Sunday, February 26, 2012

जीवन उसरी नै चलिरहेछ





     कन्टेक्टर भाइको ढ्यापढ्याप आवाजले चालकलाई अझै अर्को गाडीलाई उछिन्न प्रेरित गऱ्यो । गाडीको तिब्र गतिले यात्रुहरु असन्तुलित भयौं । हामी धनकुटाबाट सिंधुवातर्फ उकालिंदै थियौ । गाडीको गियर सहित चालक र कन्टेक्टरको कुराकानी पनि बढ्दो थियो । घरिघरि आफूसंगै टाँसिएर बसेकी मोटी दिदीसँग लालुपाते गफ चुट्दै मस्तराम थिए गुरुजी । म एउटै कुराको प्रतिक्षामा थिएँ, अपरिचित परुष त्यस्तरी जिस्कँदा ती महिलाको प्रतिक्रिया खत्रै हुने हो कि π ला अब चालकले दह्रै मुक्का खाने भए । तर त्यस्तो केही भएन । 

गन्तव्य स्थानमा सकुशल पुगियो भने पहाडी बाटोमा गाडी चलाउनेहरु देउतै हुन् कि जस्तो पनि लाग्छ । विन्दास गाडी हांकिरहेका ती अधबैंसे चालक ठूलो घुम्तीमा स्टेरिङ घुमाउंदै चिन्ता सहितको जिज्ञासा बोले–“हिजो हामीले पुरयाएकी सुत्केरी बाँचिन् कि बाँचिनन् होला π तिनी बाँचेदेखि मेरो दु:ख त खेर जाँदैनथ्यो π” अचानक उट्पट्याङ गफबाट गम्भिरतातिर मोडिएका गुरुजीको कुराप्रति मेरो चाख झन बढ्यो । “सिंधुवाबाट झगडामा काटिएका मान्छे ल्याउनु पर्छ कि त बेथा लागेकी महिला । दुवैथरीलाई बचाउन उत्तिकै जोखिम हुन्छ । कति त बाटैमा चिप्लिन्छन्”–‘मोनोलग’ शैलीमा गुरुजी बोले । धनकुटादेखि उँभो लागेपछि गम्भिर विरामीले उपचार पाउन हम्मे छ । एम्बुलेन्स पाउन पनि गाह्रो । आपत्कालीन् क्षणमा धनकुटाबाटै एम्बुलेन्स जाने रहेछन् । गाडीको गती अझै बढाउँदै उनले भने……–“धनकुटाको एम्बुलेन्स सिंधुवा आइपुग्दा त विरामीलाई म धरान पुऱ्याई सक्छु ।” मेरो नजिकै बसेका ती चालकका गफ गर्ने साथीले मतिर मुन्टो बटारेर विश्वास दिलाउंदै भने– “गाउंलेको लागि एम्बुलेन्स उहांकै माइक्रो हो । दिनभरि यात्रु बोक्यो रातभरि विरामी ।” पहाडी इलाकामा तिनको माइक्रोले एम्बुलेन्सको काम गर्दोरहेछ । गुरुजीको ‘मोनोलग’ चलिरहको थियो–“हिजो त मैले सिंधुवादेखि धरान डेढ घण्टामै पुऱ्याइ दिएँ । यस्तो तुफान हाँकेछु कि गाडी सिधै धरान अस्पतालमा छिरेपछि मात्रै रोकियो ।” यस्ता समस्याहरुका विषयमा गुरुजी निकै सचेत झैं देखिए । अरुको दु:खसुखमा आफ्नो गाडीको काम आओस् भन्ने उनको धारणा थियो । “मैले पुऱ्याएकाहरु धेरै त बाँचेका छन् तर अस्ति एउटीलाई भने मरेर अस्पताल पुऱ्याएँ । हात छिराउने बित्तिकै गइछ ।” हिलेभन्दा माथि जोरपाटीमा माइक्रो बस रोकियो । गुरुजीको गनथन पुरा सुन्न नपाई म ओर्लिनु पऱ्यो । मलाई ताम्लिङ पुग्नु थियो । बस विसौनीबाट करिव ३ घण्टा हिंडाई मच्चिने भयो । एकछिनसम्म त्यही कुराले मनलाई ओगटिरह्यो–“हात छिराउने बित्तिकै गइछ ।” बच्चा जन्माउन नसकेर बितेकी एउटी महिलाको कथा थियो त्यो । मेडिकल साइन्सको यो उत्तरवर्ती खण्डमा पनि नेपालको आदिम प्रसुति पीडा उही छ । म पीडाले पिरोलिन्छु ।
हिंडाई मच्चियो । बाटोमा जंगल फडानीको प्रत्यक्ष दृश्य देख्न पाइयो । काठ ठेकेटारहरु तराईबाट पहाडका जंगलमा पसेका रहेछन् । पहाडका किसानहरुको खेतमा भएका रुखहरु जम्मै ठेक्कामा किन्दै उठाउँदै रहेछन् । हिलेदेखि माथि लागेपछि धनकुटाका भित्री गाउँहरु चुलाचुली, ताम्खवाका धेरै जंगलमा ठेकेदारहरुको प्रवेश भेटियो । बढेका रुख किसानले बेच्नु स्वभाविक थियो । आयस्रोतको राम्रो बाटो पनि हो त्यो । तर त्यहाँ वृक्षारोपणको कुनै छनक थिएन । ती रुखहरु काटिएका ठाउँमा किसानहरु खेती गर्ने योजनामा थिए, अनुमान गर्न गाह्रो थिएन । धनकुटाका डाँडा उजाड हुँदै थिए । वातावरण संरक्षण र वृक्षारोपण सम्बन्धी जनचेतनाका लागि सरकार, एनजिओ र आइएनजिओले प्रसस्त लगानी गरेका छन् । तिनले छापेका भित्ते क्यालेण्डर सम्झिदै ती खुइले डाँडैडाँडा हिँडिरहेँ । 

