Wednesday, November 12, 2014

बुध्द

मान्छे गाई बेचेर दुध किन्छ
जग्गा बेचेर अन्न किन्छ
घर बेचेर डेरामा बस्छ
वा जाडोमा आफ्नै लुगा बालेर अागो ताप्छ
र भन्छ दु:ख पाएँ !
आफु हिंड्ने बाटोमा दिसा बस्छ
र नाक थुन्दै हिद्छ
अरुलाई अपमान गर्छ र आफु सम्मानित नभएकोमा रुन्छ  
हे महासय ! धन्न तिमी छौ र यो संसारको अस्तित्व छ
नत्र यो संसारमा अज्ञानता र दु:ख थिएन भने
राम्रा किताब, फिल्म वा गीत हुने थिएनन शायद !
बुध्द तिमी पनि हुने थिएनौ !!

Friday, November 7, 2014

आगो र स्वर्ग

बल्नको लागि पनि निक्कैबेर कुर्नु पर्ने छ मेरो लासले
आर्यघाटको किनारामा लमतन्न बाँसमाथि
र कोही आफन्तले झन्झट बेहोर्ने छ
मेरो अनुहारबाट झिँगा धपाउन ।

र, आफ्नो बल्ने पालोमा
आगो, आगो, अागो !
हे प्रकृति ! आगो !!
आगोले मलाई बाल्ने छ
मेरो अत्रिप्त आत्मालाई ।
र, किनारामा उभ्भिएर
लोन्द्रा खोलाको गिट्टी बगरमा
वा आर्यघाटको चिसो ओसिलो किनारामा
शायद चरम जाडो याम हुनेछ, नदी पनि जमेको ।
मेरा मलामीहरुले ठिही ठिही गर्दै वा चुरोटको धुवाँ उडाउदै भन्नेछन्
'हे भगवान् स्वर्गमा बास होस् उस्को'
आगो, आगो, अागो !
ठस् ठस् गर्दै बल्ने छ चिसो दाउरा मेरो भोगी शरीरमाथि र मुनि
धुवाँ र गन्धको वाक्वाकीलाई पचाउँदै फेरि भन्ने छन् मेरा आफन्तहरु
'अकालमै मर्यो, स्वर्ग बास होस् यस्को'

मेरा अनगिन्ती अबैध सम्बन्धहरु
धोका  पाएरा प्रेमिकाहरु
आदिम राजाका भन्दा धेरै श्रीमतीहरु
मैले नतिरेको रिण
मैले गरेको खरदारी भ्रस्टाचार
संका  र हिंसा
मैले पानी सरि पिएको रक्सी
बेश्यागमन
अल्छी, निद्रा र मेरा शरीरका रोगहरु
आगो, आगो, आगो !!

हे आफन्तहरु
हे मलामीहरु
के यही हो स्वर्ग जाने बाटो ?
बिन्ती नराख मलाई चितामाथि
आगोले जलाउने छ मेरो अहमलाई र खरानी बनाउने छ ।
म स्वर्ग हैन, धर्तीमै बस्न चाहन्छु अरुकेही दिन वा केही घण्टा
र आफुलाई सच्याउन चाहन्छु अलिकती कम पिएर
आदरणीय मलामी ! स्वर्गमा शायद त्यो अवसर मिल्ने छैन !!

आगो, आगो, आगो
जल्नेछन् मेरा महान् बन्ने रहरहरु । 

Wednesday, September 24, 2014

रमिता-कविता

१
सवारी चालकहरु अचानक बाटो परिवर्तन गर्छन्
पछाडिकालाई पत्तै नदिई ।
नेताहरुले पार्टी परिवर्तन गरे जस्तो
आफ्न वाचा र सिद्वान्त परिवर्तन गरे जस्तो ।
अनि हुन्छ दुर्घटना बीच सडकमा
संबिधान सभा भवन अगाडि ।

२
म निक्कै तल हुँदा तिमी निक्कै खुशी थियौ
त्यसैले मायाले सुम्सुम्यायौ । 
तिमीलाई लाग्यो म त्यहिँ सड्ने छु
मेरो हैसियत त्यत्ती हो 
म नङ्ग्रा खियाउदै जति उकालो चढ्दै तिमीतिर आएँ, तिमी उति डराउन थाल्यौ 
र माथिबाट ढुङ्गा बर्षायौ !!
तर मैले तिमीलाई तिनै ढुङ्गा टिपेर कहिल्यै हानिन 
बरु अलिक पर्तिरबाट यात्रा थालेँ । 
तिमीले देखी हाले, खिसिक्क मुस्कुराएँ, उही तलको मान्छे झैँ 
अचेल तिमी भेट्दा खिसिक्क मुस्कुराउछौ
लाग्यो बद्लिएछौ
तर ढुङ्गा खासल्न त अझै छोडेका रहेनछौ ?
तलबाट आउँदै गरेकाहरुले भनेको !!!



३
बरु ओडाउनलाई कात्रो नहोस् 
स्कुल जानलाई युनिफर्म होस् 
बरु जलाउनलाई दाउरा नहोस् 
लेख्नलाई एउटा कलम होस् 
बरु घाटमा हजारौ मलामी नहुन 
पढाउनलाई १ जना असल गुरु हुन ।
बरु लासमाथी छर्किने चामल नहोस् 
जिन्दगीको यात्रामा अलिकती सामल होस् ।
जीवन भनेको आखिर के नै रहेछ र ?
रामेशले भने जस्तो-बाचुन्जेल गरिने काम न हो !!!
मरेपछि यत्रैसिती-बरु नर्ककै बास होस्
बाचुन्जेल 'जिउने' आश होस् !!!!!



४
राज्य सरकार यतिखेर कर्मकाण्ड बाहेक केही गर्दैन 
मन्त्री मण्डल बनाउने र भंग गर्ने 
मलाई यस्तो लाग्छ, सरकार नभएपनि राज्य आफै संचालित छ 
किनभने यहाँ किसानहरु छन्, खेतमा काम गर्दैछन् 
मजदुरहरु छन्, भारी बोक्दैछन् 
व्यापारीहरु छन्, व्यापार गर्दैछन् 
कसाइहरु छन् मासु बेच्दैछन् 
नगरबधुहरु छन् शरीर बेच्दैछन् 
चोरहरु छन्, चोर्दैछन् 
भ्रष्टाचारीहरु छन्, घुस खाँदैछन् 
पुरुषहरु छन्, गर्भाधान गर्दैछन्
महिलाहरु छन्, सुत्केरी हुँदैछन्
रोगी वा बृद्धहरु छन् मर्दैछन्
घाटेहरु छन् तिनलाई पोल्दैछन्
यो देश यसरी नै चलेको छ ।


