Tuesday, August 18, 2015

आण्डरसनलाई टोपी, जोशीलाई ओभरकोट

सत्यमोहन जोशीलाई दाह्री पाल्दा कस्तो देखिएला ? अझ पुर्णप्रकाश नेपाल यात्री र खेमराज केशवशरणको जस्तो । अनुमान गर्नुस् त ।
क्याविन नंंं. २०८ । बयोधा अस्पताल बल्खु । गत मंसिर र पुसमा जम्मा ३७ दिन सत्यमोहन सर फिजिसियन श्यामबहादुर पाण्डे र उनका सहयोगीको निगरानीमा रहनुभयो । निमोनिया भएर फोक्सोमा पानी जमेपछि उहाँले जिन्दगीमा पहिलो पटक ९५ वर्षको उमेरमा एन्टिवायोटिक औषधि खानु भयो । म उहाँलाई पहिलो पटक भेट्न जाँदा अलिअलि झुसेदाह्री थिए । दोस्रो पटक जाँदा निक्कै बढिसकेका थिए ।

अस्पतालबाट उहाँ घर फर्किएपछि मिडियाको ओइरो लाग्यो । एकदिन त दाह्रीवाल जोशीलाई उहाँकी जेठी छोरी काबेरीले टिभिमा अन्तर्वार्ता दिइरहेको देख्नुभएछ । हतारमा फोन गरेर काबेरीले भन्नु भएछ–‘बुबा किन दाह्री पालेको ? बुढो देखियो ।’ जोशीले भन्नु भएछ– ‘तिमीहरु नै बुढो भैसक्यौ । म बुढो नदेखिए को देखिन्छ त ?’ निक्कै कर गरेपछि उहाँले दाह्री त काट्नु भयो तर जुँगा राखेर । केही महिनाअघि नई प्रकाशनले उहाँलाई शताब्दि पुरुष घोषणा गरेको थियो । उहाँले ठट्टा गर्दै मलाई भन्नु भयो–‘सय वर्ष पुग्नलागेको मान्छे अब त अलिक गम्भिर देखिनु पर्यो । मलाई लाग्यो यो उपाधि जोगाउने एउटै उपाय दाह्री हो । ईतिहासलाई हेर्नुस् त सबै विद्धान् मानिएका मानिसहरुको लामोलामो दाह्री छ तर मलाई छोराछोरीले दिएनन् ।’

आजका मितिसम्म मैले मेरा नातेदार बाहेक सबैभन्दा बढि गएको घर सत्यमोहन सरकै रहेछ । कुनै पनि बेला । साँझ विहान दिउँसो । प्राय फोन नगरी जान्छु म त्यहाँ । एक्लै, दोक्लै वा ठुलो समुहमा । एउटा पछिल्लो जमघट रमाइलो छ । बेलायतमा बस्ने उहाँका कान्छा छोरा डा. पुर्णराज जोशीले त्यहाँको चर्चित दैनिक पत्रिका ‘दि गार्डियन’बाट पाएको उपहार सेक्सपिरका नाटकहरु ‘ह्यामलेट’ र ‘किंग लियर’को डिभिडि पठाउनु भएको रहेछ । उहाँलाई त्यो नाटक हेर्ने मन भयो । शिल्पी थिएटरबाट फिल्म प्रोजेक्टर लिएर सबै कलाकार टोली पुग्यौँ । हामी पुग्दा त उहाँले आफ्नो बैठक कोठालाई मिलाएर मिनी थिएटर जस्तो बनाउनु भएको रहेछ । कोठाको भित्तामा प्रोजेक्टर हानियो र उहाँसँगै बसेर म्याकबेथ हेरियो ‘रेड लेवल’को साथमा । यो उमेरमा पनि चुस्स लिएर भेटघाटलाई रमाइलो पार्ने उहाँको बानी अझै छ । एक प्याक मात्रै । सधैँभरी अपडेट भैरहन खोज्ने उहाँले नगरकोटी, अमर न्यौपाने र बुद्धिसागरसम्म पढ्न भ्याउनु भएको छ । शिल्पी थिएटरमै उहाँले भर्खरै नाटक लाटो पहाड हेर्न भ्याउनु भयो । घर फर्किन लाग्दा साँझ अबेर भैसकेको थियो । ट्याक्सीको हड्तालको कारणले स्कुटरमा उहाँलाई राखेर घरसम्म पुर्याउँदा उहाँलाई दुःख दिएकोमा मलाई लाज र पीडाबोध एकैपटक भैरहेको थियो । तर उहाँ तन्नेरी युवा जस्तै सजिलै स्कुटरमा बस्नुभयो । बाटोमा मुसलधारे पानी पर्यो । स्कुटरमै छाता ओढ्नु भयो । हावाले बाङ्गिएको छाता सहित हामी उहाँको घर पुग्यौँ । सहजताको पनि हद हुन्छ नि । मलाई लाग्छ, उहाँका निम्ति वर्ष गन्नु भ्रम मात्रै हो । स्वभाव र विचारले उहाँ निक्कै तन्नेरी र आधुनिक हुनुहुन्छ ।

पाटन कृष्णमन्दिरकै छेऊमा रहेको बखुम्बहाल गल्लीभित्रको नब्बेसालको भुइँचालोले नभत्काएको घर यसपटक चर्किएछ । त्यही घरमा उहाँ आफ्नी ९१ वर्षीय श्रीमती राधादेवि जोशीको साथमा हुनुहुन्छ । उहाँका मातापिता राजकुमारी र शंकरराज जोशीको अर्धकदको मुर्ति आगनमा ससम्मान छन् । एकदिन उसरी नै उहाँलाई भेट्न जाँदा काबेरी दिदी एकातिर र ९१ वर्षीय आमा अर्कोतिर पिंढीमा बसिरहनु भएको थियो । म र लुना पनि छेऊमा बस्यौँ । आमाले काबेरी दिदीलाई केही भन्नु भयो । मैले बुझिन । लाग्यो उहाँले नेपालभाषामा बोल्नु भयो । काबेरी दिदीले हामीलाई सुटुक्क सुनाउनु भयो–‘तपाईँहरुले नेपालभाषा बुझ्नुहोला भनेर उहाँले चाइनिज भाषामा तपाईँहरुको लागि चिया खाजा ल्याउनु भन्नु भएको ।’ उहाँ अचेल पनि चाइनिज च्यानल हेर्नु हुन्छ । यो आदिटोलको नेवार परिवारमा चाइनिज भाषाको प्रवेश रोचक छैन त ? सन् १९६० र ७०को दशकमा २ पटक गरेर ६ वर्ष चिनको पेकिङमा पेकिङ रेडियोको नेपाली कार्यक्रमको लागि भाषा सिकाउन सत्यमोहन जोशी सपरिवार हुनुहुन्थ्यो । त्यहीबेला उहाँले अरनिको माथि गर्नु भएको अनुसन्धानमाथिको कृति ‘अरनिको’ले उहाँलाई दोस्रो पटक मदन पुरस्कार दिलायो । पहिलो पटक मदन परस्कार दिलाउने कृति थियो ‘हाम्रो लोकसंस्कृति’ (२०१४)को ५ भाग । जसले नेपालीभाषाको व्युत्पत्ति थलो सिन्जाखोलादेखि लोक संस्कृतिसम्मको कथा भन्छ । तेस्रो मदन पुरस्कार दिलाउने कृति हो ‘नेपाली राष्ट्र्यि मुद्रा’ ।

(शिल्पी थिएटरमा सत्यमोहन जोशी, प्रचन्ड मल्ल, अभि सुबेदी, सरिता गिरी, चन्द्रप्रसाद पाण्डे, घिमिरे युवराज)

नेपाली लोककथाहरुको अंग्रेजी अनुवाद ‘टेल्स अफ काठमाडौ’मा सत्यमोहन जोशीको ‘बाफचाको कथा’ पढेको हुँ धेरै वर्ष पहिले । त्यो बाफचा आज पनि पाटनको मुसैमुसाले भरिएको ‘गोल्डेन टेम्पल’बाट हरेक साँझ पाटन परिक्रममा गर्न निस्कन्छ ध्यानमा बसेका सिद्धार्थ गौतमको रक्षाको लागि । विशेष परिधानमा निस्कने १२ वर्ष मुनीको यो बालकका अघिपछि केही मानिसहरु हुन्छन् । प्रत्येक महिना बालक फेरिन्छ । उस्को ठाउँ नयाँ बालकले लिन्छ । कथा पढेपछि बालक खोज्दै गएको हुँ म केही पटक ।

हेन्स क्रिश्चियन आण्डरसनकी नग्न ‘लिटिल मर्मेड’ निर्जिव समुद्रको किनारमा छिन् । हजारौँ मानिसहरु उनको अगाडि फोटो खिच्न जान्छन् । सत्यमोहन जोशीको ‘बाफचा’ हरेक दिन विशेष परिधानमा खाली पैताला पाटन परिक्रमा गर्छ । कसैलाई अत्तोपत्तो छैन । तर, साँच्चै भन्छु युरोपेली लोककथाका आदि पुरुष एचसि आन्डरसन र सत्यमोहन जोशीमा निक्कै समानता छ । जोशीको आँगन हो पाटन दरबार स्क्वायर । आमाको पेटमै हुँदादेखि उनले कात्तिकनाच महसुस गरे । कृष्ण जन्माष्टमी, मछिन्द्रनाथको रथयात्रा, इन्द्रजात्रा, गाईजात्रा, अनेकौ किसिमका झ्यालिन्चा–लाखेनाच बाल्यकालदेखिका उहाँका पदचापहरु भए । सत्यमोहन सर अनकौँ लोककथा, परम्परा, जीवनपद्धति र जीवन दर्शनका खानी जस्तो भएर बस्नुभएको छ ।

अचेल पनि प्रत्येक सोमबार दिउँसो ४ बजे सत्यमोहन सरको घरमा बद्धगान हुन्छ । गाउँभरिका निरक्षर महिला आमादिदीबहिनी त्यहाँ आउँछन् । अत्यन्तै सुमधुर स्वरमा निक्कैबेर बुद्धगान गाउँछन् । नीतिकथा र बौद्ध दर्शनमाथि कथा वाचन हुन्छ ।

 न्युजिल्याण्डमा पुग्ने पहिलो नेपाली(सन् १९५२) नामक किताब(प्रकाशित सन् १९९२साझा)मा सत्यमोहन जोशीको फोटो हेर्दा छक्क पर्नु हुनेछ । ओभरकोटमा सजिएका ३३ वर्षे जोशी झण्डै आण्डरसनसँग मिल्दोजुल्दो देखिनुहुन्छ । यदि आन्डरसनलाई नेपाली दौरा सुरुवाल र हातले बुनेको कपडाको खैरो टोपी लगाइदिने हो भने जोशी जस्तै देखिन्थे होला ।

सन २०१०को समरमा आहुसको एचसि आन्डरसन म्युजियम पुगेको थिएँ । आन्डरसनको म्युजियम परिसर अगाडिको तलाउमा मोटर जडित कृतिम ढुंगामा बसेकी सानी बालिका तैरिँदै थिइन् । समरमा हरेकसाँझ आन्डरसनका कथाहरुमा नाटक मञ्चन हुन्छन् त्यहाँ । र, त्यसदिन उनको लिटिल मर्मेड मञ्चन भैरहेको थियो । मेरो सम्झनामा उही सेतो परिधानको बालक बाफचा आयो । विशेष तरिकाले छातीमा क्रस गरिएको लुगा र तल कछाड । मैले हाम्रा सत्यमोहन जोशीलाई सम्झेँ । र, उनकी मञ्चन हुन नसकेकी चारुमतिलाई सम्झेँ । पछि राजन खतिवडाले मण्डलामा सुनकेशरी (२०६९), विमल सुवेदीले थिएटर भिलेजमा चारुमति (२०६९) र मैले शिल्पी थिएटरमा निर्देशन गरेको मजिपालाखे (२०७०) मञ्चन भयो । सुनकेशरी, चारुमति र मजिपालाखेकी बालामैचा हाम्रा आफ्ना लोककथा र संस्कृतिका लिटिल मर्मेड हुन् । खाली यिनलाई विश्वभर पुर्याउनुछ ।
यी ३ वटै र उनको अर्को नाटक ‘मृत्यु एक प्रश्न’ एकैपटक गत बैशाखमा पनि मञ्चन भए । सेक्सपियर, इब्सन, चेखव, बर्नाड स जस्ता नाटककार विश्वभर एकैपटक मञ्चन हुन्छन् । तिनका लागि राज्यले करौडौँ बजेट छुट्याउँछ । रंगमञ्च, चलचित्र, साहित्य, चित्रकला जस्ता कुराहरु देश चिनाउने र साँस्कृतिक विस्तारका विकल्प पनि हुन् । नेपालमा बालकृष्ण समका ऐतिहाँसिक पेन्टिडहरु धमिराले खानु, उनका नाटकका भेषभुषामा ढुसी पर्नु, भानुभक्त वा देवकोटाको घर मक्किएर जानु यो देशको लागि सरमको कुरा हैन । सत्यमोहन जोशी किन चासोको विषय हुन्थे । तर, निजी क्षेत्रबाट एकैपटक उनका ४ वटा नाटक मञ्चन हुनु नेपाली रंगमञ्चको लागि ऐतिहासिक क्षण थियो । राज्यले बजेट छुट्याएर वा उहाँ आफुले बल लगाएर भएको हैन त्यो । उहाँका रचनाले रंगमञ्चमा आफै हस्तक्षेप गरेक हुन् ।