म यतिखेर बाजेहरुको कर्म थलो हेर्न निस्किएको । अचानक आफ्ना पुर्खाको थलो हेर्ने मन भयो र साईंला काकाको पछि लागें । उहां त्यहीं कतै एउटा नि.मा.वि.को प्र.अ. हुनु हुन्छ । त्यस विषयमापछि बुझ्ने नै छु । 
लिम्बुवानहरुले बसीखान नदिएपछि ९ सालमै मेरा हजुरबाले ताम्खवा छोडेका रहेछन् । अहिले समाजमा बाहुनको हविगत अर्कै भएको छ । तिनका अज्ञानताले आफैलाई संकटमा पारे । र, हामी बेकसुर सन्तती न्यायको निसाफमा भौतारिन बाध्य छौं । सबै घटनालाई राजनीति करण गरियो र भारतमा जस्तै धार्मीक र जातीय द्धन्द्धमा होमियो भने त्यहां नाकको लम्बाईको अर्थ होला ? ती निरीह सबै पहाडी जीवनका अनुहार म त एउटै देख्छु । 
मेरा बुबाको जन्म पनि तराईमै भएको रहेछ । आज हाम्रो परिवार तराईमा सबेको ५६ वर्ष भएछ । त्यही पनि केही मानिसहरु हामीलाई “सार पहाडीया” भनेर गाली गर्छन् । विश्वेश्वरप्रसाद कोइरालाले राजा, राष्ट्रियता र प्रजातन्त्र किताबमा लेखेको सम्झन्छु–“हामी ५० औं वर्षदेखि मधेसमा बसेको नागरिकले चाहिँ मधेसी राजनीतिको नेतृत्व गर्न नपाउने, भारतबाट १० वर्षअघि आएर नेपालको अंगिकृत नागरिकता पाउने मानिस चाहिं मधेसको आधिकारिक राजनैतिक व्यक्तित्व हुने π” भर्खरै सरकारले कुन कुन जाती मधेसी हुन् भनेर आफ्नो धारणा सार्वजनिक गरेछ । फेरि पनि हामी मधेसीमा परेनछौं । राज्यको नयाँ संरचना र संघियताको कुरा उठिरहेको बेला संयोगबस म मेरा बाजेहरुको थलो, घुम्न निस्किएको थिएँ । जताततै लिम्बुवान राज्य जिन्दावाद् नारा पढ्दै म निरिह बाहुन पुर्खाको थलोमा घुम्दो थिएँ ।
परेवादिन गाविसमा पर्ने त्यो गाउंको जीवन अझैपनि बिकट नै रहेछ । गाउंका महिला किसानहरु ३ घण्टा हिंडेर आलुबेच्न बजारतिर लाग्दै थिए । खानेपानीको समस्या छ । विजुलीका तार छन् विद्युत छैन । बालबालिका पढ्ने राम्रो विद्यालय छैन । उपचार गर्न राम्रो स्वास्थ्य चौकी छैन । त्यही पनि केही परिवर्तन भैहाल्ला कि भन्ने आशमा छन् जनता । “आच्चै तपाई गोविन्द मास्टरका नाती हौ π” मैले यत्तिका उमेर हुंदासम्म थाहा नलागेको कुरा मेरा बा गाउंका सारा केटाकेटी, युवाहरु बटुलेर अक्षर चिनाउनु हुंदो रहेछ । वि.सं. १९९३ मा जन्मिएका स्थानीय वीरबहादुर लिम्बु भन्छन्–“सातसालमा गोविन्द मास्टरसंगै प्रजातन्त्रका खातिर म पनि कुदेको । राणाहरुलाई फाल्न कम्ता दु:ख गरियो ? अझै उस्ताको उस्तै छ ।” वीरबहादुर धेरै अघिदेखि राजनीतिमा चासो राख्दा रहेछन् । “सानो देश छ कति लुछाचुडी गर्नु हौ । मिलेर बस्नु पर्ने”–मुख खुम्च्याउंदै भने–“पार्टीहरुको पनि कहिल्यै बुद्धि आएन ।” तर ताम्खवामा उनमा जस्तै देश र राजनीतिको चासो सबैलाई छैन । त्यहाँका धेरै घरमा दिउँसो मान्छे भेटिंदैनन् । विहान सखारै गोठ झर्दारहेछन् । दिनभरि उतै काम गऱ्यो, साझ परेपछि घर फर्यो । वर्षौंदेखि धेरै मानिसहरुको जीवन यसरी नै चलिरहेको छ । पुर्खौली थालो हेर्न गएको म, हाम्रा धेरै घिमिरे दाजुभाइको दिनचर्या उस्तै रहेछ त्यहां । तिनको जीवन तन्नम छ । दु:ख र अज्ञानताको बोझले तिनीहरु यसरी टाक्सिएका छन्, जीवन यापनबाहेक तिनका जीवनको अर्को लक्ष्य छैन । तिनीहरु यही जीवनका मनु हुन ? यतिसायोक्ति लाग्ने त्यो यथार्थमा मैले केही रंगरोगन गरेको छैन । 

