Sunday, May 23, 2021

वानीरा दिदीः स्वभाव, सुन्दरता र सिर्जनशील लेखनको अलग पहिचान

वानीरा गिरि बुवाआमाकी एक्ली सन्तान हुनु हुदोरहेछ । परिवारको नालिबेली लिंदै गर्दा थाहा लाग्यो । ‘आज त वल्र्ड सिविलिङ्स डे हो नि’ लुनाले सम्झाएपछि उहां भाबुक हुनु भयो । उहां भित्रको कोमलता, प्रेम र अपनत्व त्यहांनेर आएर देखियो । 


जन्मेकाहरुको दिन दुनिया त यस्तै छ 

अजन्माहरु बरा

आक्रान्त छन् भयाक्रान्त छन् ज्वराकान्त छन् आफ्नैहरुबाट

(काठमाडौ काठमाडौ)

उहांलाई भेट्नै गाह्रो । अविनाश दाइले अन्तर्वाताको लागि समय मिलाउन धेरै यत्न गर्नु भयो । मैले आंटिन । ‘दाइले समय मिलाइ दिनु होला । अनि म जान्छु ।’ त्यही भनेर दिन कुरेर बसें । अविनाश दाइ समय र बोलीको अति पक्का । बोलेपछि जसरी पनि पुर्याउने । समय मिल्यो । हामी तोकिएको समयमा वानीरा दिदीको घरको गेट अगाडि पुग्यौं । 

बानिरा दिदिसंग समयका, भेटघाटका, बसाइका, खुवाइका आफ्नै तरिका र नियम रहेछन् । टड्कारै महसुस हुने । उहां भिडबाट एकान्ततिर तानिएजस्तो महसुस हुने । ‘म त कहिलेकाहीं आफै फोन उठाएर बानिरा गिरि घरमा छैन भनिदिन्छु ।’ अविनाश दाइले चकित हुंदै भन्नु भयो ‘अनि स्वरले चिन्दैनन् ?’ ‘बानिरा गिरीकी बहिनी बोलेकी भनिदिन्छु ।’ लाग्थ्यो, हामीले उहांसंग अन्तर्वार्ताका लागि समय पाउनु बढो सौभाग्यको कुरो भयो † उहां मोवाइल फोन पनि नबोक्ने । त्यस प्रति उहांको नकारात्मक धारणा रहेछ । ‘मोवाइल चलाउदिन बरु सेक्रेटरी राख्छु । पोजेटिभ रिभुलेसनलाई त मान्छु तर यो मोवाइलका धेरै खराबी छन् । एक ठाउंमा हिड्दै गरेको मान्छेलाई अर्कै ठाउंबाट मार्न आदेश दिन मिल्ने जिनिस रहेछ यो ।’ घटनाहरुमा मेरो ‘आइक्यु टेष्ट’ गर्दै उहांले मतिर फर्केर भन्नु भयो–तपाईलाई थाहा छ कि छैन । अचेल हुने मर्डर केसहरुमा मोवाइल फोन ठूलो माध्यम भएको छ ?’ टाउको हल्लाएं । बलियो तर्क लाग्यो । उहांको जीवन हो । सवैले आफू ‘कन्भिन्स’ भएपछि त्यसैगरी बांच्ने न हो ।

दिदी कुरा गर्न थालेपछि दिल खोलेर गर्ने । उहांको एप्रोचिङ शैली निकै मन पर्यो मलाई । हामी चार जना गएका थियौ उहांको घरमा । गरिमाका सम्पादक अविनास दाइ, कार्यालय सहायक ध्रव अधिकारी, लुना र म । चारैजनासंग भागबण्डा लाएर बराबरी कुरा गर्न सक्ने । ध्रव जीलाई मैले केही पटक गरिमा कार्यालयमा भेटेको थिएं । तर, अरु दिनभन्दा उनी यो दिन उनी निकै फरक देखिन्थे । उनी पनि निकै बोले । लाग्थ्यो उनी पो बानिरा दिदीसंग अन्तर्वार्ता लिइरहेका छन् । सोमरसको कमाल हो भन्ने अनुमान गर्न सकिन्थ्यो । केही छिन पछि उनी बाटो लागे र सजिलो भयो । 

मिनभवन क्याम्पस कटेपछि ठ्याक्कै ओरालो सुरु हुने मुखैमा देब्रे पट्टीको गेट जोकोहीका लागि हत्तपत्त खुल्दैन । तर भित्र गएपछि थाहा लाग्छ यो माया र स्नेहले भरिएको ठाउं हो । पस्ने वित्तिकैको बैठक कोठा बढो कलात्मक छ । मण्डला आकारको बस्ने ठाउं । तर हामी त्यहां बसेनौ । त्यो कुनै विशेष प्रयोजनको लागि थियो सायद । भित्तामा सुन्दर तस्विर र पेन्टिङहरु झुण्ड्याइएको थियो । मात्र त्यही कोठालाई हामीले भव्यताका साथ भ्रमण गर्यौं । गफगाफ सक्किएपछि अन्त्यमा बैगैचा घुमाउने योजना दिदीको थियो । र, घुम्यौं पनि । थरिथरिका फुलहरु, कुनै दिदीले रोपेका कुनै भिनाजुले । एबोकार्डोका रुख । सिरिको ठूलो रुख । यो आफ्नै संसारकी सर्जक डा. बानिरा गिरि आफ्नै परिवेश निर्माण गरेर एकान्तबासमा हुनु हुन्छ । मलाई त्यस्तै भान भयो ।

अझै भित्री कुरो त के थाहा ? एकदुई बसाइमा यतिसम्म भन्न सकियो,  नरिवल जस्तो हुनु भयो बानिरा दिदी । भेट्न गाह्रो भेटेपछि अन्त्यन्तै कोमल । हो त्यही ‘वल्र्ड सिविलिङ्स डे’को दिन हामी पुगेछौं दिदीको घरमा उहांको एकान्त पनलाई कोट्याउन । जुत्ता खोल्ने ठाउंमा बस्ने कि नखोल्ने ठाउंमा ?’ जोगीले राजकुमार दिक्पालको परिक्षा लिन सोधेको जस्तो प्रश्न भयो त्यो । तर हामीले सजिलो ठाउं रोज्यौं । कतै निस्कन लाग्नु भएका शंकर गिरि अर्थात अप्पीको बुवा झुलुक्क देखिनु भयो । छोरीको नाम हो अप्पी । बानिरा दिदी उहांलाई अतिमाया गरेर त्यसरी बोलाउनु हुंदो रहेछ । अन्त्यन्तै हसमुख र आत्मीय अप्पीका बुवा । बास्तवमा असलमान्छे एकै क्षणमा थाहा लाग्छन् । इन्जिनियरिङ क्षेत्रमा आफ्नो विशिष्टता हासिल गनु भएका उहां साहित्यका पारखी हुनुहुन्छ । वानिरा दिदीको लेखन र प्रकाशनमा उहांको नैतिक सहयोग ठूलो रहेको थाहा लाग्यो । हामीले सामुहिक तस्विर खिचायौं । बढो सहज भएर उत्साहका साथ अप्पीका बुवा अर्थाता शंकर गिरिले हामीसंग तस्विर खिचाउनु भयो । उहांको तारिफ गर्दै बानिरा दिदीले भन्नु भयो–‘मेरो सिर्जनालाई सधै उत्साह दिइ रहे उनले । धेरै पटक त मेरो परेसानी पनि उनले सजिलै सहेका छन् ।’ हो जस्तो पनि लाग्यो मलाई † बानिरा दिदिले श्रीमान्लाई विदा गर्नुभयो ‘तिमी जुन कामको लागि जान लागेको हौ सफल होओस् ।’ लाग्छ उहां निकै लामो यात्रामा जांदै हुनुहुन्थ्यो । त्यसैले हरेक कामलाई उत्तिकै महत्व दिने बानिरा दिदीको बानी मलाई मन पर्यो । मलाई कस्तो लाग्थ्यो भने हाम्रो भेटघाट पनि सामान्य होइन । उहांको व्यवहार देख्दा हामी एउटा ऐतिहासिक भेटघाटमा छौं जस्तो महसुस भयो । अविनाश दाइको गाम्भिर्य स्वभाव र प्रश्नहरुले पनि मलाई त्यस्तै महसुस गरायो ।

उहां हिडिसकेपछि पनि दिदीले आफ्ना श्रीमान्को तारिफ मनचिन्ते गर्न थाल्नु भयो । र हामी गफिन तिर लाग्यो । अनि त्यहींबाट हामीले उहांहरुको विहेको कुरा कोट्याएका थियौं । हरेक प्रश्नको जवाफ आफ्नै सुरले दिने बानी रहेछ बानिरा दिदीको । पहिले आफ्ना कुरा भन्ने अनि समय उघ्रिए प्रश्नको उत्तर दिने । 

डाइनिङ टेवलजस्तोलाई घेरेर वरिपरि कुर्सीमा बस्यौं हामी । दिदी नन्स्टप बोलिरहनु भएको थियो । लाग्छ हामी वर्षौदेखि भेटको प्रतिक्षामा छौं र त्यो भेटको सदुपयोग बानिरा दिदी गर्दै हुनुहन्छ । यही बीचमा अविनाश दाइले भन्नु भयो–‘दिदी मलाई लाग्छ प्रेमा शाह र वानिरा गिरिले नेपाली साहित्यमा जति चर्चा र समीक्षा हुनु पथ्र्यो त्यो भएन कि जस्तो तपाईलाई लाग्दैन ?’ 