स्वतन्त्र सिर्जनाको थलो

समसामयिक रङ्गमञ्च निक्कै व्यस्त र विविधताले भरिएर आएको छ । नेपालको इतिहासमा यो घटनालाई केही वर्षपछि फर्किएर व्याख्या गर्न जति सहज र स्वाभाविक हुन्थ्यो, अहिले बोल्दा अलिक हतारजस्तो हुन्छ । तर, अहिले पनि प्रस्ट देखिने केही घटनाहरू छन् । जसलाई बुझिने गरी लेख्न सकिन्छ भन्ने लाग्छ मलाई ।
मैले यो लेख लेखिरहँदा ५ वटा नाटकघरमा फरकफरक ५ वटा नाटक नियमित मञ्चन भैरहेका छन् । राजधानीका फरकफरक विन्दुहरूमा प्रत्येक साँझ केही मानिसहरू जम्मा हुन्छन् । नाटक हेर्छन् । चियाकफी पिउँछन् । चुरोट तान्छन् । अनेकौँ आलोचना प्रतिक्रिया, घम्साघम्सी हुन्छन् । यसरी अचानक यो अनियमित घटना काठमाडौमा केही महिनादेखि नियमितजस्तो घटित छ । दक्षिण एसियामै अभूतपूर्व उत्सव हो भन्ने लाग्छ मलाई काठमाडौको यो रङ्गमञ्चीय गतिविधि ।
तर, कहिलेकाहीँ आपूm त्यही समयभित्र बाँचिरहँदा आपूmसँगै घटित क्षणहरूलाई तत्कालै मूल्याङ्कन गर्न गाह्रो हुन्छ । त्यसैले पनि यति धेरै गतिविधिहरूले नाटकघर बनाउने, बनाउन खोज्ने वा ती दुवै योजनाबाट टाढा रङ्गकर्मीहरूलाई मात्रै हैन नाटक हेर्न आउने दर्शकहरूलाई पनि अन्योलमा पारेको देख्छु म । केही सिर्जनाकर्मीहरू काठमाडौमा यति धेरै नाटकघर किन बने भनेर घोत्लिँदै छन् । अझ यी गतिविधिहरूबाट सबैभन्दा बढी चिन्तित मानिसहरू ती हुन्, जो अहिलेसम्म नाटकघर गएका छैनन् । म त्यही क्षणको प्रतीक्षामा छु । एकदिन कुनै बहानामा हेलिँदै वा कुनै आफन्त, साथीको करकापमा ती मानिसहरू रङ्गमञ्चमा पुग्नेछन् । रङ्गमञ्चले तिनीहरूलाई गज्जबले पगाल्नेछ । अनि उनीहरू सबैभन्दा बढी रङ्गमञ्चप्रेमी हुनेछन् । समग्रतामा यी नियमित गतिविधिहरूको सबैभन्दा ठूलो प्रभाव र परिणाम यसरी नै देखिनेछ ।
नाटकघर छिरेका ती आदरणीय दर्शकहरू फिल्मभन्दा नाटक नै राम्रो वा कलात्मक फिल्म हेर्नुपर्छ भन्दै क्लिसे नै सही फरक भाषा बोल्न थाल्नेछन् । पुस्तक प्रदर्शनीहरूमा हजारौँ पैसा खर्च गर्नेछन् । पेन्टिड ग्यालरीतिर धाउन थाल्नेछन् । किनभने रङ्गकर्मीहरूले निर्माण गरेका यी ५ फरकफरक थलोहरू नाटकमञ्चन मात्रै गर्दैनन् । किताब विमोचन, किताब बिक्री, चित्रकला प्रदर्शनी, संगीत, नृत्य, कविता र कलाका अनेकौँ विधाहरूसँगै यात्रा गरिरहेका छन् । अन्यथा अर्थ नलागोस्, जन्मजात प्रबुद्ध दर्शकहरूचाहिँ यसभित्र पर्नु हुन्न है । यहाँ अर्को कुरो पनि छ । राजधानीका लेखक, कलाकार, पत्रकारहरू वा बौद्धिक भनिएको त्यो जमात पटकाँैको निम्तो र तारेखबेगर नै कुनै दिन आफैँ नाटकघर, फिल्म हल, कन्सर्टहरू, नियमित कवितावाचन वा चित्रकला प्रदर्शनीमा पुग्नेछ र धक नमानी टिकट काट्नेछ । उनीहरूले यो बुझ्नेछन्, उनीहरूको उपस्थिति आफ्नै लागि फलदायी छ न कि उनीहरू ती नाटकघरहरूलाई कृपा गरिरहेका छन् ।
अचानक सामान्य लाग्ने आकस्मिक नाटकघर निर्माण र नियमित मञ्चनले समग्र ललितकला र संस्कृतिमा परेको प्रभाव यसरी पनि महसुस गर्न सकिन्छ । एउटा पेन्टिङ ग्यालरी खुल्नु र पुस्तकालय खुल्नुभन्दा कति भिन्न छ नयाँ नाटकघर बन्नु । मैले नाटकघर स्पेसको उपयोगिता र संस्कृति निर्माणका लागि अरु कुरासँग तुलना गरेको हँु । खासमा नाटकघरहरू झैं पेन्टिड ग्यालरी, संगीत, फिल्म, किताब पुस्तकालयहरू, बैकल्पिक फिल्म देखाउने घरहरू वा सिर्जनाका अन्य ठाउँहरू सहरमा निर्माण हुनु अति जरुरी छ एउटा विकसित र सभ्य समाजका लागि ।
राजधानीका नाटकघरहरूमा नाटक समयमा सुरु हुन्छ ।
मानिसहरू आफ्नो उडान नछुटाउन एयरपोर्टमा समयमा पुगेजस्तै वा भिजाका लागि राजदूतावासको गेटमा उभिएजस्तै समयमै नाटकघरमा पुग्छन् । राजधानीका सडकहरूमा सभ्यहीन हामी नेपालीहरू जब दूतावासहरूमा भिजा लिन लाइनमा लाग्छौँ, हामी भुइँमा थुक्दैनौँ । खाने कुरा खाँदैनौँ । हल्ला गर्दैनौँ । मोबाइल अफ गरेर राख्छौँ । अन्तर्वार्ताका लागि कुर्ने ठाउँमा बसेका हामी मानिसहरू कसरी अनुशासनका हिसाबले अर्कै भयौँ ? किनभने छेउमा दूतावासका गार्डहरू डन्डा लिएर उभिएका छन् वा भिजाको मोह—डर छ । तर, नाटकघरहरूले डन्डा नबोकी वा भिजाको उच्चतम प्रलोभन नदेखाई राजधानीमा त्यो संस्कारको निर्माण गरेका छन् ।
साहित्य, फिल्म र राजनीतिमा कुरुप मानिएको आलोचनाको संस्कार नाटकघरहरूमा निक्कै फरक र सभ्य देखिन्छ । नाटक सक्किएपछि दर्शकहरूले कलाकार, लेखक वा निर्देशकलाई सिधै आएर आफ्नो मनको कुरा भन्ने गर्छन् । सिधै आएर गरिएको आलोचनामा पनि कुनै कलाकार रिसाएको मैले काठमाडौका नाटकघरहरूमा देखेको छैन । तारिफमा त खुसी हुने नै भयौँ । तुलनात्मक रुपमा यदि आलोचनाले नेपालमा केही सकारात्मक काम भएको छ भने रङ्गमञ्चमै भएको छ जस्तो लाग्छ ।
प्रत्येक दिन नियमित नाटकहरूसँगै अनेकौँ गतिविधि हुने यी ठाउँहरूको निर्माण चाहिँ कसरी भयो त ? यसका केही गुदी कुराहरू छन् । अहिले चलिरहेका ५ वटा नाटकघरहरू नितान्त व्यक्तिगत वा एउटा सानो समूहको चासो र इच्छाशक्तिले निर्मित ठाउँहरू हुन् । रङ्गमञ्चप्रतिको राज्यको पूर्ण बेवास्ता र अपमानको लामो कालखण्डपछि यी नाटकघरहरू बने । नाचघर र एकेडेमीहरूले स्वतन्त्र रङ्गधर्मलाई कहिल्यै प्रोत्साहन गरेनन् । उनीहरुले आफ्नै शासकीय शैलीको कामको पनि निरन्तरता दिन सकेन । नत्र अझै पनि उसले राज्यको तर्फबाट गर्नुपर्ने आफ्नै उत्तरदायित्वहरू प्रशस्त छन् । राजतन्त्र हँुदैदेखि नाचघर र एकेडेमीमा नअटाएका नाट्य समूहहरूले बाहिर उपलब्ध ठूला कोठा वा अन्य ठाउँहरूलाई रङ्गमञ्चको रुपमा उपयोग गरेका हुन् । विभिन्न देशका सांस्कृतिक केन्द्रहरू जस्तै फ्रेन्च कल्चरल सेन्टर, रसियन कल्चरल सेन्टर वा स्कुलहरू नाटक गर्ने वैकल्पिक थलो बन्यो । तर, नियमित नाटक मञ्चन गर्ने समूहहरूको लागि दिर्घकालीन ठाउँ नहुनु जस्तो दुर्भाग्य केही होइन । नाटकका लागि नियमित अभ्यासको राम्रो ठाउँ चाहिन्छ र त्यसका आधारभूत भौतिक पूर्वाधारहरूको इज्जतिलो व्यवस्थापन । आरोहणले गुरुकुलको निर्माण गरेर कमसेकम केही वर्षका लागि आफ्नो नियमित कर्मको लागि ठाउँ बनायो । सर्वनाम यही अभियानमा थियो र उसले आफ्नै जग्गामा दिर्घकालीन नाटकघर निर्माण गर्यो । आरोहण गुरुकुलले रङ्गकर्मीहरूलाई सुन्दर पाठ सिकाइदियो—“आँट्यो भने त हुने रहेछ ।” एउटा संस्थाले गरेको त्यो दुस्साहसपूर्ण कार्यले अरुको लागि बाटो खुल्यो । १० वर्ष त धेरै लामो समय भयो, धेरै रङ्गकर्मीहरू यो मनस्थितिमा छन्, कमसेकम २ वर्षका लागि पनि ढुक्कले नाटक गर्ने ठाउँ यही हो भन्न पाइयो भने हामी केही नियमित अभ्यास गर्न सक्छौँ । कलाकारहरूले तालिम लिन सक्छन् । दर्शकहरूमा नाटक मञ्चन र हेर्ने संस्कारको नियमित बानी बसाउन सक्छौँ । नाटक टिकटमा, यति बजे, यहाँ, हरेक दिन हुन्छ भन्ने एउटा निश्चित योजनाको लागि रङ्गकर्मीहरू छटपटाइरहेको स्थितिमा  ५ वा १० वर्षका