Thursday, July 10, 2014

लभ विदआउट बोर्डर

नर्बोगेल ४० । टावर थिएटरको सानो स्टेजमा क्लाउन सो गरेर फर्कदै थिएँ । १४ जुन २०११ । कोपनहेगन । चिसो साँझ थियो । हिउँ पग्लिन अलिअलि बाँकी ढिस्काढिस्की मौन सहरको सेता बुट्टाहरुजस्तो देखिन्थ्यो । कोपनहेगनजस्तो व्यवस्थित सहरमा साँझको साइकिलिङ निक्कै रमाइलो हुन्छ । प्रफुल्लित मन लिएर भित्री बाटो तुफानी वेगमा थिएँ । नर्बोगल पुग्नै लाग्दा गोलीको आवाज सुनियो । मबाट करिब २ सय मिटर अगाडिबाट त्यो आवाज आएको थियो ।
साइकल अचानक रोकियो घ्याच्चै । स्तब्ध भएँ । आत्तिएँ । कुनै निर्णय लिन सकिनँ । कता जाने भन्ने अन्न्यौलमा परेँ । गाडीको झ्यालबाट निस्किएको पेस्तोल बोकेको हात गोली छोड्दो छ । तुफानी वेगमा आएको गाडी तुफानी शैलीमै मलाई हावाको ठूलो झोक्का दिँदै र टायर रोडमा घिसार्दै कालो डाम बसाएर भाग्यो । कसैले पछाडिबाट कुर्सी प्रहार ग¥यो । गाडीको पुछारमा लाग्यो । यो घटना मानौ एक निमेसमा भयो । त्यसैले यतिखेर त्यो क्षणलाई विस्तृत गर्न खोज्दा निक्कै समय लागिरहेको छ ।
Comedy show with Camilla 
मैले भनिरहेको घटनाको सत्यताको आधार के हो ? यतिखेर मलाई सुन्नेहरुले मैले गरिरहेको वर्णनमा विश्वास गर्नुबाहेक अर्को विकल्प छैन । अथवा वर्णन अविश्वसनीय पनि लाग्न सक्छ । अझ डरलाग्दो क्षण त त्यो हुँदो रहेछ, जतिखेर आफैलाई सतप्रतिशत थाहा नभएको घटनाको वर्णन अर्कोले पूर्ण रुपमा विश्वास मानेर सुनिरहेको छ ।
बन्द कोठामा हामी छौँ । प्रहरी अनुसन्धानकर्ताहरु र अनुवादक मलाई घेरेर बसेका छन् । म अलिअलि डराएको छु । लौ सुन्नुस् । करिब ८ राउन्ड गोली चल्यो । गोली लाग्ने युवकको मृत्यु घर आएर समाचार हेरेपछि थाहा लाग्यो । डेनिस समाचार च्यानल । स्क्रिनबाट आँखा नहटाई साथीले अनुवाद ग¥यो । अँ त, त्यो हत्याको म एक साक्षी । हत्यास्थलबाट फनक्क फर्किएर लेकको बाटो हँुदै निस्केँ । सहरको बीचमा लमतन्न ५ वटा लेक सुतेका छन् । लेकको दुवैतिरका डिलमा व्यवस्थित बाटोहरु छन् । त्यही डिलको बाटो मैले समातेँ । मतलब साइकलमा गुडेँ । २ मिनेटभित्र चारै दिशाबाट पुलिसको आपतकालीन साइरन मानिस चिच्याएको रोएको आवाजझँै आउन थाल्यो । यस्तो लाग्थ्यो पुलिस र तिनका यन्त्रको आवाजले चिच्याउँदै मलाई खेदाइरहेको छ । यसरी नै तुफानी वेगमा साइकलको हाइ गियरमा म अपार्टमेन्ट पुगेँ । साथीहरु सारा र याकव घरमै रहेछन्, समाचार अनुवादकहरु । लुना कामबाट फर्किएकी थिइन । यो घटना त्यहीँ भएको थियो, जहाँ भित्तामा ठूलो अक्षरमा लेखिएको थियो ‘फरेनर्स् प्लिज डन्ट लिभ अस अलोन् विद दि डेनिस’ । डेनमार्कको अति कट्टरपन्थी र रुढीवादी पार्टीहरुको विरुद्धमा लेखिएको बलियो नारा थियो, त्यो । हरेक दिनजसो म त्यो बाटो हिड्थेँ । त्यो भित्ते नाराले मलाई चसक्क पाथ्र्यो । तर, त्यसको अर्थ र गहिराइमा पुग्न सकेको थिइनँ । आज यहाँ मिल्यो ।
