Tuesday, September 17, 2013

गोले झान्क्री

ढ्याङ ढ्याङ ढ्याङ
ढ्याङ ढ्याङ ढ्याङ
हन मन हन मन हन मन
आज अचानक आफ्नै मन्त्रले काम गरेन
मेरो यो झान्क्री ढ्याङ्ग्रोले किन
कुनै प्रेतलाई भागाएन ?
ढ्याङ ढ्याङ ढ्याङ...
मसानघाटमा बसेर
चिहानको हड्डी खनेर
तन्त्र साधनाले कम्पित म
हन मन हन मन हन मन
सारा शक्तिलाई लठ्याएर
एकै ठाउमा डल्लो पार्थें
झम्टिदै आउने अजङ्गको बाघलाई
भुमरीमा पारेर घुमाउथें

आकाश, पाताल, बायु, अग्नि भाकेर
भुतहरुलाई रगत छदाउथें
ढ्याङ ढ्याङ ढ्याङ...

तर आज किन आफ्नै मात्रले आँफैलाई लागेन ?
ढ्याङ ढ्याङ ढ्याङ...
ढ्याङ्ग्रो ठोक्दा ठोक्दै भनन्न भो
र मैले डिस्को नाचें
मन्त्र जिब्रो मै लरबरायो र चार्बाक भाकेँ ।
लौ मलाई के भयो मैले आफ्नै माटो छोडें ।
के मैले धेरै सस्कार गर्नु अघी सगुन धेरै पिएँ ?
पिए पनि सगुनै सम्झेर र त पिएँ
बोनका नाम मा पिएं, ईश्वरको नाममा पिएँ
मेरो आफ्नै ढ्याङ्ग्रोको नाममा पिएँ ।
उफ !! आज निक्कै लागेछ मलाई
मेरो झाक्री मन्त्रले काम गरेन
ढ्याङ्रो सुरमा बजेन
र मलाई आफ्नै शक्तिले बच्चाएन
लौ मलाई अचानक के भयो ?
हरे, म गोले झाक्री भएं
मेरै ढ्याङ्ग्रो ठोक्दै मनिसहरु मेरै वरिपरि नाच्दै थिए
र म अचानक गोले झान्क्री मरें । 

Wednesday, July 17, 2013

हराएको विरालो


सुसन घरपालुवा जनावरलाई धेरै माया गर्छ । विरालो उसको सबैभन्दा पन पर्ने घरपालुवा जनावर हो । उनी भन्छन्–‘विरालो मेरो मिल्ने साथी हो । विरालोसँग खेल्न रमाइलो हुन्छ ।’
पुरानो साथी माउ विरालोले उनलाई केही नभनी १ वर्षअघि घर छोडेपछि उनी धेरै दुःखी भए । माऊ विरालोले धेरै वच्चा पायो । तर, सबैलाई राख्न नसकिने । उनको बाबा उज्वलले पनि एउटा विरालो मात्रै पाल्न सकिन्छ भनेपछि उनले सबै विरालालाई उत्तिकै माया गरेनन् । त्यसैले नयाँ बच्चाहरुले घर छोड्दै हिंडे । तर, माउ विरालो उनको मिल्ने साथी बन्यो । गाउँघरमा भनाइ छ, १२ वर्षको भएपछि विरालो जंगल पस्छ । अचानक विरालो हरायो । सुसन भन्छन्– ‘बुढो भइसकेको थियो, कतै गएर मर्यो होला ।’
एकदिन विहान सुसन कोठामा बसेर होमवर्क गरिरहेका थिए । बाहिर बरण्डामा म्याउम्याउ आवाज आयो । विरालो कराएको सुनेर उनी एक पटक झस्किए । बुढो विरालो नै फर्केर आएछ भन्ने उनलाई लाग्यो । हैन रहेछ । नयाँ विरालो पो रहेछ । दुःखी सुसनको अनुहारमा अचानक खुशी छायो । विरालो दुब्लो पातलो थियो । खान नपाएर आएको जस्तो देखिन्थ्यो । सुसनले कुँडेमा राखेको दुध खान दिए । एकैछिनमा विरालो उनको खुट्टामा लुटुपुटु गर्न थाल्यो । स्कुल जाने बेलामा आफुसँगै भात खुवाए । उनलाई त्यसदिन स्कुल जाने मन भएन । विरालोलाई सँगै लिएर जान नमिल्ने । छोडेर जाँदा भाग्ला भन्ने डर । तर, विरालो कै कारणले स्कुल जान्न भन्न पनि उनलाई असजिलो लाग्यो । उनकी मम्मी गीताले भन्नुभयो । धेरै विरालोसँग टाँस्सिएर नबस् छिटो स्कुल जा ।
अल्छी गर्दै सुसन स्कुल गए तर उनलाई पढाईमा मनै थिएन । पहिलो कक्षा अंग्रेजीको थियो । सरले अंग्रजीको ‘ओ’ लेख्दा उनलाई विरालाका आँखा जस्ता लाग्थे । ‘क्यु’ लेख्दा त्यही विरालोको पुच्छर । दोस्रो कक्षा नेपालीको थियो जतिखेर उनले आफ्नो कापीमा ठुलो विरालो बनाए । छैटौ कक्षासम्ममा उनको कापीमा माऊ विरालोका ३ वटा बच्चा पनि जन्मिसकेका थिए । त्यसदिन अन्तिम कक्षा भएन । सुसनलाई अरु के चाहियो ? उनी कुद्धै घर आए । ओरिपरि हेरे । उनले विरालो देखेनन् । मम्मीलाई सोधे । भन्नुभयो–‘खै कहाँ मर्यो तेरो साँढे ।’ त्यसरी माया गरेर खान दिँदा पनि नबसेकोमा उनलाई विरालोले झुक्याए जस्तो लाग्यो । स्कुल जाँदा त्यसलाई डोकोले छोपेर गएको भए पनि हुन्थ्यो जस्तो लाग्यो । ‘तर छोपेको विरालो धेरै कराउने थियो र मम्मीले उघारी दिनु हुन्थ्यो ।’
अचम्म भयो । सुसन टिभी हेरेर बसेका थिए । फेरि साँझ उनले म्याउम्याउ आवाज सुने । बरण्डामा उनले विरालो देखे । अब उनलाई पक्का भयो विरालो उनकै घरमा बस्ने भयो । उनले विरालोलाई धेरै मायाले राखे । आफुले खाने कुरा उसलाई पनि बाँढेर खुवाए । यो पनि छोरी विरालो रहेछ । केही महिनामा त विरालोले ३ वटा बच्चा पायो । सुसनलाई अचम्म लाग्यो । उसले कापीमा बनाएको ३ वटा बच्चा त साँच्चैको भयो । सुसनलाई विरालाका साना बच्चा असाध्यै मन पर्ने । हरेक दिन स्कुल जानु अघि उनी बच्चा खेलाउँथे । साँझ आउँदा त विरालोले अर्कै ठाउँमा बच्चा सारिसकेको हुने । सुसनलाई हरेक दिन बच्चा नहेरी नहुने । विरालोले सुरक्षाको लागि ठाउँ सारी रहने । विरालो घरभरीमा गोप्यगोप्य ठाउँ खोजीखोजी बच्चा साथ्र्यो । सुसनलाई कहिलेकाहीँ बच्चा खोज्न सास्ती हुन्थ्यो । यो खेल चलिरहेको थियो । सुसन र उनका बुबा आमाले पनि सुत्केरी विरालोलाई राम्रै खान्की दिइरहेका थिए । एकदिन सुसनको घरमा साँझ भातको साटो रोटी खाने कुरा भएछ । सबैले दुध रोटी खाए । सुसनले विरालोलाई पनि दुध रोटी दिए । भोली पल्ट विरालो घरमा देखिएन । सबैमा खैलाबैला भयो । सुसन दुःखी भए । संका के गरियो भने ३ वटा बच्चालाई दुध खुवाउने विरालो दुध रोटी खाएर सन्तुष्ट भएन । अघाएन । खाना खोज्न कतै गयो । कसैले विष हालिदियो वा त्यस्तै दुर्घटनामा पर्यो । आखिर विरालो फर्केर आएन । सुसनलाई विरालो हराएको चिन्ता एकातिर थियो भने अर्कोतिर ३ वटा बच्चालाई कसरी बचाउने भन्ने । उसले दुधदानी किनेर ल्यायो र गाईको दुध खुवाउन खोज्यो । तर, भर्खर एक हप्ताका ती बच्चा (छाउराछाउरी)ले दुधदानीबाट दुध खान सकेनन् । तिन्लाई मिल्ने दुधदानी पाइएन । सुसन चिन्ताले रुँदै बच्चाका मुख ‘आँ’ गराएर दुध खुवाउँथे । उनका बाबाले पनि उनलाई सघाए । जतिगरे पनि सुसनले ३ वटै वच्चालाई बचाउन सकेनन् । सुसनका बाबा उज्वलका अनुसार सुसन धेरै रोए । २ दिनसम्म खासै खाना खान मानेनन् । कसैकसैले सुसनलाई विरालाको ‘काजक्रिया’ गरे भनेर जिस्क्याए । सुसन झन् धेरै रोए ।
अहिले सुसन सरस्वती ईङलिस स्कुल बेलेपुर, मोरङमा कक्षा ९मा अध्ययन गर्दैछन् । आफ्नो घरमा विरालो नभए पनि काहीँ देखेभने उनी बोकी हाल्छन् । कसैले विरालोलाई खेदाएको कुटेको देखे भने रिसाउँछन् । अहिले उनलाई लाग्छ त्यसदिन विरालोलाई रोटीको साटो भात दिएको भए त्यसरी हराउँदैन थियो कि ।

Tuesday, July 2, 2013

सांस्कृतिक चेतना र नेपालको राजनीति


संकटमा परेको पंक्षी गिद्धको संरक्षणमा सिराहाका एकजना शिक्षक लागि परेका रहेछन् । गिद्धको बासस्थान र आहारा संकटमा छ । त्यसका लागि उनले एउटा उपाय निकालेछन् । मरेका गाईगोरु बटुलेर गिद्धलाई खुवाउने । अभियानमा केही राजनीतिक कार्यकर्ताले रोक लगाए । ती कार्यकर्ताहरुको राष्ट्रियतासँग जोडिएको तर्क बढो ‘बलियो’ थियो । अमेरिकाको राष्ट्रिय पक्षि गिद्ध हो । नेपालको राष्ट्रिय जनावर गाई अमेरिकाको राष्ट्रिय पंक्षी गिद्धलाई खुवाउने ? यो राष्ट्रघाती काम हो । यो खबर सुनेर म स्तब्ध भएँ । हामी युवाहरुको राजनीतिक चेतना कहाँ छ ? राजनीतिक प्रशिक्षण चलाउने हाम्रा नेताहरु आफ्ना कार्यकर्ताहरुलाई के सिकाउँछन् ? यस्ता धेरै राजनीतिक अन्धविश्वास र अज्ञानता जोडिएर हामी यो बेथिति भोग्दैछौँ । रंगकर्म गर्ने म उकुसमुकुस भएर यो लेख लेख्दैछु । गिद्ध, अमेरिका, गाई र राष्टियताको आइरोनी नेपाली राजनीतिक चेतनाको मुटु हो भन्ने मलाई लाग्छ । धेरै हप्तादेखि यो आइरोनी सजिलो र अफ्ठ्यारो अर्थमा म गम्दो छु । एक त तिनलाई अमेरिकाको राष्ट्रिय पंक्षीमा भ्रम छ । तिनले राष्ट्रियतालाई जसरी यो घटनासँग जोडे तिनको बुझाई तहलाई मैले विश्लेषण गर्न नसकेर यहीँ छोडेँ ।

