Wednesday, September 24, 2014

रमिता-कविता


सवारी चालकहरु अचानक बाटो परिवर्तन गर्छन्
पछाडिकालाई पत्तै नदिई ।
नेताहरुले पार्टी परिवर्तन गरे जस्तो
आफ्न वाचा र सिद्वान्त परिवर्तन गरे जस्तो ।
अनि हुन्छ दुर्घटना बीच सडकमा
संबिधान सभा भवन अगाडि ।


म निक्कै तल हुँदा तिमी निक्कै खुशी थियौ
त्यसैले मायाले सुम्सुम्यायौ । 
तिमीलाई लाग्यो म त्यहिँ सड्ने छु
मेरो हैसियत त्यत्ती हो 
म नङ्ग्रा खियाउदै जति उकालो चढ्दै तिमीतिर आएँ, तिमी उति डराउन थाल्यौ 
र माथिबाट ढुङ्गा बर्षायौ !!
तर मैले तिमीलाई तिनै ढुङ्गा टिपेर कहिल्यै हानिन 
बरु अलिक पर्तिरबाट यात्रा थालेँ । 
तिमीले देखी हाले, खिसिक्क मुस्कुराएँ, उही तलको मान्छे झैँ 
अचेल तिमी भेट्दा खिसिक्क मुस्कुराउछौ
लाग्यो बद्लिएछौ
तर ढुङ्गा खासल्न त अझै छोडेका रहेनछौ ?
तलबाट आउँदै गरेकाहरुले भनेको !!!




बरु ओडाउनलाई कात्रो नहोस् 
स्कुल जानलाई युनिफर्म होस् 
बरु जलाउनलाई दाउरा नहोस् 
लेख्नलाई एउटा कलम होस् 
बरु घाटमा हजारौ मलामी नहुन 
पढाउनलाई १ जना असल गुरु हुन ।
बरु लासमाथी छर्किने चामल नहोस् 
जिन्दगीको यात्रामा अलिकती सामल होस् ।
जीवन भनेको आखिर के नै रहेछ र ?
रामेशले भने जस्तो-बाचुन्जेल गरिने काम न हो !!!
मरेपछि यत्रैसिती-बरु नर्ककै बास होस्
बाचुन्जेल 'जिउने' आश होस् !!!!!




राज्य सरकार यतिखेर कर्मकाण्ड बाहेक केही गर्दैन 
मन्त्री मण्डल बनाउने र भंग गर्ने 
मलाई यस्तो लाग्छ, सरकार नभएपनि राज्य आफै संचालित छ 
किनभने यहाँ किसानहरु छन्, खेतमा काम गर्दैछन् 
मजदुरहरु छन्, भारी बोक्दैछन् 
व्यापारीहरु छन्, व्यापार गर्दैछन् 
कसाइहरु छन् मासु बेच्दैछन् 
नगरबधुहरु छन् शरीर बेच्दैछन् 
चोरहरु छन्, चोर्दैछन् 
भ्रष्टाचारीहरु छन्, घुस खाँदैछन् 
पुरुषहरु छन्, गर्भाधान गर्दैछन्
महिलाहरु छन्, सुत्केरी हुँदैछन्
रोगी वा बृद्धहरु छन् मर्दैछन्
घाटेहरु छन् तिनलाई पोल्दैछन्
यो देश यसरी नै चलेको छ ।


स्वतन्त्र सिर्जनाको थलो

समसामयिक रङ्गमञ्च निक्कै व्यस्त र विविधताले भरिएर आएको छ । नेपालको इतिहासमा यो घटनालाई केही वर्षपछि फर्किएर व्याख्या गर्न जति सहज र स्वाभाविक हुन्थ्यो, अहिले बोल्दा अलिक हतारजस्तो हुन्छ । तर, अहिले पनि प्रस्ट देखिने केही घटनाहरू छन् । जसलाई बुझिने गरी लेख्न सकिन्छ भन्ने लाग्छ मलाई ।
