Wednesday, December 26, 2012

अभि सर, समय र चेतना



उहाँको अराजक स्वभाव म आफैले पनि भोगेको हुँ । करिव ३ वर्षअघि । मेरो किताव लेखनको सन्दर्भ थियो । उहाँसँग अन्तर्वाता लिंदैगर्दा विचारको घम्साघम्सी भयो । उहाँ बाड्गिएर हिँड्नुभो । उहाँलाई मैले बैचारिक तवरबाट ‘एप्रोच’ गर्ने सन्दर्भमा केही त्रुटि भएको थियो । यतिखेर मलाई महसुस हुन्छ ।

र, हामी दुवै ठुस्किएर बाटो ततायौँ । शिव दाइ र ठाकुर बेलबासे त्यसको साक्षी थिए । बातावरण खल्लो जस्तो, अहमपूर्ण र अराजक बन्यो । म आफ्नो सोचमा अडिग थिएँ । उहाँ झन् बढि । घर फर्किएपछि भने झनन्न भयो ‘यो के भयो ?’ । दुईचार दिनपछि मात्रै मोबाइल एसएमएसले हाम्रो सम्बन्धलाई झन् दह्रो बनायो । मैले अत्यन्तै श्रद्धा गर्ने उहाँको असीम माया ममाथि झनै बढ्यो । युवाहरुलाई सधै उर्जा दिने यी विद्वान्को एसएमएस पाएँ–‘युव, आइ एम अल्वेज ईम्प्रेष्ट वाई योर इनोभेटिभ इनर्जी । आइ लभ यू युव ।’ यो पढेर म धेरै भावुक भएँ ।
उहाँ दुई पटक कार्यक्रमको बीचैमा मञ्चबाट उठेर हिंडेको देखेको छु । धेरै कार्यक्रममा प्रमुख अतिथिको जिम्मा नलिएको थाहा पाएको छु । धेरैको किताबमा भूमिका लेख्न ठाडै अस्वीकार गरेको बुझेको छु । उहाँले आफ्नो लेखनीको अस्तित्व र परिधिलाई धेरै खतराबाट पटकपटक जोगाएको पाएको छु । उहाँ आफ्नो सत्व र निजत्व जोगाएर लेख्ने विचारक ।
युवा चेतना र उर्जालाई सधैं संगतमा राख्ने अभि सर किन अराजक देखिनु हुन्छ ? किन उहाँ पदको लोलुपताको मुसा दौडमा लाग्नु भएन ? किन संगीतनाट्य एकेडमीमा जानु भएन ? किन भाषा एकेडेमीमा जानु भएन ? साहित्य, विचार र जीवनका बारेमा अनेकौ उत्सुकता लिएर म कात्तिक १८ गते उहाँको मन्डिखाटार स्थित घर पुगें । गरिमाका सम्पादक अविनाश दाइसँगको सल्लाह अनुसार ।
करिव अढाई वर्षपछि भेट भयो । अरु नै रोचक कुराहरु भए । मैले डेनमार्कका कुरा सुनाएँ । कोपनहेगनको ओपन एयर म्युजियममा पटकपटक बसेको स्मरण गर्नु भयो । उहाँले यताको कुरा भन्नु भयो । रङ्गमञ्चको । अन्तर्राष्टिय नाट्य प्रतिष्ठानको सदस्यता नेपालले यस वर्षदेखि गुमाएछ । वार्षिक सदस्यता शुल्क तिर्न नसकेर । उहाँ आफु अध्यक्ष पदमा रहँदा जेनतेन चलाउनु भयो । ‘उतैबाट टिकट काटिदिन्थे । सेमिनारमा कार्यपत्र प्रस्तुत गर्थें । कार्यपत्रका लागि पाएको पैसोले वार्षिक सदस्यता शुल्क तिरिदिन्थें ।’ उहाँले छोडेपछि संस्थाको अस्तित्व नै मेटियो । नेपाली रङ्गमञ्चमा बलिया संस्थाहरु नभएको एउटा नाटककार र समीक्षकको रुपमा चिन्ता व्यक्त गर्नु भयो । शिव दाइ र मैले टाउको हल्लायौं । ‘सरकारले त गरेन । नाट्यसंगीत एकेडेमीको विजोग छ । मैले मान्ने दाजु (अम्बर गुरुङ)को पनि त्यहाँ विजोग नै भयो । तर बाहिर पनि दुईजना सिर्जनशील रङ्गकर्मीहरु एकै ठाउँमा बसेर काम गर्न नसक्ने भए ।’ म आफैलाई सरम लाग्यो । यी नितान्त निजत्व मिसिएका गफगाफ थिए । विन्दु भाउजु (कथाकार विन्दु सुवेदी)ले हार्दिकता सहित चिया र फलफुल खुवाउनु भयो । आत्मिय कुरा भए । लुनाले केही तस्विरहरु खिचिन् । अन्तर्वातातिरको बाटोमा हिड्नै सकिएन । मनै लागेन । त्यसका लागि अर्को दिन भेट्नु पर्ने भयो । बीचमा उहाँ बेलबारी साहित्य महोत्सवमा जानु भयो ।
र आज कात्तिक २८ गते साँझ हामी ठमेलको हिमालयन जाभाको पहिलो तल्लामा अन्तर्वाताकै लागि भनेर बसेका छौं । कवि पुष्प आचार्य अघि नै त्यहाँ पुगिसकेका रहेछन् । अभि सर सधै बस्ने ठाउँमा गयौं । उहाँको निस्चित कुर्सी छ । बस्नु भयो । हामी पनि बस्यौं । अभिसरले भन्नु भयो–‘युव र मेरो गफगाफ छ । एकछिन हामी अर्कोतिर बस्छौं ।’ शिवदाइ र पुष्पलाई छोडेर हामी अर्को टेबलमा आयौँ । वेटरलाई थाहा छ ।
सधैँ झैँ अभिसरको प्रिय ‘हिमालयन हाउस ब्लेन्ड’ कफी आयो । ठूलो कपमा भरी । अब २ घण्टाको बर्तालापलाई यो ठिक्क हुनेछ । उहाँ सधै यही पिउनु हुन्छ । धेरै पटक जाँदा चाल पाएँ । मन पर्‍यो । कफी ठिक्क भुटेको । ताजा । मात्रा मिलेको । पोर्सन अलिक धेरै । चिनी बेगरको । गजबको स्वादिलो । कफीगफको लागि यो नै उपयक्त छ । कफीगफ नारायण वाग्ले र फलानो राजेश के.सी. आइपुगे । इसारामा कुरा भयो । उहाँहरु केही पर बस्नु भयो । हाम्रो गफ जारी रह्यो । तर, कुनै पनि बेला अबरोध हुने कुरामा शंका थिएन ।
यी सेलिब्रेटी प्राध्यापक अभिनारायणसँग जाभामा बस्ताका अनगिन्ति इन्टब्र्सन स्वाभाविक हो । विश्वविद्यालयमा ३७ वर्ष अंग्रेजी साहित्य पढाउँदाका विद्यार्थीको फैलावट सबैठाउँमा पुगेको छ । उहाँका विद्यार्थीका छोराछोरी पनि उहाँका फ्यान नै हुनेभए । ‘कतिका त नातिनातिना भैसके । तिनले पनि मलाई गुरु झैं गर्छन् ।’ उहाँका नाटक र रचनाका, उहाँका वाचन कलाका, उहाँका हास्यव्यङग्य मिश्रित प्रवचनका फ्यान मिसिदा उहाँ आफैँ भेउ पाउनुहुन्न । को विद्यार्थी को अविद्यार्थी † एकपटक भिजे विजयकुमारसँगको अन्तर्वातामा अभिसरले भन्नु भएको थियो । युवाहरु देख्दा उहाँलाई सबै आफ्नै विद्यार्थी जस्तो लाग्छ रे । गुरुकुलको डाडोमा एकजना दर्शकले उहाँलाई नमस्कार गरेछन् । सायद अभिसरले सोच्नु भयो, कोही लेखक पत्रकार हो । मेरै विद्यार्थी हो । भन्नु भएछ–‘लेख्दैछौ ?’ ती महानुभाव छेउमा आएर मलाई भने–‘सरले मलाई चिन्नु भएन । लेख्दैछौ ? भनेर सोध्नुभो । ‘कहिलेकाहीँ’ भनिदिएँ ।’