लागि कुनै समूहले रङ्गमञ्चको योजना लिएर आउनु यो “नेपाल मण्डले, काठमाडौ सहरे”मा निक्कै ठूलो दुस्साहस हो । लगभग मरिसकेको नाटक हेर्ने संस्कारलाई गुरुकुलले पचासको दशकको अन्तिमबाट ब्यँुझाउने अभ्यास सुरु गर्यो । अनुमान गर्नुहोस्— भाडामा जग्गा लिएर, आफ्नै खर्चमा नाटकघर निर्माण गरेर, कलाकारहरूलाई तलब दिएर, नाटक उत्पादनको सारा खर्च जुटाएर हरेक दिनको नियमित नाटकमा २० जना दर्शकबाट उठाएको २५ र ५० को टिकटबाट कुन खालको अंकगणितले नेपाली रङ्गमञ्च व्यवसायिकतामा जान सक्छ ? त्यही भएर कहिलेकाहीँ आलोचना र मूल्याङ्कन गर्न हतार गर्नु हँुदैन भन्ने मैले ठानेको छु । कमसेकम १० वर्षको यात्रामा २० को ठाउँमा प्रत्येक दिन १०० दर्शक हुन थाले । टिकटको मूल्य दुई सय र पाँच सयसम्म राख्ने हिम्मत आयो । त्यसैले नेपाली रङ्गमञ्च वा नेपाली कलाको व्यवसायिकता पारम्पारिक अंकगणितको व्यापार सिद्धान्तले हेर्ने हो भने विफल छ । तर, यसका उपलब्धिहरू यसले ल्याएको संस्कारको विकास र परिवर्तनका दृष्टिकोणबाट हेरिनुपर्छ जस्तो लाग्छ । अझ नेपाली रङ्गमञ्चले नेपाली चलचित्रको शैलीमा पारेको प्रत्यक्ष प्रभाव उल्लेख्य छ । नयाँ पुस्तामा किताब पढ्ने बानी यसले पारेको अर्को अप्रत्यक्ष प्रभाव हो । कतिपय कला र सिर्जनाहरू लाखौँ मानिसहरूले हेर्दैनन् । केही सिमित मानिसहरूले हेर्छन् तर त्यसको सान्दर्भिकता चानचुने हँुदैन । किनभने ती नाटकहरूले आर्थिक उपार्जनको कुराबाहेक संस्कार, समाज र शैलीका कुरा पनि गर्छन् । खासमा मूल कुरो त्यही हो । रङ्गमञ्चले उठान गरेको शैली र संन्दर्भहरूले ती सिमित मानिसहरूलाई पनि प्रभावित गर्दा तीनको काममा यसको बृहत्तर प्रभाव देखिन्छ । आम मानिसमा चलचित्रहरूजस्तै एकैपटक नपुग्ने चित्रकला, नाटक वा साना खाने कन्सर्टहरूले सीमित समाजलाई प्रशिक्षित गर्ने हो । एउटा सिमित समुदायमा आएको परिमार्जन र सभ्यताले उनको कामलाई बृहत्तर रुपमा अब्बल बनाउँछ । नत्र भने करौडौँ जनसंख्या भएको यो देशमा १ प्रतिशत जनताले पनि नहेर्ने चलचित्र बनाउन छोडौँ भन्ने मूर्ख तर्कहरू आउन सक्छन् । वा ४० लाख जनसंख्या भएको यो राजधानीमा १, २ सय मानिसहरूलाई भेला पारेर गरिने कविता गोष्ठी वा चित्रकला प्रदर्शनीहरूको सान्दर्भिकतामा प्रश्न चिन्ह उठ्न सक्छ । त्यसैले यी ५ वटा नाटकघरमा भएका गतिविधिहरूलाई त्यहाँ लाग्ने भीड वा तिनका टिकट काउन्टरमा जम्मा हुने पैसाले मापन गर्न सक्दैन । यद्यपि नेपाल दक्षिण एसियामै एउटा नमुना देश हो, जहाँ राज्यले एक रुपियाँ पनि सहयोग नगर्दा पनि दर्शकहरूले काटेको टिकटको पैसाले बाँच्ने दुस्साहस गर्दै छ काठमाडौको रङ्गमञ्च । हरेक दिन नाटकघरको बक्स अफिसमा केही हजार रुपैयाँ संकलन हुन थालेको छ र यसैबाट कलाकारहरूले जिविकोपार्जन गर्छन् ।
दर्शक संख्या र पैसाको गन्तिलाई पर्तिर राखेर म यी ५ वटा नाटकघरमा मञ्चित नाटकहरूको कुरो गरौँ । यतिखेर शिल्पीको गोठाले नाटकघरमा हेनरिक इब्सनले लेखेको र प्रवीण खतिवडाले निर्देशन गरेको नाटक “हेड्डा ग्याब्लर”, मण्डलामा सजन थापा मगरको परिकल्पना तथा निर्देशनमा आशुरचनामा आधारित “जम्पिङ फ्रग”, सर्बनाममा प्रविण पुमाको लेखन तथा निर्देशनमा “सुम्निमा पारुहाङ”, भिलेज थिएटरमा डेवोरा मेरोलाको निर्देशनमा टेरिल एल्भिसको नाटक “इन दि रेड एन्ड ब्राउन वाटर” र थिएटर मलमा सायद अशोकको लेखन तथा प्रज्ज्वल पराजुलीको निर्देशनमा “कस्टडी” मञ्चन भैरहेको छ । यी नियमित मञ्चनसँगै थिएटर मलमै शिल्पीको कमेडी स्टोरी टेलिड “एल्लो कमेडी”, रसियन कल्चरल सेन्टरमा शैली थिएटरले एन्टन चेखवको नाटकको नेपाली अनुवाद “वायुपंखी मन” तथा गोठाले थिएटरमा आरम्भ नाट्य समूहको “क्लाउन सो” मञ्चन भए । यति धेरै नाटकहरूको मञ्चनसँगै नाट्यशिल्प र शैलीको विविधता यिनको प्रमुख विशेषता हो । पारसी नाटकहरूको प्रभाव, यथार्थवादी स्तानिस्लावास्किय शैली, ठूला खाले रङ्गमञ्च सज्जाबाट राजधानीको नाटक विल्कुल फरक बाटोमा हिँडिरहेको छ अहिले । क्लाउन, मास्क र फिजिकालिटीको प्रयोग भएर नाटकहरूका फरकफरक दक्षता र शैली भित्रिएको छ । यसले नेपाली नाटकलाई मात्रै हैन नेपाली कला र साहित्यलाई पनि प्रभाव पार्छ । यी विविध शैलीहरू नेपाली रङ्गमञ्चभित्रै यसरी एकैपटक आएको इतिहासमै पहिलोपटक हो कि भन्ने लाग्छ मलाई । एकखाले शैलीमा काम गरिरहेका रङ्गकर्मीहरूको लागि पनि अर्को खाले शैलीका नाटकहरू हेर्दा निक्कै सम्पन्न बनाउँछ ।
नाटकहरूको मञ्चनसँगै केही नयाँ नाटकहरू पनि लेखिए । अभि सुवेदी हाम्रो समयमा सबैभन्दा सक्रिय नाटककार हुन् । त्यसपछि खगेन्द्र लामिछाने, कुमार नगरकोटी, फुलमान बल, सायद अशोक, प्रविण पुमा आदिले काठमाडौको रङ्गमञ्चलाई नयाँ नाटक दिए । कथा, कविता, निबन्धहरू मञ्चन भए । केही विदेशी नाटकहरू नेपाली अनुवाद भएर मञ्चन भए । केही नाटकहरू अंग्रेजी भाषामै मञ्चन भए । यसरी हेर्दा कुन नाटक कसरी मञ्चन भए भन्ने कुरामा वा शैलीगत पूर्वाग्रह कसैले राख्नु आवश्यक छैन । कसैले पूर्वाग्रह राखेरै आलोचना गरेछन् भने पनि रङ्गकर्मीहरूले त्यति खल्वल्लिनु पर्छ जस्तो मलाई लाग्दैन । नियमित साधना हाम्रो धर्म हो । नेपाली रङ्गमञ्च शिल्प र शैलीको यो फराकिलो चौरमा आएको छ । यसले अझै विधाभञ्जन गर्नु पर्छ । खुसीको कुरा भन्नु पर्छ, नेपाली फिल्म, किताब आदिमा पोर्नोग्राफिको शक्तिशाली आक्रमण हुँदा पनि यस्ता कुराहरूबाट यी ५ वटा नाटकघरहरू बचेका छन् । र, समाजप्रति पूर्ण उत्तरदायी भएर काम गरिरहेका छन् ।
तर, अनेकाँै अभाव र अनिश्चिततामा रङ्गकर्मी आफैले मिलेर निर्माण गरेका नाटकघरहरूले सधैँभरि यसरी नै नाटक मञ्चन गर्लान् वा यी नाटकघरहरू सधैँ यसरी नै चलिरहलान् भन्ने छैन । किनभने त्यसका लागि आर्थिक स्रोतको बलियो आधार चाहिन्छ । त्यसैले ती नाटकघरहरूले नियमित नाटक उत्पादन गर्न नसके पनि त्यहाँभित्र हुने प्रत्येक साहित्यिक सांगीतिक कार्यक्रमहरू पनि हाम्रा उपलब्धि हुन् । कुनै दिन जग्गाको लिज मिति सक्किएर वा अन्य कारणले कुनै नाटकघर बन्द हुन पुगेछ भने पनि आजका मितिसम्म यी नाट्य समूहहरूले निर्माण गरेको मञ्चनको इतिहास ज्यादै साहसिक छ । अब नेपाली रङ्गमञ्च मरुभूमिको तातो बालुवामा आफ्नै चुच्चोमा उभ्भिएको फिनिक्स चराजस्तो भयो । मर्दै जिउँदै । एउटाले विश्राम लिए अर्को आउँछ ।
यिनै अनिश्चिताहरूको बीचमा रङ्गमञ्चले निर्माण गरेको ठाउँ र संस्कृति राजधानीका मानिसहरूको भेटघाट र उत्सवको सुन्दर उदाहरण हो । तडकभडक र अनेकौँ तामझामबाट निक्कै फरक सामान्य किसिमले बनेका यी नाटकघरहरूको लोकप्रियताले भन्छ, सर्जकहरू र आममानिसहरू यी नाटकघरहरूको लतमा परिसकेका छन् । यिनको असामयिक निधन भयो भने धेरै स्वतन्त्र मानिसहरूको मन भत्किनेछ । उनीहरूले स्वतन्त्ररुपमा स्वास फेर्ने ठाउँ गुमाउनेछन् ।

