Tuesday, March 6, 2012

पूर्वको हनिमुन र राजनीतिक चटारो



फागुनको अन्तिम साता पनि फिक्कल निक्कै चिसो थियो । इलाम यात्राका लागि निस्किएका धेरै मायालु जोडीहरु विहान अबेरसम्म अनुहार देखाउने मुडमा थिएनन् होला । सिरक जिन्दावाद् । मौसम थियो नै त्यस्तै । वरिपरि चिया वगानका बीचमा एउटा काठैकाठले बनेको सुन्दर र कलात्मक घर, न्यानो कोठा, चिसो मौसम । सम्झनुस्, गणेश रसिकको फिक्कलको घर जस्तो । त्यही सुन्दर घरमा बस्ने सौभाग्य मिल्यो । उसरी नै अबेरसम्म सिरकमा गुटुमुटु हुन पाइयो । राजधानीमा जस्तो सौचालयसँगै पत्रपत्रिका पढ्ने वा रेडियोको समाचार सुन्ने कुनै चासो थिएन त्यहाँ । स्वच्छ हावा, एकान्त पन, चिया वगान र हरिया रुखहरुले पहाडमा निर्माण गरेको यौनिक सौन्दर्यको आँखा चिम्लिएर रसास्वादन गर्ने अवसर थियो त्यो । यो कस्तो सौन्दर्य भने चिसो मौसममा न्यानो वातावरण भित्र बसेर आफू वरिपरि भएका सुन्दर वस्तुलाई मनमनै सम्झिएर भोग गर्ने समय थियो त्यो ।

अचनाक फिक्कल एफएमको मोडुलेसनमा रेडियो ‘लाउड स्पिकर’मा घन्कियो । नघन्कियोस् पनि किन, घरपति रसिक बा नै त हुन् फिक्कल एफएमका नाइके । ‘कन्याम छ निवासी मित्र होमनाथ अधिकारीको आज जन्म दिन भएकाले उसलाई जन्मदिनको लाखौँलाख शुभकामना दिन चाहन्छु’–उद्घोषिका सुष्मा श्रेष्ठ बोल्दै थिइन् –‘साथै उसले चालेका हर पाइलाहरुले सफलताको शिखर चुम्न सकुन्, इलामेली कान्छी कमला खवास ।’ आच्चै, ती खवास चेलीले कस्तो गौरवसहित आफूलाई इलामेली कान्छी भन्न मन पराएकी π मेरो सााघुरो मनले त्यस्तो सोची हाल्यो । आफू त मोरङको भित्री गाउँमा तिनै खवासहरुसँग हिलोमा माछा मार्दै हुर्किएको । होलीमा रंग खेल्दै बढेको । खवास गाउँको बीचमा हुर्किएको यो ज्यानलाई खवासहरु तराईमा मात्रै हुन्छन् भन्ने भ्रम छँदैरहेछ । ‘इलामेली कान्छी कमला खवास’ सुनेपछि झसंग भएँ । भूगोलमाथिको हाम्रो भ्रम कहिलेसम्म रहिरहला हँ ? आफ्नै अज्ञानतालाई सचेत गराएँ ।

फिक्कलमा दुई दिन दुई रात ‘हनीमुन टाइम’ थियो मेरालागि । कारण लूना साथमै थिइन् । विवाह भएको दुई वर्ष भैसक्दा पनि काठमाडौको भोजन युद्धबाट कहिल्यै उम्किन सकिएन । ‘घुम्न जाउँ’ भन्ने सबै गुनासाहरुको एक मुस्ट समाधान थियो यो । (आज ५ वर्ष पुगेछ , विवाह भएको । चटारो त उस्तै छ)

