Thursday, February 16, 2017

बर्ड फ्ल्यू, ट्र्यासी र उत्कृष्ट नाटक


                                                दर्शकलाई चकित बनाउने महँगो र सुन्दर डिजाइनको मन्च
भर्खरै अमेरिकाको सिकागो स्थित रेडियो सिटी हलमा रङ्गमञ्चको क्षेत्रमा प्रसिद्ध टोनी अवार्ड घोषणा गरियो । नाटक ‘अगष्ट: ओसेज काउन्टी’ ५ विधामा पुरस्कृत भएर सन् २००७ को अमेरिकाकै सर्वोत्कृष्ट नाटक घोषित भयो । सोही नाटकबाट ट्रयासी लेट्सले उत्कृष्ट नाटककार र अन्ना डि सापिरोले उत्कृष्ट निर्देशकको ट्रफी हात पारे । त्यसैगरी उत्कृष्ट अभिनेतृ, उत्कृष्ट नवअभिनेतृ, उत्कृष्ट दृश्य परिकल्पनाकारका ट्रफी पनि यसै नाटकले हात पार्‍यो । गत अक्टोबरमा सिकागो स्थित स्टेफेन उल्फ थिएटरमा प्रथम प्रदर्शन गरिएको यस नाटकको प्रथम निर्माण खर्च पच्चीस मिलियन डलर रहेको छ । व्यवसायिक रुपमा अत्यन्तै सफल यस नाटकको चर्चाले २० औं सताब्दीको मध्यतिर अमेरिकी रङ्गमञ्च र नाटक लेखनमा आएको स्वर्ण कालको पुनरावृत्ति भएको रङ्ग समीक्षकहरुको विश्लेषण छ । अमेरिकाका प्रसिद्ध पत्रिकाहरु इन्टरटेन्डमेन्ट विक्ली, टाइमआउट न्यूजवर्क, टाइम विक्ली आदिले यस नाटकलाई वर्षकै उत्कृष्ट र नौलो नाटक भनेर लेखेका छन् । नाटकका बारेमा अनेकौं किस्सा बनेका छन् । जस्तै–एकजना अमेरिकी युवा खुशीले असाध्यै आकाशिए, यसको कारण थियो युवकले नाटक हेर्ने टिकट पाउनु ।
एकपटक एकजना अमेरिकी नाटककारले हाम्रा नाटककार अभि सुवेदीलाई गुनासो गर्दै भनेछन्–‘तिमेर्का देशमा त कतिधेरै विषयहरु छन्, घटनाहरु छन्, जसलाई नाटकमा ल्याउनेसुन्दर मौका छ । हाम्रातिर त तिनै यौन, निरासा, एक्लोपन लेख्दालेख्दा थकित भइयो ।’ सुवेदीको उत्कण्ठा थियो हामीले हाम्रै विषयमा राम्रा नाटक लेख्न पाए † अमेरिकी नाटककारलाई लोभलागेका हाम्रा विषयमाथि रङ्गमञ्च कोर्न पाए † खै हाम्रा नाटककार के लेख्दैछन् थाहा छैन । तर, विषयको खडेरी परेको त्यही देशमा यतिखेर विल्कुलै नयाँ र सुन्दर नाटक जन्मिएको छ । सन् २००७ का उत्कृष्ट नाटककार ट्रयासी लेट्स भन्छन्–‘वर्ड फ्ल्यू जस्ता विश्व जनिन् समस्याहरुलाई एकछिन परै राखौं । अमेरिकाका धेरै परिवारभित्र रहेका दु:ख र विसंगतिहरु नै मेरा नाटकका कथाहरु हुन् ।’ अहिले हामीकहाँ लेखिने धेरै नाटकहरुले माटो बिर्सिएर विश्वजनीन् कुरा उठाउन खोज्छन् । सांस्कृतिक वा सामाजिक रुपमा सम्बन्धै नराखी नाटकले सिधै न्याय, शान्ति, मानवता, नैतिकता, राजनीति, विसंगति, जन्म, मृत्यु, युद्ध आदिका ठूला कुरा गर्छन् । बरु अभि सुवेदीका मित्र वा युवा नाटककार ट्रयासी लेट्सले भनेजस्तै हाम्रा नाटकमा पनि यहींका कथा भेट्टिए ?
विश्व प्रसिद्ध अमेरिकी कवि तथा नाटककार अगष्ट विल्सन ३ वर्षअघि ६० वर्षकै उमेरमा बिते । विल्सन पनि आफ्नै माटो र समाजका कथा नाटकमा उतार्न खप्पिस थिए । यिनका बुबा गोरा जातीका हुन् र आमा काला जातीकी । तर अगष्ट विल्सन कहिल्यै बुवासँग बसेनन् । यिनको ध्येय आफूलाई कालाहरुकै समाजको भनेर चिनाउनु थियो र कालाहरुकै दु:ख लेख्नु थियो । आफूलाई अगष्ट विल्सनबाटै प्रभावित ठान्ने युवा नाटककार ट्रयासी लेट्सले यतिखेर अमेरिकाका प्रसिद्ध नाटकघरहरु तताएका छन् । ब्रोड वे थिएटर, सिकागो थिएटर, स्टेफेनउल्फ थिएटर जस्ता ठूला कम्पिनीहरुमा उनका नाटकहरु भव्यताका साथ प्रदर्शन भइरहेका छन् । विल्सनले सन् १९८७ मा काला वर्णका मानिसहरुको कथामा आधारित प्रसिद्ध नाटक ‘फेन्सेस्’बाट पुलित्जर पुरस्कार पाएका थिए । ठ्याक्कै २ दशकपछि विल्सनका अनुयायी ट्रयासीले उनको पछिल्लो चर्चित नाटक ‘अगष्ट: ओसेज काउन्टी’बाट टोनी पुरस्कार मात्रै पाएनन् सन् २००८को पुलित्जर पुरस्कार पनि हत्याए । न्यूयोर्कका प्रसिद्ध मानिएका क्रिटिक्स अवार्ड, ड्रामा डेक्स अवार्ड