मानिसहरुको आउने जानेक्रम चलिहरको छ । अभिसरको हात हावामा फरफराउँदो छ । हामी भित्री वार्तामा छौं ।
उही अराजकताको कुरा । ‘म मेरो साहित्य अराजक होस् भन्ने चाहन्छु । म स्वतन्त्र भएर लेख्न चाहन्छु । कुनै राजनीतिक वादको रङ्गले मेरो साहित्यलाई पोत्न चाहन्न ।’ बीपीले त्यस किसिमको साहित्यलाई अराजक साहित्य भन्नुभएको छ । दोस्तोएभ्स्कीले पनि त्यही भनेका छन् । ‘तर फरक विचार भए पनि अन्तरक्रिया हुने ठाउँमा बस्नु पर्छ । यसले नयाँ विचारको आविष्कार गर्छ ।’
सर कहिले र कहाँ जन्मिनु भएको भन्ने शास्त्रीय गनथनमा म लागिन । वि.सं. २००२ साल असार ३ गते, तेह्रथुमको सावला उहाँको जन्म । त्यो अनेक रुपमा प्रकाशित छ । मलाई उहाँ जन्मिएको र हुर्किएको परिवेशको बारेमा जान्न मन थियो । अभिसर गालाको छाला चाउरिने डरको अर्धचेतनामै रहेर फिसिक्क हाँस्दै सुरिलो स्वरमा प्रस्तुत हुनु भयो । बंगालीमा ।
महाभारो तेरो कथा
ओमृत समान
काशीराम दाश कहें
सुन पुन्नवान् ।

आमाले पढ्ने गरेको काँशीरामको बंगाली अनुवाद महाभारतको अंश हो यो । ‘देवनागरी भन्दा पहिला बंगाली जानँे । त्यसपछि देवनागरी र संस्कृत पनि आमाले नै सिकाउनु भयो ।’ अभिसरका अनुसार उहाँकी आमा रमा बंगाली र संस्कृतका श्लोक सालिन र सुरिलो भाकामा गाउनु हुन्थ्यो । त्यसको छाप उहाँमा पर्‍यो । उहाँ पनि उत्तिकै मिठो स्वरमा गाउनु हुन्छ । अझ धर्मराजदेखि नारायण गोपालसम्मका स्वरको नक्कल गजबले गर्नुहन्छ । त्यो कुरा तल आउला ।
परिवेशकै कुरा भन्दै हुनुहन्छ । कुरा राजनीतिक छ । राणा कालीन समयमा अलिक पर पहाडतिर प्रशासन पुग्न गाह्रो थियो । याङ्ला, ताप्लेजुङ, दार्जेलिङमा । त्यसैले राणाहरुले आफ्ना मान्छे खटाउँथे । अभिसरका बुबा भाष्कर पनि राणाहरुका लोकल सरकारका करिन्दा हुनुहन्थ्यो । ‘मेरीआमा र बुबाको राजनीतिक विवाह थियो ।’ विवाहित भाष्कर सुवेदीले दोस्रो विवाह गर्नुको कारण थियो त्यस इलाकामा आफ्नो राजनीतिक पक्कड बनाउनु । उप्रेती परिवार त्यस ईलाकामा सम्पन्न र हर्ताकर्ता थिए । त्यस थरलाई हातमा लिन भाष्करले ११ वर्षकी रमा उप्रेतीसँग विवाह गर्नु भयो । ‘तर आमाले घरमै बसेर भए पनि पढ्ने इच्छा देखाउनु भएछ र तिवारी थरका मानिसले उहाँलाई नेपाली, बंगाली र संस्कृत सिकाए ।’ आमाले पाएको त्यो शिक्षाले नै अभिसरको प्रारम्भिक शिक्षालाई सिञ्चित गऱ्यो । रामायण, महाभारत र गिताका श्लोकहरु आमाको सुरिलो स्वरबाट अभिसरले सुन्न पाउनु भयो । ‘लिम्बुहरुको बस्तीको बिचमा थियो हाम्रो घर’ त्यसैले उनीहरुका संस्कार, हावापानी, जुनघाम र धाराको प्रभाव पर्‍यो । उनीहरुको संस्कारमा आउने मिथको प्रभाव पर्‍यो । ‘यसरी म संस्कृत मुलक र लिम्बु परिवेशको प्रभाव जीवनभरि बोकेर हिड्दो छु ।’ अभिसर थप्नुहुन्छ– ‘अहिलेसम्म तिनै कुराको मिश्रणले मेरो चेतना बनेको छ जस्तो लाग्छ ।’ अंग्रेज र गान्धीका कुरा पनि अभिसरले आमाबाटै सुन्नु भयो । तिथिमितिको एक्किन नभएकोले आमाले त्यतिखेर पनि अंग्रेजहरु भारतमै छन् भन्ने ठान्नु हुन्थ्यो रे । र, अभिसरलाई अंग्रेजी पढ् भन्नु हुन्थ्यो रे । आमाको बारेमा कुरा गर्दा अभिसर ज्यादै प्रफुल्लित र आनन्दित देखिनु हुन्छ । चार महिनाको हँुदा बुबा वित्नुभयो । आमा ९ वर्षअघि मात्रै ८६ वर्षको उमेरमा वित्नु भयो । उहाँको जीवन आमाको प्रेरणा र शिक्षाले सिञ्चित देखिन्छ । उहाँका लागि आमा सर्वश्व ।

अभि सरको स्मृतिबाट इतिहास धारा प्रवाह आइरहेछ । सातसालको क्रान्तिको लहारसँगै हुर्किएको एउटा बालकमा कसरी राजनीतिक लहरले प्रभावित गर्‍यो होला । कथा रोचक छ । अभिसर गाउनु भयो ।

जाग्यो अब सुतेको जाती
तेह्रथुमको पर्वतै उचाली
मुटु खाने गिद्ध आयो एसियामा उड्दै...

गोकुल जोशी, धर्मराज थापा आदिका गीत अभिसरले उहाँहरुकै स्वर निकालेर गाउनु भयो । हिमालयन जाभाका प्यासेन्जर उत्सुक भएर हामीतिर हेरे । एउटा रोमान्टिक मुडमा हामी यात्रा गरिहेका छौं । म दङ्ग छु । यो हिन्दी फिल्मका हिरो हिरोइनका लागि गाउँले सबैले नाचिदिए जस्तो भयो ।
जे होस्, त्यस्ता गीति कविताले उहाँलाई प्रभाव पार्‍यो । भन्नुहुन्छ–‘रुख, चौर, जुन देख्दा यसबाट केही बनाउन पाए हुन्थ्यो जस्तो लाग्न थाल्यो । यही भैरहेको कुरामा केही नयाँ खोज्न मन लाग्यो ।’ एकदिन अभिसरले कोक्रामा रोइरहेको बच्चा देख्नु भयो । कविता फुर्‍यो ‘नानी रोयो’ । स्कुलमा, कार्यक्रमहरूमा उहाँ सानैदेखि गाउनु हुन्थ्यो । मानिसहरुलाई थाहा थियो । बल्लभमणि दाहालले उहाँको कविता लिनु भयो । बनारसबाट छापिने ‘नौलो पाइलो’मा २०१३ सालमा ‘नानी रोयो’ छापियो । उहाँका दाइहरु कम्युनिष्ट पार्टीमा थिए । यसको प्रभाव अभिसरमा पनि पर्‍यो । धर्मराज शैलीमा अभिसरले धनी–गरिवका गीत लेखेर मञ्चमा गाउन थाल्नु भयो । अभिसर उनका गीतका कुरा सम्झिदै भाका हाल्नु हुन्छ । ‘तेजमान लिम्बुको ग्रामोफेनमा धर्मराज थापले गीत रेकर्ड गराए ।’
