Friday, May 22, 2020

एउटा सम्बेदनशील शासक जो रून पनि जान्दछ !


ओ शक्तिशाली शासक !
अचानक तिमी भावुक भएको हल्ला छ बजारमा
आँशु पनि झारेको समाचार छ शहरमा

ढिला नै सही 
तिम्रो हृदयमा अंकुराएको हो भने विवेक
आँशु र भावुकतालाई बनाउँन चाहेका होइनौ भने राजनीतिक पासा
भविष्यमा झनै हुनेछौ दुखी
देखेर नागरिकका दर्द र बेहाल
हुनेछौ तिमी अझै बिक्षिप्त
तिम्रो अपराध (घमण्ड वा गल्ती ) गलेर बन्नेछ संभवत: पश्चातापको अनन्त दलदल

साँच्चै
अब तिमीलाई लाग्दैन ?
हिजो मरेकी सुत्केरी आमा
तिम्रो कुर्सी(सत्ता)लाई असफल बनाउन
रचिएको एक षड्यन्त्र  हो !

ओ शक्तिशाली शासक !
चकित छ शहर अनायासै तिम्रो रूपान्तरण देखेर 
तिम्रो भावुकता र आँशुको समाचार सुनेर !

(नोट-यो कविता मध्यरातमा उठेर लेखिएको हैन ।)

मृत्‍युको कनेक्सन

डिसेम्बर ३१, उहानको औपचारिक घोषणाबाटै
मेरो पनि नाम दर्ता भैसकेको हो संक्रमण र मृत्‍युमा
त्यसो त जन्मिनसक्दै मृत्‍यु खातामा मेरो नाम थियो
आमाको गर्भबाटै देखेको थिएँ त्यो मृत्‍यु
जन्मिएर बिर्सिएँछु ।
एउटा अकाल मृत्‍युको कल्पना कसरी गर्ने होला ?
यतिखेर त्यो अकाल नै यथार्थ भै दियो !
सम्झिएँ ।
फोक्सो र मुटुमा असाध्यै पिडा हुने छ
नसाभित्रै रगत जम्न थाल्ने छ
म छटपटाउने छु पीडाले असाध्यै
शरीरबाट अन्तिम पटक स्वास छोड्दै गर्दा कोही हुने छैन मेरो नजिक
एक घुट्की पानी खुवाउने
मायाले सुम्सुम्याउने
लास उठाउने पनि कोही हुने छैन
आफन्तहरूले सय मिटर परबाट ट्वाल्ल हेर्ने छन् मेरो लास
संसारकै सबैभन्दा प्रिय मानिस मेरो छेउमा हुने छैन
त्यसो त दुस्मनहरू पनि आउने छैनन् मेरो लासमा नक्कली सहानुभूतिको फूल चढाउन ।
बरू तिनलाई आफ्नै मृत्‍युको चिन्ताले पिरोल्ने छ ।
केवल भ्रष्ट शासकहरू रुने छन् ईतिहासको अभिशप्त कलंकलाई पखाल्न
दरबारभित्रै लुकेर
आफ्नै मृत्‍युको डरले ।
यस्तो बेहालमा पनि मेरो लास कसैले नदेख्ने गरि मुस्कुराउने छ ।
म एउटा सुनसान सुनसान सुनसान मृत्‍यु मर्नेछु ।

Thursday, May 21, 2020

नेपाल-भारत सिमा बिबाद

'आफ्नै मनको शान्तिका लागि पनि लेख्नैपर्ने भयो'


एउटा सामान्य नियम के हो भने- यदि मैले आफ्नै जग्गामा पर्खाल लगाउन लागेँ वा घर बनाउन लागेँ वा जग्गा बेच्न लागेँ भने पनि सँधियारलाई खबर गर्नुपर्ने हुन्छ । व्यक्तिगत जग्गाको सिमाना त यति संवेदनशील हुन्छ भने यो त देशको सिमानाको कुरा भयो । र, छिमेकीसँग सिमाना विवाद भयो भनेर पूरै परिवार-परिवार नै झगडा गर्ने, लडेर बस्ने कुरा आउँदैन । त्यसो त पटमूर्खहरूले मात्रै गर्छन् ।

यस्ता विवाद मिलाउने सभ्य र शालीन अनेक तरिका छन् ।

कुरा नेपाल र भारतको सीमा विवादको हो । यो सीमा विवादलाई सुल्झाउने शान्तिपूर्ण तरिका दुवै गणतान्त्रिक मुलुकका जिम्मेवार व्यक्तिहरूलाई थाहा छ । हामी नागरिकहरूले तल्लो तहमा गिरेर, तुच्छ भाषा प्रयोग गरेर झगडा गर्नु आवश्यक छैन भन्ने मलाई लाग्छ । खासमा दुवै देशका नागरिकहरूबीच त्यस किसिमको दुस्मनी र घृणा पनि म देख्दिनँ (तर सत्ता र कुनै स्वार्थले नागरिकहरूलाई नचलाएसम्म)। सिनेमा, संगीत, साहित्य, कला, खेल, संस्कृतिदेखि आम जीवन पद्धतिमा दुवै देशका नागरिकहरूबीच ठूलो कनेक्सन छ । र, यो लोभलाग्दो र प्रिय पनि छ ।




तर एउटा कुरा चाहिँ भारत सरकारले सुन्नैपर्छ । भारतीय मिडिया र नागरिकहरूले पनि सुन्नै पर्छ- भारतले आफ्ना छिमेकीहरूलाई गर्ने व्यवहार निक्कै हेपाहा किसिमको छ । अरु छिमेकी देश झैँ नेपालको पनि भारतप्रति गुनासा छन् । देशको भौगोलिक आकारको कारण भारतको सत्ताले देखाउने दम्भ लज्जास्पद हो । अहिले पनि मिडियामा भारतका जिम्मेवार मानिएका कतिपय मानिस नेपाललाई भारतको सानो भाइका रुपमा परिभाषित गर्छन् । यो खेदजनक छ ।

दुई देशबीचको सम्बन्ध दाजुभाइ वा दिदीबहिनीको जस्तो हैन, मित्र-मित्रको जस्तो हो । दाजुभाइको रुपमा हेर्नेबित्तिक्कै समस्या त्यहीँनेर आउँछ । 'कथित दाइ' भारतले 'कथित भाइ' नेपाललाई सधैँ मैले भनेको तैँले मान्नुपर्छ । केही गर्न लागे हामीलाई सोध्नुपर्छ भनेर एकतर्फी रुपमा हैकम जमाउन चाहन्छ । अहिले पनि त्यही भएको हो ।

जस्तो कि सन् २०१९ मा भारत सरकारले आफ्नो देशको नक्सा सार्वजनिक गर्दा नेपाललाई विवादित सिमानाबारे सोध्नु आवश्यक ठानेन । विवादित भूमिमा सडक बनाउँदासम्म पनि नेपालसँग कुरा गर्नु आवश्यक ठानेन । अहिले नेपाल सरकारले आफ्नो देशको नक्सा सार्वजनिक गर्दा चाहिँ नेपाल भारतप्रति जवाफदेही होस् भन्ने अपेक्षा गर्छ ।
दुवै देशलाई यो पनि थाहा छ- सीमा विवाद नयाँ हैन ।

सीमा विवादकै घटनामा विसं २०७३ फागुन २६ गते कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली युवा गोविन्द गौतमको गोली हानेर हत्या गरे । सिमानामा भारतीय सीमा सुरक्षा बलको हिंसा अरु धेरै ठाउँमा भएका छन् । यस्तो हिंसा र विवाद रोक्न पहल गर्ने काम त सत्ता सञ्चालकहरूको हो नि !

खुला सिमाना र कमजोर औद्योगिक स्थितिका कारण अनि भूपरिवेष्ठित सिमानाका कारण हामीले भारतसँग सहयोग लिनु परेको छ । तर छिमेकी मुलुकले लिने सहयोगको सट्टापट्टा हिंसा र हेपाइ त पक्कै होइन । पटकपटकको नाकाबन्दीको घाउ पनि नेपालीले बिर्सिएका छैनन् । आजको ग्लोबल युगमा कुनै पनि देश औद्योगिक उत्पादनमा शतप्रतिशत आत्मनिर्भर हुँदैन । आयात र निर्यातको सम्बन्धलाई राजनीतिक शक्ति सञ्चयको आधार बनाएर सानो देशलाई नहेप ।

ल ठीक छ, नेपाल र नेपालीलाई लाग्यो- भारतले हामीलाई हेपिरहेको छ भन्ने । भारतलाई त्यस्तो लाग्दैन भने दुई देशबीच हाँसीखुसी वार्ता गर्न सकिन्छ नि । सन् १८१६ को सुगौली सन्धि र सन् १९५० को (शान्ति र मित्रताको सन्धि) बारे पनि त छलफल गर्न सकिएला । स्मरण रहोस्, यस किसिमको छलफल त्यतिखेर मात्रै सफल र प्रगतिशील हुनेछ, जब भारतले नेपाललाई बराबर मित्रका रुपमा ग्रहण गरेर बार्ता टेबलमा बस्ने छ । भूगोलको आकार, हिजोको राजनीतिक अस्थिरता वा नेपाललाई आर्थिक सहयोग गरेकै कारण हेप्ने प्रवृत्तिले नेपाल र नेपालीले भारतलाई विश्वास गर्ने छैनन् । भारत सरकारप्रति हाम्रो डर र सन्देह सधैँ रहने छ ।

अर्को कुरा, भारतीय मिडियाले चीनलाई गरेको गाली निक्कै अचाक्ली र लज्जास्पद छ । सन् १९६२ मा हारेको युध्दको घाउ बोकेर छिमेकीलाई सधैं सरापिरहनुले भविश्यमा दुर्घटना मात्रै निम्त्याउँछ । मलाई लाग्छ- एसियाको शान्ति, स्थिरता र सम्पन्नतामा चीन र भारतको सुमधुर सम्बन्धको बराबरी हात छ । नेपाल र भारतको शान्ति, स्थिरता र सम्पन्नतामा भारतकै धेरै भूमिका छ ।

भारत सरकारलाई एउटा छिमेकी देशको नागरिकको विनम्र निवेदन हो यो :
'नेपाल सरकार र नेपाली जनताको गुनासो र निवेदन सुन । आफूभन्दा सानो क्षेत्रफल भएका छिमेकी देशलाई पनि मित्रकै रुपमा व्यवहार गर । पुराना कागजपत्र र तथ्यका आधारमा सिमाना विवाद सुल्झाऊ ।'

हिजो चाहिँ किन बोलेनौ ? र आज कस्को इसारामा बोल्दैछौ भन्नु एउटा सार्वभौम देशका नागरिकको स्वरलाई अपमानित गर्नु हो । आफ्नो अधिकार र अरुको अत्याचार बारे बोल्न कहिल्यै ढिलो हुँदैन । भारतलाई थाहा हुनु पर्छ 'एक दिन नेपाल बोल्ने छ' भन्ने । भारतले यो पनि थाहा पाइराख्नु पर्छ- अत्याचारका बिरुद्ध ती जो यत्रो वर्ष बोलिरहेका छैनन् एक दिन बोल्ने छन् । ती छिमेकीहरू जो वर्षौंदेखि भारतबाट पिरोल्लिएका छन्, एक दिन बोल्ने छन् ।  

कवि रिमालको शक्तिशाली कविता यहाँ स्मरण गराउन चाहन्छु । 

...