३०को दशकमै उनका प्रसस्त नाटक मञ्चन भएका थिए । प्रचण्ड मल्लको निर्देशनमा एकेडेमीमा फर्केर हेर्दा(२०३३), जब घाम लाग्छ (२०३४), सपना ब्युँझन्छ (२०३५) जस्ता नाटक मञ्चन भए । मल्लकै निर्देशनमा सिपाई र रैती (२०२७) नाटक आर्मी हेडक्वाटरमा मञ्चन भएको थियो । उहाँको फर्केर हेर्दा नाटक एकेडेमीमा धेरै दिन मञ्चन भएर निक्कै व्यापार गरेको नाटक मध्ये मानिन्छ । मनबहादुर मुखियाको नाटक अनि देऊराली रुन्छ दार्जेलिङबाट काठमाडौमा ल्याएर मञ्चन भएपछि यसले निक्कै तहल्का पिट्यो । यो नाटकले निक्कै व्यापार गरेपछि सत्यमोहन जोशीलाई त्यस्तै रेकर्ड बनाउने नाटक लेख्न मन लाग्यो । नभन्दै त्यस्तै भयो । सुनील पोखरेलको निर्देशनमा २०६४ सालमा गुरुकुल र किर्तिपुरको नेपालभाषा एकेडेमीमा मञ्चन गरिएको जोशीको बाघभैरव नाटक पनि महिनौसम्म चल्यो । यो नाटक किर्तिपुरमा एकै दिन ४ पटक मञ्चन भयो । लोककथा र स्थानीय मिथमा आधारित उहाँका प्रायसबै नाटक आम दर्शकले मन पराउने खालका भए । बौद्ध दर्शन र प्रज्ञापारमिताका गहन अध्येता जोशीका सरल लाग्ने नाटक र कृतिमा पनि गहन दर्शन मिसिएरै आउँछ । धेरै नाटकहरु मध्ये उहाँ याज्ञवल्कमाथि लेखिएको नाटक मृत्यु एक प्रश्नको पटकपटक कुरा गर्नु हुन्छ । उहाँलाई लाग्छ यो नाटकमा भएको दर्शनले मान्छेलाई जीवन र मृत्युको अर्थ खोज्न अभिप्रेरित गर्छ ।

रोचक कुरा । तत्कालीन राजा ज्ञानेन्द्रले सासन हातमा लिएपछि एउटा चर्चित दैनिक पत्रिकाले घटनामाथि केही दिन सम्पादकीय लेख्ने हिम्मत गरेन । वि.सं. २०६१ माघ २० गतेको सम्पादकीय थियो पुर्वाभ्यास भैरहेको सत्यमोहन जोशीको गीति नाटक चारुमतिमाथि । पछि तिनै सत्यमोहन जोशी २०६२ चैत्र ३०को राजा विरुद्धको स्रष्टा आन्दोलनको सभापति भएर उभिनु भयो । जोशी सधैँ सत्ताको वरिपरि हुनुहुन्थ्यो भनि ठान्नेहरु चकित खाए । ९५ वर्षको उमेरसम्म आइपुग्दा सत्यमोहन सर योगदान र व्यक्तित्वका हिसाबले जीवित साँस्कृतिक धरोहर हुनु हो । एउटा लामो यात्रामा निस्किएका नदी जस्तो । त्यो नदीलाई कुनै सत्ता वा शक्तिको पर्वाह छैन । दुःख र हैरानीको वास्ता छैन । साँस्कृतिक अभियानका निम्ति जसका अनेक सपनाहरु छन् । ती सपनाहरुलाई मुर्त रुप दिन निरन्तर साधनामा लाग्नु वाहेक बिकल्प छैन ।

२०१५ सालको जननिर्वाचित सरकारले पुरातत्व विभाग खडा गर्यो । २०१६ सालमा जोशी पुरातत्व र सँस्कृति विभागको निर्देशक बनाइनु भयो । त्यसपछि उहाँले जमलमा नाचघरको स्थापना गर्नु भयो । जम्मा १ लाख ३७ हजारमा काठ गोदाम किनेर बनाइएको नाचघर ३० र ४० को दशकमा साँस्कृतिक केन्द्र नै बन्यो । उता २०२६ देखि २०३५सालसम्म तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सह–सदस्यदेखि सदस्य सचिवसम्म हुँदा उहाँले केही महत्वपुर्ण कामहरुको थालिनी गर्नुभयो । उहाँकै नेतृत्वमा वि.सं. २०३३ मा नेराप्रप्रले नयाँ वर्षको अवसर पारेर राष्ट्र्यि नाटक महोत्सव र गाइजात्रा महोत्सव थाल्यो । यस अभियानले धेरै वर्षसम्म देशव्यापी रंगमञ्चीय जागरणमा एकहदसम्मको काम गर्यो । अचेल राष्ट्र्यि नाटक महोत्सवको चमक हरायो । सरकारले त्यस्तो खाले उत्सव गर्दैन । उहाँ भन्नुहुन्छ–‘विदेशीहरुको नयाँ वर्ष मनाउने आफ्नै तरिका छन् । हामीले आफ्नैखाले संस्कार बनाउन सक्यौँ भने संसारमा हाम्रो नयाँ वर्षको पहिचान बन्छ । त्यसैभएर मैले नयाँ वर्ष नाटक महोत्सव गरेर मनाउँ भन्ने सोच बनाएको थिएँ ।’

जोशी भन्नुहुन्छ–‘यतिखेर गजे घलेमाथि नाटक बनाउन पाए निक्कै गज्जब हुन्थ्यो ।’ दोस्रो विश्वयुद्धमा बहादुरीपुर्वक लडेवापत बेलायत सरकारले प्रदान गर्ने सबैभन्दा सम्मानित पदक भिक्टोरिया क्रस पाउने गजे घले गोर्खाको बार्पाक गाउँका हुन् । जुन ठाउँ २०७२को भुकम्पले सबैभन्दा क्षतिग्रस्त भयो । उहाँको विचारमा त्यस्तो सम्मानित मानिस जन्मिएको गाउँलाई बेलायत सरकारले पुर्ननिर्माण गर्नु पर्ने हो । हैन भने मानिसहरुले नाटकमार्फत प्रश्न गर्नसक्नेछन्–‘गजे घलेको बहादुरी र योगदानको अर्थ के हो ? के बार्पाकले अर्को पनि गजे घले जन्माउन सक्छ ?’ लोककथा, नीतिकथा र लोकसंस्कृतिका खानी सत्यमोहन सरको दिमागमा अन्य धेरै अलिखित नाटक, कथा र योजनाका प्लटहरु तहतह भएर बसेका छन् । हरेक पटक त्यहाँ पुग्दा केही नयाँकुरा सुन्न पाउँछु ।


लामो अनुभव र अध्ययनले उहाँलाई अचेल अनावश्यक व्यस्त बनाएको छ । तिज, दशैँ, तिहार होस् वा ईतबकरिद, ल्होसार उहाँका विचार र अनुभवका लागि मिडिया मरिहत्ते गर्छ । भ्यालेन्टाइन डे र क्रिसमसमा पनि मिडियाहरुले उहाँलाई छोड्दैनन् । उही प्रश्न–‘नेपालीहरुले भ्यालेन्टाइन डे मनाउनु ठिक हो ?’ संस्कृतिको विषयमा उहाँको सुन्दर विचार म कहिल्यै विर्सन्न । मानिस परिवर्तनशील छ जनावर जस्तो हैन । गौँथलीले सयौँ वर्षदेखि एकैखाले घर बनाउँछ । तर मानिस नयाँ र फरक खोज्छ । मान्छेले घर बनाउने तरिका हरेक दिन परिवर्तन हुन्छ । यसैगरी हाम्रो रहनसहन, चालचलन, संस्कृतिमा पनि परिवर्तन भैरहेको हुन्छ । त्यसैले जीवनपद्धतिमा मेरो पुरानो संस्कृति भनेर रोएर बस्नुको कुनै अर्थ छैन । तर, पछिल्लो पुस्ताको लागि संरक्षण गरेर भने राख्नु आवश्यक छ ।
उहाँको लागि सासनसत्ता र राज्य व्यवस्था पनि त्यस्तै हो । एकसमयमा राम्रो मानिएको सासनव्यवस्था मानिस आधुनिक हुँदै गएपछि परिवर्तन हुन्छ ।  लामोसमय राणा र शाहबंश भोगेका जोशीलाई लाग्छ राजाहरुले मानिसहरुको भावना र परिवर्तनलाई आत्मसात गर्न सकेनन् । गणतान्त्रीक राज्यव्यवस्था पनि भोगिसकेपछि जोशीको अनुभवले फरक कुरा बोल्यो । उहाँले खोजेको बेनिभोलेन्ट डिक्टेटरसिपको सिद्धान्तले केही समयअघि नेपाली मिडियामा तरंग ल्यायो । किसिमकिसिमका सासन व्यवस्था भोग्नुभएको जोशीलाई जंगबहादुर स्कुलको किताबमा पढाइने खलनायक जस्तो लाग्दैन । उहाँका विचारमा जंगबहादुरलाई एउटा सासन व्यवस्थाले खलनायकको रुपमा चित्रण गरेको हो । यो देशमा त्यस्तै किसिमको उदार–अधिनायकको आवश्यकता देख्नुहुन्छ उहाँ । बौद्धभिक्षु जस्ता जोशीले बेनिभोलेन्ट लिडरको खाँचोदेख्नु र माओवादी नेता प्रचण्डले जंगबहादुर र बुद्ध मिसिएको स्वभाव मन पराउनुमा केही समानता छ कि ?