क्रान्तिकारी हे वीर के.आइ सिंह
कहाँ गयौ झ्याल खान तोडेर
म्याङ्गलुङको सिंहबाहिनी स्कुलमा अभिसरको औपचारिक शिक्षा सुरु भयो । धर्म प्रचारका लागि मद्रासतिरबाट तामिलहरु शिक्षकको रुपमा आए । तिनले ७, ८, ९ र १० मा अंग्रेजी पढाए । यही बेला अभिसरमा क्रिश्चियानिटी र यसका कथाको ज्ञान भयो । तिनले नयाँ नयाँ किताब लिएर आए । पहाडमा हुदा भैंसी र काठमाडौ छिरेपछि साँढेको प्रसंग अभिसरको चेतनामा दरिलो विम्ब भएर आउँछ । हो यही बेला अभिसरले भैंसीमा चढेर दोस्तोएभ्स्कीका कथा पढ्नु भयो । एकदिन पाडोले पिताम्बर लिम्बु फुदाङ्गेको बाली खाइदिएछ । र, फुदाङ्गेले अभिसरको कान मोलेछन् । भन्नुहुन्छ–‘अस्तिसम्म पनि भेट हुँदा फुदाङ्गे लजाउँथे, यी नानीको कान मोलेको थिएँ अहिले त ठूला मान्छे भएछन् भनेर ।’ पत्रकार शेखर खरेलले अभिसर माथि बनाएको डकुमेन्ट्री ‘काठमाडौ ओडिसी’मा देखिन्छ । अभिसर निकै ठूला अण्डकोश भएको साँढेको पछि लाग्दै भैंसी, चेतना र हिप्पीका कथा बर्णन गर्नुहुन्छ ।
कफी जति चिसो हुँदैछ स्वाद झन मीठो हुँदैछ । त्यो मुडले गर्दा पनि हो । अरे, हाउस ब्लेन्ड । इन्टब्र्सन छ । सरको हाते फोन बेलाबेला बजिरहन्छ । भोली सुफी संगीतको सेमिनारमा हैदरावाद जानु छ । एकपटक इटहरीबाट कवि सुमन पोखरेलले फोन गरे ।
प्रसंग ।
‘बालकवयदेखि नै कवि तुलसी दिवसको प्रेरणा र प्रभाव ममा निक्कै थियो । उहाँले मलाई सधैं उकालोतिर उक्लिन प्रेरित गर्नु भयो ।’ स्कुलपढ्दा देखिनै कवितामा अभिसरको पक्कड भयो । राजनीतिको उर्वर चेतनाले उहाँमा विचारको बेग ल्यायो । १५ सालमा बीपीको भाषण सुन्न दाइको पछि लागेर उहाँ धनकुटा आउनु भयो । एसएलसी सकेर उच्चशिक्षाका लागि विराटनगर र धरान आएपछि राजनीतिक अभियानमै हिड्नु भयो । उहाँका दाइ दिल्लीमा अर्थशास्त्र पढ् भनेर कर गर्नुहुन्थ्यो । अभिसरलाई अंग्रेजीको मोह । आफ्नै मोहले जित्यो । त्यतिबेला धरानमा आनन्देव भट्ट अंग्रेजी पढाउने । उहाँ बामपन्थी विचारक । उता अर्का बाम इन्द्र दाइ (बसन्त थापाका बुबा)सँग संगत । विराटनगरमा मनमोहन अधिकारीका पिता रामचन्द्र अधिकारीसँगको उठबस । त्यतिखेर युवा जागरणले अभिसरलाई विद्रोहतर्फ बढायो । २१ सालको कुरा हो । धरानमा कार्यक्रम गर्दागर्दै सरकारले गोली पड्कायो । ‘रातभरी हिंडेर विहान विरकुस पुगियो । त्यहाँबाट रेल चढेर नक्सलबाढी पुगियो ।’ त्यहाँ कांग्रेसका निर्वासित नेता भरतबाबु प्रसाईले शरण दिए । साथमा साथी चन्द्र श्रेष्ठ थिए । यो विचलनले फेरि अभिसरलाई पढाइतर्फ फर्कायो ।