केही दिनअघि बैद्य माओवादीले मजदुरहरुको पक्षमा गरेको भनिएको कथित आन्दोलनका क्रममा एउटा आपत्तिजनक नारा फुके–“आन्दोलन जारी राख्छौं । चाहे देशका सबै कलकारखाना बन्द गर्नु परोस् ।” मिडियाले यसलाई मच्चिएर फुके मानौ यो सुन्दर राजनीतिक मन्त्र हो । तर यो समाचारले म अत्यन्तै दुखी भएँ । मलाई लाग्यो, एउटा सामान्य अबुझ नागरिकले पनि भन्न नहुने कुरा उनीहरुले गरे । माओवादी युद्धमा विध्वंस भएका संरचनाहरु जत्तिकै आपत्तिजनक स्थिति हो यो देशका लागि । हाम्रा पार्टीहरुले गरेको ठुलाखाले राजनीतिक गल्तीहरुमा कहिल्यै कसैले विचार र पुर्नमूल्याङ्कन गर्यो ? मलाई संका छ । सायद त्यसैले हामी पटकपटक असफल भयौं । देशमा चल्तापुर्जा रहेको राजनीतिक पार्टीले देशका विषयमा कसरी सोच्छ र उसको राजनीतिक चेतना कहाँ छ ? त्यो बुझ्ने बलियो आधार हो । भनेपछि, एउटा राजनीतिक अहमका लागि उनीहरु पुरै देशलाई ठप्प पार्न सक्छन् । सबैलाई सखाप पार्न सक्छन् । अदालती कानुनले यसलाई कसरी परिभाषित गर्छ ? के यो अपराध हैन ?

मैले केही दिनअघि यसै पत्रिकामा एकजना मानिएका नेता प्रदीप ज्ञवालीको धार्मीक तथा सामाजिक अन्धविश्वासबाट निम्तिएका केही क्रुर र अमानवीय घटनाहरु माथिको चिन्ता–लेख पढें । केही समयदेखि म शिल्पीमार्फत निरन्तर महिलाहिंसा र अन्यखाले सामाजिक अन्धविश्वासको विरुद्धमा नाटक तयार पारेर देश व्यापी मञ्चनमा हिंडेको र ती घटनाहरुको नजिक बसेर दर्शकहरुसँग बहस गरिरहेको हुनाले उहाँले लेखेका कुराहरु अझै धेरै मेरो चाखको विषय बने ।

प्रदीप दाइ हामीले मानेका नेता हुनु हुन्छ । उहाँले उठाएका बँुदाहरु निक्कै महत्वपुर्ण लागे । तर मेरो ठुलो चिन्ता के हो भने, आफ्नो पक्षमा समाचार नलेखिएकोमा एउटा पत्रकारलाई ज्यानमार्ने हिसाबले कुटपिट गर्ने (खिलनाथ पर्शुराम घटना)राजनीतिक कार्यकर्ता बोक्सी भनेर कुनै महिलालाई जलाउने पुरुषभन्दा कति फरक छ ? तिनका नेता प्रदीप दाइले बोक्सीका आरोपमा मारिएका वा कुटिएका महिलाहरुको पक्षमा लेख्नु र सांस्कृतिक चेतनामाथि प्रश्न उठाउनु मेरो लागि हास्यास्पद हो । मैले त्यतिखेर आफैसँग धेरै प्रश्न गरे, कुनचाहिं बढि अन्धविश्वास हो ? यतिखेर तिनै पर्शुरामलाई अपराधको कठघराबाट मुक्त गराउन उहाँका कार्यकर्ता चन्दा उठाउँदैछन् रे । राजनीतिक पार्टी र तिनका नेताहरुले आफुसँगै कुम्लोमा बोकेर नसकिने अन्धविश्वासले थिचिएर अरुको अन्धविश्वासको आलोचना के अर्थ छ ? तिनै राजनीतिक अन्धविश्वासको संरक्षणमा धेरै अपराधहरु समाजमा घटिरहेका छन् । हुनत आफ्नै घर भित्रको अन्धविश्वास स्वीकार गर्न लाज हुँदो हो । तर, लगभग देशका सबै मार्ग गुडी सक्दा लाग्यो, राजमार्गहरुमा सडक कर उठाउन किन बढेमाका पाखुरा भएका युवाहरु बस्छन् ? गाडीका ड्राइभर र सहयोगीलाई थर्काउँदै ‘चरी’लाई चिनेको छस् भन्छन् । कसले पालेका हुन तिनलाई ? अहिले अधिकांश मेनपावर कम्पनीहरुमा पार्टीका कार्यकर्ताहरुको संरक्षण छ । गुण्डा पाल्ने राजनीतिक दल बढी अन्धविश्वासी कि ती बोक्सी र धामीझांक्री मान्ने गाउँलेहरु ? देशभरी घुमेर र धेरै युवाहरुसँग भेटेर म आफैसँग प्रश्न गर्ने गर्छु, अनेक राजनीतिक आस्थामा हिंडेका हामी युवाहरुको राजनीतिक सोचमा कसरी आमुल परिवर्तन ल्याउन सकिन्छ ? सबैभन्दा डरलाग्दो कुरा एउटाले अर्कोको अस्तित्व स्विकार्दैन । आज नेपाली राजनीतिले सिकाएको ठुलो संस्कार यही हो । अब हामी कुन संस्कारको कुरा गर्दैछौं ?

सांस्कृतिक र सामाजिक रुपमान्तरणका लागि राजनीतिक चेतको महान् प्रभाव रहन्छ । उसैगरी राजनीतिक संस्कारका लागि सांस्कृतिक चेतको उत्तिकै आवश्यकता छ । अतएव मेरो निरिह आत्मा नेपालका राजनीतिक पार्टी, तिनका नेता र कार्यकर्ताहरुका राजनीतिक चेतनालाई बुझेर सनैसनै एक्लै विक्षिप्त हाँसो हाँस्छ । मलाई लाग्छ नेपालका नेताहरु ठुलो राजनीतिक अन्धविश्वास र अज्ञानतामा काम गर्छन् । यसको कारण छ, तिनीहरु राम्रा किताब पढ्दैनन् । राम्रा गीत सुन्दैनन् । राम्रा नाटक र चलचित्र हेर्दैनन् । ग्यालरी वा पुस्तक पसल जाँदैनन् । स्वस्थ खाना खाँदैनन् । व्यायाम गर्दैनन् । यी सबै तत्वको अभावमा तिनका राजनीतिक र साँस्कृतिक अन्धविश्वास विद्यमान् छ । त्यसैले फिनिक्स चराको मिथ चिनबाट आएको हो भन्ने लाग्छ नेपालका कम्युनिष्ट नेताहरुलाई । जबकी यो ग्रिक मिथ हो । राजनीतिमा कस्तो हँुदो रहेछ भने एउटा नेताले बोकेको अन्धविश्वास सारा कार्यकर्तामा सम्प्रेषण हुने । कला र साहित्यमा अन्धविश्वास त्यसरी अडिदैन, बरु भत्किदै जान्छ ।

लगभग एक वर्षअघि नाटकयात्राको क्रममा दाङ पुगेको बेलामा अचानक बन्द भेटियो । सर्बोच्च अदातलले कंग्रेस नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर्याएपछि विरोधमा नेविसंघका कार्यकर्ता सडकमा ओर्लिएका रहेछन् । हामी लज्जित भएर रोकियौं । उनीहरुसँग कुरा गर्ने मन पनि भएन । तिनको राजनीतिक अज्ञानतालाई कसरी चिर्ने ? खुमबहादुर गिरफ्तार हँुदै गर्दा टिभीलाई भन्दै थिए, सर्बोच्च अदालतका दुई विद्धान्हरुले मेरो विषयमा गलत निर्णय गर्नु भयो । गतल निर्णय गर्नेहरुलाई उनले किन विद्धान् भन्नु ? विद्धान् मानिनैसकेपछि निर्णयको पनि पालना गर्नु । एउटा नेताले आफु सरकारमा बस्ता एउटा नियम बनाउँछ र उसैले बाहिर निस्किएपछि भत्काउँछ । ऊ आफैलाई भ्रम छ, उसको राजनीतिक विचार र आास्था के हो ?

हो धार्मीक र संस्कारगत अन्धविश्वासले हामीकहां वर्षौदेखि अन्याय र अत्याचार हावी छ । तर त्यसको सबैभन्दा ठुलो संरक्षण राजनीतिले गरेको छ । अशिक्षित राजनीतिक कार्यकर्ता र नेताहरुको कुरा छोडौं तर तिनै जान्ने कहलिएका र आधुनिक विचार बोल्छौं लेख्छौँ भन्ने नेताहरु प्रति मेरो दुखेसो हो । समाजमा समस्या छ, त्यसको बृत्तान्तको के कुरा भो । (बाबुराम भट्टराई प्रधानमन्त्री रहँदा गरिवको घरको खाना खाइदिए जस्तो । अचेल भट्टराई उसरी नै नेपालीका दुख बुझ्न गरिवका घरमा जान्छन् कि जान्नन् । उफ् † यो राजनीतिक अन्धविश्वास ।) त्यसको विरुद्धमा हामीले कतिकाम गर्यौं यतिखेर त्यो महत्वपुर्ण हो । कामै नगरी हामी दार्शनिक रोधन गर्छौ भने त्यसको नकारात्मक प्रभाव मात्रै पर्छ । जसरी भट्टराईले गरिवको हैसियत बुझ्न खोज्दा आलोचना भोगे ।

एउटा पार्टीले आफ्ना कार्यकर्ताहरुको राजनीतिक वा सांस्कृतिक प्रशिक्षण कसरी गर्छ भन्ने कुरा गहन छ । त्यसले पनि निर्धारण गर्छ त्यस समाजको सामाजिक अन्धविश्वास । ती प्रशिक्षणहरुमा पक्कै अनगिन्ति त्रुटिहरु भएका छन् । उसले जनजाती, क्षेत्रीबाहुन, दलित, हिन्दु, बौद्धमागी, मुस्लिम आदिलाई हेर्ने दृष्टिकोण संकिर्ण छ । संघीयताको नाममा गरिएको स्कुलिङ गलत छ । फेरि पनि नेपाली राजनीतिले आफ्ना कार्यकर्ताहरुलाई अरुको अस्तित्व नस्विकार्ने खालको स्कुलिङ किन दिइरहेछ ?

