Sunday, June 14, 2015

राउकेलामा ग्लोवल वार्मिङ्ग

सन् २००८ मा उडिसाका केही फरक खाले मानिसहरुसँग कोलकातामा भेट भयो । ४ दिनको बसाइमा उनीहरुले शिल्पी टोलीलाई यसरी परेसान गरे, हाम्रा साथीहरु उनीहरुलाई देख्ने वित्तिक्कै अर्कोतिर भाग्न थाले । एउटा अन्तराष्र्टि्र्य नाटक महोत्सवमा भेला भएका हामी प्राय भेट्टिइरहने भयौँ । दिनभरि त अनेक जुक्तीले हामी तर्कियौँ तर बास बस्ने बेलामा कहाँ जाने ? सहभागीहरुलाई धेरै बिस्तरा भएको एउटै कोठामा सुत्ने व्यवस्था रहेछ । स्थिति यस्तो भयो । कोठामा उनीहरु निदाइसकेपछि जाने र निद्रा खुलेपनि अबेरसम्म निदाएको बहाना गर्न थाल्यौँ । 
परेशानीको कुरो थियो ‘क्लाइमेट चेन्ज र क्लोवल वार्मिङ्ग’ । त्यसबखत मैले फिटिक्कै चासो नदिएको विषय थियो यो । पृथ्वीको तापक्रम दिनहुँ कसरी बढिरहेको छ भन्ने विषयमा जोकोहीलाई भेट्ने वित्तिकै उनीहरु भाषण दिन थाल्थे । मानिसहरु अहिल्यै सजग नहुने हो भने पृथ्वी केही हजार वर्षमा ध्वस्त हुनेछ र प्राणीहरु बस्न लायकको हुदैन  भनेर पनि तर्साउँथे । जिन्दगीका आफ्नै टेन्सनले पिरोलीरहेको बेलामा सिंगै पृथ्वीको टेन्सन कस्ले लेओस् । हामीलाई रिस उठिरहेको थियो, सारा पृथ्वीको ठेक्का यिनीहरुले लिनु परेको ?
गाँस, बास र कपास सम्बन्धी तिनका अनेकौ नियम थिए । यो पृथ्वीलाई दिर्घ जीवन दिनका लागि उनीहरुले बनाएका नियम र खबरदारी सुन्दा लाग्थ्यो यिनीहरु कि त कुनै आइएनजीओ को पैसा पचाइरहेका छन् कि त यिनको मगज बिग्रिएको छ । उनीहरुको हर्कतले हाम्रो टोलीमा यस्तो प्रभाव पर्यो, ‘क्लाइमेट चेन्ज’को बहस संसारकै वाहियात कुरो हो । तर सन् २००९ मा कोपनहेगनमा आयोजित क्लाइमेट चेन्ज सम्बन्धी सम्मेलनमा अचानक साथीहरुको लहैलहैमा लागेर ‘बि भेजिटेरियन एण्ड सेभ द वल्र्ड’ लेखेको प्लेकार्ड बोक्न पुगेको ममा विस्तारै ती उडिया मानिसहरुको सम्झना हुन थाल्यो । आफ्नै जिन्दगीको टुड्गो नभएको म बबुरो अचानक सिंगो पृथ्वीको चिन्ता गर्ने भएँ । 

नचाहँदा नचाहँदै सुनेका धेरै कुराहरु मध्ये एउटा कुरा पछिसम्मै दिमागमा गढेर बस्यो । उनीहरुले भनेका थिए –‘हामी किसानहरु हाम्रा गाउँ नजिकैका सानासाना पहाडहरुको रक्षाको लागि सरकारसँग मुद्धा लडिरहेका छौँ । पटकपटक जितेर पनि हामीले हारेका छौँ ।’ ठुला खाले कम्पनीले खनिजका लागि ती उर्वर थुम्काहरु ध्वस्त गर्छन् । र ती पहाडबाट गाउँसम्म आउने पानीका मुहान र पहाडलाई ढाक्ने काला जंगलहरु पनि ध्वस्त हुन्छन् । 
यसपटक संयोगले अर्को अन्तर्राष्ट्र्यि नाटक महोत्सवमा भाग दिन उडिसा पुगियो । 
भयो के भने लामो यात्रापछि राउकेला पुग्दा रातको ९ बजिसकेको थियो । आयोजकहरुले हामीलाई स्टेसनबाट सिधै होलटमा पुर्याए । थकित ज्यान खानपिन पछि भसुक्कै निदायो । कुमार नगरकोटी मेरा रुममेट थिए । विहान उठ्ने वित्तिकै झ्यालको पर्दा उघार्दै नगरकोटीले जब आफ्नो लोकप्रिय ब्राण्ड खुक्स सल्काउन थाले म अत्ताल्लिँदै उठेँ । सिंगै पहाड झ्याल अगाडि खडा छ । मानौँ हामी नेपालीको सम्मानको खातिर आयोजकले आतभरिमा उत्तरबाट पहाड सारेर टक्क राखेका छन् होटलको आडमा । मेरो यो भ्रमलाई एकछिन किस्सा बनाएर सबै साथीहरुलाई पहाड देखाएँ । सबै अचम्ममा परे । विहानै पहाड चढ्ने योजना भयो । माथिसम्म जाने व्यवस्थित सिंडी रहेछन् । पहाडको टुप्पामा महादेवको मन्दिर । पहाडको वरिपरि गरिव किसान र मजदुरको बस्ति रहेछ । भैँसी सबैका घरमा देखियो । त्यसबाहेक सबेरै साइकलामा अनेकौ सामान राखेर सानोखाले व्यापारमा निस्कने लोग्नेमानिसहरुको ताँति पनि भेटियो । 