कति मानिसहरुलाई पटकपटक भेटेपछि उनीहरुका कमजोरीहरु छताछुल्ल भएर आउँछन् । सम्बन्धमा उतारचढाव आउँछ । सत्यमोहन सर कमजोरी नै नभएको मानिस भन्ने मेरो अभिप्राय हैन । तर जति भेटेपनि, जति लामो अन्तरंगमा बसेपनि फेरि भोली उहाँलाई उसरी नै भेट्ने मन भएर आउँछ । ती मानिसहरु जसले उहाँको आलोचना गर्छन् । उहाँ तिनको बारेमा एकशब्द पनि नराम्रो बोल्नुहुन्न । उहाँभन्दा धेरै कम उमेरका मानिसहरुप्रति पनि उहाँको सम्मान र विश्वास प्रगाढ छ । भनौ न उहाँसँग कसैप्रति गुनासो नै छैन । निरन्तरता र समर्पण उहाँको सबैभन्दा ठुलो शक्ति हो भन्ने मलाई लाग्छ । स्वस्थ स्वास्थ्य उहाँको अर्को शक्ति हो । खानपिनमा खासै धेरै बार्नु नपर्ने, मजाले हिँडेरै वा सार्वजनिक यातायतमै एकठाउँबाट अर्को ठाउँमा जानसक्ने सत्यमोहन सर जीवनपद्धति र कर्म दुवै हिसाबले आजको समयमा हाम्रो प्रेरणा स्रोत हुनुहुन्छ ।

पारिजातलाई भेट्न पाएको भए हुन्थ्यो भन्ने थकथक मलाई सधैँ लागिरहन्छ । उहाँ बित्दा म गाउँमै स्कुलमा पढ्थेँ, त्यसैले सम्भवनै भएन । काठमाडौ आएर पनि गोविन्द गोठालेसँग भेट्न जाने र सँगत गर्ने शुद्धि आएन । अहिले उहाँ बितिसकेपछि पछुतो भएको छ । सताब्दी छुन लागेका माधव घिमिरे, सत्यमोहन जोशी जस्ता व्यक्तित्वहरुसँग संगत गर्न पाउनु, उहाँहरुको सामिप्यमा बसेर अनुभव र कथाहरु सुन्न पाउने सुन्दर अवसर सबैलाई कहाँ मिल्ला र ?
(तस्बिरहरु: कुमार आले )

Sunday, August 16, 2015

सुनील पोखरेलः डिस्कभर योर सेल्फ

२०५६ साल ।
महिना, गते, बार याद छैन ।
‘अशेष मल्ललाई चिन्छौ ?’ सुनील पोखरेलले सोध्नु भयो ।
‘चिन्छु ।’ लगभग नर्भस् स्वरमा अशेष दाइको अनुहारमा हेरेर मैले भने ।
‘त्यसोभए अब एउटा अभिनय गरेर देखाउ ।’
झुर हिन्दी फिल्मी अभिनय मैले गरेर देखाइ दिएँ । आमा अस्पतालमा छिन् मृत्युशैयामा । छोरो डाक्टरलाई मेलोड्रमाटिक शैलीमा पुकारा गरिरहेछ– ‘आमालाई जसरी भएपनि बचाइ दिनुस्’ । मैले जे गरेँ त्यो मेरो हैसियत थियो । मैले न राम्रा फिल्म हेर्ने अवसर पाएको थिएँ न त राम्रा नाटक नै । अहिले सम्झेर ल्याउँदा लाज लाग्छ । झन् मेरो चर्तिकला हेर्ने उहाँहरुलाई कति सास्ती भयो होला । करिव ९, १० मिनेटमा अन्तर्वार्ता सक्कियो ।

निक्कैवटा गोजी भएको पाइन्ट र रंगीन हाफ सर्टमा हुनुहुन्थ्यो सुनील पोखरेल । त्यो लुखुरे ज्यान, अहिले भन्दा अझै लुखुरे थियो । छातीका प्रसस्त रौँ प्रस्टै देखिन्थ्यो सर्टका टाँकबिचबाट । परिधानमा उहाँ हामी युवाहरुभन्दा निक्कै आधुनिक देखिनु हुन्थ्यो । त्यो पहिलो भेट मेरो स्मरणमा ताजै छ ।

नाचघरमा अन्य ३ विधामा प्रशिक्षण हुन्थ्यो, गायन वाद्यवादन र नृत्य । तर अभिनय कक्षाका लागि आवेदन दिने धेरै थिए । छनौटमा नपरिएला कि भन्ने डर थियो । परियो ।

‘विरेन्द्र हमाल त राजेश हमालका भाइ हुन् नि ।’ बजारमा यस्तै हल्ला थियो । नाचघर पुगेपछि था‘भो । हैन रहेछ । नाचघरमा सुनील पोखरेलले हप्ताको ३ दिन कक्षा लिनुहुन्थ्यो । विरेन्द्र हमालले २ दिन, प्रभाकर शर्माले १ दिन । छुटपुट हरिहर शर्माले । विरेन्द्र सरले सुनील सरलाई गर्ने आदरले लोभलागदो थियो । ‘सुनील दाइ’ वीरेन्द सरको थेगोमै झुण्डिएको थियो । लाग्थ्यो रंगमञ्चको कुरा गर्दा सुनील सरको नाम बिना त्यो कक्षा पुरा हुनेछैन । सुनील सरको प्रतिभादेखि नतमस्तक विरेन्द्र सर । नो सिंगल कमेन्ट ।

हप्ताको ३ दिन पुरा कक्षा सुनील सरले कहिल्यै लिनु भएन । कक्षामा ढिलो आउने र प्राय गफगाफमै कक्षा सक्ने । संघर्षका कथा र पुराना नाटकका कुरा हुन्थे प्राय जसो । ‘जीवन रेखा’ फिल्मको नायकको लागि
अडिसन दिन गएको केटाकेटी भनेर फर्काइ दिए’ सुनाउनु हुन्थ्यो । काठमाडौका सुरुवाती दिनमा बन्द्र अधिकारी र उहाँहरुले भोग्नु भएको आर्थिक अभावका कथा पनि सुनाउनु हुन्थ्यो । धेरै ठाउँमा आइसकेको त्यो कथा यहाँ छैन । धर्मवीर भारतीले लेखेको र भानु भारतीले निदेर्शन गरेको ‘अन्धोयुग’ (नेपालीमा अनुवाद–राजेन्द्र सलभ)को धेरै चर्चा भयो कक्षामा । २०५५मा एकेडेमीमा मञ्चीत उक्त नाटकको अडियो रेकर्ड रहेछ । क्लासमा केही दिन त्यही सुनेर दंग परियो । उहाँले अश्वत्थामाको भुमिका निर्वाह गर्नु भएको रहेछ । क्लासमा यही नाटकमा अभ्यास भयो । मैले पाएँ सञ्जयको भुमिका । धृतराष्ट्र्लाई कुरुक्षेत्र–युद्धको प्रत्यक्ष वर्णन ।
उच्चारणको व्याकरण अश्वत्थामाबाट सुरु भयो । धेरैका जिब्रो लर्बराए । त्यसपछि उहाँलाई मनपर्ने मध्येको नेपाली नाटक गोविन्द गोठालेको ‘च्यातिएको पर्दा’माथि सबैले लिखित विश्लेषण र्गनु पर्यो । त्यसबेलादेखि अहिलेसम्म मलाई लागेको उहाँ नाट्यपाठको किरो हो । अचेल पनि धेरै विद्यार्थीलाई लाग्दो रहेछ उहाँ ह्रस्व–दीर्घ मिलाएर बोल्न सिकाउनु हुन्छ ।

खासमा उहाँलाई नाचघरे कक्षामा खासै रुचि थिएन । हरिहर शर्माको कुरा काट्न नसकेर मात्रै हो । खासमा उहाँ पुर्णकालीक अभियन स्कुलको सोचमा हुनुहुन्थ्यो । ‘नाटक सिक्न दिनको २ घण्टा पर्याप्त छैन । स्कुलको लागि निस्चित पुर्वाधार आवश्यक छ ।’ उहाँ भन्नुहुन्थ्यो । नाटक स्कुलको सपना हामीलाई सुनाउनु हुन्थ्यो । हाम्रो व्याचका १५ जना विद्यार्थीहरु मध्ये धेरै जसो हिरो–हिरोइन बन्ने वा फिल्म खेल्ने सपनामा त्यहाँ पुगेका थियौँ । बेलाबेला केही फिल्मी कलाकारहरु पनि मिसिन आइपुग्थे विरेन्द्र सरको सम्पर्कबाट । खासमा विरेन्द्र सरको चाख फिल्ममा पनि निक्कै थियो । एकदिन कक्षामा ‘हिरोवाला’ कुरा उठ्यो । सबैले त्यहाँ अभिनय सिक्न आउनुको कारण भन्दै थिए । सञ्जय साहको पालो आयो । ऊ नृत्यमा कुसल थियो । पुतलीसडकमा नृत्य प्रशिक्षण कक्षा पनि चलाइरहेको थियो । ‘फिल्मको हिरो बन्ने सपना हो मेरो । डान्स पनि राम्रै गर्छु ।’ मधेसी लवजमा सबैको अगाडि ड्यांड्गै भनिदियो उसले । सुनील सरले भन्नु भयो–‘तिमी हिरो बनेर खाँदैनौ बाबु । यो कक्षा हिरो बन्न आउनेहरुको लागि हैन ।’ त्यसपछि कसैले क्लासमा हिरोको कुरा गरेन । संजय भोलीदेखि नै क्लासमा आएन । त्यसपछि आजसम्म उसलाई मैले भेटेको छैन । जीम गएर शरीर राम्रै बनाएको उछलकुदमा पनि दख्खल भएको अर्को साथी दिलिप न्यौपाने कोर्स सक्किएको केही वर्षपछि मुम्बै पुगेछ हिरो बन्ने सपनामा । अचेल उतै प्ल्याटको व्यापारमा लागेको रहेछ । कहिलेकाहीँ अनलाइन कुरा हुन्छ । उतिखेरै मोडलिडमा व्यस्त रोजिन शाक्य अचेल फेसन सो कोरियोग्राफर र मिडियाकर्मी छ । सितामाया कलकत्तामा म्युजिक पढेर आइ । अचेल ठमेलमा रेष्टुरेन्ट व्यापारमा छ । नारायण ढुड्गाना नाम फेरेर सुर्यकिरण भएछ । जनहितका लागि पेरिसडाँडाको सञ्चार हाकिम छ’रे ! रामशरण दुलाल हेटौडामा लोकल टिभि चलाएर बस्छ । समिर भण्डारी युएईतिर पैसो कमाउँदैछ । कमलमणि, सुरेश, भोला नाटक सहित चलचत्रिमा पनि चर्चित नै छन् । म भने अझै त्यसै हल्लिँदैछु । संयोगले नाचघरे हामी चारै जना गुरुकुल पुग्यौँ ।
मैले सुनील सरलाई भेट्दा उहाँको आरोहणले नियमित नाटक गरिरहेको थिएन । उहाँ केही बृत्तचित्र वा स्कुलका केही नाटकमा फाट्टफुट्ट काम गर्नु हुन्थ्यो पैसाका लागि । गोथे ईन्टिच्युट र फ्रान्सेली केन्द्रमा उहाँहरुले हरेक महिना नाटक गर्दा म गाउँमै गोठालो थिएँ ।
सन्ताउन्न सालमा एकेडेमीसँग मिलेर आरोहण शनिवार नियमित गर्ने कुरा भयो । प्रभाकर शर्माले खेलाएको भुजियाको विज्ञापन टिभीमा कहिल्यै बजेन । हिरो बन्ने भुत त उत्रिसकेको थियो । अब नाटक खेल्न पाउने आशमा त्यता लागियो । वर्षमा ६ वटा नाटक गर्ने योजना भयो । अशेष मल्लले लेख्नुभएको र सुनील सरले निर्देशन गर्नुभएको ‘कुमारी’को अभ्यास सुरु भयो तेस्रोतल्लाको हलमा । छेऊमै थियो तत्कालीन् समकालीन साहित्यका सम्पादक अविनाश दाइको कोठा । त्यसैमा १, २ वटा सम्बाद र कुमारीघरको पहरेदारको भुमिकामा नाचघरे विद्यार्थी कलमलमणि, समीर र मैले खेल्यौँ । मधुपर्कको आँकुरा पृष्ठमा मेरो कविता छापिदिने दाइ श्रीओम श्रेष्ठलाई रिर्हसलमा देखेर अचम्भित भएँ । ‘कुमारी’सँग विहे गर्ने साहसी श्रीमान्को भुमिकामा हुनुहुँदो रहेछ उहाँ । सिमाना फिल्मका निर्देशक प्रकाश सायमीलाई भेटेको त्यहीँ हो पहिलो पटक । उहाँले आफ्नो कविता संग्रह ‘ई सलाईका काँटीहरु’ सुनील सरलाई उपहार दिनु भएको थियो । अरु धेरै मानिसहरु रिहर्सल भैरहेको ठाउँमा आउँथे ।
त्यो खिरिलो ज्यान भएको झुस्स दारी पालिरहने सुनील पोखरेल । दारी जुँगा काट्दा हामीभन्दा कान्छो देखिन्छ । उतिखेरै उहाँको नाम काफी थियो । दिल्लीको नेसनल स्कुल अफ ड्रमाबाट (सन् १९८४ देखि १९८७सम्म) स्नातक गरेर फर्किएपछि उहाँले प्रसस्त काम गरिसक्नभएको रहेछ । मैले आफ्नो क्यारियरका लागि भेट्न चाहेको वा अचानक भेटिएको प्राय सर्जक सुनील पोखरेलसँग काम गरिसकेको अनुभव सुनाउँथे । पत्रकार पुष्कर माथेमालाई सुनील पोखरेलले डा.कनक नखेलाएको भए माथेमा पनि पहिला नाटक खेल्थे भन्ने मलाई सायदै था’हुन्नथ्यो होला । उहाँले जेठो छोरो जस्ता केही राम्रा टेलिफिल्महरुमा पनि काम गरिसक्नु भएकोले रंगमञ्च, टिभी वा पत्रकारिताका धेरै मानिससँग उहाँको संगत भइसकेको रहेछ । देशान्तरमा उहाँको चर्चित स्तम्भको कुरा सुनेको हो । तर ०५६, ५७ मा उहाँले हिमालय टाइम्समा हरेकसाता लेख्ने स्तम्भबाट पनि म निक्कै प्रभावित थिएँ । पत्रकार राजन घिमिरे नाटक रिहर्सल भएकै ठाउँमा लेख लिन आइपुग्थे । उहाँ आधाघण्टामा आफ्नो लेख पुरा गरेर दिनु हुन्थ्यो । पछि दृष्टि साप्ताहिकमा पनि उहाँले केही समय स्तम्भ लेख्नुभयो । सरोजराज अधिकारी उहाँलाई हरेक सोमबार ताकेता गरेर लेखाउँथे । छोटा वाक्यका साथमा छोटै स्तम्भ, सरल भाषा निक्कै पठनीय र चोटिला हुन्थे । उहाँको लेखनको फ्यान नै भएँ म । छोटा वाक्य र सरल भाषाको कुरा गर्दा उहाँ किशोर नेपाललाई सम्झिनु हुन्छ ।