‘नलेखिने कलम अभागि हो ।’ दिदी फ्याट्ट बोल्नु भयो । 

थोरै नारी हस्ताक्षरहरुमध्ये एउटा बेग्लै पहिचान र अस्तित्व बोकेर मेची तर्यो बानिरा गिरिको लेखन । यसरी हेर्दा मेची पुर्वको नेपाली समाजले बेग्लै स्वाद र शिल्पले नेपाली भाषा साहित्यलाई धनी बनायो । मेची पारीनै हुर्किएका सशक्त कथाकार अविनाश श्रेष्ठ हुनुहुन्छ सम्पादकका रुपमा त्यहां उपस्थित । उहांले पारिजातलाई पनि सम्झनु भयो । महिला हस्ताक्षरमा धेरैले बानिरा गिरिलाई पारिजातसंग तुलना गरे । ईन्द्र बहादुर राईका कुरा उठे । देव कुमारी सिंहाको कुरा उठे । उतैका रुपनारायण सिंह त बानिरा गिरिका सबैभन्दा प्रिय नेपाली लेखक रहेछन् । 

प्रसंग बानिरा दिदिको हो । २०२२ सालको कविता महोत्सवमा सहभागिताका लागि कविता बटुल्न भवानी भिक्षु मेची पुल पूर्व लाग्नु भएछ । संयोगलाई विश्वास गर्ने हो भने यही नै बानिरा गिरिलाई काठमाडौसम्म जोड्ने माध्यम बन्न पुग्यो । त्यस वर्षको कविता महोत्सवमा उहां दोस्रो हुनु भयो । र, यही पुरस्कार ग्रहण गर्ने अवसरमा पहिलो पटक काठमाडौ टेक्नु भयो । दिदीले आफ्नो उमेर ठ्याक्कै चाहिं भन्नु भएन । फेरि दिदीलाई केही कुरा पनि जिद्दी गर्न नमिल्ने । उहांलाई मन नलागे नभन्ने । तर, जयदेव भट्टराईको साहित्यकार शब्दकोशको सहारा लिएं । जन्म–सन् १९४६ अप्रिल ११, नयां बजार खरसाङ, दार्जिलिङ । बक्काइदा बर्ष र साल हिसाब गरें नि † १९ वर्षको हुनुहुंदो रहेछ उहां त्यसबखत । नेपाल आएपछि उहांले राजा महेन्द्रले नेपालीवाहिरका नेपालीहरुका लागि दिने छात्रवृत्ति पाउनु भयो र नेपाली विषयमा उच्च शिक्षा अध्ययन गर्नु भयो । नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम महिला हुनु भयो बानिरा दिदी । त्यसपछि पद्मकन्या कलेज, बागबजारमा अध्यापन गर्न थाल्नु भयो ।  

खरसाङको परिवेशलाई उहांको सौन्दर्यले जसरी मोहित बनाएथ्यो काठमाडौलाई पनि त्यस्तो भयो । बानिरा दिदी तारुण्य वयमा अन्त्यन्तै रुपवती हुनुहुन्थ्यो † उहांका पुराना तस्विर बोल्छन् । अहिले पनि दिदी उत्तिकै राम्री हुनुहन्छ । ‘साथीहरुले मलाई बार एण्ड पिसकी नायिका आड्रे ह्यापवर्नसंग दांज्दथे ।’ अविनाशदाई पनि पुलकित हुनु भयो । सोध्नु भयो–‘काठमाडौ आएपछि त दिदीलाई निक्कैले प्रेम प्रस्ताव राखे होलान् ?’ दिदिले कुरोलाई त्यतातिर लान चाहनु भएन । भन्नु भयो–‘मेरी फुपुले मलाई एउटा महत्वपुर्ण कुरा भन्नु भएको थियो । पुरुषले एउटी महिलालाई एउटा सुपारीको कुड्को पनि कुनै स्वार्थ बेगर दिएको हुन्न । त्यसैले सधैं होसियार रहनु ।’ त्यही अर्ति बानिरा दिदिका लागि मन्त्र सावित भयो । र, उहां सधैभरी पुरुषप्रति ससंकित रहनु भयो ।

अब भने विहेको प्रसंग आयो । अप्पीका बुवा अर्थात संकर गिरिसंग चाहिं दिदीको विश्वास गसरी अडियो त ? पारिवारिक चिनजानका आधारमा संकर गिरिका परिवारले वानिरा गिरिको परिवारमा पहल गर्यो । खरसाङ हुंदै बानिरा गिरिलाई हेर्ने संकर गिरि एउटा कार्यक्रममा जानु भएको थियो रे । बानिरा दिदीका अनुसार उहां बोलको सुनेर संकर गिरि त्यसै आत्तिनु भयो रे । यस्ती कडा स्वभावकी केटीसंग म कसरी टिकौंला भनेर । बीचमा पारिवारिक पहल भए । एउटा अन्त्यन्तै अविष्मरणीय क्षण सम्झनु हुन्छ दिदी । उहांहरु दुई जनाको पहिलो प्रेममय भेट पशुपतिनाथ मन्दिरमा भयो । दिदी गरु रंगको सारीमा अन्त्यन्तै सालिन भएर जानु भएको थियो रे । दिदी भन्नुहुन्छ–‘मेरो त्यस दिनको पहिरनले उसलाई त्यसै मोहित बनाएछ ।’ दिदी दिल खोलेर प्रेममय हांस्नु भयो । संकर गिरी पनि त्यहीं हुनभएको भए गफ गर्न झन् रमाइलो हुने थियो । २०२५ सालमा उहांहरु दाम्पत्य जीवनमा बांधिनु भयो र यो लामो यात्रामा उहांहरुको प्रेम झन् मौलाउंदो देखियो । उहांहरुलाई झुलुक्क संगै देख्दा अनुभुत भयो । संकर गिरि सांच्चै हसमुख मान्छे ।  

भैरव अर्याल प्रथम हुनु भएको रहेछ महोत्सवमा । दिदीले आदरले अर्याललाई सम्झनु भयो । अर्यालका दुईटी छोरी रहेको कुरा अर्यालबाटै दिदीलाई थाहा भएछ । अनि कौतुहलवश सोध्नु भएछ अर्याललाई –‘के हो छोरीहरुको नाउं ?’ जवाफ सुनेर उहांलाई उदेक लागेछ । अर्यालले भनेछन्–‘एउटीको रसवरी र अर्कीको लालमोहन ।’ भैरव अर्यालमा व्यङ्ग्य चेतना भएको कुरा दिदीलाई थाहा थियो । तर, छोरीहरुको नाममा समेत गरिएको व्यङ्ग्यचेतको प्रयोग उहांलाई अनौठो लागेछ । र, आजपनि भैरव अर्याललाई ससम्मान सम्झंदै उहांले थप्नु भयो–‘कुन संस्कारको कारणले होला भैरव जीले छोरीहरुका नाम त्यस्तो जुराएको ?’ मान्छेको जीवनमा संस्कार र परम्पराको प्रभाव बारे चर्चा गर्दैै दिदी आफ्नो बाल्यकालतिर फर्कनु भयो । 

दिदीले खर्साङमै हु“दाको बाल्यकाल सम्झनु भयो । ४ कक्षामा पढ्दै गर्दा मुटु नामको हस्तलिखित पत्रिका निकाल्नु भएको रहेछ । त्यही पत्रिकामा उहांले वर्षा ऋतुको बारेमा एउटा लेख लेख्नु भएको सम्झनु भयो । शिक्षक देवनन्ददेव शाहले जांचेर लेखिदिनु भएछ–‘भाषामा प्राण छ, शैली रोचक छ, खुबै असल ।’ देवनन्ददेवको यो प्रसंसा दिदीका लागि यो लामो साहित्य यात्रामा एउटा ठुलो उर्जा बनेर सधै प्रेरित गरिरहेछ । त्यो उहिल्यैको कुरा दिदीलाई मुखाग्र भएर रहेको रहेछ । आफ्नो साहित्य लेखनमा बंगला साहित्यको ठूलो प्रभाव रहेको पनि दिदीले बताउनु भयो । विमल मित्र उहांका मन पर्ने लेखक रहेछन् । अझै पनि बंगाली भाषा बोल्न सिपालु हुनु हुदो रहेछ दिदी । केही कविताका हरफहरु सुनाउनु भयो । 

.......................................... 

‘एउटा जिउंदो जङ्गबहादुर’, ‘जीवनःथाय्महरु’, ‘मेरो अविष्कार’ जस्ता कविता संग्रहबाट कवितामा आफ्नो नौलो र शसक्त उपस्थिति दिन सफल बानीरा दिदीले उपन्यासमा पनि बलियो प्रभाव छोड्न सफल हुनु भयो । कारागार, निर्बन्ध, शब्दातीत शान्तनु जस्ता उपन्यासले नेपाली साहित्य आकाशमा पाठकहरुलाई नौलो स्वाद दिए । सब्दातीत सान्तनु स्थानीयता, आन्चलिकता र सांस्कृतिक तत्वहरुले भरिएको एउटा आधुनिक उपन्यास भन्न मनलाग्छ मलाई । यस कृतिले २०५६को साझा पुरस्कार पनि पायो । यस उपन्यासमा नेपालको ग्रामीण परिवेशलाई, पुर्वी तराईको मधेसी समाजलाई आधुनिक शिल्पद्धारा बानिरा गिरिले शब्दातीत सान्तनुमा ज्यादै कुसलताका साथ बुन्नु भएको छ । अहिले देश संघीयताको बहसमा तातेको बेला तराईबासीहरुको ठाउं र अधिकारको कुरा सघन रुपमा उठेको छ । धेरै लेखकहरुले पनि यस विषयमा कुरा उठाएका छन् । तर राजनीतिक रुपमा मात्रै हैन कला र साहित्यमा ती समुदाय र संस्कृतिका कुरा कसरी उठे त भन्ने बहस हुंदा शब्दातीत शान्तनुको उल्लेख हुनु आवश्यक ठान्छु म । यो सही हो,  यो उपन्यास सामान्य पाठकको लागि हैन । यो उपन्यास काव्य जस्तो देखिन्छ । कविता भएर उपन्यासले कथा भन्छ । जस्तै गोमा पात्रलाई उपन्यासले यसरी कहन्छ–

केश फुस्रा थिए ।

आंखामा गाजल थिएन ।

अनुहारमा अरु शृङ्गार पनि थिएन । 

सधै निधारमा कलेजी रङ्गको रोरीको टीका लाउंथी । 

बिछट्टै सुहाउंथ्यो । 

आज त्यो पनि छैन ।

चैतको हुरीले नाङ्गो पारेको सखुवाको रुख झै देखिन्थी । 

दिलजान छेउमा बस्यो । उसलाई अलिकति छोएर भन्यो–

‘खोल न †’

