Friday, May 22, 2020

एउटा सम्बेदनशील शासक जो रून पनि जान्दछ !


शक्तिशाली शासक !
अचानक तिमी भावुक भएको हल्ला बजारमा
आँशु पनि झारेको समाचार शहरमा

ढिला नै सही 
तिम्रो हृदयमा अंकुराएको हो भने विवेक
आँशु भावुकतालाई बनाउँन चाहेका होइनौ भने राजनीतिक पासा
भविष्यमा झनै हुनेछौ दुखी
देखेर नागरिकका दर्द बेहाल
हुनेछौ तिमी अझै बिक्षिप्त
तिम्रो अपराध (घमण्ड वा गल्ती ) गलेर बन्नेछ संभवत: पश्चातापको अनन्त दलदल

साँच्चै
अब तिमीलाई लाग्दैन ?
हिजो मरेकी सुत्केरी आमा
तिम्रो कुर्सी(सत्ता)लाई असफल बनाउन
रचिएको एक षड्यन्त्र  हो !

शक्तिशाली शासक !
चकित शहर अनायासै तिम्रो रूपान्तरण देखेर 
तिम्रो भावुकता आँशुको समाचार सुनेर !

(नोट-यो कविता मध्यरातमा उठेर लेखिएको हैन )

मृत्‍युको कनेक्सन

डिसेम्बर ३१, उहानको औपचारिक घोषणाबाटै
मेरो पनि नाम दर्ता भैसकेको हो संक्रमण र मृत्‍युमा
त्यसो त जन्मिनसक्दै मृत्‍यु खातामा मेरो नाम थियो
आमाको गर्भबाटै देखेको थिएँ त्यो मृत्‍यु
जन्मिएर बिर्सिएँछु ।
एउटा अकाल मृत्‍युको कल्पना कसरी गर्ने होला ?
यतिखेर त्यो अकाल नै यथार्थ भै दियो !
सम्झिएँ ।
फोक्सो र मुटुमा असाध्यै पिडा हुने छ
नसाभित्रै रगत जम्न थाल्ने छ
म छटपटाउने छु पीडाले असाध्यै
शरीरबाट अन्तिम पटक स्वास छोड्दै गर्दा कोही हुने छैन मेरो नजिक
एक घुट्की पानी खुवाउने
मायाले सुम्सुम्याउने
लास उठाउने पनि कोही हुने छैन
आफन्तहरूले सय मिटर परबाट ट्वाल्ल हेर्ने छन् मेरो लास
संसारकै सबैभन्दा प्रिय मानिस मेरो छेउमा हुने छैन
त्यसो त दुस्मनहरू पनि आउने छैनन् मेरो लासमा नक्कली सहानुभूतिको फूल चढाउन ।
बरू तिनलाई आफ्नै मृत्‍युको चिन्ताले पिरोल्ने छ ।
केवल भ्रष्ट शासकहरू रुने छन् ईतिहासको अभिशप्त कलंकलाई पखाल्न
दरबारभित्रै लुकेर
आफ्नै मृत्‍युको डरले ।
यस्तो बेहालमा पनि मेरो लास कसैले नदेख्ने गरि मुस्कुराउने छ ।
म एउटा सुनसान सुनसान सुनसान मृत्‍यु मर्नेछु ।

Thursday, May 21, 2020

नेपाल-भारत सिमा बिबाद

'आफ्नै मनको शान्तिका लागि पनि लेख्नैपर्ने भयो'


एउटा सामान्य नियम के हो भने- यदि मैले आफ्नै जग्गामा पर्खाल लगाउन लागेँ वा घर बनाउन लागेँ वा जग्गा बेच्न लागेँ भने पनि सँधियारलाई खबर गर्नुपर्ने हुन्छ । व्यक्तिगत जग्गाको सिमाना त यति संवेदनशील हुन्छ भने यो त देशको सिमानाको कुरा भयो । र, छिमेकीसँग सिमाना विवाद भयो भनेर पूरै परिवार-परिवार नै झगडा गर्ने, लडेर बस्ने कुरा आउँदैन । त्यसो त पटमूर्खहरूले मात्रै गर्छन् ।