सोह्र जनाको शिल्पी टोली कोमा नाटक लिएर त्यहाँ पुगेका थियौँ । उडिसाको त्यही भुभागतिर पुगिएछ जहाँबाट ती किसानहरु २००८ मा पहाड बचाउ अभियानमा प्रोपोगाण्डा नाटक लिएर कोलकाता आएका थिए । 
राउकेला, उडिसा राज्यको उत्तरी सिमामा अवस्थित सहर रहेछ । अरुन्धती रोयको ‘वाकिड विद द कमरेड्स’ पढ्दै गर्दा ठ्याक्कै यो यात्रा भएको थियो । तिनै पहाड र जंगलको काखमा बस्ने आदिवासी मानिसहरुको विस्तापन संगै, तिनीहरुको संस्कृति, जीनशैली र रोजिरोटीको समस्यासँगै यो कथा त भारतीय राष्ट्र्यि राजनीतिसँग जोडिँदो रहेछ । पश्चिम बंगाल, झारखण्ड, छत्तीसगढ, तेलेड्गना र आन्द्रप्रदेशले घेरिएको यो भारतकै ९ औँ ठुलो राज्यका आदिवासी जनता नक्सलवादी आन्दोलनसम्म जोडिन पुगे । आफ्नो भुमि रक्षाको लागि लडेका यी दुखी मनुवाहरुको पटकपटक हार भयो । सिंगै उडिसाको कुरा गर्ने मेरो क्षमता छैन । हामी पछिल्लो पटक पुगेको उडिसाको तेस्रो ठुलो सहर राउरकेला मेरो मस्तिष्कमा धेरै मुद्धाहरु बोकेर घुमिरहेको छ । 
यो नाट्य यात्रा, बाटोमा भेटिएका मानिसहरु, महोत्सवमा मञ्चन भएका नाटकहरु मेरोलागि रमाइलोभन्दा बढि राजनीतिक भयो । मेरो दुःखको कारकतत्व नै यही जस्तो भान भइरहेको छ । नाटकलाई मनोरञ्जनभन्दा पर्तिर गएर हेर्न खोज्दा, यात्रामा भेटिएका मानिसहरुको इतिहास र समाजतिर पुग्न खोज्दा नभाको दुःख त पाउने नै भइयो । 
महोत्सवमा मञ्चन भएका नाटक मध्ये नाट्य चेतना भुवनेश्वर, उडिसाको नाटक ‘धुवं’ले तिनै आदिवासीहरुको कथा भन्छ जसको जंगल र पहाड खोसियो । सरकारले थोरै मुवाब्जा दिएर विस्तापित ती समुदायहरुका थोरै मानिसले आफ्नै भुमिमा बनेको कारखानामा काम पाए तर लल्लो तहमा । स्मरण रहोस् उडिसा ९० प्रतिशतभन्दा बढि हिन्दु भएको राज्य हो, जहाँ जातीय र आर्थिक विभेद नेपालमा जस्तै अचाक्ली छ । महोत्सवमा साँझसाँझ नाटकहरु मञ्चन हुन्थे र दिउँसो आदिवासी नृत्य प्रतियोगिता । ती आदिवासीहरुको भेषभुषा, रंग र नृत्यगीतहरु हेर्दा नेपालका आदिवासीहरुसँग लगभग मिल्दो पाएँ । मैले मोरङको झोराहाट नाट्य समुहसँग ‘धुपेनके धुँइयाँ’ नाटक तयार गर्दा उराउ समुदायको गीत र नृत्य प्रयोग गरेको थिएँ । ठ्याक्कै त्यही लय र नृत्य चालको गीत त्यहाँका आदिवासी समुदायले देखाए । 
राउरकेलामा ३० भन्दा बढि उद्योग मध्ये धेरै जसो स्टिल उद्योग रहेछन् । ती मध्ये सबैभन्दा ठुलो रहेछ सेल । यस उद्योगमा १८ हजारभन्दा बढि मानिसहरु काम गर्दारहेछन् । महोत्सव आयोजक संस्था स्पन्दनका धेरै जसो सदस्य यही स्टिल उद्योगमा काम गर्दा रहेछन् । अत्यन्तै गर्मी मानिने यस ठाउँमा स्टिल उद्योगका कारणले झन तापक्रम बढ्दो मानिन्छ । गर्मीकै कारणले यी उद्योगहरुमा काम गर्ने समय रात्रिकालिन रहेछ । हाम्रो नाटक हेर्न आएका धेरै नेपालीहरुसँगको अन्तक्रियाबाट थाहा लाग्यो । उनीहरु विहान अबेरसम्म सुत्छन् । प्राय नेपालीहरुले खाना खाने समय राती १२ बजे रहेछ । एक नेपाली परिवारले हाम्रो टोलीलाई दिएको रात्री भोजनमा हामी १२ः३० बजे भोकले थलिएर खाना हसुर्दै थियौँ ।