आज गोमामा पोको खोल्ने उत्साह पनि छैन । 

बिस्तारै पोको खोल्दा अलिअलि हात कामेको पनि छ । 

(पृष्ठ ६०)

सिराहा जिल्लाको बस्तीपुर गाउंमा महाभारतका चरित्र सान्तनु उपस्थित गराएर विम्बात्मक प्रस्तुति दिनु भएको छ लेखिकाले यस उपन्यासमा । भीष्मका पिता सान्तनु बस्तीपुरका एक आम पात्र हुन् जसका आकांक्षाहरुको दस्तावेज हो यो कृति । यस कृतिमा झै प्राय सबै लेखनमा बानिरा गिरि अरुभन्दा अगल लाग्नुको कारण उहांले कथालाई बुन्ने र प्रस्तुति गर्ने तरिका हो । उहांको औपन्यासिक लेखनमा म म्याजिकल रियालिज्म (मायामय यथार्थ) अत्यन्तै प्रचुर देख्छु । यथार्थलाई कथा वा साहित्यमा बुन्ने तरिका नै बास्तबमा लेखकको खुबी हो । बानिरा गिरि यस्ती शसक्त नारी हस्ताक्षर हुनुहन्छ जस्ले हरेक पटक यथार्थ जीवनलाई जादूमयी तरिकाले प्रस्तुत गर्नुभएको छ । त्यही भएर पनि अविनाश दाइले उहांको लेखन अनुसारको मुल्याङ्कन नभएको हो कि भनेर प्रश्न गर्नु भएको थियो । 

बानिरा दिदीको पहिलो कृति उपन्यास कारागार त्यस समयको एउटा विशिष्ट कृति मानिन्छ । उहांले उपन्यास भित्र कुनै पनि पात्रको नाम नदिएर नौलो प्रयोग गर्नु भएको छ । काठमाडौ र यस आसपासको परिवेशलाई बढो यथार्थमयी ढङ्गमा प्रस्तुत गरिएको यस उपन्यासमा तत्कालीन उपत्यका–जीवनलाई निक्कै जिवन्त रुपमा पस्किइएको छ । 

बानिरा गिरिका कविता शैली र भाषाका हिसाबले झन् उच्च कोटीका लाग्छन् । उहांको कवित्वले नै उहांलाई संसारका धेरै मुलुकमा पुर्याएको छ । परिचित गराएको छ । उहांको व्यक्तिगत विवरण हेर्दा थाहा लाग्छ–बानिरा दिदी सन् १९७६देखि हालसम्म अनवरत रुपमा अन्तर्राष्ट्रिय गोष्ठी, सम्मेलनहरुमा सहभागि भैरहनु भएको छ । विश्वका धेरै मुलुकमा उहांको कवित्व पुगेको छ । 

तर समयसंगै उहांको कवितामा प्रतिविम्बत बिचार र अनुभूतिमा नौलो पन र फरकपन देखिन्छ । पाठकहरुले महसुस गर्छन् । जस्तै, उहांको पछिल्लो कविता संग्रह काठमाडौ काठमाडौमा निराशाको बाढी नै पाइन्छ । लाग्छ यो काठमाडौ त्रासदी हो । 

भोकको ‘क’ काटी 

क्रमशः ‘ग’ र ‘ज’ थप्दै

कहीं भोग लगाइएको छ

कहीं भोज उडाइएको छ 

चोरमा ‘खो’ थपेर

चोखो बनाइएको छ

काठमाडौं

गजबको ग्यालीप्रुफ बनेको छ । 


लाग्छ, बानिरा दिदीलाई काठमाडौका धेरै मानिसहरु प्रति गुनासो छ । उहांका कविता पढ्दा र उहांसंग भेट्दा पनि त्यो थाहा लाग्छ । यो अनेकौ जीवन र घटनाको कोलाज काठमाडौमा एउटा सुन्दर परिवेश बनाएर, एउटा सुन्दर जीवन बाचिरहेकी बानिरा दिदीमा अरु प्रति किन यतिधेरै नकारात्मकता र गुनासाहरु पलाए ? उहांको आवेगमा सहभागि हुन मन लाग्छ । 

जसरी लेखनमा बानिरा दिदीको अलग शैली छ, व्यक्तित्व पनि त्यस्तै अलग लाग्यो मलाई । मनमा लागेको कुरा स्पष्ट भनिदिने । आफ्नो बलियो बिचार बोकेर त्यही विचारको वकालत गर्ने । धेरै मानिसहरुको भिडमा नपस्ने । सानो सर्कलमा बस्ने । उहां भन्नु हुन्छ–‘अक्ष्ँर किरा हैनन् सल्बलाई रहने । अक्षरहरु त स्थित हुन्छन् । खाली समय अनुसार यसका अर्थहरु सल्बलाउंछन् ।’ आफ्नो जीवन र लेखनका विषयमा सधै स्पष्ट भएकी लेखिका जस्तो लाग्यो मलाई बानिरा दिदी । हिजोआज सार्वजनिक जीवनमा नदेखिएकी उहांको लेखनमा अनेकौ योजनाहरु देखिए । त्यसमध्ये आफ्नो जीवनका अनुभव र कथाहरु लेख्ने क्रममा हुनुहुंदो रहेछ बानिरा दिदी । 

‘कति कुराहरु छन् मलाई भन्न मन लागेका, जुन मेरो अनुभव किताबमा आउनेछन् ।’– दिदी भन्नुहुन्छ ।

घाममा पोलिंदा पोलिंदा अङ्गार बनेपछि 

पानीमा रुझ्दा रुझ्दा लेउ बनेपछि

एउटै लोकलयमा गासिएर

सामुहिक रुपमा 

कण्ठ खोलीखोली गाएका छन् तिनीहरुले–

घाम–पानी घाम–पानी स्यालको बिहे

घाम–पानी घाम–पानी स्यालको बिहे


बानिरा दिदीसंग धेरै पटक भेट हुंदा यसरी लामो कुरा गरिएको थिएन । उहांका बारेमा मानिसहरुले दिएका परिचयभन्दा आफ्नै साक्षात्कार लाख भयो । दर्जनौ सुन्दर कृतिकी स्रष्टा जो व्यक्तित्वका हिसावले पनि प्रभावशाली देखिनुहुन्छ । उहां किन आफ्नै वरिपरि परिधिको रेखा हालेर बस्नु भएको छ ? मलाई घच्घच्याउन मन लागेको छ । आखिर उहांले नै लेखेको उपन्यास हो ‘कारागार’ । उहां नै सार्वजनिक जीवनमा कम देखिन थाल्नु भयो । जागिरबाट अवकास लिएपछि त झन् उहां साहित्यिक कार्यक्रम, गोष्ठी, सभा सम्मेलनमा देखिए सबैको हित नै हुनेछ । उहांको प्रतिभाले अरु धेरै नयांलाई पनि प्रेरित गर्नेछ । पौराणिक कथन ‘राम राज्य’ कल्पना गरेर कहिलेसम्म हामी मान्छेमान्छेसंग डराइ रहने ? मान्छेले मान्छेलाई डराउंछ, तर्साउंछ, धकेल्छ । तर, मान्छेले मान्छेलाई नै माया गर्छ, सहयोग गर्छ र भिरबाट लड्न पनि बचाउंछ । दिदीको मनको अन्तरकुन्तरमा विशाल ब्रम्हाण्ड भएर फैलिएको प्रेम र सद्भाव कुनै सन्देह बेगर सम्पुर्ण काठमाडौमा फैलियोस् । दिदीलाई बारम्बार भेटिरहन पाइयोस् । उहांका नयां सिर्जनाका बारेमा बहस गरिरहन पाइयोस् । यही कामना । कवि यसरी आफै लेख्छ र त्यसमा आफै विश्वास गर्दैन भने उसको कवित्वको आयाम के हुन्छ ?–

छाती च्यापेर हिंड्छ ऊ

मान्छे हुनुको गौरव्सम्भवतः कोही हो भने 

ऊ नै हो भगवद्विजयी

‘मेरो आविष्कार’ कविता संग्रहबाट 

 

 


Friday, May 22, 2020

एउटा सम्बेदनशील शासक जो रून पनि जान्दछ !


शक्तिशाली शासक !
अचानक तिमी भावुक भएको हल्ला बजारमा
आँशु पनि झारेको समाचार शहरमा

ढिला नै सही 
तिम्रो हृदयमा अंकुराएको हो भने विवेक
आँशु भावुकतालाई बनाउँन चाहेका होइनौ भने राजनीतिक पासा
भविष्यमा झनै हुनेछौ दुखी
देखेर नागरिकका दर्द बेहाल
हुनेछौ तिमी अझै बिक्षिप्त
तिम्रो अपराध (घमण्ड वा गल्ती ) गलेर बन्नेछ संभवत: पश्चातापको अनन्त दलदल

साँच्चै
अब तिमीलाई लाग्दैन ?
हिजो मरेकी सुत्केरी आमा
तिम्रो कुर्सी(सत्ता)लाई असफल बनाउन
रचिएको एक षड्यन्त्र  हो !

शक्तिशाली शासक !
चकित शहर अनायासै तिम्रो रूपान्तरण देखेर 
तिम्रो भावुकता आँशुको समाचार सुनेर !