रह्यो, सांस्कृतिक चेतनाको कुरा । सरकारी स्कुलहरुमा पढाइ स्थिति विजोग छ । भौतिक पुर्वाधारहरु छैनन् । सौचालयहरु छैनन् । डेक्स ब्रेन्च छैनन् । आधुनिक विचार भएका शिक्षक छैनन् । गगन थापाहरु वर्षौंदेखि स्कुलमा गएर राजनीतिक भाषण गर्छन् र अचानक ‘हामीलाई प्रवेश निशेध अनिवार्य छ’ भनेर चर्चा बटुल्छन् । यतिखेर मलाई लाग्छ, विद्यालयमा म गुरु घिमिरे, मदन संग्रौला, विनोद ढकाल  वा हर्कमान तामाङका वाहियात भाषण सुनेर हुर्कियौं । आज पनि यो क्रम निरन्तर छ ।

मौसमी चर्चा राजनीति र चलचित्रका मिल्दाजुल्दा पक्ष हुन तर सामाजिक र सांस्कृतिक रुपमान्तरणका लागि निरन्तरनिरन्तर अभियान महत्वपुर्ण कुरा हो । परिवर्तन सानासाना कणहरु जोडिएर हुने हो । रुवावासी गरेर केही नहुने रहेछ । यस्ता अन्धविश्वासलाई चिर्न लेखक कलाकारहरुले महत्वपुर्ण भुमिका खेल्छन् भन्ने त तपाईहरुलाई महसुस भएको हुनु पर्छ । खासगरी एमाले र माओवादीलाई । तपाईहरुले त बेलाबखत आन्दोलनमा कलालाई प्रयोग गर्नु भएकै हो । कंग्रेस र अन्य पार्टी त यसमा सुन्य छन् भन्ने मलाई लाग्छ । बुझिएका भनिएका पार्टी वा नेताहरुले पनि सरकारी सांस्कृतिक निकायलाई किन बलियो बनाउन सक्नु भएन । किन राजनीतिक नियुक्तिहरुमा तपाईहरुले काम नलाग्ने मानिसहरुलाई थपनाको रुपमा राख्नु भयो ? प्रदीप दाइ संस्कृतिमन्त्री हुँदा लक्ष्मण रायमाझी जस्ता व्यक्ति सांस्कृतिक संस्थानको महाप्रवन्धक बनाइए । अहिले पनि कुनै अर्का रायमाझी छन् । किन र कसरी यस्ता असक्षम र अदक्ष व्यक्तिहरु त्यहाँ पुर्याइन्छन् ? यो त एउटा उदाहरण हो । स्थिति सबै ठाउँमा यस्तै छ, जहाँ राजनीतिक नियुक्ति छ । अहिलेका संस्कृति मन्त्रीको भाषण सुन्ने कुनै बुझेको मान्छे त्यही रुन थाल्छ । राजनीतिमा आन्दोलनले फड्को मारेझै त्यसभित्रको चेतनाले पनि फड्को मार्न सके सामाजिक र सांस्कृतिक कुसंस्कारहरुमा राजनीतिक संरक्षण हँदैन थियो होला । यसले समाज रुपमान्तरणमा सहज बातावरण सिर्जना गर्ने थियो ।

धेरै नेताहरुले पछिल्लो पटक लेखेका महान् लेखहरु प्रति मेरो खेद छ । आफ्नो काममा असफल भएकाहरु वा बदमासी गरेर दण्ड भोग्नु पर्नेहरु पनि महान् लेखद्धारा आचमन गर्दैछन् । अहिले देशलाई साँच्चै काम चाहिएको छ । ती महान् विचारहरु व्यवहारमा टिक्छन् कि टिक्दैनन् त राजनीतिक लेख लेख्ने सबै नेताहरुले आाआफ्ना क्षेत्रमा अजमाएर हेरे कति जाति हुन्थ्यो ? म व्यक्तिगत रुपमा असफल नेताहरुका महान् लेख र समीक्षाहरुबाट आजित भैसकेको छु । अरु पाठकहरुलाई कस्तो लाग्छ कुन्नी ?

Friday, May 24, 2013

दहितान ढेंकी

दहितान घरको ढिकीको मूल भाग सखुवाले बनेको छ । चुक्का खैयरले बनेको छ । घुर्रा ‘सिसुवा’ले बनेको छ । बेलासा गाउँको यही ढिकीले भन्छ, त्यस गाउँको कथा । बेलासा गाउँका सबै महिला दहितान घरको ढिकी कुट्न आउँछन् र आफ्नो दुःख ढिकीसँग कहन्छन् । दहितान घरमुली धनीरामले छोरा पूmलारामको विहे १४ वर्षको उमेरमै गरिदिए । बुहारी दुःखिनीको उमेर १२ वर्षको थियो । १६ वर्षको उमेरसम्ममा दुःखिनीले दुई छोरी एक छोरा पाइन् । दुःखिनीको १३ वर्से कान्छी छोरी चमेली बड्काको छोरा चुलवाको नाति चिन्टुसँग ‘फिलिम’मा जस्तै भागेर गई । त्यही डरले पूmलरामले अर्की छोरी चम्पीको विहे बालाखैमा गरिदिने भयो । सफा मनकी ‘अस्तुनी’ माछा मार्न सिपालु छिन् । उनको माछा मार्ने जाल पनि राम्रो छ । रिखिलाल र कलावतीको माछा मार्ने जाल फाटेको छ । धेरै माछा मार्न सक्तैनन् । त्यसैले अस्तुनीलाई सबैले बोक्सी ठान्छन् । आज दहितान ढिकीमा जांगर छैन । किनकि चम्पी आफ्नै विहेको पिढो आफ्ै कुट्दैछे । दहितान ढिंकीलाई यस्तो लाग्दैछ ऊ पिठो हैन चम्पीको भविश्य कुट््दैछ । उसकी आमा दुःखीनी वा वहिनी चमेली जस्तै नाबालक चम्पा पनि अब केही दिनमा कुनै अपरिचित नाबालक केटोको श्रीमती हुनेछे । कुनै ठूलो थारु परिवारकी दुलही हुनेछे । सायद नाबालकमै गर्भवती पनि हुनेछे । उसले सानै उमेरमा संसारका महानतम दुःखहरुको अनुभव गर्न पाउनेछे । अब उसको जीवन कहाँसम्म पुग्नेछ हामी भन्न सक्दैनौं ।

Saturday, May 18, 2013

कोलकाता कहानी

                                                             
                                                               
                                      
ढाकाकी मेरी पेन्टर मित्र बन्टी दत्तभन्दा पनि सुन्दर ती बंगाली महिला बंगालका शिक्षा मन्त्री ब्रत्य बसुकी श्रीमती रहिछन् । पल्लबी ? ‘हैन उनको नाम पौलबी’–नेपाली नाट्यटोलीको जिम्मा लिएका सुब्रतो दाले हामीलाई सुटुक्क संच्याएका थिए । पौलबीले लुनाको गाला सुम्सुम्याइन् । मायाले चिमोटिन् । र अत्यन्तै प्रेमपूर्वक अंगालो हालिन् । संम्प्रेषणले त्यो माया मसंग पनि आइपुग्यो । उनै महिला भोलीपल्ट साँझ हयात रिजेन्सीद्धारा नाटक निर्देशकहरुको सम्मानमा आयोजित पार्टीमा देखिइन् । उनले फेरि उसरी नै लुनाका गाला सुम्सुम्याइन् । र, व्याकरण नमिलेको अंग्रेजीमा सोधिन्–तिमी पनि कलाकार हौ ? लुनाको जवाफ सुनेपछि उनले भनिन्–‘प्राय नाटक निर्देशकहरुका श्रीमतीहरु श्रीमान्को निर्देशनमा अभिनय गर्छन् । त्यही भएर सोधेकी ।’ उनको नमिलेको अंग्रेजीबाट फेरि मैले यसरी बुझें– ‘प्राय नाटक निर्देशकका श्रीमतीहरु कलाकार छन् ।’ मैले कुरो बुझेर हासेँ । उनी पनि कलाकार हुन् र उनका श्रीमान् ब्रत्य बसु निर्देशक । बसुको निर्देशनमा उनले धेरै नाटकमा अभिनय गरेकी रहिछन् । फेरि उनले त्यही कुरालाई जोड दिएर भनिन् । जब उनले व्यङ्ग्यात्मक हांसो हांसिन् अनि मात्र मैले अघि उनको कुरो नबुझेको रहेछु भन्ने बुझें । ‘हो, सबै श्रीमान्हरु निर्देशक हुन् र श्रीमतीहरु तिनको निर्देशनमा अभिनय गर्ने कलाकार ।’ पौलबीका निर्देशक तथा हालका शिक्षा मन्त्री अर्को पेग ह्वीस्की थप्दै थिए । पौलबीको हात खाली थियो । मैले सेक्सपियरलाई सम्झें । उनले भने–‘संसार रंगमञ्च हो र हामी केवल यसका कलाकार ।’ पौलबीले भनिन्–‘सबै पुरुष निर्देशक र श्रीमतीहरु तिनका निर्देशनमा अभिनय गर्ने कलाकार ।’ पौलबीले झैं ब्रत्यले लुना र मलाई निकै वास्ता गरिरहेका थिए । रमरम मातेका उनले मलाई तानेर एक प्याग थप्न भने । नेपाली बाणिज्य दूत चन्द्र घिमिरे दाइ नेपाली टोपीमा छुट्टै टलक्क हुनुहुन्थ्यो साथमा थिए इटालीका बाणिज्य दूत । रतम थियाम पार्टीमा आएनन् । हिन्दी र अंग्रेजी पनि नआउने बंगलादेशका निर्देशक अरिफ हैदरसंग गज्जबको भलाकुसारी भयो । खै कसरी भयो तर इटालीको नाटकको खुबै आलोचना गरियो । एक घण्टा ५ मिनेट लामो भनिएको नाटक ४५ मिनेटमै सकियो । भाषा बुझ्ने कुरै भएन । एकनासे पट्यारलाग्दो नाटकको गतिमा केही होला भन्दाभन्दै सकियो । भोलीपल्ट हैदरकै नाटक थियो ‘सपोथ’ । बंगलादेश शिल्पकला एकेडेमीको प्रस्तुति । २० मिनेटजति हेरेपछि म हलबाट बाहिरिएं । सर्बनामको नाटक छोडेर तिनको नाटक किन हेर्नु जस्तो लाग्यो । अति मेलोड्रामाटिक अनि खुट्याउनै नसकिने ‘भेग’ चरित्रहरु । कि कालो कि सेतो । कलाकारहरु कि रुन्छन् कि चिच्याउंछन् । भोलीपल्ट तिनले प्रतिक्रिया माग्लान् भनेर उनीको नजिकै परिन । अर्को सांझ फेरि पार्टीमा भेट्टिए उनी । बडो कुननितिक उत्तर दिएर मख्ख पारें । यो धर्मसंकट हिजोआज मलाई निकै छ ।