अँ त, अगाडिको कुरा जोडौँ । आफ्नो थातथलो हराएपछि धेरै जसो मानिसहरु जिविकोपार्जनको खोजीमा सहर पसे । अरुन्धती रोयले आफ्नो किताबमा यो कुरा बढो रोचक ढंगले लेखेकी छन् । उपभोक्तावादी समाजको व्यापारिक विश्लेषणबाट हेर्दा कथित आधुनिक सहर निर्माणमा जनसंख्या वृद्धिले ठुलो भुमिका खेल्यो । संसारका प्रतिष्ठित सहरहरुमा जनसंख्याको चाप त हुनै पर्यो । अनि दिल्लीलाई उडिसा वा अन्य प्रान्तबाट आएका आदिवासी जो बाटोमा भिख माग्छन् वा मजदुरी गर्छन्, तिनलाई व्यवस्थित गर्न राज्यले लगानी गर्ने पुलिस, डण्डा र बन्दुकको राजनीति त्यो पनि रोयले आफ्नो कितावमा लेखेकी छन् । 
त्यसो भए शहरीकरण, औद्योगिकरण र विकाशका नाममा हामीले ध्वस्त पार्दै आएको हाम्रो सुन्दर प्रकृति र स्वस्थ समाजको ठुलाखाले दुर्घटना त देखिरहेका छौँ । भारत वा अन्य देशहरुले गरेको ती ठुलाखाले गल्ती के हामीले अझै गर्नै बाँकी छ । भर्खरै हामी पहाड र उर्वर खेतहरु सम्याएर कंकृटका घरहरु रोप्दैछौँ । बैकल्पिक उर्जाका लागि नेपालको नेतृत्वले सोच्ने अपेक्षा गर्नु र ती उडियाहरुले मलाई क्लाइमेट चेन्ज र क्लोवल वार्मिडबारे भाषण सुनाउनुमा के फरक होला र । 
राउकेला मुख्य सहर निक्कै सफा र व्यवस्थित जस्तो देखिन्छ । धेरै जसो पार्क र सार्वजनकि स्थलहरुको निर्माणमा त्यही सेल स्टिल उद्योगको लोगो भेटियो । मानिसहरु पनि निक्कै मिजासिला लागे । राउकेलाका पुरुषहरुको विशेषता २ कुरामा देखेँ मैले । ठुलो पेट र कालोमोट्टो जुँगा । २५ नाघेका लोग्नेमानिसहरुको ठुलो पेट नहुनु राउकेलाको खानाको दोष हो । जुँगा त पुरुषहरुको पहिचान नै जस्तो रहेछ । हामीले त्यहाँ भेटेका नेपालीहरुले पनि बढो सानले ठुलाठुला जुँगा राखेको पाइयो । पेट त ठुलो हुनेनै भयो । वर्षौँदेखि त्यहीँ बसोबास गरिरहेका वा त्यहीँ जन्मिएका नेपालीमुलका ती मेहनती दाजुभाइहरुको जुँगा किस्सा मनोवैज्ञानिक किसिमको छ । उनीहरु भन्छन्, त्यहीँ जन्मिएको नेपाली पुस्ता जो भाषा, संस्कृति, शिक्षा र शिपको हिसावले पनि रैथाने जस्तै छ । तर पनि हेपिनु परेको छ । यी नै मनोविज्ञानको उपज हो मोटो जुँगा । उनीहरु उडिया जस्तै देखिन चाहन्छन् । राउकेलामा ३० औँ हजार नेपालीहरु रहेको अनुमान गर्छन् नेपाली समाजका एक युवा ओम श्रेष्ठ । वीसौँ वर्षदेखि त्यहाँ बसोबास गरिरहेका ओमले नेपाली नाटक हेर्न लगभग १०० जना नेपालीहरु लिएर आए । हाम्रो नाट्य टोली खुसी हुनु स्वभाविकै थियो । ओम श्रेष्ठ जस्तै राजनीतिक र सामाजिक रुपमा सक्रिय अन्य धेरै नेपालीहरुका लागि यो जमघट शानको विषय बन्यो । नेपाली नाटकले महोत्सवमा पाएको तारिफले उहाँहरुलाई निक्कै हर्सित बनायो । स्थानीय पत्रिकामा नेपाली नाटकको बारेमा आएको समाचारहरुमा पनि हामी भन्दा बढि उहाँहरु खुशी देखिनु हुन्थ्यो । यसपटकको राउरकेला यात्राले स्थानीय आदिवासीदेखि नेपालवाट विस्तापित नेपाली समुदायको पहिचानसम्मको मुद्धालाई मनभारि बनाएर ल्यायो । हामी ५ वर्षदेखि नयाँ संविधानका लागि यही कुरामा लडाईँ गरिरहेका छौँ । 