(नोट-यो कविता मध्यरातमा उठेर लेखिएको हैन )

मृत्‍युको कनेक्सन

डिसेम्बर ३१, उहानको औपचारिक घोषणाबाटै
मेरो पनि नाम दर्ता भैसकेको हो संक्रमण र मृत्‍युमा
त्यसो त जन्मिनसक्दै मृत्‍यु खातामा मेरो नाम थियो
आमाको गर्भबाटै देखेको थिएँ त्यो मृत्‍यु
जन्मिएर बिर्सिएँछु ।
एउटा अकाल मृत्‍युको कल्पना कसरी गर्ने होला ?
यतिखेर त्यो अकाल नै यथार्थ भै दियो !
सम्झिएँ ।
फोक्सो र मुटुमा असाध्यै पिडा हुने छ
नसाभित्रै रगत जम्न थाल्ने छ
म छटपटाउने छु पीडाले असाध्यै
शरीरबाट अन्तिम पटक स्वास छोड्दै गर्दा कोही हुने छैन मेरो नजिक
एक घुट्की पानी खुवाउने
मायाले सुम्सुम्याउने
लास उठाउने पनि कोही हुने छैन
आफन्तहरूले सय मिटर परबाट ट्वाल्ल हेर्ने छन् मेरो लास
संसारकै सबैभन्दा प्रिय मानिस मेरो छेउमा हुने छैन
त्यसो त दुस्मनहरू पनि आउने छैनन् मेरो लासमा नक्कली सहानुभूतिको फूल चढाउन ।
बरू तिनलाई आफ्नै मृत्‍युको चिन्ताले पिरोल्ने छ ।
केवल भ्रष्ट शासकहरू रुने छन् ईतिहासको अभिशप्त कलंकलाई पखाल्न
दरबारभित्रै लुकेर
आफ्नै मृत्‍युको डरले ।
यस्तो बेहालमा पनि मेरो लास कसैले नदेख्ने गरि मुस्कुराउने छ ।
म एउटा सुनसान सुनसान सुनसान मृत्‍यु मर्नेछु ।

Thursday, May 21, 2020

नेपाल-भारत सिमा बिबाद

'आफ्नै मनको शान्तिका लागि पनि लेख्नैपर्ने भयो'


एउटा सामान्य नियम के हो भने- यदि मैले आफ्नै जग्गामा पर्खाल लगाउन लागेँ वा घर बनाउन लागेँ वा जग्गा बेच्न लागेँ भने पनि सँधियारलाई खबर गर्नुपर्ने हुन्छ । व्यक्तिगत जग्गाको सिमाना त यति संवेदनशील हुन्छ भने यो त देशको सिमानाको कुरा भयो । र, छिमेकीसँग सिमाना विवाद भयो भनेर पूरै परिवार-परिवार नै झगडा गर्ने, लडेर बस्ने कुरा आउँदैन । त्यसो त पटमूर्खहरूले मात्रै गर्छन् ।

यस्ता विवाद मिलाउने सभ्य र शालीन अनेक तरिका छन् ।

कुरा नेपाल र भारतको सीमा विवादको हो । यो सीमा विवादलाई सुल्झाउने शान्तिपूर्ण तरिका दुवै गणतान्त्रिक मुलुकका जिम्मेवार व्यक्तिहरूलाई थाहा छ । हामी नागरिकहरूले तल्लो तहमा गिरेर, तुच्छ भाषा प्रयोग गरेर झगडा गर्नु आवश्यक छैन भन्ने मलाई लाग्छ । खासमा दुवै देशका नागरिकहरूबीच त्यस किसिमको दुस्मनी र घृणा पनि म देख्दिनँ (तर सत्ता र कुनै स्वार्थले नागरिकहरूलाई नचलाएसम्म)। सिनेमा, संगीत, साहित्य, कला, खेल, संस्कृतिदेखि आम जीवन पद्धतिमा दुवै देशका नागरिकहरूबीच ठूलो कनेक्सन छ । र, यो लोभलाग्दो र प्रिय पनि छ ।




तर एउटा कुरा चाहिँ भारत सरकारले सुन्नैपर्छ । भारतीय मिडिया र नागरिकहरूले पनि सुन्नै पर्छ- भारतले आफ्ना छिमेकीहरूलाई गर्ने व्यवहार निक्कै हेपाहा किसिमको छ । अरु छिमेकी देश झैँ नेपालको पनि भारतप्रति गुनासा छन् । देशको भौगोलिक आकारको कारण भारतको सत्ताले देखाउने दम्भ लज्जास्पद हो । अहिले पनि मिडियामा भारतका जिम्मेवार मानिएका कतिपय मानिस नेपाललाई भारतको सानो भाइका रुपमा परिभाषित गर्छन् । यो खेदजनक छ ।

दुई देशबीचको सम्बन्ध दाजुभाइ वा दिदीबहिनीको जस्तो हैन, मित्र-मित्रको जस्तो हो । दाजुभाइको रुपमा हेर्नेबित्तिक्कै समस्या त्यहीँनेर आउँछ । 'कथित दाइ' भारतले 'कथित भाइ' नेपाललाई सधैँ मैले भनेको तैँले मान्नुपर्छ । केही गर्न लागे हामीलाई सोध्नुपर्छ भनेर एकतर्फी रुपमा हैकम जमाउन चाहन्छ । अहिले पनि त्यही भएको हो ।

जस्तो कि सन् २०१९ मा भारत सरकारले आफ्नो देशको नक्सा सार्वजनिक गर्दा नेपाललाई विवादित सिमानाबारे सोध्नु आवश्यक ठानेन । विवादित भूमिमा सडक बनाउँदासम्म पनि नेपालसँग कुरा गर्नु आवश्यक ठानेन । अहिले नेपाल सरकारले आफ्नो देशको नक्सा सार्वजनिक गर्दा चाहिँ नेपाल भारतप्रति जवाफदेही होस् भन्ने अपेक्षा गर्छ ।
दुवै देशलाई यो पनि थाहा छ- सीमा विवाद नयाँ हैन ।

सीमा विवादकै घटनामा विसं २०७३ फागुन २६ गते कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली युवा गोविन्द गौतमको गोली हानेर हत्या गरे । सिमानामा भारतीय सीमा सुरक्षा बलको हिंसा अरु धेरै ठाउँमा भएका छन् । यस्तो हिंसा र विवाद रोक्न पहल गर्ने काम त सत्ता सञ्चालकहरूको हो नि !

खुला सिमाना र कमजोर औद्योगिक स्थितिका कारण अनि भूपरिवेष्ठित सिमानाका कारण हामीले भारतसँग सहयोग लिनु परेको छ । तर छिमेकी मुलुकले लिने सहयोगको सट्टापट्टा हिंसा र हेपाइ त पक्कै होइन । पटकपटकको नाकाबन्दीको घाउ पनि नेपालीले बिर्सिएका छैनन् । आजको ग्लोबल युगमा कुनै पनि देश औद्योगिक उत्पादनमा शतप्रतिशत आत्मनिर्भर हुँदैन । आयात र निर्यातको सम्बन्धलाई राजनीतिक शक्ति सञ्चयको आधार बनाएर सानो देशलाई नहेप ।

ल ठीक छ, नेपाल र नेपालीलाई लाग्यो- भारतले हामीलाई हेपिरहेको छ भन्ने । भारतलाई त्यस्तो लाग्दैन भने दुई देशबीच हाँसीखुसी वार्ता गर्न सकिन्छ नि । सन् १८१६ को सुगौली सन्धि र सन् १९५० को (शान्ति र मित्रताको सन्धि) बारे पनि त छलफल गर्न सकिएला । स्मरण रहोस्, यस किसिमको छलफल त्यतिखेर मात्रै सफल र प्रगतिशील हुनेछ, जब भारतले नेपाललाई बराबर मित्रका रुपमा ग्रहण गरेर बार्ता टेबलमा बस्ने छ । भूगोलको आकार, हिजोको राजनीतिक अस्थिरता वा नेपाललाई आर्थिक सहयोग गरेकै कारण हेप्ने प्रवृत्तिले नेपाल र नेपालीले भारतलाई विश्वास गर्ने छैनन् । भारत सरकारप्रति हाम्रो डर र सन्देह सधैँ रहने छ ।

अर्को कुरा, भारतीय मिडियाले चीनलाई गरेको गाली निक्कै अचाक्ली र लज्जास्पद छ । सन् १९६२ मा हारेको युध्दको घाउ बोकेर छिमेकीलाई सधैं सरापिरहनुले भविश्यमा दुर्घटना मात्रै निम्त्याउँछ । मलाई लाग्छ- एसियाको शान्ति, स्थिरता र सम्पन्नतामा चीन र भारतको सुमधुर सम्बन्धको बराबरी हात छ । नेपाल र भारतको शान्ति, स्थिरता र सम्पन्नतामा भारतकै धेरै भूमिका छ ।

भारत सरकारलाई एउटा छिमेकी देशको नागरिकको विनम्र निवेदन हो यो :
'नेपाल सरकार र नेपाली जनताको गुनासो र निवेदन सुन । आफूभन्दा सानो क्षेत्रफल भएका छिमेकी देशलाई पनि मित्रकै रुपमा व्यवहार गर । पुराना कागजपत्र र तथ्यका आधारमा सिमाना विवाद सुल्झाऊ ।'

हिजो चाहिँ किन बोलेनौ ? र आज कस्को इसारामा बोल्दैछौ भन्नु एउटा सार्वभौम देशका नागरिकको स्वरलाई अपमानित गर्नु हो । आफ्नो अधिकार र अरुको अत्याचार बारे बोल्न कहिल्यै ढिलो हुँदैन । भारतलाई थाहा हुनु पर्छ 'एक दिन नेपाल बोल्ने छ' भन्ने । भारतले यो पनि थाहा पाइराख्नु पर्छ- अत्याचारका बिरुद्ध ती जो यत्रो वर्ष बोलिरहेका छैनन् एक दिन बोल्ने छन् । ती छिमेकीहरू जो वर्षौंदेखि भारतबाट पिरोल्लिएका छन्, एक दिन बोल्ने छन् ।  

कवि रिमालको शक्तिशाली कविता यहाँ स्मरण गराउन चाहन्छु । 

...

लाटा-सुधा बोल्न थाल्छन्, चल्छ ओठ दु:खको
सहे भनी सम्झिएका ईख फेर्न उठ्तछन्

गए भनी नदेखिएका फर्की-फर्की आउँछन्
सुते भनी सम्झिएका सुरुसुरु हिँड्दछन्

मरे भनी फ्याँकिएका जुरुजुरु उठ्तछन्
खरानी हुन्छ भर्भराउँदो, हुरी चल्न थाल्दछ

कायर पनि वीर हुन्छन्, वेग चल्छ जोशको
हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ

एक जुगमा एक दिन एकचोटि आउँछ

उलट-पुलट, उथल-पुथल, हेरफेर ल्याउँछ

धन्यवाद !



