Sunday, May 23, 2021

वानीरा दिदीः स्वभाव, सुन्दरता र सिर्जनशील लेखनको अलग पहिचान

वानीरा गिरि बुवाआमाकी एक्ली सन्तान हुनु हुदोरहेछ । परिवारको नालिबेली लिंदै गर्दा थाहा लाग्यो । ‘आज त वल्र्ड सिविलिङ्स डे हो नि’ लुनाले सम्झाएपछि उहां भाबुक हुनु भयो । उहां भित्रको कोमलता, प्रेम र अपनत्व त्यहांनेर आएर देखियो । 


जन्मेकाहरुको दिन दुनिया त यस्तै छ 

अजन्माहरु बरा

आक्रान्त छन् भयाक्रान्त छन् ज्वराकान्त छन् आफ्नैहरुबाट

(काठमाडौ काठमाडौ)

उहांलाई भेट्नै गाह्रो । अविनाश दाइले अन्तर्वाताको लागि समय मिलाउन धेरै यत्न गर्नु भयो । मैले आंटिन । ‘दाइले समय मिलाइ दिनु होला । अनि म जान्छु ।’ त्यही भनेर दिन कुरेर बसें । अविनाश दाइ समय र बोलीको अति पक्का । बोलेपछि जसरी पनि पुर्याउने । समय मिल्यो । हामी तोकिएको समयमा वानीरा दिदीको घरको गेट अगाडि पुग्यौं । 

बानिरा दिदिसंग समयका, भेटघाटका, बसाइका, खुवाइका आफ्नै तरिका र नियम रहेछन् । टड्कारै महसुस हुने । उहां भिडबाट एकान्ततिर तानिएजस्तो महसुस हुने । ‘म त कहिलेकाहीं आफै फोन उठाएर बानिरा गिरि घरमा छैन भनिदिन्छु ।’ अविनाश दाइले चकित हुंदै भन्नु भयो ‘अनि स्वरले चिन्दैनन् ?’ ‘बानिरा गिरीकी बहिनी बोलेकी भनिदिन्छु ।’ लाग्थ्यो, हामीले उहांसंग अन्तर्वार्ताका लागि समय पाउनु बढो सौभाग्यको कुरो भयो † उहां मोवाइल फोन पनि नबोक्ने । त्यस प्रति उहांको नकारात्मक धारणा रहेछ । ‘मोवाइल चलाउदिन बरु सेक्रेटरी राख्छु । पोजेटिभ रिभुलेसनलाई त मान्छु तर यो मोवाइलका धेरै खराबी छन् । एक ठाउंमा हिड्दै गरेको मान्छेलाई अर्कै ठाउंबाट मार्न आदेश दिन मिल्ने जिनिस रहेछ यो ।’ घटनाहरुमा मेरो ‘आइक्यु टेष्ट’ गर्दै उहांले मतिर फर्केर भन्नु भयो–तपाईलाई थाहा छ कि छैन । अचेल हुने मर्डर केसहरुमा मोवाइल फोन ठूलो माध्यम भएको छ ?’ टाउको हल्लाएं । बलियो तर्क लाग्यो । उहांको जीवन हो । सवैले आफू ‘कन्भिन्स’ भएपछि त्यसैगरी बांच्ने न हो ।

दिदी कुरा गर्न थालेपछि दिल खोलेर गर्ने । उहांको एप्रोचिङ शैली निकै मन पर्यो मलाई । हामी चार जना गएका थियौ उहांको घरमा । गरिमाका सम्पादक अविनास दाइ, कार्यालय सहायक ध्रव अधिकारी, लुना र म । चारैजनासंग भागबण्डा लाएर बराबरी कुरा गर्न सक्ने । ध्रव जीलाई मैले केही पटक गरिमा कार्यालयमा भेटेको थिएं । तर, अरु दिनभन्दा उनी यो दिन उनी निकै फरक देखिन्थे । उनी पनि निकै बोले । लाग्थ्यो उनी पो बानिरा दिदीसंग अन्तर्वार्ता लिइरहेका छन् । सोमरसको कमाल हो भन्ने अनुमान गर्न सकिन्थ्यो । केही छिन पछि उनी बाटो लागे र सजिलो भयो । 