लाटा-सुधा बोल्न थाल्छन्, चल्छ ओठ दु:खको
सहे भनी सम्झिएका ईख फेर्न उठ्तछन्

गए भनी नदेखिएका फर्की-फर्की आउँछन्
सुते भनी सम्झिएका सुरुसुरु हिँड्दछन्

मरे भनी फ्याँकिएका जुरुजुरु उठ्तछन्
खरानी हुन्छ भर्भराउँदो, हुरी चल्न थाल्दछ

कायर पनि वीर हुन्छन्, वेग चल्छ जोशको
हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ

एक जुगमा एक दिन एकचोटि आउँछ

उलट-पुलट, उथल-पुथल, हेरफेर ल्याउँछ

धन्यवाद !



Saturday, July 21, 2018

प्रधानमन्त्री ओली अचानक पुगेपछि



आज यस्तो भयो !
सत्याग्रही डा गोविन्द के.सी.को मागको समर्थनमा हजारौं नागरिकहरू माइतिघरदेखि नयाँ बानेश्वर पदयात्रामा थियौँ ! बाटोमा दर्जनौं सुरक्षाकर्मीहरू शान्त खटिएका थिए ! माथेमा प्रतिवेदनको पक्षमा, मेडिकल माफिया र भ्रष्टाचारको विरूद्धमा भीडबाट आवाज आइरहेको थियो ! भीडलाई जब नयाँ बानेश्वरमा सुरक्षाकर्मीहरूले रोके ! भीड त्यहीं अडिएर औपचारिक कार्यक्रमतिर लाग्यो ! डा केदारभक्त माथेमा, खगेन्द्र सङ्ग्रौला, डा बाबुराम भट्टराई, मनिषा कोइराला, करीश्मा मानन्धर, कृष्ण पहाडी, गगन थापा, डा रामेश कोइराला, प्रतीक प्रधान, अमित ढकाल, सुशीला कार्की, रविन्द्र मिश्र, डा जुगल भुर्तेल जस्ता दर्जनौ ब्यक्तित्व अग्र पङ्तीमा थिए । मिनि टाटा गाडीको डालीमा बनाइएको मन्चबाट भाषण चलिरहेको थियो ।




 हामी सारा समर्थकहरू सडकमा बसेका थियौं ! चरक्क घाम लागेको थियो ! घाम चर्किएसङ्गै त्यहाँ अचम्म भयो ।
बिशेष सुरक्षा सहितको नयाँ सरकारी गाडी भीडको अग्रपङ्तीको छेउमा रोकियो । अचानक आएको बिशेष गाडी देखेर भीडको ध्यान त्यतै गयो । भीड अचानक उत्तेजित भयो, जब कालो चिल्लो गाडीबाट सम्माननीय प्रधानमन्त्री केपी ओली ओर्लिनु भयो । उहाँसँगै पछाडि पट्टी माननीय मन्त्री प्रदीप ग्यवाली, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, सस्क्रिती मन्त्री रविन्द्र अधिकारी र साम्सद योगेश भट्टराई पनि हुनु हुन्थ्यो । केही उत्तेजित युवाहरुले प्रधानमन्त्रीको टोलीतिर आक्रमण गर्ने कोसिस गरे । सुरक्षाकर्मीहरु पनि प्रतिकारमा थिए । भीडबाट आएको ढुङ्गाको टुक्रा प्रधानमन्त्री ओलीको निधारमा लागेर निधारबाट रगत बग्यो । त्यस्तो अवस्थामा पनि प्रतिकार नगर्न सुरक्षाकर्मीहरुलाई प्रधानमन्त्रीले हातले ईशारा गर्नु भयो । त्यसपछि सुरक्षाकर्मीहरुको सहयोगमा उहाँ भीडको अगाडि रोकिएको गाडीको डालीमा चढ्नु भयो र उद्घोसकको हातबाट माइक्रोफोन लिनु भयो । सारा भीड उहाँको बिरोधमा नारा लगाई रहेको थियो । उहाँले ३ पटकसम्म शान्त हुन निवेदन गरेपछि मात्र भीड सम्हालियो । 



 त्यसपछि प्रधानमन्त्री ओलीको पहिलो वाक्य सुन्ने बित्तिकै भीड स्तब्ध भयो । उहाँले भन्नु भयो- 'सत्याग्रही डा केसी र तपाईंहरुले यो अवस्थासम्म आईपुग्नु परेकोमा म क्षमा चाहन्छु ।' भाबुक हुँदै ओलीले भन्नु भयो-जुम्ला अस्पातलमा जे भयो, त्यसमा सरकारको गल्तिभयो । यो बिचमा डा केसीको सत्याग्रहलाई लिएर मैले बोलेका अभिब्यक्तीलाई बिर्सिदिनुस् । म र मेरो मन्त्रीमन्डल तपाईंहरुको अगाडि बाचा गर्छ, माथेमा प्रतिबेदनलाई हामी पालना गर्नेछौं । आदरणीय डा केसी आफ्नो अनसनलाई तोड्नुहोस् । तपाईं जस्ता ब्यक्तित्व यो मुलुकलाई आझै खाँचो छ । तपाईं र तपाईं जस्ता विद्वानका कुरा भविष्यमा अझै सुन्ने छु । तपाईंहरु यो जनताको सरकारको शक्ती हुनु हो । बिचमा केही गडबडी भएको हो । अब ती कुरालाई बिर्सिदिनुस् ।'




भीड उत्साहले उत्तेजित भएर 'प्रधानमन्त्री ओली जिन्दाबाद' भन्न थाल्यो । भीडले ओलीजी लाई बोकेर उचाल्यो र आकाशतिर एक्छिन उफार्यो । उहाँको स्वास्थ्यको ख्याल गर्दै उहालाई भुईमा राखियो । उहाँ भीडलाई हात हलाउदै कालो चिल्लो गाडीमा बस्नु भयो । मानानीय मन्त्रीहरु पनि भीड तर्फ हात हल्लाउंदै आआफ्नो गाडीमा बस्नु भयो । 'यो के भयो, ओली जी र सरकारलाई हामीले गलत बुझेका रहेछौं । दुई तिहाई मत ल्याएर बनेको यो सरकार त जनताकै पक्षमा रहेछ ।' भीडमा यस्तै गुनगुन चलिरहेको थियो ।





भीडको बिचमा भुईंमा बसेर कृष्ण पहाडीको भाषण सुनिरहेको म, प्रधानमन्त्री ओलीको यस्तै उच्च स्तरको नेत्रित्वको कल्पना गरिरहेको थिएँ । तर यो सबै त्यतिखेर भाताभुङ्ग भयो जब सुरक्षाकर्मीहरुले चलाएको अस्रु ग्यासले मेरो आँखा र नाक मर्नेगरी पोल्न थाल्यो । लुना र म नाक र आँखा मिच्दै अर्को ठाउँमा बस्यौं । मनमा अनेकौ कुरा खेलिरहेको थियो । के आजको लोकतान्त्रिक भनिएको सरकारले यति सानो कुरालाई पनि समाधान गर्ने हैसियत राख्दैन ? के प्रधानमन्त्री ओलीमा हठ बाहेक कुशल नेत्रित्वको अवशेष बाँकी छ ? सरकारमा रहेका अरु केही नेताहरु जसप्रति हाम्रो निक्कै आशा छ, उहाँहरुले यो संकटको घडीमा प्रधानमन्त्रीलाई सही सल्लाह दिने हैसियत राख्नु हुन्छ ?
यिनै प्रश्नहरुले म थिचिएको छु । र सत्याग्रही डा गोविन्द के.सी.को जीवन रक्षाको कामना गरिरहेको छु । 
   


             

Saturday, December 9, 2017

अस्तित्वको मौन लडाईँ-घिमिरे युवराज

बरु भिएस नैपल र नेपालबीच सम्बन्ध भेटिएला तर नाता केलाई हेर्दा पनि म्यानमारका सागर घिमिरेसँग मेरो कतै पारिवारिक साइनो लागेन । मेरो ठट्टामा उनी भावुक भए । कोही पनि नेपालीलाई भेट्दा उनलाई आफ्नै परिवारको सदस्य झैँ लाग्छ रे ।

करिव ११ महिनाअघि होटल डाइमण्डको लविमा यिनीसँगको पहिलो भेट मिठो कफी गफमा टुडि.्गयो । त्यतिखेर उनी एनआरएन म्यानमारको अध्यक्ष पदमा थिए । सन् २००५ मा काठमाडौमा भएको पहिलो गैर आवासीय संगठनको भेलापछि उनी म्यानमारका लागि अध्यक्षमा च’निएका थिए । उनको चिन्ता म्यानमारका नेपाली भाषी समाजको उन्नति र समृद्धितिरको थियो । उनको स्पष्ट मत छ ‘हामी खासमा एनआएन हैनौँ तर संसारभरी छरिएर बसेका नेपाली समुदायलाई जोड्ने एउटा माध्यम भएको हुनाले हामी पनि यसको सदस्य भयौँ ।‘

दोस्रो पटक उनले बौद्ध ध्यानगुरु विन मिन ट्विलाई सिडोना होटलको लविमा अर्को कफी गफमा भेट गराए । जसको सहयोगमा उनले ०७२ को भुकम्प पिडितहरुलाई नेपालमा ठुलो रकमले सहयोग गरेका रहेछन् । ध्यान गुरु र अन्य दाताहरुसहित उनी नेपालका पहाडी गाउँहरुमा पुगेर राहत बाँडेछन् ।