Saturday, July 21, 2018

प्रधानमन्त्री ओली अचानक पुगेपछि



आज यस्तो भयो !
सत्याग्रही डा गोविन्द के.सी.को मागको समर्थनमा हजारौं नागरिकहरू माइतिघरदेखि नयाँ बानेश्वर पदयात्रामा थियौँ ! बाटोमा दर्जनौं सुरक्षाकर्मीहरू शान्त खटिएका थिए ! माथेमा प्रतिवेदनको पक्षमा, मेडिकल माफिया र भ्रष्टाचारको विरूद्धमा भीडबाट आवाज आइरहेको थियो ! भीडलाई जब नयाँ बानेश्वरमा सुरक्षाकर्मीहरूले रोके ! भीड त्यहीं अडिएर औपचारिक कार्यक्रमतिर लाग्यो ! डा केदारभक्त माथेमा, खगेन्द्र सङ्ग्रौला, डा बाबुराम भट्टराई, मनिषा कोइराला, करीश्मा मानन्धर, कृष्ण पहाडी, गगन थापा, डा रामेश कोइराला, प्रतीक प्रधान, अमित ढकाल, सुशीला कार्की, रविन्द्र मिश्र, डा जुगल भुर्तेल जस्ता दर्जनौ ब्यक्तित्व अग्र पङ्तीमा थिए । मिनि टाटा गाडीको डालीमा बनाइएको मन्चबाट भाषण चलिरहेको थियो ।




 हामी सारा समर्थकहरू सडकमा बसेका थियौं ! चरक्क घाम लागेको थियो ! घाम चर्किएसङ्गै त्यहाँ अचम्म भयो ।
बिशेष सुरक्षा सहितको नयाँ सरकारी गाडी भीडको अग्रपङ्तीको छेउमा रोकियो । अचानक आएको बिशेष गाडी देखेर भीडको ध्यान त्यतै गयो । भीड अचानक उत्तेजित भयो, जब कालो चिल्लो गाडीबाट सम्माननीय प्रधानमन्त्री केपी ओली ओर्लिनु भयो । उहाँसँगै पछाडि पट्टी माननीय मन्त्री प्रदीप ग्यवाली, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, सस्क्रिती मन्त्री रविन्द्र अधिकारी र साम्सद योगेश भट्टराई पनि हुनु हुन्थ्यो । केही उत्तेजित युवाहरुले प्रधानमन्त्रीको टोलीतिर आक्रमण गर्ने कोसिस गरे । सुरक्षाकर्मीहरु पनि प्रतिकारमा थिए । भीडबाट आएको ढुङ्गाको टुक्रा प्रधानमन्त्री ओलीको निधारमा लागेर निधारबाट रगत बग्यो । त्यस्तो अवस्थामा पनि प्रतिकार नगर्न सुरक्षाकर्मीहरुलाई प्रधानमन्त्रीले हातले ईशारा गर्नु भयो । त्यसपछि सुरक्षाकर्मीहरुको सहयोगमा उहाँ भीडको अगाडि रोकिएको गाडीको डालीमा चढ्नु भयो र उद्घोसकको हातबाट माइक्रोफोन लिनु भयो । सारा भीड उहाँको बिरोधमा नारा लगाई रहेको थियो । उहाँले ३ पटकसम्म शान्त हुन निवेदन गरेपछि मात्र भीड सम्हालियो । 



 त्यसपछि प्रधानमन्त्री ओलीको पहिलो वाक्य सुन्ने बित्तिकै भीड स्तब्ध भयो । उहाँले भन्नु भयो- 'सत्याग्रही डा केसी र तपाईंहरुले यो अवस्थासम्म आईपुग्नु परेकोमा म क्षमा चाहन्छु ।' भाबुक हुँदै ओलीले भन्नु भयो-जुम्ला अस्पातलमा जे भयो, त्यसमा सरकारको गल्तिभयो । यो बिचमा डा केसीको सत्याग्रहलाई लिएर मैले बोलेका अभिब्यक्तीलाई बिर्सिदिनुस् । म र मेरो मन्त्रीमन्डल तपाईंहरुको अगाडि बाचा गर्छ, माथेमा प्रतिबेदनलाई हामी पालना गर्नेछौं । आदरणीय डा केसी आफ्नो अनसनलाई तोड्नुहोस् । तपाईं जस्ता ब्यक्तित्व यो मुलुकलाई आझै खाँचो छ । तपाईं र तपाईं जस्ता विद्वानका कुरा भविष्यमा अझै सुन्ने छु । तपाईंहरु यो जनताको सरकारको शक्ती हुनु हो । बिचमा केही गडबडी भएको हो । अब ती कुरालाई बिर्सिदिनुस् ।'




भीड उत्साहले उत्तेजित भएर 'प्रधानमन्त्री ओली जिन्दाबाद' भन्न थाल्यो । भीडले ओलीजी लाई बोकेर उचाल्यो र आकाशतिर एक्छिन उफार्यो । उहाँको स्वास्थ्यको ख्याल गर्दै उहालाई भुईमा राखियो । उहाँ भीडलाई हात हलाउदै कालो चिल्लो गाडीमा बस्नु भयो । मानानीय मन्त्रीहरु पनि भीड तर्फ हात हल्लाउंदै आआफ्नो गाडीमा बस्नु भयो । 'यो के भयो, ओली जी र सरकारलाई हामीले गलत बुझेका रहेछौं । दुई तिहाई मत ल्याएर बनेको यो सरकार त जनताकै पक्षमा रहेछ ।' भीडमा यस्तै गुनगुन चलिरहेको थियो ।





भीडको बिचमा भुईंमा बसेर कृष्ण पहाडीको भाषण सुनिरहेको म, प्रधानमन्त्री ओलीको यस्तै उच्च स्तरको नेत्रित्वको कल्पना गरिरहेको थिएँ । तर यो सबै त्यतिखेर भाताभुङ्ग भयो जब सुरक्षाकर्मीहरुले चलाएको अस्रु ग्यासले मेरो आँखा र नाक मर्नेगरी पोल्न थाल्यो । लुना र म नाक र आँखा मिच्दै अर्को ठाउँमा बस्यौं । मनमा अनेकौ कुरा खेलिरहेको थियो । के आजको लोकतान्त्रिक भनिएको सरकारले यति सानो कुरालाई पनि समाधान गर्ने हैसियत राख्दैन ? के प्रधानमन्त्री ओलीमा हठ बाहेक कुशल नेत्रित्वको अवशेष बाँकी छ ? सरकारमा रहेका अरु केही नेताहरु जसप्रति हाम्रो निक्कै आशा छ, उहाँहरुले यो संकटको घडीमा प्रधानमन्त्रीलाई सही सल्लाह दिने हैसियत राख्नु हुन्छ ?
यिनै प्रश्नहरुले म थिचिएको छु । र सत्याग्रही डा गोविन्द के.सी.को जीवन रक्षाको कामना गरिरहेको छु । 
   


             

Saturday, December 9, 2017

अस्तित्वको मौन लडाईँ-घिमिरे युवराज

बरु भिएस नैपल र नेपालबीच सम्बन्ध भेटिएला तर नाता केलाई हेर्दा पनि म्यानमारका सागर घिमिरेसँग मेरो कतै पारिवारिक साइनो लागेन । मेरो ठट्टामा उनी भावुक भए । कोही पनि नेपालीलाई भेट्दा उनलाई आफ्नै परिवारको सदस्य झैँ लाग्छ रे ।

करिव ११ महिनाअघि होटल डाइमण्डको लविमा यिनीसँगको पहिलो भेट मिठो कफी गफमा टुडि.्गयो । त्यतिखेर उनी एनआरएन म्यानमारको अध्यक्ष पदमा थिए । सन् २००५ मा काठमाडौमा भएको पहिलो गैर आवासीय संगठनको भेलापछि उनी म्यानमारका लागि अध्यक्षमा च’निएका थिए । उनको चिन्ता म्यानमारका नेपाली भाषी समाजको उन्नति र समृद्धितिरको थियो । उनको स्पष्ट मत छ ‘हामी खासमा एनआएन हैनौँ तर संसारभरी छरिएर बसेका नेपाली समुदायलाई जोड्ने एउटा माध्यम भएको हुनाले हामी पनि यसको सदस्य भयौँ ।‘

दोस्रो पटक उनले बौद्ध ध्यानगुरु विन मिन ट्विलाई सिडोना होटलको लविमा अर्को कफी गफमा भेट गराए । जसको सहयोगमा उनले ०७२ को भुकम्प पिडितहरुलाई नेपालमा ठुलो रकमले सहयोग गरेका रहेछन् । ध्यान गुरु र अन्य दाताहरुसहित उनी नेपालका पहाडी गाउँहरुमा पुगेर राहत बाँडेछन् ।

यी ध्यान ग’रु कस्ता भने सन् सत्तरीको दशकमा ने विनको निरंक’स सत्ता विरुद्धमा बन्ध’क उठाएरै लडेका । तर अहिले अहिंसा परमोधर्म भनेर ध्यानमा लागेका छन् । फाईभ स्टार होटलमा कफीगफमा भेटिने यिनको हातमा एप्पलको लेटेस्ट आइ फोन छ । बौद्ध धर्मको संस्कारमा ह’किएका असली विपस्यना ग’रु ट्वि भन्छन् ‘स’विधा उपयोग गर तर त्यसमै मरिहत्ते नगर । डिट्याच्मेन्ट सबैभन्दा ठ”लो क’रा हो ।‘ उनीसँगको छोटो भेटमा जीवन र जगतका अनेकौँ क’रा भए । यिनको बोल्ने तरिका र सालिन व्यक्तित्वले जो कोहीलाई आकार्षित गर्छ । सबैभन्दा बढी प्रभाव सायद सागर घिमिरेमा परेको छ । उनी सागर झैँ सान्त छन् ।

‘फस्ट ईम्प्रेसन ईज दि लास्ट ईम्प्रेसन‘ भन्ने उक्ति अचेल प्राय गलत सावित हुने गर्छ । केही भेटमा मात्रै मान्छेको असली रुप देखिन्छ । तर ख्याउटे ज्यानका यी हँसिला व्यक्तित्वले पहिलो भेटमा जसरी सकारात्मक प्रभाव छोडे, त्यसपछिको पटकपटकको भेटले त्यस उक्तिलाई चरितार्थ गरिछाड्यो । त्यसैले म उनीसँग लामो बार्ताको अपेक्षामा रहेँ । उनी आफ्ना विशेष योजनाहरु सुनाउन चाहन्थे जसका लागि पर्याप्त समयको खाँचो थियो ।

