Wednesday, September 24, 2014

रमिता-कविता


सवारी चालकहरु अचानक बाटो परिवर्तन गर्छन्
पछाडिकालाई पत्तै नदिई ।
नेताहरुले पार्टी परिवर्तन गरे जस्तो
आफ्न वाचा र सिद्वान्त परिवर्तन गरे जस्तो ।
अनि हुन्छ दुर्घटना बीच सडकमा
संबिधान सभा भवन अगाडि ।


म निक्कै तल हुँदा तिमी निक्कै खुशी थियौ
त्यसैले मायाले सुम्सुम्यायौ । 
तिमीलाई लाग्यो म त्यहिँ सड्ने छु
मेरो हैसियत त्यत्ती हो 
म नङ्ग्रा खियाउदै जति उकालो चढ्दै तिमीतिर आएँ, तिमी उति डराउन थाल्यौ 
र माथिबाट ढुङ्गा बर्षायौ !!
तर मैले तिमीलाई तिनै ढुङ्गा टिपेर कहिल्यै हानिन 
बरु अलिक पर्तिरबाट यात्रा थालेँ । 
तिमीले देखी हाले, खिसिक्क मुस्कुराएँ, उही तलको मान्छे झैँ 
अचेल तिमी भेट्दा खिसिक्क मुस्कुराउछौ
लाग्यो बद्लिएछौ
तर ढुङ्गा खासल्न त अझै छोडेका रहेनछौ ?
तलबाट आउँदै गरेकाहरुले भनेको !!!




बरु ओडाउनलाई कात्रो नहोस् 
स्कुल जानलाई युनिफर्म होस् 
बरु जलाउनलाई दाउरा नहोस् 
लेख्नलाई एउटा कलम होस् 
बरु घाटमा हजारौ मलामी नहुन 
पढाउनलाई १ जना असल गुरु हुन ।
बरु लासमाथी छर्किने चामल नहोस् 
जिन्दगीको यात्रामा अलिकती सामल होस् ।
जीवन भनेको आखिर के नै रहेछ र ?
रामेशले भने जस्तो-बाचुन्जेल गरिने काम न हो !!!
मरेपछि यत्रैसिती-बरु नर्ककै बास होस्
बाचुन्जेल 'जिउने' आश होस् !!!!!




राज्य सरकार यतिखेर कर्मकाण्ड बाहेक केही गर्दैन 
मन्त्री मण्डल बनाउने र भंग गर्ने 
मलाई यस्तो लाग्छ, सरकार नभएपनि राज्य आफै संचालित छ 
किनभने यहाँ किसानहरु छन्, खेतमा काम गर्दैछन् 
मजदुरहरु छन्, भारी बोक्दैछन् 
व्यापारीहरु छन्, व्यापार गर्दैछन् 
कसाइहरु छन् मासु बेच्दैछन् 
नगरबधुहरु छन् शरीर बेच्दैछन् 
चोरहरु छन्, चोर्दैछन् 
भ्रष्टाचारीहरु छन्, घुस खाँदैछन् 
पुरुषहरु छन्, गर्भाधान गर्दैछन्
महिलाहरु छन्, सुत्केरी हुँदैछन्
रोगी वा बृद्धहरु छन् मर्दैछन्
घाटेहरु छन् तिनलाई पोल्दैछन्
यो देश यसरी नै चलेको छ ।


No comments:

Post a Comment