यी ध्यान ग’रु कस्ता भने सन् सत्तरीको दशकमा ने विनको निरंक’स सत्ता विरुद्धमा बन्ध’क उठाएरै लडेका । तर अहिले अहिंसा परमोधर्म भनेर ध्यानमा लागेका छन् । फाईभ स्टार होटलमा कफीगफमा भेटिने यिनको हातमा एप्पलको लेटेस्ट आइ फोन छ । बौद्ध धर्मको संस्कारमा ह’किएका असली विपस्यना ग’रु ट्वि भन्छन् ‘स’विधा उपयोग गर तर त्यसमै मरिहत्ते नगर । डिट्याच्मेन्ट सबैभन्दा ठ”लो क’रा हो ।‘ उनीसँगको छोटो भेटमा जीवन र जगतका अनेकौँ क’रा भए । यिनको बोल्ने तरिका र सालिन व्यक्तित्वले जो कोहीलाई आकार्षित गर्छ । सबैभन्दा बढी प्रभाव सायद सागर घिमिरेमा परेको छ । उनी सागर झैँ सान्त छन् ।

‘फस्ट ईम्प्रेसन ईज दि लास्ट ईम्प्रेसन‘ भन्ने उक्ति अचेल प्राय गलत सावित हुने गर्छ । केही भेटमा मात्रै मान्छेको असली रुप देखिन्छ । तर ख्याउटे ज्यानका यी हँसिला व्यक्तित्वले पहिलो भेटमा जसरी सकारात्मक प्रभाव छोडे, त्यसपछिको पटकपटकको भेटले त्यस उक्तिलाई चरितार्थ गरिछाड्यो । त्यसैले म उनीसँग लामो बार्ताको अपेक्षामा रहेँ । उनी आफ्ना विशेष योजनाहरु सुनाउन चाहन्थे जसका लागि पर्याप्त समयको खाँचो थियो ।

संसारभरबाट म्यानमार आउने नेपालीहरु नेपाली राजुदुतावास कति पुग्छन् थाहा छैन । तर सिंगै दुतावास जस्तो भएर बसेका माउ विन(बर्मेली नाम) अर्थात सागर घिमिरेलाई नभेटी फर्किने सायदै होलन् । नेपाली समाजसँग जोडिएका व्यवसायी, समाजसेवी, कलाकार, साहित्यकार सबै उनी कहाँ ठोक्किन आइपुग्छन् । म पनि त्यसरी नै उनीसम्म ढोक्किन पुगेँ ।


डाक्टर सन्द’क रुइतको आँखा सिविरको आयोजनादेखि स्क’ले केटाकेटीलाई कलम कापी बाँड्ने कामसम्म उनी देशभर क’दिरहेका ह’न्छन् । उनका साथीहरु भन्ने गर्छन् ‘सागर जी यात्रा धेरै गर्छन् ।‘ उनी भन्छन् ‘यात्राले मान्छेलाई सिर्जनशील बनाउँछ ।‘ म्यानमारभरी उनी समाजसेवाकै लागि कुदिरहन्छन् । नेपाल त उनको लागि पानी पँधेरै भैगयो । समाजसेवा र कामकै सिलसिलामा थाइल्याण्ड, मलेसिया, जापान कुदिरहन्छन् ।

फुर्सदिलो गफका लागि बल्लतल्ल संयोग मिल्यो । गत नोभेम्बर १५मा उनले यंगुनको आफ्नै निवासमा निम्तो दिए । निवासमा पुग्दा उनी आफ्नो वर्षौँदेखिको नियतिबाट मुक्त थिएनन् । भारतको असामबाट आएका असाम गोर्खा सममेलनका त’ल्सीप्रसाद शर्मा र दन्दीप्रसाद कोइरालासँग गफिँदै थिए । आगामी डिसेम्बरमा असाममा गोर्खा महोत्सव गर्ने योजना रहेछ । त्यही सिलसिलामा छिमेकी मुलुकका नेपाली भाषीहरुलाई महोत्सवमा समेट्न ती दुई व्यक्तित्व म्यानमार छिरेका रहेछन् । रंगुन आएर सागर घिमिरेलाई नभेट्नु मिसन अपुरो हुनु जस्तै थियो ।

धन्न उनले उक्त भेटघाटलाई चाँडै विट मारे र हामी गफिन थाल्यौँ ।

‘के म्यानमारमा हामी यस्तो समाज बनाउन सक्दैनौँ ? यहाँका द’ई लाख म्यान्मा नेपालीहरु पुर्ण शिक्षित होउन् । यहाँको नेपाली भाषा समृद्ध होओस् । सबै म्यान्मा नेपालीहरु सम्पन्न होउन् ।‘ उनले यो सबै आकांक्षालाई एउटै वाक्यमा भन्ने कोसिस् गरे । ‘म्यान्माका नेपालीहरुलाई गर्भमा भएदेखि नमरुन्जेलसम्म अभाव नहोस् ।‘

म्यान्मा नेपाली सम्पन्न भए भने यहाँका अरु समुदायलाई पनि बिस्तारै सहयोग गर्न सकिनेछ भन्ने उनको सोच छ । सुन्दा निक्कै सुन्दर लाग्ने यो सपना पुरा गर्न कति गाह्रो छ ? उनको उर्जा देखेर मैले उनका अगाडि निराशाजनक कुरा गर्ने स्थिति छैन । मेरो मौनतालाई चिर्दै उनले भने ‘सम्भव छ । असम्भव जस्तो लागे पनि सम्भव बनाउनु पर्छ ।‘ उनी हिम्मतका साथ थप्छन् । र, स्कुले बच्चालाई झैँ कथा सुनाउँछन् । ‘दुधको पोखरी भन्ने कथा सुनेको छ ?‘

‘गाउँलेहरुले दुधको पोखरी बनाउने निर्णय गरे छन् । हरेक परिवारले एकएक भाँडो दुध पोखरीमा ल्याएर खन्याउने निर्णय गरेछन् । एउटा गाउँलेको मनमा आएछ, सबैले दुध खन्याइहाल्छन् । त्यत्रो दुधमा म एउटाले पानी हाल्दा कस्ले थाहा पाउँछ र ? आखिर दुधको पोखरी बनी हाल्छ ।
भोली पल्ट विहान हेर्दा त पोखरी दुधले हैन पानीले भरिएको रहेछ । त्यो एक गाउँलेले सोचे जस्तै सबैले सोचेर पानी नै खन्याएका रहेछन् । हामीले आफ्नो समाजको लागि काम गर्ने हो भने यस्तो सोचको अन्त्य गर्नु पर्छ । नत्र दुध पोखरीको ठाउँमा पानी पोखरी बन्छ ।‘

उनको म’ल अभिप्राय यसरी पोख्छन् ‘हरेकको मन सेवा भावले भरियो भने हामी गोर्खाली नेपालीहरुको लागि एउटा बृहत कोष जम्मा गर्न सक्छौँ र त्यसबाट समुदायको शिक्षा, स्वास्थ्या र चेतनाको विकाशमा खर्चन सक्छौँ । वा उद्योग खोलेर रोजगारीको सिर्जना पनि गर्न सक्छौँ ।‘

म्यानमारका नेपाली भाषी नागरिकहरुलाई कसरी सम्बोधन गर्ने भन्ने दुविधा मलाईँ छँदै थियो । आफ्नो जातीय पहिचानको कुरा हुनाले विषय सम्बेदनशील छ । स्पष्ट नभइ लेख्नु यस समुदायको चित्त दुखाउनु हो । तर महसुस गर्दैछु, यति ठुलो देशमा अल्पसंख्यक भएर बसेको यो समाज अदृश्य रुपमा आफ्नो भाषा, संस्कृति र जातीय अस्तित्वको लडाईँमा छ । त्यसैले यो पहिचानको सगोल नाम के हुन सक्ला ?

म्यान्मारका गोर्खाली नेपाली नागरिक ? कि म्यानमारका गोर्खाली ? म्यानमारका नेपाली ? कि म्यानमारका नेपाली हिन्दु ? यी शब्दहरुबीच यो समाज अन्तक्र्रिया र मन्थनमा छ । संसारको कुनै पनि कुनामा पुगे पनि मान्छेको सबैभन्दा ठुलो आधार उसको पहिचान र सांस्कृतिक अस्तित्व रहेछ । यसदेशमा अझै पनि नेपाली भाषीहरुले पहिचानको कुरा उठाउनु ठुलो खतरा मोल्नु हो । अचम्म लाग्दो क’रा के छ भने कमजोर वा अल्पसंख्यकहरु आफ’लाई जे सम्बोधन गरिँदा सम्मानित ठान्छन् शक्तिमा ह’नेहरुले त्यसमा सहमती जनाउँदैनन् ।

नेपालभित्र कयौँ जाती, भाषा र संस्कृति यसैको लागि वर्षौँदेखि लडिरहेका छन् । लोकतन्त्र आएको भनेको देशमा त धेरै समुदायले खुम्चेर बस्नु परेको छ । म्यानमार त भर्खर प्रजातन्त्रको बाटोतिर हिंड्दैछ । उनका अनुसार तुलनात्मक रुपमा अन्यमुलका म्यान्मा नागरिकभन्दा नेपाली मुलका म्यान्माले म्यानमार सरकारबाट माया र सद्भाव पाएको छ । तर त्यसमा पनि उसका आफ्नै सिमा छन् । राज्यसत्ताको परिवर्तनसँगै म्यानमार नयाँ य’गमा प्रवेश गर्दा नेपाली सम’दायले पनि अझै न्याय पाउँछ भन्ने अभियन्ताहरुको धारण छ यहाँ । त्यसो त कचिन, छिन जस्ता आदिबासी सम्बोधन पाएका नागरिकहरु अझै राज्यसत्तासँग ससस्त्र भ’मिगत लडाईंमा छन् अझै ।

घिमिरेले आफ्नो नागरिकता झिके । नागरिकतामा धर्म खुलाइएको हँुदो रहेछ । जातीको ठाउँमा गोर्खाली लेखिएको रहेछ । भाउजु गोमाले भनिन् ‘मेरो नागरिकतामा पनि गोर्खाली लेखिएको छ ।‘

‘हाम्रो संस्था भित्र भने हालसम्म गोर्खाली हिन्दु भनेरै चलाइएको छ तर यसको निक्र्योलमा हामी चाँडै पुग्दैछौँ ।‘ घिमिरेले भने । यतिखेर उनी यस्ता उल्झन्हरु स’ल्झाउने स्थानमा छन् ।