संसारभरबाट म्यानमार आउने नेपालीहरु नेपाली राजुदुतावास कति पुग्छन् थाहा छैन । तर सिंगै दुतावास जस्तो भएर बसेका माउ विन(बर्मेली नाम) अर्थात सागर घिमिरेलाई नभेटी फर्किने सायदै होलन् । नेपाली समाजसँग जोडिएका व्यवसायी, समाजसेवी, कलाकार, साहित्यकार सबै उनी कहाँ ठोक्किन आइपुग्छन् । म पनि त्यसरी नै उनीसम्म ढोक्किन पुगेँ ।


डाक्टर सन्द’क रुइतको आँखा सिविरको आयोजनादेखि स्क’ले केटाकेटीलाई कलम कापी बाँड्ने कामसम्म उनी देशभर क’दिरहेका ह’न्छन् । उनका साथीहरु भन्ने गर्छन् ‘सागर जी यात्रा धेरै गर्छन् ।‘ उनी भन्छन् ‘यात्राले मान्छेलाई सिर्जनशील बनाउँछ ।‘ म्यानमारभरी उनी समाजसेवाकै लागि कुदिरहन्छन् । नेपाल त उनको लागि पानी पँधेरै भैगयो । समाजसेवा र कामकै सिलसिलामा थाइल्याण्ड, मलेसिया, जापान कुदिरहन्छन् ।

फुर्सदिलो गफका लागि बल्लतल्ल संयोग मिल्यो । गत नोभेम्बर १५मा उनले यंगुनको आफ्नै निवासमा निम्तो दिए । निवासमा पुग्दा उनी आफ्नो वर्षौँदेखिको नियतिबाट मुक्त थिएनन् । भारतको असामबाट आएका असाम गोर्खा सममेलनका त’ल्सीप्रसाद शर्मा र दन्दीप्रसाद कोइरालासँग गफिँदै थिए । आगामी डिसेम्बरमा असाममा गोर्खा महोत्सव गर्ने योजना रहेछ । त्यही सिलसिलामा छिमेकी मुलुकका नेपाली भाषीहरुलाई महोत्सवमा समेट्न ती दुई व्यक्तित्व म्यानमार छिरेका रहेछन् । रंगुन आएर सागर घिमिरेलाई नभेट्नु मिसन अपुरो हुनु जस्तै थियो ।

धन्न उनले उक्त भेटघाटलाई चाँडै विट मारे र हामी गफिन थाल्यौँ ।

‘के म्यानमारमा हामी यस्तो समाज बनाउन सक्दैनौँ ? यहाँका द’ई लाख म्यान्मा नेपालीहरु पुर्ण शिक्षित होउन् । यहाँको नेपाली भाषा समृद्ध होओस् । सबै म्यान्मा नेपालीहरु सम्पन्न होउन् ।‘ उनले यो सबै आकांक्षालाई एउटै वाक्यमा भन्ने कोसिस् गरे । ‘म्यान्माका नेपालीहरुलाई गर्भमा भएदेखि नमरुन्जेलसम्म अभाव नहोस् ।‘

म्यान्मा नेपाली सम्पन्न भए भने यहाँका अरु समुदायलाई पनि बिस्तारै सहयोग गर्न सकिनेछ भन्ने उनको सोच छ । सुन्दा निक्कै सुन्दर लाग्ने यो सपना पुरा गर्न कति गाह्रो छ ? उनको उर्जा देखेर मैले उनका अगाडि निराशाजनक कुरा गर्ने स्थिति छैन । मेरो मौनतालाई चिर्दै उनले भने ‘सम्भव छ । असम्भव जस्तो लागे पनि सम्भव बनाउनु पर्छ ।‘ उनी हिम्मतका साथ थप्छन् । र, स्कुले बच्चालाई झैँ कथा सुनाउँछन् । ‘दुधको पोखरी भन्ने कथा सुनेको छ ?‘

‘गाउँलेहरुले दुधको पोखरी बनाउने निर्णय गरे छन् । हरेक परिवारले एकएक भाँडो दुध पोखरीमा ल्याएर खन्याउने निर्णय गरेछन् । एउटा गाउँलेको मनमा आएछ, सबैले दुध खन्याइहाल्छन् । त्यत्रो दुधमा म एउटाले पानी हाल्दा कस्ले थाहा पाउँछ र ? आखिर दुधको पोखरी बनी हाल्छ ।
भोली पल्ट विहान हेर्दा त पोखरी दुधले हैन पानीले भरिएको रहेछ । त्यो एक गाउँलेले सोचे जस्तै सबैले सोचेर पानी नै खन्याएका रहेछन् । हामीले आफ्नो समाजको लागि काम गर्ने हो भने यस्तो सोचको अन्त्य गर्नु पर्छ । नत्र दुध पोखरीको ठाउँमा पानी पोखरी बन्छ ।‘

उनको म’ल अभिप्राय यसरी पोख्छन् ‘हरेकको मन सेवा भावले भरियो भने हामी गोर्खाली नेपालीहरुको लागि एउटा बृहत कोष जम्मा गर्न सक्छौँ र त्यसबाट समुदायको शिक्षा, स्वास्थ्या र चेतनाको विकाशमा खर्चन सक्छौँ । वा उद्योग खोलेर रोजगारीको सिर्जना पनि गर्न सक्छौँ ।‘

म्यानमारका नेपाली भाषी नागरिकहरुलाई कसरी सम्बोधन गर्ने भन्ने दुविधा मलाईँ छँदै थियो । आफ्नो जातीय पहिचानको कुरा हुनाले विषय सम्बेदनशील छ । स्पष्ट नभइ लेख्नु यस समुदायको चित्त दुखाउनु हो । तर महसुस गर्दैछु, यति ठुलो देशमा अल्पसंख्यक भएर बसेको यो समाज अदृश्य रुपमा आफ्नो भाषा, संस्कृति र जातीय अस्तित्वको लडाईँमा छ । त्यसैले यो पहिचानको सगोल नाम के हुन सक्ला ?

म्यान्मारका गोर्खाली नेपाली नागरिक ? कि म्यानमारका गोर्खाली ? म्यानमारका नेपाली ? कि म्यानमारका नेपाली हिन्दु ? यी शब्दहरुबीच यो समाज अन्तक्र्रिया र मन्थनमा छ । संसारको कुनै पनि कुनामा पुगे पनि मान्छेको सबैभन्दा ठुलो आधार उसको पहिचान र सांस्कृतिक अस्तित्व रहेछ । यसदेशमा अझै पनि नेपाली भाषीहरुले पहिचानको कुरा उठाउनु ठुलो खतरा मोल्नु हो । अचम्म लाग्दो क’रा के छ भने कमजोर वा अल्पसंख्यकहरु आफ’लाई जे सम्बोधन गरिँदा सम्मानित ठान्छन् शक्तिमा ह’नेहरुले त्यसमा सहमती जनाउँदैनन् ।

नेपालभित्र कयौँ जाती, भाषा र संस्कृति यसैको लागि वर्षौँदेखि लडिरहेका छन् । लोकतन्त्र आएको भनेको देशमा त धेरै समुदायले खुम्चेर बस्नु परेको छ । म्यानमार त भर्खर प्रजातन्त्रको बाटोतिर हिंड्दैछ । उनका अनुसार तुलनात्मक रुपमा अन्यमुलका म्यान्मा नागरिकभन्दा नेपाली मुलका म्यान्माले म्यानमार सरकारबाट माया र सद्भाव पाएको छ । तर त्यसमा पनि उसका आफ्नै सिमा छन् । राज्यसत्ताको परिवर्तनसँगै म्यानमार नयाँ य’गमा प्रवेश गर्दा नेपाली सम’दायले पनि अझै न्याय पाउँछ भन्ने अभियन्ताहरुको धारण छ यहाँ । त्यसो त कचिन, छिन जस्ता आदिबासी सम्बोधन पाएका नागरिकहरु अझै राज्यसत्तासँग ससस्त्र भ’मिगत लडाईंमा छन् अझै ।

घिमिरेले आफ्नो नागरिकता झिके । नागरिकतामा धर्म खुलाइएको हँुदो रहेछ । जातीको ठाउँमा गोर्खाली लेखिएको रहेछ । भाउजु गोमाले भनिन् ‘मेरो नागरिकतामा पनि गोर्खाली लेखिएको छ ।‘

‘हाम्रो संस्था भित्र भने हालसम्म गोर्खाली हिन्दु भनेरै चलाइएको छ तर यसको निक्र्योलमा हामी चाँडै पुग्दैछौँ ।‘ घिमिरेले भने । यतिखेर उनी यस्ता उल्झन्हरु स’ल्झाउने स्थानमा छन् ।

एनआरएन अध्यक्षको उनको कार्यकाल पुरा भएर नयाँ अध्यक्ष आएका छन् तर सागर घिमिरेमाथि झन् ठुलो जिम्मेवारी थपिएको छ । गत मे महिनामा भएको नेपाली भाषीहरुको सम्मेलनले उनलाई अखिल म्यान्मा देशिय गोर्खा हिन्दु धार्मीक संघको केन्द्रिय अध्यक्ष चुनेको छ । हाल म्यानमार देशभरीमा यस संस्थाको ३५ वटा शाखा र २०२ वटा प्रशाखाहरु छन् । म्यानमार देशभरी ३३० वटा टाउनसीप छन् । त्यसमध्ये ३४ वटा टाउनसिपमा ३५ वटा शाखा छन् । यही संस्थामार्फत म्यानमारका बहुसंख्यक नेपाली भाषी एउटै छाता मुनी छन् । तर जीउँदा मानिसहरुको चहलपहल हो समाज । यसभित्र पनि खटपटी र अफठ्याराहरु छन् । त्यसलाई चिर्दै संस्थालाई समुदायको हितमा बलियो बनाउने उनको विश्वास स्वेडागोन झैँ टल्किरहेको छ ।