मिनभवन क्याम्पस कटेपछि ठ्याक्कै ओरालो सुरु हुने मुखैमा देब्रे पट्टीको गेट जोकोहीका लागि हत्तपत्त खुल्दैन । तर भित्र गएपछि थाहा लाग्छ यो माया र स्नेहले भरिएको ठाउं हो । पस्ने वित्तिकैको बैठक कोठा बढो कलात्मक छ । मण्डला आकारको बस्ने ठाउं । तर हामी त्यहां बसेनौ । त्यो कुनै विशेष प्रयोजनको लागि थियो सायद । भित्तामा सुन्दर तस्विर र पेन्टिङहरु झुण्ड्याइएको थियो । मात्र त्यही कोठालाई हामीले भव्यताका साथ भ्रमण गर्यौं । गफगाफ सक्किएपछि अन्त्यमा बैगैचा घुमाउने योजना दिदीको थियो । र, घुम्यौं पनि । थरिथरिका फुलहरु, कुनै दिदीले रोपेका कुनै भिनाजुले । एबोकार्डोका रुख । सिरिको ठूलो रुख । यो आफ्नै संसारकी सर्जक डा. बानिरा गिरि आफ्नै परिवेश निर्माण गरेर एकान्तबासमा हुनु हुन्छ । मलाई त्यस्तै भान भयो ।

अझै भित्री कुरो त के थाहा ? एकदुई बसाइमा यतिसम्म भन्न सकियो,  नरिवल जस्तो हुनु भयो बानिरा दिदी । भेट्न गाह्रो भेटेपछि अन्त्यन्तै कोमल । हो त्यही ‘वल्र्ड सिविलिङ्स डे’को दिन हामी पुगेछौं दिदीको घरमा उहांको एकान्त पनलाई कोट्याउन । जुत्ता खोल्ने ठाउंमा बस्ने कि नखोल्ने ठाउंमा ?’ जोगीले राजकुमार दिक्पालको परिक्षा लिन सोधेको जस्तो प्रश्न भयो त्यो । तर हामीले सजिलो ठाउं रोज्यौं । कतै निस्कन लाग्नु भएका शंकर गिरि अर्थात अप्पीको बुवा झुलुक्क देखिनु भयो । छोरीको नाम हो अप्पी । बानिरा दिदी उहांलाई अतिमाया गरेर त्यसरी बोलाउनु हुंदो रहेछ । अन्त्यन्तै हसमुख र आत्मीय अप्पीका बुवा । बास्तवमा असलमान्छे एकै क्षणमा थाहा लाग्छन् । इन्जिनियरिङ क्षेत्रमा आफ्नो विशिष्टता हासिल गनु भएका उहां साहित्यका पारखी हुनुहुन्छ । वानिरा दिदीको लेखन र प्रकाशनमा उहांको नैतिक सहयोग ठूलो रहेको थाहा लाग्यो । हामीले सामुहिक तस्विर खिचायौं । बढो सहज भएर उत्साहका साथ अप्पीका बुवा अर्थाता शंकर गिरिले हामीसंग तस्विर खिचाउनु भयो । उहांको तारिफ गर्दै बानिरा दिदीले भन्नु भयो–‘मेरो सिर्जनालाई सधै उत्साह दिइ रहे उनले । धेरै पटक त मेरो परेसानी पनि उनले सजिलै सहेका छन् ।’ हो जस्तो पनि लाग्यो मलाई † बानिरा दिदिले श्रीमान्लाई विदा गर्नुभयो ‘तिमी जुन कामको लागि जान लागेको हौ सफल होओस् ।’ लाग्छ उहां निकै लामो यात्रामा जांदै हुनुहुन्थ्यो । त्यसैले हरेक कामलाई उत्तिकै महत्व दिने बानिरा दिदीको बानी मलाई मन पर्यो । मलाई कस्तो लाग्थ्यो भने हाम्रो भेटघाट पनि सामान्य होइन । उहांको व्यवहार देख्दा हामी एउटा ऐतिहासिक भेटघाटमा छौं जस्तो महसुस भयो । अविनाश दाइको गाम्भिर्य स्वभाव र प्रश्नहरुले पनि मलाई त्यस्तै महसुस गरायो ।

