Monday, June 16, 2014

अपराध कबुल

निजी इन्धन–साधन प्रयोग गर्नु नपरोस् भन्ने मेरो ठूलै संकल्प थियो । यस विषयमा निकै दृढ थिएँ । आफ्नै मोटरसाइकल वा गाडी होस् भन्ने चाहना त किन नहुनु नि । कहिलेकाही मलाई सोखिन जीवनले बढो आकर्षित गर्छ । तर, काठमाडौको सवारी जाम र प्रदुषणको कारणले निजी इन्धन साधन प्रति वितृष्णा भएको हो । काठमाडौमा यो समस्या अचाक्ली नै छ । अहिले पनि धुवाँ र धुलोका कारणले रुघाले थलिएको छु म । काठमाडौबासीलाई यहाँको प्रदुषणले निक्कै नै हानी पुर्‍याएको हुनुपर्छ । यसको डाटा को सँग छ मलाई थाहा छैन ।
तर, समस्या थाहा हुँदाहुँदै बाटामा दिशा गरे जस्तो, घरबाट निस्किएका फोहर नजिकैको खोलामा फाले जस्तो, अफिसमा काम गर्ने समयमा लुसुक्क व्यक्तिगत काममा भागे जस्तो, सार्वजनिक यातायात भित्र चुरोट पिए जस्तो वा बाटोमा महिलाहरुलाई जिस्क्याए जस्तै बराबरको आत्मग्लानी लिएर मैले आफ्नै दृढ संकल्पलाई तोडेँ । मोटरसाइकल किने ।
यसका लागि मेरा आफ्नै तर्क छन् । काठमाडौमा सार्वजनिक साधनको समस्या अर्को ठूलो प्रदुषण हो । साथीभाइले भने ‘हेर्, सार्वजनिक गाडी भन्दा मोटर साइकलमा धेरै चाँडो हुन्छ । जहाँ पनि चाँडै पुगिन्छ । गाडीका बीचबाट छिराउन पनि हुने । पेटीबाट गुडाउन पनि हुने । राती अबेर घर फर्कंदा पनि समस्या नहुने ।’ अब अर्को बद्मासी गरिने भइयो । यस्तो लाग्यो, मोटर साइकल चढेपछि ट्राफिकका सबै नियम उल्लंघन गरिने भइयो । देखा जाएगा । सहकारी संस्थाबाट लोन लिएर भट्भटे किनियो । उता बैंकमा रिणको व्याज बढ्दो छ, यता राजधानीमा प्रदुषण छुट्दो छ ।
देखा जाएगा । माथिका कुरा त बल गरेरै मिचियो । अर्को महान काम गरियो । घुस खुवाएर लाइसेन्स बनाइयो । सरकारी दस्तुर रहेछ जम्मा सात सय रुपैयाँ । त्यस बाहेक पनि एउटा ड्राइभिङ सेन्टरलाई १६ सय रुपैयाँ भेटी झैँ चढाइयो । बक्काइदा रसिद हातमा थमायो उसले सरकारी दस्तुर झैं गरेर । दिने मै हुा † उसको के दोष । सबैले तर्साए ‘अचेल त जताततै सिसि क्यामेरा राखेको हुन्छ, गाडेका भाटामा छिसिक्क छोयो कि लाइसेन्स चट ।’ आफूलाई आजै लाइसेन्स निकालेर भट्टभटेको धुँवाले वायु प्रदुषण प्रतियोगितामा भाग लिनु छ । त्यसैले फेरि अर्को पटक कथित चेतनशील र असल नागरिक बन्ने चाहनालाई तिलाञ्जलि दिँदै ‘नेङ्माङ ड्राइभिङ सेन्टर’ मार्फत झापाको विर्तामोड पुगियो ‘देखावटी लिखित परिक्षा’ दिन । परिक्षामा छिर्नु अघि ‘नेङ्माङ ड्राइभिङ सेन्टर’का गुरुले महानवाणी झै गरि भने–‘प्रश्न पत्रमा २० वटा प्रश्न हुन्छन् । दशवटामा टिक लगाउने १० वटा छुने हैन ।’ मानौ यसो नगरे ठूलै प्रलय हुन्छ । उनले ह्वीप जारि गरे । परिक्षामा बसियो । ट्राफिक प्रहरीले परिक्षा कोठा भित्र अनेकौ लिला गरे । परिक्षाका नियमहरु सुनाए । परिक्षा रद्द हुन सक्नेसम्मका डर देखाए । आफू भने परिक्षा उत्तिर्ण हुने कुरामा सय प्रतिशत ढुक्क, नेङ्गमाङ गुरुको जो निगाह ममा थियो । प्रश्न पत्र हातमा आयो । २० वटै प्रश्नको उत्तर मिलाइने रहेछ । तर, गुरुको निर्देशन जो थियो । १० वटा प्रश्नको उत्तर दिइयो । १० मिनेटमा परिक्षा खत्तम । दङ्ग पर्दै त्यतै ससुरालीमा बसियो । घर पर्‍यो मोरङमा । भोलीपल्ट ‘प्रयोगात्मक परिक्षा’ उर्फ ट्रायल दिन आउनु छ ।
आइयो । लाइनमा बसियो । अघिनै नेङ्वाङ गुरुको ह्वीप जारि थियो– ‘मोटरसाइकल नलडाउनु, खुट्टा नटेक्नु । दशैं अगाडि लाइसेन्स पक्का ।’ ए गाँठ्ठे, कत्तिले त ६ वटै भाटा लडाए । खुट्टा नटेक्ने हैन कि ‘ट्रायलमा खुट्टा टेक्नै पर्ने नियम छ’ जस्तो देखियो । त्यसो हुादा पनि सबै परिक्षार्थी दङ्ग देखिए । उनीहरुले पनि मैले झैँ भेटी चडाएर त आएका होलान् । फेरि छेउमा उभ्भिएका परिक्षा कर्ताहरुले ट्रायलतिर हेर्ने भए पो † परिक्षार्थी बोलाउँदै उनीहरु खातामा टिक मार्क लाउन व्यस्त थिए ।
आफ्नो पालो आयो । ३ वटा भाटा कटाइयो । ३ वटा लडाइयो । अरुको देखेर ठूलै काम गरे जस्तो भयो । तर केहीले त गज्जबले ६ वटै भाटा नलडाई कटाएको देखियो । त्यतिखेर चाहिं छातीमा चसक्क भयो । त्यो चसक्काइलाई पनि छोपछाप पारियो । तीन दिनपछि बक्काइदा २ पुस्ते नामथर अंकित लाइसेन्स हात लाग्यो । शंकर प्रसाद घिमिरेको छोरा युवराज घिमिरे, इन्द्रपुर गाविस वाड नं. ७ का नाममा दुई पांग्रे सवारी चालक अनुमति पत्र हात लाग्यो । एउटा भटभटेको मालिक हुन र यसलाई चलाउन यति धेरै तिकडम गरियो । अनि यो देश नै चलाउन बसेकाले कति तिकडम गर्दा हुन् ।
एकादेशमा एकजना राजाले भनेको सानैमा पढिएको थियो–‘घुस लिन्या र दिन्या दुवै देशका सत्रु हुन् ।’ निष्ठा बेगरको ज्ञानको के पो अर्थ । अपराध कबुल †  

2 comments: