Saturday, May 18, 2013

कोलकाता कहानी

                                                             
                                                               
                                      
ढाकाकी मेरी पेन्टर मित्र बन्टी दत्तभन्दा पनि सुन्दर ती बंगाली महिला बंगालका शिक्षा मन्त्री ब्रत्य बसुकी श्रीमती रहिछन् । पल्लबी ? ‘हैन उनको नाम पौलबी’–नेपाली नाट्यटोलीको जिम्मा लिएका सुब्रतो दाले हामीलाई सुटुक्क संच्याएका थिए । पौलबीले लुनाको गाला सुम्सुम्याइन् । मायाले चिमोटिन् । र अत्यन्तै प्रेमपूर्वक अंगालो हालिन् । संम्प्रेषणले त्यो माया मसंग पनि आइपुग्यो । उनै महिला भोलीपल्ट साँझ हयात रिजेन्सीद्धारा नाटक निर्देशकहरुको सम्मानमा आयोजित पार्टीमा देखिइन् । उनले फेरि उसरी नै लुनाका गाला सुम्सुम्याइन् । र, व्याकरण नमिलेको अंग्रेजीमा सोधिन्–तिमी पनि कलाकार हौ ? लुनाको जवाफ सुनेपछि उनले भनिन्–‘प्राय नाटक निर्देशकहरुका श्रीमतीहरु श्रीमान्को निर्देशनमा अभिनय गर्छन् । त्यही भएर सोधेकी ।’ उनको नमिलेको अंग्रेजीबाट फेरि मैले यसरी बुझें– ‘प्राय नाटक निर्देशकका श्रीमतीहरु कलाकार छन् ।’ मैले कुरो बुझेर हासेँ । उनी पनि कलाकार हुन् र उनका श्रीमान् ब्रत्य बसु निर्देशक । बसुको निर्देशनमा उनले धेरै नाटकमा अभिनय गरेकी रहिछन् । फेरि उनले त्यही कुरालाई जोड दिएर भनिन् । जब उनले व्यङ्ग्यात्मक हांसो हांसिन् अनि मात्र मैले अघि उनको कुरो नबुझेको रहेछु भन्ने बुझें । ‘हो, सबै श्रीमान्हरु निर्देशक हुन् र श्रीमतीहरु तिनको निर्देशनमा अभिनय गर्ने कलाकार ।’ पौलबीका निर्देशक तथा हालका शिक्षा मन्त्री अर्को पेग ह्वीस्की थप्दै थिए । पौलबीको हात खाली थियो । मैले सेक्सपियरलाई सम्झें । उनले भने–‘संसार रंगमञ्च हो र हामी केवल यसका कलाकार ।’ पौलबीले भनिन्–‘सबै पुरुष निर्देशक र श्रीमतीहरु तिनका निर्देशनमा अभिनय गर्ने कलाकार ।’ पौलबीले झैं ब्रत्यले लुना र मलाई निकै वास्ता गरिरहेका थिए । रमरम मातेका उनले मलाई तानेर एक प्याग थप्न भने । नेपाली बाणिज्य दूत चन्द्र घिमिरे दाइ नेपाली टोपीमा छुट्टै टलक्क हुनुहुन्थ्यो साथमा थिए इटालीका बाणिज्य दूत । रतम थियाम पार्टीमा आएनन् । हिन्दी र अंग्रेजी पनि नआउने बंगलादेशका निर्देशक अरिफ हैदरसंग गज्जबको भलाकुसारी भयो । खै कसरी भयो तर इटालीको नाटकको खुबै आलोचना गरियो । एक घण्टा ५ मिनेट लामो भनिएको नाटक ४५ मिनेटमै सकियो । भाषा बुझ्ने कुरै भएन । एकनासे पट्यारलाग्दो नाटकको गतिमा केही होला भन्दाभन्दै सकियो । भोलीपल्ट हैदरकै नाटक थियो ‘सपोथ’ । बंगलादेश शिल्पकला एकेडेमीको प्रस्तुति । २० मिनेटजति हेरेपछि म हलबाट बाहिरिएं । सर्बनामको नाटक छोडेर तिनको नाटक किन हेर्नु जस्तो लाग्यो । अति मेलोड्रामाटिक अनि खुट्याउनै नसकिने ‘भेग’ चरित्रहरु । कि कालो कि सेतो । कलाकारहरु कि रुन्छन् कि चिच्याउंछन् । भोलीपल्ट तिनले प्रतिक्रिया माग्लान् भनेर उनीको नजिकै परिन । अर्को सांझ फेरि पार्टीमा भेट्टिए उनी । बडो कुननितिक उत्तर दिएर मख्ख पारें । यो धर्मसंकट हिजोआज मलाई निकै छ ।