राउकेलामा महिलाहरुको विशेषताको कुरा गम्भिर छ । बाटोमा हिंडिरहेका युवतीहरुलाई आँखाले भ्याउन्जेलसम्म हेर्छन्, यस्तो लाग्छ उनीहरु आँखाले युवतीहरुको स्क्यान गर्छन् । सार्वजनिक यातायातको अग्रभागमा टाँसिएको एउटा नियमले चसक्क बनायो । गाडी चालकको छेऊमा महिला बस्न नपाईने । बसेमा ५०० रुपैयाँ जरिवाना हुने रहेछ । कानुन बनाउनेहरुको तर्क रहेछ, चालकको छेऊमा महिलाहरु बसेमा चालकको ध्यान भंग भएर गाडी दुर्घटना हुन सक्छ । यस्तो नियम बनाउनेहरु पनि त पुरुष नै होलान, जसरी काठमाडौमा भर्खरै महिला यात्रुहरुको लागि छुट्टै बसको व्यवस्था गरिँदैछ । 

यो सहर पनि भारतका अधिकांश सहरहरु जस्तै धार्मिक रुपमा कट्टर पाएँ मैले । हुनत भारतीयसिमा प्रवेशसँगै रेलयात्रामा केही यात्रुहरुले हामीलाई प्रश्न गरेकै हुन् । धर्म निरपेक्षता किन ? यस्तो लाग्यो, हामी भन्दा धेरै गुणा भारतीय हिन्दुहरु नेपाललाई हिन्दु राष्ट्र् देख्न चाहन्छन् । भारतका हरेक सामान्य हिन्दु नागरिकहरुलाई नेपाल धर्मनिरपेक्ष भएकोमा चासो छ । तर मेरा गाउँका बाआमालाई कृषि मलको, विऊको, खानेपानीको, विद्युतको वा सामान्य नागरिकले काम गरेर खान पाउने अधिकारको चासो छ । मेरा बा आमाले मन पराएको धर्मनिरपेक्षता बेलायति राजदुतले दिएको वक्तव्यसँग गोरु बेचेको पनि साइनो छैन । न त गाउँमा बनेका चर्चहरुसँग सम्बन्धित छ । संयोग कस्तो भने राजकुमार हिरानीको फिल्म पिके’ सार्वजनिक भएको ठ्याक्कै त्यही बेला हामी राउरकेलामा थियौँ । नाट्यटोलीका सबै साथीहरुले हामी बसिरहेको होटलसँगै जोडिएको सिनेमा हलमा गएर उक्त फिल्म हेर्यौँ । हामी भुवनेश्वर तथा जगन्नाथपुरी घुन्म जान चाहन्थ्यौँ । आयोजक र स्थानीय नेपाली साथीहरुलाई हामीले यो ईच्छा प्रकट गर्यौँ । रेलको टिकट खोज्ने क्रम सुरु भयो । दुवै पक्षबाट हामीलाई सल्लाह आयो, यदि जगन्नाथ बाबाको बोलावट भएको छ भने कुनै पनि कष्टले हामी जान सक्नेछाँै । एकदिन भरिको प्रयासमा तालमेल नमिलेर हामी भुवनेश्वर जान सकेनौँ । हामी उहाँहरुको सामु लज्जित भयाँै र पिके सम्झियौँ । 

