Saturday, July 21, 2018

प्रधानमन्त्री ओली अचानक पुगेपछि



आज यस्तो भयो !
सत्याग्रही डा गोविन्द के.सी.को मागको समर्थनमा हजारौं नागरिकहरू माइतिघरदेखि नयाँ बानेश्वर पदयात्रामा थियौँ ! बाटोमा दर्जनौं सुरक्षाकर्मीहरू शान्त खटिएका थिए ! माथेमा प्रतिवेदनको पक्षमा, मेडिकल माफिया र भ्रष्टाचारको विरूद्धमा भीडबाट आवाज आइरहेको थियो ! भीडलाई जब नयाँ बानेश्वरमा सुरक्षाकर्मीहरूले रोके ! भीड त्यहीं अडिएर औपचारिक कार्यक्रमतिर लाग्यो ! डा केदारभक्त माथेमा, खगेन्द्र सङ्ग्रौला, डा बाबुराम भट्टराई, मनिषा कोइराला, करीश्मा मानन्धर, कृष्ण पहाडी, गगन थापा, डा रामेश कोइराला, प्रतीक प्रधान, अमित ढकाल, सुशीला कार्की, रविन्द्र मिश्र, डा जुगल भुर्तेल जस्ता दर्जनौ ब्यक्तित्व अग्र पङ्तीमा थिए । मिनि टाटा गाडीको डालीमा बनाइएको मन्चबाट भाषण चलिरहेको थियो ।




 हामी सारा समर्थकहरू सडकमा बसेका थियौं ! चरक्क घाम लागेको थियो ! घाम चर्किएसङ्गै त्यहाँ अचम्म भयो ।
बिशेष सुरक्षा सहितको नयाँ सरकारी गाडी भीडको अग्रपङ्तीको छेउमा रोकियो । अचानक आएको बिशेष गाडी देखेर भीडको ध्यान त्यतै गयो । भीड अचानक उत्तेजित भयो, जब कालो चिल्लो गाडीबाट सम्माननीय प्रधानमन्त्री केपी ओली ओर्लिनु भयो । उहाँसँगै पछाडि पट्टी माननीय मन्त्री प्रदीप ग्यवाली, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, सस्क्रिती मन्त्री रविन्द्र अधिकारी र साम्सद योगेश भट्टराई पनि हुनु हुन्थ्यो । केही उत्तेजित युवाहरुले प्रधानमन्त्रीको टोलीतिर आक्रमण गर्ने कोसिस गरे । सुरक्षाकर्मीहरु पनि प्रतिकारमा थिए । भीडबाट आएको ढुङ्गाको टुक्रा प्रधानमन्त्री ओलीको निधारमा लागेर निधारबाट रगत बग्यो । त्यस्तो अवस्थामा पनि प्रतिकार नगर्न सुरक्षाकर्मीहरुलाई प्रधानमन्त्रीले हातले ईशारा गर्नु भयो । त्यसपछि सुरक्षाकर्मीहरुको सहयोगमा उहाँ भीडको अगाडि रोकिएको गाडीको डालीमा चढ्नु भयो र उद्घोसकको हातबाट माइक्रोफोन लिनु भयो । सारा भीड उहाँको बिरोधमा नारा लगाई रहेको थियो । उहाँले ३ पटकसम्म शान्त हुन निवेदन गरेपछि मात्र भीड सम्हालियो । 



 त्यसपछि प्रधानमन्त्री ओलीको पहिलो वाक्य सुन्ने बित्तिकै भीड स्तब्ध भयो । उहाँले भन्नु भयो- 'सत्याग्रही डा केसी र तपाईंहरुले यो अवस्थासम्म आईपुग्नु परेकोमा म क्षमा चाहन्छु ।' भाबुक हुँदै ओलीले भन्नु भयो-जुम्ला अस्पातलमा जे भयो, त्यसमा सरकारको गल्तिभयो । यो बिचमा डा केसीको सत्याग्रहलाई लिएर मैले बोलेका अभिब्यक्तीलाई बिर्सिदिनुस् । म र मेरो मन्त्रीमन्डल तपाईंहरुको अगाडि बाचा गर्छ, माथेमा प्रतिबेदनलाई हामी पालना गर्नेछौं । आदरणीय डा केसी आफ्नो अनसनलाई तोड्नुहोस् । तपाईं जस्ता ब्यक्तित्व यो मुलुकलाई आझै खाँचो छ । तपाईं र तपाईं जस्ता विद्वानका कुरा भविष्यमा अझै सुन्ने छु । तपाईंहरु यो जनताको सरकारको शक्ती हुनु हो । बिचमा केही गडबडी भएको हो । अब ती कुरालाई बिर्सिदिनुस् ।'




भीड उत्साहले उत्तेजित भएर 'प्रधानमन्त्री ओली जिन्दाबाद' भन्न थाल्यो । भीडले ओलीजी लाई बोकेर उचाल्यो र आकाशतिर एक्छिन उफार्यो । उहाँको स्वास्थ्यको ख्याल गर्दै उहालाई भुईमा राखियो । उहाँ भीडलाई हात हलाउदै कालो चिल्लो गाडीमा बस्नु भयो । मानानीय मन्त्रीहरु पनि भीड तर्फ हात हल्लाउंदै आआफ्नो गाडीमा बस्नु भयो । 'यो के भयो, ओली जी र सरकारलाई हामीले गलत बुझेका रहेछौं । दुई तिहाई मत ल्याएर बनेको यो सरकार त जनताकै पक्षमा रहेछ ।' भीडमा यस्तै गुनगुन चलिरहेको थियो ।





भीडको बिचमा भुईंमा बसेर कृष्ण पहाडीको भाषण सुनिरहेको म, प्रधानमन्त्री ओलीको यस्तै उच्च स्तरको नेत्रित्वको कल्पना गरिरहेको थिएँ । तर यो सबै त्यतिखेर भाताभुङ्ग भयो जब सुरक्षाकर्मीहरुले चलाएको अस्रु ग्यासले मेरो आँखा र नाक मर्नेगरी पोल्न थाल्यो । लुना र म नाक र आँखा मिच्दै अर्को ठाउँमा बस्यौं । मनमा अनेकौ कुरा खेलिरहेको थियो । के आजको लोकतान्त्रिक भनिएको सरकारले यति सानो कुरालाई पनि समाधान गर्ने हैसियत राख्दैन ? के प्रधानमन्त्री ओलीमा हठ बाहेक कुशल नेत्रित्वको अवशेष बाँकी छ ? सरकारमा रहेका अरु केही नेताहरु जसप्रति हाम्रो निक्कै आशा छ, उहाँहरुले यो संकटको घडीमा प्रधानमन्त्रीलाई सही सल्लाह दिने हैसियत राख्नु हुन्छ ?
यिनै प्रश्नहरुले म थिचिएको छु । र सत्याग्रही डा गोविन्द के.सी.को जीवन रक्षाको कामना गरिरहेको छु ।