उहां हिडिसकेपछि पनि दिदीले आफ्ना श्रीमान्को तारिफ मनचिन्ते गर्न थाल्नु भयो । र हामी गफिन तिर लाग्यो । अनि त्यहींबाट हामीले उहांहरुको विहेको कुरा कोट्याएका थियौं । हरेक प्रश्नको जवाफ आफ्नै सुरले दिने बानी रहेछ बानिरा दिदीको । पहिले आफ्ना कुरा भन्ने अनि समय उघ्रिए प्रश्नको उत्तर दिने । 

डाइनिङ टेवलजस्तोलाई घेरेर वरिपरि कुर्सीमा बस्यौं हामी । दिदी नन्स्टप बोलिरहनु भएको थियो । लाग्छ हामी वर्षौदेखि भेटको प्रतिक्षामा छौं र त्यो भेटको सदुपयोग बानिरा दिदी गर्दै हुनुहन्छ । यही बीचमा अविनाश दाइले भन्नु भयो–‘दिदी मलाई लाग्छ प्रेमा शाह र वानिरा गिरिले नेपाली साहित्यमा जति चर्चा र समीक्षा हुनु पथ्र्यो त्यो भएन कि जस्तो तपाईलाई लाग्दैन ?’ 

‘नलेखिने कलम अभागि हो ।’ दिदी फ्याट्ट बोल्नु भयो । 

थोरै नारी हस्ताक्षरहरुमध्ये एउटा बेग्लै पहिचान र अस्तित्व बोकेर मेची तर्यो बानिरा गिरिको लेखन । यसरी हेर्दा मेची पुर्वको नेपाली समाजले बेग्लै स्वाद र शिल्पले नेपाली भाषा साहित्यलाई धनी बनायो । मेची पारीनै हुर्किएका सशक्त कथाकार अविनाश श्रेष्ठ हुनुहुन्छ सम्पादकका रुपमा त्यहां उपस्थित । उहांले पारिजातलाई पनि सम्झनु भयो । महिला हस्ताक्षरमा धेरैले बानिरा गिरिलाई पारिजातसंग तुलना गरे । ईन्द्र बहादुर राईका कुरा उठे । देव कुमारी सिंहाको कुरा उठे । उतैका रुपनारायण सिंह त बानिरा गिरिका सबैभन्दा प्रिय नेपाली लेखक रहेछन् । 

प्रसंग बानिरा दिदिको हो । २०२२ सालको कविता महोत्सवमा सहभागिताका लागि कविता बटुल्न भवानी भिक्षु मेची पुल पूर्व लाग्नु भएछ । संयोगलाई विश्वास गर्ने हो भने यही नै बानिरा गिरिलाई काठमाडौसम्म जोड्ने माध्यम बन्न पुग्यो । त्यस वर्षको कविता महोत्सवमा उहां दोस्रो हुनु भयो । र, यही पुरस्कार ग्रहण गर्ने अवसरमा पहिलो पटक काठमाडौ टेक्नु भयो । दिदीले आफ्नो उमेर ठ्याक्कै चाहिं भन्नु भएन । फेरि दिदीलाई केही कुरा पनि जिद्दी गर्न नमिल्ने । उहांलाई मन नलागे नभन्ने । तर, जयदेव भट्टराईको साहित्यकार शब्दकोशको सहारा लिएं । जन्म–सन् १९४६ अप्रिल ११, नयां बजार खरसाङ, दार्जिलिङ । बक्काइदा बर्ष र साल हिसाब गरें नि † १९ वर्षको हुनुहुंदो रहेछ उहां त्यसबखत । नेपाल आएपछि उहांले राजा महेन्द्रले नेपालीवाहिरका नेपालीहरुका लागि दिने छात्रवृत्ति पाउनु भयो र नेपाली विषयमा उच्च शिक्षा अध्ययन गर्नु भयो । नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम महिला हुनु भयो बानिरा दिदी । त्यसपछि पद्मकन्या कलेज, बागबजारमा अध्यापन गर्न थाल्नु भयो ।  