कफी लगभग पीँधमा पुग्न लाग्यो । मैले सन्दर्भहरुमा फड्को मार्नु छ । खासमा मेरो आजको साँच्चैको चासो भनेको अभिसरको भाषाशिल्प र चेतना माथि हो । उहाँले संगीत, चित्रकला, नाटक, रङ्गमञ्च र कवितामा बराबर आफ्नो चेतनाले समालोचनाका स्तम्भ खडा गर्नु भएको छ । इतिहासलाई निजत्व मिसाएर पुर्नलेखन गर्ने र वर्तमानको व्याख्या गर्ने । मानिसका समयका रेखा जोडेर कलाको समसामयिक व्याख्या गर्ने । ती सबै सुन्दर निबन्ध बने । रचना बने ।

जब मैले उहाँका हाइकु पढें । कविता पढें । ‘कार्पेट टाँगिएको आकाश’ पढेँ । (यसभित्रको ‘घर’ निबन्धमाथिको राजनीतिक चेत राखेर झलक सुवेदीले कान्तिपुरमा सुन्दर लेख लेखे ।) निबन्ध र टुँडिखेल पढेँ । उत्तरवर्ती कालखण्डका निबन्ध पढेँ । कति निबन्धमा म आफैँ विम्बका रुपमा प्रयोग भएँ । मेरो उच्च नासिका त्यहाँ आयो । नाटकहरु पढेँ । खेलेँ । खेलाएँ । उहाँको भाषाशिल्प मेरो चेतना र साहित्य समजको एउटा जोल्ठिएको अंग भएर आयो । यसले मलाई रोमाञ्चक तरिकाले पिरोल्यो ।
मेरो त्यो एउटा लेख पढिसकेपछि एकदिन अचानक जस्तै सुनील पोखरेलले मलाई भन्नु भयो–‘तिम्रो र मेरो लेखाईमा पनि अभिसरको प्रभाव आउन थाले जस्तो भयो मलाई ।’ ‘हो र सर †’–मैले भने । प्रसंग थियो नाटक ‘अग्निको कथा’को एकसयएक प्रदर्शन सकिएपछिको मेरो अनुभव लेख । उहाँले फेरि दृष्टिमा नियमित स्तम्भ थाल्नु भएको थियो ।
मैले त्यो लेखको शिर्षक ‘अग्निको कथा, भुन्चे झाँगड र खरानी’ राखेको थिएँ । तर सम्पादक महोदयले परिवर्तन गरेर ‘अग्निको कथा एकसय एक’ बनाइ दिएछन् । लेखभित्रको भाषा र विम्बको प्रयोगमा पनि प्रभाव रहेछ सायद । संगतले, नियमित पठनले कहिलेकाही त्यो प्रभाव आयो होला । तर, उहाँको जस्तो लेख्नु त बढो कठिन छ । अहिले पनि लाग्छ ‘त्यस्तैगरि लेख्न पाए’ । उहाँले निजात्मक विम्बले समयलाई जोडेर राजनीति र समाजलाई देखाउनु हुन्छ । खगेन्द्र संग्रौलाले आफ्नो स्तम्भ लेखनको बृत्तान्तमा लेखेको छन्– कहीलेकाही उनी राजनीतिक अन्यौललाई निक्र्यौल गर्न नसक्दा अभिसरको लेखबाट एउटा दृष्टि पाउँछन् रे । राजनीति र साहित्य उहाँमा डोकाको चोया खप्टिए जसरी आउँछन् । कहिले क्रम मिलाएर । कहिले क्रम भङ्ग भएर । भन्नु हुन्छ– ‘यही कफी हाउस यहाँ खुल्यो । हामी यहाँ बसेका छौं । गगन भाइले युरोपको यो परम्परा यहाँ ल्यायो । हामी आयौं । यो त्यतिमात्रै भएन अब । यसले वरिपरिको राजनीति, समाज र परिवेशलाई पनि तान्छ । हाम्रो जीवन मिसिन्छ ।’ यसरी नै साहित्य सापेक्ष हुन्छ । समय र परिवेशसँग बस्तुता सापेक्ष भएर आउँछ । त्यही भएर उहाँको लेखमा सन्दर्भको फड्को र क्रमभङ्गले पनि एउटा क्रम बनाउँछ । कसैले उहाँको लेख बुझिएन भन्छ भने त्यसमा पनि अर्थ देख्छु म । जस्तो उहाँको तीन शब्दे शीर्षक राख्ने चलन । पछि बाढि नै आयो तीन शब्दे शीर्षकको । र, हामी साथीहरु ‘जोक’ बनाउन थाल्यौँ । अभि सरको तालु, खुइलिएको डाँडो र राजनीति । पिनास, पिसाव र काठमाडौ । भीड, आलु र जीवन । यसरी जे शब्द राखे पनि सुन्दर शीर्षकजस्तो लाग्ने । तर उहाँको लेख र शिर्षकमा विम्बहरुलाई जोड्ने रचनात्मक रेसा हुन्छ शीर्षकमा । जुन कुरा नदेख्नेले देख्दैन । र, हामी साथीहरुले बनाएको ‘प्यारोडि’ शिर्षक जस्तो व्याख्या गर्छ ।
अर्को कुरा यिनको रचनामा देखिने वाक्य निर्माण र एउटै शब्दको अनेकार्थ लाग्नेगरिको प्रयोग । कहिलेकाही अशुद्ध जस्तो लाग्ने, घुमाउरो जस्तो लाग्ने तर बहुआयामिक र कहिलेकाही हास्यव्यङ्ग्य मिसिएको वाक्य निर्माण समालोचक डा. गोविन्द भट्टराईले भने जस्तै साँच्चै उत्तरवर्ती चेतनाका छन् । अभिसरका निबन्ध कृति ‘उत्तरवर्ती कालखण्डका निबन्ध’ पढ्दा पत्तो लाग्छ । लामो भुमिकामा डा. भट्टराईले अघिसरको भाषा शक्तिको उच्च मुल्याङ्कन गरेका छन् । अथवा त्यसपछि अखवारमा छापिएका निवन्ध पढ्दा पनि देखिन्छ । उहाँको एउटा निवन्ध छापियो कान्तिपुर दैनिकमा ‘उनको भन्दा मेरो लिङ्ग कमजोर छ’ । मेरा लागि यो विशुद्ध राजनीतिक लेख थियो । एकजना भारतीय कलाकार नेपाल आउँदाको कार्यक्रममा धेरैले हिन्दीमा भाषण गरे । तर, अभिसरले अंग्रेजीमा बोल्नु भयो । हिन्दीका लिङ्ग बाचक शब्दमा आफू कमजोर रहेको सन्दर्भलाई जोडेर लिङ्ग बलियो हुनेहरुको राजनीतिक दृष्टिको लेख थियो त्यो । पूर्ण कमेडी ।
मैले उहाँको नाटक ‘अग्निको कथा’का केही वाक्य झिकेर प्रश्न राखें । ज्ञानले पूर्णिमालाई भन्छ–‘तिमीले पानी जस्तो जम्नु हुदैन, पानी जस्तै बग्नु पर्छ ।’ अभिसरले भन्नु भयो–प्रकृतिमा पनि त्यो द्वैध चरित्र छ । यसलाई विम्ब बनाएर जीवनलाई बुझाउन खोजिएको हो । पानी कहिले जम्छ कहिले पग्लन्छ भन्दा के नयाँ भयो र ? वाक्यलाई फुटाउने हो र नयाँ तरिकाले भन्ने हो । उहाँका अनुसार कुराहरु सधैं एकै किसिमले भनिरहँदा अर्थहरु हराउँछन् । मान्छेले वास्ता गर्दैनन् । अंग्रेजीमा यसलाई ब्उजभतष्अ भनिन्छ । साहित्यमा यसलाइ भत्काउनु पर्छ । त्यसैले साहित्य हरेक अवस्थामा खतरा हो र यसलाई मोल्नु पर्छ ।