मेरो मुख्य उद्देश्य फिक्कलका रङ्गकर्मी साथीहरुलाई भेट्नु र उनीहरुका बारेमा टिपोट गर्नु थियो । यसरी नै पुर्वाञ्चल फस्र्याउँदै हिँडेको थिएँ । धनकुटाका कुनाकाप्चा चहारेर, धरान, विराटनगर, दमक, विर्तामोडतिरको काम फत्तेगरेपछि म पाँचथरतिर उकालिँदै थिएँ । पूर्वको बन्दले म पिरोल्लिएको थिएँ । रनाहा छुट्थ्यो । जता गयो त्यतै थुनिनु पर्ने । बन्द र लोड सेडिङ नेपालकै ठूलो रोग बनेको छ अहिले । त्यसमाथि पूर्वका उद्योगधन्दा, कलकारखानाका अगाडि ‘बन्द’ लेखिएका फ्लेक्स् छुण्डिएका देख्दा बिरक्ति बाहेक केही रहेन ज्यानमा । तर स्वाधिनता र आत्मसम्मान भन्ने ‘जिनिस’ अचम्मको हुँदो रहेछ । मधेसीहरुको नाममा बन्द भोग्दाभोग्दा हैरान भएका सर्वसाधारण नागरिकहरु त थारुहट बन्दमा रत्तिभर नआत्तिएका । मूल्य अकासिएको छ, कमाइधमाई छैन, हिडडुल, औषधि उपचारका लागि साधन छैन, त्यही पनि थारुहट आन्दोलनमा आपत्ति नहुनुको रहस्य रहेछ समानान्तर शक्तिको उदयको खुशी । सम्म तराई सोलोडोलो मधेस हो भनिरहेको एउटा समूहको विचारका विरुद्ध अर्को विचार जन्मियो थारुहट । त्यही भएर अन्य जातथरका नागरिकहरुलाई सन्तोष लागेको रहेछ । एउटा अतिवादका विरुद्ध बोल्न सक्ने अर्को अतिवाद जन्मियो । तर, यस्ता समानान्तर शक्तिहरु त हरेक दिन बढ्दैछन् । सर्वसाधारण नागरिकहरुले अनेकौ दु:खका बीचमा फेरेको भ्रमको स्वासले कतिदिनसम्म काम गर्ने हो ‘लिम्बुवान प्रान्त’ लेखिएका अक्षर र मान्छेका मनले उत्तर दिएकै छन् । अनि अझै यी सबै कुराको उत्तर काठमाडौले दिनु पर्ने स्थिति छ जसलाई कुम्भकर्णको निन्द्रा सरेको छ । तिनको उत्तर नदिँदा पनि काठमाडौको रौँ पनि हल्लिएको छैन ।

अर्को बसाई थियो इलाम बजार । उपल्लो किरातको बन्दले ४ दिन त्यहीँ थेच्चारिनु पर्यो । त्यति सुन्दर ठाउँमा पुगेर एउटा सुन्दर संस्मरण बनाउँला भन्ने थियो । चोक बजारमा गाडी पाइन्छ कि भन्दै हरेक दिन कुर्न आउँदा धेरै समय खर्चिनु पर्यो । मेरै गाउँको खवास थरकै भाइ जीतबहादुर त्यहाँ प्रहरी रहेछन् । उनले मलाई पाँचधरसम्म पुर्याउने अनेक जुक्ति गरे, उपाय भएन । बन्दको चकमन्नतामालाई तोड्दै चोक बजारमा दुई जना गाइने दाइ आइपुगे । इलाम चौक बजारको अर्को रमाइलो परेवाहरुको हुल पनि रहेछ । पुरै बजार ढाक्ने गरि परेवाहरु उढ्दा रहेछन् र चौकमा चारो खान आउँदा रहेछन् । एउटा सुन्दर दृश्य कैद गर्न भ्याएँ, सयौं परेवाहरु बत्तिको तारमा लहरै परेट खेले जस्तै गरेर बस्ता रहेछन् ।

तिर्सुलीको किनारमा बालुवा चाल्नेहरु
सोलुमा भारी बोकी बालुवा चपाउनेह बालुवा
अझैनि लोकतन्त्र आको छैन है
जनताले भनेझैं भाको छैन है ।

चालीस नजिक उमेरका कलम गन्धर्व र दलबहादुर गन्दर्व झापाबाट इलामा आएका रहेछन् । सानैदेखि सारङ्गी रेट्न थालेका यी एक जोडी कलाकारले सुनाएका सबै गीत समाजिक थिए । ‘आफूले देखे भोगेको कुरा आइहाल्छ नि गीत बुन्दा’ कमल ले भने ‘त्यस्तै दु:खी मानिसहरुसँगको संगत गरेर पनि बुन्छौं हामी गीत ।’ माओवादी साथीहरुसँग संगत गरेपनि उनीहरुले बनाएको गीत यस्तो रहेछ ।

अरुण तरेर नाना तम्बोर तरेर
आयौं हामी विरताको गाथा कोरेर
कति साथी सहिद भए तम्बोर तिरैमा
कति साथी अपाङ्ग छन् लडे भिरैमा