रतम थियामको निर्देशनमा कोरस रिपोर्टरी थिएटरको नाटक निकै शक्तिशाली लाग्यो । वि सं. २०५७ श्रावण ३० गते थियामकै निर्देशनमा कोरसको नाटक चक्रव्युह काठमाडौंमा हेर्ने मौका मिलेको थियो । करिव १३ वर्षपछि उनको नाटक हेर्न पाएँ । ईब्सनको यो अन्तिम र दार्शनिक किसिमको नाटक ‘ह्वेन वि डेड अवेकन’ लाई अति भव्य दृश्यमा रुपान्तरित गरेर थियामले रंगमञ्चमा चमत्कार नै गरेका छन् । चक्रव्युह र ‘....अवेकन’मा थियामको सिर्जना १३ वर्ष जत्तिनै फरक पाएं । मेरो बुझाईको तहमा पनि पहिलेभन्दा अहिले फरक पऱ्यो होला । सबैजना श्रद्धाले उनको खुट्टा छुन गए । मलाई भने अफ्ठेरो लाग्यो, नमस्ते मात्रै गरें ।
ब्रत्याजन थिएटर कोलकाताद्धारा आयोजित दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा नेपालको तर्फबाट मजिपालाखे सहभागी थियो । शिल्पी थिएटरको तर्फबाट हामी २० जना महोत्सवमा सहभागी भएका थियौं । अप्रिल १८ देखि २४ सम्म चलेको उक्त महोत्सवमा ४ वटा देशका १० वटा नाट्य समूहहरु सहभागी थिए । महोत्सव आयोजना स्थल ‘स्टार थिएटर’ भारतीय रंगमञ्चका लागि ऐतिहासिक ठाउं रहेछ । दक्षिण कोलकत्ताको पुरानो केन्द्र हात्तीबगानमा अवस्थित यो थिएटरको इतिहास ३ सय वर्ष पुरानो रहेछ । बंगाली थिएटरकी एक प्रसिद्ध कलाकार विनोदिनी दासी जसलाई ‘नटी विनोदिनी’ भनेर पनि चिनिन्छ, उनले धेरै नाटकहरुमा अभिनय गरेको थिएटर रहेछ यो । विनोदिनी दास आत्मकथा लेख्ने दक्षिण एसियाकै पहिली कलाकार रहिछन् । उनको आत्मकथामाथि धेरै नाटक र चलचित्रहरु बनेका छन् । तिनको ठूलो स्केच स्टार थिएटर अगाडि राखिएको थियो । तर, आधुनिक रंगमञ्चका व्याख्याकर्ताहरुले ‘नटी विनोदिनी’को नाम र योगदान उल्लेख नगरेकोमा धेरै बंगाली कलाकारहरु रुष्ट रहेछन् । बेश्यालयमा जन्मिएकी र १२ वर्षदेखि अभिनय सुरु गरेर २३ वर्षको उमेरसम्ममा करिव ८० वटा नाटकमा अभिनय गरेकी नाट्यप्रतिभालाई बंगाली थिएटरले एउटी आदर्शनारीको रुपमा लिदो रहेछ ।
कला संस्था र कलाकर्मीहरुबीचको खटपटी जहां पनि उस्तै रहेछ । कोलकत्ताका अर्का सिर्जनशील निर्देशक प्रोविर गुहालाई महोत्सवले निम्तो नपठाएकोमा रुष्ट थिए उनी । हामीले गरेको निम्तोलाई आधिकारिक नमानेर उनी त्यहां गएनन् । केही वर्षअघि आरोहण गुरुकुलमा उनी केही पटक रङ्गमञ्च तालिमका लागि आएका थिए । शारीरिक रंगमञ्चमा ग्रोटोवस्कीको पाइला पछ्याउंदै काम गर्ने यी निर्देशकलाई भेट्न हामी आफैं एकघण्टा लामो यात्रा गरेर उनको बासस्थान मध्यमग्राममै पुग्यौं । हाम्रो जम्बो टोली देखेर उनी खुसी भए । नयां नाटक ‘एनोदर रेम्बो’को अभ्यासमा रहेछन् । उनले नाटकका केही दृश्य हेर्न आग्रह गरे । शारीरिक चाल र शरीरिक गतिबाटै दृश्य निर्माण गर्न माहिर यिनको यो नाटक पुराना भन्दा उत्कृष्ट र परिमार्जित लाग्यो । रतम थियाम र प्रोविर गुहाका पहिला र अहिलेका नाटक हेर्दा लाग्यो, एउटा निर्देशकको नियमित कामको सफलता भनेकै यहि हो–‘उसले समयसंगै आफूलाई कति परिवर्तन गरेर देखाउन सक्छ ।’ ३० वर्षअघि कै देउराली अहिले पनि हामी उसरी नै रुन्छौं भने हामीले सिर्जना मार्फत समयलाई कहांसम्म पुऱ्याउंछौं ? पत्रकार साथी भाषा शर्माले थियामको नाटक बुझिन भनिन्–‘एकदिन तिनले बुझ्नेछिन् र त्यतिखेर रंगमञ्चले अर्को एउटा सफलता पाउनेछ ।’ नाटक नबुझ्ने र बुझ्ने, साहित्य बुझ्ने र नबुझ्ने एउटा प्रक्रिया रहेछ । यो चलिरहन्छ । र, एउटा बुझिने समाज बन्छ ।
नेपाली बाणिज्यदूतावासले हामीलाई आयोजकसम्म जोड्न सहयोग गऱ्यो । बाणिज्य दुतावासका प्रतिनिधिहरु र केही प्रवासी नेपालीहरु नाटक हेर्न आउनु भयो । धेरै मायाले हामीलाई हेर्नु भयो । नेपाली भाषीहरुका लागि अर्को प्रदर्शन गर्न पाए हुन्थ्यो भन्ने रहेछ । समयको तालमेल मिलेनछ । केही दाइहरु ट्रेन स्टेसनसम्मै छोड्न आएर दु:खी हुनु भयो । नेपाली बाणिज्य दूतावास गयौं । आंप लटरम्म फलेका । चन्द्रदाइले कलाकारहरुलाई सांधेको आप खुवाउनु भयो । पुरा ४ दिन हामी २० जनाको टोली कोलकता घुम्नमा व्यस्त रह्यौं । साथीहरुले नाटक कम हेरे, घुमघाम ज्यादा गरे । त्यो कुरा अलिक चिन्ताजनक थियो । शिक्षा मन्त्री आफैं महोत्सवको आयोजक भएकाले होला, स्रोत गजबले जुटाएका रहेछन् । व्यवस्थापन निकै सबल देखिन्थ्यो । सुब्रतो र प्रान्तिकले हाम्रो टोलीलाई निक्कै सहज तरिकाले ४ दिनसम्म त्यहां राखे । घुमघामको एउटा रोचक कुरा थपि हालौं । ३ जना मध्ये एकजना चालकको नाम थियो बापी । बापीले हामी बसेको गाडी अचानक अर्कै बाटोतिर गुडायो । हामी कालीघाटबाट बिर्ला मन्दिरतिर जानु पर्ने थियो । तर, एउटा गल्लीबाट निकै भित्र छिरेपछि निकै सुरक्षा भएको घर अगाडि उसले गाडी रोक्यो । ऊ गाडीबाट ओर्लियो र मेरो छेउमा आएर छानो हालिएको एउटा सानो भूईंतले घर देखाउंदै भन्यो–‘यही हो ममता बेनर्जीको घर ।’ हामी सबै चकित पऱ्यौं । अचानक यो ? ममताजीका कामका अनेकौं किस्सा त नेपालमै पढेकै हो । वापीले हामीलाई उनको घर पनि देखायो । भन्यो–‘राती बस्न उनी यही सानो घरमा आउंछिन् ।’ ट्याक्स बृद्धिका कारणले विवादमा परेकी ममताले कोलकतामा ब्याण्डनै गरेकी रहिछन् । यतिखेर कोलकाता निकै सफा र सुन्दर देखिन्छ । तर कालीमन्दिरमा पण्डाहरुले दिने दुख, मान्छेले मान्छेलाई तान्ने हाते रिक्सा, सडक बालबालिका र सडकमा सुत्ने मानिसहरुको संख्या उस्तै रहेछ । कोलकाता व्यापारिक र आर्थिक हिसाबले जति जुलिंदैछ तहां गरिब मान्छेका दु:खका चुली पनि उत्तिकै छन् ।
कलाकार लुनिभा तुलाधरले धेरै आफन्तहरुको सामान किनेर ल्याइदिने जिम्मा लिएकी रहिछन् । साडीदेखि बाइकको लाइटसम्म किन्न भ्याइन उनले ।
कलाकार कमलमणि नेपाल र घनश्याम जोशीले त आफ्नो नयां चलचित्र ‘अन्तराल’को प्रोमोसन तस्विर पनि खिच्न भ्याए । ट्रेनमा उनीहरुको ‘अन्तराल’ पोजहरु हेर्न लायकका थिए ।
आदरणीय सत्यमोहन जोशीले लेख्नु भएको नाटक ‘मजिपालाखे’ उहांलाई देखाउनै नपाई उता मञ्चन गरेर आइयो । अब यता देखाउने तारतम्यमा हामी छौं । कोलकताको प्रिमियरले सबैलाई यता मञ्चन गर्ने उत्साह दिएको छ ।

Wednesday, December 26, 2012

अभि सर, समय र चेतना



उहाँको अराजक स्वभाव म आफैले पनि भोगेको हुँ । करिव ३ वर्षअघि । मेरो किताव लेखनको सन्दर्भ थियो । उहाँसँग अन्तर्वाता लिंदैगर्दा विचारको घम्साघम्सी भयो । उहाँ बाड्गिएर हिँड्नुभो । उहाँलाई मैले बैचारिक तवरबाट ‘एप्रोच’ गर्ने सन्दर्भमा केही त्रुटि भएको थियो । यतिखेर मलाई महसुस हुन्छ ।