मैले यो लेख लेखिरहँदा ५ वटा नाटकघरमा फरकफरक ५ वटा नाटक नियमित मञ्चन भैरहेका छन् । राजधानीका फरकफरक विन्दुहरूमा प्रत्येक साँझ केही मानिसहरू जम्मा हुन्छन् । नाटक हेर्छन् । चियाकफी पिउँछन् । चुरोट तान्छन् । अनेकौँ आलोचना प्रतिक्रिया, घम्साघम्सी हुन्छन् । यसरी अचानक यो अनियमित घटना काठमाडौमा केही महिनादेखि नियमितजस्तो घटित छ । दक्षिण एसियामै अभूतपूर्व उत्सव हो भन्ने लाग्छ मलाई काठमाडौको यो रङ्गमञ्चीय गतिविधि ।
तर, कहिलेकाहीँ आपूm त्यही समयभित्र बाँचिरहँदा आपूmसँगै घटित क्षणहरूलाई तत्कालै मूल्याङ्कन गर्न गाह्रो हुन्छ । त्यसैले पनि यति धेरै गतिविधिहरूले नाटकघर बनाउने, बनाउन खोज्ने वा ती दुवै योजनाबाट टाढा रङ्गकर्मीहरूलाई मात्रै हैन नाटक हेर्न आउने दर्शकहरूलाई पनि अन्योलमा पारेको देख्छु म । केही सिर्जनाकर्मीहरू काठमाडौमा यति धेरै नाटकघर किन बने भनेर घोत्लिँदै छन् । अझ यी गतिविधिहरूबाट सबैभन्दा बढी चिन्तित मानिसहरू ती हुन्, जो अहिलेसम्म नाटकघर गएका छैनन् । म त्यही क्षणको प्रतीक्षामा छु । एकदिन कुनै बहानामा हेलिँदै वा कुनै आफन्त, साथीको करकापमा ती मानिसहरू रङ्गमञ्चमा पुग्नेछन् । रङ्गमञ्चले तिनीहरूलाई गज्जबले पगाल्नेछ । अनि उनीहरू सबैभन्दा बढी रङ्गमञ्चप्रेमी हुनेछन् । समग्रतामा यी नियमित गतिविधिहरूको सबैभन्दा ठूलो प्रभाव र परिणाम यसरी नै देखिनेछ ।
नाटकघर छिरेका ती आदरणीय दर्शकहरू फिल्मभन्दा नाटक नै राम्रो वा कलात्मक फिल्म हेर्नुपर्छ भन्दै क्लिसे नै सही फरक भाषा बोल्न थाल्नेछन् । पुस्तक प्रदर्शनीहरूमा हजारौँ पैसा खर्च गर्नेछन् । पेन्टिड ग्यालरीतिर धाउन थाल्नेछन् । किनभने रङ्गकर्मीहरूले निर्माण गरेका यी ५ फरकफरक थलोहरू नाटकमञ्चन मात्रै गर्दैनन् । किताब विमोचन, किताब बिक्री, चित्रकला प्रदर्शनी, संगीत, नृत्य, कविता र कलाका अनेकौँ विधाहरूसँगै यात्रा गरिरहेका छन् । अन्यथा अर्थ नलागोस्, जन्मजात प्रबुद्ध दर्शकहरूचाहिँ यसभित्र पर्नु हुन्न है । यहाँ अर्को कुरो पनि छ । राजधानीका लेखक, कलाकार, पत्रकारहरू वा बौद्धिक भनिएको त्यो जमात पटकाँैको निम्तो र तारेखबेगर नै कुनै दिन आफैँ नाटकघर, फिल्म हल, कन्सर्टहरू, नियमित कवितावाचन वा चित्रकला प्रदर्शनीमा पुग्नेछ र धक नमानी टिकट काट्नेछ । उनीहरूले यो बुझ्नेछन्, उनीहरूको उपस्थिति आफ्नै लागि फलदायी छ न कि उनीहरू ती नाटकघरहरूलाई कृपा गरिरहेका छन् ।
अचानक सामान्य लाग्ने आकस्मिक नाटकघर निर्माण र नियमित मञ्चनले समग्र ललितकला र संस्कृतिमा परेको प्रभाव यसरी पनि महसुस गर्न सकिन्छ । एउटा पेन्टिङ ग्यालरी खुल्नु र पुस्तकालय खुल्नुभन्दा कति भिन्न छ नयाँ नाटकघर बन्नु । मैले नाटकघर स्पेसको उपयोगिता र संस्कृति निर्माणका लागि अरु कुरासँग तुलना गरेको हँु । खासमा नाटकघरहरू झैं पेन्टिड ग्यालरी, संगीत, फिल्म, किताब पुस्तकालयहरू, बैकल्पिक फिल्म देखाउने घरहरू वा सिर्जनाका अन्य ठाउँहरू सहरमा निर्माण हुनु अति जरुरी छ एउटा विकसित र सभ्य समाजका लागि ।
