Wednesday, July 17, 2013

हराएको विरालो


सुसन घरपालुवा जनावरलाई धेरै माया गर्छ । विरालो उसको सबैभन्दा पन पर्ने घरपालुवा जनावर हो । उनी भन्छन्–‘विरालो मेरो मिल्ने साथी हो । विरालोसँग खेल्न रमाइलो हुन्छ ।’
पुरानो साथी माउ विरालोले उनलाई केही नभनी १ वर्षअघि घर छोडेपछि उनी धेरै दुःखी भए । माऊ विरालोले धेरै वच्चा पायो । तर, सबैलाई राख्न नसकिने । उनको बाबा उज्वलले पनि एउटा विरालो मात्रै पाल्न सकिन्छ भनेपछि उनले सबै विरालालाई उत्तिकै माया गरेनन् । त्यसैले नयाँ बच्चाहरुले घर छोड्दै हिंडे । तर, माउ विरालो उनको मिल्ने साथी बन्यो । गाउँघरमा भनाइ छ, १२ वर्षको भएपछि विरालो जंगल पस्छ । अचानक विरालो हरायो । सुसन भन्छन्– ‘बुढो भइसकेको थियो, कतै गएर मर्यो होला ।’
एकदिन विहान सुसन कोठामा बसेर होमवर्क गरिरहेका थिए । बाहिर बरण्डामा म्याउम्याउ आवाज आयो । विरालो कराएको सुनेर उनी एक पटक झस्किए । बुढो विरालो नै फर्केर आएछ भन्ने उनलाई लाग्यो । हैन रहेछ । नयाँ विरालो पो रहेछ । दुःखी सुसनको अनुहारमा अचानक खुशी छायो । विरालो दुब्लो पातलो थियो । खान नपाएर आएको जस्तो देखिन्थ्यो । सुसनले कुँडेमा राखेको दुध खान दिए । एकैछिनमा विरालो उनको खुट्टामा लुटुपुटु गर्न थाल्यो । स्कुल जाने बेलामा आफुसँगै भात खुवाए । उनलाई त्यसदिन स्कुल जाने मन भएन । विरालोलाई सँगै लिएर जान नमिल्ने । छोडेर जाँदा भाग्ला भन्ने डर । तर, विरालो कै कारणले स्कुल जान्न भन्न पनि उनलाई असजिलो लाग्यो । उनकी मम्मी गीताले भन्नुभयो । धेरै विरालोसँग टाँस्सिएर नबस् छिटो स्कुल जा ।
अल्छी गर्दै सुसन स्कुल गए तर उनलाई पढाईमा मनै थिएन । पहिलो कक्षा अंग्रेजीको थियो । सरले अंग्रजीको ‘ओ’ लेख्दा उनलाई विरालाका आँखा जस्ता लाग्थे । ‘क्यु’ लेख्दा त्यही विरालोको पुच्छर । दोस्रो कक्षा नेपालीको थियो जतिखेर उनले आफ्नो कापीमा ठुलो विरालो बनाए । छैटौ कक्षासम्ममा उनको कापीमा माऊ विरालोका ३ वटा बच्चा पनि जन्मिसकेका थिए । त्यसदिन अन्तिम कक्षा भएन । सुसनलाई अरु के चाहियो ? उनी कुद्धै घर आए । ओरिपरि हेरे । उनले विरालो देखेनन् । मम्मीलाई सोधे । भन्नुभयो–‘खै कहाँ मर्यो तेरो साँढे ।’ त्यसरी माया गरेर खान दिँदा पनि नबसेकोमा उनलाई विरालोले झुक्याए जस्तो लाग्यो । स्कुल जाँदा त्यसलाई डोकोले छोपेर गएको भए पनि हुन्थ्यो जस्तो लाग्यो । ‘तर छोपेको विरालो धेरै कराउने थियो र मम्मीले उघारी दिनु हुन्थ्यो ।’
अचम्म भयो । सुसन टिभी हेरेर बसेका थिए । फेरि साँझ उनले म्याउम्याउ आवाज सुने । बरण्डामा उनले विरालो देखे । अब उनलाई पक्का भयो विरालो उनकै घरमा बस्ने भयो । उनले विरालोलाई धेरै मायाले राखे । आफुले खाने कुरा उसलाई पनि बाँढेर खुवाए । यो पनि छोरी विरालो रहेछ । केही महिनामा त विरालोले ३ वटा बच्चा पायो । सुसनलाई अचम्म लाग्यो । उसले कापीमा बनाएको ३ वटा बच्चा त साँच्चैको भयो । सुसनलाई विरालाका साना बच्चा असाध्यै मन पर्ने । हरेक दिन स्कुल जानु अघि उनी बच्चा खेलाउँथे । साँझ आउँदा त विरालोले अर्कै ठाउँमा बच्चा सारिसकेको हुने । सुसनलाई हरेक दिन बच्चा नहेरी नहुने । विरालोले सुरक्षाको लागि ठाउँ सारी रहने । विरालो घरभरीमा गोप्यगोप्य ठाउँ खोजीखोजी बच्चा साथ्र्यो । सुसनलाई कहिलेकाहीँ बच्चा खोज्न सास्ती हुन्थ्यो । यो खेल चलिरहेको थियो । सुसन र उनका बुबा आमाले पनि सुत्केरी विरालोलाई राम्रै खान्की दिइरहेका थिए । एकदिन सुसनको घरमा साँझ भातको साटो रोटी खाने कुरा भएछ । सबैले दुध रोटी खाए । सुसनले विरालोलाई पनि दुध रोटी दिए । भोली पल्ट विरालो घरमा देखिएन । सबैमा खैलाबैला भयो । सुसन दुःखी भए । संका के गरियो भने ३ वटा बच्चालाई दुध खुवाउने विरालो दुध रोटी खाएर सन्तुष्ट भएन । अघाएन । खाना खोज्न कतै गयो । कसैले विष हालिदियो वा त्यस्तै दुर्घटनामा पर्यो । आखिर विरालो फर्केर आएन । सुसनलाई विरालो हराएको चिन्ता एकातिर थियो भने अर्कोतिर ३ वटा बच्चालाई कसरी बचाउने भन्ने । उसले दुधदानी किनेर ल्यायो र गाईको दुध खुवाउन खोज्यो । तर, भर्खर एक हप्ताका ती बच्चा (छाउराछाउरी)ले दुधदानीबाट दुध खान सकेनन् । तिन्लाई मिल्ने दुधदानी पाइएन । सुसन चिन्ताले रुँदै बच्चाका मुख ‘आँ’ गराएर दुध खुवाउँथे । उनका बाबाले पनि उनलाई सघाए । जतिगरे पनि सुसनले ३ वटै वच्चालाई बचाउन सकेनन् । सुसनका बाबा उज्वलका अनुसार सुसन धेरै रोए । २ दिनसम्म खासै खाना खान मानेनन् । कसैकसैले सुसनलाई विरालाको ‘काजक्रिया’ गरे भनेर जिस्क्याए । सुसन झन् धेरै रोए ।
अहिले सुसन सरस्वती ईङलिस स्कुल बेलेपुर, मोरङमा कक्षा ९मा अध्ययन गर्दैछन् । आफ्नो घरमा विरालो नभए पनि काहीँ देखेभने उनी बोकी हाल्छन् । कसैले विरालोलाई खेदाएको कुटेको देखे भने रिसाउँछन् । अहिले उनलाई लाग्छ त्यसदिन विरालोलाई रोटीको साटो भात दिएको भए त्यसरी हराउँदैन थियो कि ।

No comments:

Post a Comment