एनआरएन अध्यक्षको उनको कार्यकाल पुरा भएर नयाँ अध्यक्ष आएका छन् तर सागर घिमिरेमाथि झन् ठुलो जिम्मेवारी थपिएको छ । गत मे महिनामा भएको नेपाली भाषीहरुको सम्मेलनले उनलाई अखिल म्यान्मा देशिय गोर्खा हिन्दु धार्मीक संघको केन्द्रिय अध्यक्ष चुनेको छ । हाल म्यानमार देशभरीमा यस संस्थाको ३५ वटा शाखा र २०२ वटा प्रशाखाहरु छन् । म्यानमार देशभरी ३३० वटा टाउनसीप छन् । त्यसमध्ये ३४ वटा टाउनसिपमा ३५ वटा शाखा छन् । यही संस्थामार्फत म्यानमारका बहुसंख्यक नेपाली भाषी एउटै छाता मुनी छन् । तर जीउँदा मानिसहरुको चहलपहल हो समाज । यसभित्र पनि खटपटी र अफठ्याराहरु छन् । त्यसलाई चिर्दै संस्थालाई समुदायको हितमा बलियो बनाउने उनको विश्वास स्वेडागोन झैँ टल्किरहेको छ ।

ईतिहासलाई हेर्दा म्यानमारमा पहिलो पटक सन् १९४७ मा अखिल बर्मा नेपाली संघको नाममा नेपाली भाषीहरुको संगठन बनेको देखिन्छ । जसको संस्थापक अध्यक्ष थिए अत्तर सिंह क्षेत्री । फेरि उनकै अध्यक्षतामा सन् १९५२ मा अर्को संस्था अखिल बर्मा गोर्खा संघ बन्यो । त्यसैगरी सन् १९५२ मै मनबहादुर लिम्बुको अध्यक्षतामा अल बर्मा गोर्खा संघ बनेको देखिन्छ । फेरि मेजर भागिमान सुब्बाको अध्यक्षतामा सन १९५७ मा संयुक्त नेपाली गोर्खासंघ र सन् १९६१ मा प्यीठाउँसु(य’नियन) गोर्खा संघ बनेको ईतिहास छ । यसरी नै नेपाली भाषीहरु संगठित हुने र आफ्नो जातीय, भाषा र संस्कृतिको सम्बर्धनका लागि एक जुट हुने अभियान चलिरहेको थियो । सन् १९६२ मा देशको सम्पुर्ण अधिकार र सासन शक्ति तत्कालीन सैनिक जेनेरल ने विनले आँफुमा लिएपछि उथलपुथल भयो । निजि व्यापार व्यवसाय सबै सरकारी करण गरियो ।

यही बखतदेखि सबै समाजिक संघसंस्थाहरुलाई प्रतिबन्ध गरियो । त्यस कानुनले नेपाली भाषीलाई मात्रै होइन देशका अन्य जाती र समुदायलाई पनि त्यसरी नै असर गर्यो ।

सन् १९८२ मा फेरि धर्मको नाम दिएर नेपाली भाषीहरुको संस्था बन्यो अखिल म्यान्मा देशिय गोर्खा हिन्दु धार्मिक संघ । यसको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो लेफ्टिनेन्ट कर्णेल दुरा लक्ष्मण राई (दुराको नेपाली अर्थ हुन्छ सुरा । सरकारबाट उनले पाएको सम्मान पदवी हो यो ) । त्यसपछि क्रमश कर्णेल टंकध्वज नेपाल, क्याप्टेन कुलदीप लिम्बु, मेजर पुर्णबहादुर तिवारी यस संस्थाको अध्यक्ष भए । यही संस्थाले आजसम्म निरन्तरता पाएको छ । यसलाई अझै आधुनिकिकरण गर्ने जिम्मा आएको छ अध्यक्ष सागर घिमिरे र उनको टिमलाई । उनी भन्छन् ‘देशमा प्रजातन्त्रको सुर्य उदाएको छ, उज्यालोको किरण हामीसम्म आईपुग्ने कुरामा म आशावादी छु ।‘ हिजो देशको राजनीतिक कारणले गर्दा धार्मीक नाम दिएर बनेको यस संस्थाले अबको दिनमा कसरी आफुलाई अझै समृद्ध र उदार बनाएर सबै म्यान्माली नेपालीहरुलाई अटाउन सकिन्छ भन्ने चुनौति छ । आफ्नो कार्य समिति निक्कै जुझारु र आधुनिक भएको विश्वस्त दिलाउँदै उनी भन्छन्, ‘हाम्रा पुर्खाहरुको योगदान र ईतिहासलाई बचाउँदै हामी मान्मारका नेपाली जातीलाई समृद्ध बनाउन चाहन्छौँ ।‘

भारतमा झैँ यहाँ पनि नेपाली एउटा जातीको रुपमा स्थापित हुन खोजेको देखिन्छ । तर किरात वा अन्य धर्म मान्ने म्यान्मा नेपालीहरु अझै पनि संस्थामा अटाउन नसकेको सत्य गुपचुप छ । यस विषयमा खुलेर कुरा गर्नु पनि स्वभाविक मानिदैन । अध्यक्ष घिमिरे भन्छन् ‘हामी एकजुट र समृद्ध हुनै पर्छ । यसले कसैलाई भेदभाव नगरी समाजिक काम गर्दै आएको छ ।‘ यस संस्थाको अध्यक्षता किरात सम‘दायका अग्रजहरुबाट पनि पटकपटक भएको ईतिहास भने धेरै प‘रानो हैन । तर पनि यदाकदा विचार नमिलेर नयाँ संस्था बन्ने क्रम पनि यहाँ देखिन्छ ।

अन्य खाले अन्धविश्वासहरुमा पनि म्यान्मारका नेपाली विश्वमा नमुना बन्न सक्ने उनको सोच छ । उनी भन्छन् ‘कति कुराहरुको परिवर्तन नेपालबाट नै होस् भन्ने लाग्छ ।‘ नेपालमा अभ्यास भइरहेको सामाजिक अन्धविश्वास तथा पुरानो ठर्राको धार्मीक अभ्यासको प्रभाव यहाँ बढी छ । उनी थप्छन् ‘तर नेपालबाट यो परिवर्तन भएन भने हामी म्यानमारबाट पनि सुरु गर्न सक्छौँ । जस्तो कि मृतकको १३ दिने संस्कारलाई छोट्याउने कुरा ।‘

उनको फोन बज्दै थियो । त्यही साता छिन प्रान्तको कत्था सहरमा आयोजना हुन गैरहेको नेपाली भाषीहरुको युवा सम्मेलनले उनलाई अलमल्यायो ।

छेऊमा चुपचाप बसेकी गोमा भाउजुसँग बार्ता गर्ने मौका यही थियो । कामबाट उनी भर्खरी घर आइपुगेकी थिइन् । ‘म रुवीको ब्यापारमा छु । देश विदेशका व्यापारीहरुका बीच ब्रोकरको काम गर्छु ।‘ त्यसो त म्यानमारको सुन्दर सहर मोगोक र त्यसको आसपासमा बस्ने प्रायलाई के गर्नु हुन्छ भनेर नसोधे हुन्छ । पक्कापक्की छ यहाँका बह’ संख्यक नेपाली रुवी वा पत्थरको व्यापारमा संम्लग्न छन् । उनले भनिन् ‘म अन्तरी बहिनी हुँ । मेरा मामाहरु र दिदीहरु पनि यही व्यापार गर्ने हुनाले मैले उहाँहरुबाटै सिकेँ ।‘

हामी एकछिन पुर्खातिर फर्कियौँ । उनकी आमाका बुबाआमा नेपालबाट आउनु भएको रहेछ । आमाको जन्म म्यान्मारमै भएको रहेछ । बुबा भने नेपालबाट आउनु भएको रहेछ । मोगोक भन्दा केही माइलभित्र तीनफया भन्ने गाउँमा जन्मिएकी गोमा भाउजुको बाल्यकाल पनि अधिकांश म्यान्मा नेपालीको झैँ खेतीपाती, घर, गोठकै परिवेशमा बित्यो । ‘१५, २० वटा गाई थिए । ४०, ५० वटा बाख्रा थिए । करिव ३ माइल हिंडेर स्कुल जानु पथ्र्यो ।‘ अरुले झैँ उनले पनि हिउँदे विदामा चलाउने ३ महिने नेपाली कक्षामा नेपाली पढ्न लेख्न सिकिन् ।

उनको जन्म र कर्म थलो नै म्यानमार भयो । म्यानमार कै नागरिक भएपछि भाषा र संस्कृति कै कारणले नेपाललाई मरिहत्ते गर्नु पर्ने कारण उनी देख्दिनन् । तर पनि केही वर्षअघि बुबाको जन्मथलो खोज्दै भोजपुर पुगिन् । उनी भन्छिन् ‘रातभरी हिंडेर त्यो बिकट पहाड पुगेँ । त्यहाँका रायमाझीहरुलाई भेटेँ तर उनीहरुले वास्तै गरेनन् ।‘
उनी केही पटक नेपाल पुगिन् र आमाका आफन्तलाई पनि भेटिन् तर तितो अनुभव लिएर फर्किन् । आफन्तले पनि भेट्दा खासै चिज नगरेपछि नेपालका मान्छे नै चिसा हुन् कि जस्तो उनलाई लागेको छ । ‘यहाँ त गाउँलेलाई पनि हामी वास्ता गर्छौँ । त्यहाँ त भावनै नभएको जस्तो महसुस भयो मलाई । नरिसाउनु होला तर मैले मनमा लागेको कुरा भनेको हुँ ।‘ कुरा सुन्दा गोमा भाउजुको चित्त निक्कै दुखेको महसुस हुन्थ्यो । म्यान्माली नेपालीहरुले पाउनालाई महत्व दिएको देख्दा मलाई पनि हामी साँच्चै चिसा उन थालेछौँ जस्तो महस’स भयो ।


सागर दाइ फोन बार्ताबाट फुर्सद भए । उता भान्सामा नेपाली पाराको खान्की तयार रहेछ । घरकी सहयोगी रहिछन् तामिल किशोरी गीता । भाउजुले भनिन् उ पनि हिन्दु हो त्यसैले नाम हामीहरुसँग मिल्छ । यस मुलुकमा एकअर्कालाई जोड्ने माध्यम धर्म र जाती भएको छ ।

पुर्खाको कुरा निस्कि गयो । सागरदाइतिर मेरा जिज्ञासा मोडिए । आफ्ना पुर्खा गुल्मीबाट आएका भन्ने उनले सुनेका हुन् । कलकत्ता हुँदै कालापानीको बाटो म्यानमार छिरेका रहेछन् । तर नेपालमा अहिले परिवारका मान्छे कोही छैनन् । ब्रिटिस सामाज्यबाट म’क्त भएपछि म्यान्मार सरकारले धेरै एफआरसी(म्यान्मारमा बसेका विदेशी)लाई नागरिकता दियो । तर उनका बाआमाले एकदिन नेपाल फर्किइन्छ भनेर म्यानमारको नागरिकता लिनुभएन ।

सागर भन्छन् ‘टन्न सम्पत्ती कमाएर नेपाल फर्किने भन्ने आशमा उहाँहरु बस्नु भयो । न टन्न सम्पत्ती भयो । न नेपाल फर्किइयो । न त बसेको ठाउँको नागरिकता हात लाग्यो ।‘ यहाँको राजनीतिक अस्थिरताको कारणले यस्तो दोधारमा थिए उनका बुबाआमाका पुस्ता । धेरै नेपाली भाषीलाई एक दिन नेपाल फर्किइन्छ भन्ने नै थियो । सैनिक सासनले झन् भय थप्यो । नागरिकता पाउन त्यति सहज भएन । फेरि सन् १९८० मा लेफ्टिनेन्ट कर्नेल दुरा लक्ष्मण राईको ठ’लो प्रयासले धेरै नेपालीहरुले नागरिकता प्राप्त गरे । सागर भन्छन् ‘जुनदेशमा जन्मिइयो, हुर्किइयो । पसिना र रगत बगाइयो त्यही देशमा अनागरिक भएर बन्नु पर्यो भने त जिन्दगी चलाउन गाह्रो हुन्छ । त्यसैले हामीले नागरिकतालाई विशेष महत्व दियौँ ।‘ राज्यले समस्या सिर्जना गर्ला भनेर ग’पच’प राखिएको अहिलेको एउटा समस्या नागरिकता पनि हो । अझै केही नेपाली भाषीहरुले यहाँको नागरिकता पाइनसकको हुनाले अखिल म्यान्मादेशीय गोर्खा हिन्दु धार्मीक संघले यस समस्यालाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छ । अध्यक्ष घिमिरे भन्छन् ‘४, ५ पुस्तादेखि यहाँ बस्तै आएका नागरिकहरुले पनि नागरिकता नपाएको अवस्था छ । छुटपुटमा रहेकाहरुलाई पहिला नागरिकता दिलाएर कान’नी अधिकार प्राप्त गराउनु हाम्रो ध्येय हो । त्यसपछि समानान्तर रुपमा शिक्षा, स्वास्थ्य र चेतना अभिबृद्धिमा काम गरिहेका छौँ ।‘

सागर घिमिरेका अनुसार पुर्खाहरु नेपालबाट म्यानमार ३ किसिमले भित्रिए । सैनिकको रुपमा, अंग्रेजहरुको माइम फ्याक्ट्र्मिा माइम खन्ने मजदुरको रुपमा र किसानका रुपमा । यसरी आएका नेपालीहरुको निक्कै सोझो र सिधा हिसाबले यहाँ बसे । उनीहरुको आफ्नो कुनै राजनीतिक अभिप्राय थिएन । उनी भन्छन् ‘कानुनका बारेमा नजानेर र आफ्ना कागजातहरु सम्हाल्न नसकेका कारणले पनि धेरै नागरिकहरुले नागरिकताको लागि समस्या पाएको देखिन्छ ।‘

म्याण्डले विश्व विद्यालयबाट स्नातक गरेका घिमिरेको काठमाडौसँग गजबको सम्बन्ध बस्यो । मातृभुमि सेवक संघ नामक संस्था मार्फत उनी सन् १९९० देखि ०९७ सम्म काठमाडौ बसे । हिन्दु विद्या पिठमा उनले ६ वर्ष पढ्ने पढाउने काम गरे । यही बखत उनले ताहाँचल क्याम्पसबाट विएड गरे । अचेल काठमाडौ जाँदा उनलाई त्यस बखतको सडक, गल्ली र घरहरुको खुब झझल्को आउँछ । भन्छन् ‘त्यतिखेर भर्खर नेपालमा राजनीतिक परिवर्तन भएको थियो ।‘ ती दिनहरुलाई सम्झँदै उनी भन्छन् ‘हामी म्यान्मार मै जन्मियौँ । हुर्कियौँ । हामीलाई यही माटोको माया छ । तर नेपाल र नेपालीलाई पनि हामी असाध्य माया गर्छौँ ।‘
अर्को संयोग गोमा भाउजु र उनको पहिलो भेट नेपाल मै भयो । करिव २ दशक लामो दाम्पत्य जीवनको रोमान्चक यात्राको सुरुवाती दिनलाई सम्झँदै गोमा भाउजु भन्छिन् ‘मेरी फुपुको घर काठमाडौको नक्सालमा थियो । फुपुले नै उहाँसँग भेट गराउनु भयो ।‘ सागर गीत गुनगुनाउँछन् ।

देखेकोले हुन्न हजुर
लेखेको नै चाहिन्छ
विहे वा आफ्नो कर्म थलोको बारेमा सागर दाइ निश्चित थिएनन् । तर परिवारको सल्लाहलाई उनले आत्मसात गरे र विहेकै लागि उनी सन् १९९७ मा म्यानमार फर्किए ।

अचेल साथीहरुसँग मिलेर मिनिरल वाटरको फ्याक्ट्र्ी चलाएका उनी खासमा अचेल समाज सेवामै व्यस्त छन् । गोमा भाउजुलाई औँल्याउँदै उनी भन्छन् ‘उहाँले सबै कुरा सम्हाली दिनु भएकोले मैले यसरी कद्न भ्याएको छु ।‘ गोमा भाउजुलाई पनि दाइले नेपाली समाजका लागि गरिरहेको यो दुःख र मेहनतप्रति सन्तुष्टि छ । तर सर्तक भएर काम गर्न सुझाइ रहन्छिन् । उनी भन्छिन् ‘उहाँको निक्कै जिम्मेवारी छ । जसअपजस आइरहन्छ । कसले के भन्छ, कसेले के भन्छ । चिन्ता त मलाई नै हुन्छ ।‘ जसरी समाज सेवाका लागि सागर दाइ कुदेका छन्, चन्दा र सहयोगका लागि गोमा भाउजुले धेरै पटक थैली खाली गरेकी छिन् ।

आजभन्दा २ दशकअघि यहाँ अन्र्तजातीय विवाह गर्नु ठुलो चुनौति थियो । उनीहरुको विवाह आफैमा सामाजिक क्रान्ती जस्तो थियो । निक्कै समझदारी र सन्तुलनमा चलेको यो जोडी आफ्नै मेहनत र संघर्षले म्यान्मार मुलुकमा एउटा प्रतिष्ठित जीवन बाँचिरहेको छ । करिव २ लाख नेपालीको समृद्धि र उत्थानका लागि अनेकौँ सपना बुनेका सागर घिमिरेलाई यो दुई वर्ष परिवारका लागि समय मिल्ने छैन । घर र व्यापार सम्हालेर गोमा भाउजुले ठुलो टेवा दिएकी छन् । वर्षौँदेखिका साकाहारी उनी गत मे महिनामा संघको अध्यक्ष चुनिएपछि भाउजुकै सल्लाहमा मदिरालाई पनि तिलान्जली दिए । उनको चिन्ता छ ‘म्यान्माली नेपाली युवाहरुको स्थिति कहाली लाग्दो छ । हरेकघरबाट १६ वर्ष नटेक्दै युवाहरु पढाइ छोडेर मजदुरी गर्न थाइल्याण्ड पुगेका छन् ।‘ बौद्ध भिक्ष’ जस्ता शान्त लाग्ने सागरमा रात ढल्किँदै गएपछि चिन्ताका छालहरु उठ्दैछन् । मैले आजलाई विदा मागेँ । हिंड्ने बेलामा घिमिरे दाइले फ्ठ्याट्ट सोधे ‘आउने हप्ता कत्थामा नेपाली युवाहरुको सम्मेलन हँुदैछ जाने हो ?‘ मेरो खुशीको सीमा रहेन ।

Friday, August 11, 2017

नाथुराम गोड्सेको अनुहार

हिजो राज्यलक्ष्मी 
जङ्गबहादुर
महेन्द्र
वा ज्ञानेद्र सत्तामा हुँदा जसरी फिल्टर गरेर सुन्थे जनताको कुरा
त्यो भन्दा नालायक छ आजको सत्ता ।
चेतनाहीन, प्राज्ञिकताहीन, मानवताहीन
यो मुलुकको सत्ता जिब्रो लटरपटर पार्छ र आफैँले बोलेको कुरा पनि बिर्सन्छ ।
यो मुलुकको सत्ता र प्रतिपक्षको भ्रष्टाचारी अनुहार त ठ्याक्कै उस्तै छ
फोटोकपी
नत्र किन मिल्थ्यो मत यिनीहरुको गोबिन्द केसीलाई मार्ने योजनामा ?
मिलेर खाने बानी परेको छ
एउटा बोल्दै बोल्दैन
अर्को बढी बोल्छ, एउटा मिल्दैमिल्दैन
अर्को दोचारे छ
तर भेट्दा राज्यसत्ताको ढुकुटीको पैसाले फेरिदिएको नक्कली दाँत देखाएर ङिच्च
नक्कली मुस्कानमै एकअर्काको चरित्रको प्रसंशा गर्छन् लाज पचाएर
नत्र किन चोसो मिलाउँथे यिनीहरु
जनतालाई लुट्ने योजनामा ।
वरिपरि छन्ः कुरौटे र विबेकहीन आसेपासेहरु
चुरोटको फिल्टर जस्तो आम मान्छेका दुःख र यथार्थ दैनिकी
फिल्टर गरेर सुनाउँछन् आफ्ना भ्रष्ट देउताहरुलाई ।
बनाउँदैछन् यो देशलाई क्यान्सरग्रस्त ।
उनीहरुले भुले सायद फिल्टरले क्यान्सर रोक्दैन, बरु झन् सङ्क्रमित बनाउँछ देशलाई ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभासद, सचिव, निर्देशक वा बडाहाकिमहरु
र तिनका आसेपासे, ढोकेहरु
सबका सब लागिपरेका छन् मिलेर खान ।
तिनका अनुहार ठ्याक्कै उस्तै देखिन्छ अचेल
अचेल झल्झल्ती देखिरहेछु, उनीहरुको खुट्टामा उभिएर एक हुल नाथुराम गोड्सेहरु
एउटा महापुरुषको अनसन स्थलतिर लम्किरहेका छन् ।
र सुरेन्द्र पाण्डेहरुले लेख्ने किताबको नाम हुनेछ: 'किन गरियो डाक्टर केसीको हत्या'
यस किताबको बिमोचन गर्ने छन् देउवा, ओली र पुकदाहरुले
र थपिनेछ नेपाली ईतिहासमा अर्को कलंक ।