सुनील पोखरेल र रमेश बुढाथोकी विराटनगरमा स्कुलको आखिरी वर्षमा एउटै कक्षामा हुनुहुँदो रहेछ । उहाँको बद्री अधिकारीसँगको भेट, ऐकेडेमीमा हरिहर शर्मासँगको सामिप्य, एनएसडी दिल्लीमा छात्रवृत्ति पाउनु, दिल्लीमा अध्ययन सकेपछि शैलेश आचार्यको चिठीका कारणले नेपाल फर्किने निर्णय गर्नु, निशा शर्मासँगको विवाह, फ्रान्सेली केन्द्र र कल्पना घिमिरेसँगको नाट्ययात्रा, नेपाल टेलिभिजनमा उहाँद्धारा निर्देशित तथा अभिनित टेलिफिल्म प्रसारण र निर शाहसँगको द्धन्द्ध सुनील पोखरेलका जीवनका मैले चाल पाएका रोचक र महत्वपुर्ण मोडहरु हुन् । मेरो ‘रुपान्तरणका लागि रंगमञ्च’ नामको कितावमा उहाँको लामो अन्तरवार्तासँगै ती ईतिहासहरु समेटिएकाछन् । म यहाँ मेरै समयको कुरा गर्छु ।
२०५७ सालको आरोहण शनिवार अन्तर्गत एकवर्षमा मन्चित ५ वटा नाटकले त्यतिखेरको काठमाडौको सुन्यप्राय रंगमञ्चलाई चलायमान बनायो । कुमारी नाटकले सांस्कृतिक अन्धविश्वास र कुमारी परम्परामाथि एक खाले बहस गरायो । तर मिडियाको त्यो बहस बाहिर आउन भने सकेन । सुनील सरले छान्ने नाटकहरु प्राय राजनीतिक र सामाजिक रुपमा समसामयिक भएर मञ्चीत भए । उहाँले नाट्य पाठको शक्तिलाई निक्कै महत्व दिनु भयो । उहाँले छानेका विदेशी वा नेपाली नाटकहरु आफैमा शक्तिशाली थिए । कल्पना घिमिरेको अनुवादमा उहाँले धेरै नाटक निर्देशन गर्नुभयो । नाटककार जुलेस रोमाइन्सको फ्रेन्च नाटकको नेपाली अनुवाद ‘डाक्टर कनक’ले चिकित्सकहरुको प्रबृत्तिमाथि गरेको व्यंग्य निक्कै सान्दर्भिक भयो काठमाडौमा । कल्पना दिदीलाई अनुवादका लागि सहयोगी चाहिएको रहेछ । उहाँ फ्रेन्चबाट सिधै नेपालीमा अनुवाद भन्ने, म नेपालीमा सार्ने । म हरेक दिन २ घण्टा फ्रान्सेली केन्द्र थापाथली जान थालेँ । यसरी भयो उक्त नाटकको अनुवाद ।
त्यसपछि विजय तेन्दुलकरको नाटक ‘जात सोध्नु जोगीको’(अनुप बरालको निर्देशन), सोफोक्लिज्को ‘राजा इडिपस’ जस्ता नाटकहरु मञ्चन भए । रसियन कल्चरल सेन्टरमा सुनील सरकै निर्देशनमा मञ्चन भएको अभि सुवेदीको नाटक आरुका फूलका सपनाले पनि निक्कै प्रसंसा पायो । त्यतिखेर शिव दाइ(रिजाल)को निर्देशनमा त्यही नाटक अंग्रेजी भाषामा संज्ञा थिएटरले मञ्चन गरेको थियो ‘ड्र्म्स् िअफ पिच ब्लोसम्स्’ ।
२०५८, ०५९मा नाटक स्कुलको लागि ठाउँ खोज्न सुनील सर निक्कै कुद्नु भयो । उहाँकै पछि लागेर हामी धेरै युवाहरु कुद्यौँ । सपना उहाँको थियो । उहाँ आफ्नो सपनामा स्पष्ट हुनुहुन्थ्यो । हामी नाटक खेल्न पाउने आशमा पछि कुद्यौँ । अन्तत पुरानो वानेश्वरको डाँडो फेला पर्यो नाटकको लागि । सुरुमा ‘क्रिएटिभ हाइट’ नाम राखिएको यो ठाउँ पछि गुरुकुल नामले प्रसिद्ध भयो । नविन सुब्बाको फिल्म स्टुडियो, आभाषको संगीत र किरण मानन्धरको चित्रकला सहितको रंगमञ्चीय थलोको रुपमा सपना देखिएको यो ठाउँ खासमा त्यस्तो हुन सकेन ।
म सम्झन्छु, धेरै मानिसहरु सुनील पोखरेलको यो सपनालाई आश्चर्य मानेर हेर्दै थिए । यस्तो काम सफल हुँदैन भन्ने थिए केही । केही मानिसहरु चाहिँ सफल नहोस् भन्ने सोच्थे । गुरुकुलको स्थापनामा तात्कालीन मेयर केशव स्थापितको सहयोग थियो । अरु धेरै मानिसको सहयोग थियो होला आर्थिक र नैतिक रुपमा । धेरै भित्री कुरा बुझ्दिन । तर अहिले फर्केर हेर्दा सम्झन्छु त्यो निक्कै गाह्रो र साहसिक काम थियो । आर्थिक भन्दा नैतिक समर्थन जुटाउन गाह्रो थियो । आज म त्यस्तै ठाउँ स्थापना गर्ने र चलाउने जिम्मेवारी बोकेर यात्रारत छु । अहिले अझै बढि उहाँको चुनौतीलाई महसुस गर्छु ।
निर्शा शर्मा र बसन्त भट्टबाहेक हामी सबै युवा कलिला साथीहरु थियौँ त्यहाँ । राजकुमार पुडासैनी, सौगात मल्ल, सरिता गिरि, राजन खतिवडा, अरुणा कार्की, सुवास थापा थिए । पछि थपिए प्रवीण खतिवडा, पशुपती राई, सरस्वती चौधरी, समुना केसी, रामहरी ढकाल, प्रमिला कटुवाल, महेश शाक्यआदि । यो समुहले मञ्चदेखि कचहरी र अनेकौ नाट्य अभ्यासहरुमा कडा मेहनत गर्यो । त्यतिखेर केही समयलाई फिल्म वा टिभिमा जान नपाइने नियम थियो त्यहाँ । एउटा बलियो प्यासनले काम गरेको थियो ।
किन सुनील पोखरेलले आफ्नै पुस्ताका साथीहरुलाई लिएर त्यो ठाउँ चलाउनु भएन ? एउटै छातामुनी आउन लागेका ती अन्य प्रतिभा किन पछि आएनन् ? अझै सोच्ने गर्छु, उहाँकै पुस्ता मिलेर गुरुकुल बनेको भए त्यसले त्यत्रो उचाइ बनाउन सक्थ्यो कि सक्दैन थियो होला । पछि गुरुकुलसँग जोडिन चाहने धेरै मानिसहरु मैले बारम्बार नाटक हेर्ने निम्तो गर्दा पनि करिव २ वर्ष उनीहरु त्यहाँ गएनन् । केही मानिसहरुले त्यहाँ टेक्दैनटेक्ने कसम पनि खाए । तर, सधैँ त्यस्तो भएन । सुनील सर भन्नुहुन्थ्यो–‘हामीले कम्तिमा ३ वर्ष कुर्नु पर्छ र नियमित नाटक गरिरहनुपर्छ ।’ गुरुकुलको पहिलो नाटक अभि सुवेदीले लेख्नुभएको ‘अग्निको कथा’ थियो । जसमा १५ जना कलाकार थियौँ । हामीले उक्त नाटक ३ जना दर्शकलाई पनि देखायौँ । तीन वर्ष कुर्नु परेन । अचम्म मानेर परबाट हेर्दै गरेका वा नाटकभन्ने केही थाहा नपाएका मानिसहरु ह्वारह्वार्ति आउन थाले गुरुकुलमा । बाघभैरव, कर्णाली दक्षिण बन्दछ जस्ता आम मानिसले मन पराउने नाटक मञ्चन भए ।
   
काठमाडौमा टिकट काटेर नाटक हेर्ने कुरा मेरो पुस्तालाई कथा जस्तो भइसकेको थियो । नाचघर, एकेडेमी वा सभागृहमा ३० र ४०को दशकमा नाटकमा लाग्ने दर्शकको भीड प्राय लोककथा जस्तो थियो हाम्रो लागि । ईतिहास पढेर मख्ख हुन्थ्यौँ ।
गुरुकुलमा काम गर्दैगर्दाका धेरै मध्ये दुईवटा अनुवभ यहाँ उल्लेख गर्छु । हाल कान्तिपुर साप्ताहिकका सहायक सम्पादक (उतिखेर सर्वोत्तम मासिकका सह सम्पादक) सञ्जिवन महर्जन जहिल्यै भेट्दा मलाई मायाले गाली गर्नुहुन्थ्यो–‘यो नाटकसाटक छोडिदे केटा र राम्रो जागिर खा । यत्रो विधि विदेशी च्यानल र फिल्महरुको अगाडि तिमेर्को नाटक हेर्न को आउँछ ?’ तर राम्रो नाटक हुँदा थामिनसक्नु दर्शक आए । अग्निको कथा, पुतलीको घर, बाघभैरव, जातसोध्नु जोगीको जस्ता नाटक मज्जाले चले । तर, सञ्जिवन दाइ भने अझै नाटक हेर्न आउनु भएको छैन ।
सुरुसुरुमा धेरै मानिसहरुलाई फोन गनेरै नाटक हेर्न बोलाइन्थ्यो । पछि इमेल र एसएमएस पनि थपियो । एउटा नाटक हेर्न विमल निभा दाइलाई बोलाएको थिएँ । ढोकामा बस्ने साथीहरुले चिनेनछन् । उहाँले टिकट काट्नु परेछ । पछि न्युरोडतिर कतै भेट हुँदा दाइले ठट्टा गर्दै भन्नु भयो– ‘कुनै दिन तपाईँहरुलाई घरमा खाना खान निम्तो गर्छु र हिँड्ने बेलामा खानाको बिल थमाउँछु ।’ त्यतिखेर टिकट दर ५० र २५(विद्यार्थीलाई) रुपैया थियो ।
गुरुकुल स्थापना र यसको निरन्तरतासँगै सुनील सरलाई दुईवटा बलिया चुनौति आए जस्तो लाग्छ मलाई । पहिलोः केही असहयोगी, भाउ खोज्ने रंगकर्मीहरु र निहु खोजुवाहरु । दोस्रोः आन्तरिक द्धन्द्ध । तर, यी दुवैलाई सन्तुलनमा लिएर उहाँले गुरुकुल मार्फत ९ वर्षे क्रान्ति गर्नु भयो । यहाँसम्म आइपुग्नलाई उहाँका केही बलिया नैतिक समर्थकहरु थिए । अभि सुवेदीका नाटकहरु मञ्चन हुनु र प्राज्ञिक वर्गलाई यतातिर ध्यान आकर्षित गर्नु एउटा महत्वपुर्ण पाटो हो जस्तो लाग्छ ।
     