यिनका कारुणिक स्वर, सारङ्गीले बुनेको आरोहअवरोह युक्त लय र मान्छेका कथा बुनिएका शब्दहरु संचारमाध्यममा बज्न पाए भारतीय सस्ता हिन्दीगीतको दरिलो बिकल्प हुन्थे होला जस्तो लाग्यो । सयौं मान्छेलाई आकर्षित गरेर इलाम चौक बजारमा रुमाल थापेका यी दुई गाइने साथीहरुको जीविकोपार्जनको बाटो पनि एफएम रेडियो बन्न सक्थे कि π रुमालमा १० रुपैयाको नोट राख्नु बाहेक म अरु के नै गर्न सक्थें र ।

पत्रकार मित्र दीपक अधिकारीको घर पनि फिदिम नै रहेछ । छोटो विदमा घर आएका दीपक उपल्लो किराँतको बन्दले थुनिएका रहेछन् । लाग्यो, यो राम्रो अवसर हो । दीपक भएकै बेलामा फिदिप पुग्न सकियो भने त उनले पाँचथर घुमाउँछन् । फोनमा उनीसँग त्यही कुरा भयो । बन्द खुल्ने कुनै छाँटकाँट नभएपछि चौथो दिन मोटरसाइकलमै भए पनि जाने निर्णय गरियो । फिदिमका रङ्गकर्मी साथी माधव कल्पितले दुईवटा मोटरसाइलक पढाइ दिए र हामी श्रीमान्श्रीमती उपल्लो किराँतका सैन्य जत्थासँग डराउँदै उकालो चढ्यौं । हरिया पहाडमा गुराँस फूलेका, तिनका बीचबाट घुमाउरो चिल्ला सडकमा उक्लिँदा त सबै दु:ख भुलिँदो रहेछ । बसमा भन्दा मोटरसाइकलमा यात्रा काइदाको हुँदो रहेछ । माथि डाँडामा बिसाउँदै तल इलाम हेर्दै, गुराँसका फूल खाँदै हामी पूर्वको सुन्दर पहाडसँग रत्तिएका थियौं । नेपालटारमा मझौला चिज उद्योग रहेछ सरकारले खोलेको । चिज धमाधम बन्दै थियो । बन्दका बेलमा पनि हामीले गौरव गर्ने कुरा त्यही थियो । कमसेकम नेपालमा पनि केही त बन्दो रहेछ । ताजा नौनी घिऊको उरुङ चाङ देखेर क्वाप्प खान मन लाग्यो । चिज चाहिं निक्कै खाइयो ।

राँके पुरेपछि हुस्सुले ड्याम्म छोप्यो । मध्यदिनमा पनि अति चिसो । तातो केही खाउँ भनेर हामी होटरतिर छिर्यौं । होटलभित्र अरु मानिसहरु पनि रहेछन् । फिदिममा भर्खरै लिम्बुवानहरुको सम्मेलन भएको रहेछ । होटलभित्र राजनीतिक गफ चल्दै थियो । एक जना दाजु बुरुक्क उफ्रिए–‘मैले त भन्देको छु, अब तिनीहरुको उँभोबाट छ इन्छ नघटाई हुँदैन । अबको आन्दोलन भनेकै यही हो ।’ साँच्चै भनेको मेरो मुटुको धड्कन साविकको भन्दा दोब्बर भयो । मान्छेको उँभोबाट ६ इन्च घटाउँदा त टाउको त च्वाट्टै जाने भो त हौ । साथीहरुलाई छिटो खाएर बाटो लाग्ने इसारा गरें र निस्कियौं पनि । होटलभित्र अर्को पनि रमाइलो विवाद चल्दै थियो । लिम्बुवान सम्मेलनमा व्लास्ट दैनिकका पत्रकार भवानी बराललाई बोलाइएको रहेछ । एकजना दाइ कड्किँदै थिए–‘हैन हाम्रो जातीमा चाहिं पढेलेखेका, विद्वान्, पत्रकारहरु छैनन् । हामीले अझै क्षेत्री बाहुन नै खोज्नु पर्छ ?’