Thursday, July 20, 2017

कथा-ब्लो-अप

नायिका रञ्जना शिवाकोटीको फिल्मी करिअर उत्सर्गमा थियो । उनी टीभीमा नाचेको देखेर म फुर्किन्थेँ । त्यसो त उनी फिल्ममा भन्दा बढी टीभी विज्ञापनमा देखिन थालेकी थिइन् । ‘रूपमती चामल खानाले तपाईंको त्वचामा नयाँ ताजगी ल्याउँछ ।' उनीप्रति म यति आकर्षित भइसकेको थिएँ, उनले विज्ञापन गरेको चामल नै खान थालिसकेको थिएँ । तर, रूपमती चामल खाँदै गर्दा अचानक दाँतमा ढुंगा लाग्यो- ‘रञ्जना र बादल प्रेममा' ।
आफूले मन पराएकी नायिका कोही ऐरेगैरेको प्रेममा परेको सुन्दा जलन हुने रहेछ । मलाई ऐश्वर्या रोयप्रति पनि त्यस्तै भएको थियो । किशोरवयभरि यस्तो लाग्थ्यो, कुनै दिन अचानक उनीसँग भेट हुनेछ । मुटुको धड्कन निक्कै बढेको हुनेछ । अनुहार रातो र ओठ कामिरहेको हुनेछ । भन्नेछु, ‘आई लभ यु ऐश्वर्या' । उनको बिहेपछि सबै सपना चकनाचुर भयो । कोलम्बियन गायिका सकिरा इजाबेल मेबारक रिपपोलप्रति पनि त्यस्तै भावना थियो मेरो । उनले पनि मप्रति निष्ठुर भएर अर्कैसँग विवाह गरेको केही समयपछि त्यो भावना विस्तारै हरायो । अब नायिकाहरू प्रियंका चोपडा, आलिया भाट र गायिका इन्दिरा जोशीप्रति अझै बाँकी छ । यो असामान्य मोहले मलाई किशोरवयदेखि लखेटिरहेछ ।
फिल्मी पत्रिकाहरूका अनुसार, बादल साह चक्रवर्तीसँग उनको प्रेम पनि भर्खर सुरु भएको थियो । त्यो सुनेर म दुःखी भएँ । रञ्जना र बादलको प्रेमसँग अचम्मको साइनो गाँसियो मेरो पनि । एउटी राम्री नायिका कुनै प्रोफाइल नै नबनाएको केटासँग प्रेममा परेको थाहा पाउँदा म साँच्चै पिरोल्लिएको थिएँ । बादल मलाई कहिल्यै मन परेन । त्यसैले मैले त्यो प्रेम सफल हुँदैन भन्ने ठोकुवा नै गरेको थिएँ । म ‘मुनलाइट' मा थिएँ । अर्थात् ‘मुनलाइट' भन्ने साप्ताहिकमा काम गर्थेँ । सम्पादक एलएन साह चक्रवर्ती उनीहरूको प्रेमकथा सुनाएर हामीलाई मक्ख पार्थे । पार्थे के भन्नु उनी आफैं मक्ख हुन्थे । उनीसँग संगत गरेको केही हप्तापछि थाहा लाग्यो, रञ्जना र बादलको लभ अफेयर समाचार उनले नै छाप्न लगाएका रहेछन् चिनजानका पत्रिकारहरूलाई भनेर ।
मानिसका गौरव गर्ने विषय अनेक हुने रहेछन् । एलएनउर्फ लोकेश्वरनाथ साह चक्रवर्तीका पनि आफ्नै थिए । भाइ बादल चर्चित नायिकाको प्रेममा परेको कुरा एलएनको लागि जीवनमा अलिअलि गोप्य राखेजस्तो गरेर साउती मार्दै सुनाउने गौरवशाली कथा थियो । मानौं बादलले रञ्जनासँग प्रेम गरेर कुनै बहादुरी गरेको छ । मैले पनि क्याम्पसमा साथीहरूलाई सुनाउने नयाँ खुराक थियो त्यो । सबै रोचक मानेर सुन्थे । म पनि एलएनले भनेका कुरामा केही थपथाप गरेर साथीहरूलाई सुनाउथेँ । बादलसँग ईष्र्या त थियो नै त्यसैले ‘यो प्रेम असफल हुन्छ' भन्ने ठोकुवा गर्न छोडेको थिइनँ । उनीहरूको बारेमा एलएनले भन्दा सायद म बढी सोच्न थालेको थिएँ । जब एलएनले कुनै दिन उत्साहित हुँदै निसंकोच ‘दुई दिनको लागि आज भाइबुहारी पोखरा घुम्न जाँदैछन्' भनेर सुनाउँथे, मेरो निद्रा उड्थ्यो । तर, म त्यो हैसियतमा कहाँ थिएँ र, मैले सोचिरहेको कुरा व्यक्त गर्न सकौं ।
एक वर्ष नाघिसकेको थियो बिनापारि श्रमिक चक्रवर्तीसँग काम गरेको । पत्रिकामा लेख्ने मान्छे हामी दुईजना मात्रै थियौँ । चक्रवर्ती र म । त्यसैले मैले जे लेखे पनि उसले नछापी सुखै थिएन । लगभग आधा सामग्रीहरू त अरू पत्रिकाको साभारले नै भरिन्थ्यो । करिब पाँच सयप्रति छापिने यही पत्रिकाको चलखेलले चक्रवर्तीले परिवार धानेका थिए । उनका अन्य गोप्य स्रोत के थिए मलाई पत्तो थिएन । पहिलो भेटमा चक्रवर्ती थर सुन्ने बित्तिक्कै मलाई लाग्यो, पक्कै पनि मिथुन चक्रवर्तीसँग यिनीहरूको कुनै नाता पर्छ । एलएनले एक दिन कुरैकुरामा भने- ‘हेर घिमिरे सबैले मलाई मिथुन दाको नातेदार भन्ठान्छन् । तर हामी अर्कै चक्रवर्ती, उनी अर्कै चक्रवर्ती । उनी विहारका हुन् । हाम्रो तीनपुस्ते नेपाली हो ।'
म खिस्रिक्क भएँ । सायद जीवनमा उनले बोल्ने कम सत्यमध्ये यो पनि थियो । कमसेकम यो कुरा रहस्यमै भएको भए मलाई उनीसँग काम गर्ने उत्साह घट्ने थिएन । मैले आफैंलाई सहानुभूति दिँदै भनेँ- ‘तर पनि त सर बाजेबराजुको त केही सम्बन्ध थियो होला । हजुर र मिथुनको अलिअलि अनुहार त मिल्छ ।' उनको श्याम अनुहार अचानक उज्यालो भयो । भने, ‘त्यो त हो ।'