र, हामी दुवै ठुस्किएर बाटो ततायौँ । शिव दाइ र ठाकुर बेलबासे त्यसको साक्षी थिए । बातावरण खल्लो जस्तो, अहमपूर्ण र अराजक बन्यो । म आफ्नो सोचमा अडिग थिएँ । उहाँ झन् बढि । घर फर्किएपछि भने झनन्न भयो ‘यो के भयो ?’ । दुईचार दिनपछि मात्रै मोबाइल एसएमएसले हाम्रो सम्बन्धलाई झन् दह्रो बनायो । मैले अत्यन्तै श्रद्धा गर्ने उहाँको असीम माया ममाथि झनै बढ्यो । युवाहरुलाई सधै उर्जा दिने यी विद्वान्को एसएमएस पाएँ–‘युव, आइ एम अल्वेज ईम्प्रेष्ट वाई योर इनोभेटिभ इनर्जी । आइ लभ यू युव ।’ यो पढेर म धेरै भावुक भएँ ।
उहाँ दुई पटक कार्यक्रमको बीचैमा मञ्चबाट उठेर हिंडेको देखेको छु । धेरै कार्यक्रममा प्रमुख अतिथिको जिम्मा नलिएको थाहा पाएको छु । धेरैको किताबमा भूमिका लेख्न ठाडै अस्वीकार गरेको बुझेको छु । उहाँले आफ्नो लेखनीको अस्तित्व र परिधिलाई धेरै खतराबाट पटकपटक जोगाएको पाएको छु । उहाँ आफ्नो सत्व र निजत्व जोगाएर लेख्ने विचारक ।
युवा चेतना र उर्जालाई सधैं संगतमा राख्ने अभि सर किन अराजक देखिनु हुन्छ ? किन उहाँ पदको लोलुपताको मुसा दौडमा लाग्नु भएन ? किन संगीतनाट्य एकेडमीमा जानु भएन ? किन भाषा एकेडेमीमा जानु भएन ? साहित्य, विचार र जीवनका बारेमा अनेकौ उत्सुकता लिएर म कात्तिक १८ गते उहाँको मन्डिखाटार स्थित घर पुगें । गरिमाका सम्पादक अविनाश दाइसँगको सल्लाह अनुसार ।
करिव अढाई वर्षपछि भेट भयो । अरु नै रोचक कुराहरु भए । मैले डेनमार्कका कुरा सुनाएँ । कोपनहेगनको ओपन एयर म्युजियममा पटकपटक बसेको स्मरण गर्नु भयो । उहाँले यताको कुरा भन्नु भयो । रङ्गमञ्चको । अन्तर्राष्टिय नाट्य प्रतिष्ठानको सदस्यता नेपालले यस वर्षदेखि गुमाएछ । वार्षिक सदस्यता शुल्क तिर्न नसकेर । उहाँ आफु अध्यक्ष पदमा रहँदा जेनतेन चलाउनु भयो । ‘उतैबाट टिकट काटिदिन्थे । सेमिनारमा कार्यपत्र प्रस्तुत गर्थें । कार्यपत्रका लागि पाएको पैसोले वार्षिक सदस्यता शुल्क तिरिदिन्थें ।’ उहाँले छोडेपछि संस्थाको अस्तित्व नै मेटियो । नेपाली रङ्गमञ्चमा बलिया संस्थाहरु नभएको एउटा नाटककार र समीक्षकको रुपमा चिन्ता व्यक्त गर्नु भयो । शिव दाइ र मैले टाउको हल्लायौं । ‘सरकारले त गरेन । नाट्यसंगीत एकेडेमीको विजोग छ । मैले मान्ने दाजु (अम्बर गुरुङ)को पनि त्यहाँ विजोग नै भयो । तर बाहिर पनि दुईजना सिर्जनशील रङ्गकर्मीहरु एकै ठाउँमा बसेर काम गर्न नसक्ने भए ।’ म आफैलाई सरम लाग्यो । यी नितान्त निजत्व मिसिएका गफगाफ थिए । विन्दु भाउजु (कथाकार विन्दु सुवेदी)ले हार्दिकता सहित चिया र फलफुल खुवाउनु भयो । आत्मिय कुरा भए । लुनाले केही तस्विरहरु खिचिन् । अन्तर्वातातिरको बाटोमा हिड्नै सकिएन । मनै लागेन । त्यसका लागि अर्को दिन भेट्नु पर्ने भयो । बीचमा उहाँ बेलबारी साहित्य महोत्सवमा जानु भयो ।
र आज कात्तिक २८ गते साँझ हामी ठमेलको हिमालयन जाभाको पहिलो तल्लामा अन्तर्वाताकै लागि भनेर बसेका छौं । कवि पुष्प आचार्य अघि नै त्यहाँ पुगिसकेका रहेछन् । अभि सर सधै बस्ने ठाउँमा गयौं । उहाँको निस्चित कुर्सी छ । बस्नु भयो । हामी पनि बस्यौं । अभिसरले भन्नु भयो–‘युव र मेरो गफगाफ छ । एकछिन हामी अर्कोतिर बस्छौं ।’ शिवदाइ र पुष्पलाई छोडेर हामी अर्को टेबलमा आयौँ । वेटरलाई थाहा छ ।
सधैँ झैँ अभिसरको प्रिय ‘हिमालयन हाउस ब्लेन्ड’ कफी आयो । ठूलो कपमा भरी । अब २ घण्टाको बर्तालापलाई यो ठिक्क हुनेछ । उहाँ सधै यही पिउनु हुन्छ । धेरै पटक जाँदा चाल पाएँ । मन पर्‍यो । कफी ठिक्क भुटेको । ताजा । मात्रा मिलेको । पोर्सन अलिक धेरै । चिनी बेगरको । गजबको स्वादिलो । कफीगफको लागि यो नै उपयक्त छ । कफीगफ नारायण वाग्ले र फलानो राजेश के.सी. आइपुगे । इसारामा कुरा भयो । उहाँहरु केही पर बस्नु भयो । हाम्रो गफ जारी रह्यो । तर, कुनै पनि बेला अबरोध हुने कुरामा शंका थिएन ।
यी सेलिब्रेटी प्राध्यापक अभिनारायणसँग जाभामा बस्ताका अनगिन्ति इन्टब्र्सन स्वाभाविक हो । विश्वविद्यालयमा ३७ वर्ष अंग्रेजी साहित्य पढाउँदाका विद्यार्थीको फैलावट सबैठाउँमा पुगेको छ । उहाँका विद्यार्थीका छोराछोरी पनि उहाँका फ्यान नै हुनेभए । ‘कतिका त नातिनातिना भैसके । तिनले पनि मलाई गुरु झैं गर्छन् ।’ उहाँका नाटक र रचनाका, उहाँका वाचन कलाका, उहाँका हास्यव्यङग्य मिश्रित प्रवचनका फ्यान मिसिदा उहाँ आफैँ भेउ पाउनुहुन्न । को विद्यार्थी को अविद्यार्थी † एकपटक भिजे विजयकुमारसँगको अन्तर्वातामा अभिसरले भन्नु भएको थियो । युवाहरु देख्दा उहाँलाई सबै आफ्नै विद्यार्थी जस्तो लाग्छ रे । गुरुकुलको डाडोमा एकजना दर्शकले उहाँलाई नमस्कार गरेछन् । सायद अभिसरले सोच्नु भयो, कोही लेखक पत्रकार हो । मेरै विद्यार्थी हो । भन्नु भएछ–‘लेख्दैछौ ?’ ती महानुभाव छेउमा आएर मलाई भने–‘सरले मलाई चिन्नु भएन । लेख्दैछौ ? भनेर सोध्नुभो । ‘कहिलेकाहीँ’ भनिदिएँ ।’
मानिसहरुको आउने जानेक्रम चलिहरको छ । अभिसरको हात हावामा फरफराउँदो छ । हामी भित्री वार्तामा छौं ।
उही अराजकताको कुरा । ‘म मेरो साहित्य अराजक होस् भन्ने चाहन्छु । म स्वतन्त्र भएर लेख्न चाहन्छु । कुनै राजनीतिक वादको रङ्गले मेरो साहित्यलाई पोत्न चाहन्न ।’ बीपीले त्यस किसिमको साहित्यलाई अराजक साहित्य भन्नुभएको छ । दोस्तोएभ्स्कीले पनि त्यही भनेका छन् । ‘तर फरक विचार भए पनि अन्तरक्रिया हुने ठाउँमा बस्नु पर्छ । यसले नयाँ विचारको आविष्कार गर्छ ।’
सर कहिले र कहाँ जन्मिनु भएको भन्ने शास्त्रीय गनथनमा म लागिन । वि.सं. २००२ साल असार ३ गते, तेह्रथुमको सावला उहाँको जन्म । त्यो अनेक रुपमा प्रकाशित छ । मलाई उहाँ जन्मिएको र हुर्किएको परिवेशको बारेमा जान्न मन थियो । अभिसर गालाको छाला चाउरिने डरको अर्धचेतनामै रहेर फिसिक्क हाँस्दै सुरिलो स्वरमा प्रस्तुत हुनु भयो । बंगालीमा ।
महाभारो तेरो कथा
ओमृत समान
काशीराम दाश कहें
सुन पुन्नवान् ।

आमाले पढ्ने गरेको काँशीरामको बंगाली अनुवाद महाभारतको अंश हो यो । ‘देवनागरी भन्दा पहिला बंगाली जानँे । त्यसपछि देवनागरी र संस्कृत पनि आमाले नै सिकाउनु भयो ।’ अभिसरका अनुसार उहाँकी आमा रमा बंगाली र संस्कृतका श्लोक सालिन र सुरिलो भाकामा गाउनु हुन्थ्यो । त्यसको छाप उहाँमा पर्‍यो । उहाँ पनि उत्तिकै मिठो स्वरमा गाउनु हुन्छ । अझ धर्मराजदेखि नारायण गोपालसम्मका स्वरको नक्कल गजबले गर्नुहन्छ । त्यो कुरा तल आउला ।
परिवेशकै कुरा भन्दै हुनुहन्छ । कुरा राजनीतिक छ । राणा कालीन समयमा अलिक पर पहाडतिर प्रशासन पुग्न गाह्रो थियो । याङ्ला, ताप्लेजुङ, दार्जेलिङमा । त्यसैले राणाहरुले आफ्ना मान्छे खटाउँथे । अभिसरका बुबा भाष्कर पनि राणाहरुका लोकल सरकारका करिन्दा हुनुहन्थ्यो । ‘मेरीआमा र बुबाको राजनीतिक विवाह थियो ।’ विवाहित भाष्कर सुवेदीले दोस्रो विवाह गर्नुको कारण थियो त्यस इलाकामा आफ्नो राजनीतिक पक्कड बनाउनु । उप्रेती परिवार त्यस ईलाकामा सम्पन्न र हर्ताकर्ता थिए । त्यस थरलाई हातमा लिन भाष्करले ११ वर्षकी रमा उप्रेतीसँग विवाह गर्नु भयो । ‘तर आमाले घरमै बसेर भए पनि पढ्ने इच्छा देखाउनु भएछ र तिवारी थरका मानिसले उहाँलाई नेपाली, बंगाली र संस्कृत सिकाए ।’ आमाले पाएको त्यो शिक्षाले नै अभिसरको प्रारम्भिक शिक्षालाई सिञ्चित गऱ्यो । रामायण, महाभारत र गिताका श्लोकहरु आमाको सुरिलो स्वरबाट अभिसरले सुन्न पाउनु भयो । ‘लिम्बुहरुको बस्तीको बिचमा थियो हाम्रो घर’ त्यसैले उनीहरुका संस्कार, हावापानी, जुनघाम र धाराको प्रभाव पर्‍यो । उनीहरुको संस्कारमा आउने मिथको प्रभाव पर्‍यो । ‘यसरी म संस्कृत मुलक र लिम्बु परिवेशको प्रभाव जीवनभरि बोकेर हिड्दो छु ।’ अभिसर थप्नुहुन्छ– ‘अहिलेसम्म तिनै कुराको मिश्रणले मेरो चेतना बनेको छ जस्तो लाग्छ ।’ अंग्रेज र गान्धीका कुरा पनि अभिसरले आमाबाटै सुन्नु भयो । तिथिमितिको एक्किन नभएकोले आमाले त्यतिखेर पनि अंग्रेजहरु भारतमै छन् भन्ने ठान्नु हुन्थ्यो रे । र, अभिसरलाई अंग्रेजी पढ् भन्नु हुन्थ्यो रे । आमाको बारेमा कुरा गर्दा अभिसर ज्यादै प्रफुल्लित र आनन्दित देखिनु हुन्छ । चार महिनाको हँुदा बुबा वित्नुभयो । आमा ९ वर्षअघि मात्रै ८६ वर्षको उमेरमा वित्नु भयो । उहाँको जीवन आमाको प्रेरणा र शिक्षाले सिञ्चित देखिन्छ । उहाँका लागि आमा सर्वश्व ।

अभि सरको स्मृतिबाट इतिहास धारा प्रवाह आइरहेछ । सातसालको क्रान्तिको लहारसँगै हुर्किएको एउटा बालकमा कसरी राजनीतिक लहरले प्रभावित गर्‍यो होला । कथा रोचक छ । अभिसर गाउनु भयो ।

जाग्यो अब सुतेको जाती
तेह्रथुमको पर्वतै उचाली
मुटु खाने गिद्ध आयो एसियामा उड्दै...