राजधानीका नाटकघरहरूमा नाटक समयमा सुरु हुन्छ ।
मानिसहरू आफ्नो उडान नछुटाउन एयरपोर्टमा समयमा पुगेजस्तै वा भिजाका लागि राजदूतावासको गेटमा उभिएजस्तै समयमै नाटकघरमा पुग्छन् । राजधानीका सडकहरूमा सभ्यहीन हामी नेपालीहरू जब दूतावासहरूमा भिजा लिन लाइनमा लाग्छौँ, हामी भुइँमा थुक्दैनौँ । खाने कुरा खाँदैनौँ । हल्ला गर्दैनौँ । मोबाइल अफ गरेर राख्छौँ । अन्तर्वार्ताका लागि कुर्ने ठाउँमा बसेका हामी मानिसहरू कसरी अनुशासनका हिसाबले अर्कै भयौँ ? किनभने छेउमा दूतावासका गार्डहरू डन्डा लिएर उभिएका छन् वा भिजाको मोह—डर छ । तर, नाटकघरहरूले डन्डा नबोकी वा भिजाको उच्चतम प्रलोभन नदेखाई राजधानीमा त्यो संस्कारको निर्माण गरेका छन् ।
साहित्य, फिल्म र राजनीतिमा कुरुप मानिएको आलोचनाको संस्कार नाटकघरहरूमा निक्कै फरक र सभ्य देखिन्छ । नाटक सक्किएपछि दर्शकहरूले कलाकार, लेखक वा निर्देशकलाई सिधै आएर आफ्नो मनको कुरा भन्ने गर्छन् । सिधै आएर गरिएको आलोचनामा पनि कुनै कलाकार रिसाएको मैले काठमाडौका नाटकघरहरूमा देखेको छैन । तारिफमा त खुसी हुने नै भयौँ । तुलनात्मक रुपमा यदि आलोचनाले नेपालमा केही सकारात्मक काम भएको छ भने रङ्गमञ्चमै भएको छ जस्तो लाग्छ ।
प्रत्येक दिन नियमित नाटकहरूसँगै अनेकौँ गतिविधि हुने यी ठाउँहरूको निर्माण चाहिँ कसरी भयो त ? यसका केही गुदी कुराहरू छन् । अहिले चलिरहेका ५ वटा नाटकघरहरू नितान्त व्यक्तिगत वा एउटा सानो समूहको चासो र इच्छाशक्तिले निर्मित ठाउँहरू हुन् । रङ्गमञ्चप्रतिको राज्यको पूर्ण बेवास्ता र अपमानको लामो कालखण्डपछि यी नाटकघरहरू बने । नाचघर र एकेडेमीहरूले स्वतन्त्र रङ्गधर्मलाई कहिल्यै प्रोत्साहन गरेनन् । उनीहरुले आफ्नै शासकीय शैलीको कामको पनि निरन्तरता दिन सकेन । नत्र अझै पनि उसले राज्यको तर्फबाट गर्नुपर्ने आफ्नै उत्तरदायित्वहरू प्रशस्त छन् । राजतन्त्र हँुदैदेखि नाचघर र एकेडेमीमा नअटाएका नाट्य समूहहरूले बाहिर उपलब्ध ठूला कोठा वा अन्य ठाउँहरूलाई रङ्गमञ्चको रुपमा उपयोग गरेका हुन् । विभिन्न देशका सांस्कृतिक केन्द्रहरू जस्तै फ्रेन्च कल्चरल सेन्टर, रसियन कल्चरल सेन्टर वा स्कुलहरू नाटक गर्ने वैकल्पिक थलो बन्यो । तर, नियमित नाटक मञ्चन गर्ने समूहहरूको लागि दिर्घकालीन ठाउँ नहुनु जस्तो दुर्भाग्य केही होइन । नाटकका लागि नियमित