हिमालयको देशबाट आएको यो नेपालीले जसरी पहिलो पटक हिउँ त्यहीँ देख्यो, १० वर्षे सघन द्वन्द्वबाट पिडित देशको यो नागरिकले मान्छेलाई गोली लागेको पनि त्यहीँ हो देखेको पहिलो पटक । पहिलो पटक नै याकव र साराले कुरा खोले साँझ परेपछि नर्बोगेल सुरक्षित छैन । ख्याल गर्नू । प्रत्येक दिन राति साइकलमा मस्तीले हिँड्ने त्यो ठाउँमा अब साँझ परेपछि हिँड्दा डर लाग्न थाल्यो । आप्रवासीहरुको बाहुल्य भएको ठाउँ हो, त्यो । आफूजस्तै काला अनुहारहरु त्यहाँ देखिएकै हुन् । राइट विङ्स्् अर्थात् डेनिस पिपुल्स् डेमोक्र्याटिक पार्टीको लागि यो ठूलो बहाना हो । म साक्षी बनेर कोपनहेगनको सबैभन्दा ठूलो प्रहरी केन्द्र पुगेँ । व्यक्तिगत डरबाहेक मैले जान्न लायकका र अनुभव गर्ने कुराहरु धेरै थिए । साक्षीसँग आफ्नै मातृ भाषामा अन्तर्वार्ता लिइँदोरहेछ । फाट्टफुट्ट नेपाली शब्द जान्ने एक डेनिस नागरिकलाई बोलाइएको रहेछ । मैले उनको नेपालीभाषाको अल्पज्ञानका बारेमा त्यहाँका अनुसन्धान अधिकृतलाई जानकारी गराएपछि दोस्रो दिन एकजना नेपाली डक्टरलाई अनुवादकको रुपमा बोलाइएछ, जो डेनिस बोल्न सक्छन् । घटनाको साक्षी अर्थात् बयानकर्तालाई अति सुरक्षित र सम्मानजनक व्यवहार गरिँदो रहेछ । खुसी लाग्यो । साँझ फ्याक्ट्री थिएटरमा क्याब्रेट सो थियो । याकव नामका पुलिस अफिसरले मलाई गाडीमा छोडिदिए ।
युरोपका हरेक सिमाना, एयरपोर्ट वा संवेदनशील ठाउँहरुमा अति सुरक्षाको व्यवस्था हुँदा पनि खुलेआम पेस्तोल बोकेर को आउन सक्छ ? अति सुरक्षित ठानिएको ठाउँमा पनि कसरी यस्तो हत्या सम्भव छ ? कन्डक्टर नभए पनि भाडा नतिरी सार्वजनिक यातायातमा यात्रा गर्न नसकिने यो देशमा को छिर्छ, बारुद नै बोकेर ? मलाई सधै अचम्म लाग्ने । तर, अमेरिकाको राजनीतिक संस्कारलाई पछ्याउँदै पूरै युरोपले बिन लादेन र सद्धाम हुसेनलाई अपराधको रोल मोडल मान्यो । म बबुरोसँग धेरै प्रस्नका उत्तर थिएनन् । छैनन् पनि । फेरि किन काला वर्णका आप्रवासीहरु नै यस किसिमको अपराधमा समातिन्छन् ? तर, सत्य त्यही थियो । बाहिरबाट देखिने सत्य । नर्बोगेलमा बाक्लै आप्रवासीहरु बस्छन् र साँझ परेपछि यो ठाउँ असहज बन्छ । नरेब्रो स्टेसन पुग्नुअघिको सानो चोकमा क्याफे छ । क्याफे अगाडि एउटा स्तम्भको टुप्पोमा राखिएको प्रेमको चिन्हको अर्थ पनि यहाँ सान्दर्भिक छ । केही वर्षअघि आप्रवासी युवाहरुबीच त्यहाँ ठूलो हतियार झडप भएको थियो रे । त्यही