सुरुवातीकालमा काठमडौका दर्शकहरुले नै वास्ता नगर्ने गुरुकुलले अन्तर्राष्टिय प्रसिद्धि पायो । अन्र्तराष्ट्र्यि रंगमञ्चमा अग्निको कथाको सफलता नेपाली रंगमञ्चको एउटा मोड हो भन्ने मलाई लाग्छ । पश्चिम बंगालको बहरामपुरमा प्रिमियर गरिएको यो नाटकले एनएसडी दिल्लीको अन्तर्राष्ट्र्यि नाट्य महोत्सवमा ठुलो प्रसंसा बटुल्यो । यसको प्रस्तुतिलाई स्थानीय पत्रपत्रिकाहरुले निक्कै प्रसंसा गरेर लेखे । अनुप बरालको स्टेज डिजाइले निक्कै तारिफ पायो । इण्डिया टुडेले महोत्सवका दश उल्लेख्य नाटकहरुमा अग्निको कथालाई राख्यो । यहि नाटक डेनमार्क र मस्कोमा समेत मञ्चन भयो । बौद्ध गुम्बाको आधारशिलामा रचिएको यो नाटकले कतै विश्व रंगमञ्चमा सुनील पोखरेललाई उहाँको आफ्नो खाले पहिचान बनाउन मद्धत गर्यो जस्तो लाग्छ । नेपाली रंगकर्मीहरुको लागि एउटा अत्यन्तै खुशीको कुरा एनएसडीका पछिल्ला महोत्सव वा बंगलादेशको ढाकामा भएको नाटक महोत्सवमा समेत ‘सुनील पोखरेलको नाटक हेर्न आएको’ भन्ने दर्शकहरु भेटेर म दंग परेँ । हामी मणिपुरका रतन थियामको नाटक हेर्न मरिमेट्छौँ । हविव तनविर, नसिरिद्धिन शाह, काबलम नारायण पण्डिकर वा बंगलादेशका कमलुद्धिन निलु वा रोर्वट लोपेज, पिटर जादेक जस्ता रंगकर्मी÷निर्देशकको नाटक हेर्न उत्सुक हुन्छौँ । साउथ एसियाली देशहरुमा सुनील पोखरेललाई हेर्न आउने दर्शकहरु रहेछन् ।

सुनील सरको नाटक निर्देशन गरे आफ्नै शैली छ । नाटकको पाठलाई मञ्चन योग्य बनाउने खुवी छ उहाँमा । पाठलाई माया नगरी काट्ने । निर्देशन गर्दा कलाकारलाई कहिल्यै आफै अभिनय गरेर नदेखाउने । कलाकारको आफ्नो पारालाई नै मञ्चमा ल्याउन खोज्ने । तर सम्बाद बोल्ने शैलीमा चाहिँ निक्कै नियन्त्रण गर्ने । उहाँ नाटकको पाठ छान्ने कुरामा पनि सम्झौता गर्नु हुन्न भन्ने मलाई लाग्छ । उहाँ क्षमतावान् कलाकार चिन्न सक्ने निर्देशक हो । कमसललाई बनाउनतिर लाग्नुभन्दा एउटा चलाख निर्देशकले खोज्ने सजिलो बाटो त्यही हो क्षमतावान् खोजेर ल्याउने । ठीक पाठ, ठीक कलाकार, ठीक कोरियोग्राफर, ठीक मञ्च परिकल्पनाकार कसरी खोज्ने ? एउटा निर्देशकको लागि यो जटिल प्रकृया हो ।

अनगिन्ति कार्यशालाहरु भए गुरुकुलमा । विदेशी निर्देशकहरु आएर नाटक निर्देशन गरे । ३ देशीय नाटक महोत्सवबाट सुरु भएर १७ देशसम्मको महोत्सव आयोजना गर्यो गुरुकुलले । बालकृष्ण समको नाममा समर्पित नाटकघर त छँदैथियो करिव १५० दर्शक क्षमताको । हरिप्रसाद र गोपालप्रसाद रिमालको नाममा अर्को नाटकघर बन्यो लगभग ४०० दर्शक क्षमताको । नाटकबाहेक कविता, संगीत, चित्रकलाका नियमित कार्यक्रमले गुरुकुललाई एउटा केन्द्रको रुपमा स्थापित हुन धेरै वर्ष लागेन । ०६२, ०६३को स्रष्टा आन्दोलनमा ०६२ चैत्र ३० गुरुकुलको घटनाले एउटा नयाँ उचाइ थप्यो आम मानिस ।
एउटा व्यक्तिको सपनामा ९ वर्षमा गुरुकुलमा जति काम भए यसले रंगमञ्चबाहेक साहित्यको पाठकदेखि चलचित्रसम्म परिवर्तन ल्याउन मद्दत गर्यो । त्यो थामिनसक्नुको थियो । यस्तो अवस्थामा कि त नेतृत्व सम्हाल्ने अर्को मान्छे चाहिन्छ । कुसल व्यवस्थापन चाहिन्छ । संकट आउँछ । काठमाडौको गुरुकुलबन्द हुनु र विराटनगरको गुरुकुलमा झार पलाउनुमा के सम्बन्ध छ ? उहाँ विना यो संस्थामा काम नहुने नै रहेछ त ?


उहाँको रक्सी पिउने लतको बारेमा धेरै मानिसहरु अनेक अड्कल काट्छन् । म केही वर्ष उहाँसँग काम गरेको हुनाले मलाई सोध्छन् । त्यसो त उतिखेर धेरैले मलाई गुरुकुलको प्रवक्ता भनेर गाली गरेका हुन् । त्यो डाँडामा आफुलाई रंगकर्मी भन्ने एकहुल मानिसहरु मलाई कुट्न पनि आएकै हुन् । यो लेख धेरै मानिसहरुले मलाई सोध्ने प्रश्नको उत्तर हैन ।

गुरुकुल बन्द भएपनि अचेल अनामनगरमा एउटा फ्ल्याटमा उहाँको अफिस छ ‘ज्ञ’ डिस्कभर योर सेल्फ । कुमार नगरकोटीले जुराइदिएको नाम । नाटकका केही विद्यार्थीहरु छन् । अस्ति भर्खरै गुरुपुर्णिमामा म उहाँलाई भेट्न गएको थिएँ । तिनै विद्यार्थीहरुसँग उहाँले सेक्सपियरको ‘मिडनाइट समर ड्र्मि’ गर्ने योजना गर्नु भएको रहेछ । शिल्पीमा मञ्चन गर्ने उहाँको ईच्छा । मैले ‘हुन्छ’ भने ।

२०७२ साउन

       




Sunday, July 19, 2015

लाटो पहाड

यो पहाड साह्रै छुच्चो छ
हुनेखानेहरुको लागि यहाँ जति आनन्द छ
कामगरी खानेहरुको लागि यो जिन्दगी
पेरुङ्गेको चेपबाट हिंडे जस्तै हो ।
मजदूरी गरी खाने कयौं आदाङ्बेहरु साहुको भारी बोकेर मधेस झर्छन्
कति मुग्लान पस्छन् ।
बाँच्ने उपार्जनका लागि
सधैँ घरदेखि टाढा रहने यी सबै आदाङ्बेका स्वास्नीहरुको जिन्दगी
रमिते डाँडा जस्तो भएर एकै ठाउँमा बसिरहन्छ
घाँसदाउरा, चुलोचौका, नानीथाङ्ना ।
यो भरिया जिन्दगी
लब्सी बोटे, हिउँखोला, टोड्केकुसुण्डे, एकपाइले वरिपरि घुमि बस्छ ।
सिङ्नाप ताङ्बाको ठुलो भारी र रिणले थिचेको जिन्दगी
कहिले कुन भिरबाट खस्छ पत्तै हुँदैन ।
हामी तिनै आदाङ्बेहरुका ज्यान कुरी बस्ने स्वास्नी मान्छेहरु
कतिखेर विधवा हुन्छौँ ठेगान छैन
कोसेलीको आशमा बसेका यी बालखहरु अचानक टुहुरा हुन्छन् ।

मनमायाको स्कुल जाने सपना त्यसै भत्कियो
यो कोक्माको काखमा ऊ पनि
म जस्तै स्वास्नीमान्छे हुने यात्रामा निस्केको छ ।

(आदरणीय उपेन्द्र सुब्बाका दुई कथा प्रभु माइला र मनमायामा आधारित नाटक 'लाटो पहाड'को लागि लेखिएको कबिता । यो नाटकलाई किरण चम्लिङ राईले निर्देशन गरेका हुन् ।)

Sunday, June 14, 2015

राउकेलामा ग्लोवल वार्मिङ्ग

सन् २००८ मा उडिसाका केही फरक खाले मानिसहरुसँग कोलकातामा भेट भयो । ४ दिनको बसाइमा उनीहरुले शिल्पी टोलीलाई यसरी परेसान गरे, हाम्रा साथीहरु उनीहरुलाई देख्ने वित्तिक्कै अर्कोतिर भाग्न थाले । एउटा अन्तराष्र्टि्र्य नाटक महोत्सवमा भेला भएका हामी प्राय भेट्टिइरहने भयौँ । दिनभरि त अनेक जुक्तीले हामी तर्कियौँ तर बास बस्ने बेलामा कहाँ जाने ? सहभागीहरुलाई धेरै बिस्तरा भएको एउटै कोठामा सुत्ने व्यवस्था रहेछ । स्थिति यस्तो भयो । कोठामा उनीहरु निदाइसकेपछि जाने र निद्रा खुलेपनि अबेरसम्म निदाएको बहाना गर्न थाल्यौँ । 
परेशानीको कुरो थियो ‘क्लाइमेट चेन्ज र क्लोवल वार्मिङ्ग’ । त्यसबखत मैले फिटिक्कै चासो नदिएको विषय थियो यो । पृथ्वीको तापक्रम दिनहुँ कसरी बढिरहेको छ भन्ने विषयमा जोकोहीलाई भेट्ने वित्तिकै उनीहरु भाषण दिन थाल्थे । मानिसहरु अहिल्यै सजग नहुने हो भने पृथ्वी केही हजार वर्षमा ध्वस्त हुनेछ र प्राणीहरु बस्न लायकको हुदैन  भनेर पनि तर्साउँथे । जिन्दगीका आफ्नै टेन्सनले पिरोलीरहेको बेलामा सिंगै पृथ्वीको टेन्सन कस्ले लेओस् । हामीलाई रिस उठिरहेको थियो, सारा पृथ्वीको ठेक्का यिनीहरुले लिनु परेको ?
गाँस, बास र कपास सम्बन्धी तिनका अनेकौ नियम थिए । यो पृथ्वीलाई दिर्घ जीवन दिनका लागि उनीहरुले बनाएका नियम र खबरदारी सुन्दा लाग्थ्यो यिनीहरु कि त कुनै आइएनजीओ को पैसा पचाइरहेका छन् कि त यिनको मगज बिग्रिएको छ । उनीहरुको हर्कतले हाम्रो टोलीमा यस्तो प्रभाव पर्यो, ‘क्लाइमेट चेन्ज’को बहस संसारकै वाहियात कुरो हो । तर सन् २००९ मा कोपनहेगनमा आयोजित क्लाइमेट चेन्ज सम्बन्धी सम्मेलनमा अचानक साथीहरुको लहैलहैमा लागेर ‘बि भेजिटेरियन एण्ड सेभ द वल्र्ड’ लेखेको प्लेकार्ड बोक्न पुगेको ममा विस्तारै ती उडिया मानिसहरुको सम्झना हुन थाल्यो । आफ्नै जिन्दगीको टुड्गो नभएको म बबुरो अचानक सिंगो पृथ्वीको चिन्ता गर्ने भएँ । 