रतम थियामको निर्देशनमा कोरस रिपोर्टरी थिएटरको नाटक निकै शक्तिशाली लाग्यो । वि सं. २०५७ श्रावण ३० गते थियामकै निर्देशनमा कोरसको नाटक चक्रव्युह काठमाडौंमा हेर्ने मौका मिलेको थियो । करिव १३ वर्षपछि उनको नाटक हेर्न पाएँ । ईब्सनको यो अन्तिम र दार्शनिक किसिमको नाटक ‘ह्वेन वि डेड अवेकन’ लाई अति भव्य दृश्यमा रुपान्तरित गरेर थियामले रंगमञ्चमा चमत्कार नै गरेका छन् । चक्रव्युह र ‘....अवेकन’मा थियामको सिर्जना १३ वर्ष जत्तिनै फरक पाएं । मेरो बुझाईको तहमा पनि पहिलेभन्दा अहिले फरक पऱ्यो होला । सबैजना श्रद्धाले उनको खुट्टा छुन गए । मलाई भने अफ्ठेरो लाग्यो, नमस्ते मात्रै गरें ।
ब्रत्याजन थिएटर कोलकाताद्धारा आयोजित दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा नेपालको तर्फबाट मजिपालाखे सहभागी थियो । शिल्पी थिएटरको तर्फबाट हामी २० जना महोत्सवमा सहभागी भएका थियौं । अप्रिल १८ देखि २४ सम्म चलेको उक्त महोत्सवमा ४ वटा देशका १० वटा नाट्य समूहहरु सहभागी थिए । महोत्सव आयोजना स्थल ‘स्टार थिएटर’ भारतीय रंगमञ्चका लागि ऐतिहासिक ठाउं रहेछ । दक्षिण कोलकत्ताको पुरानो केन्द्र हात्तीबगानमा अवस्थित यो थिएटरको इतिहास ३ सय वर्ष पुरानो रहेछ । बंगाली थिएटरकी एक प्रसिद्ध कलाकार विनोदिनी दासी जसलाई ‘नटी विनोदिनी’ भनेर पनि चिनिन्छ, उनले धेरै नाटकहरुमा अभिनय गरेको थिएटर रहेछ यो । विनोदिनी दास आत्मकथा लेख्ने दक्षिण एसियाकै पहिली कलाकार रहिछन् । उनको आत्मकथामाथि धेरै नाटक र चलचित्रहरु बनेका छन् । तिनको ठूलो स्केच स्टार थिएटर अगाडि राखिएको थियो । तर, आधुनिक रंगमञ्चका व्याख्याकर्ताहरुले ‘नटी विनोदिनी’को नाम र योगदान उल्लेख नगरेकोमा धेरै बंगाली कलाकारहरु रुष्ट रहेछन् । बेश्यालयमा जन्मिएकी र १२ वर्षदेखि अभिनय सुरु गरेर २३ वर्षको उमेरसम्ममा करिव ८० वटा नाटकमा अभिनय गरेकी नाट्यप्रतिभालाई बंगाली थिएटरले एउटी आदर्शनारीको रुपमा लिदो रहेछ ।
कला संस्था र कलाकर्मीहरुबीचको खटपटी जहां पनि उस्तै रहेछ । कोलकत्ताका अर्का सिर्जनशील निर्देशक प्रोविर गुहालाई महोत्सवले निम्तो नपठाएकोमा रुष्ट थिए उनी । हामीले गरेको निम्तोलाई आधिकारिक नमानेर उनी त्यहां गएनन् । केही वर्षअघि आरोहण गुरुकुलमा उनी केही पटक रङ्गमञ्च तालिमका लागि आएका थिए । शारीरिक रंगमञ्चमा ग्रोटोवस्कीको पाइला पछ्याउंदै काम गर्ने यी निर्देशकलाई भेट्न हामी आफैं एकघण्टा लामो यात्रा गरेर उनको बासस्थान मध्यमग्राममै पुग्यौं । हाम्रो जम्बो टोली देखेर उनी खुसी भए । नयां नाटक ‘एनोदर रेम्बो’को अभ्यासमा रहेछन् । उनले नाटकका केही दृश्य हेर्न आग्रह गरे । शारीरिक चाल र शरीरिक गतिबाटै दृश्य निर्माण गर्न माहिर यिनको यो नाटक पुराना भन्दा उत्कृष्ट र परिमार्जित लाग्यो । रतम थियाम र प्रोविर गुहाका पहिला र अहिलेका नाटक हेर्दा लाग्यो, एउटा निर्देशकको नियमित कामको सफलता भनेकै यहि हो–‘उसले समयसंगै आफूलाई कति परिवर्तन गरेर देखाउन सक्छ ।’ ३० वर्षअघि कै देउराली अहिले पनि हामी उसरी नै रुन्छौं भने हामीले सिर्जना मार्फत समयलाई कहांसम्म पुऱ्याउंछौं ? पत्रकार साथी भाषा शर्माले थियामको नाटक बुझिन भनिन्–‘एकदिन तिनले बुझ्नेछिन् र त्यतिखेर रंगमञ्चले अर्को एउटा सफलता पाउनेछ ।’ नाटक नबुझ्ने र बुझ्ने, साहित्य बुझ्ने र नबुझ्ने एउटा प्रक्रिया रहेछ । यो चलिरहन्छ । र, एउटा बुझिने समाज बन्छ ।