घटनाको सम्झनामा अब यस्तो नहोस् भनेर विभिन्न किसिमका हतियारहरु प्रयोग गरेर प्रेम चिन्ह बनाइएको रहेछ । स्तम्भमा १० फरक भाषामा लेखिएको छ ‘हामीसँगै बस्न चाहन्छौँ’ । यो चिन्हले मलाई सन् १९७४मा पोर्चुगलका सैनिकहरुले गरेको ‘कार्नेसन रिभ्यु लेसन’ को याद दिलायो । सैनिकहरुले एउटा यस्तो प्रतीकात्मक आन्दोलन गरे, उनीहरुले आफ्नो पेस्तोलको टुप्पोमा फूल राखेर कोलोनियल युद्धको विरुद्धमा ओर्लिए । आज पनि एप्रिल २५, पोर्चुगलका लागि स्वतन्त्रताको दिन मानिन्छ । उनीहरुको लागि यो राष्ट्रिय विदाको दिन हो । तर, नरेब्रोको त्यो स्तम्भले पर्यटकहरुका लागि तस्बिर खिच्ने ठाउँबाहेक खासै ठूलो अर्थ राखेन सायद ।
केही महिनापछि डेनिस रङ्गकर्मी बिर्थे ज्याकवसनले साथी आरोन र मलाई एउटा नाटक खेल्न अनुरोध गरिन् । अलिअलि पारिश्रमिक पनि पाइने र डेनिसहरुसँग नाटक पनि खेल्न पाइने । ठूलो रहरले त्यो नाटक खेलियो । हाम्रो भूमिका उही थियो अर्थात् इमिग्रेन्ट युथ । कोलम्बियन आरोन र नेपाली युवराज ती आम इमिग्रेन्टको मज्जाले प्रतिनिधि बन्न सके । नाटकले अपराधको कुरा त गरेन । तर, रैथाने डेनिस र इमिग्रेन्टहरुबीचको द्वन्द्व र बेमेल यसले व्यक्त ग¥यो । एउटै कम्युनमा बस्छन् तर एकअर्कालाई बुझ्न सक्दैन । पृथक् संस्कृति र धर्म मान्ने दुई भिन्न समुदाय निक्कै लामो समय एउटै सहरमा बसेर पनि कसरी एकअर्कालाई बुझ्न सकिरहेका छैनन् । नाटक राम्रो उदाहरण थियो ।
भौतिक र शैक्षिक रुपमा अत्याधिक विकासमा पुगेको यो देशका राम्रा कुराहरु धेरै छन् । तर, यहाँनिर मैले सभ्य मानिएको सहरभित्र लुकेर बसेको अपराध र वर्णका आधारमा हुने भेदभावको कुरा स्मरण गर्न चाहेको हुँ । एउटा ठूलो विरोधाभाष त्यस समाजमा मैले देखेँ । पुरानो पुस्ता अर्थात् राइट विङ्स् पार्टीको पक्षधर । सन् १९९५ मा स्थापित यो पार्टी अन्तरसांस्कृतिवादको विरुद्धमा छ । उनीहरु अर्को देशको मानिस आफ्नो सहरमा देख्न चाहँदैनन् र आफूहरु पनि परसम्म यात्रा गर्दैनन् । लुना र मैले अक्सर सामना गर्नुपर्ने प्रश्न ‘आफ्नो ठाउँ छोडेर यति टाढा किन आएको?’ यस पार्टीकी प्रमुख नेतृ पिया काइजगार्डको अन्तर्वार्ता डेनिस टेलिभिजनमा प्रशस्त आइरहन्थ्यो । भाषा नबुझे पनि तिनको हाउभाउ र व्यक्तित्वलाई नियालिरहन्थेँ । उनी निक्कै कठोर र अस्वाभाविक देखिन्थिन् । खै किन हो, डेनिस सरकारी कार्यालय, अझ डेनिस दुतावास जाँदा त्यहाँका कर्मचारीहरुमा पिया काइजगार्डको स्वभाव महसुस गर्छ‘ ।
अर्को नयाँ पुस्ता जो लामो याात्रा गर्न चाहन्छ र इमिग्रेन्टस्लाई समाजमा मिसाउनु पर्छ भन्ने पक्षमा छ । अन्तरसांस्कृतिक र अन्तरदेशीय सम्बन्ध र विवाहलाई स्वीकारिरहेको छ । विकासे संस्थाहरुका काम गर्नेमा बढी यो चेत आएको देखिन्छ ।