नचाहँदा नचाहँदै सुनेका धेरै कुराहरु मध्ये एउटा कुरा पछिसम्मै दिमागमा गढेर बस्यो । उनीहरुले भनेका थिए –‘हामी किसानहरु हाम्रा गाउँ नजिकैका सानासाना पहाडहरुको रक्षाको लागि सरकारसँग मुद्धा लडिरहेका छौँ । पटकपटक जितेर पनि हामीले हारेका छौँ ।’ ठुला खाले कम्पनीले खनिजका लागि ती उर्वर थुम्काहरु ध्वस्त गर्छन् । र ती पहाडबाट गाउँसम्म आउने पानीका मुहान र पहाडलाई ढाक्ने काला जंगलहरु पनि ध्वस्त हुन्छन् । 
यसपटक संयोगले अर्को अन्तर्राष्ट्र्यि नाटक महोत्सवमा भाग दिन उडिसा पुगियो । 
भयो के भने लामो यात्रापछि राउकेला पुग्दा रातको ९ बजिसकेको थियो । आयोजकहरुले हामीलाई स्टेसनबाट सिधै होलटमा पुर्याए । थकित ज्यान खानपिन पछि भसुक्कै निदायो । कुमार नगरकोटी मेरा रुममेट थिए । विहान उठ्ने वित्तिकै झ्यालको पर्दा उघार्दै नगरकोटीले जब आफ्नो लोकप्रिय ब्राण्ड खुक्स सल्काउन थाले म अत्ताल्लिँदै उठेँ । सिंगै पहाड झ्याल अगाडि खडा छ । मानौँ हामी नेपालीको सम्मानको खातिर आयोजकले आतभरिमा उत्तरबाट पहाड सारेर टक्क राखेका छन् होटलको आडमा । मेरो यो भ्रमलाई एकछिन किस्सा बनाएर सबै साथीहरुलाई पहाड देखाएँ । सबै अचम्ममा परे । विहानै पहाड चढ्ने योजना भयो । माथिसम्म जाने व्यवस्थित सिंडी रहेछन् । पहाडको टुप्पामा महादेवको मन्दिर । पहाडको वरिपरि गरिव किसान र मजदुरको बस्ति रहेछ । भैँसी सबैका घरमा देखियो । त्यसबाहेक सबेरै साइकलामा अनेकौ सामान राखेर सानोखाले व्यापारमा निस्कने लोग्नेमानिसहरुको ताँति पनि भेटियो । 

सोह्र जनाको शिल्पी टोली कोमा नाटक लिएर त्यहाँ पुगेका थियौँ । उडिसाको त्यही भुभागतिर पुगिएछ जहाँबाट ती किसानहरु २००८ मा पहाड बचाउ अभियानमा प्रोपोगाण्डा नाटक लिएर कोलकाता आएका थिए । 
राउकेला, उडिसा राज्यको उत्तरी सिमामा अवस्थित सहर रहेछ । अरुन्धती रोयको ‘वाकिड विद द कमरेड्स’ पढ्दै गर्दा ठ्याक्कै यो यात्रा भएको थियो । तिनै पहाड र जंगलको काखमा बस्ने आदिवासी मानिसहरुको विस्तापन संगै, तिनीहरुको संस्कृति, जीनशैली र रोजिरोटीको समस्यासँगै यो कथा त भारतीय राष्ट्र्यि राजनीतिसँग जोडिँदो रहेछ । पश्चिम बंगाल, झारखण्ड, छत्तीसगढ, तेलेड्गना र आन्द्रप्रदेशले घेरिएको यो भारतकै ९ औँ ठुलो राज्यका आदिवासी जनता नक्सलवादी आन्दोलनसम्म जोडिन पुगे । आफ्नो भुमि रक्षाको लागि लडेका यी दुखी मनुवाहरुको पटकपटक हार भयो । सिंगै उडिसाको कुरा गर्ने मेरो क्षमता छैन । हामी पछिल्लो पटक पुगेको उडिसाको तेस्रो ठुलो सहर राउरकेला मेरो मस्तिष्कमा धेरै मुद्धाहरु बोकेर घुमिरहेको छ । 
यो नाट्य यात्रा, बाटोमा भेटिएका मानिसहरु, महोत्सवमा मञ्चन भएका नाटकहरु मेरोलागि रमाइलोभन्दा बढि राजनीतिक भयो । मेरो दुःखको कारकतत्व नै यही जस्तो भान भइरहेको छ । नाटकलाई मनोरञ्जनभन्दा पर्तिर गएर हेर्न खोज्दा, यात्रामा भेटिएका मानिसहरुको इतिहास र समाजतिर पुग्न खोज्दा नभाको दुःख त पाउने नै भइयो । 
महोत्सवमा मञ्चन भएका नाटक मध्ये नाट्य चेतना भुवनेश्वर, उडिसाको नाटक ‘धुवं’ले तिनै आदिवासीहरुको कथा भन्छ जसको जंगल र पहाड खोसियो । सरकारले थोरै मुवाब्जा दिएर विस्तापित ती समुदायहरुका थोरै मानिसले आफ्नै भुमिमा बनेको कारखानामा काम पाए तर लल्लो तहमा । स्मरण रहोस् उडिसा ९० प्रतिशतभन्दा बढि हिन्दु भएको राज्य हो, जहाँ जातीय र आर्थिक विभेद नेपालमा जस्तै अचाक्ली छ । महोत्सवमा साँझसाँझ नाटकहरु मञ्चन हुन्थे र दिउँसो आदिवासी नृत्य प्रतियोगिता । ती आदिवासीहरुको भेषभुषा, रंग र नृत्यगीतहरु हेर्दा नेपालका आदिवासीहरुसँग लगभग मिल्दो पाएँ । मैले मोरङको झोराहाट नाट्य समुहसँग ‘धुपेनके धुँइयाँ’ नाटक तयार गर्दा उराउ समुदायको गीत र नृत्य प्रयोग गरेको थिएँ । ठ्याक्कै त्यही लय र नृत्य चालको गीत त्यहाँका आदिवासी समुदायले देखाए । 
राउरकेलामा ३० भन्दा बढि उद्योग मध्ये धेरै जसो स्टिल उद्योग रहेछन् । ती मध्ये सबैभन्दा ठुलो रहेछ सेल । यस उद्योगमा १८ हजारभन्दा बढि मानिसहरु काम गर्दारहेछन् । महोत्सव आयोजक संस्था स्पन्दनका धेरै जसो सदस्य यही स्टिल उद्योगमा काम गर्दा रहेछन् । अत्यन्तै गर्मी मानिने यस ठाउँमा स्टिल उद्योगका कारणले झन तापक्रम बढ्दो मानिन्छ । गर्मीकै कारणले यी उद्योगहरुमा काम गर्ने समय रात्रिकालिन रहेछ । हाम्रो नाटक हेर्न आएका धेरै नेपालीहरुसँगको अन्तक्रियाबाट थाहा लाग्यो । उनीहरु विहान अबेरसम्म सुत्छन् । प्राय नेपालीहरुले खाना खाने समय राती १२ बजे रहेछ । एक नेपाली परिवारले हाम्रो टोलीलाई दिएको रात्री भोजनमा हामी १२ः३० बजे भोकले थलिएर खाना हसुर्दै थियौँ ।


अँ त, अगाडिको कुरा जोडौँ । आफ्नो थातथलो हराएपछि धेरै जसो मानिसहरु जिविकोपार्जनको खोजीमा सहर पसे । अरुन्धती रोयले आफ्नो किताबमा यो कुरा बढो रोचक ढंगले लेखेकी छन् । उपभोक्तावादी समाजको व्यापारिक विश्लेषणबाट हेर्दा कथित आधुनिक सहर निर्माणमा जनसंख्या वृद्धिले ठुलो भुमिका खेल्यो । संसारका प्रतिष्ठित सहरहरुमा जनसंख्याको चाप त हुनै पर्यो । अनि दिल्लीलाई उडिसा वा अन्य प्रान्तबाट आएका आदिवासी जो बाटोमा भिख माग्छन् वा मजदुरी गर्छन्, तिनलाई व्यवस्थित गर्न राज्यले लगानी गर्ने पुलिस, डण्डा र बन्दुकको राजनीति त्यो पनि रोयले आफ्नो कितावमा लेखेकी छन् । 
त्यसो भए शहरीकरण, औद्योगिकरण र विकाशका नाममा हामीले ध्वस्त पार्दै आएको हाम्रो सुन्दर प्रकृति र स्वस्थ समाजको ठुलाखाले दुर्घटना त देखिरहेका छौँ । भारत वा अन्य देशहरुले गरेको ती ठुलाखाले गल्ती के हामीले अझै गर्नै बाँकी छ । भर्खरै हामी पहाड र उर्वर खेतहरु सम्याएर कंकृटका घरहरु रोप्दैछौँ । बैकल्पिक उर्जाका लागि नेपालको नेतृत्वले सोच्ने अपेक्षा गर्नु र ती उडियाहरुले मलाई क्लाइमेट चेन्ज र क्लोवल वार्मिडबारे भाषण सुनाउनुमा के फरक होला र । 
राउकेला मुख्य सहर निक्कै सफा र व्यवस्थित जस्तो देखिन्छ । धेरै जसो पार्क र सार्वजनकि स्थलहरुको निर्माणमा त्यही सेल स्टिल उद्योगको लोगो भेटियो । मानिसहरु पनि निक्कै मिजासिला लागे । राउकेलाका पुरुषहरुको विशेषता २ कुरामा देखेँ मैले । ठुलो पेट र कालोमोट्टो जुँगा । २५ नाघेका लोग्नेमानिसहरुको ठुलो पेट नहुनु राउकेलाको खानाको दोष हो । जुँगा त पुरुषहरुको पहिचान नै जस्तो रहेछ । हामीले त्यहाँ भेटेका नेपालीहरुले पनि बढो सानले ठुलाठुला जुँगा राखेको पाइयो । पेट त ठुलो हुनेनै भयो । वर्षौँदेखि त्यहीँ बसोबास गरिरहेका वा त्यहीँ जन्मिएका नेपालीमुलका ती मेहनती दाजुभाइहरुको जुँगा किस्सा मनोवैज्ञानिक किसिमको छ । उनीहरु भन्छन्, त्यहीँ जन्मिएको नेपाली पुस्ता जो भाषा, संस्कृति, शिक्षा र शिपको हिसावले पनि रैथाने जस्तै छ । तर पनि हेपिनु परेको छ । यी नै मनोविज्ञानको उपज हो मोटो जुँगा । उनीहरु उडिया जस्तै देखिन चाहन्छन् । राउकेलामा ३० औँ हजार नेपालीहरु रहेको अनुमान गर्छन् नेपाली समाजका एक युवा ओम श्रेष्ठ । वीसौँ वर्षदेखि त्यहाँ बसोबास गरिरहेका ओमले नेपाली नाटक हेर्न लगभग १०० जना नेपालीहरु लिएर आए । हाम्रो नाट्य टोली खुसी हुनु स्वभाविकै थियो । ओम श्रेष्ठ जस्तै राजनीतिक र सामाजिक रुपमा सक्रिय अन्य धेरै नेपालीहरुका लागि यो जमघट शानको विषय बन्यो । नेपाली नाटकले महोत्सवमा पाएको तारिफले उहाँहरुलाई निक्कै हर्सित बनायो । स्थानीय पत्रिकामा नेपाली नाटकको बारेमा आएको समाचारहरुमा पनि हामी भन्दा बढि उहाँहरु खुशी देखिनु हुन्थ्यो । यसपटकको राउरकेला यात्राले स्थानीय आदिवासीदेखि नेपालवाट विस्तापित नेपाली समुदायको पहिचानसम्मको मुद्धालाई मनभारि बनाएर ल्यायो । हामी ५ वर्षदेखि नयाँ संविधानका लागि यही कुरामा लडाईँ गरिरहेका छौँ । 

