Friday, March 16, 2012

बाबुलाल झाँगडको नोबेल यात्रा



‘मण्डी मल्ला’ । यी दुई शब्द भने सानैदेखि मुखमा झुण्डिएका थिए । प्राय झाँगड साथीहरुलाई देख्दा हामी केही इतरहरु ‘मण्डी मल्ला’ भन्दै जिस्क्याउँथ्यौँ । उनीहरु ट्वां परेर हेर्थे । सम्पतलाल मेरो नजिकको साथी थियो । ‘चामल छैन’–अर्थ थाहा भएपछि नरमाइलो लाग्यो । जिस्क्याउन छोड्यौं । निक्कै वर्षसम्म तिनका यी दुई शब्द मात्रै बुझेँ मैले । म मात्रै हैन साथीहरु जीवन, कुमार, अनिल, भरत कोही पनि झाँगड भाषा बुझ्दैन थिए । मेरा काका कृष्ण र छत्र काफ्ले भने फाट्टफुट्ट बोल्थे । गाउँका कमेडी माष्टर यी युवाहरु उक्त समुदायमा धक खोलेर घुलमिल हुन्थे । काका मुटु समस्याले केही वर्ष अघि वित्नु भो । छत्र गाउँकै प्रा.वि.मा प्रअ छन् । केही वर्ष अघि बनेको उक्त स्कुलमा अधिकांश विद्यार्थी झाँगड समुदायका छन् । त्यहाँ जेनतेन पढ्छन् र पढ्नै छोड्छन् ।
ठाडो लमतन्न सुतेको कर्जुना गाउँको दक्षिणतिर थारु र उत्तरतिर झाँगडहरुको बस्ती छ । बीचमा छन् बाहुन क्षेत्री र बसाई सरेर आएका केही लिम्बुहरु । यो गाउँको करिव ६० वर्षे इतिहासमा अहिले पनि एउटा मात्रै झाँगडको घर गाउँको बीचमा छ । मान्छे मान्छेबीच घुलमिल हुन कति गाह्रो । यसलाई भत्काउन कुनै त्यस्तो गतिविधि पनि भएन । त्यही गाउँका अमिलाल झाँंगड माओवादी समानुपातिकबाट संविधानसभा सदस्य भएर आए । तर, न अमिलालको घरमा चर्पी बन्यो न त उनीहरुलाई हेर्ने हाम्रो दृष्टी फेरियो । थाहा छैन संविधान सभा भवनमा अमिलाल कहाँनेर बस्छन् ।
करिव दुई दशकअघि हाम्रो गाउँमा विद्युत आयो तर विद्युतका खम्बा गाड्ने काम झाँगड वस्तीको मुखमा लगेर रोकियो । तिनका टोलमा बत्ती पुग्न अझै झण्डै १० वर्ष लाग्यो । तर सबैको घरमा बत्ती बलेन । मासिक सुल्क तिर्ने हिम्मत तिनमा थिएन । गाउँका बीचका घरमा कायापलट भए । इँटाका नयाँ किसिमका घर बने । पहिले गाउँमा एउटा मोटरसाइकल आउँदा हामी धुवाँ सुँघ्दै पछि कुद्थ्यौं । धुवाँ मिठो बास्ना जस्तो हुन्थ्यो । अहिले लगभग घरैपिच्छे मोटरसाइकल भएछन् । त्यही धुवाँ गनाएर नाक थुन्नु पर्ने भयो ।
अत्यन्तै मेहेनति र इमान्दार झाँगडहरु विस्तारै गाउँबाट विस्थापित हुँदैछन् । टोल निक्कै पातलिएछ । गाउँलाई यसको पत्तो छैन । लाग्छ त्यो अर्कै छुट्टै भूगोल हो । हरेक वर्ष दशैंको पुर्व सन्ध्यामा धुमधाम मनाउने उनीहरुको महान् चाड धरमकरम धरमकरम पनि झिनो हुँदै गएछ । तल्तिरका केही राई युवाहरु झाँगड युवतीहरुसँग नाच्न पाउने लोभले आउँछन् । (तिनीहरु ज्यादै सुन्दर हुन्छन् ।) एक हप्तासम्म चल्ने यो नाच र पर्वमा अरु कोही मिसिदैनन् । लोडसेडिङ छ । पहिलेपहिले लाल्टिन बालेर नाच्थे † पल्लो गाउँका साना राजाहरुले अलिअलि सहयोग गर्थे रे । अहिले सानाराजाहरुको पनि दिन गयो । धरमकरममा लाल्टिन पनि बल्दैन ।