यस्ता विवाद मिलाउने सभ्य र शालीन अनेक तरिका छन् ।

कुरा नेपाल र भारतको सीमा विवादको हो । यो सीमा विवादलाई सुल्झाउने शान्तिपूर्ण तरिका दुवै गणतान्त्रिक मुलुकका जिम्मेवार व्यक्तिहरूलाई थाहा छ । हामी नागरिकहरूले तल्लो तहमा गिरेर, तुच्छ भाषा प्रयोग गरेर झगडा गर्नु आवश्यक छैन भन्ने मलाई लाग्छ । खासमा दुवै देशका नागरिकहरूबीच त्यस किसिमको दुस्मनी र घृणा पनि म देख्दिनँ (तर सत्ता र कुनै स्वार्थले नागरिकहरूलाई नचलाएसम्म)। सिनेमा, संगीत, साहित्य, कला, खेल, संस्कृतिदेखि आम जीवन पद्धतिमा दुवै देशका नागरिकहरूबीच ठूलो कनेक्सन छ । र, यो लोभलाग्दो र प्रिय पनि छ ।




तर एउटा कुरा चाहिँ भारत सरकारले सुन्नैपर्छ । भारतीय मिडिया र नागरिकहरूले पनि सुन्नै पर्छ- भारतले आफ्ना छिमेकीहरूलाई गर्ने व्यवहार निक्कै हेपाहा किसिमको छ । अरु छिमेकी देश झैँ नेपालको पनि भारतप्रति गुनासा छन् । देशको भौगोलिक आकारको कारण भारतको सत्ताले देखाउने दम्भ लज्जास्पद हो । अहिले पनि मिडियामा भारतका जिम्मेवार मानिएका कतिपय मानिस नेपाललाई भारतको सानो भाइका रुपमा परिभाषित गर्छन् । यो खेदजनक छ ।

दुई देशबीचको सम्बन्ध दाजुभाइ वा दिदीबहिनीको जस्तो हैन, मित्र-मित्रको जस्तो हो । दाजुभाइको रुपमा हेर्नेबित्तिक्कै समस्या त्यहीँनेर आउँछ । 'कथित दाइ' भारतले 'कथित भाइ' नेपाललाई सधैँ मैले भनेको तैँले मान्नुपर्छ । केही गर्न लागे हामीलाई सोध्नुपर्छ भनेर एकतर्फी रुपमा हैकम जमाउन चाहन्छ । अहिले पनि त्यही भएको हो ।

जस्तो कि सन् २०१९ मा भारत सरकारले आफ्नो देशको नक्सा सार्वजनिक गर्दा नेपाललाई विवादित सिमानाबारे सोध्नु आवश्यक ठानेन । विवादित भूमिमा सडक बनाउँदासम्म पनि नेपालसँग कुरा गर्नु आवश्यक ठानेन । अहिले नेपाल सरकारले आफ्नो देशको नक्सा सार्वजनिक गर्दा चाहिँ नेपाल भारतप्रति जवाफदेही होस् भन्ने अपेक्षा गर्छ ।
दुवै देशलाई यो पनि थाहा छ- सीमा विवाद नयाँ हैन ।

सीमा विवादकै घटनामा विसं २०७३ फागुन २६ गते कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली युवा गोविन्द गौतमको गोली हानेर हत्या गरे । सिमानामा भारतीय सीमा सुरक्षा बलको हिंसा अरु धेरै ठाउँमा भएका छन् । यस्तो हिंसा र विवाद रोक्न पहल गर्ने काम त सत्ता सञ्चालकहरूको हो नि !