खरसाङको परिवेशलाई उहांको सौन्दर्यले जसरी मोहित बनाएथ्यो काठमाडौलाई पनि त्यस्तो भयो । बानिरा दिदी तारुण्य वयमा अन्त्यन्तै रुपवती हुनुहुन्थ्यो † उहांका पुराना तस्विर बोल्छन् । अहिले पनि दिदी उत्तिकै राम्री हुनुहन्छ । ‘साथीहरुले मलाई बार एण्ड पिसकी नायिका आड्रे ह्यापवर्नसंग दांज्दथे ।’ अविनाशदाई पनि पुलकित हुनु भयो । सोध्नु भयो–‘काठमाडौ आएपछि त दिदीलाई निक्कैले प्रेम प्रस्ताव राखे होलान् ?’ दिदिले कुरोलाई त्यतातिर लान चाहनु भएन । भन्नु भयो–‘मेरी फुपुले मलाई एउटा महत्वपुर्ण कुरा भन्नु भएको थियो । पुरुषले एउटी महिलालाई एउटा सुपारीको कुड्को पनि कुनै स्वार्थ बेगर दिएको हुन्न । त्यसैले सधैं होसियार रहनु ।’ त्यही अर्ति बानिरा दिदिका लागि मन्त्र सावित भयो । र, उहां सधैभरी पुरुषप्रति ससंकित रहनु भयो ।

अब भने विहेको प्रसंग आयो । अप्पीका बुवा अर्थात संकर गिरिसंग चाहिं दिदीको विश्वास गसरी अडियो त ? पारिवारिक चिनजानका आधारमा संकर गिरिका परिवारले वानिरा गिरिको परिवारमा पहल गर्यो । खरसाङ हुंदै बानिरा गिरिलाई हेर्ने संकर गिरि एउटा कार्यक्रममा जानु भएको थियो रे । बानिरा दिदीका अनुसार उहां बोलको सुनेर संकर गिरि त्यसै आत्तिनु भयो रे । यस्ती कडा स्वभावकी केटीसंग म कसरी टिकौंला भनेर । बीचमा पारिवारिक पहल भए । एउटा अन्त्यन्तै अविष्मरणीय क्षण सम्झनु हुन्छ दिदी । उहांहरु दुई जनाको पहिलो प्रेममय भेट पशुपतिनाथ मन्दिरमा भयो । दिदी गरु रंगको सारीमा अन्त्यन्तै सालिन भएर जानु भएको थियो रे । दिदी भन्नुहुन्छ–‘मेरो त्यस दिनको पहिरनले उसलाई त्यसै मोहित बनाएछ ।’ दिदी दिल खोलेर प्रेममय हांस्नु भयो । संकर गिरी पनि त्यहीं हुनभएको भए गफ गर्न झन् रमाइलो हुने थियो । २०२५ सालमा उहांहरु दाम्पत्य जीवनमा बांधिनु भयो र यो लामो यात्रामा उहांहरुको प्रेम झन् मौलाउंदो देखियो । उहांहरुलाई झुलुक्क संगै देख्दा अनुभुत भयो । संकर गिरि सांच्चै हसमुख मान्छे ।  

भैरव अर्याल प्रथम हुनु भएको रहेछ महोत्सवमा । दिदीले आदरले अर्याललाई सम्झनु भयो । अर्यालका दुईटी छोरी रहेको कुरा अर्यालबाटै दिदीलाई थाहा भएछ । अनि कौतुहलवश सोध्नु भएछ अर्याललाई –‘के हो छोरीहरुको नाउं ?’ जवाफ सुनेर उहांलाई उदेक लागेछ । अर्यालले भनेछन्–‘एउटीको रसवरी र अर्कीको लालमोहन ।’ भैरव अर्यालमा व्यङ्ग्य चेतना भएको कुरा दिदीलाई थाहा थियो । तर, छोरीहरुको नाममा समेत गरिएको व्यङ्ग्यचेतको प्रयोग उहांलाई अनौठो लागेछ । र, आजपनि भैरव अर्याललाई ससम्मान सम्झंदै उहांले थप्नु भयो–‘कुन संस्कारको कारणले होला भैरव जीले छोरीहरुका नाम त्यस्तो जुराएको ?’ मान्छेको जीवनमा संस्कार र परम्पराको प्रभाव बारे चर्चा गर्दैै दिदी आफ्नो बाल्यकालतिर फर्कनु भयो । 