Love Tower at Narrebro, Copenhagen

२००९ को अगष्ट २१ । कोपनहेगन पुगेको दोस्रो दिन नै मैले एउटा ठूलो जुलुसमा भाग लिएँ । साथी क्रिष्टिनाको निम्तोलाई स्वीकारेर म त्यहाँ पुगेको थिएँ । डेनमार्कमा कमै हुने यस खाले जुलुसमा १० हजार मानिसहरुको सहभागिता रहेको अनुमान गरिन्छ । यसको कारण थियो, तत्कालीन डेनिस सरकारको इमिग्रेन्टहरुमाथिको ज्यादती । दक्षिण एसिया र खासगरी पाकिस्तानीहरुको संख्या कसरी घटाउने भन्ने योजनाअनुरुप डेनिस सरकारले जुक्ति झिक्यो । सम्पूर्ण पुरुषहरुलाई परिवारबाट समातेर सिधै एयरपोर्ट पु¥यायो र तिनका परिवार पनि फर्काउने योजना रचियो । रातारात तिनका श्रीमती र परिवार एउटा चर्चको शरणमा परे । तिनकै आप्रवासन र मानवअधिकारका लागि डेनिसहरुको ठूलो जमात सडकमा ओर्लिएको थियो । जुलुस अचम्म लाग्दो थियो । तोडफोड थिएन । होहल्ला र कोलाहल थिएन । एउटा उत्सवजस्तो थियो, जहाँ निक्कै युवाहरु आप्रवासीहरुको अधिकारका लागि नैतिक रुपमा लडिरहेका थिए ।
सन् सत्तरीको दशकमा कामदारका रुपमा निक्कै पाकिस्तानीहरु नर्बे र डेनमार्क ल्याइए । अन्तरसांस्कृतिक विवाह र लामो बसाइले तिनका सन्तानहरु बढ्न थाले । अनेकाँै बहानामा तिनले आफ्ना परिवारलाई डेनमार्क भित्र्याए । अहिले डेनमार्कमा करिव ७० हजार पाकिस्तानीहरु भएको अनुमान गरिन्छ । आप्रवासीहरुको बढ्दो संख्या पारम्पारिक सोचका युरोपियनहरुको लागि ठूलो समस्या हो । त्यसमाथि पनि कालो वर्णका र मुस्लिम धर्म मान्नेहरुलाई हेर्ने उनीहरुको आपराधिक लोगोयुक्त छाप । खासमा चिन्ता अतिवादीहरुको हो । धर्म, सिद्धान्त र निश्चित भुगोलको सिमाना बनाएर बसेका अतिवादी र कट्टरपन्थीहरुको टकरावले युरोप र मुस्लिम देशहरुबीच ठूलो दूरी सिर्जना ग¥यो । त्यो प्रभाव हामीसम्म आइपुग्यो । हुन त यो समस्या संसारभरकै हो । अहिलेलाई उतै लागौँ । एकातिर नब्बेको दशकदेखि डेनमार्क र खासगरी स्क्यान्डिनेभियामा राइट विङ्स् पार्टीहरु आक्रामक हुँदै आउनु र अर्कोतिर सन् २००५ मा डेनिस पत्रिका जटल्यान्ड पोस्टले मोहम्मदको कार्टुन छाप्नुले दुई फरक समुदायबीचको द्वन्द्वलाई झन् बढायो । १२ जना डेनिस कार्टुनिस्टहरुले बनाएको १२ वटै कार्टुनले मुस्लिम देशहरु निक्कै विचलित भए । १२ जना कलाकारहरुको ज्यान मात्रै जोखिममा रहेन । यस विषयमा डेनमार्क सरकार र राज्य पूरैै सम्लग्न हुन कर लाग्यो ।
