Monday, March 5, 2012

माला, नेता र चरित्र




एक पटक डेनमार्कको नेपाल एम्बेसीमा लोकतन्त्र दिवसको सन्दर्भमा भेला थियो । एक जना मित्र दौरा सुरुवाल र नेपाली टोपीमा आए । उनका अघिपछि अरु मानिसहरु थिए । अत्यन्तै प्रसन्न मुद्रामा झुल्किएका ती साथीसँ आउनु भएका अरु सदस्यहरु हुनु हुदो रहेछ उनैकै आमाबा र श्रीमती ।
युरोपियन मुलुकका लागि विद्यार्थी भिजा लाग्नु ठुलो कुरा भैगो । त्यसमा पनि श्रीमान्श्रीमती नै जानु त झन् खुसीको कुरा भो । त्यहीँ बस्दाबस्दै सन्तान जन्माउनु त उत्पातै महान् काम रहेछ । अर्को महान काम रहेछ ‘टुरिष्ट भिजा’मा आमाबा वा अरु आफन्तलाई निम्त्याउनु । हो तिनै ढाका टोपे साथीले आफ्ना आमाबालाई सबैसँग गौरबका साथ चिनाए । मसँग पनि परिचय भयो । तिनैलाई सोधेँ–‘नेपाल जाने प्लान छ ?’ उनले दङ्ग पर्दै भने–‘देशको स्थिति यस्तो छ । अझै ४, ५ वर्ष गइँदैन होला । फेरि बाआमा पनि यतै आइहाल्नु भो, जाने कामै पो परेन ।’ देशको स्थिति सुध्रिएपछि मात्रै फिर्ने चाहना अरु धेरै साथीहरुले देखाउनु भयो । महोदयको टाउकोमा ढाका टोपी टलक्क टल्कीरहेको थियो  ।
मलाई भने करिव २५ महिना मुलुक बाहिर रहँदा कहिल्यै पनि मुलुकको वेथितिको बारेमा आलोचना गर्ने साहस भएन । लाग्थ्यो माटो छोडेर आएका बेला माटोमा बसेकाहरुको आलोचना गर्नु एक किसिमले गलत हो । त्यसैले मनमा अनेकौ गुम्फनहरु भए पनि लेख्ने साहस गरिन । साथीहरुसँग भेट हुँदा देशका बारेमा कुरा हुन्थे । नेताहरुलाई मर्ने गरी गाली गर्नु र टन्न रक्सी पिउनु हाम्रो रुटिङ जस्तै भएको थियो । सारमा सार त मिलाउनै पऱ्यो । हो पनि, लोकतन्त्र स्थापनापछि पनि देश ०४६ सालको प्रजातन्त्रपछिको परिस्थिति भन्दा नाजुक हुँदै जाला जस्तो लाग्दो रहेछ बाहिरबाट हेर्दा । केही ‘सुपर अप्टिमिष्टिक’ लेखक समालोचकहरुले अब देशले फड्को मार्छ भनेर अति विकसित नेपालको लोभ देखाएको पनि बक्वास लाग्यो । नेताहरुलाई चरम उत्सर्कमा पुगेर गाली गरेको पनि बक्वासै लाग्यो । मेरो वास्तविक बैचारिक रुप के हो त मैले आफैभित्र द्वन्द्व चलाएँ ।
‘कतिपय अवस्थामा हैन जनतानै उस्ता जस्तो तर्क पनि गरियो । भनियो–‘हामी जनतानै उस्ता, यी नेताहरुलाई चुनेर पढाउने को त ? हामी नै हैन ? जनता नै गलत भएपछि नेता कसरी सही हुन्छन् ?’ यी आवेशमा निस्किएका विचारहरु हुन् । ‘यी काम नलाग्ने नेताहरुलाई छान्ने तैँ होस्’ भनेर सबै सर्वसाधारणलाई आरोपित गर्नुको पनि केही तुक छैन जस्तो लाग्छ । तर, नेता बाहेक अर्को पक्ष पनि यो ‘कठोर समय’ निम्त्याउनेमा भागेदार छ जस्तो लाग्छ । यति लामो समयसम्म पनि संबिधान नलेखिनु, राज्य थितिमा नचल्नु वा देशको शैक्षिक तथा भौतिक विकाश नहुनुमा नेता बाहेक अर्को जिम्मेवार पक्ष जनता नै हो जस्तो मलाई पनि लाग्छ । तर, आम जनतालाई एउटै घानमा राखेर हेर्न मिल्दैन । बौद्धिक जमात, सरकारी कर्मचारी वा राजनीतिक दलका भातृ संगठन यसका भागेदार छन् भन्ने लाग्छ मलाई ।