आदि दर्जनौ पदमी यस नाटकले धमाधम पाउँदैछ । पुलित्जर पुरस्कारका लागि उनीसँगै छनौटमा परेका डेविड हेन्रीको ‘एल्लो फेस’ र किस्टोफर सिन्को ‘डाइङ सिटी’ पछि पर्नुको दुई वटा कारण थिए । विषयको गहनता र प्रस्तुति शैली । रक्सी, लागुपदार्थ, आत्महत्या, यौन दूव्र्यसनी तथा पारिवारिक कुसंस्कृति मिसिएको एउटा ३ पुस्ते अमेरिकी परिवारको कथा जसलाई विद्रुप यथार्थको कलात्मक प्रस्तुति मानिएको छ । शैली हास्यप्रदान छ तर घटना र कथा विद्रुप छन् । हास्य र दु:खले भरिपूर्ण यस नाटकलाई अनेकौं कलह र असन्तुलनले भरिएको अमेरिकी परिवारको यथार्थपूर्ण प्रस्तुति मानिएको छ । न्यूयोर्क टाइम्सले नाटकको बारेमा लेखेको छ–असिमित दु:ख र मनोरञ्जनले भरिपूर्ण । यस नाटकलाई अत्यन्तै सबल ‘डार्क कमेडी’ वा ‘ट्र्याजिक–कमिक’ भनिएको छ ।
करिव साढे तीन घण्टा लामो नाटकमा तीन वटा दृश्यहरु छन् । तीन पटक नै विश्राम छ । तेह्र चरित्रहरु छन् । तिव्र गती, हास्यप्रधान, हरेक क्षण मनलाई घच्चच्याउने खालका चरित्रहरु भएको, संवेदनाले भरिएका हरेक घटना र दृश्यहरु भेटिने यस नाटकको प्रस्तुति शैलीलाई अन्त्यन्तै चुस्त र रोचक मानिएको छ ।
बुवाको आत्महत्यापछि आमाको जीन्दगी अझै दुव्र्यसनीपूर्ण हुन्छ । बुवाको काजकृयामा भेला भएका छोरीज्याई तथा परिवारबीच हुने घटनाहरु नाटकको मुख्य कथा हो । विविध चरित्रहरु भएको, धेरै घुमाउरो क्षणहरु मिसिएको यस नाटकमा कम्तिमा एक दर्जन कथाहरु मिस्सिएका छन् । ‘एउटा यस्तो कलह भरिएको परिवारको कथा, नाटक हेर्दा फोटो एल्मम हेरे जस्तो दु:ख, प्रतिसोध र कुसंस्कारको पत्रहरु भेटिन्छन्’, समीक्षक डेभिड कोट अगाडि लेख्छन्–‘नाटककी आमा पात्र यस्ती छ, एउटी आमामा हुने ममता र मानवतारुपी दूध उसमा उहिल्यै सुकीसकेको छ ।’ नाटकका बारेमा एक जना दर्शकले यसरी प्रतिक्रिया दिएका छन्–‘झमझम पानीपरेको दिनमा आफ्नो मन परेको सिनेमाको भाग १, २, ३ गर्दै डिभिडि हेरे जस्तो, भलै यो नाटक हो । हास्दाहास्दा थाकेर हल वाहिर निस्किएको जो कोही दर्शक अझै यो नाटकको भोक महसुस गर्छ ।’
नाटक गीतबाट सुरु हुन्छ । मुख्य पात्र(बुवा)भन्छन्–‘मेरी श्रीमती लागू पदार्थ लिन्छिन् त्यसैले म रक्सी पिउँछु । हामीले एकअर्कालाई घुक्र्याउनले राम्रा बहानाहरु हुन् ।’ मुख्य चरित्र नाटकमा एउटा दृश्यमा मात्रै देखिन्छ । उसले आत्महत्या गर्छ । यस छोटो तर डरलाग्दो भूमिकाका लागि चरित्र छनौट गर्ने क्रममा निर्देशक र लेखकले धेरै टाउको दुखाए रे । अन्त्यमा नाटककार ट्रयासी लेट्सले उक्त भूमिकाका लागि आफ्नै बुवा डेनिस लेट्सलाई छनौट गरे । समीक्षक रिचार्ड जोग्लिन लेख्छन्–‘बास्तवमा ट्रयासी लेट्सले एउटा साहसिलो छोराले गर्ने काम गरे’ । किनकि जब सफल प्रथम प्रदर्शनपछि स्टेफेनउल्फ थिएटरबाट नाटकलाई ब्रोड वे थिएटरमा लामो समयको मञ्चनका लागि सारिने भयो डेनिस लेट्स ‘लङ् क्यान्सर’बाट पिडित भएको पत्तो लाग्यो । उनी एक हप्तामा ८ प्रदर्शन नाटक खेल्थे । जसअनुसार हप्तामा ८ पटक आत्महत्या गर्थे र आफ्नो मृत्युलाई नजिक बोलाउँथे । नाटककार ट्रयासी भन्छन्–‘जनवरीको अन्त्यसम्म बुबाले नाटक खेल्नु भयो । त्यसपछि अस्पताल भर्ना गरियो ।’ अस्पतालबाटै उनी सदाका लागि विदा भए । नाटक र जीवनको अत्यन्तै अनौठो त्रासदी हो यो । भर्खरै स्टेफेनउल्फ थिएटरका लागि नयाँ नाटक ‘सुपेरियर डुनट’ लेखेका ट्र्यासी भन्छन्–‘मेरो नाटक अगष्ट: ओसाज काउन्टीले ठूलो उथलपुथल मच्चायो । मेरो जीवनमा पनि र रङ्गमञ्चमा पनि । जुन कुरा म चाहन्न थिएँ । त्यसैले अहिले मैले सामान्य नाटक ‘सुपेरियर डुनट’ लेखेको हुँ ।’ गत जुन २५ देखि स्टेफेनउल्फ थिएटरमा नाटकको नियमित प्रदर्शन भैरहेको छ । यो नाटकले पनि अमेरिकी रङ्गमञ्चमा तहल्का मच्चाउने समीक्षकहरुको अनुमान छ ।    