मुलत नाट्य महोत्सवमा सहभागि हामीले क्यानभाषको कोलाज झै जिन्दगीको अनेकौँ रंग बुझ्न पायौँ । कवि मणि काफ्ले यात्रामा निक्कै सहयोगी बन्दारहेछन् । यातायात प्रवन्ध, कोही विरामी पर्यो वा अन्यखाले समस्यामा हरबखत सहयोगको लागि तम्तयार । पत्रकार दिपक सापकोटा अर्का विन्दास आदमी रिहेछन् । उनी ठट्टा त गर्न खोज्थे तर त्यो ठट्टाले उनैलाई उडाएको चाहिँ पत्तो नपाउने रहेछन् । त्यसैले होला उनको बारेमा जति मजाक गरेपनि उनी विन्दास हाँसेर उडाउँथे । अर्का समीक्षक गुरुड सुसान्तको पहिलो यात्रा रहेछ रेलमा । तर उनको घनिष्ट प्रेम बसेको रहेछ फोन र सामाजिक सन्जालसँग । उनको प्रेमकथा कहिलेकाही यति गोप्य हुन्थ्यो कि केही पटक त उनी घुमघामको लागि निस्केको टोलीमै छुटेछन् । खानपिनको ताल नमिलेर प्राय कलाकारहरु लोलाइरहेका थिए । हाम्रा नाटककार नगरकोटी यस्ता विस्दास रहेछन् खाना जस्तो होस् झ्याप्प २ थाल बजाइदिने । 
पुसको पहिलो साता गरिएको यो १० दिने भ्रमण हामी काठमाडौबासीहरुका लागि जाडो छल्न गएजस्तो भएको थियो । रेलको निक्कै सजिलो यात्राबाट हामी सबै खुसी थियौँ । कुमार नगरकोटी कृत नाटक कोमः अ पोलिटिकल सेक्सले महोत्सवमा पारेको प्रभावले पनि हामी सबैलाई आनन्दित बनायो । तर, राउकेलमा अब बाँचेखुचेका केही पहाड र तिनका वरिपरि बस्ने आदिवासीहरुको जीवन कुन ठुलो सहरमा गएर मिसिने हो भन्ने चिन्ता मनमा छ । के हाम्रा पहाडहरु यसरी नै सिर ठड्याएर उभिरहन सक्नेछन् ?

Wednesday, April 15, 2015

नयाँ नायकको खोजीमा

आन्द्रेया– (ढोकामा उभिएर) नायक जन्माउन नसक्ने राष्ट्र दयनीय हुँदोरहेछ ।
ग्यालिलियो– त्यसो होइन आन्द्रेया, नायकको खाँचो भएको राष्ट्र दयनीय बन्दोरहेछ ।

संसारमा जति पनि नायक हामीले पाएका छौँ, तिनको जन्म बढो कठिनसँग भएको छ । त्यसरी नै अनेकौँ त्रासदी, अन्धविश्वास र धार्मिक जडबीच जन्मिएका महान् वैज्ञानिक,विचारक, सत्यवादी नायक हुन्– ग्यालिलियो ग्यालिलेइ । यिनको जीवनी पढ्दा थाहा लाग्छ, समाज सधैँ नयाँ नायकको आगमनका लागि आतुर छ । तर, त्यही समाजले नायकको जन्म हुनुअघि बारम्बार अवैधानिक गर्भपतन गरिरहेको हुन्छ । त्यसैले देशमा नायक जन्मिन समय लाग्छ । हामी पनि यतिखेर नयाँ नायकको प्रतीक्षामा छौँ ।
ग्यालिलियोको जीवनीमा आधारित ब्रेटोल्ड ब्रेख्तको नाटक हो– ग्यालिलियो । यसको नेपाली अनुवाद पृथ्वी घुमिरहेको छ । बजारमा आएको छ । अनुवादक हुन्– होमर श्रेष्ठ । संसार प्रसिद्ध यस नाटकको नेपाली अनुवाद पढिसकेपछि मलाई लाग्यो, यो कृतिको बिक्री अत्यधिक हुनुपथ्र्यो । यसका केही कारण छन् ।
खंगोलशास्त्रका सम्बन्धमा नयाँ बिचार दिने दार्शनिक गिओर्दानो बु्रनो जसले अरस्तुका सिद्धान्तमाथि प्रश्नचिह््न उठाएका थिए । ब्रुनोलाई ६ बर्षसम्म बन्दी बनाइयो । आफ्नोे सिद्धान्त र विचार फिर्ता नलिएपछि बाइबलविरोधी अनैतिक विद्रोहीको अभियोग लगाएर जिउँदै जलाइयो । एउटा नयाँ विचारलाई तत्कालीन रोमन क्याथोलिकहरूले त्यति क्रुर सजायँ दिएको समाजमा अर्को एउटा विचारक ग्यालिलियो (सन् १५६३–१६४२) उदाइरहेका थिए । ग्यालिलियोको जन्म इटालीको पिसा भन्ने सहरमा भएको थियो । तत्कालीन क्याथोलिकहरू बाइबलभन्दा पर्तिर गएर सोच्नु ईश्वर र जिससको अपमान ठान्थे । र, रोमन क्याथोलिक चर्चको पृथ्वी अटल छ अर्थात् सूर्यले पृथ्वीको परिक्रमा गर्छ भन्ने धार्मिक विश्वास तोडेर वैज्ञानिक आधारका साथ सूर्यलाई फन्को मार्दै पृथ्वी घुमिरहेको छ भन्ने तर्क प्रस्तुत गरिरहेका ग्यालिलियोले आफ्नो नवीन विचारकै कारण धेरै धम्की र यातना खेप्नु प¥यो । यिनै महान् नायकबारे केन्द्रीय ब्रेख्तको नाटक ग्यालिलियोले सधैँ नयाँ विचार र युगको आह्वान गरेको छ ।
नाटकमा एउटा प्रसङ्ग छ । ग्यालिलियोले शक्तिशाली दूरबिन बनाउँछन् र दरबारका उच्चपदका कारिन्दा तथा अन्य क्याथोलिक दार्शनिकलाई दूरबिनबाट हेर्न आग्रह गर्छन् । जुन दूरबिनबाट आकाशका हजारौँ तारा नजिकै देखिन्छन् । तर, पुरानो सोचाइ र धर्मको जडका कारण तिनीहरूले दूरबिनबाट हेर्न मान्दैनन् । बरु दूरबिनबाट हेर्दैनहेरी ग्यालिलियोको भ्रमपूर्ण साधन भनेर आरोप लगाउँछन् । ती क्याथोलिकहरूले दूरबिनबाट नहेर्नु नाटकमा ठूलो प्रतीक हो । संसारमा अन्य धेरै मानिस नयाँ चेतना, नयाँ धारणा, नयाँ दृष्टिकोण र विज्ञानरूपी दूरबिनलाई क्याथोलिहरूले जसरी लत्याइरहेका छन् भन्ने अर्थ लाग्छ । नाटकमा अन्य धेरै यस्ता सान्दर्भिक विचार छन्, जुन हाम्रो जीवन र समाजसँग ठ्याक्यै मेल खान्छ । नेपालको वर्तमान परिस्थितिसँग पनि ठ्याक्कै मिल्दो लाग्छ ।
‘ग्यालिलियो’ एपिक नाटक हो । जसलाई नेपालीमा काव्य–नाटक भनेर चलाइएको छ । चलनचल्तीमा ब्रेख्तियन शैली पनि भनिन्छ । एपिक नाटकका केही विशेषता छन् । विभाजित दृश्य, गीतको प्रयोग, कवितात्मक संवाद, हास्यव्यङ्ग्यको मिश्रण आदि । ग्यालिलियो नाटकमा १४ वटा दृश्य छन् । नाटकमा हरेक दृश्यको सुरुवात र अन्त्य गीतबाट भएको छ । हरेक दृश्यका घटनाक्रम यथार्थपरक भए पनि हरेक चरित्रले बोल्ने संवाद दार्शनिक र लयदार छन् । र, एक पात्रले अर्को पात्रलाई सिधै नभई व्यङ्ग्यात्मक रूपमा छेडखानी गर्ने र चित्तबुझ्नेगरी हाँस्ने परिस्थिति र संवाद प्रशस्त छन् ।
ग्यायालियो जर्मन भाषामा लेखिएको नाटक हो । ब्रेख्तले यसलाई तीन पटकसम्म पुनःलेखन गरेका रहेछन् । पहिलोपटक डेनमार्कमा, दोस्रोपटक अमेरिका र तेस्रोपटक बर्लिनमा लेखिएका फरक–फरक संस्करणका विशेष अर्थलाई होमर श्रेष्ठले आफ्नोे अनुवादको भूमिकामा खुलाएका छन् । होमरको अनुवादमा धेरै कुरा छन् । १८७ पृष्ठ मोटो कृतिमा होमरले लगभग आधा कृतिलाई इतिहास र विश्लेषणमा खर्चिएका छन् । त्यसैले यस कृतिको पहिलो लोभलाग्दो पक्ष यही हो । भूमिकाका लागि होमरले धेरै दुःख गरेका छन् । तत्कालीन रोमन क्याथोलिक समाज, दार्शनिक ग्यालिलियो र तत्कालीन समय,ब्रेख्त र इपिक थिएटर,नाटक ग्यालिलियो र यसको मञ्चनदेखि नेपाली समाजमा यसको सान्दर्भिकतासम्म प्रस्तुत उक्त भूमिका नेपाली रङ्गमञ्चका विद्यार्थीका लागि उपयोगी छ । मैले पहिलोपटक ०६० मा महेश दत्तले कुन भाषाबाट अनुवाद गरे भन्ने आफ्नोे अनूदित कृतिमा खुलाएका छैनन् । दोस्रोपटक लग्टनको अंग्रेजी अनुवाद गरेका रहेछन् । जर्मन भाषाका ज्ञाता भएकाले पनि उनका लागि सम्भावना धेरै रहेछ । होमरको नेपाली अनुवाद ज्यादै सरल, चुस्त र मीठो लाग्छ । एउटा कृति पढ्दा यति धेरै सूचना र ज्ञान पाएका कमै कृति छन्,मेरालागि । साहित्य पढ्ने अन्य पाठक जो नयाँ युग मनपराउँछन्, तिनले पनि पढ्नैपर्ने कृति हो यो । विश्वविद्यालयको पाठ्यक्रममा पनि यो नाटक छ । नाटकमा रहेका गीतको नेपाली अनुवादमा भने होमरले लयलाई भन्दा अर्थलाई बढी जोड दिएका छन् । गीतको लय र छन्द भने भताभुङ्ग भएको छ ।
गहिराइ तातो–तातो, उचाइ चिसो–चिसो छ ।
टोल–टोलमा हल्लीखल्ली, दरबार सुनसान छ ।

Saturday, January 3, 2015

मूल्यका लागि सपना

घुम्न छोडेको साइकलको डाइनामो र मन
उस्तै उस्तै लाग्छन्
अध्यारोमा साइकल जस्तै गुडिरहेछ जीवन

क्रान्तिपछिको विहान्
अखवारमा छापिएछ
विजय जुलुसमा आफ्नो तस्विरसँगै
फेरि तरकारीको भाऊ †
फेरि तेलको भाऊ †
फेरि नूनको भाऊ †
साकाहारी भएर पनि तर्सन्छु †
खसीको मासुको भाऊ †
आकासिएछ क्रान्तिसँगै ।

क्रान्तिपपछिको दिउँसो
विजय जुलुस निस्किएछ
फेरि पनि बाटो छोड्दैनन् साइकललाई
घुम्न छाडेको डाइनामो जस्तै मनलाई
प्राइभेट गाडीहरु †
प्राइभेट सडकहरु †
प्राइभेट सहरहरु †
प्राइभेट बजारहरु †
प्राइभेट सुपरमार्केटहरु †
प्राइभेट जीवनहरु †
प्राइभेट सपनाहरु खेदिरहेछन् मलाई
मेरो सपनालाई
म जस्ता अरु धेरैका सपनालाई ।
क्रान्तिपछिको दिनमा पनि...

क्रान्तिपछिको साँझ मातेको छ सहर
मातेका छन् नेताहरु
मातेका छौं हामी
साँझ सडकमा वत्ती निभेका छन्
निभाइएका छन्
डाइनामो वेगरका जीवनहरु
स्पोक भाँचिएका सपनाहरु
गइरहेछन् एक हुल खसी बजार तिर...
अब सपनाहरु बिक्री हुन्छन् थोकको भाउमा
क्रान्तिपछिको साँझमा पनि...

आफ्नो मूल्यका लागि सपना
वा मूल्यका विरुद्धमा सपना
क्रान्तिका लागि तत्पर छ ।

Wednesday, November 12, 2014

बुध्द

मान्छे गाई बेचेर दुध किन्छ
जग्गा बेचेर अन्न किन्छ
घर बेचेर डेरामा बस्छ
वा जाडोमा आफ्नै लुगा बालेर अागो ताप्छ
र भन्छ दु:ख पाएँ !
आफु हिंड्ने बाटोमा दिसा बस्छ
र नाक थुन्दै हिद्छ
अरुलाई अपमान गर्छ र आफु सम्मानित नभएकोमा रुन्छ  
हे महासय ! धन्न तिमी छौ र यो संसारको अस्तित्व छ
नत्र यो संसारमा अज्ञानता र दु:ख थिएन भने
राम्रा किताब, फिल्म वा गीत हुने थिएनन शायद !
बुध्द तिमी पनि हुने थिएनौ !!

Friday, November 7, 2014

आगो र स्वर्ग

बल्नको लागि पनि निक्कैबेर कुर्नु पर्ने छ मेरो लासले
आर्यघाटको किनारामा लमतन्न बाँसमाथि
र कोही आफन्तले झन्झट बेहोर्ने छ
मेरो अनुहारबाट झिँगा धपाउन ।

र, आफ्नो बल्ने पालोमा
आगो, आगो, अागो !
हे प्रकृति ! आगो !!
आगोले मलाई बाल्ने छ
मेरो अत्रिप्त आत्मालाई ।
र, किनारामा उभ्भिएर
लोन्द्रा खोलाको गिट्टी बगरमा
वा आर्यघाटको चिसो ओसिलो किनारामा
शायद चरम जाडो याम हुनेछ, नदी पनि जमेको ।
मेरा मलामीहरुले ठिही ठिही गर्दै वा चुरोटको धुवाँ उडाउदै भन्नेछन्
'हे भगवान् स्वर्गमा बास होस् उस्को'
आगो, आगो, अागो !
ठस् ठस् गर्दै बल्ने छ चिसो दाउरा मेरो भोगी शरीरमाथि र मुनि
धुवाँ र गन्धको वाक्वाकीलाई पचाउँदै फेरि भन्ने छन् मेरा आफन्तहरु
'अकालमै मर्यो, स्वर्ग बास होस् यस्को'