अभ्यासको राम्रो ठाउँ चाहिन्छ र त्यसका आधारभूत भौतिक पूर्वाधारहरूको इज्जतिलो व्यवस्थापन । आरोहणले गुरुकुलको निर्माण गरेर कमसेकम केही वर्षका लागि आफ्नो नियमित कर्मको लागि ठाउँ बनायो । सर्वनाम यही अभियानमा थियो र उसले आफ्नै जग्गामा दिर्घकालीन नाटकघर निर्माण गर्यो । आरोहण गुरुकुलले रङ्गकर्मीहरूलाई सुन्दर पाठ सिकाइदियो—“आँट्यो भने त हुने रहेछ ।” एउटा संस्थाले गरेको त्यो दुस्साहसपूर्ण कार्यले अरुको लागि बाटो खुल्यो । १० वर्ष त धेरै लामो समय भयो, धेरै रङ्गकर्मीहरू यो मनस्थितिमा छन्, कमसेकम २ वर्षका लागि पनि ढुक्कले नाटक गर्ने ठाउँ यही हो भन्न पाइयो भने हामी केही नियमित अभ्यास गर्न सक्छौँ । कलाकारहरूले तालिम लिन सक्छन् । दर्शकहरूमा नाटक मञ्चन र हेर्ने संस्कारको नियमित बानी बसाउन सक्छौँ । नाटक टिकटमा, यति बजे, यहाँ, हरेक दिन हुन्छ भन्ने एउटा निश्चित योजनाको लागि रङ्गकर्मीहरू छटपटाइरहेको स्थितिमा  ५ वा १० वर्षका लागि कुनै समूहले रङ्गमञ्चको योजना लिएर आउनु यो “नेपाल मण्डले, काठमाडौ सहरे”मा निक्कै ठूलो दुस्साहस हो । लगभग मरिसकेको नाटक हेर्ने संस्कारलाई गुरुकुलले पचासको दशकको अन्तिमबाट ब्यँुझाउने अभ्यास सुरु गर्यो । अनुमान गर्नुहोस्— भाडामा जग्गा लिएर, आफ्नै खर्चमा नाटकघर निर्माण गरेर, कलाकारहरूलाई तलब दिएर, नाटक उत्पादनको सारा खर्च जुटाएर हरेक दिनको नियमित नाटकमा २० जना दर्शकबाट उठाएको २५ र ५० को टिकटबाट कुन खालको अंकगणितले नेपाली रङ्गमञ्च व्यवसायिकतामा जान सक्छ ? त्यही भएर कहिलेकाहीँ आलोचना र मूल्याङ्कन गर्न हतार गर्नु हँुदैन भन्ने मैले ठानेको छु । कमसेकम १० वर्षको यात्रामा २० को ठाउँमा प्रत्येक दिन १०० दर्शक हुन थाले । टिकटको मूल्य दुई सय र पाँच सयसम्म राख्ने हिम्मत आयो । त्यसैले नेपाली रङ्गमञ्च वा नेपाली कलाको व्यवसायिकता पारम्पारिक अंकगणितको व्यापार सिद्धान्तले हेर्ने हो भने विफल छ । तर, यसका उपलब्धिहरू यसले ल्याएको संस्कारको विकास र परिवर्तनका दृष्टिकोणबाट हेरिनुपर्छ जस्तो लाग्छ । अझ नेपाली रङ्गमञ्चले नेपाली चलचित्रको शैलीमा पारेको प्रत्यक्ष प्रभाव उल्लेख्य छ । नयाँ पुस्तामा किताब पढ्ने बानी यसले पारेको अर्को अप्रत्यक्ष प्रभाव हो । कतिपय कला र सिर्जनाहरू लाखौँ मानिसहरूले हेर्दैनन् । केही सिमित मानिसहरूले हेर्छन् तर त्यसको सान्दर्भिकता चानचुने हँुदैन । किनभने ती नाटकहरूले आर्थिक उपार्जनको कुराबाहेक संस्कार, समाज र शैलीका कुरा पनि गर्छन् । खासमा मूल कुरो त्यही हो । रङ्गमञ्चले उठान गरेको शैली