जुलाइ १९, २०११ । नीरस सुक्रबार थियो, त्यो । विहानैदेखि धुम्म, अँध्यारो र ओसिलो । दिनभर पानी प¥यो । सडकमा संगीत भरेर जीविकोपार्जन गर्नेहरुले त्यस दिन कुनै धुन बजाउन पाएनन् सायद । जसको पृष्ठभूमिमा एउटा ठूलो नरसंहार भयो । सम्झेँ, नेपालमा धेरै शुक्रबारहरुले इतिहास बदल्ने दुस्साहस गरे । यता युरोपमा पनि यो शुक्रबारे संयोग कस्तो हो ? संयोग हैन वियोग । नर्बेको राजधानी ओस्लोनजिकैको उटोवा टापुमा समर क्याम्पमा गएका युवाहरुमाथि ३२ वर्षीय नर्बेजीयन नागरिक आन्डर्स बेर्हिङ ब्रेभिकले चलाएको अन्धाधुन्ध गोलीले ६९ निर्दोष युवाहरुको ज्यान गयो । ओस्लोमै उनले गरेको बमविष्फोटमा अन्य ८ जना मानिसहरुको मृत्यु भयो । नर्बेका लागि ‘दोस्रो विश्व युद्धपछिको पहिलो ठूलो नरसंहार’ मानिएको यो घटनाले पूरै युरोपलाई लज्जित बनायो । मानवअधिकारका लागि एउटा उदाहरणीय देश मानिएको नर्बेलाई यसले नैतिकताको ठूलो धक्का दियो । नोबेल पुरस्कारको यो देशमा इब्सन र भिग्ल्यान्डलाई त लज्जित बनायो । कोपनहेगनमा पढिरहेको म बबुरो डराउने अनेक कारण थिए । कयौँ परिवारका लागि सहनै नसकिने शोकको घडीमा मभित्र एउटा कुविचार आयो । मैले सोचेँ, रोक्न सकिनँ– ‘यदि यो नरसंहार गर्ने मान्छेको रङ्ग सेतो नभएर अर्कै भएको भए के हुन्थ्यो ? उसले मान्ने धर्म अर्कै भैदिएको भए के हुन्थ्यो ?’ के म यही अनुहार लिएर हिँड्न सक्थेँ ? ममाथि कुनै सुरक्षा जाँच हुँदैन थियो ? नेपाली एफ एम रेडियोहरुले बजाउने समाचार सम्झेँ– ‘एकजना दलित महिलाको मृत्यु ! मुस्लिम पुरुषको हत्या !’ उफ् ! मेरो लागि यो कहाली लाग्ने परिस्थिति हो । केवल वर्ण र धर्मले पार्ने यो फरक कति खतरनाक हुन्थ्यो । शक्तिशाली देशहरुको एउटा झुण्डले ठूलो बबण्डर गर्ने थियो । धन्य, अप्राप्य ईश्वर । यसपटक पनि नरसंहारकको धर्म र रङ्ग अर्कै प¥यो । त्यसो त ‘राइट विङस’ हरुले प्रोपोगाण्डा गर्ने कुरा केही थिएन । तर, नरसंहारकको उद्देश्य बुझ्दा उनीहरुका लागि खुसीका थोपाहरु त्यहाँ थिए । आन्डर्सले आफ्नो चर्तिकला देखाउनु ९० मिनेटअघि एउटा नक्कली नामबाट १००३ वटा ठेगानामा पठाइएको इमेलमध्ये आन्डर्स पनि पर्छन् । १५१८ पृष्ठ लामो सामग्रीको शीर्षक छ ‘सन् २०८३ ः युरोपीयन स्वाधीनताको घोषणा’ । यो सामग्रीभित्रको एउटा महत्त्वपूर्ण विषय हो ‘कल्चरल माक्र्सिज्म्’ अर्थात् सांस्कृतिक एकाधिकार । म डरले थर्थरर काम्छु र भारत र चीनलाई सम्झिन्छु । चिन सांस्कृतिक एकाधिकारमा त्यति कडा छ । भारत उति खुल्ला देखिन्छ । म दुवैमा समस्या देख्छु किनकि भारतमा नागरिकहरुको धार्मिक जडतामा समस्या छ । चीनमा राज्यको नीतिमा समस्या छ । तपार्इंलाई शक्तिशाली चीनको चित्रमात्र याद आउँदो हो । अभिव्यक्ति स्वतन्त्रताको डलाइँमा आजीवन जेल परेका धेरै चिनियाँ अधिकारकर्मीहरुको ख्याल छैन होला । त्यतातिर नलागौँ । यहाँ मुस्लिम अतिवाद र गोरा छालाहरुले लिएको सांस्कृतिक र राजनीतिक शक्तिमै केन्द्रित होऔँ ।