मेरा अनगिन्ती अबैध सम्बन्धहरु
धोका  पाएरा प्रेमिकाहरु
आदिम राजाका भन्दा धेरै श्रीमतीहरु
मैले नतिरेको रिण
मैले गरेको खरदारी भ्रस्टाचार
संका  र हिंसा
मैले पानी सरि पिएको रक्सी
बेश्यागमन
अल्छी, निद्रा र मेरा शरीरका रोगहरु
आगो, आगो, आगो !!

हे आफन्तहरु
हे मलामीहरु
के यही हो स्वर्ग जाने बाटो ?
बिन्ती नराख मलाई चितामाथि
आगोले जलाउने छ मेरो अहमलाई र खरानी बनाउने छ ।
म स्वर्ग हैन, धर्तीमै बस्न चाहन्छु अरुकेही दिन वा केही घण्टा
र आफुलाई सच्याउन चाहन्छु अलिकती कम पिएर
आदरणीय मलामी ! स्वर्गमा शायद त्यो अवसर मिल्ने छैन !!

आगो, आगो, आगो
जल्नेछन् मेरा महान् बन्ने रहरहरु । 

Wednesday, September 24, 2014

रमिता-कविता

१
सवारी चालकहरु अचानक बाटो परिवर्तन गर्छन्
पछाडिकालाई पत्तै नदिई ।
नेताहरुले पार्टी परिवर्तन गरे जस्तो
आफ्न वाचा र सिद्वान्त परिवर्तन गरे जस्तो ।
अनि हुन्छ दुर्घटना बीच सडकमा
संबिधान सभा भवन अगाडि ।

२
म निक्कै तल हुँदा तिमी निक्कै खुशी थियौ
त्यसैले मायाले सुम्सुम्यायौ । 
तिमीलाई लाग्यो म त्यहिँ सड्ने छु
मेरो हैसियत त्यत्ती हो 
म नङ्ग्रा खियाउदै जति उकालो चढ्दै तिमीतिर आएँ, तिमी उति डराउन थाल्यौ 
र माथिबाट ढुङ्गा बर्षायौ !!
तर मैले तिमीलाई तिनै ढुङ्गा टिपेर कहिल्यै हानिन 
बरु अलिक पर्तिरबाट यात्रा थालेँ । 
तिमीले देखी हाले, खिसिक्क मुस्कुराएँ, उही तलको मान्छे झैँ 
अचेल तिमी भेट्दा खिसिक्क मुस्कुराउछौ
लाग्यो बद्लिएछौ
तर ढुङ्गा खासल्न त अझै छोडेका रहेनछौ ?
तलबाट आउँदै गरेकाहरुले भनेको !!!

३
बरु ओडाउनलाई कात्रो नहोस् 
स्कुल जानलाई युनिफर्म होस् 
बरु जलाउनलाई दाउरा नहोस् 
लेख्नलाई एउटा कलम होस् 
बरु घाटमा हजारौ मलामी नहुन 
पढाउनलाई १ जना असल गुरु हुन ।
बरु लासमाथी छर्किने चामल नहोस् 
जिन्दगीको यात्रामा अलिकती सामल होस् ।
जीवन भनेको आखिर के नै रहेछ र ?
रामेशले भने जस्तो-बाचुन्जेल गरिने काम न हो !!!
मरेपछि यत्रैसिती-बरु नर्ककै बास होस्
बाचुन्जेल 'जिउने' आश होस् !!!!!

४
राज्य सरकार यतिखेर कर्मकाण्ड बाहेक केही गर्दैन 
मन्त्री मण्डल बनाउने र भंग गर्ने 
मलाई यस्तो लाग्छ, सरकार नभएपनि राज्य आफै संचालित छ 
किनभने यहाँ किसानहरु छन्, खेतमा काम गर्दैछन् 
मजदुरहरु छन्, भारी बोक्दैछन् 
व्यापारीहरु छन्, व्यापार गर्दैछन् 
कसाइहरु छन् मासु बेच्दैछन् 
नगरबधुहरु छन् शरीर बेच्दैछन् 
चोरहरु छन्, चोर्दैछन् 
भ्रष्टाचारीहरु छन्, घुस खाँदैछन् 
पुरुषहरु छन्, गर्भाधान गर्दैछन्
महिलाहरु छन्, सुत्केरी हुँदैछन्
रोगी वा बृद्धहरु छन् मर्दैछन्
घाटेहरु छन् तिनलाई पोल्दैछन्
यो देश यसरी नै चलेको छ ।