यसपटकको धरमकरम हेर्न म त्यहाँ पुगेको थिएँ भाइ मात्रिकासंग । सत्येले बजाएको ढोलकको ताल र युवायुवतीहरुको नाचको चालदेखेर नाचाँै लाग्यो । नाचें । मात्रिका लजाएर नाचेन । म नाचेको देखेर सबै केटाकेटी खित्का छोडेर हाँस्न थाले । भिडको छेऊमा लौरो समाएर एक जना बृद्ध टुक्रुक्क बसेका रहेछन् । चिने जस्तो लाग्यो । छेऊमा गएँ । बाबुलाल दाइ पो रहेछन् † तिनको स्वर कर्णप्रिय थियो । सधैं धरमकरममा उनैले गायनको नेतृत्व गर्थे । नाच्न पनि सिपालु थिए उनी । केही पटक देखेको थिएँ मैले । पुराना दिन सम्झिएँ । रात पर्दै गएपनि तिनको स्वर सून्यतालाई चिर्दै हाम्रो घरसम्म आइपुग्थ्यो । हामी अर्ध निन्द्रामा सुन्थ्यौं । त्यहाँ जाने मोह हुन्थ्यो तर सक्दैन थियौं । मध्यरातसम्म गाउँथे उनी र अरुहरु ।
‘लौ कान्छा पो आएछ, बस् बस्’–बढो मायाले तिनले भने–‘कहिले आको ? हाम्लाई माया त मारेको रैनछ ।’ आज बाबुलाल दाइ नाच्दै छैनन्, गाउँदै छैनन् । ‘तपाईलाई ठिक छ ?’ मैले सोधेँ । ‘कहाँ ठिक हुनु नि †’ देखाउँदै भने ‘यो दाइने खुट्टो चल्दैन । चिमोटेको पनि थाहा पाउँदैन ।’–तीन छोराका बाऊ बाबुलालको दु:खको कथामा निक्कै उपकथा थप्पिइसकेका रहेछन् । ‘मन्डी मल्ला, डाग्डरको कुरो त छोड् ।’ मेरो आग्रहमा तिनले लौरो टेक्दै नाचिरहेका युवायुवतीहरुको माझमा आएर सुरिलो भाकामा गीत गाए । स्वर निक्कै माथि तानेर गाए । सरीरमा जिरिङ्ग काँडा उम्रियो । मोवाइलमा रेकर्ड गरें र तिनको यादमा रिङ्ग टोन बनाएँ ।
चिसो साँझमा पनि पसिनाले निथ्रुक्क भिजेछु । घर फर्कियौं । राती अबेरसम्म बाबुलाल दाइ मनमा खेलिरहे । उनले माटो काटेर हाम्रो खेत मिलाएको, आंगन र ग्वाली पुरेको, ती सबै पुराना दिनहरु मस्तिष्कमा फिल्मको रिलजस्तो चलिरह्यो । तिनले गाउँमा सायदै कसैको खेत मिलाउन, आगन र ग्वाली पुर्न बाँकी राखे । बिचरा यिनले सधैं सस्तोमा काम गरिदिए । कहिल्यै पनि उनले मागेको ठेक्का रकम घटाउनु परेन । हामीले सोचेभन्दा दुई पैसा कम नै भन्थे उनी । त्यसैले सबैले उनैलाई काम लाउँथे । उनलाई पैसाको अभाव सधैं भयो । २, ३ तिर कामको एड्भान्स लिन्थे र समस्यामा पर्थे । दिनभरि माटो काट्थे र साँझ सलकपुर वा जोगीचौर गएर टिल्ल भएर आउँथे । एकदिन उसरी नै साँझ खाएर आएछन् । र, खोल्सामा परे छन् । देखें । समाएर घरसम्म पुऱ्याएँ । र, उनकी श्रीमतीमन अगाडि सम्झाएँ । ‘दाइले यसरी धेरै रक्सी पिउनु ठिक भएन । भाउजुले सम्झाउनु पऱ्यो नि । दिनै पिच्छे पिएपछि पैसा, मण्डी कहाँबाट आउँछ त ?’ सोझी भाउजु हँसिली देखिइन् । दाइ केही बोलेनन् । मेरो अर्ति पालन गर्ने संकेत पाएँ । एकछिन पछि त दाइले झोलाबाट कालो रंगको जानेमाने बोतल निकाले । पिँढीमा बसेर दाइभाउजु सँगै लाउन पो थाले ‘दारु’ । म मज्जाले हाँसे । हाँसोमा लाज मिसिएको थियो । बुढाबुढी यति खुशी देखिन्थे, मानौ उनीहरु साँझलाई एउटा उत्सवको रुपमा मनाउँदैछन् । प्वाल परेको छानोबाट जुनको उज्यालो पिडीसम्म आएको थियो । लाग्थ्यो जुन पनि उनीहरुसँगै दारु उत्सवमा छ । आफ्नै अर्ति सम्झिएर काउकुति लागेर आयो । आगनमा तरकारी पाकाइ रहेकी तिनकी कलिली बुहारी मुसुमुसु हास्दै थिइन् । दाइले इसारा गर्दै भने–‘लाउँछस् अलिकति ?’ घर पुगेर सिधै भान्सामा गएँ र एक फ्वाँक ज्वानो फुक्याएँ ।  
