दर्शकलाई चकित बनाउने महँगो र सुन्दर डिजाइनको मन्च |
एकपटक एकजना अमेरिकी नाटककारले हाम्रा नाटककार अभि सुवेदीलाई गुनासो गर्दै भनेछन्–‘तिमेर्का देशमा त कतिधेरै विषयहरु छन्, घटनाहरु छन्, जसलाई नाटकमा ल्याउनेसुन्दर मौका छ । हाम्रातिर त तिनै यौन, निरासा, एक्लोपन लेख्दालेख्दा थकित भइयो ।’ सुवेदीको उत्कण्ठा थियो हामीले हाम्रै विषयमा राम्रा नाटक लेख्न पाए † अमेरिकी नाटककारलाई लोभलागेका हाम्रा विषयमाथि रङ्गमञ्च कोर्न पाए † खै हाम्रा नाटककार के लेख्दैछन् थाहा छैन । तर, विषयको खडेरी परेको त्यही देशमा यतिखेर विल्कुलै नयाँ र सुन्दर नाटक जन्मिएको छ । सन् २००७ का उत्कृष्ट नाटककार ट्रयासी लेट्स भन्छन्–‘वर्ड फ्ल्यू जस्ता विश्व जनिन् समस्याहरुलाई एकछिन परै राखौं । अमेरिकाका धेरै परिवारभित्र रहेका दु:ख र विसंगतिहरु नै मेरा नाटकका कथाहरु हुन् ।’ अहिले हामीकहाँ लेखिने धेरै नाटकहरुले माटो बिर्सिएर विश्वजनीन् कुरा उठाउन खोज्छन् । सांस्कृतिक वा सामाजिक रुपमा सम्बन्धै नराखी नाटकले सिधै न्याय, शान्ति, मानवता, नैतिकता, राजनीति, विसंगति, जन्म, मृत्यु, युद्ध आदिका ठूला कुरा गर्छन् । बरु अभि सुवेदीका मित्र वा युवा नाटककार ट्रयासी लेट्सले भनेजस्तै हाम्रा नाटकमा पनि यहींका कथा भेट्टिए ?
विश्व प्रसिद्ध अमेरिकी कवि तथा नाटककार अगष्ट विल्सन ३ वर्षअघि ६० वर्षकै उमेरमा बिते । विल्सन पनि आफ्नै माटो र समाजका कथा नाटकमा उतार्न खप्पिस थिए । यिनका बुबा गोरा जातीका हुन् र आमा काला जातीकी । तर अगष्ट विल्सन कहिल्यै बुवासँग बसेनन् । यिनको ध्येय आफूलाई कालाहरुकै समाजको भनेर चिनाउनु थियो र कालाहरुकै दु:ख लेख्नु थियो । आफूलाई अगष्ट विल्सनबाटै प्रभावित ठान्ने युवा नाटककार ट्रयासी लेट्सले यतिखेर अमेरिकाका प्रसिद्ध नाटकघरहरु तताएका छन् । ब्रोड वे थिएटर, सिकागो थिएटर, स्टेफेनउल्फ थिएटर जस्ता ठूला कम्पिनीहरुमा उनका नाटकहरु भव्यताका साथ प्रदर्शन भइरहेका छन् । विल्सनले सन् १९८७ मा काला वर्णका मानिसहरुको कथामा आधारित प्रसिद्ध नाटक ‘फेन्सेस्’बाट पुलित्जर पुरस्कार पाएका थिए । ठ्याक्कै २ दशकपछि विल्सनका अनुयायी ट्रयासीले उनको पछिल्लो चर्चित नाटक ‘अगष्ट: ओसेज काउन्टी’बाट टोनी पुरस्कार मात्रै पाएनन् सन् २००८को पुलित्जर पुरस्कार पनि हत्याए । न्यूयोर्कका प्रसिद्ध मानिएका क्रिटिक्स अवार्ड, ड्रामा डेक्स अवार्ड आदि दर्जनौ पदमी यस नाटकले धमाधम पाउँदैछ । पुलित्जर पुरस्कारका लागि उनीसँगै छनौटमा परेका डेविड हेन्रीको ‘एल्लो फेस’ र किस्टोफर सिन्को ‘डाइङ सिटी’ पछि पर्नुको दुई वटा कारण थिए । विषयको गहनता र प्रस्तुति शैली । रक्सी, लागुपदार्थ, आत्महत्या, यौन दूव्र्यसनी तथा पारिवारिक कुसंस्कृति मिसिएको एउटा ३ पुस्ते अमेरिकी परिवारको कथा जसलाई विद्रुप यथार्थको कलात्मक प्रस्तुति मानिएको छ । शैली हास्यप्रदान छ तर घटना र कथा विद्रुप छन् । हास्य र दु:खले भरिपूर्ण यस नाटकलाई अनेकौं कलह र असन्तुलनले भरिएको अमेरिकी परिवारको यथार्थपूर्ण प्रस्तुति मानिएको छ । न्यूयोर्क टाइम्सले नाटकको बारेमा लेखेको छ–असिमित दु:ख र मनोरञ्जनले भरिपूर्ण । यस नाटकलाई अत्यन्तै सबल ‘डार्क कमेडी’ वा ‘ट्र्याजिक–कमिक’ भनिएको छ ।