ईतिहासलाई हेर्दा म्यानमारमा पहिलो पटक सन् १९४७ मा अखिल बर्मा नेपाली संघको नाममा नेपाली भाषीहरुको संगठन बनेको देखिन्छ । जसको संस्थापक अध्यक्ष थिए अत्तर सिंह क्षेत्री । फेरि उनकै अध्यक्षतामा सन् १९५२ मा अर्को संस्था अखिल बर्मा गोर्खा संघ बन्यो । त्यसैगरी सन् १९५२ मै मनबहादुर लिम्बुको अध्यक्षतामा अल बर्मा गोर्खा संघ बनेको देखिन्छ । फेरि मेजर भागिमान सुब्बाको अध्यक्षतामा सन १९५७ मा संयुक्त नेपाली गोर्खासंघ र सन् १९६१ मा प्यीठाउँसु(य’नियन) गोर्खा संघ बनेको ईतिहास छ । यसरी नै नेपाली भाषीहरु संगठित हुने र आफ्नो जातीय, भाषा र संस्कृतिको सम्बर्धनका लागि एक जुट हुने अभियान चलिरहेको थियो । सन् १९६२ मा देशको सम्पुर्ण अधिकार र सासन शक्ति तत्कालीन सैनिक जेनेरल ने विनले आँफुमा लिएपछि उथलपुथल भयो । निजि व्यापार व्यवसाय सबै सरकारी करण गरियो ।

यही बखतदेखि सबै समाजिक संघसंस्थाहरुलाई प्रतिबन्ध गरियो । त्यस कानुनले नेपाली भाषीलाई मात्रै होइन देशका अन्य जाती र समुदायलाई पनि त्यसरी नै असर गर्यो ।

सन् १९८२ मा फेरि धर्मको नाम दिएर नेपाली भाषीहरुको संस्था बन्यो अखिल म्यान्मा देशिय गोर्खा हिन्दु धार्मिक संघ । यसको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो लेफ्टिनेन्ट कर्णेल दुरा लक्ष्मण राई (दुराको नेपाली अर्थ हुन्छ सुरा । सरकारबाट उनले पाएको सम्मान पदवी हो यो ) । त्यसपछि क्रमश कर्णेल टंकध्वज नेपाल, क्याप्टेन कुलदीप लिम्बु, मेजर पुर्णबहादुर तिवारी यस संस्थाको अध्यक्ष भए । यही संस्थाले आजसम्म निरन्तरता पाएको छ । यसलाई अझै आधुनिकिकरण गर्ने जिम्मा आएको छ अध्यक्ष सागर घिमिरे र उनको टिमलाई । उनी भन्छन् ‘देशमा प्रजातन्त्रको सुर्य उदाएको छ, उज्यालोको किरण हामीसम्म आईपुग्ने कुरामा म आशावादी छु ।‘ हिजो देशको राजनीतिक कारणले गर्दा धार्मीक नाम दिएर बनेको यस संस्थाले अबको दिनमा कसरी आफुलाई अझै समृद्ध र उदार बनाएर सबै म्यान्माली नेपालीहरुलाई अटाउन सकिन्छ भन्ने चुनौति छ । आफ्नो कार्य समिति निक्कै जुझारु र आधुनिक भएको विश्वस्त दिलाउँदै उनी भन्छन्, ‘हाम्रा पुर्खाहरुको योगदान र ईतिहासलाई बचाउँदै हामी मान्मारका नेपाली जातीलाई समृद्ध बनाउन चाहन्छौँ ।‘

भारतमा झैँ यहाँ पनि नेपाली एउटा जातीको रुपमा स्थापित हुन खोजेको देखिन्छ । तर किरात वा अन्य धर्म मान्ने म्यान्मा नेपालीहरु अझै पनि संस्थामा अटाउन नसकेको सत्य गुपचुप छ । यस विषयमा खुलेर कुरा गर्नु पनि स्वभाविक मानिदैन । अध्यक्ष घिमिरे भन्छन् ‘हामी एकजुट र समृद्ध हुनै पर्छ । यसले कसैलाई भेदभाव नगरी समाजिक काम गर्दै आएको छ ।‘ यस संस्थाको अध्यक्षता किरात सम‘दायका अग्रजहरुबाट पनि पटकपटक भएको ईतिहास भने धेरै प‘रानो हैन । तर पनि यदाकदा विचार नमिलेर नयाँ संस्था बन्ने क्रम पनि यहाँ देखिन्छ ।

अन्य खाले अन्धविश्वासहरुमा पनि म्यान्मारका नेपाली विश्वमा नमुना बन्न सक्ने उनको सोच छ । उनी भन्छन् ‘कति कुराहरुको परिवर्तन नेपालबाट नै होस् भन्ने लाग्छ ।‘ नेपालमा अभ्यास भइरहेको सामाजिक अन्धविश्वास तथा पुरानो ठर्राको धार्मीक अभ्यासको प्रभाव यहाँ बढी छ । उनी थप्छन् ‘तर नेपालबाट यो परिवर्तन भएन भने हामी म्यानमारबाट पनि सुरु गर्न सक्छौँ । जस्तो कि मृतकको १३ दिने संस्कारलाई छोट्याउने कुरा ।‘

उनको फोन बज्दै थियो । त्यही साता छिन प्रान्तको कत्था सहरमा आयोजना हुन गैरहेको नेपाली भाषीहरुको युवा सम्मेलनले उनलाई अलमल्यायो ।

छेऊमा चुपचाप बसेकी गोमा भाउजुसँग बार्ता गर्ने मौका यही थियो । कामबाट उनी भर्खरी घर आइपुगेकी थिइन् । ‘म रुवीको ब्यापारमा छु । देश विदेशका व्यापारीहरुका बीच ब्रोकरको काम गर्छु ।‘ त्यसो त म्यानमारको सुन्दर सहर मोगोक र त्यसको आसपासमा बस्ने प्रायलाई के गर्नु हुन्छ भनेर नसोधे हुन्छ । पक्कापक्की छ यहाँका बह’ संख्यक नेपाली रुवी वा पत्थरको व्यापारमा संम्लग्न छन् । उनले भनिन् ‘म अन्तरी बहिनी हुँ । मेरा मामाहरु र दिदीहरु पनि यही व्यापार गर्ने हुनाले मैले उहाँहरुबाटै सिकेँ ।‘

हामी एकछिन पुर्खातिर फर्कियौँ । उनकी आमाका बुबाआमा नेपालबाट आउनु भएको रहेछ । आमाको जन्म म्यान्मारमै भएको रहेछ । बुबा भने नेपालबाट आउनु भएको रहेछ । मोगोक भन्दा केही माइलभित्र तीनफया भन्ने गाउँमा जन्मिएकी गोमा भाउजुको बाल्यकाल पनि अधिकांश म्यान्मा नेपालीको झैँ खेतीपाती, घर, गोठकै परिवेशमा बित्यो । ‘१५, २० वटा गाई थिए । ४०, ५० वटा बाख्रा थिए । करिव ३ माइल हिंडेर स्कुल जानु पथ्र्यो ।‘ अरुले झैँ उनले पनि हिउँदे विदामा चलाउने ३ महिने नेपाली कक्षामा नेपाली पढ्न लेख्न सिकिन् ।

उनको जन्म र कर्म थलो नै म्यानमार भयो । म्यानमार कै नागरिक भएपछि भाषा र संस्कृति कै कारणले नेपाललाई मरिहत्ते गर्नु पर्ने कारण उनी देख्दिनन् । तर पनि केही वर्षअघि बुबाको जन्मथलो खोज्दै भोजपुर पुगिन् । उनी भन्छिन् ‘रातभरी हिंडेर त्यो बिकट पहाड पुगेँ । त्यहाँका रायमाझीहरुलाई भेटेँ तर उनीहरुले वास्तै गरेनन् ।‘
उनी केही पटक नेपाल पुगिन् र आमाका आफन्तलाई पनि भेटिन् तर तितो अनुभव लिएर फर्किन् । आफन्तले पनि भेट्दा खासै चिज नगरेपछि नेपालका मान्छे नै चिसा हुन् कि जस्तो उनलाई लागेको छ । ‘यहाँ त गाउँलेलाई पनि हामी वास्ता गर्छौँ । त्यहाँ त भावनै नभएको जस्तो महसुस भयो मलाई । नरिसाउनु होला तर मैले मनमा लागेको कुरा भनेको हुँ ।‘ कुरा सुन्दा गोमा भाउजुको चित्त निक्कै दुखेको महसुस हुन्थ्यो । म्यान्माली नेपालीहरुले पाउनालाई महत्व दिएको देख्दा मलाई पनि हामी साँच्चै चिसा उन थालेछौँ जस्तो महस’स भयो ।


सागर दाइ फोन बार्ताबाट फुर्सद भए । उता भान्सामा नेपाली पाराको खान्की तयार रहेछ । घरकी सहयोगी रहिछन् तामिल किशोरी गीता । भाउजुले भनिन् उ पनि हिन्दु हो त्यसैले नाम हामीहरुसँग मिल्छ । यस मुलुकमा एकअर्कालाई जोड्ने माध्यम धर्म र जाती भएको छ ।

पुर्खाको कुरा निस्कि गयो । सागरदाइतिर मेरा जिज्ञासा मोडिए । आफ्ना पुर्खा गुल्मीबाट आएका भन्ने उनले सुनेका हुन् । कलकत्ता हुँदै कालापानीको बाटो म्यानमार छिरेका रहेछन् । तर नेपालमा अहिले परिवारका मान्छे कोही छैनन् । ब्रिटिस सामाज्यबाट म’क्त भएपछि म्यान्मार सरकारले धेरै एफआरसी(म्यान्मारमा बसेका विदेशी)लाई नागरिकता दियो । तर उनका बाआमाले एकदिन नेपाल फर्किइन्छ भनेर म्यानमारको नागरिकता लिनुभएन ।