र संन्दर्भहरूले ती सिमित मानिसहरूलाई पनि प्रभावित गर्दा तीनको काममा यसको बृहत्तर प्रभाव देखिन्छ । आम मानिसमा चलचित्रहरूजस्तै एकैपटक नपुग्ने चित्रकला, नाटक वा साना खाने कन्सर्टहरूले सीमित समाजलाई प्रशिक्षित गर्ने हो । एउटा सिमित समुदायमा आएको परिमार्जन र सभ्यताले उनको कामलाई बृहत्तर रुपमा अब्बल बनाउँछ । नत्र भने करौडौँ जनसंख्या भएको यो देशमा १ प्रतिशत जनताले पनि नहेर्ने चलचित्र बनाउन छोडौँ भन्ने मूर्ख तर्कहरू आउन सक्छन् । वा ४० लाख जनसंख्या भएको यो राजधानीमा १, २ सय मानिसहरूलाई भेला पारेर गरिने कविता गोष्ठी वा चित्रकला प्रदर्शनीहरूको सान्दर्भिकतामा प्रश्न चिन्ह उठ्न सक्छ । त्यसैले यी ५ वटा नाटकघरमा भएका गतिविधिहरूलाई त्यहाँ लाग्ने भीड वा तिनका टिकट काउन्टरमा जम्मा हुने पैसाले मापन गर्न सक्दैन । यद्यपि नेपाल दक्षिण एसियामै एउटा नमुना देश हो, जहाँ राज्यले एक रुपियाँ पनि सहयोग नगर्दा पनि दर्शकहरूले काटेको टिकटको पैसाले बाँच्ने दुस्साहस गर्दै छ काठमाडौको रङ्गमञ्च । हरेक दिन नाटकघरको बक्स अफिसमा केही हजार रुपैयाँ संकलन हुन थालेको छ र यसैबाट कलाकारहरूले जिविकोपार्जन गर्छन् ।
दर्शक संख्या र पैसाको गन्तिलाई पर्तिर राखेर म यी ५ वटा नाटकघरमा मञ्चित नाटकहरूको कुरो गरौँ । यतिखेर शिल्पीको गोठाले नाटकघरमा हेनरिक इब्सनले लेखेको र प्रवीण खतिवडाले निर्देशन गरेको नाटक “हेड्डा ग्याब्लर”, मण्डलामा सजन थापा मगरको परिकल्पना तथा निर्देशनमा आशुरचनामा आधारित “जम्पिङ फ्रग”, सर्बनाममा प्रविण पुमाको लेखन तथा निर्देशनमा “सुम्निमा पारुहाङ”, भिलेज थिएटरमा डेवोरा मेरोलाको निर्देशनमा टेरिल एल्भिसको नाटक “इन दि रेड एन्ड ब्राउन वाटर” र थिएटर मलमा सायद अशोकको लेखन तथा प्रज्ज्वल पराजुलीको निर्देशनमा “कस्टडी” मञ्चन भैरहेको छ । यी नियमित मञ्चनसँगै थिएटर मलमै शिल्पीको कमेडी स्टोरी टेलिड “एल्लो कमेडी”, रसियन कल्चरल सेन्टरमा शैली थिएटरले एन्टन चेखवको नाटकको नेपाली अनुवाद “वायुपंखी मन” तथा गोठाले थिएटरमा आरम्भ नाट्य समूहको “क्लाउन सो” मञ्चन भए । यति धेरै नाटकहरूको मञ्चनसँगै नाट्यशिल्प र शैलीको विविधता यिनको प्रमुख विशेषता हो । पारसी नाटकहरूको प्रभाव, यथार्थवादी स्तानिस्लावास्किय शैली, ठूला खाले रङ्गमञ्च सज्जाबाट राजधानीको नाटक विल्कुल फरक बाटोमा हिँडिरहेको छ अहिले । क्लाउन, मास्क र फिजिकालिटीको प्रयोग भएर नाटकहरूका फरकफरक दक्षता र शैली भित्रिएको छ । यसले नेपाली नाटकलाई मात्रै हैन नेपाली कला र साहित्यलाई पनि प्रभाव पार्छ । यी विविध शैलीहरू नेपाली रङ्गमञ्चभित्रै यसरी एकैपटक आएको इतिहासमै पहिलोपटक हो कि भन्ने लाग्छ मलाई । एकखाले शैलीमा काम गरिरहेका रङ्गकर्मीहरूको लागि पनि अर्को खाले शैलीका नाटकहरू हेर्दा निक्कै सम्पन्न बनाउँछ ।