अतएवः नर्बेमा त्यति ठूलो नरसंहार भएर पनि कोपनहेगनमा म भौतिक र मानसिक रुपमा सहज नै थिएँ । भनौँ, हामी थियौँ । गैरगोरा वा भनौ गैरक्रिश्चियनहरु । अतिवादी ‘दायाँ पङ्खीहरु’ चाहिँ मौन नै थिए होला । मैले युरोपियन नयाँ पुस्तालाई महसुस गर्ने मौका पाएँ । माथि भनेको थिएँ नि अर्का खाले डेनिसहरु । उनीहरु निक्कै लज्जित थिए । आप्रवासीहरुको समर्थनमा कोपनहेनगमा भेला भएका १० हजार मानिसहरुलाई सम्झेँ । उटोवा टापुमा नरसंहारमा परेकाहरुलाई श्रद्धान्जली दिन र नरसंहारको विरोधमा एकै निमेषमा भेला भएका २ लाख मानिसहरुको मलिन र लज्जित अनुहारलाई तस्बिर र टेलिभिजन दृश्यहरुमा नियालेँ । उनीहरुको अनुहारले विश्वलाई भनिरहेको थियो, हामीलाई शङ्का नगर । हामी अझै मानवअधिकारको उच्चतम कदर गर्छौं । मेरा डेनिस मित्रहरु, तिनका परिवार वा नयाँ मानिसहरु जजसलाई त्यतिखेर भेटेँ, उनीहरुमा त्यो लज्जाबोध देखेँ । उनीहरुको भावभङ्गीमाले भनिरहेको हुन्थ्यो–‘हामी रङ्गभेद र धर्मभेदको विरुद्धमा छौँ । नर्बेमा नरसंहार गर्ने त्यो मानिसले हाम्रो प्रतिनिधित्व गर्दैन ।’ म आप्रवासी हुनुले वा मेरो वर्णले किन उनीहरुलाई यसरी नैतिक सङ्कटमा पारिरहेको छ वा मबाट त्यस्तो व्यवहार देखिइरहेको छ ? म सम्हाल्लिएँ ।
तिनै नैतिक सङ्कट महसुस गर्ने धेरै युवाहरु अतिवादको विरुद्धमा लागिरहेका थिए । नैतिक सङ्कट महसुस गर्ने ती डेनिसहरुको लागि अर्को अर्को चुनौती आइलाग्यो । संसदमा राइट विङ्स्को दबावमा डेनिस संसदले नयाँ नियम बनायो । डेनिस नागरिकहरु प्रेममा पर्नुअघि त्यो व्यक्तिको नागरिकता हेर्नुपर्ने भयो । गैरयुरोपियन जीवनसाथीहरुलाई डेनमार्कमा भिजाको लागि नम्बर सिस्टम बनाइयो । नम्बर सिस्टमका अनेकाँै सर्तहरु थिए । भाषा जान्नुपर्ने । बैंकमा निश्चित ब्यालेन्स हुनुपर्ने । यी रमाइला सर्तहरुले डेनिस युवाहरुलाई निक्कै पिरोल्यो, जो अन्र्तदेशीय, अन्तरसांस्कृतिक र अन्तरधार्मिक सम्बन्धहरुमा रमाइरहेका थिए । मेरी रङ्गकर्मी मित्र केमिलाले मलाई फोनमै प्रस्ताव गरिन्, के तिमी मसँग विवाह गर्छौ ? विवाहित म श्रीमतीसँगै त्यहाँ थिएँ । उनको त्यो प्रश्नले मलाई कति तर्सायो होला ? पछि उनले हाँस्दै भनिन् ‘नाटकमा’ । उक्त नयाँ कानुनलाई नस्विकार्ने डेनिसहरुले कानुनको विरोधमा एउटा अभियान नै चलाउने भएछन् ‘लभ विदआउट बोर्डर’ । त्यस अभियानमा म केमिलाको ‘टर्किस् बोइफ्रेन्ड’ बने । स्काइप संवादलाई लिएर छोटो वृत्तचित्र बनाएर युट्युव र फेसबुकहरुमा अप्लोड गरियो । मेरो लागि एउटा ठूलो र