Friday, August 11, 2017

नाथुराम गोड्सेको अनुहार

हिजो राज्यलक्ष्मी 
जङ्गबहादुर
महेन्द्र
वा ज्ञानेद्र सत्तामा हुँदा जसरी फिल्टर गरेर सुन्थे जनताको कुरा
त्यो भन्दा नालायक छ आजको सत्ता ।
चेतनाहीन, प्राज्ञिकताहीन, मानवताहीन
यो मुलुकको सत्ता जिब्रो लटरपटर पार्छ र आफैँले बोलेको कुरा पनि बिर्सन्छ ।
यो मुलुकको सत्ता र प्रतिपक्षको भ्रष्टाचारी अनुहार त ठ्याक्कै उस्तै छ
फोटोकपी
नत्र किन मिल्थ्यो मत यिनीहरुको गोबिन्द केसीलाई मार्ने योजनामा ?
मिलेर खाने बानी परेको छ
एउटा बोल्दै बोल्दैन
अर्को बढी बोल्छ, एउटा मिल्दैमिल्दैन
अर्को दोचारे छ
तर भेट्दा राज्यसत्ताको ढुकुटीको पैसाले फेरिदिएको नक्कली दाँत देखाएर ङिच्च
नक्कली मुस्कानमै एकअर्काको चरित्रको प्रसंशा गर्छन् लाज पचाएर
नत्र किन चोसो मिलाउँथे यिनीहरु
जनतालाई लुट्ने योजनामा ।
वरिपरि छन्ः कुरौटे र विबेकहीन आसेपासेहरु
चुरोटको फिल्टर जस्तो आम मान्छेका दुःख र यथार्थ दैनिकी
फिल्टर गरेर सुनाउँछन् आफ्ना भ्रष्ट देउताहरुलाई ।
बनाउँदैछन् यो देशलाई क्यान्सरग्रस्त ।
उनीहरुले भुले सायद फिल्टरले क्यान्सर रोक्दैन, बरु झन् सङ्क्रमित बनाउँछ देशलाई ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभासद, सचिव, निर्देशक वा बडाहाकिमहरु
र तिनका आसेपासे, ढोकेहरु
सबका सब लागिपरेका छन् मिलेर खान ।
तिनका अनुहार ठ्याक्कै उस्तै देखिन्छ अचेल
अचेल झल्झल्ती देखिरहेछु, उनीहरुको खुट्टामा उभिएर एक हुल नाथुराम गोड्सेहरु
एउटा महापुरुषको अनसन स्थलतिर लम्किरहेका छन् ।
र सुरेन्द्र पाण्डेहरुले लेख्ने किताबको नाम हुनेछ: 'किन गरियो डाक्टर केसीको हत्या'
यस किताबको बिमोचन गर्ने छन् देउवा, ओली र पुकदाहरुले
र थपिनेछ नेपाली ईतिहासमा अर्को कलंक ।