राउकेलामा महिलाहरुको विशेषताको कुरा गम्भिर छ । बाटोमा हिंडिरहेका युवतीहरुलाई आँखाले भ्याउन्जेलसम्म हेर्छन्, यस्तो लाग्छ उनीहरु आँखाले युवतीहरुको स्क्यान गर्छन् । सार्वजनिक यातायातको अग्रभागमा टाँसिएको एउटा नियमले चसक्क बनायो । गाडी चालकको छेऊमा महिला बस्न नपाईने । बसेमा ५०० रुपैयाँ जरिवाना हुने रहेछ । कानुन बनाउनेहरुको तर्क रहेछ, चालकको छेऊमा महिलाहरु बसेमा चालकको ध्यान भंग भएर गाडी दुर्घटना हुन सक्छ । यस्तो नियम बनाउनेहरु पनि त पुरुष नै होलान, जसरी काठमाडौमा भर्खरै महिला यात्रुहरुको लागि छुट्टै बसको व्यवस्था गरिँदैछ । 

यो सहर पनि भारतका अधिकांश सहरहरु जस्तै धार्मिक रुपमा कट्टर पाएँ मैले । हुनत भारतीयसिमा प्रवेशसँगै रेलयात्रामा केही यात्रुहरुले हामीलाई प्रश्न गरेकै हुन् । धर्म निरपेक्षता किन ? यस्तो लाग्यो, हामी भन्दा धेरै गुणा भारतीय हिन्दुहरु नेपाललाई हिन्दु राष्ट्र् देख्न चाहन्छन् । भारतका हरेक सामान्य हिन्दु नागरिकहरुलाई नेपाल धर्मनिरपेक्ष भएकोमा चासो छ । तर मेरा गाउँका बाआमालाई कृषि मलको, विऊको, खानेपानीको, विद्युतको वा सामान्य नागरिकले काम गरेर खान पाउने अधिकारको चासो छ । मेरा बा आमाले मन पराएको धर्मनिरपेक्षता बेलायति राजदुतले दिएको वक्तव्यसँग गोरु बेचेको पनि साइनो छैन । न त गाउँमा बनेका चर्चहरुसँग सम्बन्धित छ । संयोग कस्तो भने राजकुमार हिरानीको फिल्म पिके’ सार्वजनिक भएको ठ्याक्कै त्यही बेला हामी राउरकेलामा थियौँ । नाट्यटोलीका सबै साथीहरुले हामी बसिरहेको होटलसँगै जोडिएको सिनेमा हलमा गएर उक्त फिल्म हेर्यौँ । हामी भुवनेश्वर तथा जगन्नाथपुरी घुन्म जान चाहन्थ्यौँ । आयोजक र स्थानीय नेपाली साथीहरुलाई हामीले यो ईच्छा प्रकट गर्यौँ । रेलको टिकट खोज्ने क्रम सुरु भयो । दुवै पक्षबाट हामीलाई सल्लाह आयो, यदि जगन्नाथ बाबाको बोलावट भएको छ भने कुनै पनि कष्टले हामी जान सक्नेछाँै । एकदिन भरिको प्रयासमा तालमेल नमिलेर हामी भुवनेश्वर जान सकेनौँ । हामी उहाँहरुको सामु लज्जित भयाँै र पिके सम्झियौँ । 

मुलत नाट्य महोत्सवमा सहभागि हामीले क्यानभाषको कोलाज झै जिन्दगीको अनेकौँ रंग बुझ्न पायौँ । कवि मणि काफ्ले यात्रामा निक्कै सहयोगी बन्दारहेछन् । यातायात प्रवन्ध, कोही विरामी पर्यो वा अन्यखाले समस्यामा हरबखत सहयोगको लागि तम्तयार । पत्रकार दिपक सापकोटा अर्का विन्दास आदमी रिहेछन् । उनी ठट्टा त गर्न खोज्थे तर त्यो ठट्टाले उनैलाई उडाएको चाहिँ पत्तो नपाउने रहेछन् । त्यसैले होला उनको बारेमा जति मजाक गरेपनि उनी विन्दास हाँसेर उडाउँथे । अर्का समीक्षक गुरुड सुसान्तको पहिलो यात्रा रहेछ रेलमा । तर उनको घनिष्ट प्रेम बसेको रहेछ फोन र सामाजिक सन्जालसँग । उनको प्रेमकथा कहिलेकाही यति गोप्य हुन्थ्यो कि केही पटक त उनी घुमघामको लागि निस्केको टोलीमै छुटेछन् । खानपिनको ताल नमिलेर प्राय कलाकारहरु लोलाइरहेका थिए । हाम्रा नाटककार नगरकोटी यस्ता विस्दास रहेछन् खाना जस्तो होस् झ्याप्प २ थाल बजाइदिने । 
पुसको पहिलो साता गरिएको यो १० दिने भ्रमण हामी काठमाडौबासीहरुका लागि जाडो छल्न गएजस्तो भएको थियो । रेलको निक्कै सजिलो यात्राबाट हामी सबै खुसी थियौँ । कुमार नगरकोटी कृत नाटक कोमः अ पोलिटिकल सेक्सले महोत्सवमा पारेको प्रभावले पनि हामी सबैलाई आनन्दित बनायो । तर, राउकेलमा अब बाँचेखुचेका केही पहाड र तिनका वरिपरि बस्ने आदिवासीहरुको जीवन कुन ठुलो सहरमा गएर मिसिने हो भन्ने चिन्ता मनमा छ । के हाम्रा पहाडहरु यसरी नै सिर ठड्याएर उभिरहन सक्नेछन् ?






  

Wednesday, April 15, 2015

नयाँ नायकको खोजीमा

आन्द्रेया– (ढोकामा उभिएर) नायक जन्माउन नसक्ने राष्ट्र दयनीय हुँदोरहेछ ।
ग्यालिलियो– त्यसो होइन आन्द्रेया, नायकको खाँचो भएको राष्ट्र दयनीय बन्दोरहेछ ।

संसारमा जति पनि नायक हामीले पाएका छौँ, तिनको जन्म बढो कठिनसँग भएको छ । त्यसरी नै अनेकौँ त्रासदी, अन्धविश्वास र धार्मिक जडबीच जन्मिएका महान् वैज्ञानिक,विचारक, सत्यवादी नायक हुन्– ग्यालिलियो ग्यालिलेइ । यिनको जीवनी पढ्दा थाहा लाग्छ, समाज सधैँ नयाँ नायकको आगमनका लागि आतुर छ । तर, त्यही समाजले नायकको जन्म हुनुअघि बारम्बार अवैधानिक गर्भपतन गरिरहेको हुन्छ । त्यसैले देशमा नायक जन्मिन समय लाग्छ । हामी पनि यतिखेर नयाँ नायकको प्रतीक्षामा छौँ ।
ग्यालिलियोको जीवनीमा आधारित ब्रेटोल्ड ब्रेख्तको नाटक हो– ग्यालिलियो । यसको नेपाली अनुवाद पृथ्वी घुमिरहेको छ । बजारमा आएको छ । अनुवादक हुन्– होमर श्रेष्ठ । संसार प्रसिद्ध यस नाटकको नेपाली अनुवाद पढिसकेपछि मलाई लाग्यो, यो कृतिको बिक्री अत्यधिक हुनुपथ्र्यो । यसका केही कारण छन् ।
खंगोलशास्त्रका सम्बन्धमा नयाँ बिचार दिने दार्शनिक गिओर्दानो बु्रनो जसले अरस्तुका सिद्धान्तमाथि प्रश्नचिह््न उठाएका थिए । ब्रुनोलाई ६ बर्षसम्म बन्दी बनाइयो । आफ्नोे सिद्धान्त र विचार फिर्ता नलिएपछि बाइबलविरोधी अनैतिक विद्रोहीको अभियोग लगाएर जिउँदै जलाइयो । एउटा नयाँ विचारलाई तत्कालीन रोमन क्याथोलिकहरूले त्यति क्रुर सजायँ दिएको समाजमा अर्को एउटा विचारक ग्यालिलियो (सन् १५६३–१६४२) उदाइरहेका थिए । ग्यालिलियोको जन्म इटालीको पिसा भन्ने सहरमा भएको थियो । तत्कालीन क्याथोलिकहरू बाइबलभन्दा पर्तिर गएर सोच्नु ईश्वर र जिससको अपमान ठान्थे । र, रोमन क्याथोलिक चर्चको पृथ्वी अटल छ अर्थात् सूर्यले पृथ्वीको परिक्रमा गर्छ भन्ने धार्मिक विश्वास तोडेर वैज्ञानिक आधारका साथ सूर्यलाई फन्को मार्दै पृथ्वी घुमिरहेको छ भन्ने तर्क प्रस्तुत गरिरहेका ग्यालिलियोले आफ्नो नवीन विचारकै कारण धेरै धम्की र यातना खेप्नु प¥यो । यिनै महान् नायकबारे केन्द्रीय ब्रेख्तको नाटक ग्यालिलियोले सधैँ नयाँ विचार र युगको आह्वान गरेको छ ।
नाटकमा एउटा प्रसङ्ग छ । ग्यालिलियोले शक्तिशाली दूरबिन बनाउँछन् र दरबारका उच्चपदका कारिन्दा तथा अन्य क्याथोलिक दार्शनिकलाई दूरबिनबाट हेर्न आग्रह गर्छन् । जुन दूरबिनबाट आकाशका हजारौँ तारा नजिकै देखिन्छन् । तर, पुरानो सोचाइ र धर्मको जडका कारण तिनीहरूले दूरबिनबाट हेर्न मान्दैनन् । बरु दूरबिनबाट हेर्दैनहेरी ग्यालिलियोको भ्रमपूर्ण साधन भनेर आरोप लगाउँछन् । ती क्याथोलिकहरूले दूरबिनबाट नहेर्नु नाटकमा ठूलो प्रतीक हो । संसारमा अन्य धेरै मानिस नयाँ चेतना, नयाँ धारणा, नयाँ दृष्टिकोण र विज्ञानरूपी दूरबिनलाई क्याथोलिहरूले जसरी लत्याइरहेका छन् भन्ने अर्थ लाग्छ । नाटकमा अन्य धेरै यस्ता सान्दर्भिक विचार छन्, जुन हाम्रो जीवन र समाजसँग ठ्याक्यै मेल खान्छ । नेपालको वर्तमान परिस्थितिसँग पनि ठ्याक्कै मिल्दो लाग्छ ।
‘ग्यालिलियो’ एपिक नाटक हो । जसलाई नेपालीमा काव्य–नाटक भनेर चलाइएको छ । चलनचल्तीमा ब्रेख्तियन शैली पनि भनिन्छ । एपिक नाटकका केही विशेषता छन् । विभाजित दृश्य, गीतको प्रयोग, कवितात्मक संवाद, हास्यव्यङ्ग्यको मिश्रण आदि । ग्यालिलियो नाटकमा १४ वटा दृश्य छन् । नाटकमा हरेक दृश्यको सुरुवात र अन्त्य गीतबाट भएको छ । हरेक दृश्यका घटनाक्रम यथार्थपरक भए पनि हरेक चरित्रले बोल्ने संवाद दार्शनिक र लयदार छन् । र, एक पात्रले अर्को पात्रलाई सिधै नभई व्यङ्ग्यात्मक रूपमा छेडखानी गर्ने र चित्तबुझ्नेगरी हाँस्ने परिस्थिति र संवाद प्रशस्त छन् ।
ग्यायालियो जर्मन भाषामा लेखिएको नाटक हो । ब्रेख्तले यसलाई तीन पटकसम्म पुनःलेखन गरेका रहेछन् । पहिलोपटक डेनमार्कमा, दोस्रोपटक अमेरिका र तेस्रोपटक बर्लिनमा लेखिएका फरक–फरक संस्करणका विशेष अर्थलाई होमर श्रेष्ठले आफ्नोे अनुवादको भूमिकामा खुलाएका छन् । होमरको अनुवादमा धेरै कुरा छन् । १८७ पृष्ठ मोटो कृतिमा होमरले लगभग आधा कृतिलाई इतिहास र विश्लेषणमा खर्चिएका छन् । त्यसैले यस कृतिको पहिलो लोभलाग्दो पक्ष यही हो । भूमिकाका लागि होमरले धेरै दुःख गरेका छन् । तत्कालीन रोमन क्याथोलिक समाज, दार्शनिक ग्यालिलियो र तत्कालीन समय,ब्रेख्त र इपिक थिएटर,नाटक ग्यालिलियो र यसको मञ्चनदेखि नेपाली समाजमा यसको सान्दर्भिकतासम्म प्रस्तुत उक्त भूमिका नेपाली रङ्गमञ्चका विद्यार्थीका लागि उपयोगी छ । मैले पहिलोपटक ०६० मा महेश दत्तले कुन भाषाबाट अनुवाद गरे भन्ने आफ्नोे अनूदित कृतिमा खुलाएका छैनन् । दोस्रोपटक लग्टनको अंग्रेजी अनुवाद गरेका रहेछन् । जर्मन भाषाका ज्ञाता भएकाले पनि उनका लागि सम्भावना धेरै रहेछ । होमरको नेपाली अनुवाद ज्यादै सरल, चुस्त र मीठो लाग्छ । एउटा कृति पढ्दा यति धेरै सूचना र ज्ञान पाएका कमै कृति छन्,मेरालागि । साहित्य पढ्ने अन्य पाठक जो नयाँ युग मनपराउँछन्, तिनले पनि पढ्नैपर्ने कृति हो यो । विश्वविद्यालयको पाठ्यक्रममा पनि यो नाटक छ । नाटकमा रहेका गीतको नेपाली अनुवादमा भने होमरले लयलाई भन्दा अर्थलाई बढी जोड दिएका छन् । गीतको लय र छन्द भने भताभुङ्ग भएको छ ।
गहिराइ तातो–तातो, उचाइ चिसो–चिसो छ ।
टोल–टोलमा हल्लीखल्ली, दरबार सुनसान छ ।