गोकुल जोशी, धर्मराज थापा आदिका गीत अभिसरले उहाँहरुकै स्वर निकालेर गाउनु भयो । हिमालयन जाभाका प्यासेन्जर उत्सुक भएर हामीतिर हेरे । एउटा रोमान्टिक मुडमा हामी यात्रा गरिहेका छौं । म दङ्ग छु । यो हिन्दी फिल्मका हिरो हिरोइनका लागि गाउँले सबैले नाचिदिए जस्तो भयो ।
जे होस्, त्यस्ता गीति कविताले उहाँलाई प्रभाव पार्‍यो । भन्नुहुन्छ–‘रुख, चौर, जुन देख्दा यसबाट केही बनाउन पाए हुन्थ्यो जस्तो लाग्न थाल्यो । यही भैरहेको कुरामा केही नयाँ खोज्न मन लाग्यो ।’ एकदिन अभिसरले कोक्रामा रोइरहेको बच्चा देख्नु भयो । कविता फुर्‍यो ‘नानी रोयो’ । स्कुलमा, कार्यक्रमहरूमा उहाँ सानैदेखि गाउनु हुन्थ्यो । मानिसहरुलाई थाहा थियो । बल्लभमणि दाहालले उहाँको कविता लिनु भयो । बनारसबाट छापिने ‘नौलो पाइलो’मा २०१३ सालमा ‘नानी रोयो’ छापियो । उहाँका दाइहरु कम्युनिष्ट पार्टीमा थिए । यसको प्रभाव अभिसरमा पनि पर्‍यो । धर्मराज शैलीमा अभिसरले धनी–गरिवका गीत लेखेर मञ्चमा गाउन थाल्नु भयो । अभिसर उनका गीतका कुरा सम्झिदै भाका हाल्नु हुन्छ । ‘तेजमान लिम्बुको ग्रामोफेनमा धर्मराज थापले गीत रेकर्ड गराए ।’
क्रान्तिकारी हे वीर के.आइ सिंह
कहाँ गयौ झ्याल खान तोडेर
म्याङ्गलुङको सिंहबाहिनी स्कुलमा अभिसरको औपचारिक शिक्षा सुरु भयो । धर्म प्रचारका लागि मद्रासतिरबाट तामिलहरु शिक्षकको रुपमा आए । तिनले ७, ८, ९ र १० मा अंग्रेजी पढाए । यही बेला अभिसरमा क्रिश्चियानिटी र यसका कथाको ज्ञान भयो । तिनले नयाँ नयाँ किताब लिएर आए । पहाडमा हुदा भैंसी र काठमाडौ छिरेपछि साँढेको प्रसंग अभिसरको चेतनामा दरिलो विम्ब भएर आउँछ । हो यही बेला अभिसरले भैंसीमा चढेर दोस्तोएभ्स्कीका कथा पढ्नु भयो । एकदिन पाडोले पिताम्बर लिम्बु फुदाङ्गेको बाली खाइदिएछ । र, फुदाङ्गेले अभिसरको कान मोलेछन् । भन्नुहुन्छ–‘अस्तिसम्म पनि भेट हुँदा फुदाङ्गे लजाउँथे, यी नानीको कान मोलेको थिएँ अहिले त ठूला मान्छे भएछन् भनेर ।’ पत्रकार शेखर खरेलले अभिसर माथि बनाएको डकुमेन्ट्री ‘काठमाडौ ओडिसी’मा देखिन्छ । अभिसर निकै ठूला अण्डकोश भएको साँढेको पछि लाग्दै भैंसी, चेतना र हिप्पीका कथा बर्णन गर्नुहुन्छ ।
कफी जति चिसो हुँदैछ स्वाद झन मीठो हुँदैछ । त्यो मुडले गर्दा पनि हो । अरे, हाउस ब्लेन्ड । इन्टब्र्सन छ । सरको हाते फोन बेलाबेला बजिरहन्छ । भोली सुफी संगीतको सेमिनारमा हैदरावाद जानु छ । एकपटक इटहरीबाट कवि सुमन पोखरेलले फोन गरे ।
प्रसंग ।
‘बालकवयदेखि नै कवि तुलसी दिवसको प्रेरणा र प्रभाव ममा निक्कै थियो । उहाँले मलाई सधैं उकालोतिर उक्लिन प्रेरित गर्नु भयो ।’ स्कुलपढ्दा देखिनै कवितामा अभिसरको पक्कड भयो । राजनीतिको उर्वर चेतनाले उहाँमा विचारको बेग ल्यायो । १५ सालमा बीपीको भाषण सुन्न दाइको पछि लागेर उहाँ धनकुटा आउनु भयो । एसएलसी सकेर उच्चशिक्षाका लागि विराटनगर र धरान आएपछि राजनीतिक अभियानमै हिड्नु भयो । उहाँका दाइ दिल्लीमा अर्थशास्त्र पढ् भनेर कर गर्नुहुन्थ्यो । अभिसरलाई अंग्रेजीको मोह । आफ्नै मोहले जित्यो । त्यतिबेला धरानमा आनन्देव भट्ट अंग्रेजी पढाउने । उहाँ बामपन्थी विचारक । उता अर्का बाम इन्द्र दाइ (बसन्त थापाका बुबा)सँग संगत । विराटनगरमा मनमोहन अधिकारीका पिता रामचन्द्र अधिकारीसँगको उठबस । त्यतिखेर युवा जागरणले अभिसरलाई विद्रोहतर्फ बढायो । २१ सालको कुरा हो । धरानमा कार्यक्रम गर्दागर्दै सरकारले गोली पड्कायो । ‘रातभरी हिंडेर विहान विरकुस पुगियो । त्यहाँबाट रेल चढेर नक्सलबाढी पुगियो ।’ त्यहाँ कांग्रेसका निर्वासित नेता भरतबाबु प्रसाईले शरण दिए । साथमा साथी चन्द्र श्रेष्ठ थिए । यो विचलनले फेरि अभिसरलाई पढाइतर्फ फर्कायो ।
कफी लगभग पीँधमा पुग्न लाग्यो । मैले सन्दर्भहरुमा फड्को मार्नु छ । खासमा मेरो आजको साँच्चैको चासो भनेको अभिसरको भाषाशिल्प र चेतना माथि हो । उहाँले संगीत, चित्रकला, नाटक, रङ्गमञ्च र कवितामा बराबर आफ्नो चेतनाले समालोचनाका स्तम्भ खडा गर्नु भएको छ । इतिहासलाई निजत्व मिसाएर पुर्नलेखन गर्ने र वर्तमानको व्याख्या गर्ने । मानिसका समयका रेखा जोडेर कलाको समसामयिक व्याख्या गर्ने । ती सबै सुन्दर निबन्ध बने । रचना बने ।

जब मैले उहाँका हाइकु पढें । कविता पढें । ‘कार्पेट टाँगिएको आकाश’ पढेँ । (यसभित्रको ‘घर’ निबन्धमाथिको राजनीतिक चेत राखेर झलक सुवेदीले कान्तिपुरमा सुन्दर लेख लेखे ।) निबन्ध र टुँडिखेल पढेँ । उत्तरवर्ती कालखण्डका निबन्ध पढेँ । कति निबन्धमा म आफैँ विम्बका रुपमा प्रयोग भएँ । मेरो उच्च नासिका त्यहाँ आयो । नाटकहरु पढेँ । खेलेँ । खेलाएँ । उहाँको भाषाशिल्प मेरो चेतना र साहित्य समजको एउटा जोल्ठिएको अंग भएर आयो । यसले मलाई रोमाञ्चक तरिकाले पिरोल्यो ।
मेरो त्यो एउटा लेख पढिसकेपछि एकदिन अचानक जस्तै सुनील पोखरेलले मलाई भन्नु भयो–‘तिम्रो र मेरो लेखाईमा पनि अभिसरको प्रभाव आउन थाले जस्तो भयो मलाई ।’ ‘हो र सर †’–मैले भने । प्रसंग थियो नाटक ‘अग्निको कथा’को एकसयएक प्रदर्शन सकिएपछिको मेरो अनुभव लेख । उहाँले फेरि दृष्टिमा नियमित स्तम्भ थाल्नु भएको थियो ।
मैले त्यो लेखको शिर्षक ‘अग्निको कथा, भुन्चे झाँगड र खरानी’ राखेको थिएँ । तर सम्पादक महोदयले परिवर्तन गरेर ‘अग्निको कथा एकसय एक’ बनाइ दिएछन् । लेखभित्रको भाषा र विम्बको प्रयोगमा पनि प्रभाव रहेछ सायद । संगतले, नियमित पठनले कहिलेकाही त्यो प्रभाव आयो होला । तर, उहाँको जस्तो लेख्नु त बढो कठिन छ । अहिले पनि लाग्छ ‘त्यस्तैगरि लेख्न पाए’ । उहाँले निजात्मक विम्बले समयलाई जोडेर राजनीति र समाजलाई देखाउनु हुन्छ । खगेन्द्र संग्रौलाले आफ्नो स्तम्भ लेखनको बृत्तान्तमा लेखेको छन्– कहीलेकाही उनी राजनीतिक अन्यौललाई निक्र्यौल गर्न नसक्दा अभिसरको लेखबाट एउटा दृष्टि पाउँछन् रे । राजनीति र साहित्य उहाँमा डोकाको चोया खप्टिए जसरी आउँछन् । कहिले क्रम मिलाएर । कहिले क्रम भङ्ग भएर । भन्नु हुन्छ– ‘यही कफी हाउस यहाँ खुल्यो । हामी यहाँ बसेका छौं । गगन भाइले युरोपको यो परम्परा यहाँ ल्यायो । हामी आयौं । यो त्यतिमात्रै भएन अब । यसले वरिपरिको राजनीति, समाज र परिवेशलाई पनि तान्छ । हाम्रो जीवन मिसिन्छ ।’ यसरी नै साहित्य सापेक्ष हुन्छ । समय र परिवेशसँग बस्तुता सापेक्ष भएर आउँछ । त्यही भएर उहाँको लेखमा सन्दर्भको फड्को र क्रमभङ्गले पनि एउटा क्रम बनाउँछ । कसैले उहाँको लेख बुझिएन भन्छ भने त्यसमा पनि अर्थ देख्छु म । जस्तो उहाँको तीन शब्दे शीर्षक राख्ने चलन । पछि बाढि नै आयो तीन शब्दे शीर्षकको । र, हामी साथीहरु ‘जोक’ बनाउन थाल्यौँ । अभि सरको तालु, खुइलिएको डाँडो र राजनीति । पिनास, पिसाव र काठमाडौ । भीड, आलु र जीवन । यसरी जे शब्द राखे पनि सुन्दर शीर्षकजस्तो लाग्ने । तर उहाँको लेख र शिर्षकमा विम्बहरुलाई जोड्ने रचनात्मक रेसा हुन्छ शीर्षकमा । जुन कुरा नदेख्नेले देख्दैन । र, हामी साथीहरुले बनाएको ‘प्यारोडि’ शिर्षक जस्तो व्याख्या गर्छ ।
अर्को कुरा यिनको रचनामा देखिने वाक्य निर्माण र एउटै शब्दको अनेकार्थ लाग्नेगरिको प्रयोग । कहिलेकाही अशुद्ध जस्तो लाग्ने, घुमाउरो जस्तो लाग्ने तर बहुआयामिक र कहिलेकाही हास्यव्यङ्ग्य मिसिएको वाक्य निर्माण समालोचक डा. गोविन्द भट्टराईले भने जस्तै साँच्चै उत्तरवर्ती चेतनाका छन् । अभिसरका निबन्ध कृति ‘उत्तरवर्ती कालखण्डका निबन्ध’ पढ्दा पत्तो लाग्छ । लामो भुमिकामा डा. भट्टराईले अघिसरको भाषा शक्तिको उच्च मुल्याङ्कन गरेका छन् । अथवा त्यसपछि अखवारमा छापिएका निवन्ध पढ्दा पनि देखिन्छ । उहाँको एउटा निवन्ध छापियो कान्तिपुर दैनिकमा ‘उनको भन्दा मेरो लिङ्ग कमजोर छ’ । मेरा लागि यो विशुद्ध राजनीतिक लेख थियो । एकजना भारतीय कलाकार नेपाल आउँदाको कार्यक्रममा धेरैले हिन्दीमा भाषण गरे । तर, अभिसरले अंग्रेजीमा बोल्नु भयो । हिन्दीका लिङ्ग बाचक शब्दमा आफू कमजोर रहेको सन्दर्भलाई जोडेर लिङ्ग बलियो हुनेहरुको राजनीतिक दृष्टिको लेख थियो त्यो । पूर्ण कमेडी ।
मैले उहाँको नाटक ‘अग्निको कथा’का केही वाक्य झिकेर प्रश्न राखें । ज्ञानले पूर्णिमालाई भन्छ–‘तिमीले पानी जस्तो जम्नु हुदैन, पानी जस्तै बग्नु पर्छ ।’ अभिसरले भन्नु भयो–प्रकृतिमा पनि त्यो द्वैध चरित्र छ । यसलाई विम्ब बनाएर जीवनलाई बुझाउन खोजिएको हो । पानी कहिले जम्छ कहिले पग्लन्छ भन्दा के नयाँ भयो र ? वाक्यलाई फुटाउने हो र नयाँ तरिकाले भन्ने हो । उहाँका अनुसार कुराहरु सधैं एकै किसिमले भनिरहँदा अर्थहरु हराउँछन् । मान्छेले वास्ता गर्दैनन् । अंग्रेजीमा यसलाई ब्उजभतष्अ भनिन्छ । साहित्यमा यसलाइ भत्काउनु पर्छ । त्यसैले साहित्य हरेक अवस्थामा खतरा हो र यसलाई मोल्नु पर्छ ।
मेरो अर्को वाक्य हो पूर्णिमाले उसकी संगीनीलाई भन्ने सम्बाद–‘तिमीलाई त के थाहा मलाई के थाहा ?’ सामान्य अवस्थामा हामी यसो भन्छौं–‘मलाई त थाहा छैन तिमीलाई के थाहा ।’ झट्ट हेर्दा अशुद्ध जस्तो देखिने अघिल्लो वाक्यले नयाँ अर्थ दिन्छ । पूर्णिमा आफ्नी संगीनीलाई आदरभाव राखेर बोल्दैछे । आफू पनि थाहा भएको र नभएको स्थितिमा छे । अभिसर वाक्यहरुको यसरी नै विनिर्माण गर्नुहुन्छ । भन्नुहुन्छ– ‘म अखवारमा पनि अखवारी भाषा लेख्दिन । विघटनको भाषा लेख्छु । सम्पादकहरुले मलाई त्यो छुट दिएका छन् । नारायण वाग्ले, युवराज घिमिरे, सजग राना, सुधीर शर्मा, शेखर खरेलहरुले मलाई त्यो स्पेश दिए ।’