दिदीले खर्साङमै हु“दाको बाल्यकाल सम्झनु भयो । ४ कक्षामा पढ्दै गर्दा मुटु नामको हस्तलिखित पत्रिका निकाल्नु भएको रहेछ । त्यही पत्रिकामा उहांले वर्षा ऋतुको बारेमा एउटा लेख लेख्नु भएको सम्झनु भयो । शिक्षक देवनन्ददेव शाहले जांचेर लेखिदिनु भएछ–‘भाषामा प्राण छ, शैली रोचक छ, खुबै असल ।’ देवनन्ददेवको यो प्रसंसा दिदीका लागि यो लामो साहित्य यात्रामा एउटा ठुलो उर्जा बनेर सधै प्रेरित गरिरहेछ । त्यो उहिल्यैको कुरा दिदीलाई मुखाग्र भएर रहेको रहेछ । आफ्नो साहित्य लेखनमा बंगला साहित्यको ठूलो प्रभाव रहेको पनि दिदीले बताउनु भयो । विमल मित्र उहांका मन पर्ने लेखक रहेछन् । अझै पनि बंगाली भाषा बोल्न सिपालु हुनु हुदो रहेछ दिदी । केही कविताका हरफहरु सुनाउनु भयो । 

.......................................... 

‘एउटा जिउंदो जङ्गबहादुर’, ‘जीवनःथाय्महरु’, ‘मेरो अविष्कार’ जस्ता कविता संग्रहबाट कवितामा आफ्नो नौलो र शसक्त उपस्थिति दिन सफल बानीरा दिदीले उपन्यासमा पनि बलियो प्रभाव छोड्न सफल हुनु भयो । कारागार, निर्बन्ध, शब्दातीत शान्तनु जस्ता उपन्यासले नेपाली साहित्य आकाशमा पाठकहरुलाई नौलो स्वाद दिए । सब्दातीत सान्तनु स्थानीयता, आन्चलिकता र सांस्कृतिक तत्वहरुले भरिएको एउटा आधुनिक उपन्यास भन्न मनलाग्छ मलाई । यस कृतिले २०५६को साझा पुरस्कार पनि पायो । यस उपन्यासमा नेपालको ग्रामीण परिवेशलाई, पुर्वी तराईको मधेसी समाजलाई आधुनिक शिल्पद्धारा बानिरा गिरिले शब्दातीत सान्तनुमा ज्यादै कुसलताका साथ बुन्नु भएको छ । अहिले देश संघीयताको बहसमा तातेको बेला तराईबासीहरुको ठाउं र अधिकारको कुरा सघन रुपमा उठेको छ । धेरै लेखकहरुले पनि यस विषयमा कुरा उठाएका छन् । तर राजनीतिक रुपमा मात्रै हैन कला र साहित्यमा ती समुदाय र संस्कृतिका कुरा कसरी उठे त भन्ने बहस हुंदा शब्दातीत शान्तनुको उल्लेख हुनु आवश्यक ठान्छु म । यो सही हो,  यो उपन्यास सामान्य पाठकको लागि हैन । यो उपन्यास काव्य जस्तो देखिन्छ । कविता भएर उपन्यासले कथा भन्छ । जस्तै गोमा पात्रलाई उपन्यासले यसरी कहन्छ–

केश फुस्रा थिए ।

आंखामा गाजल थिएन ।

अनुहारमा अरु शृङ्गार पनि थिएन । 

सधै निधारमा कलेजी रङ्गको रोरीको टीका लाउंथी । 

बिछट्टै सुहाउंथ्यो । 

आज त्यो पनि छैन ।

चैतको हुरीले नाङ्गो पारेको सखुवाको रुख झै देखिन्थी । 

दिलजान छेउमा बस्यो । उसलाई अलिकति छोएर भन्यो–

‘खोल न †’