प्राय वडामा एउटा विद्यालय भेटियो तर भौतिक पूर्वाधार खत्तम छ । कक्षा कोठाभित्र पनि धुलो उढ्छ । विद्यार्थी बस्ने बेन्च छैनन् । मैले नजिकबाट नियाल्न पाएको मेरा काका बासुदेव घिमिरे सम्लग्न विद्यालय । ८ कक्षासम्मको उक्त विद्यालयमा जम्मा ६ जना शिक्षकले पढाएर भ्याउनु परेको छ । त्यसमाथि शिक्षक विदामा बस्छन् । उक्त विद्यालयको कथा यस्तो छ । महाकाली नि.मा.वि.का प्रधानाध्यापक बासुदेव घिमिरेले एकपटक विद्यालयमा धेरै धुलो भयो भनेर डांडाबाट ल्याएको पानी स्कुल परिसरमा छम्किएछन् । “हाम्रा केटाकेटीलाई पढाउन छाडेर यी मास्टरहरुले समय खेर फाले । उल्टै खानेपानी पनि पोखेर सके”– भनेर झम्टिएछन् । विद्यालयका सबै शिक्षकको ठहर छ, अविभावकलाई कुरा बुझाउनै गाह्रो । अनावश्यक कुरामा पनि सातो लिन्छन् । छोराछोरीको पढाइमा चाहिं चासो छैन । अविभावकसंग सम्बन्ध नबिग्रियोस् भनेर कक्षा छोडीछोडी प्रअ घिमिरे १ घण्टा पर घर भएका तेजबहादुर लिम्बुको विहेमा पुगेर बाटोमा आउंदै थिए । २ कक्षामा पढ्ने केशव लिम्बु घरतिर दगुर्दै गरेको देखेर सोधे……–“हैन स्कुल छुट्टी गरे कि क्या हो सरहरुले ?” न्याउरो मुख लाएर केशवले भन्यो–“विहान भात खाको थिन अनि षडानन्द सरसंग छुट्टी मागेर हिंडेको ।” शिक्षकहरुका अनुसार विद्यार्थीहरु यसरी बीचैमा हिड्नु सामान्य हो । प्रअ त हिंडे अरुको त के कुरा । अनि शिक्षकहरु नि π भोली पल्ट ११ बजे विद्यालयतिर लम्किदै गरेका शिक्षक षडानन्द दाहाल बाटामा भेट भए । लजालु हांसो सहित भने–“गाउंमा खसी काट्न थालेको उतै ढिलो भयो ।” स्थानीय राधा अधिकारी हाँस्दै भनिन्–“यी सरको ताल सधैं यस्तै हो । जहिल्यै एउटा बहाना बनाउंछन् ।” त्यहांका विद्यालयका कक्षाहरुमा समयको कुनै पावन्दी वा नियन्त्रण छैन । शिक्षक र विद्यार्थी कक्षाकोठामा नियमित भेट हुनु ठूलै संयोग रहेछ । 