मुख्य रुपमा राजनीतिक दलका भातृ संगठन, विद्यार्थी नेताहरु र ती बुद्धिजिवी जो पार्टीमा आवद्ध छन् तिनबाट नेताहरुलाई कहिल्यै नैतिक दवाव परेन । नेताहरु तिनका छेउमा पुग्दा तिनले नेताहरुको सधैँ तारिफ नै गरे । दुरदर्शिता र गहिरो चेत नभएका जुलुसबाट जन्मिएका धेरै नेताहरुलाई नागरिक भनाउँदो हाम्रो जमातले सधैँ भ्रममा राखेर उनीहरुको प्रसंसा मात्रै गरिरह्यो । सबै भन्दा पीडादायी कुरा त नेताहरु सार्वजनिक कार्यक्रममा जाँदा, राजधानी बाहिर जाँदा तिनलाई तिनका कार्यकर्ता र जनताहरुले गर्ने सत्कार र स्वागतको अद्धितिय संस्कारले विगाऱ्यो ।
भर्खरै पत्रपत्रिकाहरुमा खुब चर्चामा आएको नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाको तस्विर हेर्नुस् । उनलाई सम्मानका साथ १० किलोको माला पह्यिाइएको छ । के अहिलेको राजनीतिक अवस्थामा ती नेता त्यसरी देखिन लायक छन् ? यो संयोग मात्रै हो, यो लेखको उदाहरणमा सुशील कोइराला परे । पटकपटक संविधान सभा विचलन गरेर देशमा बेतिथिको सासन चलाइरहेका बेलामा प्रचण्ड, बाबुराम, देउवा, माधव नेपाल, झलनाथहरुले उसरी नै २५ किलोको माला लाएर गजक्क परेको तस्विरहरु संचारमा आएका छन् । तिनलाई संविधान नलेखिएको र देशलाई यो अफ्ठ्यारो अवस्थामा पुऱ्याइएको पुरस्कार स्वरुप तिनका भातृ संगठन, कार्यकर्ता, कर्मचारीहरु वा बुद्धिजिवीहरुले ती २५ किलोका माला पहिऱ्याइ दिएका हुन् कि ? यतिखेर नेताहरुलाई माला पहिऱ्याएर सम्मान र स्वागत गर्ने परम्परा आफैमा ‘आइरोनिक’ छ मेरा लागि । एकातिर क्याफे, चिया पसल, रेष्टुरेन्ट, अफिस वा जाँडघरहरुमा बसेर नेताहरुलाई सराप्ने र भोली पल्ट तिनलाई नै १० किलो र २५ किलोको माला पहिऱ्याएर स्वागत गर्ने । उता मेरा मित्र देशको स्थिति फेरिएपछि ४, ५ वर्षपछि ऐतै फिर्ने मनस्थितिमा छन् । कोही त नेपालको संस्कृति र परिवेशको निकै याद आउने र आफ्नो संस्कृतिको जगेर्नामा लाग्ने जस्तो स्वाङ पनि गर्छन् । आफै भित्र यस्तो द्वैध चरित्र बोकेर हिँड्दा नागरिकका रुपमा हामी आफैलाई पनि अफ्ठेरो महसुस हुन्छ कि हुन्न होला ?
गतल अर्थ नलागोस् । देश बाहिर जानु नयाँ जीवनको खोजी र मानवीय सभ्यताको नियमित क्रम पनि हो । मानिस संसारको कुनै पनि कुनामा गएर बसेहुन्छ । विश्व एउटा गाउं जस्तो भएको छ यतिखेर । तर, कुरो आडम्बरको हो । स्वास्नीले मकाइ दिएको मिठो खाना खाएर जिब्रो पड्काउने र अर्काले बनाइ दिएको ठाउंमा बसेर मस्ती गर्ने हाम्रो मौलिक पहिचान हो । हामीले आफै पकाएर खान कहिले सिकौंला ? आफैले राम्रो बनाएर कहिले बसौंला ?
एका देशको कथा †

No comments:

Post a Comment