करिव साढे तीन घण्टा लामो नाटकमा तीन वटा दृश्यहरु छन् । तीन पटक नै विश्राम छ । तेह्र चरित्रहरु छन् । तिव्र गती, हास्यप्रधान, हरेक क्षण मनलाई घच्चच्याउने खालका चरित्रहरु भएको, संवेदनाले भरिएका हरेक घटना र दृश्यहरु भेटिने यस नाटकको प्रस्तुति शैलीलाई अन्त्यन्तै चुस्त र रोचक मानिएको छ ।
बुवाको आत्महत्यापछि आमाको जीन्दगी अझै दुव्र्यसनीपूर्ण हुन्छ । बुवाको काजकृयामा भेला भएका छोरीज्याई तथा परिवारबीच हुने घटनाहरु नाटकको मुख्य कथा हो । विविध चरित्रहरु भएको, धेरै घुमाउरो क्षणहरु मिसिएको यस नाटकमा कम्तिमा एक दर्जन कथाहरु मिस्सिएका छन् । ‘एउटा यस्तो कलह भरिएको परिवारको कथा, नाटक हेर्दा फोटो एल्मम हेरे जस्तो दु:ख, प्रतिसोध र कुसंस्कारको पत्रहरु भेटिन्छन्’, समीक्षक डेभिड कोट अगाडि लेख्छन्–‘नाटककी आमा पात्र यस्ती छ, एउटी आमामा हुने ममता र मानवतारुपी दूध उसमा उहिल्यै सुकीसकेको छ ।’ नाटकका बारेमा एक जना दर्शकले यसरी प्रतिक्रिया दिएका छन्–‘झमझम पानीपरेको दिनमा आफ्नो मन परेको सिनेमाको भाग १, २, ३ गर्दै डिभिडि हेरे जस्तो, भलै यो नाटक हो । हास्दाहास्दा थाकेर हल वाहिर निस्किएको जो कोही दर्शक अझै यो नाटकको भोक महसुस गर्छ ।’
नाटक गीतबाट सुरु हुन्छ । मुख्य पात्र(बुवा)भन्छन्–‘मेरी श्रीमती लागू पदार्थ लिन्छिन् त्यसैले म रक्सी पिउँछु । हामीले एकअर्कालाई घुक्र्याउनले राम्रा बहानाहरु हुन् ।’ मुख्य चरित्र नाटकमा एउटा दृश्यमा मात्रै देखिन्छ । उसले आत्महत्या गर्छ । यस छोटो तर डरलाग्दो भूमिकाका लागि चरित्र छनौट गर्ने क्रममा निर्देशक र लेखकले धेरै टाउको दुखाए रे । अन्त्यमा नाटककार ट्रयासी लेट्सले उक्त भूमिकाका लागि आफ्नै बुवा डेनिस लेट्सलाई छनौट गरे । समीक्षक रिचार्ड जोग्लिन लेख्छन्–‘बास्तवमा ट्रयासी लेट्सले एउटा साहसिलो छोराले गर्ने काम गरे’ । किनकि जब सफल प्रथम प्रदर्शनपछि स्टेफेनउल्फ थिएटरबाट नाटकलाई ब्रोड वे थिएटरमा लामो समयको मञ्चनका लागि सारिने भयो डेनिस लेट्स ‘लङ् क्यान्सर’बाट पिडित भएको पत्तो लाग्यो । उनी एक हप्तामा ८ प्रदर्शन नाटक खेल्थे । जसअनुसार हप्तामा ८ पटक आत्महत्या गर्थे र आफ्नो मृत्युलाई नजिक बोलाउँथे । नाटककार ट्रयासी भन्छन्–‘जनवरीको अन्त्यसम्म बुबाले नाटक खेल्नु भयो । त्यसपछि अस्पताल भर्ना गरियो ।’ अस्पतालबाटै उनी सदाका लागि विदा भए । नाटक र जीवनको अत्यन्तै अनौठो त्रासदी हो यो । भर्खरै स्टेफेनउल्फ थिएटरका लागि नयाँ नाटक ‘सुपेरियर डुनट’ लेखेका ट्र्यासी भन्छन्–‘मेरो नाटक अगष्ट: ओसाज काउन्टीले ठूलो उथलपुथल मच्चायो । मेरो जीवनमा पनि र रङ्गमञ्चमा पनि । जुन कुरा म चाहन्न थिएँ । त्यसैले अहिले मैले सामान्य नाटक ‘सुपेरियर डुनट’ लेखेको हुँ ।’ गत जुन २५ देखि स्टेफेनउल्फ थिएटरमा नाटकको नियमित प्रदर्शन भैरहेको छ । यो नाटकले पनि अमेरिकी रङ्गमञ्चमा तहल्का मच्चाउने समीक्षकहरुको अनुमान छ ।
(सन् २००८ मा कान्तिपुर दैनिकमा प्रकाशित लेख)