उमेरको रमाइलो प्याराडक्स । अभिसरले किशोर वयमा आफूभन्दा धेरै पाकाहरुसंग संगत गनुभयो । सिद्धिचरण, सम, विजय मल्ल, अम्बर गुरुङ, शशी शाह आदि । यतिखेर उहाँ युवाहरुको साथमा हुनुहुन्छ । शिव दाइ भन्नु हुन्छ –‘हाम्रा विद्यार्थीहरु पनि उहाँका विद्यार्थीका रुपमा देखिए । तिनका सपना र उत्साह उहाँको खारिएको परिपक्क विचारमा मिसिएर नयाँ गति पायो ।’ अभिसरका लागि लेखन एउटा अत्यन्तै सिन्सियर कर्म भएर आयो । बृहत अध्ययन, कडा मेहनत र उच्च चेतना ।

उहाँको लेखनमा निजान्तमकता अर्को ठुलो विशेषता हो । निबन्धमा मात्रै हैन । कविता र नाटकमा पनि उस्तरिनै देखिएको छ । नाटक आरुका फुलका सपनाको पालेदाइ, मायादेवीको सपनाकी मायादेवी, युमाको नाफेती आदि चरित्रहरु उहाँको संगत र सेरोफेरोबाट आएका सजिव पात्रहरु हुन् । उहाँ भन्नुहुन्छ–‘लेखनमा निजत्व आओस् भन्ने मेरो चाहना हो । अचेल यूरोपतिर पनि यसरी लेखिन थालेको छ ।’ मलाई उहाँका उत्तरवर्ती सोचले यसरी पनि छुन्छन् । जबजब कफीको कपको पींध निख्रिसकेको थियो, भन्नु भयो–‘अब हामी यो सेमी पारसीतिरको रङ्गमञ्चमा लाग्नु हुदैन । अलिक सजिलो तरिकाले नाटक मञ्चन गर्ने योजना बनाऔं ।’ यही कुरा कोपेनहागेनबाट नेपालसम्मको उडानभरि रातभर सोच्दै ‘भारत वर्षे नेपाल खण्डे’ झर्दैथिएँ । नेपाली रङ्गमञ्चलाई चाहिएको यो उत्तरवर्ती सोच फ्याट्ट अभिसरले भन्नु भयो । सुफी सेमिनारबाट फर्केपछि भेट्ने योजना सहित हामीले आआफ्ना घरतर्फ लाग्नका लागि हाउस ब्लेण्ड बार्ता बिट मार्‍यौं । फेरि पुरानै ठाउँमा फर्किएर शिव दाइ र पुष्पसँग विदा भएँ ।