खुला सिमाना र कमजोर औद्योगिक स्थितिका कारण अनि भूपरिवेष्ठित सिमानाका कारण हामीले भारतसँग सहयोग लिनु परेको छ । तर छिमेकी मुलुकले लिने सहयोगको सट्टापट्टा हिंसा र हेपाइ त पक्कै होइन । पटकपटकको नाकाबन्दीको घाउ पनि नेपालीले बिर्सिएका छैनन् । आजको ग्लोबल युगमा कुनै पनि देश औद्योगिक उत्पादनमा शतप्रतिशत आत्मनिर्भर हुँदैन । आयात र निर्यातको सम्बन्धलाई राजनीतिक शक्ति सञ्चयको आधार बनाएर सानो देशलाई नहेप ।

ल ठीक छ, नेपाल र नेपालीलाई लाग्यो- भारतले हामीलाई हेपिरहेको छ भन्ने । भारतलाई त्यस्तो लाग्दैन भने दुई देशबीच हाँसीखुसी वार्ता गर्न सकिन्छ नि । सन् १८१६ को सुगौली सन्धि र सन् १९५० को (शान्ति र मित्रताको सन्धि) बारे पनि त छलफल गर्न सकिएला । स्मरण रहोस्, यस किसिमको छलफल त्यतिखेर मात्रै सफल र प्रगतिशील हुनेछ, जब भारतले नेपाललाई बराबर मित्रका रुपमा ग्रहण गरेर बार्ता टेबलमा बस्ने छ । भूगोलको आकार, हिजोको राजनीतिक अस्थिरता वा नेपाललाई आर्थिक सहयोग गरेकै कारण हेप्ने प्रवृत्तिले नेपाल र नेपालीले भारतलाई विश्वास गर्ने छैनन् । भारत सरकारप्रति हाम्रो डर र सन्देह सधैँ रहने छ ।

अर्को कुरा, भारतीय मिडियाले चीनलाई गरेको गाली निक्कै अचाक्ली र लज्जास्पद छ । सन् १९६२ मा हारेको युध्दको घाउ बोकेर छिमेकीलाई सधैं सरापिरहनुले भविश्यमा दुर्घटना मात्रै निम्त्याउँछ । मलाई लाग्छ- एसियाको शान्ति, स्थिरता र सम्पन्नतामा चीन र भारतको सुमधुर सम्बन्धको बराबरी हात छ । नेपाल र भारतको शान्ति, स्थिरता र सम्पन्नतामा भारतकै धेरै भूमिका छ ।

भारत सरकारलाई एउटा छिमेकी देशको नागरिकको विनम्र निवेदन हो यो :
'नेपाल सरकार र नेपाली जनताको गुनासो र निवेदन सुन । आफूभन्दा सानो क्षेत्रफल भएका छिमेकी देशलाई पनि मित्रकै रुपमा व्यवहार गर । पुराना कागजपत्र र तथ्यका आधारमा सिमाना विवाद सुल्झाऊ ।'

हिजो चाहिँ किन बोलेनौ ? र आज कस्को इसारामा बोल्दैछौ भन्नु एउटा सार्वभौम देशका नागरिकको स्वरलाई अपमानित गर्नु हो । आफ्नो अधिकार र अरुको अत्याचार बारे बोल्न कहिल्यै ढिलो हुँदैन । भारतलाई थाहा हुनु पर्छ 'एक दिन नेपाल बोल्ने छ' भन्ने । भारतले यो पनि थाहा पाइराख्नु पर्छ- अत्याचारका बिरुद्ध ती जो यत्रो वर्ष बोलिरहेका छैनन् एक दिन बोल्ने छन् । ती छिमेकीहरू जो वर्षौंदेखि भारतबाट पिरोल्लिएका छन्, एक दिन बोल्ने छन् ।  

कवि रिमालको शक्तिशाली कविता यहाँ स्मरण गराउन चाहन्छु । 

...

लाटा-सुधा बोल्न थाल्छन्, चल्छ ओठ दु:खको
सहे भनी सम्झिएका ईख फेर्न उठ्तछन्

गए भनी नदेखिएका फर्की-फर्की आउँछन्
सुते भनी सम्झिएका सुरुसुरु हिँड्दछन्

मरे भनी फ्याँकिएका जुरुजुरु उठ्तछन्
खरानी हुन्छ भर्भराउँदो, हुरी चल्न थाल्दछ

कायर पनि वीर हुन्छन्, वेग चल्छ जोशको
हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ

एक जुगमा एक दिन एकचोटि आउँछ

उलट-पुलट, उथल-पुथल, हेरफेर ल्याउँछ

धन्यवाद !