आज गोमामा पोको खोल्ने उत्साह पनि छैन । 

बिस्तारै पोको खोल्दा अलिअलि हात कामेको पनि छ । 

(पृष्ठ ६०)

सिराहा जिल्लाको बस्तीपुर गाउंमा महाभारतका चरित्र सान्तनु उपस्थित गराएर विम्बात्मक प्रस्तुति दिनु भएको छ लेखिकाले यस उपन्यासमा । भीष्मका पिता सान्तनु बस्तीपुरका एक आम पात्र हुन् जसका आकांक्षाहरुको दस्तावेज हो यो कृति । यस कृतिमा झै प्राय सबै लेखनमा बानिरा गिरि अरुभन्दा अगल लाग्नुको कारण उहांले कथालाई बुन्ने र प्रस्तुति गर्ने तरिका हो । उहांको औपन्यासिक लेखनमा म म्याजिकल रियालिज्म (मायामय यथार्थ) अत्यन्तै प्रचुर देख्छु । यथार्थलाई कथा वा साहित्यमा बुन्ने तरिका नै बास्तबमा लेखकको खुबी हो । बानिरा गिरि यस्ती शसक्त नारी हस्ताक्षर हुनुहन्छ जस्ले हरेक पटक यथार्थ जीवनलाई जादूमयी तरिकाले प्रस्तुत गर्नुभएको छ । त्यही भएर पनि अविनाश दाइले उहांको लेखन अनुसारको मुल्याङ्कन नभएको हो कि भनेर प्रश्न गर्नु भएको थियो । 

बानिरा दिदीको पहिलो कृति उपन्यास कारागार त्यस समयको एउटा विशिष्ट कृति मानिन्छ । उहांले उपन्यास भित्र कुनै पनि पात्रको नाम नदिएर नौलो प्रयोग गर्नु भएको छ । काठमाडौ र यस आसपासको परिवेशलाई बढो यथार्थमयी ढङ्गमा प्रस्तुत गरिएको यस उपन्यासमा तत्कालीन उपत्यका–जीवनलाई निक्कै जिवन्त रुपमा पस्किइएको छ । 

बानिरा गिरिका कविता शैली र भाषाका हिसाबले झन् उच्च कोटीका लाग्छन् । उहांको कवित्वले नै उहांलाई संसारका धेरै मुलुकमा पुर्याएको छ । परिचित गराएको छ । उहांको व्यक्तिगत विवरण हेर्दा थाहा लाग्छ–बानिरा दिदी सन् १९७६देखि हालसम्म अनवरत रुपमा अन्तर्राष्ट्रिय गोष्ठी, सम्मेलनहरुमा सहभागि भैरहनु भएको छ । विश्वका धेरै मुलुकमा उहांको कवित्व पुगेको छ । 

तर समयसंगै उहांको कवितामा प्रतिविम्बत बिचार र अनुभूतिमा नौलो पन र फरकपन देखिन्छ । पाठकहरुले महसुस गर्छन् । जस्तै, उहांको पछिल्लो कविता संग्रह काठमाडौ काठमाडौमा निराशाको बाढी नै पाइन्छ । लाग्छ यो काठमाडौ त्रासदी हो । 

भोकको ‘क’ काटी 

क्रमशः ‘ग’ र ‘ज’ थप्दै

कहीं भोग लगाइएको छ

कहीं भोज उडाइएको छ 

चोरमा ‘खो’ थपेर

चोखो बनाइएको छ

काठमाडौं

गजबको ग्यालीप्रुफ बनेको छ । 


लाग्छ, बानिरा दिदीलाई काठमाडौका धेरै मानिसहरु प्रति गुनासो छ । उहांका कविता पढ्दा र उहांसंग भेट्दा पनि त्यो थाहा लाग्छ । यो अनेकौ जीवन र घटनाको कोलाज काठमाडौमा एउटा सुन्दर परिवेश बनाएर, एउटा सुन्दर जीवन बाचिरहेकी बानिरा दिदीमा अरु प्रति किन यतिधेरै नकारात्मकता र गुनासाहरु पलाए ? उहांको आवेगमा सहभागि हुन मन लाग्छ । 