 उसबेलादेखि अचेलसम्म हरेक साता उसरी नै साप्ताहिक पत्रिकाहरूमा अरू धेरै रञ्जना र बादलहरूको उत्तेजक तस्बिर छापिन्छन् । र, उसरी नै हजारौं युवाहरू तिनै तस्बिर हेरेर स्खलित हुन्छन् । तर, ती सातजना जस्तै धेरै बालकहरूको कथा अझै छापिन बाँकी छन् ।
सायद मिथुनसँग सम्बन्ध नगाँस्नुको अर्थ उनको नागरिकतासँग जोडिएको कथा थियो । उनले नागरिकताको लागि निक्कै संघर्ष गरेको कुरा सुनेको थिएँ । काठमाडौमा तराईवासीलाई त्यति सहज पनि थिएन । नेपाली नै होइन जस्तो गरेर हेपेर कुरा गर्थे यहाँका रैथानेहरू । त्यसको मार एलएन सरमा परेको हुनुपर्छ । त्यसबारेमा भने उनीप्रति मेरो पूरापूर सहानुभूति थियो । खैर, मेरो के हैसियत छ सहानुभूति राख्ने ? कुरा कामको हो । धन्न रञ्जनाको प्रेमकथाले मलाई अझै तानिरहेको थियो । झिनो आशा थियो, उनीहरूको प्रेम सफल नहोला कि भन्ने ।
बादल जति धेरै वा राम्रो लेखे पनि पारि श्रमिकको कुरा त्यहाँ बर्जित थियो । बरु उपलब्ध थिए ‘रञ्जना-बादल प्रेम कहानी ।' बिजुली बजारको उकालोनिरको एउटा सानो कोठामा कार्यालय थियो पत्रिकाको । रूपप्रिया, सुमनराज, प्रेमलहरि, लालमणिजस्ता अनेकौं फिल्म पत्रकारहरू त्यही अड्डामा हरेक दिनजसो आइरहन्थेँ । सुरुसुरुमा मलाई लाग्थ्यो, नेपालका सबैभन्दा ठूला पत्रकारहरू तिनै हुन् । किनभने त्यतिखेर चलेका नायकनायिकाहरू शिव श्रेष्ठ, गौरी मल्ल, भुवन केसी, राजेश हमाल, करिश्मा मानन्धर, मेलिना मानन्धर, धीरेन शाक्यदेखि रञ्जना लुइँटेल र दिलीप रायमाझीसम्मका नालीबेली तिनले बताउँथे ।
कसको कोसँग अफेयर छ, ककसको ब्रेकअप भो एकअर्काले होडबाजीसहित सुनाउँथे । म भने उच्चकोटीका नीति कथा झैं मन्त्रमुग्ध भएर सुन्थेँ । कल्पना गर्थेँ, यस्ता रोचक घटनाहरू घट्ने ठाउँ कहाँ होला, पक्कै त्यो कुनै हराभरा फिल्मी दुनियाँ होला । उनीहरूले भेट्ने, रमाइलो गर्ने ठाउँ मैले देखिरहेको बानेश्वर, गौशाला, माइतीघर, कमलादी त पक्कै होइन । दिनहरू बित्दै गए, यथार्थका तहहरू बन्दाको बोक्राझैं खुल्दै गए । तिनीहरू जुन पत्रिकामा लेख्थे, ती पत्रिका खासै बिक्दैनथिए । ताजुबको बात यो थियो, उनीहरू कसरी घर चलाउँथे ।
एक दिन एलएनले याक चुरोटको सर्को मार्दै भने- ‘बादललाई अचेल भ्याइनभ्याइ छ ।' मलाई चिन्ता लाग्यो, बादलले पनि फिल्म पाएछ कि भनेर । ऊ पनि हिरो बन्ने रहरले वर्षौंदेखि शरीर सुगठित बनाइरहेको थियो । बादलले मुम्बैमा पनि संघर्ष गरेर आएको कुरा गाइँगुइँ सुनेको थिएँ । चुरोट आस्ट्रेमा अड्याउँदै चक्रवर्तीले थपे, ‘रञ्जना एकैपटक तीनवटा फिल्ममा काम गर्दैछे । अरू पनि अफरहरू आइरहेका छन् राम्रो पैसा दिने तर बादलले हुँदैन भन्दियो । अचेल रञ्जनाको फिल्म छान्ने काम सबै बादलले गर्छ ।'
रञ्जना-बादलको विशेष बुलेटिनपछि चक्रवर्ती दंग परेर चुइँकिने कुर्सीमा अडेस लागे र भने, ‘यसपटकको मुनलाइटको स्ट्यान्डर निक्कै बढेको छ । तिम्रो लेखको पनि साथीहरूले तारिफ गर्दै थिए ।' दुईवटा बाइलाइन समाचार थिए मेरा । एउटाः रतन थियामको महाभारतमा आधारित नाटक चक्रब्यूहको लामो रिभ्यु गरेको थिएँ । अहिले सम्झँदा लाग्छ, त्यो एउटा झुर रिभ्यु थियो । महाभारत नै नबुझी लेखिएको शब्दहरूको रास थियो त्यो । अर्कोः सडक बालबालिकामाथि यौन हिंसा शीर्षकमा पर्यटकहरूले काठमाडौंका बालबालिकाहरूलाई कसरी यौन हिंसा गरिरहेका छन् भन्ने फिचर थियो । अरू पत्रिकामा छापिएका समाचारहरू र युनिसेफको रिपोर्टमा आधारित ठीकैको लेखाइ थियो त्यो । तर, चक्रवर्तीले मलाई फुक्र्याउनु थियो फुक्र्याए ।
रञ्जनाकै लागि भनेर उनी ‘स्वर्णपरी' नामक मासिक फिल्मी पत्रिका प्रकाशन गर्थे । मासिक भने पनि वर्षमा एकपटक दसैंको छेक पारेर निस्कन्थ्यो पत्रिका । त्यस पत्रिकाको दुईवटा उद्देश्य थिए । एउटा दसैंको शुभकामना विज्ञापनबाट अलिअलि पैसा उठाउने, अर्को हो रञ्जनाको फोटो कभरमा छाप्ने । उनले दसैं अंकमा जति पैसा उठाए पनि आफ्नो हातमा एक रुपैयाँ पर्ने होइन । बरु रञ्जनाको आकर्षक तस्बिर भएको केही थान पत्रिका कालो हातेझोलामा हालेर सबै पारि श्रमिकको असुली गर्थेँ म । अघिल्लो वर्षको रञ्जनाको कभर भएको ‘स्वर्णपरी' झोलामा भएको महिनौं भएको थियो ।
तर, रञ्जनालाई सशरीर देख्ने रहर पूरा भएको थिएन । हातमा चाबी झुन्ड्याउँदै एउटा सुगठित शरीर अर्थात् बादल चक्रवर्ती कहिलेकाहीँ देखा पथ्र्यो मुनलाइटको कार्यालयमा । तुफानले आउँथ्यो, उसको दाइ अर्थात् एलएनसँग केही पैसा लिन्थ्यो र तुफानले फर्कन्थ्यो । ऊ जसरी सिँढी उक्लने ओर्लिने गथ्र्यो नि त्यो फूर्तिचाहिँ निक्कै आकर्षक थियो । म उसलाई हेरिरहन्थेँ ।
उसको डिंगो जुत्ता ।
टाइट जिन्स पेन्ट ।
सिंहको ठूलो टाउको भएको बेल्ट ।
छातीमा दुईटा टाँक खुलेर देखिने उसको सुगठित छाती ।
‘केटो त हिरै हो ।' मनले भन्थ्यो । यही कारणले रञ्जनाले यसलाई मन पराएकी होली । तर प्रोफाइल ? त्यस केटाको गुमनामी नामले मलाई पिरोलिरहेको थियो । एउटी चर्चित हिरोइन कसरी एउटा सामान्य केटाको प्रेममा पर्छे ? त्यसबखत यी सबै कुरा मलाई एउटा रहस्य जस्तो लाग्थ्यो । तर रञ्जना त्यहाँ कहिल्यै आइन । र, बादलको हातको चाबी बाइकको हो या गाडीको कहिल्यै ठम्याउन सकिन । बालदकै कारणले झन् विस्तारै हिरो बन्ने रहर जागेर आयो । मलाई रञ्जनाको नजिक पुर्‍याउने एउटै उपाय देखेँ मैले, बादललाई उछिनेर हिरो बन्ने । विस्तारै थिएटर मेरो अर्को रुचिको विषय बन्यो । काठमाडौ थिएटर भर्खर सुरु भएको थियो । समय मिलाएर त्यतै धाउन थालेँ । एक दिन कुनै अमुक फिल्मको नायक बन्ने आशामा ।
बिना कुनै पूर्वसंकेत जिन्दगीमा नयाँ अफर आयो । क्याम्पसका साथीहरू विवेक तिवारी र झकेन्द्र श्रेष्ठले भने, ‘तिमीले किताब लेख्नुपर्छ ।' कस्तो किताब ? जादुमयी तरिकाले काम भयो । उनीहरूले फाट्टफुट्ट नेपाली बोल्ने एकजना जापानी महिलासँग भेट गराए । ती महिलाको संस्थामा विवेक र झकेन्द्रले स्वयंसेवकको रूपमा काम गरेका रहेछन् । म लेख्ने पनि भएकोले उनीहरूले मेरो नाम सिफारिस गरेका रहेछन् ।
मैले सातजना सडक बालबालिकाको कथा लेख्नुपर्नेछ । त्यसबापत ४० हजार पारि श्रमिक तोकिएको छ । दीपेन्द्रले पुस्तकको लागि बालबालिकाको तस्बिर लिनेछन् । यो के भइरहेको छ म बुझ्न सकिरहेको थिइनँ । सम्झौतापत्रमा हस्ताक्षर भयो । दस हजारको चेक पनि हात लाग्यो । साट्न जाँदा डर थियो पैसा नआउने चेक हो कि भनेर । पत्रिकाको अफिसमा प्रायः यस्तो भइरहन्थ्यो । एलएनले विज्ञापनको पैसा उठाउन जाँदा भुक्तानीबापत प्रायः चेक पाउँथे । अधिकांश चेक बाउन्स हुन्थे । तर, मेरो त चेक साटियो अर्थात् हात लाग्यो दस हजार । ‘लेखेर पनि यत्रो पैसा आउँछ ? ' जिन्दगीमा नयाँ रङहरू भरिँदै थिए । रञ्जना र बादल प्रेमको सिँढी उक्लँदै थिए । मेरो त्यहाँ जान पातलिँदै थियो । मेरो नियमित जानु वा बिराएर जानुमा सम्पादक चक्रवर्तीको कुनै खुसी वा विस्मात थिएन । कहिलेकाहीँ फुक्र्याउनुबाहेक उनी सधैं समान व्यवहार गर्थे ।
लगनखेल हो ठाउँ त । तर, गल्लीको नाम सम्झना छैन । मूल सडकबाट निक्कै भित्र दुईतले घर थियो । भर्खरै बनेको तर भित्तामा प्लास्टर नगरेको बेढंगको घर थियो त्यो । बनाउन आधा काम बाँकी रहेको । यहीँ बस्थे सातजना बालकहरू । म बिल्कुलै नयाँ संसारमा छिर्दै थिएँ । ८ देखि १४ वर्ष उमेरका यी बालकहरूसँग कुराकानी गरेर तिनको कथा लेख्नु मेरा लागि निक्कै चुनौती थियो । उनीहरू त्यहीँ खान्थे । त्यहीँ बस्थे । कसैले सञ्चालन गरेको ‘चिल्डेर्न होम' जस्तो थियो । तर त्यो कसरी सञ्चालन हुन्थ्यो । कसले सञ्चालन गथ्र्यो । मलाई केही थाहा थिएन । पाएको काम फुस्किने डरले म धेरै प्रश्न गर्दिनथिएँ । मेरो काम केवल उनीहरूको जीवनी कथा उतार्नु थियो ।
१. ‘रूपेश थापा मगर धादिङ । उमेर ९ वर्ष । बाऊ सधैं झगडा गर्थे आमैसँग । आमैले छोडेर गइन् । मलाई पनि घरमा बस्नु मनै लागेन ।...'
२. ‘राजु शिवाकोटी । उमेर ११ । चितवन ।....जुत्ता टाँस्ने डेन्डड्राइट धेरै तानियो । कहिलेकाहीँ सुई पनि घोचियो ।...बिन्दास हुन्थ्यो ।...'