फिदिम बजारको मुखैमा हामीलाई ठूलो सिंगारिएको ‘लिम्बुवान प्रान्त’ गेटले स्वागत गर्यो । मेरो ध्याउन्न मित्र दीपकतिरै थियो । फिदिम बजार पुगेपछि फोन गर्छु त दीपक त लिम्बुवान पार्टीको गाडी चढेर झापातिर पो लागेछ । साथी भेट्ने एउटा उत्साह खत्रक्क भयो । ‘म तिमीलाई फिदिम घुमाउँला’ भनेको साथी त कुलेलम । न्यास्रोपन एकै छिनमा मेटियो । अन्य धेरै साथीहरु अग्रजहरु आइपुग्नु भयो । रङ्गकर्मी माधव कल्पितले धेरै सहयोग गर्नु भयो । कवि धर्मेन्द्रविक्रम नेङ्वाङ पनि त्यही पो रहेछन् । ‘लौ है साथी मेरो त आज गाउँमा ५ ठाउँका कार्यक्रमको प्रमुख अतिथि बन्नु छ लागेँ’…–उनी पुरापुर ब्यस्त रहेछन् पार्टीको काममा । अर्का कलाकार साथी मित्र लिङ्देन पनि हिजोआज लिम्बुवान आन्दोलनमा व्यस्त रहेछन् । झापाका रङ्गकर्मी नरेशजंग पनि फिदिममै रहेर लिम्बुवान आन्दोलनका लागि नाटक गर्दै हिंड्दा हरेछन् । एक साँझ रङ्गकर्मी, लेखक, पत्रकार साथीहरुसँग जमघट भयो । त्यही साँझ फिदिम बजारमा उपल्लो किराँतको राँके जुलुस पनि निस्कियो । मित्र लिङ्देनले म आवद्ध नाट््य समूह शिल्पीको ‘मेधेश तराई’ नाटक अभियानको बारेमा सुनेका रहेछन् । उनले मलाई अनुरोध गरे–‘यदि लिम्बुवान राज्यका पक्षमा नाटक गरिदिने हो भने हामी तपाईहरुलाई सहयोग गर्छौं ।’ लिम्बुवान परिषद्ले नौ वटा जिल्लालाई लिम्बुवान प्रान्त घोषणा गरेको रहेछ । मैले भने–‘त्यसरी त हामीले नाटक गर्न मिल्दैन तर संघीयताका कुरा उढाएर हामी नाटक गर्न सक्छौं ।’ यतिखेर शिल्पी त्यसैको तयारीमा छ । बैशाख ५ गतेदेखि शिल्पी ‘अँध्यारोविरुद्ध’ शिर्षकमा नाटक र कविता लिएर पूर्वाञ्चल भ्रमणमा छ ।

अनेकौं अस्तव्यस्तताका बाबजुत पनि नेत्र ओझा, गणेश हुमागाईं, मित्र दिङ्देन, माधव कल्पित, नरेशजंग, धर्मेन्द्रविक्रम आदिले समय दिनु भयो । पाँचधरको रङ्गमञ्चका बारेमा मैले धेरै कुरा संकलन गर्ने मौका पाएँ । लामोसमय बस्न पाइएन । पाँचथर बन्दको हल्ला थियो । त्यसैले दुई दिनमै हामीले बाटो तपायौं ।
तल पूर्वपश्चिम राजमार्ग पुरै तनावग्रस्त थियो । राजमार्गको बलियो साधन भनेको रिक्सा नै हो यतिखेर । घण्टैसम्म रिक्सामा चढेर काम चलाउँछन् मानिसहरु अहिले । अनेकौं दु:ख गरेर काठमाडौ आइपुगियो । काठमाडौ त उस्तै बा π जिल्लाका दु:ख र विजोगको कुनै चासो छैन काठमाडौलाई । काठमडौ अझै पनि मेलम्चीको झमेला, ट्राफिक जाम र बाटुवाटार धर्नामै अल्मल्ली रहेको छ । काठमाडौलाई एउटै कुराको चिन्ता रहेछ, त्यो हो ‘खसीको मासुको मुल्य बृद्धि’ ।


       

3 comments:

  1. नियात्रा मर्मस्पर्सी र जानकारी मूलक छ। बधाई,घिमिरे युवराज जी !

    ReplyDelete
  2. मैले तपाईँको रचनालाई कमेन्ट हान्नु भनेको डाक्टरका अगाडि सिटामोलको वयान गर्नुजस्तै मान्छे हसाउँने मेलो हुन्छ होला । र पनि - एक एक वाक्य मीठो छ । मजा आयो । विहानविहान मुड फ्रेस भयो ।

    ReplyDelete
    Replies
    1. haahaa holiko joke ho? anyway thanks both of you. inspires me to write another one

      Delete