जसरी लेखनमा बानिरा दिदीको अलग शैली छ, व्यक्तित्व पनि त्यस्तै अलग लाग्यो मलाई । मनमा लागेको कुरा स्पष्ट भनिदिने । आफ्नो बलियो बिचार बोकेर त्यही विचारको वकालत गर्ने । धेरै मानिसहरुको भिडमा नपस्ने । सानो सर्कलमा बस्ने । उहां भन्नु हुन्छ–‘अक्ष्ँर किरा हैनन् सल्बलाई रहने । अक्षरहरु त स्थित हुन्छन् । खाली समय अनुसार यसका अर्थहरु सल्बलाउंछन् ।’ आफ्नो जीवन र लेखनका विषयमा सधै स्पष्ट भएकी लेखिका जस्तो लाग्यो मलाई बानिरा दिदी । हिजोआज सार्वजनिक जीवनमा नदेखिएकी उहांको लेखनमा अनेकौ योजनाहरु देखिए । त्यसमध्ये आफ्नो जीवनका अनुभव र कथाहरु लेख्ने क्रममा हुनुहुंदो रहेछ बानिरा दिदी । 

‘कति कुराहरु छन् मलाई भन्न मन लागेका, जुन मेरो अनुभव किताबमा आउनेछन् ।’– दिदी भन्नुहुन्छ ।

घाममा पोलिंदा पोलिंदा अङ्गार बनेपछि 

पानीमा रुझ्दा रुझ्दा लेउ बनेपछि

एउटै लोकलयमा गासिएर

सामुहिक रुपमा 

कण्ठ खोलीखोली गाएका छन् तिनीहरुले–

घाम–पानी घाम–पानी स्यालको बिहे

घाम–पानी घाम–पानी स्यालको बिहे


बानिरा दिदीसंग धेरै पटक भेट हुंदा यसरी लामो कुरा गरिएको थिएन । उहांका बारेमा मानिसहरुले दिएका परिचयभन्दा आफ्नै साक्षात्कार लाख भयो । दर्जनौ सुन्दर कृतिकी स्रष्टा जो व्यक्तित्वका हिसावले पनि प्रभावशाली देखिनुहुन्छ । उहां किन आफ्नै वरिपरि परिधिको रेखा हालेर बस्नु भएको छ ? मलाई घच्घच्याउन मन लागेको छ । आखिर उहांले नै लेखेको उपन्यास हो ‘कारागार’ । उहां नै सार्वजनिक जीवनमा कम देखिन थाल्नु भयो । जागिरबाट अवकास लिएपछि त झन् उहां साहित्यिक कार्यक्रम, गोष्ठी, सभा सम्मेलनमा देखिए सबैको हित नै हुनेछ । उहांको प्रतिभाले अरु धेरै नयांलाई पनि प्रेरित गर्नेछ । पौराणिक कथन ‘राम राज्य’ कल्पना गरेर कहिलेसम्म हामी मान्छेमान्छेसंग डराइ रहने ? मान्छेले मान्छेलाई डराउंछ, तर्साउंछ, धकेल्छ । तर, मान्छेले मान्छेलाई नै माया गर्छ, सहयोग गर्छ र भिरबाट लड्न पनि बचाउंछ । दिदीको मनको अन्तरकुन्तरमा विशाल ब्रम्हाण्ड भएर फैलिएको प्रेम र सद्भाव कुनै सन्देह बेगर सम्पुर्ण काठमाडौमा फैलियोस् । दिदीलाई बारम्बार भेटिरहन पाइयोस् । उहांका नयां सिर्जनाका बारेमा बहस गरिरहन पाइयोस् । यही कामना । कवि यसरी आफै लेख्छ र त्यसमा आफै विश्वास गर्दैन भने उसको कवित्वको आयाम के हुन्छ ?–

छाती च्यापेर हिंड्छ ऊ

मान्छे हुनुको गौरव्सम्भवतः कोही हो भने 

ऊ नै हो भगवद्विजयी

‘मेरो आविष्कार’ कविता संग्रहबाट 

 

 


No comments:

Post a Comment