नाटकहरूको मञ्चनसँगै केही नयाँ नाटकहरू पनि लेखिए । अभि सुवेदी हाम्रो समयमा सबैभन्दा सक्रिय नाटककार हुन् । त्यसपछि खगेन्द्र लामिछाने, कुमार नगरकोटी, फुलमान बल, सायद अशोक, प्रविण पुमा आदिले काठमाडौको रङ्गमञ्चलाई नयाँ नाटक दिए । कथा, कविता, निबन्धहरू मञ्चन भए । केही विदेशी नाटकहरू नेपाली अनुवाद भएर मञ्चन भए । केही नाटकहरू अंग्रेजी भाषामै मञ्चन भए । यसरी हेर्दा कुन नाटक कसरी मञ्चन भए भन्ने कुरामा वा शैलीगत पूर्वाग्रह कसैले राख्नु आवश्यक छैन । कसैले पूर्वाग्रह राखेरै आलोचना गरेछन् भने पनि रङ्गकर्मीहरूले त्यति खल्वल्लिनु पर्छ जस्तो मलाई लाग्दैन । नियमित साधना हाम्रो धर्म हो । नेपाली रङ्गमञ्च शिल्प र शैलीको यो फराकिलो चौरमा आएको छ । यसले अझै विधाभञ्जन गर्नु पर्छ । खुसीको कुरा भन्नु पर्छ, नेपाली फिल्म, किताब आदिमा पोर्नोग्राफिको शक्तिशाली आक्रमण हुँदा पनि यस्ता कुराहरूबाट यी ५ वटा नाटकघरहरू बचेका छन् । र, समाजप्रति पूर्ण उत्तरदायी भएर काम गरिरहेका छन् ।
तर, अनेकाँै अभाव र अनिश्चिततामा रङ्गकर्मी आफैले मिलेर निर्माण गरेका नाटकघरहरूले सधैँभरि यसरी नै नाटक मञ्चन गर्लान् वा यी नाटकघरहरू सधैँ यसरी नै चलिरहलान् भन्ने छैन । किनभने त्यसका लागि आर्थिक स्रोतको बलियो आधार चाहिन्छ । त्यसैले ती नाटकघरहरूले नियमित नाटक उत्पादन गर्न नसके पनि त्यहाँभित्र हुने प्रत्येक साहित्यिक सांगीतिक कार्यक्रमहरू पनि हाम्रा उपलब्धि हुन् । कुनै दिन जग्गाको लिज मिति सक्किएर वा अन्य कारणले कुनै नाटकघर बन्द हुन पुगेछ भने पनि आजका मितिसम्म यी नाट्य समूहहरूले निर्माण गरेको मञ्चनको इतिहास ज्यादै साहसिक छ । अब नेपाली रङ्गमञ्च मरुभूमिको तातो बालुवामा आफ्नै चुच्चोमा उभ्भिएको फिनिक्स चराजस्तो भयो । मर्दै जिउँदै । एउटाले विश्राम लिए अर्को आउँछ ।
यिनै अनिश्चिताहरूको बीचमा रङ्गमञ्चले निर्माण गरेको ठाउँ र संस्कृति राजधानीका मानिसहरूको भेटघाट र उत्सवको सुन्दर उदाहरण हो । तडकभडक र अनेकौँ तामझामबाट निक्कै फरक सामान्य किसिमले बनेका यी नाटकघरहरूको लोकप्रियताले भन्छ, सर्जकहरू र आममानिसहरू यी नाटकघरहरूको लतमा परिसकेका छन् । यिनको असामयिक निधन भयो भने धेरै स्वतन्त्र मानिसहरूको मन भत्किनेछ । उनीहरूले स्वतन्त्ररुपमा स्वास फेर्ने ठाउँ गुमाउनेछन् ।