सलकपुर छेऊमा बस्नेतको पोखरी खन्दाखन्दै उनको खुट्टो बिग्रिएछ । र, अहिले थला परेर बसेका रहेछन् । बस्नेतले भनेछ, निको भएपछि खन्न आउनु । गाउँमा चन्दाका अनेक बहाना आइरहन्छन् । यस पटक कसैले बास्ता गरेनछन् । बाबुलाल दाइले कान्छो छोरो बिरामी पर्दा एकपटक घरघरमा गएर चन्दा मागेका रहेछन् । फेरि माग्न जान उनलाई अफ्ठेरो लागेछ । जेठा र माइला छोरा पनि मजदुरी गरेर खान्छन् । कान्छो इण्डियातिर छ रे † उनीहरुले पनि उपचारको लागि चासो देखाएनछन् ।
छत्र काफ्लेले साथ दिए । घरघरमा गएर पैसा उठायौं । सुरुमै न्यौपाने माइलाले ५० रुपैया दिए । र एक लेक्चर पिलाए–‘यो जात यस्तै हो, जति गरेपनि नहुने ।’ लौ जातलाई दोष ? रिस उठ्यो, तिनको अज्ञानी बचनलाई तिलाञ्जली दिंदै सहयोगी भावनाको प्रसंसा गऱ्यौँ । अरुले पनि भुतभुताउँदै १०, २० दिए । कठिनले ९ सय रुपैयाँ जम्मा भयो । माइलो छोरोले ५ सय दियो । बाँकी पुरताल मेरो गोजीबाट । विराटनगर स्थित नोबेल अस्पताल लिएर गएँ । पुर्जीको लाइन लामो रहेछ । दाइलाई लाईनमा राखेर म अर्को काम भ्याउन बाहिर निस्किएँ । फर्केर आउँदा पुर्जी हात पारिसकेका रहेछन् । हेर्छु । पुर्जीमा लेखिएको छ–‘बाबुलाल उराम, वर्ष ५ ।’ हाँस् उठ्यो । युवतीले ‘कति वर्ष ?’ भनेर सोधिछन् । बाबुलाल दाइले ५ सालको भनेछन् । पुर्जी काउण्टरमा गएर ती खिरिली युवतीलाई भने–‘यो उमेरको मान्छे ५ वर्षको हुन्छ ? सँच्याइ दिनुस् ।’ ५ सालमा जन्मिएको मान्छे अहिले ६३ वर्षको हुन्छ । उनी उल्टै झर्किइन् ‘यी मधिसेहरु त्यस्तै हुन्छन्’ । आम्मै † तपाई चाहिं के नि ? त्यसमाथि मधिसे हैन मधेसी भन्नु पर्ने । आफू नबुझ्ने अनि सिंगै समुदायदाई दोष दिने ? लाइन लामो थियो । प्रोपोगाण्डै होला जस्तो लाग्यो र अर्ति बन्द गरें । तिनले पुर्जीमा नयाँ स्टिकर टाँसिन् । हिंडे ।
हामी नशा तथा हड्डी विशेषज्ञ कहाँ पुग्यौँ अनि एक्स–रे रुम र फिजियोथेरापिष्ट कहाँ । सबै ठाउँमा मलाई प्रश्न गर्थे–‘उनी तपाईको को ?’ प्रश्नको औचित्य के थियो मलाई थाहा छैन, भनेँ–‘मेरा गाउँले दाइ’ । ती डाक्टरबाबुले मेरो अनुहारमा नहेरी, मसँग कुरै नगरी खुरुखुरु औसधी लेखि दिए । कोठा नम्बर १४ । विशेषज्ञ जो परे । एक्स–रे रुममा बसेकी महिलाले बाबुलाल दाइलाई छुन मानिनन् । ढोकामा विरामी मात्रै भनेर लेखिएको थियो तर, तिनले विरामीलाई समाएर एक्स–रे बेडमा राख्न मलाइ नै लगाइन् । चर्चरी बाजें । भुत्तभुताउँदै उनी निस्किइन् ।