सम्झनायोग्य क्षण बन्यो, डेनिस संसदभवनअगाडि करिब ५ हजार दर्शकहरुअगाडि गरिएको १० मिनेटको कमेडी नाटक, जहाँ मेरो दोस्रो विवाह हुँदै थियो । अर्थात् हिन्दू संस्कारअनुसार एकपटक विवाहित म यतिखेर क्रिस्चियन प्रिस्टलाई साक्षी राखेर दोस्रो विवाह गर्दै थिएँ, केमिला आन्डरसनसँग । र, मेरी असली श्रीमती लुना मलिन अनुहार लाएर दर्शकदिर्घामा थिइन् । बिहेको लागि लुनाले स्वीकृति त दिइन् तर सर्त राखेर । सर्त थियो, बेहुलीलाई चुम्बन गर्न नपाइने । पश्चिमी समुदायमा विवाहका बेला ‘बेहुलाबेहुली’ले एकअर्कासँग चुम्बन गर्ने एक किसिमको संस्कार नै हो । नाटकमा एउटा रोचक क्षण आयो, दर्शकहरु चुम्बनका लागि हुटिड गरिरहेका थिए । म मुस्कुराउँदै लुनालाई कर्के आँखाले हेरिरहेको थिएँ । चिन्ता नगर्नुस्, मैले लुनासँगको बाचा तोडिन । मैले ‘ब्राइड’लाई चुम्बन नगरी नाटक सकेँ । ‘लभ विदआउट बोर्डर’को एउटा अभियानमा सफल कार्यक्रम सम्पन्न भयो । केही नेपाली दर्शकहरु पनि रहेछन् । मलाई त्यहाँ देखेर अचम्ममा परे । उनीहरुसँग नयाँ मित्रता सुरु भयो । यही अभियान सम्बन्धी विविसी यूरोप च्याप्टरमा विशेष लेख सहित केमिला र मेरो तस्विर छापिएपछि नाटक र अभियानको राम्रै चर्चा भयो । तर, मेरो मुख्य चासो उक्त कानून सम्बन्धी थियो । रङ्गमञ्चसम्बन्धी २ वर्षे पढाइ सकेर म नेपाल फर्किएँ । पछि थाहा भयो अभियानले सायद काम गरेछ । कानून खारेज भएछ । नैतिक दबाबले कहिलेकाहीँ गज्जबले काम गर्दो रहेछ । २ वर्षे वसाइमा त्यो सम्पन्न देश डेनमार्क र त्यसआपसाका अन्य केही मुलुकहरु घुम्दाको रोमाञ्चक र तितामिठा अनुभवहरु रंगीन भएर मस्तिष्कमा बसेका छन् ।

केमिला यतिखेर एक्सन एड भन्ने संस्थाको सामाजिक कार्यकर्ता भएर नेपाल आइपुगेकी छिन् र शिल्पी थिएटरमा बेलाबखत नाटकसम्बन्धी काम मिलेर गरिरहेकाछौँ । यहाँ पनि हामी नाटकलाई सामाजिक रुपान्तरणका लागि प्रयोग गर्छौँ । हाम्रा आफ्नै समस्याहरु बर्गेल्ती भएका बेला पनि मलाई संसारमा झन् उदाएको रंगभेद, वर्गभेद र धर्मभेदले खै किन हो पिरोलीरहेको ? के भौगोलिक सिमाना, रंग, वर्ग वा धर्मले हामी एकअर्कालाई प्रेम गर्न र एउटै समुदायमा बस्न अझै अफ्ठ्यारो परिरहेको छ ? मलाई दूरदेशको चिन्ता लागेर आयो तर यो चिन्ता बढ्दैबढ्दै नयाँ नेपालसम्म आइपुगको मलाई महसुस भइरहेको छ । सपना देखिरहेको छु त्यो समाजको जहाँ ‘सिमारहीत प्रेम र सद्भाव’ सम्भव छ ।
नर्बोगेलमा गोलीहान्ने कालो वर्ण र उटोवा टापुमा गोली हान्ने सेतो बर्णको मान्छेले संसारका सारा काला वा गोरा मानिसहरुलाई फरकफरक कित्तामा राख्न सक्छ ? चिन्तामा छु, अपराधको रंग, वर्ग वा धर्म कस्तो हुन्छ ?