Thursday, July 10, 2014

लभ विदआउट बोर्डर

नर्बोगेल ४० । टावर थिएटरको सानो स्टेजमा क्लाउन सो गरेर फर्कदै थिएँ । १४ जुन २०११ । कोपनहेगन । चिसो साँझ थियो । हिउँ पग्लिन अलिअलि बाँकी ढिस्काढिस्की मौन सहरको सेता बुट्टाहरुजस्तो देखिन्थ्यो । कोपनहेगनजस्तो व्यवस्थित सहरमा साँझको साइकिलिङ निक्कै रमाइलो हुन्छ । प्रफुल्लित मन लिएर भित्री बाटो तुफानी वेगमा थिएँ । नर्बोगल पुग्नै लाग्दा गोलीको आवाज सुनियो । मबाट करिब २ सय मिटर अगाडिबाट त्यो आवाज आएको थियो ।
साइकल अचानक रोकियो घ्याच्चै । स्तब्ध भएँ । आत्तिएँ । कुनै निर्णय लिन सकिनँ । कता जाने भन्ने अन्न्यौलमा परेँ । गाडीको झ्यालबाट निस्किएको पेस्तोल बोकेको हात गोली छोड्दो छ । तुफानी वेगमा आएको गाडी तुफानी शैलीमै मलाई हावाको ठूलो झोक्का दिँदै र टायर रोडमा घिसार्दै कालो डाम बसाएर भाग्यो । कसैले पछाडिबाट कुर्सी प्रहार ग¥यो । गाडीको पुछारमा लाग्यो । यो घटना मानौ एक निमेसमा भयो । त्यसैले यतिखेर त्यो क्षणलाई विस्तृत गर्न खोज्दा निक्कै समय लागिरहेको छ ।
Comedy show with Camilla 
मैले भनिरहेको घटनाको सत्यताको आधार के हो ? यतिखेर मलाई सुन्नेहरुले मैले गरिरहेको वर्णनमा विश्वास गर्नुबाहेक अर्को विकल्प छैन । अथवा वर्णन अविश्वसनीय पनि लाग्न सक्छ । अझ डरलाग्दो क्षण त त्यो हुँदो रहेछ, जतिखेर आफैलाई सतप्रतिशत थाहा नभएको घटनाको वर्णन अर्कोले पूर्ण रुपमा विश्वास मानेर सुनिरहेको छ ।
बन्द कोठामा हामी छौँ । प्रहरी अनुसन्धानकर्ताहरु र अनुवादक मलाई घेरेर बसेका छन् । म अलिअलि डराएको छु । लौ सुन्नुस् । करिब ८ राउन्ड गोली चल्यो । गोली लाग्ने युवकको मृत्यु घर आएर समाचार हेरेपछि थाहा लाग्यो । डेनिस समाचार च्यानल । स्क्रिनबाट आँखा नहटाई साथीले अनुवाद ग¥यो । अँ त, त्यो हत्याको म एक साक्षी । हत्यास्थलबाट फनक्क फर्किएर लेकको बाटो हँुदै निस्केँ । सहरको बीचमा लमतन्न ५ वटा लेक सुतेका छन् । लेकको दुवैतिरका डिलमा व्यवस्थित बाटोहरु छन् । त्यही डिलको बाटो मैले समातेँ । मतलब साइकलमा गुडेँ । २ मिनेटभित्र चारै दिशाबाट पुलिसको आपतकालीन साइरन मानिस चिच्याएको रोएको आवाजझँै आउन थाल्यो । यस्तो लाग्थ्यो पुलिस र तिनका यन्त्रको आवाजले चिच्याउँदै मलाई खेदाइरहेको छ । यसरी नै तुफानी वेगमा साइकलको हाइ गियरमा म अपार्टमेन्ट पुगेँ । साथीहरु सारा र याकव घरमै रहेछन्, समाचार अनुवादकहरु । लुना कामबाट फर्किएकी थिइन । यो घटना त्यहीँ भएको थियो, जहाँ भित्तामा ठूलो अक्षरमा लेखिएको थियो ‘फरेनर्स् प्लिज डन्ट लिभ अस अलोन् विद दि डेनिस’ । डेनमार्कको अति कट्टरपन्थी र रुढीवादी पार्टीहरुको विरुद्धमा लेखिएको बलियो नारा थियो, त्यो । हरेक दिनजसो म त्यो बाटो हिड्थेँ । त्यो भित्ते नाराले मलाई चसक्क पाथ्र्यो । तर, त्यसको अर्थ र गहिराइमा पुग्न सकेको थिइनँ । आज यहाँ मिल्यो ।
हिमालयको देशबाट आएको यो नेपालीले जसरी पहिलो पटक हिउँ त्यहीँ देख्यो, १० वर्षे सघन द्वन्द्वबाट पिडित देशको यो नागरिकले मान्छेलाई गोली लागेको पनि त्यहीँ हो देखेको पहिलो पटक । पहिलो पटक नै याकव र साराले कुरा खोले साँझ परेपछि नर्बोगेल सुरक्षित छैन । ख्याल गर्नू । प्रत्येक दिन राति साइकलमा मस्तीले हिँड्ने त्यो ठाउँमा अब साँझ परेपछि हिँड्दा डर लाग्न थाल्यो । आप्रवासीहरुको बाहुल्य भएको ठाउँ हो, त्यो । आफूजस्तै काला अनुहारहरु त्यहाँ देखिएकै हुन् । राइट विङ्स्् अर्थात् डेनिस पिपुल्स् डेमोक्र्याटिक पार्टीको लागि यो ठूलो बहाना हो । म साक्षी बनेर कोपनहेगनको सबैभन्दा ठूलो प्रहरी केन्द्र पुगेँ । व्यक्तिगत डरबाहेक मैले जान्न लायकका र अनुभव गर्ने कुराहरु धेरै थिए । साक्षीसँग आफ्नै मातृ भाषामा अन्तर्वार्ता लिइँदोरहेछ । फाट्टफुट्ट नेपाली शब्द जान्ने एक डेनिस नागरिकलाई बोलाइएको रहेछ । मैले उनको नेपालीभाषाको अल्पज्ञानका बारेमा त्यहाँका अनुसन्धान अधिकृतलाई जानकारी गराएपछि दोस्रो दिन एकजना नेपाली डक्टरलाई अनुवादकको रुपमा बोलाइएछ, जो डेनिस बोल्न सक्छन् । घटनाको साक्षी अर्थात् बयानकर्तालाई अति सुरक्षित र सम्मानजनक व्यवहार गरिँदो रहेछ । खुसी लाग्यो । साँझ फ्याक्ट्री थिएटरमा क्याब्रेट सो थियो । याकव नामका पुलिस अफिसरले मलाई गाडीमा छोडिदिए ।
युरोपका हरेक सिमाना, एयरपोर्ट वा संवेदनशील ठाउँहरुमा अति सुरक्षाको व्यवस्था हुँदा पनि खुलेआम पेस्तोल बोकेर को आउन सक्छ ? अति सुरक्षित ठानिएको ठाउँमा पनि कसरी यस्तो हत्या सम्भव छ ? कन्डक्टर नभए पनि भाडा नतिरी सार्वजनिक यातायातमा यात्रा गर्न नसकिने यो देशमा को छिर्छ, बारुद नै बोकेर ? मलाई सधै अचम्म लाग्ने । तर, अमेरिकाको राजनीतिक संस्कारलाई पछ्याउँदै पूरै युरोपले बिन लादेन र सद्धाम हुसेनलाई अपराधको रोल मोडल मान्यो । म बबुरोसँग धेरै प्रस्नका उत्तर थिएनन् । छैनन् पनि । फेरि किन काला वर्णका आप्रवासीहरु नै यस किसिमको अपराधमा समातिन्छन् ? तर, सत्य त्यही थियो । बाहिरबाट देखिने सत्य । नर्बोगेलमा बाक्लै आप्रवासीहरु बस्छन् र साँझ परेपछि यो ठाउँ असहज बन्छ । नरेब्रो स्टेसन पुग्नुअघिको सानो चोकमा क्याफे छ । क्याफे अगाडि एउटा स्तम्भको टुप्पोमा राखिएको प्रेमको चिन्हको अर्थ पनि यहाँ सान्दर्भिक छ । केही वर्षअघि आप्रवासी युवाहरुबीच त्यहाँ ठूलो हतियार झडप भएको थियो रे । त्यही घटनाको सम्झनामा अब यस्तो नहोस् भनेर विभिन्न किसिमका हतियारहरु प्रयोग गरेर प्रेम चिन्ह बनाइएको रहेछ । स्तम्भमा १० फरक भाषामा लेखिएको छ ‘हामीसँगै बस्न चाहन्छौँ’ । यो चिन्हले मलाई सन् १९७४मा पोर्चुगलका सैनिकहरुले गरेको ‘कार्नेसन रिभ्यु लेसन’ को याद दिलायो । सैनिकहरुले एउटा यस्तो प्रतीकात्मक आन्दोलन गरे, उनीहरुले आफ्नो पेस्तोलको टुप्पोमा फूल राखेर कोलोनियल युद्धको विरुद्धमा ओर्लिए । आज पनि एप्रिल २५, पोर्चुगलका लागि स्वतन्त्रताको दिन मानिन्छ । उनीहरुको लागि यो राष्ट्रिय विदाको दिन हो । तर, नरेब्रोको त्यो स्तम्भले पर्यटकहरुका लागि तस्बिर खिच्ने ठाउँबाहेक खासै ठूलो अर्थ राखेन सायद ।
केही महिनापछि डेनिस रङ्गकर्मी बिर्थे ज्याकवसनले साथी आरोन र मलाई एउटा नाटक खेल्न अनुरोध गरिन् । अलिअलि पारिश्रमिक पनि पाइने र डेनिसहरुसँग नाटक पनि खेल्न पाइने । ठूलो रहरले त्यो नाटक खेलियो । हाम्रो भूमिका उही थियो अर्थात् इमिग्रेन्ट युथ । कोलम्बियन आरोन र नेपाली युवराज ती आम इमिग्रेन्टको मज्जाले प्रतिनिधि बन्न सके । नाटकले अपराधको कुरा त गरेन । तर, रैथाने डेनिस र इमिग्रेन्टहरुबीचको द्वन्द्व र बेमेल यसले व्यक्त ग¥यो । एउटै कम्युनमा बस्छन् तर एकअर्कालाई बुझ्न सक्दैन । पृथक् संस्कृति र धर्म मान्ने दुई भिन्न समुदाय निक्कै लामो समय एउटै सहरमा बसेर पनि कसरी एकअर्कालाई बुझ्न सकिरहेका छैनन् । नाटक राम्रो उदाहरण थियो ।
भौतिक र शैक्षिक रुपमा अत्याधिक विकासमा पुगेको यो देशका राम्रा कुराहरु धेरै छन् । तर, यहाँनिर मैले सभ्य मानिएको सहरभित्र लुकेर बसेको अपराध र वर्णका आधारमा हुने भेदभावको कुरा स्मरण गर्न चाहेको हुँ । एउटा ठूलो विरोधाभाष त्यस समाजमा मैले देखेँ । पुरानो पुस्ता अर्थात् राइट विङ्स् पार्टीको पक्षधर । सन् १९९५ मा स्थापित यो पार्टी अन्तरसांस्कृतिवादको विरुद्धमा छ । उनीहरु अर्को देशको मानिस आफ्नो सहरमा देख्न चाहँदैनन् र आफूहरु पनि परसम्म यात्रा गर्दैनन् । लुना र मैले अक्सर सामना गर्नुपर्ने प्रश्न ‘आफ्नो ठाउँ छोडेर यति टाढा किन आएको?’ यस पार्टीकी प्रमुख नेतृ पिया काइजगार्डको अन्तर्वार्ता डेनिस टेलिभिजनमा प्रशस्त आइरहन्थ्यो । भाषा नबुझे पनि तिनको हाउभाउ र व्यक्तित्वलाई नियालिरहन्थेँ । उनी निक्कै कठोर र अस्वाभाविक देखिन्थिन् । खै किन हो, डेनिस सरकारी कार्यालय, अझ डेनिस दुतावास जाँदा त्यहाँका कर्मचारीहरुमा पिया काइजगार्डको स्वभाव महसुस गर्छ‘ ।
अर्को नयाँ पुस्ता जो लामो याात्रा गर्न चाहन्छ र इमिग्रेन्टस्लाई समाजमा मिसाउनु पर्छ भन्ने पक्षमा छ । अन्तरसांस्कृतिक र अन्तरदेशीय सम्बन्ध र विवाहलाई स्वीकारिरहेको छ । विकासे संस्थाहरुका काम गर्नेमा बढी यो चेत आएको देखिन्छ ।
Love Tower at Narrebro, Copenhagen