पालो आयो, फिजियोथेरापिष्टको । उनले पनि मलाई उसरी नै प्रश्न गरे । हरेकपटक डाक्टरले यसरी प्रश्न गर्दा लाग्थ्यो, बिरामी ठूलै संकटमा छन् । ‘गाउँले दाइ’–यान्त्रिक उत्तर दिएँ । डा थेरापिष्ट अनिल गुप्ताले बाबुलाल दाइलाई भने–‘एता आएर बस ।’ म रिसले काम्न थालिसकेको थिएँ । फेरि उनले सोधे, ड्रिङ्स् गर्न थालको कहिलेदेखि नि ? मैले भने ‘१०, ११ वर्षदेखि होला’ । थेरापिष्ट झर्किए ‘चुप लाग्नुस् । मैले तपाईलाई सोधेको कि बिरामीलाई ?’ म पनि आगो भएँ । ‘विरामीलाई तपाईले गर्ने व्यवहार यही हो ? मलाई ‘तपाई’ अनि यी बुढालाई चाहिँ ‘तिमी’ ? मैलो लुगा लाएको देखेर हेपेको ? अनि यी निरक्षरलाई ड्रिङ्स् भनेको चाहिं के था नि ? थोडा यिनले मिति टिपेर पिउन सुरु गरे ?’ थेरापिष्टले गल्ती स्वीकारेनन् । बरु नजानिदो पाराले व्यायामसालमा जाने लाइनमा बाबुलाल दाइको पुर्जी सबैभन्दा तल राखिदिए । ‘थुइक्क बुद्धि’ । डाक्टरको व्यवहारले दिग्दार बनायो । शिथिल भएर कुरुवा बेन्चमा बसेँ । पल्लो छेऊमा बसेका अर्का डाक्टर मेरै पक्षमा छन् जस्तो लागेको थियो । एकछिनमा ती जुँगे डाक्टर बाहिर आएर मलाई कोट्याए–‘तपाईको नम्बर पाउँ न’ । ‘९८०३०४–०७–’ । लाग्यो उनी मलाई सहयोग गर्दैछन् । ‘नाम ?’ त्यो पनि भनिदिएँ । उनको नाम सोधाइमा सकारात्मक भाव थिएन । सोधेँ ‘किन सोध्नु भएको ?’ गौरबका साथ तिनले डकारे–‘अघि भित्र बादविबाद भएको थियो नि, त्यसैले ।’ बुझिन–‘अनि के भो त ?’ उनका हिसाबले बहादुरी झल्कने रहस्य खोले । अस्पतालको प्रशासनले मसँग कुरा गर्ने छ । भोली अस्पतालमा तोडफोड वा आन्दोलनको घटना भए मेरो नाम पनि संकाको घेरामा पर्ने छ । मैले पनि उनको नाम र मोवाइल नम्बर सगौरव बाबुलाल दाइको एक्स रेको खाममा लेख्न लगाएँ–‘डा. भिम सरकार’ । सुरुमा त तिनले आनाकानी गरे । पछि नलेखी धर ? निक्कैबेर कुरेपछि बाबुलाल दाइको पालो आयो । तिनको निहितार्थमा मैले पनि व्यायाम सिकेँ । भरे, घरमा गएर फेरि उनलाई सिकाउनु थियो ।
पुर्जी सित्तैमा बनाइदिएर ऐक्स रे र अन्य परिक्षणमा पैसो कुम्ल्याउने नोबेल अस्पतालको बाबुलाल दाइसंगको यात्रा बढो स्मरणीय रह्यो । त्यसप्रतिको मोह पनि भंग भयो । १५ दिन पछि फेरि त्यहाँ जानु पर्ने थियो । बाबुलाल दाइले त्यहाँ नटेक्ने बाचा गरे । म यता राजधानीको भिंडमा भास्सिएँ । एक चरणको औषधी खाएपछि बाबुलाल दाइ अलिअलि हिड्न सक्ने भएका थिए रे † विसेक भएको देखेर उनलाई उदारो दिने किराना पसले, चामल पैचो दिने बाहुन र माटो काट्न एड्भान्स् दिनेहरुको अनुहारमा चमक देखियो होला । क्रमश २५०, २ किलो चामल र ५ सय एड्भान्स् अहिलको बेलामा धेरै पैसो होइन । तर, बाबुलाल दाइका लागि ठूलो पहाड जस्तो भो । त्यस टोलका घरघरका कथा यस्तै छन् । उनी त एक विम्ब भए । छुट्ने बेलामा उनी भन्दै थिए– ‘आङ्ना दु:ख मञ्जा’ ।
आउने धरमकरममा यी दाइ नाच्न सक्छन् कि सक्दैनन् । नाच्दै गाउन सक्छन् कि सक्दैनन् । डाक्टरले रक्सी नपिउनु भनेका थिए । तिनले पक्कै छोडेका छैनन् । चिन्तामा छु ।


3 comments:

  1. निकै राम्रो लाग्यो ... स्थान, ब्यक्ती र घटनाका सुक्ष्म बर्णनहरु मर्मश्पर्शी छन ।
    Write more and share more!

    ReplyDelete
  2. daju dherai ramro lago ani yo padhda padhadai ma ghar puger aaye sabai kura smjhe maile KARJUNA ko .

    ReplyDelete