३. ‘श्याम तामाङ । उमेर १३ वर्ष । सिन्धुपाल्चोक । घरमा धेरै काम गर्नुपथ्र्यो । घाँस काट्ने, बाख्रा चराउने । पढ्न पनि मुन लागेना । गाउँको केटाहर्ले काठमाडौ जौँ भन्यो, राम्रो खानु, राम्रो लाउनु पाइन्च भन्यो त्यसैले आको । सडकमै सुत्यो २ वार्ष ।...'
४.‘ भोला काफ्ले । उमेर १२ वर्ष । ओखलढुंगा । बुबाआमाले काठमाडौंको एउटा घरमा काम गर्न राखिदिनु भयो । उनीहरूले पढाइदिन्छु भनेका थिए । स्कुल पनि पठाएनन् । काम पनि धेरै लगाए । मालिकले धेरै गाली गर्थे । अनि भागेँ म त । कसैलाई चिनेको थिइनँ । सडक मै सुत्न थालेँ ।... खीर धेरै मन पर्छ मलाई...तर ह्याँ काँ पाउनु ? '
५. ‘जीवन राई । उमेर ११ वर्ष । सिन्धुली । स्कुल जाने मन छ । गोराहर्ले राति लैजान्च र बिहान छोडदिन्च । ...मलाई त काउकुति लाग्छ । तर पैसा पनि दिन्छ ।'
६. ‘विजय तामाङ । उमेर १३ वर्ष । काभ्रे । पुलिसले धेरै दुःख दिन्छ । कुट्छ ।...म पनि भोलिपर्सि पुलिस बन्छ र तिनलाई ठोक्छ ।'
७. ‘रामबहादुर खड्का । रामेछाप । उमेर १४ वर्ष । पानी परेपछि आमाको याद आउँछ । घरनजिकैको बारीको रूखमा आमा झुन्डिएकी थिइन् ।
पानी जोडले परेको थियो । गाउँका थुप्रै मान्छे रूख वरिपरि उभ्भिएका थिए । आमा मरेको भन्ने था'पाएपछि कसैलाई नसोधी घरबाट हिँडेँ । तीन घन्टाको बाटो कुद्दै मामाघर आएँ । आमा मरेको खबर लिएर काका आका रछन् मामाघरमा । उनले मलाई घर लेर जालान् भन्ने डरले उनको अगाडि नै नपरी भागेँ ।...काठमाडौं जाने बसमा चढेँ ।...कहाँ जाने केही था'थेन । गाडी जाँसम्म आयो त्याँ ओर्ले । मामाले १० रूप्पेँ दिनु भको थ्यो । लुकार राखेको थेँ । गाडी भाडा तिरिनँ । तेही पैसाले २ दिन त पाउरोटी किनेर खाएँ । सडकमै सुतेँ । कुकुरहरू मेरो साथी थियो । दिनभरि कताकता हिँड्थेँ । राति कुकुरहरूसँगै सुत्थेँ ।... अरू साथीहरू पनि भेटेँ । सुरुसुरुमा त मागेर खान्थ्यौं । पछि साथीहर्ले चोर्न सिकाए ।...सीताराम दूधको खोलमा साथीहर्ले के के राखेर खान सिकाए ।...बाहिर रमाइलो छ । हाम्रो ग्याङ ठमेलतिर हुन्छ ।'
उता रञ्जना र बादलको प्रेम उत्सर्गमा पुग्दै थियो । सम्पादक एलएन ‘स्वर्णपरी'को दसैं नयाँ अंकमा रञ्जनाको कभर र ब्लोअप दुवै डिजाइन गर्दै थिए । यता यिनीहरूको कथा सुन्दै जाँदा मलाई एक किसिमको हीनताबोध हुन थाल्यो । लेखक बन्ने लहडमा म कस्तो कथा लेखेर पैसा कमाउने परिबन्धमा परेँ । बालकहरूसँग गरिएका कुराहरू कापीमा टिप्थेँ र पछि कोठामा आएर कम्प्युटरमा उतार्थेँ । डेक्सटपमा ती बालकहरूको कथा उतार्दै जाँदा असहज महसुस हुन्थ्यो । यी सडक बालकहरूको कथा लेखेर के हुन्छ ? उनीहरूले त सडकबाट मुक्ति पाउनु पो महत्ववपूर्ण छ । उनीहरूले परिवारसँगै बसेर स्कुल जान कसरी पाउँलान् ? उनीहरू जस्तै अरू कति धेरै बालबालिका अझै सडकमै होलान् । काठमाडौंमा आफ्नै ठेगान नभएको बेलामा अलिक क्रान्तिकारी पाराको सोच पो आउन थाल्यो । आफ्नै कुबुद्धिले बाँकी ३० हजार उम्किने डर भो ।
दस हजारमध्येबाट कोठा भाडा तिरेर बचेको केही हजार पैसा थियो मसँग । उनीहरूसँगको संगतको नवौं दिन म फेरि पाटन पुगेँ । ती केटाहरूबाट कथा निकाल्न सजिलो थिएन । धेरै कुराकानी गरेपछि बल्ल उनीहरू आफ्नो बारेमा अलिअलि बोल्थे । किन गाउँ छोडेर काठमाडौं आए भन्ने उनीहरूलाई ठ्याक्कै कारण थाहा थिएन । मैले उनीहरूको कथामा भेट्न नसकेको चुरो कुरो यही थियो- ‘घर छोड्नुको कारण' । परिवारमा धेरै समस्या थियो । जसरी अरु धेरै नेपाली परिवारमा हुने गर्छ । तर, घर छोड्न बाध्य बनाउने मूल कुरा के थियो- मैले भेउ पाउन सकेको थिइनँ । कुनै मनोवैज्ञानिकको जस्तो विश्लेषण गरेर उनीहरूले ‘मैले यो कारणले घर छोडेँ' भन्ने स्थिति पनि थिएन ।
केहीबेरको कुराकानीपछि मैले उनीहरूलाई सहरतिर लिएर हिडेँ । आइसक्रिम खुवाएँ । खुब रमाए केटाहरू । भोलालाई खीर खुवाउने मन थियो । खीर पाउने पसल पत्तो लागेन । म निक्कै भावुक बन्दै थिएँ । मानौं म ठूलै सेवा गरिरहेको छु । उनीहरूको मर्म बुझिरहेको छु । दिमागले अर्को घन्टी हान्यो, अरे म कोही हुँ । आम मानिसहरूभन्दा फरक । जसले बालबालिकालाई बुझ्न सक्छ । मभित्र मानवताको आदर्श बर्खाको खहरे झै) उर्लिरहेको थियो । जीवनमा ठूलै काम गरेको आभास अचानक भएर आयो ।
पहिलोपटक मसँग उनीहरू झुम्मिए । मैले उनीहरूको कथामा नयाँ कुरा थप्ने र कथालाई फरक बनाउने नयाँ आइडिया फेला पारेँ । उनीहरूको रुचिको खाना, मन पर्ने हिरो हिरोइन, मन पर्ने ठाउँ, मन पर्ने गीतको टिपोट गर्न थालेँ । अर्को खुसीको कुरा के भने रामबहादुरलाई पनि रञ्जना शिवाकोटी मनपर्ने रहेछ । उसले मामासँग सिन्धुलीमा रञ्जनाको फिल्म हेरेको रहेछ । अलिक खुलेर कुरा गर्दा रामबहादुर भन्थ्यो, ‘ठमेलको भित्तामा टाँसेको रञ्जनाको पोस्टरमा मैले कत्ति पटक म्वाइँ खाको छु ।'
केटाहरूलाई त्यही पुरानो घरमा छोडेर आफ्नो डेरा मीनभवन खरिबोट फर्किएँ । हिँड्ने बेलामा मैले सबैको हातमा २०, २० रुपैयाँ थमाइदिएँ । १० औं दिन मेरो लागि निक्कै उत्साहजनक थियो । बिहानको खाना खाएर म उसरी नै खरिबोटबाट पाटनतिर लागेँ । पाटनको त्यो पुरानो घरमा पुग्दा त विवेक, झकेन्द्र पुस्तक परियोजनाकी संयोजक जापानी महिलालगायत अरू केही मानिसहरू थिए । सबै अचम्मको मुद्रामा थिए । सबैका अनुहारमा प्रश्न थिए । तर, उत्तर कोहीसँग थिएन । सबैभन्दा सानो केटो रुपेशलाई छोडेर त्यस घरबाट अरू ६ जना केटाहरू राति नै भागेछन् ।
‘चिल्ड्रन होम' चलाउने एक युवा रहेछन्- रेवती सापकोटा । उनी पनि सानो हुँदा धेरै वर्ष सडकमा बिताएका रहेछन् । ती जापानी महिला र चिल्ड्रन होम चलाउने युवा मिलेर केही दिन ती ६ जना केटाहरूलाई खोजे तर भेटेनन् । मैले बटुलेको सूचनाको आधारमा ती केटाहरूको कथा पूरा गर्ने कोसिस गरेँ । र, ती जापानी महिलालाई बुझाएँ । तर, तिनले कथा पूरा नभएको जनाउँदै बाँकी ३० हजार पैसा दिन मानिनन् । काठमाडौं थिएटरमा सुरुका दिनमा धेरै काम थिएन । लेख्ने रहर पनि मरेको थिएन । निक्कै दिनपछि ‘मुनलाइट'को कार्यालय जाँदा सम्पादक चक्रवर्ती निक्कै हवडदवडमा थिए । रञ्जना र बादलको बिहेको तयारी हुँदै रहेछ । उनी पैसाको चाँजो मिलाउन अफिसको त्यही पुरानो फोन सेटमा प्याँ टा पुँ टु प्याँ टा पारिरहेका थिए । ६ अंक । सोचेँ बिल तिर्न नसकेर अर्को महिना यो फोनको लाइन पनि काटिनेछ ।
रञ्जनाका परिवार के सोच्थे मलाई थाहा हुने कुरा भएन । तर मलाई भने आपत्ति थियो बिहेमा । एउटी प्रसिद्ध अभिनेत्री एउटा खासै नपढेको मसलदार युवासँग कसरी जीवन बिताउन सक्छे ? एकदुई पटक बादलले एलएन साहसँग कुरा गरेको सुन्दा मलाई ऊ हठी र अज्ञानी जस्तो महसुस भएको थियो । सायद मेरा पूर्वाग्रह र अन्धविश्वासहरू मभित्र सल्बलाउँदै थिए । मभित्र अर्को मूर्ख पुरुष थियो । म बादलसँग ईष्र्या गरिरहेको थिएँ । चक्रवर्तीले कम्प्युटर स्क्रिनमा देखाउँदै भने, ‘घिमिरे भाइ हेर त यसपटकको कभर राम्रो छैन त ? ' त्यसपछि उनले ब्लोअप देखाए । अचम्म ! बादल चक्रवर्ती रञ्जनासँग उत्तेजक दृश्यहरूमा कैद भएका छन् । ‘यो ब्लोअपले बादललाई पनि हिट गराउनेछ ।'
म निराश भएर डेरा फर्किएँ । खासै काम थिएन । पैसो जोगाउन डेरा छोडेर काठमाडौं थिएटरको होस्टलमा बस्न थालेँ । ती सातजना केटाहरूको कथाको फोल्डर आफ्नै याहुमेलबाट हटमेलमा पठाएर कम्युटरबाट फोल्डर डिलिट गरिदिएँ ।
पुस्तकालयको सरसफाइ गर्दा पुरानो स्वर्णपरीको दसैं अंक र ‘मुनलाइट'का केही प्रति फेला परे । एलएन साहले प्रकाशन गरेको ‘स्वर्णपरी'को दसैं अंकमा रञ्जना र बादल उत्ताउलो भएर उसरी नै मुस्कुराइरहेका थिए । अरू पत्रिकासँगै ‘स्वर्णपरी'का सबै अंक कवाडी फलाम बटुल्न आउनेलाई बेचिदिएँ । अब तिनले पुराना दिनहरू याद दिलाउने छैनन् । याहुमेलमा सर्च गरिहेरेँ । ती बालकहरूको वर्ड फाइल भेटेँ, मेरो कथा १, २, ३... नामका क्रमशः सातवटा ।
तर, डिलिट गर्ने आँट आएन । सायद छापिएको भए किताबको नाम पनि यही हुने थियो- मेरो कथा । नछापिएको यो कथा कसको भयो थाहा छैन । उसबेलादेखि अचेलसम्म हरेक साता उसरी नै साप्ताहिक पत्रिकाहरूमा अरू धेरै रञ्जना र बादलहरूको उत्तेजक तस्बिर छापिन्छन् । र, उसरी नै हजारौं युवाहरू तिनै तस्बिर हेरेर स्खलित हुन्छन् । तर, ती सातजना जस्तै धेरै बालकहरूको कथा अझै छापिन बाँकी छन् ।