२००९ को अगष्ट २१ । कोपनहेगन पुगेको दोस्रो दिन नै मैले एउटा ठूलो जुलुसमा भाग लिएँ । साथी क्रिष्टिनाको निम्तोलाई स्वीकारेर म त्यहाँ पुगेको थिएँ । डेनमार्कमा कमै हुने यस खाले जुलुसमा १० हजार मानिसहरुको सहभागिता रहेको अनुमान गरिन्छ । यसको कारण थियो, तत्कालीन डेनिस सरकारको इमिग्रेन्टहरुमाथिको ज्यादती । दक्षिण एसिया र खासगरी पाकिस्तानीहरुको संख्या कसरी घटाउने भन्ने योजनाअनुरुप डेनिस सरकारले जुक्ति झिक्यो । सम्पूर्ण पुरुषहरुलाई परिवारबाट समातेर सिधै एयरपोर्ट पु¥यायो र तिनका परिवार पनि फर्काउने योजना रचियो । रातारात तिनका श्रीमती र परिवार एउटा चर्चको शरणमा परे । तिनकै आप्रवासन र मानवअधिकारका लागि डेनिसहरुको ठूलो जमात सडकमा ओर्लिएको थियो । जुलुस अचम्म लाग्दो थियो । तोडफोड थिएन । होहल्ला र कोलाहल थिएन । एउटा उत्सवजस्तो थियो, जहाँ निक्कै युवाहरु आप्रवासीहरुको अधिकारका लागि नैतिक रुपमा लडिरहेका थिए ।
सन् सत्तरीको दशकमा कामदारका रुपमा निक्कै पाकिस्तानीहरु नर्बे र डेनमार्क ल्याइए । अन्तरसांस्कृतिक विवाह र लामो बसाइले तिनका सन्तानहरु बढ्न थाले । अनेकाँै बहानामा तिनले आफ्ना परिवारलाई डेनमार्क भित्र्याए । अहिले डेनमार्कमा करिव ७० हजार पाकिस्तानीहरु भएको अनुमान गरिन्छ । आप्रवासीहरुको बढ्दो संख्या पारम्पारिक सोचका युरोपियनहरुको लागि ठूलो समस्या हो । त्यसमाथि पनि कालो वर्णका र मुस्लिम धर्म मान्नेहरुलाई हेर्ने उनीहरुको आपराधिक लोगोयुक्त छाप । खासमा चिन्ता अतिवादीहरुको हो । धर्म, सिद्धान्त र निश्चित भुगोलको सिमाना बनाएर बसेका अतिवादी र कट्टरपन्थीहरुको टकरावले युरोप र मुस्लिम देशहरुबीच ठूलो दूरी सिर्जना ग¥यो । त्यो प्रभाव हामीसम्म आइपुग्यो । हुन त यो समस्या संसारभरकै हो । अहिलेलाई उतै लागौँ । एकातिर नब्बेको दशकदेखि डेनमार्क र खासगरी स्क्यान्डिनेभियामा राइट विङ्स् पार्टीहरु आक्रामक हुँदै आउनु र अर्कोतिर सन् २००५ मा डेनिस पत्रिका जटल्यान्ड पोस्टले मोहम्मदको कार्टुन छाप्नुले दुई फरक समुदायबीचको द्वन्द्वलाई झन् बढायो । १२ जना डेनिस कार्टुनिस्टहरुले बनाएको १२ वटै कार्टुनले मुस्लिम देशहरु निक्कै विचलित भए । १२ जना कलाकारहरुको ज्यान मात्रै जोखिममा रहेन । यस विषयमा डेनमार्क सरकार र राज्य पूरैै सम्लग्न हुन कर लाग्यो ।
जुलाइ १९, २०११ । नीरस सुक्रबार थियो, त्यो । विहानैदेखि धुम्म, अँध्यारो र ओसिलो । दिनभर पानी प¥यो । सडकमा संगीत भरेर जीविकोपार्जन गर्नेहरुले त्यस दिन कुनै धुन बजाउन पाएनन् सायद । जसको पृष्ठभूमिमा एउटा ठूलो नरसंहार भयो । सम्झेँ, नेपालमा धेरै शुक्रबारहरुले इतिहास बदल्ने दुस्साहस गरे । यता युरोपमा पनि यो शुक्रबारे संयोग कस्तो हो ? संयोग हैन वियोग । नर्बेको राजधानी ओस्लोनजिकैको उटोवा टापुमा समर क्याम्पमा गएका युवाहरुमाथि ३२ वर्षीय नर्बेजीयन नागरिक आन्डर्स बेर्हिङ ब्रेभिकले चलाएको अन्धाधुन्ध गोलीले ६९ निर्दोष युवाहरुको ज्यान गयो । ओस्लोमै उनले गरेको बमविष्फोटमा अन्य ८ जना मानिसहरुको मृत्यु भयो । नर्बेका लागि ‘दोस्रो विश्व युद्धपछिको पहिलो ठूलो नरसंहार’ मानिएको यो घटनाले पूरै युरोपलाई लज्जित बनायो । मानवअधिकारका लागि एउटा उदाहरणीय देश मानिएको नर्बेलाई यसले नैतिकताको ठूलो धक्का दियो । नोबेल पुरस्कारको यो देशमा इब्सन र भिग्ल्यान्डलाई त लज्जित बनायो । कोपनहेगनमा पढिरहेको म बबुरो डराउने अनेक कारण थिए । कयौँ परिवारका लागि सहनै नसकिने शोकको घडीमा मभित्र एउटा कुविचार आयो । मैले सोचेँ, रोक्न सकिनँ– ‘यदि यो नरसंहार गर्ने मान्छेको रङ्ग सेतो नभएर अर्कै भएको भए के हुन्थ्यो ? उसले मान्ने धर्म अर्कै भैदिएको भए के हुन्थ्यो ?’ के म यही अनुहार लिएर हिँड्न सक्थेँ ? ममाथि कुनै सुरक्षा जाँच हुँदैन थियो ? नेपाली एफ एम रेडियोहरुले बजाउने समाचार सम्झेँ– ‘एकजना दलित महिलाको मृत्यु ! मुस्लिम पुरुषको हत्या !’ उफ् ! मेरो लागि यो कहाली लाग्ने परिस्थिति हो । केवल वर्ण र धर्मले पार्ने यो फरक कति खतरनाक हुन्थ्यो । शक्तिशाली देशहरुको एउटा झुण्डले ठूलो बबण्डर गर्ने थियो । धन्य, अप्राप्य ईश्वर । यसपटक पनि नरसंहारकको धर्म र रङ्ग अर्कै प¥यो । त्यसो त ‘राइट विङस’ हरुले प्रोपोगाण्डा गर्ने कुरा केही थिएन । तर, नरसंहारकको उद्देश्य बुझ्दा उनीहरुका लागि खुसीका थोपाहरु त्यहाँ थिए । आन्डर्सले आफ्नो चर्तिकला देखाउनु ९० मिनेटअघि एउटा नक्कली नामबाट १००३ वटा ठेगानामा पठाइएको इमेलमध्ये आन्डर्स पनि पर्छन् । १५१८ पृष्ठ लामो सामग्रीको शीर्षक छ ‘सन् २०८३ ः युरोपीयन स्वाधीनताको घोषणा’ । यो सामग्रीभित्रको एउटा महत्त्वपूर्ण विषय हो ‘कल्चरल माक्र्सिज्म्’ अर्थात् सांस्कृतिक एकाधिकार । म डरले थर्थरर काम्छु र भारत र चीनलाई सम्झिन्छु । चिन सांस्कृतिक एकाधिकारमा त्यति कडा छ । भारत उति खुल्ला देखिन्छ । म दुवैमा समस्या देख्छु किनकि भारतमा नागरिकहरुको धार्मिक जडतामा समस्या छ । चीनमा राज्यको नीतिमा समस्या छ । तपार्इंलाई शक्तिशाली चीनको चित्रमात्र याद आउँदो हो । अभिव्यक्ति स्वतन्त्रताको डलाइँमा आजीवन जेल परेका धेरै चिनियाँ अधिकारकर्मीहरुको ख्याल छैन होला । त्यतातिर नलागौँ । यहाँ मुस्लिम अतिवाद र गोरा छालाहरुले लिएको सांस्कृतिक र राजनीतिक शक्तिमै केन्द्रित होऔँ ।
अतएवः नर्बेमा त्यति ठूलो नरसंहार भएर पनि कोपनहेगनमा म भौतिक र मानसिक रुपमा सहज नै थिएँ । भनौँ, हामी थियौँ । गैरगोरा वा भनौ गैरक्रिश्चियनहरु । अतिवादी ‘दायाँ पङ्खीहरु’ चाहिँ मौन नै थिए होला । मैले युरोपियन नयाँ पुस्तालाई महसुस गर्ने मौका पाएँ । माथि भनेको थिएँ नि अर्का खाले डेनिसहरु । उनीहरु निक्कै लज्जित थिए । आप्रवासीहरुको समर्थनमा कोपनहेनगमा भेला भएका १० हजार मानिसहरुलाई सम्झेँ । उटोवा टापुमा नरसंहारमा परेकाहरुलाई श्रद्धान्जली दिन र नरसंहारको विरोधमा एकै निमेषमा भेला भएका २ लाख मानिसहरुको मलिन र लज्जित अनुहारलाई तस्बिर र टेलिभिजन दृश्यहरुमा नियालेँ । उनीहरुको अनुहारले विश्वलाई भनिरहेको थियो, हामीलाई शङ्का नगर । हामी अझै मानवअधिकारको उच्चतम कदर गर्छौं । मेरा डेनिस मित्रहरु, तिनका परिवार वा नयाँ मानिसहरु जजसलाई त्यतिखेर भेटेँ, उनीहरुमा त्यो लज्जाबोध देखेँ । उनीहरुको भावभङ्गीमाले भनिरहेको हुन्थ्यो–‘हामी रङ्गभेद र धर्मभेदको विरुद्धमा छौँ । नर्बेमा नरसंहार गर्ने त्यो मानिसले हाम्रो प्रतिनिधित्व गर्दैन ।’ म आप्रवासी हुनुले वा मेरो वर्णले किन उनीहरुलाई यसरी नैतिक सङ्कटमा पारिरहेको छ वा मबाट त्यस्तो व्यवहार देखिइरहेको छ ? म सम्हाल्लिएँ ।
तिनै नैतिक सङ्कट महसुस गर्ने धेरै युवाहरु अतिवादको विरुद्धमा लागिरहेका थिए । नैतिक सङ्कट महसुस गर्ने ती डेनिसहरुको लागि अर्को अर्को चुनौती आइलाग्यो । संसदमा राइट विङ्स्को दबावमा डेनिस संसदले नयाँ नियम बनायो । डेनिस नागरिकहरु प्रेममा पर्नुअघि त्यो व्यक्तिको नागरिकता हेर्नुपर्ने भयो । गैरयुरोपियन जीवनसाथीहरुलाई डेनमार्कमा भिजाको लागि नम्बर सिस्टम बनाइयो । नम्बर सिस्टमका अनेकाँै सर्तहरु थिए । भाषा जान्नुपर्ने । बैंकमा निश्चित ब्यालेन्स हुनुपर्ने । यी रमाइला सर्तहरुले डेनिस युवाहरुलाई निक्कै पिरोल्यो, जो अन्र्तदेशीय, अन्तरसांस्कृतिक र अन्तरधार्मिक सम्बन्धहरुमा रमाइरहेका थिए । मेरी रङ्गकर्मी मित्र केमिलाले मलाई फोनमै प्रस्ताव गरिन्, के तिमी मसँग विवाह गर्छौ ? विवाहित म श्रीमतीसँगै त्यहाँ थिएँ । उनको त्यो प्रश्नले मलाई कति तर्सायो होला ? पछि उनले हाँस्दै भनिन् ‘नाटकमा’ । उक्त नयाँ कानुनलाई नस्विकार्ने डेनिसहरुले कानुनको विरोधमा एउटा अभियान नै चलाउने भएछन् ‘लभ विदआउट बोर्डर’ । त्यस अभियानमा म केमिलाको ‘टर्किस् बोइफ्रेन्ड’ बने । स्काइप संवादलाई लिएर छोटो वृत्तचित्र बनाएर युट्युव र फेसबुकहरुमा अप्लोड गरियो । मेरो लागि एउटा ठूलो र सम्झनायोग्य क्षण बन्यो, डेनिस संसदभवनअगाडि करिब ५ हजार दर्शकहरुअगाडि गरिएको १० मिनेटको कमेडी नाटक, जहाँ मेरो दोस्रो विवाह हुँदै थियो । अर्थात् हिन्दू संस्कारअनुसार एकपटक विवाहित म यतिखेर क्रिस्चियन प्रिस्टलाई साक्षी राखेर दोस्रो विवाह गर्दै थिएँ, केमिला आन्डरसनसँग । र, मेरी असली श्रीमती लुना मलिन अनुहार लाएर दर्शकदिर्घामा थिइन् । बिहेको लागि लुनाले स्वीकृति त दिइन् तर सर्त राखेर । सर्त थियो, बेहुलीलाई चुम्बन गर्न नपाइने । पश्चिमी समुदायमा विवाहका बेला ‘बेहुलाबेहुली’ले एकअर्कासँग चुम्बन गर्ने एक किसिमको संस्कार नै हो । नाटकमा एउटा रोचक क्षण आयो, दर्शकहरु चुम्बनका लागि हुटिड गरिरहेका थिए । म मुस्कुराउँदै लुनालाई कर्के आँखाले हेरिरहेको थिएँ । चिन्ता नगर्नुस्, मैले लुनासँगको बाचा तोडिन । मैले ‘ब्राइड’लाई चुम्बन नगरी नाटक सकेँ । ‘लभ विदआउट बोर्डर’को एउटा अभियानमा सफल कार्यक्रम सम्पन्न भयो । केही नेपाली दर्शकहरु पनि रहेछन् । मलाई त्यहाँ देखेर अचम्ममा परे । उनीहरुसँग नयाँ मित्रता सुरु भयो । यही अभियान सम्बन्धी विविसी यूरोप च्याप्टरमा विशेष लेख सहित केमिला र मेरो तस्विर छापिएपछि नाटक र अभियानको राम्रै चर्चा भयो । तर, मेरो मुख्य चासो उक्त कानून सम्बन्धी थियो । रङ्गमञ्चसम्बन्धी २ वर्षे पढाइ सकेर म नेपाल फर्किएँ । पछि थाहा भयो अभियानले सायद काम गरेछ । कानून खारेज भएछ । नैतिक दबाबले कहिलेकाहीँ गज्जबले काम गर्दो रहेछ । २ वर्षे वसाइमा त्यो सम्पन्न देश डेनमार्क र त्यसआपसाका अन्य केही मुलुकहरु घुम्दाको रोमाञ्चक र तितामिठा अनुभवहरु रंगीन भएर मस्तिष्कमा बसेका छन् ।

केमिला यतिखेर एक्सन एड भन्ने संस्थाको सामाजिक कार्यकर्ता भएर नेपाल आइपुगेकी छिन् र शिल्पी थिएटरमा बेलाबखत नाटकसम्बन्धी काम मिलेर गरिरहेकाछौँ । यहाँ पनि हामी नाटकलाई सामाजिक रुपान्तरणका लागि प्रयोग गर्छौँ । हाम्रा आफ्नै समस्याहरु बर्गेल्ती भएका बेला पनि मलाई संसारमा झन् उदाएको रंगभेद, वर्गभेद र धर्मभेदले खै किन हो पिरोलीरहेको ? के भौगोलिक सिमाना, रंग, वर्ग वा धर्मले हामी एकअर्कालाई प्रेम गर्न र एउटै समुदायमा बस्न अझै अफ्ठ्यारो परिरहेको छ ? मलाई दूरदेशको चिन्ता लागेर आयो तर यो चिन्ता बढ्दैबढ्दै नयाँ नेपालसम्म आइपुगको मलाई महसुस भइरहेको छ । सपना देखिरहेको छु त्यो समाजको जहाँ ‘सिमारहीत प्रेम र सद्भाव’ सम्भव छ ।
नर्बोगेलमा गोलीहान्ने कालो वर्ण र उटोवा टापुमा गोली हान्ने सेतो बर्णको मान्छेले संसारका सारा काला वा गोरा मानिसहरुलाई फरकफरक कित्तामा राख्न सक्छ ? चिन्तामा छु, अपराधको रंग, वर्ग वा धर्म कस्तो हुन्छ ?    

