्रश्नहरु सम्झदै लुना र म उही दिउँसो तीन बजे पुग्यौँ । द्धारिका दाइसँग तीनको के संयोग छ थाहा छैन । खाली ३ बजे बोलाउने । उहाका ३ वटी छोरी छन् । अनि अरु नि † दाइ, भाउजु र भाइब्रेसन । जनवरी १, २०१२ । पहिलो दिन उहा, अविनाश दाइ र म थियौँ । दोस्रो दिन उहाँ, लुना र म । ‘इमागो डेई’ जिन्दावाद् । भोलीपल्ट जयदेव भट्टराईको साहित्यकार परिचय कोष हेरेपछि थक्कथक्क भएँ । लौ, जन्मदिनको दिन भेटेर पनि शुभकामना दिन पाइएन । उहाँका तीनवटै छोरीहरुसँग भेट भयो । कान्छी चाहिँ फोटो खिच्न लजाइन् । अरु दुई संग दाइलाई राखेर तस्विर खिचियो । ‘विलेटेड ह्वाप्पी वर्थ डे दाइ’ । ‘अर्को साल डिम्पल ह्वीस्की पिँउदै शुभकामना दिन पाइयोस् :) ।’
सार्बजनिक कार्यक्रमहरुमा त्यति ननिस्कने तर अत्यन्त्य अपडेटेड । पुराना पहिल्यै पढेको । समकालीन सबै पढेको । युवा पुस्ता पनि छुटाउनु भएको छैन उहाँले । ‘कस्तो लाग्छ त नयाँको लेखन् ?’
चिन्ता छ–‘राम्रो छ तर आफ्नो पहिचानको लेखन छैन । छुट्टै, अलग्गै ।’ बुद्धि सागरको बिम्को प्रयोग र ठाकुर बेलबासको प्रस्तुति बेग्लै लाग्छ रे उहाँलाई, फरक पहिचान भएका । कुन्दन शर्मा, विमला तुम्खेवा, मणि लोहनी, गीता कार्की पनि राम्रा कवि लाग्छन् उहाँलाई । अनि आफ्ना समकालीनमा नि ? ‘उही फर्सीको जरा उर्फ मोहन कोइराला अनि घुम्नेमेचमाथि अन्धो मान्छे अर्थात भूपि ।’ सम्झिएर भन्नु भयो–‘रिमालको आमाको सपना र विजय मल्लको छोरीलाई मानचित्र पढाउँदा कविता खुब मन पर्छ ।’
क्यामेरामा फ्ल्यास लाइट चल्न थाल्यो । थाहा लाग्यो, फेरि अर्को साँझ–साँझ अघिनै कटेछ । पुस फासफुस–फासफुस । गफ गर्दागर्दै अघिनै अँध्यारो–अँध्यारो भएछ । उहाँ फेरि भाबुक–भाबुक हुनुहुन्छ ।  दिन यसै चिप्लिरहेको हुन्छ । नदीको पानी–पानी जस्तै लाग्छ समय । फेरि गीता सार झैँ भन्नुहुन्छ–‘जीवनमा राम्रो काम गर्ने कोसिस गर्ने हो आशा चाहिं गर्नु हुन्न ।’ प्याराडक्स । अहो, यी सहज र कोमल कविसँग गफ धेरै गर्नु छ । ‘जीवन के हो जस्तो लाग्छ दाइ ?’ अति क्लिसे प्रश्नको भव्य उत्तरको आशामा सोधेँ । ‘विसंगत छ जीवन । डिफाइन गर्न गाह्रो । विसंगति नै विसंगतिले भरिएको । नसोचेका कुराहरु घटित हुन्छन् ।’ दृढ भएर भन्नु भयो–‘त्यसैले जीवनलाई निर्देशित गर्ने हो ।’ लामो बस्ने मन थियो । अध्यारोको अस्तित्वलाई स्विकार्दै हामी आ–आफ्नो गन्तव्यतिर निर्देशित भयौँ ।

आइरहेछ बसन्त
आऊ, हामी माया गरौँ
आफू–आफूबाट
आफूले आफैलाई छोपिएको अँध्यारामा
आँखाको गर्भ वेदना
एउटा उत्खनन
एउटा कथा....।