सन् १९६५ को जुलाई ४ मा ओक्लाहमा राज्यको तुल्सा भन्ने ठाउँमा जन्मिएका यी ४३ वर्षे नाटककार यतिखेर अमेरिकाका सबैभन्दा तेजिला युवा नाटककारको रुपमा चिनिएका छन् । हुन त सन् ९० को दशक देखि उनले नियमित रुपमा रङ्गमञ्च र नाटकलेखनमा काम गर्दै आएका छन् । सन् १९९८मा उनको नाटक ‘किलर ज्वई’ ब्रोड वे थिएटरमा ९ महिनासम्म चलेको थियो । तर नाटक ‘अगष्ट’ले नै सामान्य नाटककार ट्रयासी लेट्सलाई अचानक प्रसिद्ध नाटककार ट्रयासी लेट्स बनायो । अभिनयबाटै यात्रा थालेका ट्रयासी भन्छन्–‘मैले खेलेको अविस्मरणीय नाटक हुज् अफ्रेड अफ भर्जिनिया उल्फ, यही नाटकले मलाई मेरो जीवनका बारेमा धेरै कुरा सिकायो ।’ असली नाटक लेख्न सकेकोमा चाहिँ उनी अभिनयलाई श्रेय दिन्छन् । भन्छन्–‘अभिनयले नै मलाई रङ्गमञ्च सिकायो । अभिनेता हुनुको ज्ञानले नाटक रचनामा मद्धत पुग्यो ।’ फेरि पनि राम्रो नाटक लेख्न ठूलठूला विषय र भारी शब्दहरु चाहिंदैन भन्ने कुरा ट्र्यासीले देखाइ दिए ।
(सन् २००८ मा कान्तिपुर दैनिकमा प्रकाशित लेख)

Wednesday, February 15, 2017

अनित्य

क्षितिजबाट पग्लॅदै घाम 
समुन्द्रमा स्नान गर्न निर्बस्त्र हुॅदै गर्दा 
समय लजाएर गोधुली भई दिन्छ रातै
र पूर्वमा जून मुस्कुराउॅछन् कलिलो ।
जब छाल उन्मत्त भएर जूनलाई अंगाल्न खोज्छ
चराहरू प्रेमिल भएर छालसॅग प्रित गाॅस्छन् ।
प्रेम छ अनित्य
छ प्रेम सर्वब्यापी ।
आउ यसरी नै प्रेम गरौं
जहाॅ स्वार्थहरू भस्म भएर
प्रकृति झैं एकअर्कामा समर्पित होऔं ।
आउ प्रेमले बाॅचौं ।