Monday, June 16, 2014

अपराध कबुल

निजी इन्धन–साधन प्रयोग गर्नु नपरोस् भन्ने मेरो ठूलै संकल्प थियो । यस विषयमा निकै दृढ थिएँ । आफ्नै मोटरसाइकल वा गाडी होस् भन्ने चाहना त किन नहुनु नि । कहिलेकाही मलाई सोखिन जीवनले बढो आकर्षित गर्छ । तर, काठमाडौको सवारी जाम र प्रदुषणको कारणले निजी इन्धन साधन प्रति वितृष्णा भएको हो । काठमाडौमा यो समस्या अचाक्ली नै छ । अहिले पनि धुवाँ र धुलोका कारणले रुघाले थलिएको छु म । काठमाडौबासीलाई यहाँको प्रदुषणले निक्कै नै हानी पुर्‍याएको हुनुपर्छ । यसको डाटा को सँग छ मलाई थाहा छैन ।
तर, समस्या थाहा हुँदाहुँदै बाटामा दिशा गरे जस्तो, घरबाट निस्किएका फोहर नजिकैको खोलामा फाले जस्तो, अफिसमा काम गर्ने समयमा लुसुक्क व्यक्तिगत काममा भागे जस्तो, सार्वजनिक यातायात भित्र चुरोट पिए जस्तो वा बाटोमा महिलाहरुलाई जिस्क्याए जस्तै बराबरको आत्मग्लानी लिएर मैले आफ्नै दृढ संकल्पलाई तोडेँ । मोटरसाइकल किने ।
यसका लागि मेरा आफ्नै तर्क छन् । काठमाडौमा सार्वजनिक साधनको समस्या अर्को ठूलो प्रदुषण हो । साथीभाइले भने ‘हेर्, सार्वजनिक गाडी भन्दा मोटर साइकलमा धेरै चाँडो हुन्छ । जहाँ पनि चाँडै पुगिन्छ । गाडीका बीचबाट छिराउन पनि हुने । पेटीबाट गुडाउन पनि हुने । राती अबेर घर फर्कंदा पनि समस्या नहुने ।’ अब अर्को बद्मासी गरिने भइयो । यस्तो लाग्यो, मोटर साइकल चढेपछि ट्राफिकका सबै नियम उल्लंघन गरिने भइयो । देखा जाएगा । सहकारी संस्थाबाट लोन लिएर भट्भटे किनियो । उता बैंकमा रिणको व्याज बढ्दो छ, यता राजधानीमा प्रदुषण छुट्दो छ ।
देखा जाएगा । माथिका कुरा त बल गरेरै मिचियो । अर्को महान काम गरियो । घुस खुवाएर लाइसेन्स बनाइयो । सरकारी दस्तुर रहेछ जम्मा सात सय रुपैयाँ । त्यस बाहेक पनि एउटा ड्राइभिङ सेन्टरलाई १६ सय रुपैयाँ भेटी झैँ चढाइयो । बक्काइदा रसिद हातमा थमायो उसले सरकारी दस्तुर झैं गरेर । दिने मै हुा † उसको के दोष । सबैले तर्साए ‘अचेल त जताततै सिसि क्यामेरा राखेको हुन्छ, गाडेका भाटामा छिसिक्क छोयो कि लाइसेन्स चट ।’ आफूलाई आजै लाइसेन्स निकालेर भट्टभटेको धुँवाले वायु प्रदुषण प्रतियोगितामा भाग लिनु छ । त्यसैले फेरि अर्को पटक कथित चेतनशील र असल नागरिक बन्ने चाहनालाई तिलाञ्जलि दिँदै ‘नेङ्माङ ड्राइभिङ सेन्टर’ मार्फत झापाको विर्तामोड पुगियो ‘देखावटी लिखित परिक्षा’ दिन । परिक्षामा छिर्नु अघि ‘नेङ्माङ ड्राइभिङ सेन्टर’का गुरुले महानवाणी झै गरि भने–‘प्रश्न पत्रमा २० वटा प्रश्न हुन्छन् । दशवटामा टिक लगाउने १० वटा छुने हैन ।’ मानौ यसो नगरे ठूलै प्रलय हुन्छ । उनले ह्वीप जारि गरे । परिक्षामा बसियो । ट्राफिक प्रहरीले परिक्षा कोठा भित्र अनेकौ लिला गरे । परिक्षाका नियमहरु सुनाए । परिक्षा रद्द हुन सक्नेसम्मका डर देखाए । आफू भने परिक्षा उत्तिर्ण हुने कुरामा सय प्रतिशत ढुक्क, नेङ्गमाङ गुरुको जो निगाह ममा थियो । प्रश्न पत्र हातमा आयो । २० वटै प्रश्नको उत्तर मिलाइने रहेछ । तर, गुरुको निर्देशन जो थियो । १० वटा प्रश्नको उत्तर दिइयो । १० मिनेटमा परिक्षा खत्तम । दङ्ग पर्दै त्यतै ससुरालीमा बसियो । घर पर्‍यो मोरङमा । भोलीपल्ट ‘प्रयोगात्मक परिक्षा’ उर्फ ट्रायल दिन आउनु छ ।
आइयो । लाइनमा बसियो । अघिनै नेङ्वाङ गुरुको ह्वीप जारि थियो– ‘मोटरसाइकल नलडाउनु, खुट्टा नटेक्नु । दशैं अगाडि लाइसेन्स पक्का ।’ ए गाँठ्ठे, कत्तिले त ६ वटै भाटा लडाए । खुट्टा नटेक्ने हैन कि ‘ट्रायलमा खुट्टा टेक्नै पर्ने नियम छ’ जस्तो देखियो । त्यसो हुादा पनि सबै परिक्षार्थी दङ्ग देखिए । उनीहरुले पनि मैले झैँ भेटी चडाएर त आएका होलान् । फेरि छेउमा उभ्भिएका परिक्षा कर्ताहरुले ट्रायलतिर हेर्ने भए पो † परिक्षार्थी बोलाउँदै उनीहरु खातामा टिक मार्क लाउन व्यस्त थिए ।
आफ्नो पालो आयो । ३ वटा भाटा कटाइयो । ३ वटा लडाइयो । अरुको देखेर ठूलै काम गरे जस्तो भयो । तर केहीले त गज्जबले ६ वटै भाटा नलडाई कटाएको देखियो । त्यतिखेर चाहिं छातीमा चसक्क भयो । त्यो चसक्काइलाई पनि छोपछाप पारियो । तीन दिनपछि बक्काइदा २ पुस्ते नामथर अंकित लाइसेन्स हात लाग्यो । शंकर प्रसाद घिमिरेको छोरा युवराज घिमिरे, इन्द्रपुर गाविस वाड नं. ७ का नाममा दुई पांग्रे सवारी चालक अनुमति पत्र हात लाग्यो । एउटा भटभटेको मालिक हुन र यसलाई चलाउन यति धेरै तिकडम गरियो । अनि यो देश नै चलाउन बसेकाले कति तिकडम गर्दा हुन् ।
एकादेशमा एकजना राजाले भनेको सानैमा पढिएको थियो–‘घुस लिन्या र दिन्या दुवै देशका सत्रु हुन् ।’ निष्ठा बेगरको ज्ञानको के पो अर्थ । अपराध कबुल †  

Wednesday, June 11, 2014

लोन्लीनेसभित्र प्रेम–सङ्गीत

हो, त्यस्तै नै भयो । झन्डै अभिनेता ज्याक निकल्सनकै जस्तो यिनको जीवन पनि । यी दुवै प्रतिभालाई आफ्ना दिदीहरुले हुर्काए । ती दिदीहरु महान् हुन् जसले आमाको भूमिका निर्वाह गरेर ज्याक र द्धारिकाहरु बनाए । दिदीको काखमा द्धारिका निदाए र समीपमा खेलेर हुर्किए ।
‘म नहुँदा थाहा हुन्छ तिमीहरुलाई ।’ कहिलेकाही आमाका मुखबाट निस्किएको खवरादरी द्धारिका दाइको स्मृतिमा सुचना पाटीजस्तो तुन्दु्रङ्ग झुन्डिएको छ ।
सोधेँ–‘दाई आमासँगको सामिप्यको के कुरा याद छ ?’
भन्नुभयो–‘आमाले बोकेको जस्तो मात्रै थाहा छ ।’
‘के कुरा सम्झनुहन्छ, आमाको बारेमा ।’
‘पटुका । आमाको पटुकामा बसेको जस्तो लाग्छ ।’ आमा बुद्धिलक्ष्मी र बुबा रेशमलाल । त्यसपछि बुबा पनि ६, ७ महिनाको अन्तरालमा बित्नु भयो । द्धारिका दाइ सपाट अनुहारमा अचानक समयलाई हाम फालेर बोल्नु भयो–‘मेरा दुई दाजु, दुई दिदी । सबै बित्नु भो । अहिले म एक्लो ।’ एक्लो त्यसमानेमा मात्रै । हैन भने कथाकार जलेश्वरी श्रेष्ठसँगको करिव ५ दशक लामो दाम्पत्य जीवन परिपक्व भएर फक्रिएको छ । तीन छोरीका पिता । छोरीहरु निभा, नित्या र निष्ठा । लाग्छ ती खुशीका मुहान् हुन् । दुई छोरीको विवाह भयो । तर ती सबै उहाँकै वरिपरि खेलिरहेका छन् ।
त्यसो त उहाँका कविता र फूलजस्तै कोमल व्यक्तित्वले मोहिनीमयी फ्यानहरु घरीघरी मोबाइलमा भाइब्रेट हुन्छन् । त्यो भाइब्रेसनले उहाँको ७२ वर्षे जोवनमा नयाँ उमङ्ग ल्याउँछ र रोमाञ्चक तहमा उहाँ झस्कनु हुन्छ । हरे, प्रविधि † प्रेमको कुरो निस्किहाल्यो । अविनाश दाइ त्यहीँ हुनुहुन्छ । मलाई इसारा गर्नु भयो । ‘यो चाहिँ नछोड्नुस्’ । सन्दर्भ मिले बहकिउँला भाउजुलाई साक्षी राखेर तर अहिले कुरा लोन्लीनेसको । यति भएर पनि उहाँको जीवनमा ‘लोन्लीनेस’को ठूलो स्पेस छ ।