नेपाली बाणिज्यदूतावासले हामीलाई आयोजकसम्म जोड्न सहयोग गऱ्यो । बाणिज्य दुतावासका प्रतिनिधिहरु र केही प्रवासी नेपालीहरु नाटक हेर्न आउनु भयो । धेरै मायाले हामीलाई हेर्नु भयो । नेपाली भाषीहरुका लागि अर्को प्रदर्शन गर्न पाए हुन्थ्यो भन्ने रहेछ । समयको तालमेल मिलेनछ । केही दाइहरु ट्रेन स्टेसनसम्मै छोड्न आएर दु:खी हुनु भयो । नेपाली बाणिज्य दूतावास गयौं । आंप लटरम्म फलेका । चन्द्रदाइले कलाकारहरुलाई सांधेको आप खुवाउनु भयो । पुरा ४ दिन हामी २० जनाको टोली कोलकता घुम्नमा व्यस्त रह्यौं । साथीहरुले नाटक कम हेरे, घुमघाम ज्यादा गरे । त्यो कुरा अलिक चिन्ताजनक थियो । शिक्षा मन्त्री आफैं महोत्सवको आयोजक भएकाले होला, स्रोत गजबले जुटाएका रहेछन् । व्यवस्थापन निकै सबल देखिन्थ्यो । सुब्रतो र प्रान्तिकले हाम्रो टोलीलाई निक्कै सहज तरिकाले ४ दिनसम्म त्यहां राखे । घुमघामको एउटा रोचक कुरा थपि हालौं । ३ जना मध्ये एकजना चालकको नाम थियो बापी । बापीले हामी बसेको गाडी अचानक अर्कै बाटोतिर गुडायो । हामी कालीघाटबाट बिर्ला मन्दिरतिर जानु पर्ने थियो । तर, एउटा गल्लीबाट निकै भित्र छिरेपछि निकै सुरक्षा भएको घर अगाडि उसले गाडी रोक्यो । ऊ गाडीबाट ओर्लियो र मेरो छेउमा आएर छानो हालिएको एउटा सानो भूईंतले घर देखाउंदै भन्यो–‘यही हो ममता बेनर्जीको घर ।’ हामी सबै चकित पऱ्यौं । अचानक यो ? ममताजीका कामका अनेकौं किस्सा त नेपालमै पढेकै हो । वापीले हामीलाई उनको घर पनि देखायो । भन्यो–‘राती बस्न उनी यही सानो घरमा आउंछिन् ।’ ट्याक्स बृद्धिका कारणले विवादमा परेकी ममताले कोलकतामा ब्याण्डनै गरेकी रहिछन् । यतिखेर कोलकाता निकै सफा र सुन्दर देखिन्छ । तर कालीमन्दिरमा पण्डाहरुले दिने दुख, मान्छेले मान्छेलाई तान्ने हाते रिक्सा, सडक बालबालिका र सडकमा सुत्ने मानिसहरुको संख्या उस्तै रहेछ । कोलकाता व्यापारिक र आर्थिक हिसाबले जति जुलिंदैछ तहां गरिब मान्छेका दु:खका चुली पनि उत्तिकै छन् ।
कलाकार लुनिभा तुलाधरले धेरै आफन्तहरुको सामान किनेर ल्याइदिने जिम्मा लिएकी रहिछन् । साडीदेखि बाइकको लाइटसम्म किन्न भ्याइन उनले ।
कलाकार कमलमणि नेपाल र घनश्याम जोशीले त आफ्नो नयां चलचित्र ‘अन्तराल’को प्रोमोसन तस्विर पनि खिच्न भ्याए । ट्रेनमा उनीहरुको ‘अन्तराल’ पोजहरु हेर्न लायकका थिए ।
आदरणीय सत्यमोहन जोशीले लेख्नु भएको नाटक ‘मजिपालाखे’ उहांलाई देखाउनै नपाई उता मञ्चन गरेर आइयो । अब यता देखाउने तारतम्यमा हामी छौं । कोलकताको प्रिमियरले सबैलाई यता मञ्चन गर्ने उत्साह दिएको छ ।

No comments:

Post a Comment