पुरै गाविसमा घरहरु पातला छन् । म बसेको गाउं बाँस बिसौनामा जम्मा १५ धुरी घर रहेछन् । हरेक धुरि परिवारका आफ्नै कथाव्यथा छन् । म बास बसेको घर अधिकारीको हो । घर मुली रमेश अधिकारी(४०) पैसा कमाउने सपना बोकेर कतार र साउदीअरबमा जम्मा ६ वर्ष बसेका रहेछन् । पाउनुसम्मको दु:ख पाएर पुर्रपुरोलाई दोष दिंदै घर फर्किए रमेश दाइ । विदेशमा उनले गरेको दु:ख सुन्ने जोकोही मान्छेका मन रुन्छ । उनी पनि रोएका छन् तर फेरि पनि उनी विदेश जाने योजनामा दलालको पछि कुदिरहेका छन्, भन्छन्–“भाग्य छ भने त राम्रै कमाई हुन सक्छ ।” भाउजु पर सरेकी रहिछन् । कलिला केटाकेटीले अगेनामा सांझको आगो जोरेका छन् । चिसो छ बल्दैन । कोठाभरि धुवां छ । पुषको त्यो चिसोमा ती केटाकेटीले कसरी व्यवाहार गर्दा हुन् ? अधिकारी दाइ अझै पैसाको सपना देख्दैछन् । सिन्को भांच्दैनन् । ताक परे एक ट्वाक लाएर आउंछन् । ती भाउजुले धन्न व्यवहार धानेकी छन् । जेठो छोरो आशाको त्यान्त्रो बनेको छ । जीन्दगी दु:ख छ । सिकसिक लागेर आउंछ । भन्नु नहुने कुरो मनमा आयो ।  

अलिक पर खड्काको घर छ । ४५ उमेरका गंगबहादुर खड्का गाउंभरीका पशुहरु बटुलेर हिंड्दै ४ दिन लाएर झापाको दमक बजार पुग्दा रहेछन् । श्रीमती हिरादेवीले भनिन्–“आइतबार विहानै हिंड्नु भो, अब बुधवार दिउंसोसम्ममा पुग्नु हुन्छ ।” गंगबहादुरको जीन्दगी वर्षौंदेखि यसरी नै चलेको छ । “अहिले त जेठो दाजु पनि बासंगै जान थालेको छ”–एक घण्टा परको डेरीमा दुध पुऱ्याएर आएकी कान्छी छोरी(१३)ले भनिन्– “आमा स्कुल जान ढिलो भैसको, खै त भात” । 

गाउं छोड्ने बेलामा एकजना ७७ वर्षीय बृद्धासंग भेट भयो । “घिमिरेका नाती आएका छन् भन्ने सुनेको थिएं । हेर्ने मन थियो । आउनै सकिन ।” उनले आर्शिवाद दिंदै भनिन्–“लौ नानी आफ्ना बाजेको थलो हेर्न आउनु भएछ । खुशी लाग्यो । सबैले मान्ने हुनु, बढा हाकिम हुनु ।” तिनै हजुरआमाको बढा हाकिम हुने आशिर्वाद् बोकेर ओरालो झरें । बाटामा गुरासका फूल बोकेर उभिएका कलिला नानीहरु भेटिए । तिनका कलिला मुस्कानले मन प्रसन्न बनायो । सोचें–“तिनको भविष्यको जिम्मा कुन सासक, कुन व्यवस्था वा कुन अविभावकको चंगुलमा फसेको छ कुन्नी ?” मन भारी लिएर बाटो लागें । त्यही पनि जीवनमा अनेक सपना छन् । मनमा चामत्कारिक कल्पनाले कुस्ती खेल्छ ‘एक निमेसमा त्यो ठाउं विकाशले झलमल भएको दृश्य मष्तिस्कमा आउंछ । तर, त्यो सब मिथ्या हो । मन न हो । मन मिथ्या हो । नयां ठहर गर्छु । यथार्थ त त्यही जीवन हो । 

तल धनकुटा बजारमा लेखक कविहरु भेटिए । रमेशचन्द्र अधिकारी, राजेश राई, भेषराज कट्टेल, प्रकाश घिमिरे, किरणचन्द्र कार्की, सुमित्रा थुलुङ, भिषा काफ्ले, मणि कुमार श्रेष्ठ,मुकुन्द प्रयास, सन्तवीर लामा सन्देश विहानी आदि कविहरु कविता भट्याउंदै रहेछन् । प्रतिभा प्रक्षिप्तले प्रेमरस भरिएको गजल सुनाईन् ।
दुवै थुंगा आश गर्छन् चुम्बन कसलाई दिउँ
मेरो एउटै अंगालोको बन्धन कसलाई दिउँ

मेरा पुर्खाको जीवन यति पर आएर सम्झंदा मिथक जस्तो भएर उसरी नै चलिरहेछ । म पनि अर्कै जीवन उसरी नै चलाइ रहेछु ।
२०६४ पुस

No comments:

Post a Comment