फूल फूलाउँछु आफू भरि
र कसैसित नसोधी झरेर सिद्धिन्छु

वाह † कस्तो चोटिलो कविता । अझ उहाकँो अर्को कविता ‘मेरो यात्रा अशोक–बाटिकामा’ पढेपछि त म विम्बहरुले झ्याम्म हानिन्छु । विल्कुलै अलग स्वादका भेट्छु म उहाँका कविता । लोर्काका कविताबाट शुरु भएको छ उहाँको एउटा कविता ।
ध्ययम अगततभच
ऋगत mथ कजबमयध ाचयm mभ
ाचभभ mभ ाचयm तजभ तयचmभलत
इा कभभष्लन mथकभाि
ध्ष्तजयगत ाचगष्त
नेपालमा यसरी कविता लेख्ने चलन उहाँबाटै शुरु भयो होला शायद । ‘थाहा छैन । तर मलाई सजिलो लाग्छ यसरी लेख्दा ।’ नयाँ स्वाद र प्रस्तुति । लोन्लीनेस ।
ससम्मान कवि/प्रेमी द्धारिका श्रेष्ठभित्र दङ्ग परेर विराजमान त्यो लोन्लीनेस के, कसरी, कहाँबाट आयो ? सुन्दै गएपछि थाहा लाग्छ यो लोन्लीनेस एक्लो छैन, रित्तो हैन, जसरी विज्ञानमा ‘शून्य’ भनेको केही नहुुनु होइन, जति पनि अटाउनु हो । सुन्दा दर्शनजस्तो लाग्ने तर बढो सहज छ ।
‘मलाई लोन्लीनेसले नै कवि बनायो ।’
कविता, प्रेमका र अन्तरङ्ग अनुभुतिका लागि निर्मित उहाँको लोन्लीसेस विशुद्ध ममताले बनेको छ । बोलाइ र हाँसोबाट थाहा लाग्छ कति कोमल हुनुहुन्छ उहाँ । ‘आमाबाको समीप्य र ममता छुटेपछि ममा यो ‘लोन्लीनेस’ शुरु भयो । अरु साथीहरु बाआमासँग कुरा गरेको देखेर कल्पना गर्थे, म कसरी कुरा गर्थेँ हुँला ? काकाका छोरा मथुरा दाइ (मथुरा स्रेष्ठ)लाई देख्दा पनि त्यस्तै लाग्थ्यो । उहाँ बाउछोरा कुरा गर्दा म कल्पनामा हराउँथे ।’
मेरो बाबु डडेर जाँदा
यहाँका दाउरा–पात सिध्याएनन्
पानी र माटो छुँदै छुएनन्
मेरो बाबुलाई थाहा थियो
यहाँका घरहरुमा मैले बस्नुपर्छ ...
दौड्दा–दौड्दै मलाई पाएकी मेरी आमाले
मलाई केही सिकाउन भ्याइनन् ।
कतिकति सम्म
आमाको ममता मैले हाँसेर बिर्सें
म जन्मेँ
शिशु वयमा घर छोडेर उहाँ काठमाडौ आउनु भयो कान्छा बासँग । तर जन्मथलोको प्रेमले सताइरह्यो । बन्दिपुरमा करिव ७२ वर्ष अघि जन्मिएका यी कविका साथी थिए माछापुच्छ्रे, धौलागिरी र अन्नुपुर्ण । ती सृङ्खलालाई उहाँ धुमधुम्ती हेर्नु हुन्थ्यो र तिनले पनि हेर्थे । मानौ तिनीहरु पनि बाआमाको मृत्यु सोकमा छन् । अचानक बन्दीपुरको गुरुङ्ग नाच र चुट्काले उहाँको ध्यान भङ्ग गर्थे । त्यही वातावरणले आफूलाई प्रकृतिप्रेमी बनाएको उहाँको ठहर छ । ‘मलाई हिमाल मन पर्छ । उचाइ र सृङ्खला मन पर्छ ।’ कवि द्धारिका श्रेष्ठ आफ्नो समयमा कविताको त्यही उचाईमा पुगे । सम्पन्नता र सफलता जीवनलाई उसरी नै चुम्यो । फेरि पनि एकान्त मन पराए । एक्लो महसुस गर्न मन पराए ।
‘म जस्तो मान्छे जसले लोन्लीसेस महसुस गर्छ, जे कुरामा पनि सरेन्डर गरिहाल्ने रहेछ । प्रेममा पनि मेरो त्यस्तै भयो ।’ ए, एकछिन है ।
‘दाई ती कुरा पनि आए हुन्थ्यो नि ।’ अविनाश दाइ फूल जस्तै भएर बोल्नु भयो । साच्चै अचम्मै लाग्यो मलाई । प्रेमका कुरामा द्धारिका दाइ सुकोमल बालक झैँ नरम र सफा देखिनु भयो । यी बुढाप्रति मेरो पो प्रेम बढ्यो । अत्यन्तै मिजासिला । अति समिपमा बसेर कुरा गर्ने । मेरो पहिलो अन्तरंग हो उहाँसँग । म निकै पुलकित भएर लेख्दैछु । तर, यो साँचो हो । उहाँ द्धारिका नै हो । पहिलो दिनको भेट हामी द्धारिका दाइको चितवन जंगल लज, काठमाडौ कार्यालय नागपोखरीमा छौँ । गरिमाका सम्पादक अविनाश दाइ र म तोकिएको समयभन्दा १० मिनेट ढिलो पुग्छौँ । द्धारिका दाइलाई मैले केही पटक नाटक हेर्न निम्तो गरेको हुँ । थोरै पटक उहाँ आउनु भयो लुसुक्कै । लुसुक्कै जानु भयो । मैले उहाँलाई यसरी नै चिने । चर्चामा आउन नचाहने, सार्वजनिक कार्यक्रमहरुमा धेरै नदेखिने । उहाँको कविताको प्रशंशक मैले जति ठाउँमा उहाँको बारेमा सुने राम्रै मात्र सुने । त्यसबाहेक ममा उहाँको इमेज चितवन जंगल लजका मालिक र गम्भिरतका प्रतिकका रुपमा मात्रै थियो । द्धारिका दाइको अर्को सिङ्गो पाटो यसरी खुल्यो । भिडकाबिचमा एकान्तप्रेमी यी कोमल कवि/प्रेमी ।
‘कविता सम्वेदनशील छ र म पनि । त्यसैले मेरो र कविताको कुरा मिल्यो । कवितामा आवरण राखेर अमूर्त रुपमा मनका कुरा बोल्न सक्छु ।’ उहाँलाई लाग्छ धेरै कुरा सिधै भन्दा बिग्रन्छन् । सामाजिक जीवन खल्बलिन्छ त्यसैले त कविता चाहियो । उहाँलाई लागेका सिधै भन्न नपाएका जीवनका गुह्य कुरा कवितामा भेटिन्छन् ।
‘दाइ, कविताहरुका कुरा पनि ?’–ठट्टा गरेँ ।
‘त्यो पनि छन् । मेरो संग्रह भित्र र नयाँ कवितामा पनि ।’ द्धारिका दाइ थप्नुहुन्छ–‘विम्ब र मिथकलाई लिएर अभिव्यक्त गर्न मन लाग्छ । कुरा त त्यहीँ हुन्छ । पाठकको लागि हिन्ट पनि छोडेको छु ।’
मैले माथि स्मृतिको कुरा गरेको थिएँ नि । फेरि यहाँ फर्कियो । बन्दीपुरलाई सम्झँदा एउटा गजबको बास्ना नाकसम्म आउँछ उहाँको । उहाँका बा–काकाहरु लुगाको व्यापर गुर्नु हुन्थ्यो । मैले सोधेँ–‘नयाँ लुगाको केही किस्सा सम्झनुहुन्छ ?’ भन्नु भयो–‘नयाँ कपडाको एक तमासको गन्ध अझै सम्झन्छु ।’ सुख, दु:खका स्मृतिहरु जोडिएर कवि द्धारिका श्रेष्ठका कविताहरु इमेजमय छन् । केही अमूर्त छन् । उहाँकी जेठी छोरीको पनि धारणा यही छ । ‘बाका कविता एब्स्ट्याक छन् । मन पर्छ, पढ्छु ।’
बीसको दशकका सशक्त कवि द्धारिका दाइका अमलेख कविताले नेपाली साहित्यमा एउटा मानक स्थापना गर्‍यो । कृष्णभक्त श्रेष्ठ, मोहान कोइराला, रत्न समसेर थापा, भूपि सेरचन, भुवन कोइराला (ढुङ्गाना), पुरुषोत्तम बस्नेत जस्ता सशक्त हस्ताक्षरहरु मिलेर पञ्चायतका विरुद्ध रचनात्मक धावा बोले । गोरखा पत्र संस्थान र एकेडेमी जस्ता संस्थाको विरुद्धमा लागे । र, स्वतन्त्र कलमको अस्तित्वका खातिर लडे । सिउँडी पत्रिका निकाले । छाप्ने पैसा द्धारिका दाइको जिम्मामा । उहाँ भन्नु हुन्छ–‘हामीले ठूलो काम गऱ्यौ भन्न खोजेको हैन तर समाजमा भएको क्रान्तिबाट लेखकहरु कसरी प्रभावित भए भन्ने उदाहरण हो यो ।’ मैले अर्को दिन सोधेँ–‘अनि लेखकले समाज परिवर्तन गर्छ भन्ने लाग्छ तपाईलाई ?’ लेखनमा राजनीति आउनु पर्छ भन्ने बारेमा उहाँको धारणा पनि एकै मुस्ट लिन खोजेँ । ‘गर्छ नि । गोर्कीको मदरले संसार हल्लायो । अन्य धेरै पुस्तकले समाजलाई परिवर्तन गर्न मद्दत गरेका छन् । एउटा राम्रो लेख, कविता वा उपन्यासले समाजलाई प्रस्तुत गर्छ ।’ उहाँ भन्नुहुन्छ–‘तर, मेरो स्वभाव त्यो होइन । उहाँहरुलाई म आदर गर्छु र आफूचाहिँ विशुद्ध कलाका लागि लेख्छु ।’ आर्ट फर आर्ट सेक ।
‘लेखनमा कसरी आउनु भयो त दाइ ?’ मैले फेरि स्मृति तिर फर्काएँ । धेरै कुरा खोतलिए । काठमाडौ आएपछि जुद्धोदय पब्लिक हाइस्कुलमा ४ कक्षामा भर्ना हुनु भयो उहाँ । ‘मथुरा दाइका साथी लेखक कमलराज रेग्मी तथा ज्ञानहरी गुरुबाट प्रेरणा पाएँ ।’ त्यसपछि साहित्यिक किताबहरु पढ्ने बानी बस्यो । त्यतिखेर रत्न पुस्तक भण्डार मात्रै थियो । ‘अलिअलि फुटवल खेल्थेँ । नत्र अरु कुरामा रुची थिएन । स्कुल सकेपछि झन् साहित्यिक किताबतिरै ध्यान गयो ।’ उहाँले सुरुका दिनमा प्रेमचन्दका उपन्यास धेरै पढ्नु भयो रे । राहुल सांकृत्यायन, एसपाल, अज्ञेय, नागार्जुन, निर्मल वर्मा, मायादेवी बर्मा, धर्मवीर भारती । लोर्का, शात्र्र, कामु उहाँको सुचिमा थपिए । अंग्रेजी साहित्यको विद्यार्थी भएपछि त पाठ्यक्रमले नै उहाँलाई पश्चिमको साहित्य पढायो । उहाँले सन् १९६१ मा अंग्रेजी साहित्यमा एमए गर्नु भयो । त्रिचन्द क्याम्पसमै भेट भए मोहनहिमांशु थापा र कृष्णभक्त श्रेष्ठ । त्यहाँ अनेक साहित्यिक कार्यक्रम र कवि गोष्ठीहरु हुन्थे । एकपटक हरिवंशराय वच्चन आएको उहाँ सम्झनु हुन्छ । ‘उनले आफ्नो चर्चित काव्य मधुशाला बाचन गरे ।’ द्धारिका दाइले भन्नु भयो–‘त्यसैबाट प्रभाववित भएर मैले ‘सितको थोपा’ कविता लेखेको थिएँ ।’ उहाँले कथा पनि थुप्रै लेख्नु भएछ । तर प्रकाशित गर्नु भएन । ‘कविता नै मेरो माध्यम हो जस्तो लाग्यो ।’ पछि सबैभन्दा नजिक भए कृष्णभक्त, मोहन कोइराला र भूपि । कविहरुको बलियो झुण्ड नै बन्यो । र, नेपाली कवितामा एउटा मानक पनि ।
चिसो निक्कै छ । त्यसो भए द्धारिका दाइको मेरी ‘चिसो सूर्या’ कविता पढौँ ? द्धारिका दाइले भन्नु भयो–‘लौ जौँ क्याफेतिर । प्रेमका कुरा उतै गरौँला ।’ उहाँ मज्जाले मुस्कुराउनु भयो । चिसो कम महसुस भयो । क्याफेभित्र जो छौँ । ‘इमागो डेई’ । अमेरिकन युवतीले चलाएको नागपोखरी स्थित यो क्याफे अचेल खुब चल्छ रे । युवतीले चलाएको क्याफेमै किन ? द्धारिका दाइको जीवनमा युवती संयोग हो । उहाँलाई मन पर्ने अर्को रेष्टुरेन्ट नक्साल छेऊको ‘ओञ्जला’ हो । यो पनि युवती कै नाम हो । त्यसो त उहाँको ब्राण्ड पनि ‘डिम्पल’ ह्वीस्की । स्कटिस । भन्नु भयो–‘हैन म एकान्त कुनाको ‘बकेनावारी’ पनि खुब जान्थेँ ।’ लोन्लीनेस । ए, एकान्त मन पर्ने भएर । हामी हाँस्यौँ । ‘हो नि, यहाँ पनि सुरुमा धेरै मानिस आउँदैन थिए । र, म आएँ । अहिले सबै आउन थाले ।’ त्यसै भएर त भनेको सून्य भनेको केही नहुनु हैन सबै अटाउनु हो । द्धारिका दाइ त्यस्तै हो । ‘उहाँको जीवनमा को को अटाए ?’ मोवाइल फेरि बज्छ । सायद भाउजुको फोन । उहाँको कलिलो मुस्कान । बढो निर्दोष रुपमा भन्नुहुन्छ–‘आदर्श विरोधी हुँ म । आदर्श पुरुष रामचन्द्र भन्छन् तर त्यो विचार नै पाखण्डीपन हो ।’ उहाँको विचारमा मान्छे सजग हुनु पर्छ, लेखनमा पनि व्यवहारमा पनि ।
विरोधाभास उहाँको जीवनको अर्को पाटो हो । कविमन र व्यवसायी जीवन । यी मनकारी कवि द्धारिका दाइ भने आफू बाटो विराएर यस क्षेत्रमा आएको ठान्नु हुन्छ । ‘मेरो चाहना शिक्षक बन्ने थियो । अनि टन्न लेख्ने पनि । पैसा कमाउने हुँदै हैन ।’ म सोच्छु–‘धन्न यी कविले बाटो बिराएछन् नत्र नेपाली साहित्यले अहिले उनबाट ‘खाइपाइ’ आइहरको कुरो गुम्ने थियो कि † ए साँची मैले सुनेको अर्को पनि कुरा, कोही पनि लेखक, कवि वा आयोजक उहाँसम्म पुग्दा खाली हात फर्कदैनन् रे † त्यसैले त मनकारी कवि द्धारिका श्रेष्ठ ।
‘अनि के सोचेर लेखकहरुलाई चितवन जंगल लजमा डाक्न थाल्नु भयो ?’ उहाँले समग्रतामा उत्तर दिनु भयो– ‘मैले केही पनि काम नामका लागि गरिन । राम्रो काम गरेपछि नाम त त्यसै आइहाल्ला । त्यसबाट हुने अनेक सकारात्मक प्रभाव होलान ।’ २०४३ साल देखि सुरुभएको ‘चितवन जंगल लज’ कार्यक्रम हालसम्म निरन्तर छ । हरेक वर्ष २० देखि २५ थान कवि/लेखक/कलाकारहरुलाई त्यहा लगिन्छ । रचना पाठ र अनुभवहरु साटासाट हुन्छन् । हात्ती सवार गराइन्छ । दुई रातको जंगलबास पछि फिर्ता पठाइन्छ । सबै भरणबृत्ति यिनै मनकारी द्धारिका दाइका खातामा । स्मरण रहोस्, उता ‘इमागो डेइ’मा पनि विल बढ्दो छ । म्येनु खुल्ला छ । अविनाश दाइलाई ‘चिज’ नामै गनाउने रहेछ ।