Friday, March 16, 2012

बाबुलाल झाँगडको नोबेल यात्रा



‘मण्डी मल्ला’ । यी दुई शब्द भने सानैदेखि मुखमा झुण्डिएका थिए । प्राय झाँगड साथीहरुलाई देख्दा हामी केही इतरहरु ‘मण्डी मल्ला’ भन्दै जिस्क्याउँथ्यौँ । उनीहरु ट्वां परेर हेर्थे । सम्पतलाल मेरो नजिकको साथी थियो । ‘चामल छैन’–अर्थ थाहा भएपछि नरमाइलो लाग्यो । जिस्क्याउन छोड्यौं । निक्कै वर्षसम्म तिनका यी दुई शब्द मात्रै बुझेँ मैले । म मात्रै हैन साथीहरु जीवन, कुमार, अनिल, भरत कोही पनि झाँगड भाषा बुझ्दैन थिए । मेरा काका कृष्ण र छत्र काफ्ले भने फाट्टफुट्ट बोल्थे । गाउँका कमेडी माष्टर यी युवाहरु उक्त समुदायमा धक खोलेर घुलमिल हुन्थे । काका मुटु समस्याले केही वर्ष अघि वित्नु भो । छत्र गाउँकै प्रा.वि.मा प्रअ छन् । केही वर्ष अघि बनेको उक्त स्कुलमा अधिकांश विद्यार्थी झाँगड समुदायका छन् । त्यहाँ जेनतेन पढ्छन् र पढ्नै छोड्छन् ।
ठाडो लमतन्न सुतेको कर्जुना गाउँको दक्षिणतिर थारु र उत्तरतिर झाँगडहरुको बस्ती छ । बीचमा छन् बाहुन क्षेत्री र बसाई सरेर आएका केही लिम्बुहरु । यो गाउँको करिव ६० वर्षे इतिहासमा अहिले पनि एउटा मात्रै झाँगडको घर गाउँको बीचमा छ । मान्छे मान्छेबीच घुलमिल हुन कति गाह्रो । यसलाई भत्काउन कुनै त्यस्तो गतिविधि पनि भएन । त्यही गाउँका अमिलाल झाँंगड माओवादी समानुपातिकबाट संविधानसभा सदस्य भएर आए । तर, न अमिलालको घरमा चर्पी बन्यो न त उनीहरुलाई हेर्ने हाम्रो दृष्टी फेरियो । थाहा छैन संविधान सभा भवनमा अमिलाल कहाँनेर बस्छन् ।
करिव दुई दशकअघि हाम्रो गाउँमा विद्युत आयो तर विद्युतका खम्बा गाड्ने काम झाँगड वस्तीको मुखमा लगेर रोकियो । तिनका टोलमा बत्ती पुग्न अझै झण्डै १० वर्ष लाग्यो । तर सबैको घरमा बत्ती बलेन । मासिक सुल्क तिर्ने हिम्मत तिनमा थिएन । गाउँका बीचका घरमा कायापलट भए । इँटाका नयाँ किसिमका घर बने । पहिले गाउँमा एउटा मोटरसाइकल आउँदा हामी धुवाँ सुँघ्दै पछि कुद्थ्यौं । धुवाँ मिठो बास्ना जस्तो हुन्थ्यो । अहिले लगभग घरैपिच्छे मोटरसाइकल भएछन् । त्यही धुवाँ गनाएर नाक थुन्नु पर्ने भयो ।
अत्यन्तै मेहेनति र इमान्दार झाँगडहरु विस्तारै गाउँबाट विस्थापित हुँदैछन् । टोल निक्कै पातलिएछ । गाउँलाई यसको पत्तो छैन । लाग्छ त्यो अर्कै छुट्टै भूगोल हो । हरेक वर्ष दशैंको पुर्व सन्ध्यामा धुमधाम मनाउने उनीहरुको महान् चाड धरमकरम धरमकरम पनि झिनो हुँदै गएछ । तल्तिरका केही राई युवाहरु झाँगड युवतीहरुसँग नाच्न पाउने लोभले आउँछन् । (तिनीहरु ज्यादै सुन्दर हुन्छन् ।) एक हप्तासम्म चल्ने यो नाच र पर्वमा अरु कोही मिसिदैनन् । लोडसेडिङ छ । पहिलेपहिले लाल्टिन बालेर नाच्थे † पल्लो गाउँका साना राजाहरुले अलिअलि सहयोग गर्थे रे । अहिले सानाराजाहरुको पनि दिन गयो । धरमकरममा लाल्टिन पनि बल्दैन ।
यसपटकको धरमकरम हेर्न म त्यहाँ पुगेको थिएँ भाइ मात्रिकासंग । सत्येले बजाएको ढोलकको ताल र युवायुवतीहरुको नाचको चालदेखेर नाचाँै लाग्यो । नाचें । मात्रिका लजाएर नाचेन । म नाचेको देखेर सबै केटाकेटी खित्का छोडेर हाँस्न थाले । भिडको छेऊमा लौरो समाएर एक जना बृद्ध टुक्रुक्क बसेका रहेछन् । चिने जस्तो लाग्यो । छेऊमा गएँ । बाबुलाल दाइ पो रहेछन् † तिनको स्वर कर्णप्रिय थियो । सधैं धरमकरममा उनैले गायनको नेतृत्व गर्थे । नाच्न पनि सिपालु थिए उनी । केही पटक देखेको थिएँ मैले । पुराना दिन सम्झिएँ । रात पर्दै गएपनि तिनको स्वर सून्यतालाई चिर्दै हाम्रो घरसम्म आइपुग्थ्यो । हामी अर्ध निन्द्रामा सुन्थ्यौं । त्यहाँ जाने मोह हुन्थ्यो तर सक्दैन थियौं । मध्यरातसम्म गाउँथे उनी र अरुहरु ।
‘लौ कान्छा पो आएछ, बस् बस्’–बढो मायाले तिनले भने–‘कहिले आको ? हाम्लाई माया त मारेको रैनछ ।’ आज बाबुलाल दाइ नाच्दै छैनन्, गाउँदै छैनन् । ‘तपाईलाई ठिक छ ?’ मैले सोधेँ । ‘कहाँ ठिक हुनु नि †’ देखाउँदै भने ‘यो दाइने खुट्टो चल्दैन । चिमोटेको पनि थाहा पाउँदैन ।’–तीन छोराका बाऊ बाबुलालको दु:खको कथामा निक्कै उपकथा थप्पिइसकेका रहेछन् । ‘मन्डी मल्ला, डाग्डरको कुरो त छोड् ।’ मेरो आग्रहमा तिनले लौरो टेक्दै नाचिरहेका युवायुवतीहरुको माझमा आएर सुरिलो भाकामा गीत गाए । स्वर निक्कै माथि तानेर गाए । सरीरमा जिरिङ्ग काँडा उम्रियो । मोवाइलमा रेकर्ड गरें र तिनको यादमा रिङ्ग टोन बनाएँ ।
चिसो साँझमा पनि पसिनाले निथ्रुक्क भिजेछु । घर फर्कियौं । राती अबेरसम्म बाबुलाल दाइ मनमा खेलिरहे । उनले माटो काटेर हाम्रो खेत मिलाएको, आंगन र ग्वाली पुरेको, ती सबै पुराना दिनहरु मस्तिष्कमा फिल्मको रिलजस्तो चलिरह्यो । तिनले गाउँमा सायदै कसैको खेत मिलाउन, आगन र ग्वाली पुर्न बाँकी राखे । बिचरा यिनले सधैं सस्तोमा काम गरिदिए । कहिल्यै पनि उनले मागेको ठेक्का रकम घटाउनु परेन । हामीले सोचेभन्दा दुई पैसा कम नै भन्थे उनी । त्यसैले सबैले उनैलाई काम लाउँथे । उनलाई पैसाको अभाव सधैं भयो । २, ३ तिर कामको एड्भान्स लिन्थे र समस्यामा पर्थे । दिनभरि माटो काट्थे र साँझ सलकपुर वा जोगीचौर गएर टिल्ल भएर आउँथे । एकदिन उसरी नै साँझ खाएर आएछन् । र, खोल्सामा परे छन् । देखें । समाएर घरसम्म पुऱ्याएँ । र, उनकी श्रीमतीमन अगाडि सम्झाएँ । ‘दाइले यसरी धेरै रक्सी पिउनु ठिक भएन । भाउजुले सम्झाउनु पऱ्यो नि । दिनै पिच्छे पिएपछि पैसा, मण्डी कहाँबाट आउँछ त ?’ सोझी भाउजु हँसिली देखिइन् । दाइ केही बोलेनन् । मेरो अर्ति पालन गर्ने संकेत पाएँ । एकछिन पछि त दाइले झोलाबाट कालो रंगको जानेमाने बोतल निकाले । पिँढीमा बसेर दाइभाउजु सँगै लाउन पो थाले ‘दारु’ । म मज्जाले हाँसे । हाँसोमा लाज मिसिएको थियो । बुढाबुढी यति खुशी देखिन्थे, मानौ उनीहरु साँझलाई एउटा उत्सवको रुपमा मनाउँदैछन् । प्वाल परेको छानोबाट जुनको उज्यालो पिडीसम्म आएको थियो । लाग्थ्यो जुन पनि उनीहरुसँगै दारु उत्सवमा छ । आफ्नै अर्ति सम्झिएर काउकुति लागेर आयो । आगनमा तरकारी पाकाइ रहेकी तिनकी कलिली बुहारी मुसुमुसु हास्दै थिइन् । दाइले इसारा गर्दै भने–‘लाउँछस् अलिकति ?’ घर पुगेर सिधै भान्सामा गएँ र एक फ्वाँक ज्वानो फुक्याएँ ।  
सलकपुर छेऊमा बस्नेतको पोखरी खन्दाखन्दै उनको खुट्टो बिग्रिएछ । र, अहिले थला परेर बसेका रहेछन् । बस्नेतले भनेछ, निको भएपछि खन्न आउनु । गाउँमा चन्दाका अनेक बहाना आइरहन्छन् । यस पटक कसैले बास्ता गरेनछन् । बाबुलाल दाइले कान्छो छोरो बिरामी पर्दा एकपटक घरघरमा गएर चन्दा मागेका रहेछन् । फेरि माग्न जान उनलाई अफ्ठेरो लागेछ । जेठा र माइला छोरा पनि मजदुरी गरेर खान्छन् । कान्छो इण्डियातिर छ रे † उनीहरुले पनि उपचारको लागि चासो देखाएनछन् ।
छत्र काफ्लेले साथ दिए । घरघरमा गएर पैसा उठायौं । सुरुमै न्यौपाने माइलाले ५० रुपैया दिए । र एक लेक्चर पिलाए–‘यो जात यस्तै हो, जति गरेपनि नहुने ।’ लौ जातलाई दोष ? रिस उठ्यो, तिनको अज्ञानी बचनलाई तिलाञ्जली दिंदै सहयोगी भावनाको प्रसंसा गऱ्यौँ । अरुले पनि भुतभुताउँदै १०, २० दिए । कठिनले ९ सय रुपैयाँ जम्मा भयो । माइलो छोरोले ५ सय दियो । बाँकी पुरताल मेरो गोजीबाट । विराटनगर स्थित नोबेल अस्पताल लिएर गएँ । पुर्जीको लाइन लामो रहेछ । दाइलाई लाईनमा राखेर म अर्को काम भ्याउन बाहिर निस्किएँ । फर्केर आउँदा पुर्जी हात पारिसकेका रहेछन् । हेर्छु । पुर्जीमा लेखिएको छ–‘बाबुलाल उराम, वर्ष ५ ।’ हाँस् उठ्यो । युवतीले ‘कति वर्ष ?’ भनेर सोधिछन् । बाबुलाल दाइले ५ सालको भनेछन् । पुर्जी काउण्टरमा गएर ती खिरिली युवतीलाई भने–‘यो उमेरको मान्छे ५ वर्षको हुन्छ ? सँच्याइ दिनुस् ।’ ५ सालमा जन्मिएको मान्छे अहिले ६३ वर्षको हुन्छ । उनी उल्टै झर्किइन् ‘यी मधिसेहरु त्यस्तै हुन्छन्’ । आम्मै † तपाई चाहिं के नि ? त्यसमाथि मधिसे हैन मधेसी भन्नु पर्ने । आफू नबुझ्ने अनि सिंगै समुदायदाई दोष दिने ? लाइन लामो थियो । प्रोपोगाण्डै होला जस्तो लाग्यो र अर्ति बन्द गरें । तिनले पुर्जीमा नयाँ स्टिकर टाँसिन् । हिंडे ।
हामी नशा तथा हड्डी विशेषज्ञ कहाँ पुग्यौँ अनि एक्स–रे रुम र फिजियोथेरापिष्ट कहाँ । सबै ठाउँमा मलाई प्रश्न गर्थे–‘उनी तपाईको को ?’ प्रश्नको औचित्य के थियो मलाई थाहा छैन, भनेँ–‘मेरा गाउँले दाइ’ । ती डाक्टरबाबुले मेरो अनुहारमा नहेरी, मसँग कुरै नगरी खुरुखुरु औसधी लेखि दिए । कोठा नम्बर १४ । विशेषज्ञ जो परे । एक्स–रे रुममा बसेकी महिलाले बाबुलाल दाइलाई छुन मानिनन् । ढोकामा विरामी मात्रै भनेर लेखिएको थियो तर, तिनले विरामीलाई समाएर एक्स–रे बेडमा राख्न मलाइ नै लगाइन् । चर्चरी बाजें । भुत्तभुताउँदै उनी निस्किइन् ।
पालो आयो, फिजियोथेरापिष्टको । उनले पनि मलाई उसरी नै प्रश्न गरे । हरेकपटक डाक्टरले यसरी प्रश्न गर्दा लाग्थ्यो, बिरामी ठूलै संकटमा छन् । ‘गाउँले दाइ’–यान्त्रिक उत्तर दिएँ । डा थेरापिष्ट अनिल गुप्ताले बाबुलाल दाइलाई भने–‘एता आएर बस ।’ म रिसले काम्न थालिसकेको थिएँ । फेरि उनले सोधे, ड्रिङ्स् गर्न थालको कहिलेदेखि नि ? मैले भने ‘१०, ११ वर्षदेखि होला’ । थेरापिष्ट झर्किए ‘चुप लाग्नुस् । मैले तपाईलाई सोधेको कि बिरामीलाई ?’ म पनि आगो भएँ । ‘विरामीलाई तपाईले गर्ने व्यवहार यही हो ? मलाई ‘तपाई’ अनि यी बुढालाई चाहिँ ‘तिमी’ ? मैलो लुगा लाएको देखेर हेपेको ? अनि यी निरक्षरलाई ड्रिङ्स् भनेको चाहिं के था नि ? थोडा यिनले मिति टिपेर पिउन सुरु गरे ?’ थेरापिष्टले गल्ती स्वीकारेनन् । बरु नजानिदो पाराले व्यायामसालमा जाने लाइनमा बाबुलाल दाइको पुर्जी सबैभन्दा तल राखिदिए । ‘थुइक्क बुद्धि’ । डाक्टरको व्यवहारले दिग्दार बनायो । शिथिल भएर कुरुवा बेन्चमा बसेँ । पल्लो छेऊमा बसेका अर्का डाक्टर मेरै पक्षमा छन् जस्तो लागेको थियो । एकछिनमा ती जुँगे डाक्टर बाहिर आएर मलाई कोट्याए–‘तपाईको नम्बर पाउँ न’ । ‘९८०३०४–०७–’ । लाग्यो उनी मलाई सहयोग गर्दैछन् । ‘नाम ?’ त्यो पनि भनिदिएँ । उनको नाम सोधाइमा सकारात्मक भाव थिएन । सोधेँ ‘किन सोध्नु भएको ?’ गौरबका साथ तिनले डकारे–‘अघि भित्र बादविबाद भएको थियो नि, त्यसैले ।’ बुझिन–‘अनि के भो त ?’ उनका हिसाबले बहादुरी झल्कने रहस्य खोले । अस्पतालको प्रशासनले मसँग कुरा गर्ने छ । भोली अस्पतालमा तोडफोड वा आन्दोलनको घटना भए मेरो नाम पनि संकाको घेरामा पर्ने छ । मैले पनि उनको नाम र मोवाइल नम्बर सगौरव बाबुलाल दाइको एक्स रेको खाममा लेख्न लगाएँ–‘डा. भिम सरकार’ । सुरुमा त तिनले आनाकानी गरे । पछि नलेखी धर ? निक्कैबेर कुरेपछि बाबुलाल दाइको पालो आयो । तिनको निहितार्थमा मैले पनि व्यायाम सिकेँ । भरे, घरमा गएर फेरि उनलाई सिकाउनु थियो ।
पुर्जी सित्तैमा बनाइदिएर ऐक्स रे र अन्य परिक्षणमा पैसो कुम्ल्याउने नोबेल अस्पतालको बाबुलाल दाइसंगको यात्रा बढो स्मरणीय रह्यो । त्यसप्रतिको मोह पनि भंग भयो । १५ दिन पछि फेरि त्यहाँ जानु पर्ने थियो । बाबुलाल दाइले त्यहाँ नटेक्ने बाचा गरे । म यता राजधानीको भिंडमा भास्सिएँ । एक चरणको औषधी खाएपछि बाबुलाल दाइ अलिअलि हिड्न सक्ने भएका थिए रे † विसेक भएको देखेर उनलाई उदारो दिने किराना पसले, चामल पैचो दिने बाहुन र माटो काट्न एड्भान्स् दिनेहरुको अनुहारमा चमक देखियो होला । क्रमश २५०, २ किलो चामल र ५ सय एड्भान्स् अहिलको बेलामा धेरै पैसो होइन । तर, बाबुलाल दाइका लागि ठूलो पहाड जस्तो भो । त्यस टोलका घरघरका कथा यस्तै छन् । उनी त एक विम्ब भए । छुट्ने बेलामा उनी भन्दै थिए– ‘आङ्ना दु:ख मञ्जा’ ।
आउने धरमकरममा यी दाइ नाच्न सक्छन् कि सक्दैनन् । नाच्दै गाउन सक्छन् कि सक्दैनन् । डाक्टरले रक्सी नपिउनु भनेका थिए । तिनले पक्कै छोडेका छैनन् । चिन्तामा छु ।