सागर भन्छन् ‘टन्न सम्पत्ती कमाएर नेपाल फर्किने भन्ने आशमा उहाँहरु बस्नु भयो । न टन्न सम्पत्ती भयो । न नेपाल फर्किइयो । न त बसेको ठाउँको नागरिकता हात लाग्यो ।‘ यहाँको राजनीतिक अस्थिरताको कारणले यस्तो दोधारमा थिए उनका बुबाआमाका पुस्ता । धेरै नेपाली भाषीलाई एक दिन नेपाल फर्किइन्छ भन्ने नै थियो । सैनिक सासनले झन् भय थप्यो । नागरिकता पाउन त्यति सहज भएन । फेरि सन् १९८० मा लेफ्टिनेन्ट कर्नेल दुरा लक्ष्मण राईको ठ’लो प्रयासले धेरै नेपालीहरुले नागरिकता प्राप्त गरे । सागर भन्छन् ‘जुनदेशमा जन्मिइयो, हुर्किइयो । पसिना र रगत बगाइयो त्यही देशमा अनागरिक भएर बन्नु पर्यो भने त जिन्दगी चलाउन गाह्रो हुन्छ । त्यसैले हामीले नागरिकतालाई विशेष महत्व दियौँ ।‘ राज्यले समस्या सिर्जना गर्ला भनेर ग’पच’प राखिएको अहिलेको एउटा समस्या नागरिकता पनि हो । अझै केही नेपाली भाषीहरुले यहाँको नागरिकता पाइनसकको हुनाले अखिल म्यान्मादेशीय गोर्खा हिन्दु धार्मीक संघले यस समस्यालाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छ । अध्यक्ष घिमिरे भन्छन् ‘४, ५ पुस्तादेखि यहाँ बस्तै आएका नागरिकहरुले पनि नागरिकता नपाएको अवस्था छ । छुटपुटमा रहेकाहरुलाई पहिला नागरिकता दिलाएर कान’नी अधिकार प्राप्त गराउनु हाम्रो ध्येय हो । त्यसपछि समानान्तर रुपमा शिक्षा, स्वास्थ्य र चेतना अभिबृद्धिमा काम गरिहेका छौँ ।‘

सागर घिमिरेका अनुसार पुर्खाहरु नेपालबाट म्यानमार ३ किसिमले भित्रिए । सैनिकको रुपमा, अंग्रेजहरुको माइम फ्याक्ट्र्मिा माइम खन्ने मजदुरको रुपमा र किसानका रुपमा । यसरी आएका नेपालीहरुको निक्कै सोझो र सिधा हिसाबले यहाँ बसे । उनीहरुको आफ्नो कुनै राजनीतिक अभिप्राय थिएन । उनी भन्छन् ‘कानुनका बारेमा नजानेर र आफ्ना कागजातहरु सम्हाल्न नसकेका कारणले पनि धेरै नागरिकहरुले नागरिकताको लागि समस्या पाएको देखिन्छ ।‘

म्याण्डले विश्व विद्यालयबाट स्नातक गरेका घिमिरेको काठमाडौसँग गजबको सम्बन्ध बस्यो । मातृभुमि सेवक संघ नामक संस्था मार्फत उनी सन् १९९० देखि ०९७ सम्म काठमाडौ बसे । हिन्दु विद्या पिठमा उनले ६ वर्ष पढ्ने पढाउने काम गरे । यही बखत उनले ताहाँचल क्याम्पसबाट विएड गरे । अचेल काठमाडौ जाँदा उनलाई त्यस बखतको सडक, गल्ली र घरहरुको खुब झझल्को आउँछ । भन्छन् ‘त्यतिखेर भर्खर नेपालमा राजनीतिक परिवर्तन भएको थियो ।‘ ती दिनहरुलाई सम्झँदै उनी भन्छन् ‘हामी म्यान्मार मै जन्मियौँ । हुर्कियौँ । हामीलाई यही माटोको माया छ । तर नेपाल र नेपालीलाई पनि हामी असाध्य माया गर्छौँ ।‘
अर्को संयोग गोमा भाउजु र उनको पहिलो भेट नेपाल मै भयो । करिव २ दशक लामो दाम्पत्य जीवनको रोमान्चक यात्राको सुरुवाती दिनलाई सम्झँदै गोमा भाउजु भन्छिन् ‘मेरी फुपुको घर काठमाडौको नक्सालमा थियो । फुपुले नै उहाँसँग भेट गराउनु भयो ।‘ सागर गीत गुनगुनाउँछन् ।

देखेकोले हुन्न हजुर
लेखेको नै चाहिन्छ
विहे वा आफ्नो कर्म थलोको बारेमा सागर दाइ निश्चित थिएनन् । तर परिवारको सल्लाहलाई उनले आत्मसात गरे र विहेकै लागि उनी सन् १९९७ मा म्यानमार फर्किए ।

अचेल साथीहरुसँग मिलेर मिनिरल वाटरको फ्याक्ट्र्ी चलाएका उनी खासमा अचेल समाज सेवामै व्यस्त छन् । गोमा भाउजुलाई औँल्याउँदै उनी भन्छन् ‘उहाँले सबै कुरा सम्हाली दिनु भएकोले मैले यसरी कद्न भ्याएको छु ।‘ गोमा भाउजुलाई पनि दाइले नेपाली समाजका लागि गरिरहेको यो दुःख र मेहनतप्रति सन्तुष्टि छ । तर सर्तक भएर काम गर्न सुझाइ रहन्छिन् । उनी भन्छिन् ‘उहाँको निक्कै जिम्मेवारी छ । जसअपजस आइरहन्छ । कसले के भन्छ, कसेले के भन्छ । चिन्ता त मलाई नै हुन्छ ।‘ जसरी समाज सेवाका लागि सागर दाइ कुदेका छन्, चन्दा र सहयोगका लागि गोमा भाउजुले धेरै पटक थैली खाली गरेकी छिन् ।

आजभन्दा २ दशकअघि यहाँ अन्र्तजातीय विवाह गर्नु ठुलो चुनौति थियो । उनीहरुको विवाह आफैमा सामाजिक क्रान्ती जस्तो थियो । निक्कै समझदारी र सन्तुलनमा चलेको यो जोडी आफ्नै मेहनत र संघर्षले म्यान्मार मुलुकमा एउटा प्रतिष्ठित जीवन बाँचिरहेको छ । करिव २ लाख नेपालीको समृद्धि र उत्थानका लागि अनेकौँ सपना बुनेका सागर घिमिरेलाई यो दुई वर्ष परिवारका लागि समय मिल्ने छैन । घर र व्यापार सम्हालेर गोमा भाउजुले ठुलो टेवा दिएकी छन् । वर्षौँदेखिका साकाहारी उनी गत मे महिनामा संघको अध्यक्ष चुनिएपछि भाउजुकै सल्लाहमा मदिरालाई पनि तिलान्जली दिए । उनको चिन्ता छ ‘म्यान्माली नेपाली युवाहरुको स्थिति कहाली लाग्दो छ । हरेकघरबाट १६ वर्ष नटेक्दै युवाहरु पढाइ छोडेर मजदुरी गर्न थाइल्याण्ड पुगेका छन् ।‘ बौद्ध भिक्ष’ जस्ता शान्त लाग्ने सागरमा रात ढल्किँदै गएपछि चिन्ताका छालहरु उठ्दैछन् । मैले आजलाई विदा मागेँ । हिंड्ने बेलामा घिमिरे दाइले फ्ठ्याट्ट सोधे ‘आउने हप्ता कत्थामा नेपाली युवाहरुको सम्मेलन हँुदैछ जाने हो ?‘ मेरो खुशीको सीमा रहेन ।

Friday, August 11, 2017

नाथुराम गोड्सेको अनुहार

हिजो राज्यलक्ष्मी 
जङ्गबहादुर
महेन्द्र
वा ज्ञानेद्र सत्तामा हुँदा जसरी फिल्टर गरेर सुन्थे जनताको कुरा
त्यो भन्दा नालायक छ आजको सत्ता ।
चेतनाहीन, प्राज्ञिकताहीन, मानवताहीन
यो मुलुकको सत्ता जिब्रो लटरपटर पार्छ र आफैँले बोलेको कुरा पनि बिर्सन्छ ।
यो मुलुकको सत्ता र प्रतिपक्षको भ्रष्टाचारी अनुहार त ठ्याक्कै उस्तै छ
फोटोकपी
नत्र किन मिल्थ्यो मत यिनीहरुको गोबिन्द केसीलाई मार्ने योजनामा ?
मिलेर खाने बानी परेको छ
एउटा बोल्दै बोल्दैन
अर्को बढी बोल्छ, एउटा मिल्दैमिल्दैन
अर्को दोचारे छ
तर भेट्दा राज्यसत्ताको ढुकुटीको पैसाले फेरिदिएको नक्कली दाँत देखाएर ङिच्च
नक्कली मुस्कानमै एकअर्काको चरित्रको प्रसंशा गर्छन् लाज पचाएर
नत्र किन चोसो मिलाउँथे यिनीहरु
जनतालाई लुट्ने योजनामा ।
वरिपरि छन्ः कुरौटे र विबेकहीन आसेपासेहरु
चुरोटको फिल्टर जस्तो आम मान्छेका दुःख र यथार्थ दैनिकी
फिल्टर गरेर सुनाउँछन् आफ्ना भ्रष्ट देउताहरुलाई ।
बनाउँदैछन् यो देशलाई क्यान्सरग्रस्त ।
उनीहरुले भुले सायद फिल्टरले क्यान्सर रोक्दैन, बरु झन् सङ्क्रमित बनाउँछ देशलाई ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभासद, सचिव, निर्देशक वा बडाहाकिमहरु
र तिनका आसेपासे, ढोकेहरु
सबका सब लागिपरेका छन् मिलेर खान ।
तिनका अनुहार ठ्याक्कै उस्तै देखिन्छ अचेल
अचेल झल्झल्ती देखिरहेछु, उनीहरुको खुट्टामा उभिएर एक हुल नाथुराम गोड्सेहरु
एउटा महापुरुषको अनसन स्थलतिर लम्किरहेका छन् ।
र सुरेन्द्र पाण्डेहरुले लेख्ने किताबको नाम हुनेछ: 'किन गरियो डाक्टर केसीको हत्या'
यस किताबको बिमोचन गर्ने छन् देउवा, ओली र पुकदाहरुले
र थपिनेछ नेपाली ईतिहासमा अर्को कलंक ।