रोमाञ्चित हुँदै उहाँले पहिलो कार्यक्रम सम्झनु भयो । सहभागीहरु डा. ईश्वर बराल, केशवराज पिंडाली, जनकलाल शर्मा, मदनमणि दीक्षित, कृष्णचन्द्र सिंह प्रधान, नगेन्द्रराज शर्मा, तुलसी दिवस, दयाराम श्रेष्ठ, नगेन्द्रराज शर्मा, कृष्णभक्त श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, डा. रामदयाल राकेश, कुन्दन शर्मा, अविनाश श्रेष्ठ आदि । उक्त भेलामा सबैले राणाकालीन समाज, राजनीति र साहित्यका विविध प्रकारका पात्रहरुलाई सुनाएका थिए । ‘अन्त्यन्तै रोचक थियो त्यो भेला तर त्यतिखेर स्वरको अभिलेख राख्ने कसैलाई होस् आएन ।’ उहाँ थकथकाउनु भयो–‘महत्वपूर्ण कुरा गुम्यो ।’ दुई दिन दुई रात लेखकहरु एक आपसमा घुलमिल भएर बस्नु एक अर्कालाई नजिकबाट चिन्ने राम्रो अवसर हो । ‘दाई यसरी बस्दा कसैमाथिको भ्रम भत्किएको केही अनुभव छ ?’–मैले सोधेँ । ‘मानिसको स्वभावै हो नि । साँझ रमाइलो गर्दा, पिउँदा उहाँहरुको व्यक्तित्व झन खुलेर आउँछ । मेरै पनि हुन्छ ।’ दाइ खुल्नु भयो–‘ईश्वर बराल उहाँको लेखनले वा स्वभावले घमण्डी जस्तो लाग्थ्यो मलाई । तर समिपमा बसेपछि थाहा भयो, उहाँ त साह्रै मिजासिलो हुनु हुँदो रहेछ ।’ त्यसपछि सयौ लेखक त्यहाँ पुगे । पिएपछि कतिका बोली र स्वभावमा उभार आए । कसैकसैका ठूलै झगडा भए । ती सबै क्षणहरुलाई यी भद्र कविले उत्तिकै रोमाञ्चक बनाएर साँचेका छन् । कवि सिद्धिचरण श्रेष्ठ र गायक नारायण गोपाललाई भने उक्त अभियानमा लान नपाएकोमा पनि उहाँ थकथकाउनु भयो । ‘सरकारले अब जंगलभित्रका लज बन्द गर्दैछ । त्यसैले यसपटक अन्तिम हुनेछ कार्यक्रम ।’ लेखकहरुका निम्ति तपाईको लगाव किन यतिधेरै ? ‘ईच्छा हो हामी दुवैको अर्थात मेरो र जलेश्वरीको । अझै लेखकका लागि केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको छ ।’ गफगर्दा गर्दै पुसको साँझ अघिनै वितेछ । रात पो परेछ । चिसो छ । अर्कोदिन भेट्ने बाचाका साथ हामी विदावारी भयौँ । अविनाश दाइ मलाई खवरदारी गर्दै हुनुहुन्थ्यो–विस्तारी विस्तारी मोटरसाइकल ।
अर्को दिन फोटोको लागि पनि र छुटेका प्रश्नहरु सम्झदै लुना र म उही दिउँसो तीन बजे पुग्यौँ । द्धारिका दाइसँग तीनको के संयोग छ थाहा छैन । खाली ३ बजे बोलाउने । उहाका ३ वटी छोरी छन् । अनि अरु नि † दाइ, भाउजु र भाइब्रेसन । जनवरी १, २०१२ । पहिलो दिन उहा, अविनाश दाइ र म थियौँ । दोस्रो दिन उहाँ, लुना र म । ‘इमागो डेई’ जिन्दावाद् । भोलीपल्ट जयदेव भट्टराईको साहित्यकार परिचय कोष हेरेपछि थक्कथक्क भएँ । लौ, जन्मदिनको दिन भेटेर पनि शुभकामना दिन पाइएन । उहाँका तीनवटै छोरीहरुसँग भेट भयो । कान्छी चाहिँ फोटो खिच्न लजाइन् । अरु दुई संग दाइलाई राखेर तस्विर खिचियो । ‘विलेटेड ह्वाप्पी वर्थ डे दाइ’ । ‘अर्को साल डिम्पल ह्वीस्की पिँउदै शुभकामना दिन पाइयोस् :) ।’
सार्बजनिक कार्यक्रमहरुमा त्यति ननिस्कने तर अत्यन्त्य अपडेटेड । पुराना पहिल्यै पढेको । समकालीन सबै पढेको । युवा पुस्ता पनि छुटाउनु भएको छैन उहाँले । ‘कस्तो लाग्छ त नयाँको लेखन् ?’
चिन्ता छ–‘राम्रो छ तर आफ्नो पहिचानको लेखन छैन । छुट्टै, अलग्गै ।’ बुद्धि सागरको बिम्को प्रयोग र ठाकुर बेलबासको प्रस्तुति बेग्लै लाग्छ रे उहाँलाई, फरक पहिचान भएका । कुन्दन शर्मा, विमला तुम्खेवा, मणि लोहनी, गीता कार्की पनि राम्रा कवि लाग्छन् उहाँलाई । अनि आफ्ना समकालीनमा नि ? ‘उही फर्सीको जरा उर्फ मोहन कोइराला अनि घुम्नेमेचमाथि अन्धो मान्छे अर्थात भूपि ।’ सम्झिएर भन्नु भयो–‘रिमालको आमाको सपना र विजय मल्लको छोरीलाई मानचित्र पढाउँदा कविता खुब मन पर्छ ।’
क्यामेरामा फ्ल्यास लाइट चल्न थाल्यो । थाहा लाग्यो, फेरि अर्को साँझ–साँझ अघिनै कटेछ । पुस फासफुस–फासफुस । गफ गर्दागर्दै अघिनै अँध्यारो–अँध्यारो भएछ । उहाँ फेरि भाबुक–भाबुक हुनुहुन्छ ।  दिन यसै चिप्लिरहेको हुन्छ । नदीको पानी–पानी जस्तै लाग्छ समय । फेरि गीता सार झैँ भन्नुहुन्छ–‘जीवनमा राम्रो काम गर्ने कोसिस गर्ने हो आशा चाहिं गर्नु हुन्न ।’ प्याराडक्स । अहो, यी सहज र कोमल कविसँग गफ धेरै गर्नु छ । ‘जीवन के हो जस्तो लाग्छ दाइ ?’ अति क्लिसे प्रश्नको भव्य उत्तरको आशामा सोधेँ । ‘विसंगत छ जीवन । डिफाइन गर्न गाह्रो । विसंगति नै विसंगतिले भरिएको । नसोचेका कुराहरु घटित हुन्छन् ।’ दृढ भएर भन्नु भयो–‘त्यसैले जीवनलाई निर्देशित गर्ने हो ।’ लामो बस्ने मन थियो । अध्यारोको अस्तित्वलाई स्विकार्दै हामी आ–आफ्नो गन्तव्यतिर निर्देशित भयौँ ।

आइरहेछ बसन्त
आऊ, हामी माया गरौँ
आफू–आफूबाट
आफूले आफैलाई छोपिएको अँध्यारामा
आँखाको गर्भ वेदना
एउटा उत्खनन
एउटा कथा....।