मेरो अर्को वाक्य हो पूर्णिमाले उसकी संगीनीलाई भन्ने सम्बाद–‘तिमीलाई त के थाहा मलाई के थाहा ?’ सामान्य अवस्थामा हामी यसो भन्छौं–‘मलाई त थाहा छैन तिमीलाई के थाहा ।’ झट्ट हेर्दा अशुद्ध जस्तो देखिने अघिल्लो वाक्यले नयाँ अर्थ दिन्छ । पूर्णिमा आफ्नी संगीनीलाई आदरभाव राखेर बोल्दैछे । आफू पनि थाहा भएको र नभएको स्थितिमा छे । अभिसर वाक्यहरुको यसरी नै विनिर्माण गर्नुहुन्छ । भन्नुहुन्छ– ‘म अखवारमा पनि अखवारी भाषा लेख्दिन । विघटनको भाषा लेख्छु । सम्पादकहरुले मलाई त्यो छुट दिएका छन् । नारायण वाग्ले, युवराज घिमिरे, सजग राना, सुधीर शर्मा, शेखर खरेलहरुले मलाई त्यो स्पेश दिए ।’

उमेरको रमाइलो प्याराडक्स । अभिसरले किशोर वयमा आफूभन्दा धेरै पाकाहरुसंग संगत गनुभयो । सिद्धिचरण, सम, विजय मल्ल, अम्बर गुरुङ, शशी शाह आदि । यतिखेर उहाँ युवाहरुको साथमा हुनुहुन्छ । शिव दाइ भन्नु हुन्छ –‘हाम्रा विद्यार्थीहरु पनि उहाँका विद्यार्थीका रुपमा देखिए । तिनका सपना र उत्साह उहाँको खारिएको परिपक्क विचारमा मिसिएर नयाँ गति पायो ।’ अभिसरका लागि लेखन एउटा अत्यन्तै सिन्सियर कर्म भएर आयो । बृहत अध्ययन, कडा मेहनत र उच्च चेतना ।

उहाँको लेखनमा निजान्तमकता अर्को ठुलो विशेषता हो । निबन्धमा मात्रै हैन । कविता र नाटकमा पनि उस्तरिनै देखिएको छ । नाटक आरुका फुलका सपनाको पालेदाइ, मायादेवीको सपनाकी मायादेवी, युमाको नाफेती आदि चरित्रहरु उहाँको संगत र सेरोफेरोबाट आएका सजिव पात्रहरु हुन् । उहाँ भन्नुहुन्छ–‘लेखनमा निजत्व आओस् भन्ने मेरो चाहना हो । अचेल यूरोपतिर पनि यसरी लेखिन थालेको छ ।’ मलाई उहाँका उत्तरवर्ती सोचले यसरी पनि छुन्छन् । जबजब कफीको कपको पींध निख्रिसकेको थियो, भन्नु भयो–‘अब हामी यो सेमी पारसीतिरको रङ्गमञ्चमा लाग्नु हुदैन । अलिक सजिलो तरिकाले नाटक मञ्चन गर्ने योजना बनाऔं ।’ यही कुरा कोपेनहागेनबाट नेपालसम्मको उडानभरि रातभर सोच्दै ‘भारत वर्षे नेपाल खण्डे’ झर्दैथिएँ । नेपाली रङ्गमञ्चलाई चाहिएको यो उत्तरवर्ती सोच फ्याट्ट अभिसरले भन्नु भयो । सुफी सेमिनारबाट फर्केपछि भेट्ने योजना सहित हामीले आआफ्ना घरतर्फ लाग्नका लागि हाउस ब्लेण्ड बार्ता बिट मार्‍यौं । फेरि पुरानै ठाउँमा फर्किएर शिव दाइ र पुष्पसँग विदा भएँ ।