नयाँ नायकको खोजीमा

आन्द्रेया– (ढोकामा उभिएर) नायक जन्माउन नसक्ने राष्ट्र दयनीय हुँदोरहेछ ।
ग्यालिलियो– त्यसो होइन आन्द्रेया, नायकको खाँचो भएको राष्ट्र दयनीय बन्दोरहेछ ।

संसारमा जति पनि नायक हामीले पाएका छौँ, तिनको जन्म बढो कठिनसँग भएको छ । त्यसरी नै अनेकौँ त्रासदी, अन्धविश्वास र धार्मिक जडबीच जन्मिएका महान् वैज्ञानिक,विचारक, सत्यवादी नायक हुन्– ग्यालिलियो ग्यालिलेइ । यिनको जीवनी पढ्दा थाहा लाग्छ, समाज सधैँ नयाँ नायकको आगमनका लागि आतुर छ । तर, त्यही समाजले नायकको जन्म हुनुअघि बारम्बार अवैधानिक गर्भपतन गरिरहेको हुन्छ । त्यसैले देशमा नायक जन्मिन समय लाग्छ । हामी पनि यतिखेर नयाँ नायकको प्रतीक्षामा छौँ ।
ग्यालिलियोको जीवनीमा आधारित ब्रेटोल्ड ब्रेख्तको नाटक हो– ग्यालिलियो । यसको नेपाली अनुवाद पृथ्वी घुमिरहेको छ । बजारमा आएको छ । अनुवादक हुन्– होमर श्रेष्ठ । संसार प्रसिद्ध यस नाटकको नेपाली अनुवाद पढिसकेपछि मलाई लाग्यो, यो कृतिको बिक्री अत्यधिक हुनुपथ्र्यो । यसका केही कारण छन् ।
खंगोलशास्त्रका सम्बन्धमा नयाँ बिचार दिने दार्शनिक गिओर्दानो बु्रनो जसले अरस्तुका सिद्धान्तमाथि प्रश्नचिह््न उठाएका थिए । ब्रुनोलाई ६ बर्षसम्म बन्दी बनाइयो । आफ्नोे सिद्धान्त र विचार फिर्ता नलिएपछि बाइबलविरोधी अनैतिक विद्रोहीको अभियोग लगाएर जिउँदै जलाइयो । एउटा नयाँ विचारलाई तत्कालीन रोमन क्याथोलिकहरूले त्यति क्रुर सजायँ दिएको समाजमा अर्को एउटा विचारक ग्यालिलियो (सन् १५६३–१६४२) उदाइरहेका थिए । ग्यालिलियोको जन्म इटालीको पिसा भन्ने सहरमा भएको थियो । तत्कालीन क्याथोलिकहरू बाइबलभन्दा पर्तिर गएर सोच्नु ईश्वर र जिससको अपमान ठान्थे । र, रोमन क्याथोलिक चर्चको पृथ्वी अटल छ अर्थात् सूर्यले पृथ्वीको परिक्रमा गर्छ भन्ने धार्मिक विश्वास तोडेर वैज्ञानिक आधारका साथ सूर्यलाई फन्को मार्दै पृथ्वी घुमिरहेको छ भन्ने तर्क प्रस्तुत गरिरहेका ग्यालिलियोले आफ्नो नवीन विचारकै कारण धेरै धम्की र यातना खेप्नु प¥यो । यिनै महान् नायकबारे केन्द्रीय ब्रेख्तको नाटक ग्यालिलियोले सधैँ नयाँ विचार र युगको आह्वान गरेको छ ।
नाटकमा एउटा प्रसङ्ग छ । ग्यालिलियोले शक्तिशाली दूरबिन बनाउँछन् र दरबारका उच्चपदका कारिन्दा तथा अन्य क्याथोलिक दार्शनिकलाई दूरबिनबाट हेर्न आग्रह गर्छन् । जुन दूरबिनबाट आकाशका हजारौँ तारा नजिकै देखिन्छन् । तर, पुरानो सोचाइ र धर्मको जडका कारण तिनीहरूले दूरबिनबाट हेर्न मान्दैनन् । बरु दूरबिनबाट हेर्दैनहेरी ग्यालिलियोको भ्रमपूर्ण साधन भनेर आरोप लगाउँछन् । ती क्याथोलिकहरूले दूरबिनबाट नहेर्नु नाटकमा ठूलो प्रतीक हो । संसारमा अन्य धेरै मानिस नयाँ चेतना, नयाँ धारणा, नयाँ दृष्टिकोण र विज्ञानरूपी दूरबिनलाई क्याथोलिहरूले जसरी लत्याइरहेका छन् भन्ने अर्थ लाग्छ । नाटकमा अन्य धेरै यस्ता सान्दर्भिक विचार छन्, जुन हाम्रो जीवन र समाजसँग ठ्याक्यै मेल खान्छ । नेपालको वर्तमान परिस्थितिसँग पनि ठ्याक्कै मिल्दो लाग्छ ।
‘ग्यालिलियो’ एपिक नाटक हो । जसलाई नेपालीमा काव्य–नाटक भनेर चलाइएको छ । चलनचल्तीमा ब्रेख्तियन शैली पनि भनिन्छ । एपिक नाटकका केही विशेषता छन् । विभाजित दृश्य, गीतको प्रयोग, कवितात्मक संवाद, हास्यव्यङ्ग्यको मिश्रण आदि । ग्यालिलियो नाटकमा १४ वटा दृश्य छन् । नाटकमा हरेक दृश्यको सुरुवात र अन्त्य गीतबाट भएको छ । हरेक दृश्यका घटनाक्रम यथार्थपरक भए पनि हरेक चरित्रले बोल्ने संवाद दार्शनिक र लयदार छन् । र, एक पात्रले अर्को पात्रलाई सिधै नभई व्यङ्ग्यात्मक रूपमा छेडखानी गर्ने र चित्तबुझ्नेगरी हाँस्ने परिस्थिति र संवाद प्रशस्त छन् ।
ग्यायालियो जर्मन भाषामा लेखिएको नाटक हो । ब्रेख्तले यसलाई तीन पटकसम्म पुनःलेखन गरेका रहेछन् । पहिलोपटक डेनमार्कमा, दोस्रोपटक अमेरिका र तेस्रोपटक बर्लिनमा लेखिएका फरक–फरक संस्करणका विशेष अर्थलाई होमर श्रेष्ठले आफ्नोे अनुवादको भूमिकामा खुलाएका छन् । होमरको अनुवादमा धेरै कुरा छन् । १८७ पृष्ठ मोटो कृतिमा होमरले लगभग आधा कृतिलाई इतिहास र विश्लेषणमा खर्चिएका छन् । त्यसैले यस कृतिको पहिलो लोभलाग्दो पक्ष यही हो । भूमिकाका लागि होमरले धेरै दुःख गरेका छन् । तत्कालीन रोमन क्याथोलिक समाज, दार्शनिक ग्यालिलियो र तत्कालीन समय,ब्रेख्त र इपिक थिएटर,नाटक ग्यालिलियो र यसको मञ्चनदेखि नेपाली समाजमा यसको सान्दर्भिकतासम्म प्रस्तुत उक्त भूमिका नेपाली रङ्गमञ्चका विद्यार्थीका लागि उपयोगी छ । मैले पहिलोपटक ०६० मा महेश दत्तले कुन भाषाबाट अनुवाद गरे भन्ने आफ्नोे अनूदित कृतिमा खुलाएका छैनन् । दोस्रोपटक लग्टनको अंग्रेजी अनुवाद गरेका रहेछन् । जर्मन भाषाका ज्ञाता भएकाले पनि उनका लागि सम्भावना धेरै रहेछ । होमरको नेपाली अनुवाद ज्यादै सरल, चुस्त र मीठो लाग्छ । एउटा कृति पढ्दा यति धेरै सूचना र ज्ञान पाएका कमै कृति छन्,मेरालागि । साहित्य पढ्ने अन्य पाठक जो नयाँ युग मनपराउँछन्, तिनले पनि पढ्नैपर्ने कृति हो यो । विश्वविद्यालयको पाठ्यक्रममा पनि यो नाटक छ । नाटकमा रहेका गीतको नेपाली अनुवादमा भने होमरले लयलाई भन्दा अर्थलाई बढी जोड दिएका छन् । गीतको लय र छन्द भने भताभुङ्ग भएको छ ।
गहिराइ तातो–तातो, उचाइ चिसो–चिसो छ ।
टोल–टोलमा हल्लीखल्ली, दरबार सुनसान छ ।

Saturday, January 3, 2015

मूल्यका लागि सपना

घुम्न छोडेको साइकलको डाइनामो र मन
उस्तै उस्तै लाग्छन्
अध्यारोमा साइकल जस्तै गुडिरहेछ जीवन

क्रान्तिपछिको विहान्
अखवारमा छापिएछ
विजय जुलुसमा आफ्नो तस्विरसँगै
फेरि तरकारीको भाऊ †
फेरि तेलको भाऊ †
फेरि नूनको भाऊ †
साकाहारी भएर पनि तर्सन्छु †
खसीको मासुको भाऊ †
आकासिएछ क्रान्तिसँगै ।

क्रान्तिपपछिको दिउँसो
विजय जुलुस निस्किएछ
फेरि पनि बाटो छोड्दैनन् साइकललाई
घुम्न छाडेको डाइनामो जस्तै मनलाई
प्राइभेट गाडीहरु †
प्राइभेट सडकहरु †
प्राइभेट सहरहरु †
प्राइभेट बजारहरु †
प्राइभेट सुपरमार्केटहरु †
प्राइभेट जीवनहरु †
प्राइभेट सपनाहरु खेदिरहेछन् मलाई
मेरो सपनालाई
म जस्ता अरु धेरैका सपनालाई ।
क्रान्तिपछिको दिनमा पनि...

क्रान्तिपछिको साँझ मातेको छ सहर
मातेका छन् नेताहरु
मातेका छौं हामी
साँझ सडकमा वत्ती निभेका छन्
निभाइएका छन्
डाइनामो वेगरका जीवनहरु
स्पोक भाँचिएका सपनाहरु
गइरहेछन् एक हुल खसी बजार तिर...
अब सपनाहरु बिक्री हुन्छन् थोकको भाउमा
क्रान्तिपछिको साँझमा पनि...


आफ्नो मूल्यका लागि सपना
वा मूल्यका विरुद्धमा सपना
क्रान्तिका लागि तत्पर छ ।